नेपाल लाइफको समृद्धि लगानी योजनाको इकाई बिक्री खुला

काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रहेको नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई बिक्रीमा आएको छ । यस योजना अन्तर्गत प्रति इकाई १० रूपैयाँको दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ । बीज पूँजीका लागि कम्तीमा २ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको कम्तीमा १५ प्रतिशत मध्ये नेपाल लाइफलाई १४ प्रतिशत (२ करोड २४ लाख इकाई) र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत (१६ लाख इकाई) सुरक्षित गरिएको छ । बाँकी रहेको न्यूनतम १३ करोड ६० लाख इकाई सर्वसाधारण तथा संघसंस्थाहरूका लागि निष्कासन तथा बिक्री खुला गरिएको छ । आवेदनका लागि न्यूनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले यस योजनाको इकाई खरीदका लागि माघ ४ गतेदेखि आवेदन दिन सक्नेछन् । निष्कासन छिटोमा माघ ८ गते बैंकिङ समयपछि बन्द हुनेछ । यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन अवधि माघ १८ गते बैंकिङ समयसम्म लम्बिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले बनाएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइनमार्फत सिआस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६९ करोड १५ लाख रुपैयाँको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १२.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव विष्णु प्रसाद धितालले जानकारी दिए । 

मोरङको उर्लाबारीमा सूर्यज्योति लाइफको १७६औँ शाखा सञ्चालनमा

मोरङ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो १७६औँ शाखा विस्तार गरेको छ । आम नागरिकसम्म बीमाको सहज पहुँच पुर्‍याउने उद्देश्यसहित स्थापना गरिएको उक्त शाखाको विधिवत् उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलले संयुक्त रूपमा गरेका हुन् । कम्पनीले हाल देशभर १७६ वटा शाखा कार्यालयमार्फत आफ्ना बिमितलाई सेवा प्रदान गर्दै आएको छ । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमाको पहुँच दूरदराजसम्म विस्तार गर्दै आम नागरिकलाई बीमाको दायराभित्र ल्याउनु कम्पनीको प्रमुख लक्ष्य रहेको बताए । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख पौडेलले व्यक्तिगत अनुभव उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि बीमा अत्यावश्यक रहेको बताइन् । साथै, नगरपालिकाले बीमाको महत्त्वबारे जनचेतना फैलाउँदै नगरवासीलाई बीमा प्रणालीमा आबद्ध गराउन प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमा ३५ वटा घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा प्रदान गर्दै आएको छ ।