धितोपत्र बोर्डमा प्रतिगमन !

नेपाल धितोपत्र बोर्डबाट अध्यक्ष रमेश कुमार हमालले अवकाश पाएको ६ महिना लागिसकेको छ । पुँजी बजारको नियामक निकायको कार्यकारी प्रमुख पद खाली भएको यतिका समयावधिमा सरकारले नयाँ नियुक्ती दिन सकेको छैन । हमालले अध्यक्ष पदबाट आकस्मिक राजीनामा दिएका थिएनन्, नियमित कार्यकाल सकिएपछि अवकाश भएका हुन् । अवकाश पाउँदै गरेको व्यक्तिको कार्यकाल केही दिन बाँकी हुँदै नयाँ अध्यक्ष नियुक्ती गर्ने अभ्यास अन्तर्राष्ट्रिय जगतमा छ । यस्तो असल अभ्यास नेपालको राजनीतिक नेतृत्वले गर्न सकेन । सरकारको स्थायी प्रशासनले पनि सुधारको प्रयास  गरेन । अध्यक्ष हमालको कार्यकाल व्यतित भएको एक महिनापछि सिफारिस समिति बन्यो । अध्यक्ष छनौटको मापदण्ड बनाउन समितिले एक महिनाभन्दा बढी समय लगायो । करिब चार महिना लगाएर समितिले पाँच जनाको नाम सूचिकृत गर्यो । बोडको अध्यक्ष बन्न आबेदन दिएका १९ जनाहरूमध्येबाट पाँच जनाको नाम सर्टलिष्टिङ्ग गर्न योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको टोलीलाई महिनौं लाग्नु अर्को भद्दा मजाक हो । सर्टलिष्टमा धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा.नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठ रहेका छन् । यी पात्रहरु न विलकुल नयाँ अनुहार हुन्, न काम गर्न नसक्ने पात्रहरु हुन् । उनीहरुसँग अन्तर्वार्ता लिने, व्यावसायिक योजना हेर्ने र ५ मध्येबाट ३ जनाको नाम छनौट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्ने काम हुन सकेको छैन । यसमा अर्थमन्त्री वर्षामान पुनले बेतुकको तर्क गर्दै पन्छिनु गलत मात्रै होइन यसभित्र ठूलाे रहस्य लुकेको छ भनेर अधिकांशले बुझेका छन् । एकातिर सेबोन अध्यक्ष छनौट प्रक्रियाले अस्वाभाविक समय लिएको छ भने अर्कोतिर सरकारले कानुन नै संशोधन गरी सहसचिवलाई बोर्डको अध्यक्षको जिम्मेवारी दिएको छ । अर्थमन्त्रालयले मन्त्रालयका सहसचिव नरेन्द्र रानालाई पहिले सदस्य र त्यसपछि अध्यक्षकै हैसियतमा काम गर्ने गरी पठाएको छ । अनिश्चित कालका लागि सहसचिवलाई बोर्डको अध्यक्ष बनाउने र बोर्डलाई मन्त्रालय भित्रको एक महाशाखा जसरी चलाउने सरकारको मनासय देखिन्छ । यसले नेपाल धितोपत्र बोर्डको स्वायत्तता हरणको रुपमा मात्र हेरिएको छैन । सरकारको चाललाई पुँजी बजारकाे प्रतिगमनको रुपमा चित्रण धेरैले गरेका छन् । सरकारको यस कदमप्रति धितोपत्र बोर्डका कर्मचारी पनि असन्तुष्ट रहेका छन् भने पुँजी बजारका सरोकार पक्षहरु पनि सरकारले गलत गरेको टिप्पणी गरिरहेका छन् । बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाको विवादास्पद भूमिका र उनको राजीनामा सँगै धितोपत्र बोर्डको कार्यकारी प्रमुखलाई सरकारले कमाउ औजारको रुपमा परिचालन गरेको आभास धेरैले गरेका छन् । अहिले पनि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती र नयाँ स्टक एक्स्चेञ्ज, कमोडिटी मार्केट जस्ता संस्थाका लाइसेन्सबीच सट्टेवाजीको तरङ्ग बजारमा राम्रैसँग फैलिएको छ । अर्थमन्त्रालयले कहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादलाई हटाउने खोज्ने, कहिले बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई इग्नोर गरी भेट्न नदिने जस्ता भूमिका खेल्दै आएको छ । महाप्रसाद र सूर्यप्रसाद एसम्यान भएनन् भनेर अर्थमन्त्रीले धितोपत्र बोर्डमा एसम्यान खोजेको हो कि भन्ने सन्देश पनि बजारमा गएको छ । यी सबै अभ्यास र सन्देश गलत छन् । अर्थमन्त्रीले नियामक निकायलाई नेतृत्वविहीन बनाउनु पनि हुँदैन, नियामकका कार्यकारी प्रमुखमा एसम्यान खोज्नु पनि हुन्न । राजनीतिक नेतृत्वले नियामकको स्वायत्तता हरण गर्नु पनि हुँदैन, यदि सरकारले बजारको विकास व्यावसायिक रूपमा गर्न दिने हो भने ।

स्याबास निराकार, बधाई लक्ष्मी मोटर्स

सम्पादकीयमा यो शीर्षक अलि बढी भयो भन्न सकिएला तर यतिबेला निराकार श्रेष्ठलाई स्याबास भन्नैपर्छ । पर्दामा नदेखिने निराकार र पर्दामा धेरै देखिने अन्जन श्रेष्ठको नेतृत्वमा नेपालमा कार उत्पादन सुरु भएको छ । संस्थागत हिसाबले लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, यस समूहका कार्यकारी निर्देशकहरू सुनिल श्रेष्ठ र निरन्जन श्रेष्ठ पनि बधाईका पात्र हुन् । उनीहरूले वेन्जामित फ्याङलिनले जस्तो विद्युतको आविष्कार पनि गरेका होइनन् । राईट दाजुभाईले जस्तो हवाईजहाजको आविष्कार गरेका पनि होइनन् । मार्टिन कोपरले जस्तो मोबाइल फोनको आविष्कार गरेका पनि होइनन् । तर, नेपालमा सियाे पनि बन्दैन भन्ने भाष्य मानिसको जिब्रो-जिब्रोमा झुण्डिरहेको यो देश र समाजमा कार एसेम्ब्ली प्लान्ट स्थापना गर्नु, हुण्डाई भन्यूले नेपाली जमिनमा आकार लिनु र व्यावसायिक उत्पादन सुरु हुनु गर्वको विषय हो । जुनबेला आर्थिक मन्दीका बारेमा मात्र चर्चा भइरहेको छ, लगानीकर्ताबाट निराशा मात्र सुन्न सकिन्छ, नयाँ लगानी र उत्पादनबारे समाचार पढ्न पाइँदैन, त्यहीबेला कार एसेम्ब्ली प्लान्ट सञ्चालनमा आएको छ । यहीबेला सिद्धि लक्ष्मी स्टिल उद्योगको स्तरवृद्धिमा लक्ष्मी ग्रुपले ठूलो लगानी गरिरहेको छ । यतिबेला बैंकहरूले उद्योगीलाई कर्जा दिन्छन्, ब्याजदर पनि घट्दै गएको छ । २०७८ देखि २०८० प्रारम्भसम्म तरलता अभावले बैंकहरू सिकिस्त भएका थिए । कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा माथि थियो । यस अवस्थामा उद्योग खोल्ने आँट गर्नु र लगानी जुटाउनु साँच्चिकै कठिन र उच्च जोखिमपूर्ण काम थियो । यस परिवेशमा उनीहरूले लिएको आँट, उठाएको जोखिम उद्यमीमा हुने विशिष्ट गुण हो । सबैमा यस्तो गुण हुँदैन । एसकेडी प्लान्टमा पहिलो चरणमा करिब ३ अर्ब रुपैयाँ लगानी हुँदैछ । एसकेडीबाट सीकेडी प्लान्ट गर्ने र सीकेडी प्लान्टबाट सीबीयू (कम्प्लिट व्यूल्ट युनिट) प्लान्ट बनाउने लक्ष्य छ । सीबीयू प्लान्ट बनाउँदा कोरियाली कम्पनी हुण्डाई मोटर्सको पनि लगानी हुने र त्यतिबेलासम्म कम्तिमा २५ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ । यो प्लान्ट १० बिगाहा जमिनमा बनेको छ । हाललाई वार्षिक ५ हजार कार एसेम्ब्ली गर्ने प्लान्टको क्षमता छ । तत्काल २०० जनाले रोजगारी पाएका छन् भने निकट भविष्यमा ५०० जनाले रोजगारी पाउनेछन् । कम्पनीले अहिले भेन्यू उत्पादन थालेको छ । आइटेन र