रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी
बुटवल । रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम भएका बालकालिकामा उनीहरुले गर्ने संवाद, क्रियाकलाप अस्वभाविक व्यवहार देखापर्ने अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेती बताउँछन् । ‘यो जन्मजात समस्या हो, तर के कारणले हुन्छ यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन’, उनले भने, ‘यद्यपि वैज्ञानिकले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् ।’ डा रुपाखेतीका अनुसार नेपालमा कूल जनसङ्ख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ । जसअनुसार नेपालमा तीन लाखमा र लुम्बिनी प्रदेशमा आठदेखि १० हजारमा यो समस्या रहेको अनुमान गर्न सकिन्छ । रुपन्देही जिल्लामा करिब दुई सय ५० जना अटिजम केयर सोसाइटीको सम्पर्कमा आएका छन् । रुपन्देही जिल्लामा अटिजम विद्यालय सञ्चालनका लागि रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले एक चरणमा तिलोत्तमाको शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटी लुम्बिनीसँग छलफल गरेको छ । लुम्बिनी प्रदेश सरकार, तिलोत्तमा नगरपालिका, शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटीबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको अध्यक्ष भण्डारीले बताए । त्यस्तैगरी अटिजम र सिकलसेस एनिमिया दुई वटा परियोजनामा सहयोग गर्नका लागि क्लबले जापानको ‘रोटरी सेटेलाइट क्लब अफ बाको २१ साकितामा’ लाई प्रस्ताव गरेको छ । रासस
इस्लिङ्गटन कलेजले सम्पन्न गर्याे एस्पायर २०२२, दर्जनौं कलेज सहभागी
काठमाडौं । इस्लिङ्गटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएका थिए । बीबीए र बीआइटीका विद्यार्थीहरुले संयुक्त रुपमा संचालन गरेको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रममा ऐस इन्स्टिीच्युट अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, ऐपेक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, इटहरी इन्टरनेशनल कलेज, इनफर्ममेटिक्स कलेज पोखरा, हेरल्ड कलेज काठमाडौं, प्राइम कलेज, ब्रिटिश कलेज, नामि कलेज र स्याम कलेजहरुले सहभागिता जनाएका थिए । सहभागीको सिप परिक्षण गर्नको लागि कार्यक्रमलाई स्र्टाटअप आइकन, सीइओ अफ द इयर, द अल्फा एन्यालिस्ट, द ग्लोबल एडभोकेट, मार्केटिङ्ग मेस्ट्रोस र द एस्पायरिङ्ग रेस गरेर ६ वटा विधामा डिजाइन गरिएको थियो । कार्यक्रमको अन्तिम दिन ‘अ डे इन ब्रिटेन’ थिममा बेलायती तरिकाले सबै गतिविधीहरु देखाईको कलेजले जानकारी दिएको छ । कार्यक्रममा मनोरञ्जनात्कम गतिविधि, स्टलहरूका साथै विद्यार्थीहरुको प्रस्तुति राखेका थिए । कार्यक्रममा इस्लिङ्गटन कलेज एस्पायर २०२२ को उपाधि विराटनगर इन्टरनेशनल कलेजले जितेको छ । कलेजले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आएको छ । एस कार्यक्रमले अतिरिक्त क्रियाकलापहरू र इन्डष्ट्रि रेडि हुन सहयोग हुने जनाइएको छ ।
छोरीलाई उच्च शिक्षा पढाउन २० लाख बजेट
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन लागि बजेट विनियोजन गरिएको । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु आर्थिक वर्षका लागि २० लाख पचास हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका अनुसार ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरणका लागि विनियोजित रकम केही दिनमा सूचना जारी गरेर गरिब, विपन्न, अल्पसङ्ख्यक, जनजाती, आदिवासी बालिकालाई छनोट गरिनेछ । साथै छनोटमा परेका बालिकाको मुद्दति खाता खोलेर पैसा जम्मा गरिने छ । त्यो पैसा उसले २० वर्ष पुगेपछि निकाल्न पाउने व्यवस्था गरिएको छ । त्यतिबेला सम्म पढाइमा निरन्तरता हुनुपर्दछ । उपमहानगरपालिकाले राखिदिएको पैसा उसले २० वर्षपछि निकालेर विवाहमा खर्च गर्न पनि सक्छ र पढाइमा निरन्तरता दिन पनि सक्ने नियम छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाका प्रमुख शोभा शाहका अनुसार निर्देशिकामा बालिकाको खातामा २५ हजार रुपैयाँ राखिदिने ब्यवस्था गरिएको छ । उनका अनुसार गत वर्षको १० लाख ५० हजार रुपैयाँमा यो वर्ष १० लाख रुपैयाँ थपेर कार्यक्रमलाई साढे २० लाख रुपैयाँको बनाइएको छ । यसपाली पनि वडाबाट केही, प्रमुख र उपप्रमुख केही बालिका छनोट गर्ने रणनीतिलाई अघि सारिएको छ । नेपालगञ्जमा बालविवाह बढी नै छ । बालिकालाई ५ र ६ कक्षासम्म पढाउने र विवाह गरिदिने गरेको पाइन्छ । यद्यपि, पछिल्लो दिनमा खुलेयाम हुने बालविवाह रोकिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा सल्यानी बङ्गलामा कन्या माविसमेत सञ्चालनमा ल्याइएको छ । त्यहाँ गरिब, विपन्न, मधेसी, मुस्लिम समुदायका बालिकाको बाक्लो उपस्थिति रहेको छ । बाँके जिल्लामा यस्तो अभियान डुडुवा गाउँपालिकाले यसअघि नै सञ्चालन गरिसकेको छ । डुडुवामा छोरी जन्मिनेवित्तिकै खाता खोलेर पालिकाले पैसा राखिदिन्छ । जसलाई २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन्छ । रासस