नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को शुक्रबार आयोजित ३१औँ दीक्षान्त समारोहमा उनले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।  मन्त्री पोखरेलले भने, 'सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ, यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ ।'   नयाँपिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले भने, 'यहाँहरुले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत छौँ, धेरै कोसिस गर्छौं, त्यसमा युवाको भूमिका सक्रिय रहनुपर्यो ।'  मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरुले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजका लागि देखेको सपना पूरा गर्नुपर्छ भन्ने आफ्नो अपेक्षा गरेको स्पष्ट पारे । मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रहसमेत गरे । उनले भने, 'तपाईंहरु नआत्तिनुस् नेपालमै अवसर पाइन्छ र हामी आफैँ पनि अवसर सिर्जना गर्नेछौँ ।' त्यस अवसरमा उनले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए ।    उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र ‘अटोमेशन’को तीव्र विकाससँगै प्राविधिक दक्षता मात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।   समारोहमा आमन्त्रित भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूपेन्द्र पाटद्र्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले विश्वविद्यालयमा प्राप्त शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारी तथा चुनौतीलाई अवसरमा बदल्नेगरी समाजको हितमा प्रयोग गर्न आग्रह गरे ।  

शिक्षामा मुक्तिनाथ विकास बैंकको साथ, देशभरका १ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत १ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा अध्ययन सहयोग उपलब्ध गराएको छ । बैंकले आर्थिक रूपमा विपन्न तथा शैक्षिक सामग्रीको अभावमा रहेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालय पोसाक, स्कुल ब्याग, स्टेशनरी सामग्री, खेलकुद सामग्री तथा एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत सहयोग गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत मोरङ, महोत्तरी, अर्घाखाँची, डडेलधुरा, रुपन्देही, उदयपुर, झापा, नवलपरासी, सर्लाही र कञ्चनपुरका सामुदायिक विद्यालयका विद्यार्थीलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ । साथै, सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट प्रभावित (बर्न सर्भाइभर) तथा आर्थिक रूपमा कमजोर ६ जना बालबालिकाको एक वर्षको अध्ययन खर्च पनि बैंकले व्यहोरेको छ । यसका अतिरिक्त सुर्खेत, रुपन्देही र महोत्तरीका विद्यालयलाई डिजिटल स्मार्ट बोर्ड, सिलिङ फ्यान तथा खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त सहयोगले आर्थिक अभावका कारण पठनपाठनमा समस्या भोगिरहेका विद्यार्थीको अध्ययनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको आधार भएकाले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका चार सामुदायिक विद्यालयलाई सूचना प्रविधिसम्बन्धी शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले डडेलधुरा, रुकुम पश्चिम र अछाम जिल्लाका चार विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर तथा प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ । सहयोग प्राप्त गर्ने विद्यालयमा डडेलधुराको श्री भुवनेश्वरी माध्यमिक विद्यालय, रुकुम पश्चिमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, अछामको श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री अन्नपूर्ण माध्यमिक विद्यालय रहेका छन् । बैंकका अनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै सूचना प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यले विद्यालयहरूको आवश्यकताअनुसार प्रोजेक्टर, प्रिन्टर, ल्यापटप तथा डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको हो । सामग्री सम्बन्धित शाखा प्रमुखहरूले विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरेका थिए । बैंकले उपलब्ध गराएको सामग्रीबाट विद्यालयको पठनपाठन, प्रशासनिक कार्य तथा सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।