जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने बताउँछन् । उनले भने, ‘अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।’ संविधानसभाका अध्यक्ष नेम्वाङले अर्काे प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको स्पष्ट गरे । प्रस्तुत छ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका एमाले नेता नेम्वाङसँग मुलुकको सर्वाेच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंश : आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा मतदातासमक्ष यहाँ के–कस्ता कार्यसूची लिएर जाँदै हुनुहुन्छ ? मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरँे, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२÷६३ को आन्दोलनपछि सर्वसम्मतिले सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु । एमालेभित्र अरू धेरै वरिष्ठ नेताहरू पनि हुनुहुन्छ, तर तपाईंलाई नै किन यस पदका लागि सर्वसम्मत छानियो होला ? राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवद्र्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित ग¥यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ । राष्ट्रपति आलङ्कारिक पद हो, यहाँ एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ? त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्काे दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु ‘म अलरेडी टेस्टेड व्यक्ति हुँ ।’ मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ । पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ? राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ । आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छ त ? सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवद्र्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी ग¥यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ । विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई यहाँले कसरी लिनुहन्छ ? यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, “हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छाैँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।” कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् । आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ? अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छाँै । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ? राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु । अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ? उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ ।
नम्बर वानको ताज कायमै राख्छौं, सेयरधनी र बीमितलाई सन्तुष्ट बनाउँछौं : अध्यक्ष श्रेष्ठ
निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई एक बनेका छन् । दुई कम्पनीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । नयाँ बनेको कम्पनीको नेतृत्व प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सम्हाल्ने भएका छन् । यो अवधिमा मर्जरको भोगाइ, मर्जर गर्दाका चुनौति र मर्जर भएर नयाँ बनेको कम्पनीको योजनाहरुको विषयमा विकासन्युजका लागि सीआर भण्डारी र मञ्जरी पौडेलले कम्पनीका अध्यक्ष श्रेष्ठसँग गरेको कुराकानी । दुई कम्पनी एक हुँदाको अनुभुति कस्तो हुने रहेछ ? यो एउटा ऐतिहासिक क्षण हो । हुन त हामी मर्जरमा तेश्रो भएका छौं । हामीभन्दा अघि दुई कम्पनी मर्ज भइसकेका छन् । यो स्केलमा दुई वटा कम्पनी मिल्दा नेपालको ठूलो कम्पनी बन्ने हिसावले मर्जर भएको यो पहिलो कम्पनी हो । मर्जर भनेको दुई वटा कम्पनी विवाह गर्ने सरह नै हो । किनभने दुई कम्पनी छुट्टाछुट्टै वातावरणमा, छुट्टै संस्कृतिमा हुर्किएका । २०/२५ वर्ष आफ्नै हिसावले काम गरिसकेका कम्पनी । एउटामा ३/४ सय जना कर्मचारी र अर्कोमा ३/४ सय जना कर्मचारी । आफ्नो आफ्नो पोलिसी अन्तर्गत काम गरेर आएका र दुई वटै सक्षम र दुई वटै सफल कम्पनीहरु थिए । मर्जर भनेको एक एक जोडेर दुई होइन एघार भन्छौं । यहि एघारलाई एउटा लक्ष्य बनाएर कम्पनीलाई अगाडि बढाउन चाहान्छौं । दुई कम्पनी एक हुनु सामान्य विषय होइन,सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर कसरी सम्भव बनाउनु भयो ? कुनै पनि मर्जरको क्रममा विभिन्न विषयहरु आउन सक्छन् । नआउने होइन । जस्तै इगो । मेरो कम्पनी पुरानो, मलाई बढी चाहिन्छ । यो क्षेत्रमा मेरो राम्रो प्रफरमेन्स छ, मलाई यो बढी चाहिन्छ भन्ने विषयहरुले मर्जरलाई लम्ब्याएको हुन्छ । अलि जटिलताहरु उत्पन्न हुने गर्छन् । धेरै ठाउँमा आएका पनि थिए । तर हाम्रो केशमा फरक रह्यो । दुबै सफल र एउटै लेभलको कम्पनी भएकोले हिसाव मिलानमा हामीलाई गाह्रो भएन । जस्तै, स्वाप रेसियो तय गर्ने, डीडीए गर्ने लगायतका विषयमा कुनै पनि कठिनाई भएन । ५/१० प्रतिशतका यी काम सजिलै गर्यौं । अब जटिलता आउन सक्ने भनेको कर्मचारी समायोजनको विषय । को कसले कुन पोजिसनमा बसेर काम गर्ने ? भन्ने विषयमा । अब सीईओ को हुने ? अध्यक्ष को हुने ? भन्ने विषय योग्यताको आधारमा हो । हामी लिनेभन्दा पनि दिनेमा बढी फोकस हुनु पर्ने रहेछ । मलाई यो चाहिन्छ उसलाई पनि यो चाहिन्छ भन्ने भयो काम अघि बढ्दैन । यसमा छोड्न सक्नुपर्छ । के को लागि छोड्ने ? कम्पनीको लागि । यही फिलोसोपिमा काम अघि बढाउँदा काम एकदमै सजिलै भयो । दुबै कम्पनीका पदाधिकारी, सञ्चालकहरु एकदमै बुझ्ने हुनुहुन्थ्यो । एक अर्काको सबल पक्ष र कमी कमजोरीहरु बुझेको । र, सबल पक्षलाई निरन्तरता दिँदै कमी कमजोरीलाई हटाउँदै जाने भन्नेमा सबैको बुझाई मिलेको हुनाले यो मर्जरलाई सफल बनाउन हामीलाई कुनै पनि किसिमको गाह्रो भएन । फरक-फरक कम्पनीको अध्यक्ष र सीईओ बन्नु भएको छ, यो अवस्थामा भोलिका दिनमा समन्वय गरेर अघि बढ्न कत्तिको सहज या असहज हुन्छ ? असहज हुने स्थिति मैले देखेको छैन । किनभने मर्जरकै क्रममा धेरैपटक हाम्रो मिटिङ अर्थात छलफल भइसकेका छन् । धेरै विषयमा सहकार्य भइसकेको छ । कुनै पनि विषयमा कुनै पनि समस्या, बाधा अड्चनहरु आउँदा सजिलै समाधान भयो । कारण एउटै थियो दुबैको बुझाई एउटै । त्यसैले हामीले कुनै पनि असहजताको स्थिति झेल्नु परेन । र, अब आउने दिनमा पनि यहि अनुसार नै अघि बढ्न सक्यौं भने दुई कल्चरको विवाहलाई सजिलै अघि बढाउन सक्छौं जस्तो लाग्छ । भिडियो : हाम्रो भिजन ‘नम्बर वान’ बन्ने नै हो : अध्यक्ष श्रेष्ठ पोष्ट मर्जर म्यानेजमेन्टको काम कति बाँकी छन् ? आजको दिनमा दुई कम्पनी मर्जर भयो र एकीकृत कारोबार शुरु भयो । यो भनेको ५/१० प्रतिशत मात्रै काम