नेपाल विश्वविद्यालय र उद्योग वाणिज्य महासंघबीच शैक्षिक सहकार्यको समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । महासंघ र विश्वविद्यालयबीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययन लगायतका विषयमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा महासंघतर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयतर्फबाट रजिष्ट्रार डा. सूर्यराज आचार्यले हस्ताक्षर गरेका छन् । पाँच वर्षसम्म कायम रहने सो समझदारी पत्रमा दुवै पक्षले पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थीको इन्टर्नशिप तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने विषयहरू समावेश गरिएको छ । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले युवा जनशक्ति विदेश पलायन भएको अवस्थामा यो समझदारीले देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेश एवं विदेशमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए । 'उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । आउने दिनमा पनि यस्तो सहकार्यका लागि हामी सकारात्मक छौं,' उनले भने । विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनीले महासंघसँग भएको समझदारीले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । 'हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो,' डा. लोहनीले भने । यस्तै, विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै त्यसका लागि महासंघसँगको सहकार्य सहयोगी हुने बताए । यस्तै, विश्वविद्यालयका रजिष्ट्रार डा. सूर्यराज आचार्यले पुराना विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बदलिएको समाजको आवश्यकता पूरा गर्न नसकेको अवस्थामा समाज र श्रम बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको बताए । गत जेठ महिनामा महासंघ र विश्वविद्यालयबीच विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो ।
शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड राखिने
काठमाडौं । शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड राखिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश गर्ने जनाएको हो । परीक्षा नियन्त्रण कार्यालयबाट आईटीएमएस अनलाइनबाट जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरी प्रमाण पत्र जारी गर्ने जनाएको छ । उक्त क्यूआर कोड मंसिर १ गतेदेखि लागू हुने गरी प्रमाण पत्र जारी गरिने छन् ।
सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट सुरू, स्टार्टअप इकोसिस्टम विकासमा सहयोग गर्ने विश्वास
काठमाडौं । दुई दिने ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ बिहीबारदेखि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरू भएको छ । लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा फेस्ट आयोजना गरिएको हो । शुक्रबारसम्म चल्ने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी भएका छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई, रकेट तथा एयरोस्पेस सम्बन्धी उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएका छन् । फेस्टको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल उपस्थित थिइन् । उनले डिजिटल स्टार्टअप र इन्नोभेसन प्रवर्द्धनमा आइसिटी अवार्ड र स्टार्टअप एण्ड आईडिया फेस्टले विगतदेखि नै महत्वपूर्ण भूमिका खेलेको बताइन् । अर्यालले भनिन्, ‘पछिल्लो समय युवाहरूमा स्टार्टअप र इन्नोभेसनप्रतिको आकर्षण बढ्दै गएको छ । सरकारले पनि सूचना प्रविधि विकासका लागि पूर्वाधार र कानुनी सुधारमा जोड दिएको छ ।’ उनले एआई नीति र एआई सेन्टर स्थापना जस्ता पहललाई सरकारको नवीन प्रविधि–मैत्री दृष्टिकोणको प्रमाणका रूपमा उल्लेख गरिन् । कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, सहसचिव आदेश खड्का, औद्योगिक विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश गुप्ता, नेपाल चेम्बर अफ कमर्स आईटी कमिटीका अध्यक्ष विज्ञान श्रेष्ठ, नास आईटीका अध्यक्ष गौरव पाण्डे लगायत विशिष्ट अतिथिहरूको पनि उपस्थिति थियो । लिभिङ विथ आइसिटीका अध्यक्ष तथा फेस्ट संयोजक राजन लम्सालले नेपाली युवाले विकास गरेका स्टार्टअप र इन्नोभेसनहरूलाई विगत एक दशकदेखि प्रवर्द्धन गर्ने अभियान जारी रहेको बताए । ‘हामी देशमा स्टार्टअप र उद्यमशीलताको इकोसिस्टम विकासमा निरन्तर काम गरिरहेका छौं, नयाँ सोच र सम्भावनालाई प्लेटफर्म दिइरहेका छौं ।’ फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी भएका छन् । अवलोकनकर्ताले ती प्रडक्ट र इन्नोभेसनहरू प्रत्यक्ष अवलोकन गरी भोट गर्ने अवसर पाउने छ न्। स्टार्टअप र प्रडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रडक्ट डेमो र नेटवर्किङ सेसन पनि राखिएको छ । फेस्टमा उद्यमी, लगानीकर्ता, नीति निर्माता, सरकारी अधिकारी, कर्पोरेट लिडर र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। एआईमा केन्द्रित शिक्षाका लागि प्रसिद्ध सनवे कलेजले पनि फेस्टमा आफ्ना विभिन्न एआई प्रोजेक्टहरू प्रदर्शनीमा राखेको छ। त्यस्तै, एआई प्रडक्ट टिङटिङ र नेपाली स्टार्टअप सस्टोटिकेट्सले क्रमशः इन एशोशिएसन विथ र पावर्ड बाई स्पोन्सरको रूपमा सहकार्य गरेका छन् । आयोजकहरूका अनुसार फेस्टले नेपालको स्टार्टअप र इन्नोभेसन क्षेत्रको वर्तमान अवस्था बुझ्न र युवाहरूको सिर्जनशीलता प्रत्यक्ष अनुभव गर्न सहयोग पुर्याउनेछ। हाल आइसिटी अवार्ड २०२५ का लागि १५ विधामा छनोट प्रक्रिया जारी छ, जसका लागि ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ।