म्याग्दीको सरस्वती विद्यालयमा २८ लाखको लागतमा नयाँ भवन निर्माण

म्याग्दी ।  बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो ।       विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले २८ लाख ६३ हजार रुपैयाँको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिए । उनका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले २४ लाख ७५ हजार सहयोग गरेको छ भने बाँकी रकम विद्यालयले श्रमदान र नगद लगानीबाट गरेको छ ।       पुरानो भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ । प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ जना विद्यार्थी अध्ययनरत छन् । 

८ विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया सुरु, आजदेखि अन्तर्वार्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुरूप तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यस प्रक्रियाको विस्तृत कार्यतालिका मन्त्रालयका आधिकारिक माध्यममार्फत सार्वजनिक गरिसकिएको छ । छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयक्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ । साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि पृथक विज्ञहरूको प्यानलको व्यवस्था गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम क्रमशः भोलि र पर्सि सञ्चालन हुनेछ। यससँगै ८ वटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाले निर्धारित समयसीमाभित्र पूर्णता पाउनेछ, जसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई नयाँ उचाइतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।   सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो । छनोट तथा सिफारिस समितिको जेठ १३ गते बसेको बैठकले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकहरूको दरखास्त स्वीकृत गरेको थियो । आवेदन परेकाहरू अध्ययन अनुसन्धान गरेर सर्टलिस्टमा परेका उम्मेदावरको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन सुरु गरिएको हो । विज्ञले दिएको अंकको आधारमा सिफारिस समितिले उपकुलपतिको नाम छनोट गरेर कुलपतिलाई सिफारिस गर्ने छ ।  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट तयार गरिएको मन्त्रालयले जनाएको छ ।

जननेत्र माविका विद्यार्थीलाई एनआईसी एशिया बैंकको शैक्षिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको मोदी गाउँपालिका–देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ । विद्यार्थीहरूको पठनपाठन तथा खेलकुद गतिविधिलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ । हाल १९१ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा आयोजित कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा तथा प्रधानाध्यापक दीपक शर्मालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले विद्यालयलाई झोला, कपी, पेन्सिल, पेनलगायत शैक्षिक सामग्रीका साथै फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सटपुट बल र जेभलिन थ्रोलगायत खेलकुद सामग्री उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो । बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै खेलकुद गतिविधिलाई थप सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।