सकियो । बाँकी ९० प्रतिशत कामहरु अझै बाँकी नै छन् । शाखा कार्यालयको काम अगाडि बढीसकेको छ । हाम्रो दुबै कम्पनीको शाखा कार्यालय जोड्दा करिब १५०/१६० पुग्थ्यो । केही शाखाहरु दुप्लिकेट थिए, तिनलाई मर्ज गरेका छौं । र, अहिले १२३ वटा पुगेका छौं । कुनै दुईटा शाखालाई जोडेर एउटै बनाउने । कुनै पहिला चलिरहेको पुरानो शाखालाई नै निरन्तर सञ्चालन गर्ने । शाखा कार्यालयको एउटा मापदण्ड हुन्छ । कुन कति वर्ष पुरानो काम गरेको ? कुन कस्तो पोजिसनमा फीट हुन्छ ? त्यसको मूल्यांकन गरी उचित मापदण्ड बनाएर कुन व्यक्तिलाई कस्तो जिम्मेवारी दिएर अघि बढ्ने हो ? त्यसमा हाम्रो तयारी भइरहेको छ । जस्तै, दुई वटा शाखामा दुई जना म्यानेजर हुन्छन् । शाखा एउटा बनाउँदा दुबैलाई म्यानेजर राखेर भएन । यो अवस्थामा को म्यानेजरको रुपमा निरन्तर काम गर्ने ? र को उसको अन्तर्गत काम गर्ने ? भन्ने विषयमा उनीहरुको आफ्नो आफ्नो प्रफमेन्स, क्षमता र योग्यताको आधारमा समायोजन गरेका छौं । यो कर्पोरेट कार्यालय र शाखाहरु दुबैमा लागू हुन्छ । मर्जरपछि सम्बन्धित कम्पनीका कर्मचारीहरुबाट खाईपाई आएको सेवा सुविधा घट्यो भन्ने गुनासोहरु आइरहेका छन् । यसमा सिद्धार्थ प्रिमियरले कसरी व्यवस्थापन गर्दैछ ? सिद्धार्थ प्रिमियमरले यसमा कुनै कमी हुन दिँदैन । खाईपाई आएकोमा जो जसले जति सेवा सुविधा लिइरहेको हुन्छ, त्यसमा केही पनि कमी हुँदैन । सबैलाई समान हैसियतमा लगिन्छ । कर्मचारीहरु कसैको पनि सेवा सुविधा घट्दैन । आगामी पाँच वर्षमा सिद्धार्थ प्रिमियरलाई कुन स्थानमा देख्न सक्छौं ? पाँच वर्षमा हाम्रो भिजन नम्बर वान बन्ने नै हो । अहिलेलाई दुईटा हिसाव मिलाएर नम्बर वान पुग्यो । तर नम्बर वानमा स्थीर भई राख्नु भनेको अर्को चुनौति हो । यो नम्बर वानमा बस्नको लागि के के गर्नुपर्छ ? कस्ता कस्ता श्रोतहरुको परिचालन गर्नुपर्छ ? वित्तीय श्रोत, प्राविधिक श्रोत, मानव श्रोत साधानहरु, बजारीकरण लगायतका विषयमा हाम्रो फोकस छ । अब एक वर्षसम्म यी विषयमा फोकस भइन्छ । यो स्टाब्लिस भइसकेपछि यसकै आधारमा हामी अगाडि बढ्छौं । हुन त नेपाल बीमा प्राधिकरणले दुई तीन वर्षमा पुँजीको आवश्यकतालाई परिवर्तन गर्दै आइरहेको छ । पुँजीको आवश्यकतालाई मात्रै थपेर बिजनेस सस्टेन हुन नसक्ने अवस्था आउँछ । त्यसैले पनि मर्जर एउटा म्यान्डेटोरी बन्न आयो । अब बीमा प्राधिकरणले नयाँ नयाँ नीति नियमहरु ल्याउँदै गर्छ, त्यो अनुसार हामीले काम गर्नुपर्छ । आजको दिनसम्म हामी पुँजीसँगै विभिन्न शीर्षकमा नम्बर वान छौं । अब हाम्रो लक्ष्य यहि नम्बर वानलाई निरन्तरता दिने हो । बीचमा उतारचढाव होला । तर पनि नम्बर वान नै भएर बस्न हामी पुरै कन्फिडेन्ट छौं । सिद्धार्थ र प्रिमियरले दिँदै आएको लाभांश र मर्जरपछि बनेको कम्पनीले दिने लाभांशमा कत्तिको वृद्धि होला ? हाम्रो उद्देश्य भनेको कुनै पनि बिजनेस गर्दा ग्राहकलाई अधिकतम सन्तुष्टि दिने हो । ग्राहकको सन्तुष्टिबाटै बिजनेस बढ्ने हो । बिजनेस बढेपछि नाफा बढ्ने हो । तर बीमामा त्यति सजिलो छैन । बिजनेस मात्रै बढाएर पनि हुँदैन । जस्तै : क्वालिटी बिजनेस भनेको के हो ? नेपालमा क्वालिटी बिजनेस नभएको कारणले फ्रडुलेन्स क्लेम बढी भइरहेको छ । यसले बीमा क्षेत्रलाई नै गाह्रो पारिरहेको छ । तर नाफा भएपछि त सेयरधनीलाई अधिकतम लाभांश दिन सक्छौं । विगतका