भारी मतान्तरले विजयी हुन्छु, अबको राजनीति उद्यमशिलतासहितको हुनु पर्छ : हरि ढकाल

नेपाली सेयर बजारमा परिचित नाम हो हरि ढकाल । सेयर लगानीकर्ताका रुपले परिचित ढकाल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनले चितवन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले उनी चुनावी तयारीमै व्यस्त छन् । देशभर स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको बेला ढकाल पनि चुनावी क्षेत्र नं. १ बाट विजयी हुने उद्धेश्यका साथ तयारी गरिरहेका छन् । नेपाली पुँजी बजारको सुधारका लागि पनि लामो समयदेखि संघर्ष गर्दै आएका ढकाल अर्थतन्त्रका केही महत्वपूर्ण एजेण्डाहरु लिएर चुनावमा भाग लिँदैछन् । उनै ढकालसँग उनको उम्मेदवारी, नेपाली राजनीतिमा स्वतन्त्र उम्मेवारको महत्व र उनको चुनावी तयारीको विषयमा कुराकानी गरेका छौं । तपाई व्यावसायीक पृष्ठभूमिको मान्छे राजनीतिक उन्मुख हुनुहुँदैछ, अब नयाँ मान्छेसँग आफ्नो परिचय दिँदा कसरी दिनुहुन्छ ? मेरो सामान्य परिचय चितवन रत्ननगर-१५ को ज्योतिषी ढकालको नाती, दुर्गानाथ ढकालको छोरा हुँ । तर, मैले नयाँ साथीहरुलाई मेरा एजेण्डाहरुबाट चिनाउने गरेको छु । किनभने मैले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको छु । चितवन क्षेत्र नम्बर १ मा निर्वाचित हुनका लागि मेरो योजना र भिजनहरु देखाएर चिनाउँछु । किनकी मेरा एजेण्डाका मार्फत् राजनीतिमा आएको हुँ । पछिल्लो समय ४० दिन चितवनमा बस्दा नयाँ साथीहरुलाई जसले मलाई चिन्नु हुन्थेन, मैले मेरो एजेण्डाका मार्फत उहाँहरुलाई चिनाएँ । तपाईंले स्तवत्तबाट उम्मेदवारी दिने तयारी गर्नु भएको छ, अखिल र एमालेसँग नजिक भएर गरेको राजनीति किन त्याग्नु भयो ? मैले ४÷५ वर्षदेखि पार्टीको सदस्यता नवीकरण गरेको छैन । मैले आस्था राखेको पार्टीमा यो बीचमा विभिन्न घटनाक्रमहरु भएका छन् । जुन समयमा मैले पार्टीमा आस्था राख्थे ठीकठाक भएको छैन । राजनीतिक पार्टीहरु सैद्धान्तिक रुपमा बहस गर्न, घोषणा पत्र र एजेण्डा दिन अब्बल छन् । पार्टीका नेताहरुको अभिव्यक्तिहरु पनि अब्बल छन् । तर, सिद्धान्त अनुसार पार्टी चल्न सकेका छैनन् । सबै राजनीतिक पार्टीहरु जनताको तहमा पुग्न सकेनन् । जनतामा पुग्नु पर्ने भएपनि त्यो लेभलमा नेपालका पार्टीहरु कहिले पुग्छन् ? थाहाँ छैन । आम पब्लिकले पनि राजनीति गर्नेहरु कमाउने उद्देश्य राखेर अबको राजनीति गर्दैछ भनिरहेका हुन्छन् । सांसद, मन्त्री लगायतको पदको दुरुपयोग गर्नका लागि राजनीति गरिरहेका छन् । आफ्नो परिवारको फाइदाका लागि काम गर्न राजनीति गरिरहेका छन् । स्वार्थ बाझिने, नीतिगत भ्रष्ट्राचार अहिलेका नेतृत्वले गरिरहेका छन् । म पूर्ण रुपमा व्यावसायमा लागेको ब्यक्ति हो । मैले व्यवसाय गरिरहँदा पारदर्शी छ । बिक्री गर्याे भने क्यापिटल गेनबाट साढे ७ प्रतिशत राज्यले कर काटेर लैजान्छ । खरिद गर्याे भने सिस्टमबाट नै सबै काम हुन्छ । अबको राजनीति उद्यमशिलता सहितको राजनीति हुनुपर्छ । उद्यमशिलता सहितको राजनीतिले एउटा युवालाई एउटा घेरामा राख्दैन । उद्यमशिलताबाट आएको राजनीतिज्ञले विवेक प्रयोग गर्छ तर स्पोन्सरसिपबाट आएको राजनीतिज्ञले अरुको इन्ट्रेस्टमा काम गर्छ । उसले विवेक प्रयोग गर्न सक्दैन । उसको आफ्नो विवेकले काम गर्न समाथ्र्य पुग्दैन । राजनीतिलाई विशुद्ध समाज सेवाका रुपमा लैजानु पर्छ भन्ने विचारधारा राख्नेलाई ब्यापारी राजनीति गर्न आयो भनेर आलोचना पनि गर्छन् नी ? वि.