सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा शुक्रबारसम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा अध्यक्षको मन्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ । त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्न पारित गरिएको छ । वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ । सभामा बीमा ऐन, २०७९ अनुसार स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै सञ्चालक समिति सदस्यहरूको सेवा–सुविधा, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू समेत अनुमोदन गरिएको छ ।
नेपाल प्रहरीले गर्यो नेपाल लाइफ इन्स्योरेन्सलाई सम्मान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा यस कम्पनीले दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसम्भार र पुनःस्थापनामा गरेको सहयोगको सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक कार्कीबाट सो कदर पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अमितकुमार कयालले संयुक्त रुपमा ग्रहण गरे । दरबारमार्गको प्रहरी कार्यालय निर्माणार्थ यस कम्पनीले १७ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिकमा स्थापित गराउन तथा प्रहरी कार्यालयको पुनःस्थापनामा यस कम्पनीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो । यस अगावै पनि यस कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो । साथै काठमाडौंको बसपार्कस्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ यस कम्पनीले ६० हजार र जिल्ला प्रहरी कास्कीलाई कार्यसम्पादनलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनका निम्ति पाँच थान कम्प्युटर प्रदान गरिएको थियो ।
जेनजी आन्दोलनको क्षति : बीमितलाई ५ अर्ब ४८ करोड भुक्तानी
काठमाडौं । बीमा कम्पनीहरूले ५ अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ३ हजार ३१६ वटा बीमा दाबीको करिब २३ अर्ब ४७ करोड दाबी रकम परेको थियो । सोमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी कम्पनीहरूले गरिसकेका हुन् । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब ५ करोडमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ । यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये करिब ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिब १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिब ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ । यस्तै, जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कुल करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ । बीमा प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कुल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कुल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रहेको छ।