बीमा दाबी फर्छ्यौटका लागि सम्पर्कमा आउन बीमितलाई एनएलजी इन्स्योरेन्सको आग्रह

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा दाबी फर्छ्यौटका लागि सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ ।

कम्पनीले बुधबार (आज) एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । कम्पनीले २०८२ चैत मसान्तसम्ममा क्षति भई बीमा दाबी पेस भएर पनि हालसम्म आवश्यक कागजात पेश नभएकोले दाबी दाबी फर्छ्यौट हुन नसकेको जनाएको छ ।

एनएलजी इन्स्योरेन्सका चिफ म्यानेजर प्रभात एसीले कतिपय बीमितले क्षति भएपछि दाबी गर्ने तर त्यसका लागि आवश्यक कागजात समयमै पेश नगर्ने जानकारी दिए ।

‘बीमा दाबी चाहियो भनेर भन्नुहुन्छ, तर आवश्यक कागजात पूरा नभएसम्म हामीले भुक्तानी गर्न मिल्दैन,’ उनले भने । 

उनका अनुसार आवश्यक प्रक्रिया पूरा नगरी भुक्तानी गर्दा कम्पनीलाई नै समस्या हुन सक्ने भएकाले दाबी फर्छ्योटका लागि कम्पनीले सूचना जारी गर्नुपर्ने अवस्था आउने गरेको छ ।

उनले बीमितलाई सचेत गराउन तथा आवश्यक कागजातबारे जानकारी दिनका लागि पनि कम्पनीले यस्ता सूचना जारी गर्ने गरेको बताए ।

कम्पनीले  ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गर्न भनिएको छ ।

तोकिएको अवधिभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमा दाबीका फाइल बन्द गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमा दाबी विवरण कम्पनीको वेबसाइटमा हेर्न सक्नेछन् । 

Share News