कृष्णपुर नगरपालिका विद्यालय सुधारका कार्य अगाडि बढाउँदै
कञ्चनपुर । शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, सङ्गठन, राजनीतिक दल र शिक्षाविद्सँग छफल गरीे सुझाव सङ्कलन गरेर सोही आधारमा विद्यालय सुधारका कार्य अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलानको कार्य पूरा गरेका छौंँ’ उनले भने,’कम्तीमा पनि प्रत्येक सामुदायिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी स्थायी शिक्षकले पाउनुपर्छ भन्ने मान्यता थियो, त्यो पूरा भएको छ ।’ निजी विद्यालय र सामुदायिक विद्यालय बिचको पठनपाठनलाई एकरुपता ल्याउन एउटै कार्यतालिका बनाइ लागू गर्ने तयारी गरिएको छ । तिहारपछि कार्यतालिका बनाएर लागू गर्न शिक्षा शाखालाई निर्देशन दिइसकिएको नगर प्रमुख ओझाको भनाइ थियो । प्रत्येक सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि ई हाजिरी जडान गर्न लागिएकोे उनले बताए । ‘ई हाजिरीका लागि १० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । विगतमा भन्दा शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि तीन गुणा बढी बजेट विनियोजन गरेका छौँ’ नगरप्रमुख ओझाले भने, ‘पाँच वर्षभित्र शिक्षामा आमूल परिवर्तन गर्ने लक्ष्य लिएका छौँ ।’ आर्थिक स्रोत अभावले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन भन्नका लागि छात्रवृत्ति वितरण कार्यलई वस्तुगत बनाइ गरिब र जेहन्दार समूहलाई केन्द्रित गरी मेयर गैरआवासीय छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत टुहुरा, असहाय, अति विपन्न, लोपोन्मुख, जाती, गरिब, जेहन्दार, मुक्तकमलरी तथा दलित, अपाङ्गत भएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने छ । ‘सामुदायिक विद्यालयका छात्रालाई निःशुल्करुपमा स्यानीटरी प्याड उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ’ सूचना अधिकारी बोगटीले भने, ‘विद्यालय, शिक्षक, विद्यार्थी सङ्ख्याको अनुपातमा विद्यालयको भौतिक संरचना सुधारको कार्य अगाडि बढाइएको छ, प्रारम्भिक बालविकास केन्द्रलाई आधुनिकरण गरी प्रभावकारी रुपमा सञ्चालन एवं व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’ नगरपालिकाभित्र सञ्चालित विद्यालयमा प्राविधिक विषय अध्ययन गर्दा कृष्णपुरवासीका लागि १० प्रतिशत आरक्षण, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई अनुदानको व्यवस्थाका साथै प्रत्येक वडामा कम्तीमा एउटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन योजना बनाइएको छ । विद्यालयमा शैक्षिक सामग्रीको अभाव पूर्ति, भौतिक पूर्वाधार सुधार, आधुनिक प्रयोगशालाको व्यवस्था, पुस्तकालय स्थापना, फर्निचरको व्यवस्था र खेलकुद सामग्रीको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्था गरिएको उनको भनाइ थियो । रासस
करारमा पदपूर्ति गर्न लागेको त्रिविलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिविलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको हो । स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमितरूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायत कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो/होइन ? भन्ने प्रश्न गरिएको छ । होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ? भनि आयोगले स्पष्टीकरण सोधेको छ ।
गौरादह नगरपालिकाले बुहारीलाई नि:शुल्क स्नातक पढाउने
झापा । झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई नि:शुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ । नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि महिलाले पढाइ छाड्न नपरोस भनेर यो कार्यक्रम ल्याइएको बताए। उनका अनुसार नगरपालिकाले स्नातकसम्म सबै महिलाले शिक्षा पाउन भन्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो । यस्तै नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाअन्र्तगत ५५ महिलाले अस्पतालसम्म पुग्न यो सेवा लिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । यस्तै गौरादह नगर अस्पतालसमेत नगरपालिकाले सञ्चालन गरेको छ । पन्ध्र बेडको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ ।