राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रमेश अर्याल नियुक्त

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमेश अर्याल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले कम्पनीका सञ्चालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराए । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।

शिखर इन्स्योरेन्सको २१औं वार्षिकोत्सवमा ३० कर्मचारीले पाए चाँदीको सिक्का

काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।  कार्यक्रमका अवसरमा कम्पनीले २० वर्ष सेवा पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीलाई चाँदीको सिक्का तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । कर्मचारीको समर्पण र मेहनतलाई कदर गर्दै सम्मान गरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले देशभर आयोजित रक्तदान कार्यक्रममार्फत १४३९ युनिट रगत संकलन गरेको छ ।  आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै उत्कृष्ट, भरपर्दो तथा नवप्रवर्तनयुक्त बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता शिखर इन्स्योरेन्सले व्यक्त गरेको छ । शिखर इन्स्योरेन्स नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस- १७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनीसमेत हो ।  शिखर इन्स्योरेन्सले २०६१ मंसिर २ गतेबाट औपचारिक रूपमा बीमा सेवा शुभारम्भ गरेको थियो । १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल २ अर्ब ६५ करोडको चुक्ता पुँजी रहेको छ । साथै ७ अर्ब ६५ करोड भन्दा बढी नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवर्द्धित बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेटवर्थ रहेको निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी ११२ शाखा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।  यस कम्पनीले हिमाली क्षेत्रमा पहिलो पटक मौषममा आधारित स्याउ बीमा गरेर किसानहरूलाई राहत समेत प्रदान गरेको छ । त्यस्तै, कम्पनीले चितवनमा गरेको केरा बीमा समेत उत्कृष्ट र नमुना बीमाको रूपमा परिचित छ। २०६१ साल जेठ १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको शिखर इन्स्योरेन्स कम्पनीले २०६१ साल कार्तिक २६ गते बीमा समितिबाट निर्जीवन बीमा सेवा प्रवाह गर्ने लाइसेन्स पाएको थियो । बीमा समितिबाट लाइसेन्स पाएको १ साताभित्रै अर्थात् मंसिर २ गतेबाट औपचारिक रूपमा बीमा सेवा शुरू गरेको थियो ।

व्यवसायमा नेक टु नेक शिखर र सलिको

काठमाडौं । शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी दुई कम्पनीबीच विभिन्न सूचकमा राम्रो प्रतिस्पर्धा देखिएको छ ।  दुई बीमा कम्पनीकाे तुलनात्मक विश्लेषण कुल बीमाशुल्क आर्जन : पहिलो त्रैमासमा कुल बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) तगडा देखिएको छ । पहिलो त्रैमासमा सलिकोले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ६२ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा शिखरले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ । खुद बीमाशुल्क आर्जन : पहिलो त्रैमासमा खुद बीमा शुल्क आर्जनमा पनि सलिकोले शिखरलाई उछिनेको छ । तीन महिनाको अवधिमा सलिकाले ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । शिखरले २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । खुद नाफा : पहिलो त्रैमासमा सलिको र शिखर दुवै कम्पनीको नाफा ऋणात्मक रहेको छ । सलिको नाफा २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने शिखरको नाफा १५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ ।  कुल आम्दानी : पहिलो त्रैमाससम्ममा कुल आम्दानी संकलनमा सलिको अगाडि देखिएको छ । सलिकोको असोजसम्ममा ८४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ भने शिखर इन्स्योरेन्सले ५३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।  सेयर पुँजी : सेयर पुँजीको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ । शिखर इन्स्योरेन्सको शेयर पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको छ भने सलिकोको शेयर क्यापिटल २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ । स्पेशल रिर्जभ : पहिलो त्रैमासमा स्पेसल रिर्जभमा सलिको अगाडि देखिएको छ । सलिकोको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने शिखरको १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ रहेको छ । महाविपत्ति कोष : असोज मसान्तसम्ममा सलिकोको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ र शिखरको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ : रिटेन्ड अर्निङमा सलिको अगाडि देखिएको छ । तीन महिनासम्ममा सलिकोको रिटेन्ड अर्निङमा १७  करोड ४३ लाख रुपैयाँ भने शिखर इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ६ करोड ७७ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी :  अन्य इक्युटीमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । शिखरको अन्य इक्विटीमा ५८ करोड ४२ लाख रुपैयाँ रहेको छ भने सलिकोको अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ ।  प्रतिसेयर आम्दानी : पहिलो त्रैमासमा शिखर र सलिकाको वार्षिक प्रतिसेयर आम्दानी ऋणात्मक देखिएको छ । शिखर इन्स्योरेन्सको प्रति सेयर आम्दानी  २१.७० रुपैयाँले ऋणात्मक रहेको छ । सलिकोको वार्षिक प्रतिसेयर आम्दानी ४०.७८ रुपैयाँ ऋणात्मक रहेको छ । बीमालेख संख्या : बीमालेख संख्याको आधारमा शिखर अगाडि देखिएको छ । तीन महिनाको अवधिमा शिखरले ७९ हजार ४६५ वटा बीमालेख जारी गरेका छन्  भने सलिकाले ६५ हजार १०२ वटा बीमालेख जारी गरेका छन् । दाबी संख्या : दाबी संख्याको आधारमा पनि शिखर सलिकोभन्दा तगडा देखिएको छ । पहिलो त्रैमासमा शिखरले ४ हजार ७६५ वटा दाबी भुक्तानी गरेको छन् भने सलिकालेले ३ हजार २२८ वटाको भुक्तानी गरेको छ ।  कुल सम्पति : पहिलो त्रैमाससम्ममा सलिकोको कुल सम्पति १७ अर्ब ६६ करोड रुपैयाँ रहेको छ भने शिखरको १५ अर्ब ५८ करोड रुपैयाँ छ । कुल सम्पत्तिमा पनि सलिको तगडा देखिएको छ । कुल दायित्व : सलिकोका कुल दायित्व ११ अर्ब ६६ करोड रुपैयाँ रहेको छ भने शिखरको ११ अर्ब ६६ करोड रुपैयाँ छ । लगानी : लगानीमा सलिको अगाडि देखिएको छ । असोज मसान्तसम्ममा सलिकोको लगानी ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने शिखरको ४ अर्ब ९१  करोड ७४ लाख रुपैयाँ रहेको छ ।