स २०४६ सालदेखि राजनीति विशुद्धसमाज सेवा हो भनेर राजनीति गर्नेहरुको ब्यवहार पनि देखिरहेका छौं । सबैलाई थाहा नै छ, विगतको राजीतिज्ञले केकस्ता गतिविधि गरेर भनेर । सबै पार्टीभित्र राजनीति विशुद्ध समाज सेवा हो भनेर राजनीति गर्नेहरु हजारौंको संख्यामा हुनुहुन्छ । सबैले अवसर पाएका छैनन् । अवसर पाएको बेला उनीहरुले गलत रुपमा प्रयोग गरे । तर, सबैलाई एउटै फेबर बाट हेर्नु हुन्न । २०४६ सालदेखि २०७९ सालसम्मको राजनीति समाजले हेरेको छ । हिजोको समाज र आजको समाज फरक छ । व्यावसायिक क्षेत्रबाट नेतृत्व गरेर सांसद वा मन्त्रीमा पुगेका ब्यक्तिले राम्रो सन्देश दिन सकेनन्, उहाँहरुले ब्यवहारिक रुपान्तरणमा विकासको एउटा नयाँ ट्र्याक खोल्न भूमिका खेलेको देखिएन नी, यसलाई तपाईंले कसरी लिनुहुन्छ ? यो विषयमा म मात्रै होइन हाम्रो समूहले नै घनिभूत रुपमा बहस गरेका छौं । विनोद चौधरी, राजेन्द्र खेतान, मोतीलाल दुगड जस्ता ठूलो ब्यापारी होइन । सानो भुँईबाट आएको ब्यक्ति हो । भुँईबाट आउदाखेरि मसँग एउटा कुरा थियो, यहाँ भित्रको विसंगतिका विरुद्धमा काम गरे । विनोद चौधरी, राजेन्द्र खेतान, मोतीलाल दुगडको व्यावसायीक पृष्ठभूमि वा आर्थिक नेटवर्कसँग मेरो तुलना नै गर्न मिल्दैन । त्यो पृष्ठभूमिको म होइन । मेरो सामान्य कपडाको ब्यापार, सामान्य क्याफे सञ्चालन, सामान्य रुपमा आईपीओ भरेको, सामान्य पैतृक सम्पत्तिलाई सेयर बजारमा जोडेको मात्रै हो । उहाँहरु राजनीतिक दलमा आवद्ध भएर आउनु भएको हो । त्यो राजनीतिक दलहरु भित्रको गोलचक्करमा पर्नु भयो की, उहाँहरुले राजनीतिक दलमा राम्रो प्रस्तुति दिन सक्नु भएन की ? राजनीतिक दलहरु भित्र गुट, उपगुट लगायत अनेक हुन्छन् । त्यो गोलचक्करमा परेर उहाँहरुले प्रस्तुती दिन नसक्नु भएको हो की ? उहाँहरु सबै अग्रज हुनुहुन्छ । उहाँहरुले यो अन्तर्वार्ता हेर्ने हो भने मेरो विश्लेषण ठिकै पो होकी भन्नुहुन्छ । तर, आजका राजनीतिक दलहरु युवाहरुले नेतृत्व गरेका छन् । नयाँ दलहरु बन्दैछन् । त्यहाँ यस्तो प्रकारको राजनीति भइरहेको छैन । तपाईं प्रतिनिधिसभाको लागि निर्वाचनमा भाग लिँदै हुनुहुन्छ, किन ? नीतिगत भ्रष्ट्राचारको अन्त्य गर्न । जतिपनि कानुनहरु बनेका छन्, ती कानुनहरु फितलो भएका छन् । यी कानुनहरु संशोधन हुनुपर्छ भनेर घनिभूत रुपमा बहस भएको छ । कानुन संशोधन गरेर कडा कानुन ल्याउनपर्छ । भ्रष्ट्राचारको अन्त्य गर्न धेरै बहस भएतर आम जनसमुदायले कसरी भ्रष्ट्राचार हुन्छ भनेरै बुझेका छैनन् । उहाँहरुले भ्रष्टाचार भयो भन्ने मात्रै सुन्नु भएको छ । यहाँ ठूलो मात्रामा नीतिगत भ्रष्ट्राचार हुने गरेको छ । ‘र’ मा भ्रष्टाचार, ‘तर’ मा भ्रष्टाचार, ‘क’ मा भ्रष्टाचार, ‘पनि’ मा भ्रष्टाचार हुने गरेको छ । यसको लाभ लिने ठूलो समूह छ । यसलाई अभियानको रुपमा संसदामा सञ्चालन गर्नु पर्ने हुन्छ । नीति तथा कार्यक्रम तय हुँदाखेरि विकास पनि सँगै जोडिन्छ । तर, हामी कति धेरै पछाडि परेका छौं भन्ने सबै कुरा छर्लङ्ग नै छ । हामी दीगो विकास र पर्यावरणसहितको विकासका नीतिहरु प्रस्तुत गर्नका लागि उपस्थित हुँदैछौं । जस्तै, एउटा राम्रो पिपलको रुख छ । पिपलले शितल दिइरहेको छ । तर, त्यहि पिपलको रुखमा डोजर चलेर ढाल्दै गर्दा हेर्ने जनता पनि छन् । त्यो पिपलको रुख ढाल्नु हुँदैन भनेर आवाज उठाउने पनि छन् । बाटोलाई अलिकति अन्तबाट लगेर पिपलको रुख जोगाउनुपर्छ भन्ने खालको विकास हामी गर्नेछौं । अलिकति इन्जिनियरिङ्ग र क्रस गरेर लैजाँदा दुइवटा रुख बच्छन् । यो खालको विकास आजको दिनमा आवश्यक छ । तर, यस्तो अवस्था यहाँ छैन । पहाडि राजमार्गहरु बन्दाखेरि डोजरले बनाएको क्षति, डोजरले कोतरेका भित्ताहरु धेरै छन् । प्लेनबाट तल जमिनमा हेर्दा के चलिरहेको छ भनेर सोच्न गर्छु । यो धर्ती, नेपाल, मेरो क्षेत्र नम्बर १ चितवन मेरो जीवन कालका लागि मात्रै हो ? सन्ततीका लागि होइन ? सन्ततिका लागि होला नी त । सन्ततिका लागि हो भने त सबैभन्दा पहिला धर्ती जोगाउन पर्छ होला नी । यसका लागि मैले हरित चितवन, सुन्दर पूर्वी चितवनको नारा लिएको छु । सार्वजनिक जग्गामा जतिपनि खाली ठाउँहरु छ, त्यसमा फलफूलका रुख रोप्ने योजना छ । हामीले फलफूलका रुखहरु रोप्ने अभियान नीतिगत रुपमा नै बनाउँछौं । हामीसँग चितवनमा धेरै जग्गा छ ।त्यसमा फलफूलका रुखहरु विपत्तै रोप्यौं भने ४ वर्ष पछि फल दिन थाल्छ । रुख पनि भयो फल पनि भयो । यो खालको अवधारणा अहिले आएको छैन । हामी यसप्रकारको विकासका मोडल लिएर आएका छौं । आर्थिक समुन्नतिका पाटो, युवा रोजगारी, बैदेशिक रोजगार र रेमिट्यान्समाभएको मनोभाव तल्लो तहमा चिर्नुपर्ने छ । विदेश केही पनि होइन । त्यहाँ दुख पनि हुन सक्छ है भनेर त्यहाँको आकर्षणलाई छेक्नु पर्नेछ । उहाँहरुलाई विदेश जानबाट रोक्ने मात्रै नभएर यहाँ अवसर पनि दिलाउनु पर्नेछ । अहिलेको राजनीतिक पार्टीहरुले अवसर दिलाउनका लागि अहिले केही पनि गरेका छैनन् । मेरो क्षेत्रमा ४२ वटा वडाहरु छन् । प्रत्येक वडामा कृषि प्रवद्र्धन केन्द्र बनाउने योजना अघि सारेको छु । पहिलो चरणमा कृषकलाई मेशिनरी औजार मात्रै दिए हुन्छ ।दुईंवटा ट्याक्टर, थ्रेसर लगायतका प्राविधिक मेशिन खरिद गर्न धेरै बजेट पनि आवश्यक पर्दैन । जनताले इन्धन भरेको आधारमा त्यो प्रविधि प्रयोग गर्न पायो भने लागत घट्छ । तब कृषिमा आकर्षण बढ्छ । अनि विदेश जाने युवाहरुको संख्या पनि घट्छ । यस विषयमा मैले पूर्वी चितवनका कृषकहरुसँग छलफल पनि गरेको छु । यस्तै, पूर्वी चितवनका माछा व्यवसायहरुका समस्या छन् । अनुदान कहाँबाट कसलाई जान्छ त्यो थाहा छैन । तर अनुदान पनि सरकारले दिइरहेको हुन्छ । कृषको नाममा आएको अनुदान खाने नीति पनि अन्त्य गर्नुपर्ने छ । संसदमा बजेटको बहस हुन्छ, कोरम पुग्दैन । संसदमा नीति तथा कार्यक्रमको बहस हुन्छ, कोरम पुग्दैन । बिल बजेटका कुरा हुन्छन् बल्लबल्ल कोरम पुग्यो भनेर संसद चलिरहेको हुन्छ तर संसद भवन खाली हुन्छ । संसदिय मर्यादा, संसदीय गरिमा, लोकतन्त्र, प्रजातन्त्र संसदको परिभाषा उहाँहरुले दिनु हुन्छ । तर, यदि म भोलिका दिनमा संसदमा उपस्थित हुन सकिन भने कारण सहित सर्वसाधारणलाई जानकारी दिन्छु । के कारण उपस्थित हुन सकिन सबै जानकारी दिन्छु । पाँच बर्षको कार्यकालमा सधैं संसदमा उपस्थित हुन नसकेपनि अघिल्लो दिन कारण लेख्ने छु ।सबै भन्दा बढी जोड नीति निर्माण गर्ने तह संसदमा भने कहिल्यै छुटाउने छैन । भवितव्यमा छुट्ला तर यो भवितब्य यो परेको छ भनेर जानकारी गराउने छु ।२०४६ सालदेखि अहिलेसम्मको संसदमा के चलिरहेको छ भनेर कसैलाई पनि जानकारी हुँदैन । तपाईंले निर्वाचन क्षेत्र नम्बर १ नै किन रोज्नु भयो ? मेरो पुस्ता चितवनमा हुनुहुन्छ । मेरो हजुरबुबा र बुबाले चितवनको माटो बसायो । उहाँहरुलाई जस्तै मलाई पनि चितवनको माटोको बास्ना थाहा छ । मेरो बच्चाबच्चीलाई पनि चितवनको माटो थाहा छ । मैले हिजो केही अवसर पाउँदा वा कुनै संगठनमा हुँदासामाजिक रुपमा राम्रो प्रस्तुती गरेको थिए । मेरा विद्यार्थी लगायतका साथीहरुलाई यी कुरा सबै थाहा छ । त्यो क्षेत्रमा साथीभाइहरुले अवसर दिँदा मैले राम्रोसँग निभाउँथे ।सामाजिक रुपमा जोडिँदा आस्तिक भएर हिजोका दिन च्यारिटी कमाएको दाइने हातले दिएको देब्रे हातले थाहा नहास भन्ने मेरो धारणाले गर्दा होइन । मैले अलिअलि कमाएको बेलामा च्यारिटीका कुराहरु अन्त पनि गरेको थिए । तर मेरो समुदायमा थोरै च्यारिटी गर्नुपर्छ भन्ने अवधारणा मात्रै हो । तपाईं ब्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवार हो वा स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्ने उम्मेदवार हो ? म कुनै पनि पार्टीमा संलग्न छैन । अहिलेसम्म स्वतन्त्र रुपमा प्रस्तुत हुँदै आएको छु । तर, कसरी जाने भनेर यो बीचमा रबी लामिछाने जीसँग टचमा बसेको छु । भूगोल भनेको जस्तै उपयुक्त छ । रबी जीहरुले पनि स्वतन्त्र रुपमा समर्थन गर्नुभएको छ । तर, स्वतन्त्र रुपमा प्रस्तुत हुँदा निर्वाचन आयोगले छोटो समयअवधिमा निर्वाचन चिन्ह प्रदान गर्छ । फेरि यो स्थानीय तहको निर्वाचन जस्तो पनि होइन । मेरो निर्वाचन क्षेत्रमा ३ वटा नगरपालिका र ४२ वटा वडा छन् । यसले तपाईलाई ठूलो समस्या बन्दा तपाईको सपना पुरा होला र ?भनेर भन्नु भयो । आफूलाई पनि रियलाइज भयो, स्थानीय निकायको चुनावमा स्वतन्त्र उम्मेदवारको चुनावचिन्ह बुझाउन पनि गाह्रो हुन्छ भनेर । आम मतदातासबैलाई गाह्रो पनि हुन्छ । स्वतन्त्र चिन्हको सन्दर्भमा मैले महानगरपालिकाको चुनाव नजिकबाट नियालेको थिए । बालेन जीको अभियानमा सँगै थिए । बालेन जीको भोट धेरै बदर पनि भयो । यो चुनौती मसँग छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध युवा साथीहरु हुनुहुन्छ । उहाँहरुले एठाएका एजेण्डा र मैले उठाएका एजेण्डासमान रहेका छन् । मैले क्षेत्रगत सांसदकोपार्टी अफिस हुनु पर्छ भनेर रबी जीहरुसँग बहस गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा यो पनि छ भन्नु भयो । म वडा स्तरमा कृषि केन्द्र स्थापना गर्छु भन्दा उहाँहरुले पनि त्यहि एजेण्डा बोक्नु भएको छ । सर्वसाधारणमा राजनीतिक दलहरुप्रति असन्तुष्टि छ, पछिल्लो समय बालेन्द्र शाह, हर्क साम्पाङ जस्ता ब्यक्तिप्रति सर्वसाधारणको विश्वास बढ्दो छ, स्वतन्त्र उम्मेदवारलाई राजनीतिक दलको विकल्पको रुपमा मतदान गर्ने मतदाताहरु छन्, त्यस आधारमातपाई पनि एउटा पार्टीमा आवद्ध हुनु भयो, त्यो दलिय असन्तुष्टिले कति प्रभाव पार्छ ? भारतमा वैकल्पिक शक्तिका रुपमा दिल्लीबाट जन्मेको हो । दिल्लीबाट शुरु भएको आमआद्मी पार्टीले पञ्जाबमा सरकार बनाइ सकेको छ । बैकल्पिक शक्ति भनेर घनिभूत रुपमा खोजेका छन् । बैकल्पिक शक्ति जुन युवाहरुको शक्ति होस् । जोसँगकाम गर्न सक्ने शक्ति होस् । काठमाडौं महानगरमा पनि यो उदाहरण देखिसकेका छौं । अघिल्लो राजनीतिक दलहरुले काम गर्न नसकेर बैकल्पिक शक्ति समाजले खोज्छ भन्ने । म राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भइसकेपछि मलाई त्यो छुट छैन । बाबुराम भट्टराई, रबिन्द्र मिश्र लगायतका थुप्रै पार्टी बैकल्पिक शक्ति भनेर संसदमा छिरे । अर्काेतर्फ देशमा २ वटा पार्टी मात्रै चाहिन्छ भनेर आवाज छ, यी विषयलाई तपार्इंले किन अवज्ञा गर्नु भयो ? युवाहरुको जुन टीम बनिरहेको छ, उहाँहरु उत्साहित हुनुहुन्छ । उहाँहरुको स्वतन्त्र रुपमा प्रस्तुती दिइरहेका छन् र भइरहेका छन् । यसले केही न केही नयाँ युवा शक्तिको रुपमा आउँछ भन्ने पुर्वानुमान पनि गर्न सकिन्छ । हर्क साम्पाङ र बालेन शाहले ल्याएको ह्वीम मात्रै होकी दीर्घकालसम्म रहन्छ ? के युवाहरुले हतियार बोकेर हिडेका छन् ? चुनावमा कुनै ब्यक्ति स्वतन्त्र रुपमा उम्मेदवारी दिएका मात्रै हुन् । यस्तै, कुनै पार्टीले स्वतन्त्र युवाहरुलाई समेटेको पनि छ । युवाले कुनै ठाउँमा आतंक श्रृजना गरेको, कहीँ कतै चक्का जाम गरेको, आन्दोलनका नाममा बेथिती मच्चाएको छ र ? यो मुभमेन्टलाई राजनीतिक पार्टीहरुले सकारात्मक रुपमा किन लिन सकिरहेको छैनन् । मलाइ त अचम्म लाग्छ । हर्क साम्पाङ र बालेन शाहले स्वतन्त्र रुपमा जितेर आएको उत्साह होला त्यसमा के बिग्रिएको छ त ? अहिलेका नेतृत्वलाई आजिवन भोट हाल्नु पर्ने होर ? होइन होलानी त । अहिले एउटा मतदाताउम्मेदवार बनेको मात्रै हो । नयाँ केही पनि भएको छैन । यहाँ त सधैं नेता उम्मेदवार भइरहेका छन् । भिजन, इच्छाशक्ति, योजना र अवधारणासहित युवा आउँछन् भने राजनीतिक पार्टीले हामीलाई युवाहरुले रिटायरमेन्ट दिने भए, हामी २० औं वर्षसम्म सांसद भएका छौं । पार्टीको गुटमा हिड्नु परेको दिक्दारी वा पार्टीको पछि दौडिनु परेको छ ।दिनरात पार्टी राजनीति भनेको छ । अहिलेका नेतृत्वहरुले अब हामी थाक्यौ यसपल्टबाट हामीले भारि बिसाउन पायौं, गर युवाहरु भन्न सक्नुपर्छ । सबैभन्दा ठूलो विजनेश त राजनीति रैछ भन्ने भावबाट आइरहनु भएको छ की राजनीतिज्ञहरुले गलत काम गरे, त्यसलाई सच्याउँछौं, विकासको नाममा व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन, हामी चाहि जनजीविका परिवर्तन गर्छाै भन्ने उद्देश्य सहित तपाइहरुले मूभमेन्ट बढाउनु भएको हो ? सामान्यरुपमा मान्छेलाई सबैभन्दा राम्रो शब्द ‘म’ हो । सबैले म स्वार्थी छैन, म इमानको छु, म समाजलाई केही गर्छु । यो चिजको प्रस्तुतीकरण एउटा मान्छेले कसरी गर्न सक्छ ? जति पनि युवा साथीहरु जोडिनु भएको छ, सबैभन्दा पहिला म रहित भएर आउनुपर्छ । तपाईंको चुनावी रणनीति के हुन ? मैले आजसम्म तय गरेका रणनीति सफल छन् । बाँकी केही रणनीतिहरु मैले एक शब्दमा भन्ने गरेको छु । चितवन क्षेत्र नम्बर १ मा स्ट्याण्डिङ् परिणाम आउँछ । चुनाव जित्नका लागि आधार के के छन् ? मैले जित्छु । एउटा युवाले युथ मूभमेन्ट भनेको छ । यसलाई युवा जागरण अभियान भनेको छ । यस अभियानमा सामेल हुन क्षेत्र नम्बर एकका हजारौं युवाहरु मसँग गोलबन्द हुनु भएको छ । दोस्रोमा मेरा एजेण्डाहरु सामान्य छन् । ठूला सपनाको गोलचक्करमा भुलाएर भ्रमित बनाउने एजेण्डा मेरा छैनन् । हरित चितवन, सुन्दर पूर्वी चितवन मेरो नारा हो ।सारा विश्वले नै हरितको कल्पना गरिरहेको हुँदा अब देश हरित हुन्छ । पूर्वी चितवनबासी आम जनताको काखमा हुर्किएको मान्छे हुँ । बुवा पनि त्यहि ठाउँमा हुर्किनु भएको हो । सबै उम्मेदवार स्थानीय नै हुन्छन् ? यसपटक हेर्ने हो भने राजनीतिक दलका नेतृत्वहरुले कहाँ जाने, के गर्ने, कुन ठाउँ ठिक होला, कहिले कता, कहिले कता सोचिरहेका छन् । तर मैले ठ्याक्कै क्षेत्र नम्बर एक नै रोजेको हो ।साथीहरुले मलाई काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । किनभने बालेनको क्याम्पेनमा हिड्दा क्षेत्र नम्बर २ को वडा नम्बर ३२ बाट राम्रो मत आएको थियो । स्टक मार्केट वा सेयर बजारमा धेरै जना साथीहरुले हार्दिकताका साथ काठमाडौंबाट उम्मेदवार बन्न जोड गरेका थिए । केही साथीहरुले चितवनमा सामाजिक सञ्जालको पहुँच कम होला भन्नु भएको थियो । धेरै साथीहरुले काठमाडौंबाट प्रस्ताव गर्दा पनि चितवन जानु भनेको मेरो जित शुनिश्चित बढी भएर हो । यस्तै, मेरा दाजुभाई, इष्टमित्र, साथीभाइ लगायत चितवनका युवा जमातले चितवनबाट नै उम्मेदवारी दिन जोड गरेका हुन् । कति भोटले जित्ने अपेक्षा गर्नु भएको छ ? मेरो बिचारमा एक लाख वरीपरि मत खस्छ । यसमा ५ हजार कमबढी पनि खस्न सक्छ । यी मतदाताले पक्कै पनि मलाई माया गर्नुहन्छ । म विजयी हुँदा मेरा प्रतिद्धन्दीहरुसँग झिनो मतले भने विजयी हुँदैन । मेरो मतान्तर ठूलो रहने अपेक्षा छ । तपाईंको क्याम्पेनमा कति मान्छेहरु आवद्ध भएका छन् ? मैले ४० दिन चितवन बिताउँदा हजारौंको संख्यामा युवाहरुले यसपल्ट भोट चेन्ज र चेन ब्रेक गर्ने भनेका छन् । राजनीतिमा लामो समयदेखि एउटा चेन चलिआएको छ । सधैं एउटै ब्यक्ति र पार्टीलाई दोहोर्याउँदै आएका छौं । तर, यसपटक पहिलादेखि चलिआएको यो चेनलाईब्रेक गर्नुपर्छ । तपाईंको बालेन शाह र रबी लामिछानेसँगको सम्वन्ध के हो ? उहाँहरुसँग एकदम हार्दिक सम्बन्ध हो । बालेनजीसँग उम्मेदवार बनेपछि कन्भिन्स भएँ । उहाँको क्याम्पेनमा संलग्न भएँ । उहाँलाई साथ दिनु पर्छ भनेर अघि सरेको हुँ । त्योभन्दा अगाडि सम्बन्ध छैन । स्टक मार्केटका शिवचन्द्र सहित हामीले बालेनलाई साथ दिएका हौं । रबी दाइसँग भने पहिलादेखि नै ब्यक्तिगत चिनजान हो । उहाँले स्टक मार्केटको हरी ढकाल भनेर पहिलादेखि नै चिन्नु हुन्थ्यो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण पछि ३ वटा बैठकहरु भएका छन् ।

आईपीओपछि कमाएर ५ अर्ब पुँजी पुर्याउँछौं : नारायण बाबु लोहनी

रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी वित्तीय क्षेत्रमा विगत दुई दशकदेखि नेतृत्वदाही भूमिकामा हुनुहुन्छ । सिभिल इन्जिनियरिङ पास गरेपछि बिजनेश एडमिनिस्ट्रेशनमा मास्टर डिग्री हासिल गर्नुभएको लोहनी राष्ट्रिय स्तरको विकास बैंकको सीईओ हुँदै बीमा कम्पनीको सीईओको भूमिकामा आउनु भएको छ । लोहनी रिलायबल लाइफमा संस्थापक सीईओ हुनुहुन्छ र अहिले दोस्रो कार्यकालको जिम्मेवारी समालिरहनु भएको छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरेपछि धेरै बीमा कम्पनीहरुले मर्जको बाटो रोजेका छन् । रिलायबल इन्स्योरेन्स कम्पनीले आफै थप लगानी गर्दै पुँजी वृद्धिको बाटो रोज्यो । प्रवर्द्धकलाई हकप्रद सेयर निष्काशन गरेर कम्पनीले चुक्ता पुँजी २ अर्ब ८० करोड बनाईसकेको छ भने सर्वसाधारणको लागि १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ । प्रस्तुत छ : बीमा कम्पनीहरुको पुँजी वृद्धि, व्यवसाय विस्तार, लघुबीमा थपिदा बजारमा पर्ने असरबारे विकासन्युजकर्मी मञ्जरी पौडेलले तयार पारेको अन्तरवार्ता । पछिल्लो समय सबैले भन्छन्- ‘बजारमा पैसा छैन ।’ बीमा क्षेत्रमा यसको असर कस्तो छ ? बजारमा तरलताको अभावले सबै क्षेत्रलाई अफ्ठ्यारो छ । यसमा बीमा व्यवसाय पनि अछुतो रहेको छैन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट नयाँ कर्जा प्रवाह कम भएको कारणले गर्दा लघुवित्त तथा फाइनान्सहरुलाई जाने ऋण पनि रोकिएको छ । गाउँ गाउँमा पुग्नुपर्ने पैसा पुगेको छैन । जसले गर्दा गाउँतिरको व्यापार पनि कम छ । गत आर्थिक वर्षसम्म सबै कम्पनीको बिजनेश बढेको थियो तर चालु आवमा भने केही खस्किएको छ । हामीलाई आशा छ अब पुसदेखि भने हामी पुरानै लयमा फर्किन्छौं । अर्को, मुद्रास्फीति दर बढेको कारणले मान्छेहरुको खर्च गर्ने क्षमता घटेको छ । दालभात तरकारी खान, बच्चाबच्ची पढाउने लगायतका आधारभूत विषयमा नै धेरै खर्च हुने भएकाले बीमा गराउने पैसा उहाँहरुसँग नभएको देखिन्छ । यी सबै समस्या देखिनुको एउटै कारण हो, ब्यालेन्स अफ पेमेन्ट नमिल्नु । जब ब्यालेन्स अफ पेमेन्टमा सुधार हुँदै आउँछ, रेमिट्यान्स बढ्छ, निर्यात बढ्छ र आयात हुने सामानको परिणाम र मूल्य दुबै घट्छ तब मात्र बजारमा सुधार आउने देखिन्छ । त्यसपछि बजारमा विस्तारै सुधार हुन्छ भन्नेमा हाम्रो विश्वास छ । यसपालिको बजेटले आयकरमा छुट हुने बीमा रकम वृद्धि गरेको छ । यसले जीवन बीमा बजारलाई विस्तार गर्न कत्तिको मद्दत गरेको छ ? चालु आर्थिक वर्षदेखि लागू हुने गरी ४० हजार रुपैयाँसम्म बीमा शुल्कमा आयकर छुटको व्यवस्था गरिएको छ । यो व्यवस्था राम्रो हो । तर कर तिर्ने कर्मचारीहरु सीमित नै हुन्छन् । त्यो बाहेक हामीले ठूलो ठाउँ अर्थात सर्वसाधारणहरुमा पुग्नुपर्छ । गत आर्थिक वर्षसम्म सबै कम्पनीको बिजनेश बढेको थियो तर चालु आवमा भने केही खस्किएको छ । हामीलाई आशा छ अब पुसदेखि भने हामी पुरानै लयमा फर्किन्छौं । के छन् आधारहरु ? एउटा बाहिरबाट आउने रेमिट्यान्स बढिरहेको छ । अर्को, राष्ट्र बैंकले गरेको कडाईले आयात पनि कम हुँदै गएको छ । विद्युत् पहिला भारतबाट नेपाल ल्याउनु पर्थ्यो भने अहिले नेपालबाट भारतमा जान थालेको छ । पेट्रोल डिजेलको पनि कम खपत हुन थालेको छ । पहिला भारतमा भन्दा नेपालमा तेल सस्तो हुँदा बोडरबाट तेलहरु बाहिरिन्थ्यो भने अहिले त्यस्तो स्थिति छैन । यसले ब्यालेन्स अफ पेमेन्टलाई सुधार गर्छ । योसँगै बैंकहरुमा तरलता बढ्ने अनुमान छ । वित्तीय बजारमा तरलता सहज भएपछि बीमामा पनि सकारात्मक असर पर्ने विश्वास छ । त्यसपछि अर्थतन्त्रसँगै हाम्रो व्यवसाय पनि लयमा फर्किन्छ । मुद्दती निक्षेपको व्याजदर बढेको छ । यसले बीमा कम्पनीको नाफा वृद्धि गर्ला नि ? बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको व्याजदरले बीमा कम्पनीहरुको वित्तीय विवरणमा सकारात्मक असर पर्छ । बीमा कम्पनीहरुको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी हुन्छ । त्यसैले मुद्दतीको बढ्दो व्याजदरले सकारात्मक प्रभाव पार्छ । तर मुद्दती निक्षेपको व्याजदर बढ्दा पनि कम्पनीहरुले व्यापार व्यवसाय बढाउन सकिएन भने त्यसको नकारात्मक असर वित्तीय विवरणमा देखिन्छ । त्यसैले, कम्पनीहरुले मुद्दती निक्षेपको व्याजदरमा भन्दा व्यापार व्यवसायमा नै बढी फोकस गर्नु उपयुक्त हुन्छ । मुद्दती निक्षेपको व्याजदरमा बैंकहरुले विभेदकारी नीति अबलम्बन गरेका छन् । व्यक्तिलाईभन्दा संस्थालाई २ प्रतिशत कम व्याज दिने निर्णय गरेका छन् । यसलाई बीमा कम्पनीहरुले कसरी ग्रहण गरिरहेका छन् ? यो एकदमै गम्भीर विषय हो । मुद्दती निक्षेपको व्याजदरमा व्यक्ति तथा संस्थाबीच भेदभाव देखिएको छ । यो सम्बन्धमा जीवन बीमक संघ लगायत बीमा समितिसँग समेत छलफल भइरहेको छ । बीमा कम्पनीहरुले लगानी गरेको अधिकांश रकम बीमितहरुको हो । जब मुद्दती निक्षेपको व्याजदर कम हुन्छ, त्यसले कम्पनीहरुले बीमितलाई दिने बोनसदर घट्न सक्छ । यसले आमजनमानसहरुमा बीमाप्रति विकर्षण देखिन्छ र बीमा व्यवसायमा नै प्रतिकुल असर पर्न सक्छ । बीमा कम्पनीहरुले अधिकतम ३५ वर्षसम्म बीमा पोलिसी जारी गरेका हुन्छन् । त्यबाट आर्जीत बीमा शुल्क रकम लामो समयको डिपोजिट राम्रो व्याजदरमा राख्न सकियो भने यसले सकारात्मक प्रभाव पार्छ । यदि व्यक्तिले बढी पाउने र संस्थाले कम पाउने भयो भने भोलिको दिनमा कम्पनीहरुलाई बीमाको व्यवसाय गर्न अफ्ठ्यारो पर्छ र बैंकलाई पनि व्यवसाय गर्न प्रतिकूल परिस्थिति हुन सक्छ । यसले गर्दा भोलिका दिनमा व्यापार व्यवसायमा असर पर्छ । यसको बारेमा जीवन बीमक संघले बीमा समितिमा चिठ्ठी पठाउँदै छ । यता राष्ट्र बैंकले पनि सर्वसाधारणको डिपोजिटको हित नै हेर्ने हो । त्यसैले राष्ट्र बैंकले यो विषयलाई सकारात्मक रुपमा हेर्छ भन्ने विश्वास छ । ‘बीमा गर्दा डबल फिर्ता पनि पाइन्छ’ भनेर अभिकर्ताहरुले बीमितलाई लोभ्याउने अभ्यास छ । तर पछिल्लो समय वाणिज्य बैंकहरुले मुद्दतीमा राख्दा २५ वर्षमा १५ गुणासम्म प्रतिफल दिन योजनाहरु ल्याइरहेका छन् । यसले इन्स्योरेन्समा कत्ति असर गर्छ ? बैंकको मुद्दती र बीमामा धेरै फरक छ । बैंकमा अहिले नै सम्पूर्ण पैसा राख्नुपर्छ, त्यसको गुणामा ग्राहकले पाउने हो । तर बीमा कम्पनीमा वार्षिक वा त्रैमासिक वा अर्धवार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्नुपर्छ, पहिलो । दोश्रो बीमाको सिद्धान्त भनेको जोखिम बहन गर्ने हो, जुन बैंकले गर्दैन, मुद्दती निक्षेपले गर्दैन । बैंकहरुले कुनै कम्पनीसँग टाईअप नै गरेको छ भने पनि त्यत्ति प्रभावकारी हुँदैन । बैंकहरुले अहिले ल्याएको मुद्दती योजना र हामी बीमा कम्पनी सेवाको प्रकृति नै फरक छ । हामीले बीमितलाई बचत, सुरक्षा र प्रतिफल सँगसँगै भनेर लाग्छौं, जुन बैंकले दिन सक्दैनन् । यसो हेर्दा के हो-के हो ? जस्तो हुन्छ । तर बीमाको महत्व बीमासँग नै छ । बैंकमा अहिले पैसा राखेर सीमित अवधिपछि मात्रै रिटर्न लिन सकिन्छ भने बीमा कम्पनीले वर्षैपिच्छे रिटर्न दिइरहेको हुन्छ, त्यसबीचमा जोखिम बहन पनि गरिरहेको हुन्छ र सीमित अवधि सकिएपछि पनि आएको बोनससमेत जोडेर रिटर्न दिन्छौं । त्यसैले बैंकहरुले अहिले ल्याएको मुद्दती योजना र हामी बीमा कम्पनी सेवाको प्रकृति नै फरक छ । हामीले बीमितलाई बचत, सुरक्षा र प्रतिफल सँगसँगै भनेर लग्छौं, जुन बैंकले दिन सक्दैनन् । पक्कै पनि बैंकहरुले ल्याएका चक्रबर्ती व्याज मुद्दती योजनाले केही चासो सिर्जना गरेको छ । सत्यतथ्य बुझिसकेपछि बीमाको मान्छे बीमामै आउँछ र मुद्दतीको मान्छे मुद्दतीमै जान्छ । २०/२५ वर्षको चक्रबर्ती मुद्दतीमा कति मान्छेले पैसा लगाउँछन् भन्ने प्रश्न पनि छ ? तर यस्ता योजनाले केही समयनै भएपनि बजारमा उतारचढाव त ल्याउने भयो नि ? उतारचढाव भन्दा पनि बचतका पनि १०/१५ गुणा प्रतिफलका योजना बन्न सक्दोरहेछ भन्ने देखियो । यो धेरै नयाँ कुरा होइन । यो सिम्पल कम्पाउडिङ्ग इन्ट्रेस्टरेटका आधारमा भएको हो । इन्स्योरेन्सले गर्ने दायराभित्र हामीले गरेका छौं भने बैंकहरुले आफ्नो दायरा भित्र काम गरेका छन् । बैंकहरुको यस्तो योजना लामो समयसम्म चल्दैन । तरलता सहज भएपछि उच्च लागतको योजना उनीहरुले बन्द गर्नेछन् । कष्ट अफ फण्ड बढेपछि बैंकहरुले पनि यो पुनर्विचार गर्नेछन् । अहिले तरलताको संकटको अवस्थामा यस्ता योजनाबाट पैसा आउँछ की भन्ने बैंकहरुलाई लागेको होला । तर हामी बीमा कम्पनीले पनि यसमा यस्तो यस्तो हुन्छ भनेर बुझाउनको लागि थप मेहेनत गर्नुपर्ने हुन्छ । बैंकहरुको यस्ता योजना आइसकेपछि सहकारीमा डिपोजिट गर्नेहरु बैंकमा आकर्षित भएको पाइरहेका छौं । त्यस्तै तपाईंहरुकोमा बीमा गरेकाले सरेन्डर गर्छु र बैंकमा पैसा राख्छु भन्ने किसिमको परिवर्तन आएको छ वा छैन ? रिलायबलमा यस्तो केस आएको छैन । यता बीमा क्षेत्रको तथ्यांक पनि हामीले विश्लेषण गर्न पाएका छैनौं । समग्रमा हेर्दा बीमाबाट बैंकमा गएको केस हामीले फेला पाएका छैनौं । पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसाय घट्नुमा कतै यस्ता फेनामेनाहरुले काम गरिरहेका त छैनन् ? बजारमा तरलता प्रयाप्त नभएपछि डाउनवार्ड हुनु स्वभाविक हो । बीमा आम मान्छेको पहिलो प्राथमिकतामा नपर्नु एउटा कारण हो । पहिला, खान लाउन पर्यो, बाल बच्चा पढाउँनै पर्यो । त्यसपछि बल्ल बीमा आउँछ । रिलायबलमा ठूलो बीमा गर्ने अधिकांश मान्छेहरु एकभन्दा धेरै व्यापार व्यवसाय गर्नेहरु हुनुहुन्छ । तरलताको अभावले गर्दा उहाँहरुले पनि पहिलो प्राथमिकता व्यापार व्यवसायमा फोकस गर्नुपर्ने र आफूले लिएको व्याजहरु तिर्नुपर्ने हुनसक्छ । पछिल्ला तथ्यांकलाई केलाउने हो भने, जब नयाँ कम्पनीको प्रवेश भएको छ, त्यत्ति बेला बजारको विस्तार भएको पाइएको छ । अब आउने लघुबीमा कम्पनीले पनि बजार विस्तार नै गर्छ भन्नेमा हाम्रो विश्वास छ । पछिल्ला वर्षमा व्यवसायीहरुले करोडौंको बीमा पोलिसीहरु खरिद गरेको समाचार पनि आईरहेका छन् । रिलायबलमा यस्ता किसिमका पोलिसीहरुको कारोबार कत्तिको छ ? भइरहेको छ । ठूलो र सानो दुबै खालको बीमा भइरहेको छ । तर औषतमा सानो खालका अर्थात १० लाख रुपैयाँसम्मका बीमा पोलिसीहरु बिक्री भइरहेका छन् । बीमा समितिले लघुबीमा कम्पनी खोल्ने बाटो खुला गरिसकेको छ । समग्रमा बीमा बजारमा यसको प्रभाव कस्तो पर्छ ? अहिले लघुबीमा दुर दराजमा जति हुनुपर्थ्यो, त्यत्ति भएको छैन । यसमा दुविधा नै छैन । यो अवस्थामा नयाँ विशेष कम्पनी आएपछि त्यसमा फोकस हुनु बीमा बजारलाई नै राम्रो हुन्छ । भोलिका दिनमा लघुबीमा गर्नेले ठूलो बीमा पनि गर्न सक्छन् । र, यसले बीमा सचेतना बढाउन पनि सहयोग गर्छ । त्यसैले यो आएपछि बीमा बजारलाई राम्रो गर्छ भन्ने विश्वास छ । पछिल्ला तथ्यांकलाई केलाउने हो भने, जब नयाँ कम्पनीको प्रवेश भएको छ, त्यत्ति बेला बजारको विस्तार भएको पाइएको छ । अब आउने लघुबीमा कम्पनीले पनि बजार विस्तार नै गर्छ भन्नेमा हाम्रो विश्वास छ । हिजोको दिनमा थोरै बीमा कम्पनी हुँदा पनि चलेकै थियो । त्यो बेलामा यतिका कम्पनीको प्रवेश भएको थिएन । त्यसैले जति नयाँ कम्पनी आउँछन्, उनीहरु नयाँ सोच, नयाँ प्रविधि, नयाँ दृष्किोण लिएर आउँछन् । हामीले पनि सेवा सुविधाको हिसावले प्रतिस्पर्धाको रुपमा अगाडि बढ्नु पर्ला । दुरदराज जहाँ बीमा पुगेको छैन, त्यहाँ बढी फोकस होला । यसको सकारात्मक प्रभाव अहिले भइरहेका बीमा कम्पनीलाई पनि पर्छ । त्यसैले पनि हामी सकारात्मक छौं । पुँजी वृद्धिमा कम्पनी कहाँसम्म पुग्यो ? खासगरी संस्थापकबाट लगानी थप भइसक्यो कि हुने क्रम जारी छ ? कम्पनीको चुक्ता पुँजी वृद्धिको लागि संस्थापकहरुले शतप्रतिशत पुँजी थपिसक्नु भएको छ । १ अर्ब ४० करोड रुपैयाँ भएको हाम्रो पुँजी हाल २ अर्ब ८० करोड भइसकेको छ । अब हामी सर्वसाधारणमा छिट्टै जाने तयारीमा छौं । एक अर्ब २० करोड रुपैयाँ बराबरको पुँजी आईपीओबाट थप्छौं । त्यसपछि आफ्नै कमाईबाट ५ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउँछौं । अन्त्यमा, चालु आवमा रिलायबल लाइफको प्राथमिकतामा के के छन् ? हामीहरुको योजनाअनुसार यो वर्ष डिजिटलमा बढी फोकस हुन्छौं । त्यस्तै, हरेक तहतप्कालाई हुने खालका नयाँ नयाँ प्रडक्टहरु ल्याउँछौं । अभिकर्ता तथा शाखा मार्फत दुरदराजमा नेटवर्क बढाउनतर्फ लाग्छौं । गत वर्षहरुभन्दा बीमितलाई दिने बोनसदर बढेर आएको छ, त्यसमा थप फोकस गर्छौं । त्यस्तै, लगानी विस्तारमा जोड दिनेसँगै कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा कम्पनी लागि पर्ने छ ।