इतिहासलाई हेर्ने हो भने सिद्धार्थ र प्रिमियर दुबै कम्पनी सञ्चालन भएको अवस्थामा दुईवटै ‘वान अफ द बेष्ट’ कम्पनी थिए । अब दुईवटा कम्पनीको श्रोतहरु मिल्दा त्योभन्दा बढी हुन्छ । कम हुँदैन भन्ने हाम्रो विश्वास छ । सेयरधनी भन्नाले सर्वसाधारण सेयरधनी मात्रै होइनन् । हामी (संस्थापक) ले पनि आफ्नै रगत पसिनाले बिजनेस चलाइरहेका हौं । हामीलाई नाफा नहुँदा जति दुख्छ, सर्वसाधारण सेयरधनीलाई पनि त्यति नै दुख्छ । उहाँहरुलाई दुखेको हामीलाई पनि दुख्छ । हामीले आफ्नो सेयरहरु बजारमा बेच्न पनि नहुने । लक गरेर राखिएको छ । संस्थापक सेयरधनीले एकपटक लगानी गरिसकेपछि सेयर बेच्न पनि नपाउने, नगद लाभांश पनि लिन नपाउने भन्ने नीति बीमा प्राधिकरणको छ । यसले गर्दा संस्थापक सेयरधनीले आफ्नो लगानीको उचित प्रतिफल पाइरहेका छैनन् । जुन सर्वसाधारण सेयरधनीले नगदसहितको लाभांश पाइरहेका छन् । यसले उनीहरुलाई फाइदा नै भइरहेको देखिन्छ । बीमा प्राधिकरणको बारम्बार एउटै गुनासो छ की बीमा कम्पनीहरु शहर केन्द्रित मात्रै छन् । गाउँ केन्द्रित छैनन् । यसमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको भूमिका के रहन्छ ? साच्चै भन्ने हो भने हाम्रो फोकस नै त्यहि छ । १२३ वटा शाखा कार्यालय छन् । नेपालका ७ वटै प्रदेशमा छन् । हामी ठाउँठाउँ गाउँगाउँमा गएर विभिन्न प्रविधि मार्फत काम गर्दै जाने । शाखाहरु खोल्दै जाने । निम्न वर्गका ग्राहकहरुलाई सेवा दिने । १२३ भनेको थोरै शाखा होइनन् । हरेक वर्ष अधिकतम १० वटा शाखा खोल्दै जाने । काठमाडौं भित्र पनि थप शाखा खोल्छौं । त्यसैले हाम्रो ब्रान्च नेटवर्ट म्यासिभ नै हुन्छ । दुई कम्पनी नै अग्रणी हुन् भन्नु भयो । अग्रणी हुँदा हुँदै पनि आफै पुँजी बढाउन तपाईं असक्षम हुनु भएको हो ? असक्षम भन्दा पनि यसको भायविलिटी हेर्नुपर्यो । कुनै पनि लगानी गर्दा यसको भायविलिटी हेर्नुपर्छ । जति बजारमा प्रतिस्पर्धा हुन्छ, त्यत्ति अनुशासन हुँदैन । अस्वस्थ प्रतिस्पर्धा हुन्छ । यसले कुनै पनि कम्पनीलाई राम्रो फाइदा भइरहेको छैन । अहिले हामी आफ्नो प्रगति अनुसार टप टु/थ्री कम्पनीमा बस्न सक्षम त भयौं । तर बजार बिग्रिँदै गएकोे हिसाबले टप टु/थ्री मा बस्न कठिनाई भइसक्यो । त्यसैले मर्जर हुनु अपरिहार्य नै थियो । किनभने एउटा कम्पनीले ३०० करोडको व्यापार गरिरहेको छ भने ३०० करोडबाट ६०० करोड पुर्याउन पुँजी थपेर मात्रै हुँदैन । दुई कम्पनी मिलेर गरेको जति बिजनेस गर्न सकिँदैन । जबकी एउटै लेभलको पुँजी वा बिजनेस भएको कम्पनी मिल्दा क्षमतावान कर्मचारी तुरुन्तै हुन्छ । तुरुन्तै बजारमा स्थापित भइसकेका शाखाहरु हुन्छन् । पुँजी थपेर जाँदा एउटा एउटा शाखा बढाउनु निकै कठिन हुन्छ । नयाँ मान्छे लिनु पर्यो । नयाँ ठाउँ लिनु पर्यो । नयाँ पहिचान बनाउनु पर्यो । त्यसैले नयाँ सञ्चालन गर्नुभन्दा भइराखेको श्रोतलाई क्यापिटलाइज्ड गर्नु नै धेरै सजिलो हुन्छ । त्यसैले हामीले मर्जरलाई नै प्राथमिकता दियौं । मर्जरमा जाँदै गरेका अन्य कम्पनीलाई कस्तो सुझाव दिनुहुन्छ ? मर्जर एक पटक गर्ने भनिसकेपछि ‘ए’ पाटी ‘बी’ पाटी भन्ने हुँदैन । ‘ए’ प्लस बी नै भएर अगाडि जानु पर्छ । ‘ए’ को यति ‘बी’ को यति भनेर जानु हुँदैन । ‘ए’ को मान्छे यहाँ ‘बी’ को मान्छे त्यहाँ भन्ने सोच बनाउँनु हुँदैन । ‘एबी’ भनेको ‘ए’ प्लस ‘बी’ बराबर वाई भनेर जानुपर्छ । मर्जरलाई छिटो छरितो गर्ने, आफ्ना कर्मचारीलाई राम्रो इम्प्रेसन दिने हो भने राम्रो पक्षलाई संगाल्दै जाने र नराम्रोलाई हटाउँदै जानु पर्छ । यो एउटा ठूलो चुनौतिसँगै एउटा अवसर पनि हो । यो अवसरलाई ध्यानपूर्वक अघि बढाउनु पर्छ । र, सानातिना विषयमा नअल्झि यता गए नि ठिकै छ, उता गए नि ठिकै छ भन्ने सोच बनाएर अघि बढियो भने यो मर्जरको प्रकृया छिट्टै सकिन्छ ।
