कोषले योगदानकर्तालाई घरजग्गा खरिदका लागि ९.७५ प्रतिशतमै कर्जा दिएको छ : कार्यकारी निर्देशक ज्ञवाली

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई समेट्ने भएको छ । कोषले आगामी बैशाख १ गतेदेखि श्रमिकहरुलाई आवद्ध गर्ने गरी कार्यविधि सार्वजनिक गरिसकेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिक कसरी कोषमा आवद्ध हुने, अनौपचारिक क्षेत्रका श्रमिक आवद्ध हुने के गर्ने ? प्रस्तुत छ यहि विषयमा केन्द्रित भएर सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीसँग विकासन्युजका लागि समुन्द्र घिमिरेले गरेको कुराकानी : अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा ८२ लाख श्रमिक रहेको अनुमान छ, कोषमा कति आवद्ध भए ? अब कति होलान् ? वैदेशिक रोजगारीका लागि वार्षिक रुपमा ४ लाखदेखि ५ लाखसम्म नयाँ र पुनः श्रम स्वीकृत लिएर विदेशिएको तथ्यांक वैदेशिक रोजगार कार्यालयमा छ । विदेशिनेहरुलाई आवद्ध गर्न सकियो भने वार्षिक रुपमा ५ लाखको हाराहारीमा कोषमा आवद्ध हुने देखिन्छ । गैरआवासिय नेपाली संघको नेटवर्क विश्वका ८८ वटा देशसँग छ । एनआरएनसँग हामीले सहकार्य गर्नका लागि एमओयू गरेका छौं । कार्यविधि स्वीकृतका लागि उहाँहरुको ठूलो योगदान छ । अनौपचारिक क्षेत्रका श्रमिकका लागि हामीले सुरुवाती चरणमा घरेलु श्रमिक, कृषि, निर्माण र यातायात गरी ४ क्षेत्रमा कार्यरत श्रमिकहरुलाई कोषमा आवद्ध गराउने हाम्रो तयारी हो । अनौपचारिक क्षेत्रको यतिनै भन्ने तथ्यांक छैन । तर वैदेशिक रोजगारीमा जाने वार्षिक ५ लाखलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने हाम्रो तयारी छ । अनौपचारिक क्षेत्रका श्रमिक कोषमा कसरी आवद्ध हुने ? के छ प्रक्रिया ? अनौपचारिक क्षेत्रमा आवद्ध श्रमिकको पञ्जीकरण गरी तोकिएको ४ विधामा रहेका श्रमिकहरु कोषमा आवद्ध हुन पाउँछन् । जसका लागि स्थानीय तहले परिचय पत्र वा प्रमाणका आधारमा उहाँ (श्रमिक) हरुले हाम्रो सिष्टममा अनलाईन मार्फत आवद्ध हुन सक्नुहुनेछ । अनलाईन मार्फत आवद्ध तथा कलेक्सन भएपछि हामीले त्यसका सुविधाहरु पनि अनलाईनमार्फत नै भुक्तानी गर्ने हो । हामीले कार्यविधिमा रकम तोकका छौं त्यो २ हजारभन्दा कम छ । यसमा योगदानकर्ता आफैले पनि ऐच्छिक रुपमा समेत रकम जम्मा गर्न सक्नुहुनेछ । साथै, स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारले योगदान गर्न सक्ने व्यवस्था छ । स्वदेशमै रहेका श्रमिकहरु कोषमा आवद्ध नभएको समयमा विदेशमा रहेका श्रमिक आवद्ध हुनेमा तपाईंहरु विश्वस्त हुनुहुन्छ ? वैदेशिक रोजगारीमा जाने वार्षिक ५ लाख बढी श्रमिकहरु कोषमा आवद्ध हुने सम्भावना छ । रोजगारीका लागि विदेशिने श्रमिकहरुले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिँदा नै अनलाईनमा सामाजिक सुरक्षा कोषको आईडी (एस एस एफ आईडी) अनिवार्य गर्ने गरी हामी अगाडी बढ्छौं । स्वदेशमा काम गर्नेहरु वार्षिक ३ लाख ८२ हजार कामदारहरु कोषमा आवद्ध भैसकेका छन्, दिनानुदिन बढ्ने क्रममा छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वार्षिक ५ लाख कोषमा आवद्ध हुन्छन् भन्ने हाम्रो अनुमान हो । वैदेशिक रोजगार विभागले श्रम स्वीकृत अनलाईनबाट मात्रै लिन सकिने व्यवस्था जारी गरेको छ । बोर्डको पोर्टलमा फेमिस भन्ने सिष्टम छ । त्यहाँ लग इन गरेपछि श्रम स्वीकृत तथा पुन श्रम स्वीकृत लिँदा एसएसएफ आईडी अनिवार्य राख्नुपर्ने हुन्छ । विदेशिने त आवद्ध भैहाल्नुहुन्छ, अगाडी नै विदेशमा रोजगारीमा रहेका श्रमिकहरु पनि कोषमा आवद्ध हुनुहुन्छ भन्ने हाम्रो अनुमान हो । एनआरएसनसँगको सहकार्यमा काम गर्ने हुँदा थपिनु हुन्छ भन्नेमा हामी विश्वस्त छौं । कोषको कार्यकारी निर्देशक भएपछि तपाईं आफैले कोष स्वदेशमा काम गर्ने श्रमिकका लागि मात्रै हो भन्नुभएको थियो, अहिले वैदेशिक रोजगारीमा गएकालाई पनि आवद्ध गराउनु पर्छ भनेर लाग्नु भएको छ ? किन ? सामाजिक सुरक्षा कोष ऐनमा वैदेशिक रोजगारीमा भएकाहरुलाई समावेश गर्ने भन्ने व्यवस्था नै थिएन । ऐनमा प्रष्ट उल्लेख गरेर, सम्बन्धित देशको सोसल सेक्युरिटीसँग बाइ ल्याटर एग्रिमेन्ट गरेर कार्यान्वयनमा आउने दोस्रो चरण हो । पहिलो चरण वैदेशिक रोजगारीमा हाल जति पनि हुनुहुन्छ, उहाँहरुले औपचारिक च्यानलबाट बढी रकम पठाउने र उहाँहरुका लागि अझ बढी सुविधाहरु होस् भनेर हामीले सरकारको इनिसेसनमा पहिलो चरणको कार्यक्रम ल्याएका हौं । यसमा नेपाल सरकारको प्राथमिकता र साढे ३ वर्ष कोषको अनुभव र एनआरएनएको आग्रहमा नै विदेशमा रहेका श्रमिकलाई कोषमा समेट्ने कार्य सम्भव भएको हो । अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारले कत्ति लगानी गर्ला ? सरकारले यति नै गर्छ भनेर हामीले सरकारको निर्णय कुरेर बसेनौं । सरकारको निर्णय पछि आउला । तर तत्काल आउन सक्ने अवस्था छैन । हामीले कार्यविधिमा योगदानकर्ताले तोकिएको रकम योगदानसँगै स्वेच्छिक रुपमा रकम जम्मा गर्न सक्नेछन् । सरकार आफ्नो लेबलमा तयार भयो भने त्यो कम्पोनेट सरकारले गर्ने गरी अपसन राखेका छौँ । त्यसैले यतिनै सरकारको तर्फबाट लगानी हुन्छ भन्ने छैन । सम्पूर्ण सुविधाहरु लिनका लागि जुन कोषमा योगदान गर्ने हो, त्यसका निम्ति करिब २ हजार रुपैयाँको हाराहारिमा छ । त्यो सबै रकम आफैले योगदान गर्छु भनेर योगदानकर्ता आवद्ध हुन सक्नुहुन्छ । योगदानकर्ताले स्वास्थ्य उपचारका लागी दाबी गरेको ८० प्रतिशत रकम पाएका छैनन् भन्ने सुनिन्छ, किन यस्तो भइरहेको छ ? एक लाख २५ हजार रुपैयाँमध्ये १ लाख रुपैयाँसम्म भुक्तानी गर्ने हो । हामीले नो पेन्टिङ रणनीति अपनाएका छौं, आजको आजै नभए भोलिसम्म पाउने रकम खातामा जान्छन् । त्यसका साथै अहिले ३० भन्दाबढी अस्पतालहरु अनलाईनमा गइसकेका छन् । अनलाईन हुँदा क्यासलेस र फेसलेस सुरु भएको छ । हामी कहाँ आउने दैनिक दाबीमध्ये ५० प्रतिशतभन्दा बढी अस्पतालहरुले अनलाईनबाट गर्छन् । आफैले गएर उपचार गर्दा हामीले स्वास्थ्य बीमा बोर्डको सूची (रेट) अनुसार बिलको रकम भुक्तानी गर्ने हो । हाम्रो रेटभन्दा बढीको बिल आउँदा बिलभन्दा कम रकम भुक्तानी भएको हो । हाम्रो नियम अनुसार भुक्तानी गर्दा ८०/२० प्रतिशत नै हो । तपाईंहरुले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कोषमा आवद्ध गराउने प्रयास गर्नुभयो । तर उनीहरुलाई दबाब दिन छोड्नु भएको हो ? हामीले बैंक तथा वित्तीय संस्थालाई कोषमा ल्याउने प्रयासमा उहाँहरुले मुद्दा हाल्नु भएको थियो । जुन अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । अदालतबाट प्रकृया अगाडि नबढाउनु भन्ने आदेशअनुसार हामीले सबै काम रोकेका छौं । बैंकरले सामाजिक सुरक्षा कोषलाई पत्याएनन् भन्ने छ नि, हो ? बैंक तथा वित्तीय संस्थाले कसरी पत्याएनन् भनौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट आवद्ध हुने क्रम बढ्दो छ । अहिले स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी बैंक र धेरै लघुवित्त संस्थाहरुले कोषमा नियमित रुपमा योगदान गरिरहनु भएको छ । बीमा वित्तीय संस्थाहरु पनि आउने क्रम बढ्दो छ । अहिलेसम्म कति योगदानकर्ताले रकम दाबी गरे ? कतिले उपचारका लागि पैसा लिए ? अहिले २७ अर्ब बढी रकम योगदानकर्ताबाट जम्मा भएको छ । त्यसमा ३ अर्ब बराबर सुविधा लिनुभएको (चारवटा सुविधा) छ । करिब ३४ करोड औषधोपचार, ५ करोड दुर्घटना, आश्रित परिवारमा ५ करोड र पेन्सन सुविधामा साढे २ अर्ब कराबर रकम भुक्तानी भैसकेको छ । सुविधा लिनेको संख्या ५४ हजारबढी छ । पेन्सनमा आधारित कोषहरुले लगानीभन्दा पनि बैंकमा पैसा जम्मा गरेर ब्याज मात्रै खाए र आफुसँग भएको रकमको सदुपयोग गर्न सकेनन् भन्ने छन् नी ? हामीलाई लगानी कार्यविधिमा उल्लेख भएअनुसार नै लगानी गर्ने हो । हामीले डिवेनचर र बैंकको मुद्धती खातामा रकम जम्मा गरेका छौं । कोषमा जम्मा भएको रकमबाट ‘क’ वर्गका विभिन्न बैंकका ५ अर्ब रुपैयाँ बढीको डिबेञ्चर खरिद गरिसकेका छौं । सेयरमा लगानीका विषयमा हामी अध्ययनमै छौँ, लगानी सुरु भैसकेको छैन । बैंकबाट हामीलाई राम्रो व्याज आम्दानी भएको छ । हाम्रो रकम सुरक्षित र जम्मा गरेअनुसारको ब्याज पाएका छौं । हामीले पछिल्लो समय योगदानकर्तालाई बिशेष सापटी, घरकर्जा र शैक्षिक सापटी सुरु गरेका छौँ । लगानीको विविधिकरणमा लागेका छौं । कोषले घरजग्गा खरिदका लागि पनि ऋण दिने गरेको छ, अहिलेसम्म कतिले लिए, बैंकबाट ऋण लिनु र कोषबाट ऋण लिनुमा के फरक छ ? हामीले घरजग्गा लोनका लागि भरखर सुरु गरेका हौं । खासै धेरै माग आएको छैन । घरजग्गाका लागि २ र शैक्षिक लोनका केहीले लगिसक्नुभएको छ । विशेष सापटी ३ हजारले ५० करोड रुपैयाँ हाराहारीमा लगिसक्नुभएको छ । कोषमा जम्मा भएको रकमको ८० प्रतिशत रुपैयाँ विशेष सापटी स्वरुप दिइनेछ । कोषले दिने घरजग्गा कर्जा लिनका लागि आवद्ध भएको ३ वर्ष अर्थात ३६ महिना भएको हुनुपर्छ । ३ वर्ष पूरा भएपछि मात्र हामीले लोन दिने हो । बैंकबाट लिने लोनमा नाफा केन्द्रीत हुन्छ, कोषले दिने लोन सेवाका लागि हो । कोषमा योगदान गर्ने योगदान कर्तालाई सहजीकरण गर्न हामीले सस्तो र सहुलियत रुपमा कर्जा उपलब्ध गराएका छौं । कोषले हाल घरजग्गा खरिदका लागि ९.७५ प्रतिशतमै कर्जा दिएको छ । पेन्सनमा आधारित कोषहरु मर्ज हुनुपर्छ, तीन वटा भएर अस्वस्थ प्रतिस्पर्धा भयो भनेर आवाज पनि उठिरहेको छ । यस विषयमा तपाईंको बुझाई के हो ? मर्जरको विषय नीतिगत हो । हाइ लेबलले गर्ने निर्णय हो यो । कालान्तरमा मर्ज भएर अगाडी बढ्ने पनि हुन सक्छ, हामी तीनै कोष सरकारको स्वामित्वमा छौं । तर अहिले हेर्दा तीन वटै कोषले छुट्टै काम गर्दै आएको छ । कर्मचारी सञ्चय कोषले निजामती कर्मचारीको व्यवस्था गर्ने, ऐनमा भएको व्यवस्था अनुसार सामाजिक सुरक्षा कोषले निजी संगठीत क्षेत्र, अनौपचारिक तथा स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने भन्ने हो । त्यति धेरै प्रतिस्पर्धा भएको देखिदैन । कोषले आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाएको छ ? ‘सबैका लागि सामाजिक सुरक्षा’ भन्ने हाम्रो लक्ष्य हो । त्यो अन्तर्गत नयाँ कार्यविधि आएपछि त्यसको कभरेज बढ्दै जान्छ । लगानीका पक्षहरु हामी विविधिकरण गरेर अगाडी बढ्छौं । हामीले दिने सेवा सुविधाहरु योगदानकर्ता मैत्री हुन्छन् । हामीले क्यासलेस, फेसलेस र पेपर लेस सेवाहरु उपलब्ध गराउछौं । हामीले विराटनगर र सिमरामा शाखा कार्यालय, बुटबल र नेपालगञ्जमा सम्पर्क कार्यालय स्थापना गरिसकेका छौं । केही समयपछि पोखरामा सम्पर्क कार्यालय स्थापना गर्छौं, आवश्यकताअनुसार सञ्जाल विस्तार गर्छौं ।

सोलुखोला परियोजनाको निर्माण काम अन्तिम चरणमा पुगेको छ : अध्यक्ष पाठक

साहस ऊर्जा कम्पनीका अध्यक्ष हुन् हिमप्रसाद पाठक । विगत एक दशकदेखि हाइड्रो व्यवसायीका रूपमा काम गरिरहेका पाठक अहिले ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना निर्माणको काममा व्यस्त छन् । जलविद्युत क्षेत्रमा पाठक नेतृत्व निकै सफल मानिन्छ । साहस ऊर्जा कम्पनीले अहिले अगाडि सारेको सोलुखोला जलविद्युत आयोजना काम अन्तिम चरणमा पुगेको छ । सो आयोजनाको काम सम्पन्न गरेसँगै नयाँ परियोजना अगाडि बढाउने तयारीमा कम्पनी छ । सोही कम्पनीका अध्यक्ष पाठकसँग कम्पनीको वर्तमान वित्तीय अवस्था, कम्पनीले निर्माण गरिरहेका र आगामी दिनमा निर्माण गर्ने आयोजना लगायतका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेको छन् । प्रस्तुत छ उक्त कुराकानीको अंशः साहस ऊर्जा कम्पनीको वित्तीय अवस्था कस्तो छ ? अहिलेसम्मको तथ्याङ्क हेर्दा साहस ऊर्जा कम्पनीको वित्तीय अवस्था राम्रो नै देखिन्छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ छ । त्यसमा एक अर्ब ५ करोड रुपैयाँ पब्लिकबाट उठाएका छौं । संस्थापक सेयरधनीको २ अर्ब ४५ करोड रुपैयाँ रकम रहेको छ । हामीले ११ वटा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छौं । उक्त संस्थाबाट लगभग १० अर्ब रुपैयाँको ऋण लिए चलाएका छौं । अब साहस ऊर्जाका लगानीकर्ताले कस्तो प्रतिफल पाउने छन् ? साहस ऊर्जाका लगानीकर्ताहरूले औषतमा राम्रो नै प्रतिफल पाउनु हुनेछ । आजको दिनमा साहस ऊर्जाको दोस्रो बजारमा लगभग साढे ४ सय मूल्य छ । लगानीकर्ताले नगद लाभांश अथवा बोनस सेयर पनि पाउनु हुनेछ । यीमध्ये कुन दिने, कम्पनीले कति दिन सक्छ, त्यो भविष्यमा कम्पनीले निर्धारण गर्ने कुरा हो । आशा गरौं साहस ऊर्जामा लगानी लगानीकर्ता निराश बन्नुहुन्न । साहस ऊर्जाले कति वटा जलविद्युतका प्रोजेक्ट लिएर काम गरिरहेको छ ? नयाँ परियोजनाको काम अगाडि बढाउने सोचमा तपाईंहरु हो ? अहिले साहस ऊर्जाले एउटा मात्र जलविद्युत आयोजनाको प्रोजेक्ट लिएर काम गरिरहेको छ । हामीले सोलुखुम्बुमा ८६ मेगावाट सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना निर्माणको काम अगाडि बढाएका छौं । अन्तिम चरणमा रहेको यो आयोजना काम सकेर नयाँ आयोजनाको काम थाल्ने छौं । हामी नयाँ परियोजनाको काम गर्ने तयारीमा छौं तर हामीले बाहिर यो परियोजना गर्ने भनेर घोषणा गरेका छैनौं । अहिले २/३ वटा ठाउँमा जलविद्युतका प्रोजेक्टको बारेमा अध्ययन गरिरहेका छौं । त्योमध्ये कुन परियोजना अगाडि बढाउने त्यसको बारेमा निकट भविष्यमा जानकारी गराउने छौं । सम्भवतः हामी डेढ २ सय मेगावाटको परियोजना अगाडि बढाउँछौं । सोलुखोला जलविद्युत आयोजना निर्माणका के के काम बाँकी छन् ? कहिले सम्पन्न गर्ने लक्ष्य छ ? यो आयोजना निमार्णको काम अन्तिम चरणमा पुगेको छ । सिभिल संरचनाको काम लगभग ९९ प्रतिशत सम्पन्न भइ सकिएको छ । मेसिनहरू पनि जडान भइसकेको छ । प्रसारण लाइनको एउटा टावर बन्न बाँकी छ । त्यसको पनि फाउन्डेसन भइ सकेको छ । सो टावरको काम अबको २ हप्तामा बनि सक्छ । त्यो समयसम्म पावर हवासको परीक्षण गर्ने छौं । यसमा विशेष गरी ४ वटा काम हुन्छन् । जस्तो सिभिल इन्जिनियरिङ, हाइड्रो मेकानिकल, इलेक्ट्रिक माइक्रोस्कोप (इएम) र प्रसारण लाइनको काम । सो काम अहिले अन्तिम चरणमा पुगेको छ । अहिले हामी परीक्षणको चरणमा छौं । भएका परीक्षण अहिलेसम्म सफलता पूर्वक सम्पन्न भएको छ । टनेलमा पानी हालेर परीक्षण गरी सक्यौं । त्यसपछि हामी मेसिनमा पानी हानेर घुमाउँछौं । केही समस्या आएन भने एक महिना भित्र सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको काम सम्पन्न गर्नेछौं । र, बिजुली उत्पादनको काम सुरु हुने छ । उक्त आयोजना सुरु भएदेखि अहिलेसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । अहिले यस आयोजनाको काम लगानीकर्ताबाट थोरै-थोरै पुँजी उठाएर सुरु गरेका छौं । यस परियोजना अन्य आयोजनाहरू भन्दा अलिक फरक पनि छ । सोलुखोला जलविद्युत आयोजनामा निजी क्षेत्रले स्वदेशी लगानीमा बनाएको सबैभन्दा ठुलो परियोजना हो । हाम्रो कम्पनी संस्थापक सेयरधनीको हिसाबले पनि सबैभन्दा ठूलो कम्पनी हो । साहस ऊर्जाले आगामी दिनमा के कस्ता परियोजनाहरू बनाउने सोच बनाएको छ ? कसरी अगाडि बढ्दैछ ? हामीले जलविद्युतका यीभन्दा ठूला क्षमताका आयोजनाहरू गर्ने सोच बनाइ रहेका छौं । जलविद्युतको क्षेत्रमा यस कम्पनी अगाडि बढ्छ । विभिन्न ठाउँमा नयाँ परियोजना सुरु गर्नको लागि पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा अध्ययन अनुसन्धान गरी रहेका छौं । त्यसमध्ये कुन चाहिँ सजिलो हुन्छ, प्राविधिक र पुँजी दुवैले उपयुक्त हुन्छ, त्यही आयोजनाको काम अगाडि बढाउने हो । अहिले नै फाइनल भएको छैन । त्यसैले यही गर्दैछौं भनेर भन्न सक्ने अवस्था छैन । नयाँ आयोजनाहरूको लागि पुँजी कसरी जुटाउँदै हुनुहुन्छ ? नयाँ आयोजनाको काम अगाडि बढाउनको लागि अवश्य पुँजी आवश्यकता हुन्छ । त्यो कति क्षमताको परियोजना हो ? त्यो अनुसारका पनि पुँजीको आँकलन गर्न सकिन्छ । नयाँ आयोजनामा पुँजी जुटाउनको लागि साहस ऊर्जामा हकप्रद सेयर दिन्छौं । त्यो कम्पनीको आईपीओ पनि आउँछ । नयाँ प्रमोटरहरुलाई पनि लगानी गर्ने अवसर दिन्छौं । विदेशी लगानी भित्र्याउने सोच धेरै नेपाली व्यवसायीले बनाउँछन् तर सफल भइरहेका छैनन् । यसमा यहाँहरुको योजना के छ ? हामी अहिले नै विदेशी लगानी भित्र्याउने सोचमा छैनौं । स्वदेशी लगानीबाट आयोजनाको काम हुन सक्छ भने विदेशी लगानी आवश्यक छैन । पाँच सय मेगावाटसम्मको जलविद्युत आयोजनाको काम अगाडि बढाउनका लागि स्वदेशी लगानी पर्याप्त छ । स्वदेशमा नै कन्स्ट्रक्सन, म्यानपावर, ठेक्दार पर्याप्त छन् भने विदेश जानु पर्ने आवश्यकता नै देख्दिन । स्वदेशी लगानीले पुगेन भने मात्रै विदेशी लगानी भित्र्याउने छौं । ठूला आयोजनाका काम गर्नुपर्याे भने विदेशी लगानी पनि भित्र्याउनु पर्ला । भविष्यमा आवश्यकता पर्यो भने जानकारी दिएर मात्रै भित्र्याउने छौं । अब तपाईंहरुको प्राथमिकता आफै परियोजना विकास, लगानी र निर्माणका काम मात्र गर्ने कि अरूले लगानी गरेको परियोजना निर्माणमा ठेक्का लिएर पनि काम गर्ने ? हामी विशुद्ध विकासकर्ता मात्र हौं । मैले सुनेको छु अन्य कम्पनीहरू आफै विकासकर्ता, ठेकेदार लगायत भएर काम गरेको । तर, हामी त्यसरी अगाडि बढ्दैनौं । साहस ऊर्जा भोलिका दिनमा पनि ठेक्काको काम गर्दैन । विद्युतको उत्पादन बढ्दो छ । योअनुसार बजार विस्तार नहोला, बिक्रीको समस्या होला भन्ने चिन्ता लगानीकर्तामा बढेको हो ? यो चिन्ता लगानीकर्तामा बढ्नु स्वभाविक हो । केही हुन्छ कि भनेर चिन्ता उहाँहरूमा बढी हाल्छ । नेपाल सरकारले पनि विद्युत उत्पादनसँगै यही खपत हुने ठाउँ विकास गरे अझ राम्रो हुन्थ्यो । उद्योगको विकास, विस्तारमा पनि जोड दिनु पर्याे । सरकारले पनि कसरी बढी मात्रामा विद्युत खपत हुन्छ, त्यता तिर लाग्नु पर्याे । त्यही किसिमका नीति नियम बनाउनु पनि आवश्यक देखिन्छ । आवश्यक मात्र विद्युत खपत भइ हाल्छ । घरमा बत्ती बलेकै छ, अब लोडसेडिङ मुक्त भयो भनेर हामी बसेका छौं । त्यो मात्र हैन । जाडोका समयमा हिटर, गर्मीको समयमा एसी चलाउने हरेक इलेक्ट्रिक सामान प्रयोग गर्दा पनि विद्युत् धान्न सक्ने क्षमता चाहिन्छ । उत्पादन अनुसारका विद्युत् खपत नेपालमा नै भयो भने अझ राम्रो हुनेछ । भारत र बंगलादेश बजार नेपाली विद्युतको लागि कत्तिको विश्वासिलो र दीगो बजार हुन् ? अहिले उत्पादन भइ खपत नभएको बिजुली भारतमा निर्यात हुँदै आएको छ । हामीलाई बढी भएको बिजुली निर्यात नै गर्नुपर्छ । जस्तो की सुन पसलेले सुन बेचर मात्र धनी हुने हैन । उसले गहना बनाएर पनि बेच्नु पर्याे । त्यसो भयो भने म्यानपावर बढी हुन्छ, रोजगारी सिर्जना हुन्छ । बिजुली उत्पादन गरेर बेच्नुभन्दा यही खपत गर्याे भने अझ राम्रो हुन्थ्यो । त्यसको लागि ठुलादेखि साना उद्योगको कलकारखानाको स्थापना भई सञ्चालनमा आउनु पर्याे । अहिलेको लागि भारत र बंगलादेश बजार नै नेपाली विद्युतको लागि विश्वासिलो र दीगो बजार रूपमा रहेको छ । अरू ठाउँ छैन । निकट भविष्यको थप योजनाहरु के छन् ? हाम्रो धेरै ठुलो योजना छैन । जलविद्युतका ठुला परियोजना अगाडि बढाउने हो । हात हालेको प्रोजेक्ट राम्रोसँग गर्ने र लगानीकर्तालाई उच्च प्रतिफल दिने हो । लगानीकर्ताको लगानीको सुरक्षा गर्ने हो । १० वर्षअघि जलविद्युत क्षेत्रप्रति नेपाली लगानीकर्ताको सोच र अहिलेको सोचमा कति फरक आएको छ ? अहिले सबैभन्दा ठूलो विषय ऊर्जा रहेछ । ऊर्जामा पनि हाइड्रोपावर नेपालमा रहेछ, हाइड्रोपावरको विकल्प छैन रहेछ भनेर धेरैले बुझेका छन् । त्यसैले पहिलाको तुलनामा अहिले यस क्षेत्रमा पनि आकर्षण बढेको देख्छु । तपाईं जलविद्युत उत्पादनको क्षेत्रमा कसरी आईपुग्नु भयो ? केले तपाईलाई आकर्षित गर्यो ? उत्पादन मूलक क्षेत्रमा जानुपर्छ भनेर म यस क्षेत्रमा लागेको हुँ । जलविद्युतको क्षेत्रमा म लागेको ११ वर्ष भयो । सुरुमा मैले गुल्मीमा ५ मेगावाटको हुग्दी जलविद्युत आयोजनामा काम गरेको थिए । उक्त आयोजनाको निर्माण अवधि ३६ महिना तोकेका थियौं । तर १७ महिनामा सबै काम सक्यौं । कतिपय प्रोजेक्ट बजेट भित्र पनि बनेका छैनन् । अनुमानित बजेटभन्दा पनि केही कममा नै उक्त आयोजनाको काम सम्पन्न गर्यौं । बैंकको ऋण पनि लिनु परेन । त्यसबाट केही कुरा सिक्यौं र अरू ठूलो प्रोजेक्ट गर्न सकिन्छ भनेर सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनामा लागेको हौं । हामी पहिला ५ मेगावाटको प्रोजेक्ट गर्दा २५ मेगावाट भन्दामाथि नेपालमा विद्युत् खरिद सम्झौता (पीपीए) थिएन । एक सय मेगावाटसम्मको पीपीए गर्नको लागि मुख्य कार्यविधि बनाउनु पर्याे । त्यो कार्यविधि बनाउँदा यही ८६ मेगावाटको आयोजनाको मुख्य भूमिका छ । यसको नै पहिलो पीपीए भयो । हामीलाई अरू साथीहरूले पनि सहयोग गर्नु भयो । अहिले एक सय मेगावाटसम्म पीपीए हुन्छ भने त्योभन्दा माथि नेगोशेसनमा गई रहेको छ । हाइड्रोपावरको विकासमा देखिएका समस्या तथा यस क्षेत्रमा सरकारले गर्न नसकेका काम केके छन् ? समस्या हजारौं छन् । समस्याका बीचमा निजी क्षेत्रले यो लेबलसम्म काम गर्न सफल भएको छ । निजी क्षेत्रबाट यतिको प्रयास भएको थिएन भने नेपालमा ऊर्जा संकट जुन अवस्थामा थियो त्योभन्दा काहालि लाग्दो स्थितिमा पुग्थ्यो । आज लोडसेडिङबाट राहात पाएका छौं । ऊर्जाको लागि निकै ठुलो सम्भावना बोकेको ठाउँ पनि नेपाल हो । चाहने हो भने ठूला ठूला आयोजनाको काम अगाडि बढाउन सकिन्छ । अहिले स–साना मेगावाटका आयोजना मात्र अगाडि बढेका छन् । मलाई लाग्छ कर्णालीमा १०/१२ हजारको एउटै प्रोजेक्ट बन्छ ।

एनआईबिएल ग्रोथ फण्डले बिजनेस ग्रोथ हेरेर लगानी गर्छ, लगानीकर्तालाई डबल फिर्ता दिन्छ : डीसीईओ थापा

एनआईबिएल एस क्यापिटलले पुस ७ गते बिहीबारदेखि हालसम्मकै ठूलो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । लगानीकर्ताहरुले यो फण्डमा छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल एस क्यापिटलले ल्याउन लागेको ग्रोथ फण्ड कस्तो हो, के छ योजना, लगानीकर्तालाई कति प्रतिफल दिने लक्ष्य राखेको छ ? यिनै विषयमा केन्द्रित भएर एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मेख बहादुर थापासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । एनआईबिएल ग्रोथ फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ? एनआईबिएल ग्रोथ फण्ड बन्दमूखी प्रकारको फण्ड हो । यसकोआकार १ अर्ब ६० करोड रुपैयाँको हो । ओभर सब्स्क्राइब भयो भने वा बढी आवेदन पर्याे भने २५ प्रतिशतसम्म बढाउन पाउने व्यवस्था छ । ओभर सब्स्क्राइब्ड भयो भने २ अर्बसम्मको आकार हुन सक्छ । यसैले यसलाई हालसम्म कै ठूलो योजना भनिएको हो । एनआईबिएल ग्रोथ फण्ड अन्य फण्डको नेचरमा कुनै फरक छैन । एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ (परिपक्व), एनआईबिएल प्रगति फण्ड (अर्काे वर्ष परिपक्व हुने), एनआईबिएल समृद्धि फण्ड-२ र एनआईबिएल सहभागिता फण्ड निष्काशन गरिसकेको छ । ग्रोथ फण्डले मुख्य लगानी इक्विटीमा गर्ने हो । ग्रोथ फण्ड भएकाले पनि यसको ग्रोथ गर्नुपर्छ । फण्डको डिभिडेण्ड पे आउट पनि बजारको माग अनुसार नै वितरण गर्ने हो । ग्रोथ फण्डमा धेरै लाभांश वितरण नगर्ने निती लिएको हुन्छ । लगानीकर्ताहरुले ऋणपत्र, मुद्दती निक्षेपमा लगानीमा रकम होल्ड गरिरहेका हुन्छन् । एनआईबिएल ग्रोथ फण्डका विशेषता के-के हुन् ? एनआईबिएल ग्रोथ फण्ड बजारमा आइरहेका फण्ड जस्तै हो । यसको साइज ठूलो भएको हुँदा फ्लेक्जिबिलिटी हुन्छ । ग्रोथ फण्ड भएको हुँदा सकेसम्म इक्विटीहरु छनोट गर्दा दीर्घकालमा राम्रो ग्रोथ गर्न सक्ने कम्पनी, रेभिन्यू गर्न सक्ने, बिजनेश ग्रोथ राम्रो भएको इक्विटीलाई विशेष प्राथमिकतामा राखिएको छ । जसले गर्दा अल्पकालमा कम पर्फमेन्स गरेर दीर्घकालमा राम्रो ग्रोथ गर्ने यो फण्डको उद्देश्य हुन्छ । ठूलो साइजको भएको हुनाले पनि धेरै नाफा उठाउन सजिलो हुन्छ । एभरेजिङ गर्नुपर्याे भनेपनि बजारको उतारचढावमा प्ले गर्न सकिन्छ । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ, यो बेला फण्ड बिक्री हुन सक्छ अहिले बजारमा लो लागेको छ । लो लागेको लामो समय भइसकेको छ । बजार वियरिस ट्रेण्डिङमा छ । कम्पनीहरुको सेयर मूल्य दयनीय छ । बैंकहरुको सेयर मूल्य डेढदुई सयको हाराहारीमा झरेको छ । बीमा लगायत अन्य सेक्टरको पनि धेरै कम मूल्यमा कारोबार भइरहेको छ । सेयर बजारको स्थिति हेर्ने हो भने म्युचुअल फण्ड किन्ने अवसर उपयुक्त समय हो । किनभने बजारको सुन्दरता भनेको हाई पछि लो आउनु र लो पछि हाई हुनु हो । अहिले हेर्दा यहि नै उपयुक्त समय हो । लगानी सुरु गर्नका लागि ज्यादै नै उपयुक्त समय छ । ठूलो फण्ड भएको हुनाले फर्दर बजार घटेपनि एभरेज गर्दै किन्न सक्ने यो फण्डको क्षमता हुन्छ । भोलिका दिनमा बढ्यो भने फाइदा लिन अवश्य नै सकिन्छ । यो फण्डबाट छानि छानि सेयर किन्ने मौका हुन्छ । मज्जाले विश्लेषण गरेर हरेक सेक्टरको कुन राम्रो सेयर हो, कति मूल्यमा किन्ने हो र अझै नेगोसेसन गरेरै किन्न सक्ने क्षमता छ । अर्काे साइटमा हेर्दा लगानीकर्तामा नैराश्यता छ । सेयर बजार घटेर मात्रै होइन समग्र आर्थिक अवस्थाले गर्दा निराशजनक स्थिति देखिन्छ । अलिकति फण्ड उठाउन गाह्रो हुन्छ की भन्ने लागेको छ । तर, आईपीओको ट्रेण्ड हेर्ने हो भने १२/१३ लाखभन्दा बढी नै आवेदन परेको छ । फण्डमा यति धेरै आउँदैन तरपनि अहिले फण्ड जारी गर्दा विदेशमा पनि रिचआउट गर्ने कोशिस भइरहेको छ । सर्वसाधारणमा सहभागिता कसरी बढाउने भनेर जोड दिइरहेको छौं । साथै, सर्वसाधारणलाई म्युचुअल फण्ड कस्तो लगानीको माध्यम हो भनेर बुझाउन सचेतनामुलक काम पनि भइरहेको छ । बजारको यस्तो स्थिति भएपनि सर्वसाधारणको सहभागीता उल्लेख्य हुन्छ भन्ने अपेक्षा छ । कतिपय संस्थाहरुसँग कुरा पनि भइसकेको छ । संस्थाहरुले दीर्घकाल फण्ड हो भनेर बुझेका छन् । लगानी गर्न राम्रो मौका भएकाले फण्ड बिक्री हुन्छ । म्युचुअल फण्डको सेयर मूल्य घटेको बेला असर गर्छ की ? यसले पनि प्रभाव पार्छ । यसले सर्टटर्म ट्रेडरलाई प्रभाव पार्ने हो । जसले लङ्टर्म होल्ड गर्छु भनेर मनस्थिति बनाएर खरिद गर्नुभएको हुन्छ उहाँहरुलाई यसले ठूलो असर पार्दैन । बजारमा रिफ्लेक्ट हुन्छ । मेरो लगानीको मूल्य घट्छ की वा वर्थ नै घट्छ की भन्ने महशुस हुन्छ । तर, बजार यहाँभन्दा धेरै तल झर्ने ठाउँ छैन । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अर्थतन्त्र सुधारोन्मुख छ । विस्तारै सुधार हुँदै जाँदा सेयर बजार पनि सुधार हुँदै जाने देखिन्छ । जसलाई तत्काल पैसा चाहिएको छ उसलाई मात्रै सेयर मूल्यले असर गर्ने हो । दीर्घकाल लगानी गर्नेलाई केही फरक पर्दैन । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ? म्युचुअल फण्ड दीर्घकाल इन्स्ट्रुमेन्ट हो । म्युचुअल फण्ड खरिद गर्न सधैं उपयुक्त समय हो । घटेको बेला पनि किन्ने हो । बढेको बेला पनि किन्दा उपयुक्त हुन्छ । म्युचुअल फण्ड खरिद गरेर दीर्घकालका लागि होल्ड गर्याे भने जहिले पनि किन्दा पनि हुन्छ । घटेको बेला होस् वा बढेको होस् । किनभने म्युचुअल फण्डले आ-आफ्नो रणनीति बनाएको हुन्छ । जहिले पनि बजार घट्दा म्युचुअल फण्ड बजारभन्दा कम घट्छ । बढ्दा खेरि पनि बजारभन्दा कम बढ्छ । म्युचुअल फण्ड जोखिम कम गर्ने किसिमको लगानी हो । बैंकको मुद्दती निक्षेपमा जोखिम हुँदैन । त्यसमा पनि अलिअलि रिस्क त हुन्छ । कुनै-कुनै बैंक डुबेको देखिएकै छ । तर, सामान्यतया बैंकहरुको मुद्दतीमा जोखिम हुँदैन । सर्टेन ब्याजदर पाइन्छ, त्यो फिक्स हो । जस्तो, अहिले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर पाइन्छ । जस्तोसुकै संकट आएपनि १२ प्रतिशत नै पाइने हो । घटेर १० प्रतिशत वा बढेको बेला १५ प्रतिशत पनि पाइँदैन । बचतबाट माथि उक्लिएर लगानी गर्ने हो भने सबैभन्दा पहिलो खुड्किलो म्युचुअल फण्ड हो । ३२ सय अंकमाथि गएको बजार अहिले १८ सय अंकको हाराहारीमा छ । झण्डै १४ सय त गुमाइसकेको छ । लगानीकर्ताले ४० प्रतिशत लगानी गुमाइसकेका छन् । तर म्युचुअल फण्ड धेरै घटेको छैन । १०/१५ प्रतिशत मात्रै घटेको छ । योभन्दा धेरै घटेको छैन । म्युचुअल फण्डमा लगानी गर्दा केही हदसम्म जोखिम कम हुन्छ । त्यसैले म्युचुअल फण्डले बजारको घटबढलाई व्यवस्थापन गरेर कसरी जोखिम गरेर रिटर्न बढी जेनेरेट गर्ने हो । म्युचुअल फण्ड दीर्घकालका लागि जहिले किने पनि राम्रो हो तर सर्टटर्म ट्रेड गर्ने हो भने बियरिस बजारमा गाह्रो हुन्छ । म्युचुअल फण्ड किन्ने नै हो भने लो लागेको बेला हो । अहिले किन्नुभयो भने घट्ने ठाउँ छैन, अब बढ्ने हो । पुरानो म्युचुअल फण्ड वा आईपीओ नै किने पनि अहिलेको समय उचित हो । अहिले किन्दा सस्तो मूल्यमा सेयर पाइन्छ । एनआईबिएल ग्रोथ फण्डले कुन-कुन क्षेत्रमा लगानी गर्छ ? इक्विटीमा ६५/७० प्रतिशत लगानी गर्ने योजना छ । हरेक सेक्टरमा ग्रोथ फ्याक्टर भएको, विजनेश ग्रोथ राम्रो भएका, भविष्यमा राम्रो गर्न सक्ने इक्विटीमा बढी लगानी गर्ने योजना छ । बैंकिङ्ग क्षेत्रमा राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो । नाम नै ग्रोथ फण्ड भएकाले विजनेश ग्रोथ बढी गर्न सक्ने कम्पनीलाई बढी प्राथमिकता दिइनेछ । फण्डले कमाएको नाफाबाट इकाईधनीहरुलाई कतिसम्म प्रतिफल दिन सक्छ ? हरेक वर्ष प्रतिफल दिने प्रक्षेपण छ । फण्डको वर्थ बढाएर मध्यम लाभांशमा जाने योजना छ । मुद्दती निक्षेपको हाराहारीमा रिटर्न (१२÷१५ प्रतिशत) रिटर्न दिने प्रक्षेपण गरिएको छ । कम्तिमा पनि मुद्दती निक्षेपको रिटर्न बिड गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । किनकी इकाईधनीहरुले स्ट्याण्डर्ड फिक्स्ड छोडेर आएका हुन्छन् । सकेसम्म ग्रोथ मै न्याभ बढाएर एकैचोटी दिने प्रक्षेपण छ । न्याभ अन्तिममा २० रुपैयाँ फर्काउने छ । शतप्रतिशत रिटर्न अन्तिममा दिने हाम्रो प्रक्षेपण हो । १० रुपैयाँ लगानी गरेर २० रुपैयाँ फिर्ता दिने प्रक्षेपण गरिएको छ । यसअघि जारी गरेका म्युचुअल फण्डबाट कस्तो अनुभव छ ? यसअघिका म्युचुअल फण्डबाट राम्रो अनुभव छ । एनआईबिएल एस क्यापिटलले पहिलोपटक एनआईबिएल समृद्धि वान फण्ड जारी गरेको थियो । ७ वर्षे अवधिमा एभरेज वार्षिक १८ प्रतिशत प्रतिफल दिन सफल भएका छौं । यसले राम्रो अनुभव भएको छ । एनआईबिएल प्रगति फण्डका इकाईधनीहरुलाई भने सुरुका वर्षहरुमा प्रतिफल दिन सकिएन । तर, पछिल्लो समय भने इकाईधनीहरुलाई राम्रो प्रतिफल बाँडको छौं । ओपन इण्डेड सहभागीता फण्डका इकाईधनीहरुलाई ३ वर्षमा ६४ प्रतिशत रिटर्न दिइसकेका छौं । एफडीलाई बिड गर्ने हाम्रो सिद्धान्त हो । अहिलेका जस्तो खराब समय आएन भने एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई एभरेजमा १५/२० प्रतिशत रिटर्न दिन सकिन्छ । म्युचुअल फण्डको लाभांशदर घटेको छ, कुनै वर्ष ह्वात्तै लाभांश बढाउने कुनै वर्ष स्वाट्टै किन घटाउनु हुन्छ ? म्युचुअल फण्डको लाभांश दर घटेको छ । डिभिडेण्ड पोलीसी (लाभांश नीति) मेन्टेन गर्ने अभ्यास छैन । भएको बेला झ्याप्पै दिने नहुँदा चुप लागेर बस्ने प्रवृत्ति छ । हरेक वर्ष यति डिभिडेण्ड मेन्टेन गर्छु भन्ने परिपाटि छैन । म्युचुअल फण्डको लाभांश दर एउटै रेसियोमा देखिँदैन । बजारमा हेर्ने हो भने कुनै वर्ष ५० प्रतिशत दिएको छ भने कुनै वर्ष ५/७ प्रतिशतमा पनि झरेका छन् । म्युचुअल फण्डले ठ्याक्कै डिभिडेण्ड पोलीसी फ्लो गर्न सकेका छैनन् । एनआईबिएलले जारी गरेका फण्डको पनि एकनाश छैन । कुनै-कुनै स्थापित कम्पनीले फ्लो गरेको भएपनि अन्य सेक्टरमा नी डिभिडेण्ड पोलीसी पर्पल्ली फ्लो गरेको देखिँदैन । म्युचुअल फण्डमा एकनाश दिन पनि गाह्रो हुन्छ । म्युचुअल फण्डको लगानी बजारमा हुन्छ । बजार राम्रो भएको बेलामा डिभिडेण्ड दिनुपर्छ भन्ने हुन्छ । फण्डको नाफा आफैसँग राखिराख्यो भने बजार घटेको बेला डबल असर पार्ने होकी भन्ने हुन्छ । म्युचुअल फण्डहरुले डिभिडेण्ड पोलिसी अनुसार मेन्टेन गर्ने की नगर्ने विषयमा बहस हुन जरुरी छ । नेपाली बजारमा के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा छलफल गर्न आवश्यक छ । स्थिर अर्थतन्त्रमा स्थिर लाभांश स्वभाविक हो । नेपालमा फ्लेक्च्युसन धेरै हुने भएकाले स्थिर राख्न गाह्रो भएको हुन सक्छ । म्युचुअल फण्डको प्रकृतिमा पनि भर पर्छ । लाभांशमा ग्रोथ फण्डको प्रकृति फरक हुन्छ । ब्यालेन्सड फण्ड र इनकम फण्डको सिद्धान्त एउटा रेञ्जमा दिनु पर्छ भन्ने हुन्छ । तर, ग्रोथ फण्डको अन्तर्राष्ट्रिय अभ्यास डिभिडेण्ड नै नदिने हुन्छ । ग्रोथ फण्डले भ्याल्यू बढाएर अन्तिममा एकैचोटी दिने अभ्यास छ । एनआईबिएल ग्रोथ फण्ड ४ दिनमा सबै बिक्री होला ? कस्तो प्रतिक्रिया आएको छ ? ४ दिनमा बिक्री गर्ने कोशिस गर्ने हो । गाह्रो पनि हुन सक्छ । अहिलेसम्म प्रतिक्रिया राम्रो आएको छ । हाम्रो फण्ड नआएको धेरै ग्याप भएको छ । जसले गर्दा त्यति धेरै गाह्रो हुँदैन की भन्ने छ । इकाईधनीहरुले ४ दिनमा नै सबै फण्ड खरिद गर्नुहुन्छ भन्ने अपेक्षा छ । यसअघिका फण्डबाट पनि उहाँहरु उत्साहित हुनु भएको छ । यसअघिका म्युचुअल फण्डको अवस्था के छ ? सबै फण्डको राम्रो छ । विभिन्न कारणले समृद्धि मुचुअल फण्ड २ मा राम्रो गर्न सकिएन । त्यो फण्ड बजार माथि जाने बेला ल्याएका थियौं । हामीले खरिद गर्दा गर्दै बजार घट्यो । त्यसमा राम्रो गर्न नसकेर लाभांश पनि दिन सकिएको छैन । हुन त २ वर्ष मात्र भयो । बजार घटेदेखि नै स्टक अकुमेलेट भइरहेको छ । अब बजार बढेपछि उक्त फण्डका इकाईधनीहरुलाई राम्रो लाभांश दिन्छौं । ग्रोथ फण्डका इकाईधनीहरुलाई कति प्रतिशत सन्तुष्टि बनाउनु हुन्छ ? इकाईधनीहरुलाई शतप्रतिशत सन्तुष्ट बनाउने प्रयास हामी गर्छाैं । विगतका फण्डहरुमा त्यो गरेर पनि देखाउन सफल भएका छौं । हामीसँग स्थापित टिम छ । हाम्रोमा मुभमेन्ट पनि त्यति धेरै छैन । फण्ड स्पोन्सरका रुपमा प्यारेन्ट कम्पनी एनआईबिएल पनि छ । पर्फमिङ फण्डको हिसावमा शतप्रतिशत नै सन्तुष्ट बनाउने लक्ष्य छ । म्युचुअल फण्डमा आईपीओमा जस्तो आकर्षण हुँदैन नि, किन ? नेपाल मात्रै यस्तो देश हो, जहाँ १ सय रुपैयाँ वा पार भ्यालुमा आईपीओ पाइन्छ । अन्य मुलुकमा हेर्ने हो भने आईपीओको मूल्य १० रुपैयाँ भइसकेको छ । अझै कुनै देशमा १ रुपैयाँ भइसकेको छ । कतिपय देशमा सेयर स्प्लिट पनि भएका छन् । अमेरिकातिर सेन्टमा आईपीओ पाइन्छ । पार भ्यालु वा जतिको त्यतिमा इस्यू हुने नेपालमा मात्रै हो । यसकारण १ सय रुपैयाँ सूचीकृत हुँदा जस्तो कम्पनी पनि २र३ सय रुपैयाँ हुन्छ । त्यो आकर्षण छ । आईपीओ पर्याे भने २/३ गुणा त फाइदा हुन्छ भन्ने हिसावले आकर्षण बढेको हो । यदि भोलिका दिनमा प्रिमियम मूल्यमा इस्यू भयो आकर्षण घट्छ । १ सय रुपैयाँमा पाइने भएर आकर्षण बढेको हो । म्युचुअल फण्डलाई त्यो सुविधा छैन । म्युचुअल फण्ड त फ्रेस हो । कसैले कम्पनी स्थापना गर्याे भने आईपीओ जारी गर्नका लागि ३ वर्ष कुर्नु पर्ने हुन्छ । त्यसमा समय खर्च भएको छ, लगानी बढेको छ, कामहरु धेरै भएर एउटा भ्यालु आइसकेको हुन्छ । त्यो भ्यालु कम्पनीले १ सय रुपैयाँमा दिएको हुन्छ । यसकारण मात्रै त्यसको आकर्षण बढेको हो । भोलिका दिनमा १५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने हो भने आकर्षण अटोमेटिक घट्छ । म्युचुअल फण्डको भविष्य कस्तो छ ? म्युचुअल फण्ड अझै आउँछन् । म्युचुअल फण्ड सुरु भएको १० वर्ष पुरा भयो । म आफै नेपाल धितोपत्र बोर्ड छोडेर सिद्धार्थमा जाँदा इन्भेष्टमेन्ट ग्रोथ स्किम वान भनेर पहिलो फण्ड ल्याएको थिए । म्युचुअल फण्डको इण्डष्ट्रि ११ औं वर्षमा प्रवेश भएको छ । ११ वर्षमा म्युचुअल फण्ड के हो, कस्तो लगानी हो भन्ने सचेतना सर्वसाधारणमा पुगेको छ । हाल म्युचुअल फण्डमा २८/३० अर्ब लगानी छ । पहिलो म्युचुअल फण्ड ल्याउँदा ५० करोड आकार थियो । बजारमा म्युचुअल फण्डको पुगेको छ । १० वर्षअघि म्युचुअल फण्डका बारेमा कर कार्यालय, नेपाल राष्ट्र बैंक, बीमा समितिलाई पनि थाहा थिएन । प्रोभिजनको व्यवस्था थिएन । हामीले सबै ठाउँमा गएर लबिङ गर्याै । बीमा समितिमा म आफैले प्रस्तुती गरेको थिए । राष्ट्र बैंक, कर लगायतसँग पनि धेरै बहस भयो । अहिले एउटा फेजमा म्युचुअल फण्ड आइपुगेको छ । अहिले ओपन इण्डेड म्युचुअल फण्ड पनि आइसकेको छ । हामीले नै पहिलो पटक ल्याएको हो । त्यो पनि २० करोडबाट सुरु गरेको हो । अहिले १ अर्ब पुगेको छ । त्यसलाई बढाएर २ अर्ब पुर्याउने योजना छ । लगानीकर्तामा फण्डका बारेमा ज्ञान बढ्दै गएकाले म्युचुअल फण्डको आकार अझै बढ्छ । अझै पनि गर्व गर्न लायकको आकारमा पुगेको छैन । ४/५ वर्ष अघिको तथ्याङ हेरेको थिए, भारतमा म्युचुअल फण्डको आकारा १० लाख करोड थियो । तर, नेपालमा ३० अर्ब मात्रै छ । हाम्रो जस्तो देशमा अझै पनि म्युचुअल फण्डको स्कोप छ । म्युचुअल फण्डमा सहुलियतको व्यवस्था हुनु पर्छ । भारतमा म्युचुअल फण्डमा कर योग्य आयबाट घटाउन पाउने सुविधा छ । नेपालमा त्यो सुविधा छैन । त्यो लबिङ गरेको थुप्रै वर्ष भइसक्यो । क्लोजिङमा त्यो व्यवस्था नभएपनि ओपनिङमा दिनुपर्छ भनेर माग गरेको वर्षाै भइसक्यो अहिलेसम्म हुन सकेको छैन । लाइफ इन्स्योरेन्सको प्रिमियम, कर्मचारी सञ्चाय कोष र नागरिक लगानी कोषलाई छुट दिन्छ । म्युचुअल फण्डमा छुटको व्यवस्था गर्याे भने इण्डष्ट्रि अझै ठूलो हुन्थ्यो । नियामकले पनि विस्तार गर्ने उद्देश्यले सोचेको छैन । इण्डष्ट्रि ठूलो होस् भन्दा पनि अल्झाइराख्ने प्रवृत्ति नियामक निकायको छ । यस्तो मनस्थिति हटेर सहजीकरण गर्याे भने मुचुअल फण्डको विकास हुन्छ ।