५२ वर्षको उमेरमा कलेज भर्ना भए वडा अध्यक्ष खनाल
काठमाडौं । मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा कलेज भर्ना भएर औपचारिक शिक्षा सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा उनी अहिले स्नातक तह (ब्याचलर) पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहेका छन् । शिक्षाको महत्व सधैं बुझ्दै आएका खनाल अहिले दोस्रो कार्यकालका लागि वडाध्यक्षको जिम्मेवारीमा छन् । जनप्रतिनिधिको जिम्मेवार पदमा पुग्दा समेत औपचारिक अध्ययनको अभावले मनमा गहिरो खालीपन महसुस भइरहने भएकाले गाउँमा आयोजना हुने कार्यक्रमहरूमा शिक्षित व्यक्तिहरूको सक्रियता र प्रभाव देख्दा आफू पनि त्यस्तै बन्ने चाहना दिनप्रतिदिन बलियो हुँदै गएको उनले अनुभव सुनाए । विगतमा विदेश जाने सपना बोक्नुभएका खनालले पाँचपटक पासपोर्ट बनाए पनि अवसर जुरेन । उनले बस बेचे, पसल गरे, कुखुरा पालनजस्ता काम पनि गरे । तर ऋणको चक्रव्यूहबाट भने उम्कन सकेनन् । यद्यपि जीवनका ती सबै चुनौतीहरूले उनी कमजोर भएनन् । वडाध्यक्ष बन्नुअघि खनालको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो । २०७४ सालमा उनी पहिलोपटक वडा अध्यक्षमा निर्वाचित भए । त्यसपछि श्री बाल जीवन ज्योति विद्यालय, मकरीको अध्यक्षको भूमिका समेत उनले सम्हाले । उक्त विद्यालयमा लगाइएको सप्ताहपूजाबाट संकलन भएको पैसाबाट कक्षा १२ सम्मको पठनपाठन सुरु गर्ने निर्णय उनले नै लिए । जसले गाउँमै उच्च शिक्षाको ढोका खोलेको छ । अहिले सो विद्यालयको नयाँ भवन निर्माण भइसकेको छ र स्थानीय विद्यार्थीहरूलाई सहज शिक्षाको अवसर प्राप्त भएको छ । वि।सं। २०५२ मा एसएलसी पास गरेका खनाल २७ वर्षपछि २०७९ मा कक्षा ११ आफैंले १२ कक्षा बनाएको विद्यालयमा पुनः भर्ना भए । शिक्षाप्रति बढ्दो मोहका बीच उनले २०८१ सालमा कक्षा १२ उत्तीर्ण गर्दै २।६ जीपीए ल्याए । त्यही आत्मविश्वासले उनलाई अझ उच्च शिक्षा हासिल गर्ने हौसला दियो । अहिले पनि सामाजिक जिम्मेवारीसँगै समय व्यवस्थापन गरेर उनी नियमित रूपमा क्याम्पसमा पढाइमा सहभागी भइरहेका छन् । शिक्षाप्रतिको यो लगनशीलता र जीवनभर सिकिरहने जाँगरले शिवप्रसाद खनाल मात्र होइन, उनको नेतृत्वमा रहेको समुदायका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।
पढाइसँगै कमाइ : कक्षाकोठा र कार्यस्थलको खाडल पुर्दै इम्बार्क कलेज
काठमाडौं । स्याङ्जाका एक युवक प्लस टु पास गरेपछि काठमाडौं आए । उनले काठमाडौंमै स्नातक तह र स्नातकोत्तर गरे । स्नातकोत्तर सकेर बसिरहेका उनी कामको खोजीमा छन् । एक वर्षदेखि कामको खोजीमा रहेका उनले अझै पढाइअनुसारको जागिर पाउन सकेका छैनन् । व्यवस्थापनबाट स्नातकोत्तर गरेका उनी स्नातकोत्तर गर्दैदेखि लोकसेवाको तयारीमा लागे । तर, पटक–पटक परीक्षामा सफल हुन सकेनन् । अहिले उनी आयोगको तयारीसँगै कामको खोजीमा छन् । हातमा सर्टिफिकेट छ, मार्केटमा काम पनि छ तर उनले काम पाएका छैनन् । कारण पढाइ अनुसारको सीप नहुनु । ‘कलेजमा पढ्दा किताबको कुरा मात्र पढाइयो, कामको कुरा सिकाइएन, अहिले काम खोज्न जाँदा कम्तीमा यति वर्षको अनुभव हुनुपर्छ भन्ने आवेदनमै उल्लेख गरिएको हुन्छ,’ उनी भन्छन्, ‘काम गर्ने अवसर पाए पो अनुभव हुन्छ, कामै गर्न नपाए कसरी अनुभव हुन्छ ?’ आयोगको परीक्षामा समेत नाम निकाल्न नसकेपछि अब उनको योजना विदेश जाने छ । उनी पढाइ अनुसारको सीप नहुँदा काम पाउन नसकेको बताउँछन् । अधिकांश नेपाली विद्यार्थीको हालत यी युवाको जस्तै हो । किताब भित्रका कुरा पढे पनि कसरी त्यही कुरा व्यवहारमा लागू गर्ने भन्ने सिकाइ नहुँदा विद्यार्थी सर्टिफिकेट भएपनि काम पाउन सक्दैनन् । पढाइसकेपछि मात्र जागिर गर्नुपर्छ भन्ने सोचले जीवनको २५/२६ वर्ष उमेर पढाइमै बित्छ । त्यसपछि बजारमा काम खोज्न जाँदा अहिलेको बजारको मागअनुसार फिट नहुँदा काम नपाएका युवाहरूको ठूलो जमात छ । कतिपय जमात खाडीतिर पसे पनि अझै नेपालमा कामको खोजीमा रहेका युवाहरूको समूह पनि ठूलो छ । विद्यार्थीले काम नपाउनु र कम्पनीले आवश्यक कामदार नपाउनु नेपालको ठूलो समस्याका रूपमा देखिएको छ । नेपालको शिक्षा र बजारमा गहिरो खाडल छ । यही समस्यालाई मध्यनजर गर्दै पछिल्लो समय केही कलेजहरूले रणनीति नै परिवर्तन गरेका छन् । विशेषगरी उपत्यकामा रहेको विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका नयाँ र केही पुरानै कलेजहरूले पुरानो तौरतरिका फेरेका छन् । यो शैलीलाई फेरेर नयाँ शैलीका साथ अर्थात् पढाइलाई रोजगारसँग जोडेर सञ्चालनमा आएको एउटा कलेज हो इम्बार्क कलेज । यो कलेजले सञ्चालनको आठ महिनामै विद्यार्थीलाई शिक्षासँगै सीप र रोजगारी दिइरहेको छ । ८ महिनामा दुइटा कार्यक्रम थप ललितपुरको पुल्चोकमा रहेको इम्बार्क कलेजले नेपाली विद्यार्थीलाई नेपालकै उद्यमशीलता जोड्ने प्रयास गरिरहेको छ । गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानमा सञ्चालित कलेजले रोहेम्पटन विश्वविद्यालय लण्डन (युके) सँग सहकार्य गर्दै शिक्षामा फरक उद्देश्यका साथ अध्यापन सुरु गरेको हो । बिजनेस म्यानेजमेन्ट, बीएसस्सी, एमबीए, एशोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए)का कार्षहरू सुरु गरिरहेको यो कलेज सञ्चालनमा आएको ८ महिना भयो । कलेज विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई सीपसँगै रोजगारी दिने ग्यारेन्टी गरेको छ । यही उद्देश्यले इम्बार्कले दुइटा नयाँ कार्यक्रम सुरु गरेको छ । जसमा इम्बार्क कलेजले ‘अप्रेन्टिससिप कार्यक्रम’र ‘स्टार्टअप क्षमता विकास’ कार्यक्रम छन् । अप्रेन्टिससिप कार्यक्रम’ ले उद्योगका लागि दक्ष जनशक्ति र विद्यार्थीका लागि रोजगारी सुनिश्चित गर्ने उद्देश्य राखेको छ भने स्टार्टअप कार्यक्रमले आयातमा निर्भरता घटाएर स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकास गर्ने उद्देश्य राखेको छ । व्यावसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउने उद्देश्यले यी दुइटा कार्यक्रम सुरु गरेको कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशिष ठाकुरले बताए । व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) र नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रमले भविष्यमा व्यावसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्ने ठाकुरको दाबी छ । उनी भन्छन्, ‘यो कार्यक्रमले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ । हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौं ।’ यी कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै नेपाली उद्योग र उद्यम क्षेत्रका कम्पनीसँग काम गर्न पाउने अवसर पाउने छन् । कम्पनीसँग सम्झौता इम्बार्क कलेजले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका र वार्षिक १५ करोडभन्दा कम कारोबार गरिरहेका नवप्रवर्तन कम्पनीहरूसँग सहकार्य गरेको छ । युवा व्यवसायीले सञ्चालनमा ल्याएका यस्ता कम्पनीमा पढ्दै गरेका विद्यार्थीलाई आवद्ध हुन सहज हुने भएकाले यस्ता कम्पनी छनोट गरेको कलेजले बताएको छ । स्टार्टअप क्षमता विकास कार्यक्रमले सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरूलाई छनोट गरेको हो । यस्ता व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्टअपहरू पर्छन् । सीईओ ठाकुर भन्छन्, ‘नेपालमा उद्यमशीलताको सम्भावना अपार छ । तर, रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ । हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ ।’ के भन्छन् कम्पनी ? विद्यार्थीहरूले रोजगारी नपाएको गुनासो गरिरहेको बेला यता कम्पनीहरू भने कामदार पाउन नै गाह्रो भइरहेको बताउँछन् । अटो क्षेत्रदेखि प्रविधिका क्षेत्रमा काम गर्ने कम्पनीहरू दक्ष कामदार खोज्न भन्दै अहिले कलेजहरूसँगै सहकार्य गरिरहेका छन् । विशेषगरी आईटी र व्यवस्थापनका विषय पढाइ हुने कलेजहरूमा नेपालकै नाम चलेका कम्पनीहरू सहकार्य गरिरहेका छन् । उनीहरूले आफ्नो कम्पनीलाई आवश्यक पर्ने कामदार विद्यालयबाटै छनोट गर्दा आवश्यकता अनुसारको कामदार पाउन सकिने बताइरहेका छन् । डिजिटल क्षेत्रमा काम गर्दै आइरहेको लोन ट्री कम्पनीका मार्केटिङ म्यानेजर आकृति बस्नेत संस्थालाई आवश्यक जनशक्ति पाउन गाह्रो हुने बताउँछिन् । डिजिटल क्षेत्रमा काम गरिरहेका संस्थालाई अहिलेको प्रविधि र परिवेशसँग पोख्त जनशक्ति आवश्यक पर्ने तर त्यो अनुसारको जनशक्ति पाउन गाह्रो हुने गरेको उनी बताउँछिन्। उनी नेपालको शिक्षा क्षेत्र र बजार क्षेत्रमा रहेको अन्तर कम गर्न इम्बार्क जस्ता कलेजहरूले सहयोग गरिरहेको बताउँछिन् । बस्नेत भन्छिन्, ‘म पनि पढ्दै काम गर्दै गरेको विद्यार्थी हुँ, इम्बार्क कलेजमा अहिले पढ्दै पनि छु र काम पनि गरिरहेकी छु, यस्तै अवसर र सिकाइको सुरुवात देशभरका शैक्षिक संस्थामा हुने हो भने विद्यार्थी र उद्यम क्षेत्रमा देखिएको खाडल कम हुन्छ ।’ बस्नेत डिजिटल क्षेत्रमा त्यो पनि स्टार्टअप क्षेत्रमा काम गरिरहेको संस्था र विद्यार्थीलाई पढाइसँगै कामको अवसर खोजिरहेको इम्बार्कको उद्देश्य उस्तै र एकै प्रकारका हुँदा सहकार्य गरेको बताउँछिन् । कलेजसँग समन्वय गर्दा कम्पनीलाई आवश्यक पर्ने कामदार खोज्न अब बाहिर जानुपर्ने अवस्था नहुने उनको अपेक्षा छ । बस्नेतको जस्तै अपेक्षा इम्बार्कसँग समन्वय गरेका अन्य कम्पनीहरूको पनि छ । कलेजका सीईओ ठाकुर विद्यार्थीलाई पढाउनुभन्दा पनि सिकाउन जरुरी रहेको बताउँदै सिकाइ जे पढिन्छ र त्यहीबाट हुने बताउँछन् । यसैलाई मध्येनजर गर्दै इम्बार्कले विभिन्न कम्पनीलाई कलेजभित्र ल्याउने प्रयास भइरहेको बताउँछन् । उनी कम्पनीलाई कलेजमा ल्याउँदा विद्यार्थीलाई जागिरको लागि सहज हुने र कम्पनीलाई पनि आवश्यकता अनुसारको कामदार छनोट गर्न सहज हुने विश्वास गर्छन् । व्यवस्थापनका कोर्षहरू पढाउँदा विद्यार्थीलाई व्यवहारिक ज्ञान बढी दिनुपर्ने हुन्छ । उनी भन्छन्, ‘इम्बार्क कलेजको पढाइमा विद्यार्थीले के ज्ञान प्राप्त गरे र कस्तो काम सिके भन्ने जान्नु पहिलो प्राथमिकता हो ।’
पढाइसँगै कमाइ : इम्बार्क कलेजको सुरु गर्यो दुई नयाँ कार्यक्रम
काठमाडौं । ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले विद्यार्थीलाई पढाइसँगै रोजगारी र उद्यमशीलतामा अगाडि बढाउने उद्देश्यले दुई नयाँ कार्यक्रम सुरु गरेको छ । कलेजले बिहीबार ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’ सार्वजनिक गर्दै उच्च शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने घोषणा गरेको हो । कलेजका सीइओ आशिष ठाकुरले भने, ‘यो कार्यक्रमले स्नातकपछि हुने अनिश्चिततालाई अन्त्य गर्दै करियर–रेडी शिक्षाको नयाँ मापदण्ड नेपालमै ल्याएको छ ।’ उद्योगसँग साझेदारीमार्फत विद्यार्थीलाई रोजगारी सुनिश्चित गर्ने, संरचित तालिम, सीप मूल्याङ्कन र व्यावसायिक परामर्श दिइने, उद्योगलाई दक्ष जनशक्ति प्रदान गर्ने र विद्यार्थीलाई स्थायी करियर मार्गदर्शन दिने कलेजले जनाएको छ । स्टार्टअप क्षमता विकास कार्यक्रम कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका तथा वार्षिक कारोबार १५ करोड भन्दा कम भएका स्टार्टअप व्यवसायहरूलाई लक्षित गरिएको हो । कार्यक्रम नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी तयार गरिएको हो । इम्बार्क कलेज हाल बीएस्सी बिजनेस म्यानेजमेन्ट, एमबीए र एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले यी नयाँ पहलमार्फत विद्यार्थीलाई पढाइसँगै कमाउने अवसर र उद्यमशीलताको नयाँ बाटो खोल्ने दाबी गरेको छ ।