क्रेटा एसेम्ब्ली गर्ने अन्तिम तयारी भइरहेको र अर्को वर्षदेखि हुण्डाईको इलेक्ट्रिक कार पनि एसेम्ब्ली हुने कम्पनीले जनाएको छ । केही वर्षभित्रै सीबीयू प्लान्ट सञ्चालनमा ल्याउने र हुण्डाईका कोरिया, भारतमा बन्ने गाडीहरू नेपालमा नै बनाउने लक्ष्मी मोटर्स कर्पोरेशनको योजना छ । सीबीयू प्लान्ट सञ्चालनमा आएको देख्ने सबै नेपाली तीव्र प्रतिक्षामा बसिरहनेछन् । हुण्डाईका गाडी नेपालको बजारमा मात्र होइन, विश्वभरि रुचाइएका र सर्वाधिक बिक्री हुने गाडीमा पर्छन । एसेम्ब्ली नेपालमा भए पनि सबै सामान कोरियाबाट आयात हुने र एसेम्ब्लिङ मापदण्ड र गुणस्तर जाँचमा मदर कम्पनी हुण्डाई मोटर्सले नै नियन्त्रण गरेको छ । गुणस्तरका मापदण्ड अनुसरण गर्दै गाडीका पार्टहरू उत्पादन पनि नेपालमा नै गर्न सकियो भने देशका लागि त्यो दीर्घकालीन रूपमा लाभदायी हुनेछ । नेपालमा उत्पादन सुरु भएपछि मूल्य घट्ने अपेक्षा सबै नेपालीको छ । त्यसतर्फ कम्पनीलाई छिट्टै सफलता मिलाेस्, शुभकामना ।

सम्मान संस्कारको सुरुवात

पायोनियर सञ्चार माध्यमको काम नविनतम् समाचार सम्प्रेषण गर्ने मात्र नभई सरोकारवालाको कार्यशैलीलाई उत्प्रेरणा जगाउँदै थप परिष्कृृत गर्नु पनि हो । सकारात्मक समाचारको एउटा वाक्यले व्यक्ति वा संस्थालाई समेत ठूलो उत्प्रेरणा मिल्छ भने एउटा पायोनियर सञ्चार माध्यमले सरोकारवाला निकायले गरेको कामलाई प्रशंसास्वरुप सम्मान गरियो भने त्यसले एउटा व्यक्ति वा संस्था मात्र नभई त्यो क्षेत्र र सिंगो देशको अर्थतन्त्रमा पनि सहयोेग पुग्छ, प्रोत्साहन मिल्छ र थप काम गर्न बल पुग्छ । तर, पछिल्लो समय राम्रो गर्नेलाई पनि खोजी-खोजी खेदो खन्ने सोच र अभ्यास समाजमा हावी हुँदै गएको छ । राम्रो काम गरेर समाज र सिंगो देशलाई समेत टेवा पुर्याइरहेका उदाहरण र अभ्यास हाम्रोसामू धेरै छन् । ती कामलाई नजरअन्दाज गर्दै खराब प्रवृति र गलत गतिविधिलाई बढावा दिने परिपाटीले थप स्थान ओगट्दै गएको छ । हो, समाजमा खराब काम पनि भइरहेका छन् । खराबलाई खराब भन्नु र राम्रोलाई राम्रो भनेर थप प्रशंसा गर्दै उत्प्रेरणा जगाउनु एउटा सभ्य व्यक्ति, संस्था र समाजको धर्म हो । एउटा क्षेत्रमा व्यक्ति खराब हुने वित्तिकै त्यो क्षेत्र नै बदनामी हुनु पर्ने वातावरणको सिर्जना हुँदै गएको छ । एउटा नेता वा कलाकार, उद्यमी वा व्यवस्थापक, डाक्टर वा इन्जिनियर, वकिल वा पत्रकार विभिन्न रूपमा आलोचित, बहिस्कृत र तिरस्कृत हुन थालेका छन् । जे नहुनु पर्ने हो, त्यो भइरहेको छ । यो परिपाटीको पर्दाफास गर्नु पत्रकारितका मुल कर्म हो । साथसाथै, समाजमा सकारात्मक सोच प्रवाह गर्नु र असल अभ्यासहरुको तरङ्लाई विस्तार गर्नु पनि आम सञ्चार क्षेत्रको जिम्मेवारी हो । यही जिम्मेवारीबोधसहित आर्थिक जगतमा भइरहेको राम्रा कामहरूको खोजी गर्ने, अर्थतन्त्रमा टेवा पुग्ने गरी व्यावसायिक क्षेत्रबाट राम्रो काम गर्ने संस्था वा नेतृत्वको खोजी तथा पहिचाहन गर्ने र सम्मानित गर्ने अभ्यासमा हामी लागि परेका छौं । यसको सुरुवात वाणिज्य बैंकहरूको कर्म, प्रभाव र नतिजाको विश्लेषणबाट गरेका छौं । अहिले बैंकहरूको खराब कर्जा बढ्दो छ । बैंकहरूको नाफामा उच्च गिरावट आएको छ । लगानी भएको ऋण असुल गर्न समस्या भइरहेको छ । यही समयमा केही अराजक व्यक्ति र समूहले यही बैंकिङ क्षेत्रमाथि हमला गर्ने प्रयास पनि भइरहेको छ । परिणामस्वरुप बैंकबाट लगानी गरेबापत् सेयरधनीले पाउनु पर्ने लाभांश घट्दै गइरहेको छ । बैंकमा काम गर्ने कर्मचारी तनाबमा छन् । निक्षेपकर्ताहरू कतै मेरो पैसा डुब्ने त होइन भन्ने त्रासमा छन् । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको बैंकिङ क्षेत्रमाथि यो किसिमको हमला हुनु सिंगो देशका लागि दुभार्ग्य हो । यो परिस्थिति र वातावरणको बिचमा रहेर यो त्रास, तनाब र नैराश्यताको अन्त्य गर्न सकारात्मक योगदानको जरुरी छ । यो बेला सकारात्मक सन्देश प्रवाह गरेर चोट लागेको घाउमा मल्हम लगाउन आवश्यक छ । यस विषयको मनन् गर्दै हामीले वित्तीय क्षेत्रमा नयाँ सन्देश प्रवाह गर्न खोजेका छौं । राम्रा काम गरिरहेका वित्तीय संस्थाहरूलाई श्रेय दिन खोजेका छौं । देश विकासले वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरूको मूल्यांकन गर्दै बैंकहरूले विगत तीन वर्षमा सेयरधनीलाई वितरण गरेको लाभांश दर, गत वर्ष सरकारलाई तिरेको कर रकम, रोजगारी सिर्जना तथा वित्तीय पहुँचमा पुर्याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएको खर्च, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित प्रकाशित वार्षिक प्रतिवेदन, विगत तीन वर्षमा वार्षिक साधारणसभाको नियमितता, सुशासनसँग सम्बन्धित भएर नेपाल राष्ट्र बैंकले गरेको कारवाही सम्बन्धि विवरणहरू लगायत १५ वटा सूचकहरूको आधारमा बैंकहरुको रेटिङ गरेको छ । यसरी मूल्याङ्कन गर्दा सकेसम्म तथ्यपरक बनाउने कोसिस गरेका छौं । तथ्याङ्क केलाउँदा अङ्कगणित आधारमा ठूलोलाई राम्रो मानिएको छ । पुँजी लगानी, सम्पत्ति, निक्षेप, सेयरधनीलाई दिएको लाभांश दर, सरकारलाई तिरेको कर, सामाजिक क्षेत्रमा गरेको खर्च जस्ता सूचकमा ठूलो अंकलाई बढी महत्व दिइएको छ । रोजगारी सिर्जनामा गरेको योगदानस्वरुप कर्मचारी संख्या, वित्तीय पहुँच वृद्धिमा गरेको योगदानको आधारमा शाखा संख्या बढी हुनुलाई पनि राम्रो मानेका छौं । कुल पुँजीकोष जोखिम भारित सम्पत्ति अनुपात १३ र निक्षेप-कर्जा अनुपात (सीडी रेसियो) ८५ लाई उत्तम बिन्दु मानेका छौं । राष्ट्र बैंकले तोकेको ११ र ९० को आधारमा यस्तो गरिएको हो । कुल पुँजीकोष जोखिम भारित सम्पत्ति अनुपात १५ भन्दा बढी हुनु वा सीडी रेसियो ७५ भन्दा कम हुनुलाई व्यावसायिक वित्तीय असन्तुलनको रूपमा चित्रण गरेका छौं । असोज मसान्तभित्रै भएको साधारणसभालाई उत्कृष्ट, पुसभित्र भएको साधारणसभालाई राम्रो,चैत्रभित्र साधारणसभा हुनुलाई औसत, असारभित्र साधारणसभा हुनुलाई कमजोर र हरेक आर्थिक वर्षभित्र साधारणसभा नगर्नेलाई अनियमितको रूपमा मूल्याङकन गरेका छौं । सुशासनको कडीको रूपमा नियामकले गरेका कारवाहीको संख्या र प्रकृतिलाई हेरेका छौं । अनुभवका आधारमा आगामी दिन यसलाई अझ बहुआयामिक बनाउने छौं । आशा छ, यो कार्यले समग्र बैंकिङ क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनेछ ।