सलिकोको २९औं वार्षिक साधारणसभा सम्पन्न, ५० करोडभन्दा बढी नाफा आर्जन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आर्थिक वर्ष २०८१/०८२ को २९औं वार्षिक साधारणसभा मंगलबार (आज) सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ५० करोड २ लाख ४८ हजार ५२३ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले वृद्धि हो । त्यसैगरी, कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८३ कराेड ३२ लाख ९२ हजार ६१४ दाबी भुक्तानी गरेकोमा चालु आर्थिक वर्षमा  ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ।  सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । साथै सञ्चालक समितिको सिफारिसअनुसार सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मत रूपमा पारित गरिएको छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सलिकोको व्यवसायिक प्रगति, वित्तीय अवस्था तथा आगामी कार्यदिशा बारे सेयरधनीहरूलाई विस्तृत जानकारी गराए । उनले चुनौतीपूर्ण बजार परिस्थितिका बीच पनि कम्पनीले सन्तुलित र दिगो वृद्धितर्फ अग्रसर भएको बताए । आगामी वर्षहरूमा पनि ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको विश्वास दिलाउँदै उनले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा थप जोड दिइने बताए ।

छिमेक लघुवित्तको २४औं साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश र पूँजी वृद्धि गर्ने निर्णय

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा मंगलबार हेटौंडास्थित होटल सामना प्रालिमा सम्पन्न भएको छ। साधारण सभा संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा भएको हो । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाडौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हाल ६९ जिल्लामा रहेका १९७ वटा शाखामार्फत ४ लाख ४० हजार ३ सय ७ जना महिला सदस्यलाई लघुवित्त सेवाहरू प्रदान गर्दै आएको छ । वि.स. २०५८ सालमा स्थापना भएको संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद मुनाफा आर्जन गरेको छ । साधारण सभाले उक्त मुनाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी, संस्थाको हाल कायम चुक्ता पूँजी ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैयाँलाई वृद्धि गरी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैयाँ ५० पैसा पु¥याउने प्रस्ताव पनि सभाले पारित गरेको छ । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक निधि तिवारीले संस्थाको वर्तमान अवस्था तथा भावी योजनाबारे मन्तव्य व्यक्त गरेका थिए । साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक पदका लागि प्रकाश राज विष्ट आगामी चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल ईन्स्योरेन्सको ७७ औं साधारण सभा सम्पन्न, १६ करोड लाभांश पारित

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७७ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा भएको हो । कम्पनीले आ.व. २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । सभाले आ.व. २०८१/८२ को नाफाबाट २५४ करोड रुपैयाँ  चुक्ता पूँजीको ६.३१५८ प्रतिशत दरले १६ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मति पारित गरेको छ। साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको पुनर्नियुक्ति समेत गरेको छ। नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित यस कम्पनीले विगत ७८ वर्षदेखि नेपाली बीमा बजारमा आफ्नो विश्वासिलो पहिचान कायम राख्दै आएको छ । कम्पनीले देशभर ५४ शाखा/उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।