‘प्रभु स्मार्ट फण्डले लगानीकर्तालाई २५५ प्रतिशत प्रतिफल दिन्छ’
प्रभु क्यापिटलले आजदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । प्रभु क्यापिटलले बिक्री गरेको म्युचुअल फण्डका बारेमा चिफ इन्भेष्टमेन्ट अफिसर दुर्गानन्द झासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । झा प्रभु क्यापिटलमा साढे २ वर्षदेखि कार्यरत छन् । यसअघि उनले भारतको केपीएमजिमा ९ वर्षभन्दा बढी काम गरेका थिए । इन्भेष्टमेन्ट बैंकिङ्ग र मर्चेन्ट बैंकिङ्गमा अनुभवि झाले मर्कर र इनफोसिसमा समेत काम गरेका थिए । उनले एमबिए, सीएफए र एफआरएमको योग्यता पनि हासिल गरेका छन् । प्रभु म्युचुअल फण्ड अन्तर्गतको प्रभु स्मार्ट फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ? प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि हामीले बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्नेछौं । हामीले बजारमा रहेका उत्कृष्ट स्टकहरुलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्छाैं । यस अघि नै हामीले प्रभु म्युचुअल फण्ड अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्ड ल्याएर सञ्चालन गरिरहेका छौं । उक्त योजनामा बढिमा ३० वटा स्टकमा लगानी गर्ने भनेर उत्कृष्ट ३० वटा स्टकहरुलाई छनोट गरेका छौं । तर, प्रभु स्मार्ट फण्डलाई भने हामीले थप लचकदार बनाएका छौं । यसमा लगानी आवश्यकता र बजारको उतारचढावलाई मध्यनजर गर्दै स्टकहरु छनोट गर्छाैं । साथै सूचिकृत कम्पनीहरुको प्रस्तुतिका आधारमा हाम्रो लगानी रणनीतिको अन्तरगत रहेर उच्चतम प्रतिफल हासिल हुने गरी लगानी रणनीतिलाई अवलम्बन गर्ने छौं । लगानी गर्नको लागि अहिले कस्तो समय हो ? बजारलाई कसरी हेरीरहनुभएको छ ? अहिले लगानी गर्नका लागि उचित समय हो । लगानीकर्ताहरु अहिले मार्केट भोलाटाइल भएका कारण लगानीका लागि दुविधामा रहेको अवस्था छ । बजारमा देखिएका्े अनिश्चित प्रकारको उतारचढावका कारण अधिकांश लगानीकर्ताले ठूलो जोखिम व्यहोर्नु परेको छ । नेप्से ३२ सय अंक हुँदा बजारमा थुप्रै नयाँ लगानीकर्ता प्रवेश गरेका थिए । तर यसबीचमा बजारमा गिरावट आएका कारण ती नयाँ लगानीकर्ताहरुले घाटा बेहोर्नुपरेको छ । राजनीतिक, आर्थिक तथा नियामकीय नीतिको कारणबाट सेयर बजारमा सिर्जित अनिश्चतता अझै पनि सकिएको छैन । यो अझै केही समय लामो हुने देखिन्छ । यस्तोमा दिर्घकालिन लगानी गर्न चाहने विभिन्न प्रकारका लगानीकर्ताहरुले कम जोखिम लिई उच्च प्रतिफलका लागि यस्तो म्युचुअल फण्डमार्फत लगानी गर्नु उपयुक्त हुन्छ । यसै परिप्रेक्ष्यमा लगानीकर्ताहरुको आवश्यकताको व्यवस्थापन गर्न सक्नेगरी प्रभु क्यापिटल अगाडि आएको छ र बजारमा दिर्घकालिन रुपमा लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो लगानीबाट कम जोखिममा उत्कृष्ट मुनाफाका लागि प्रभु स्मार्ट फण्ड योजनाको शुरुवात गरेको छ । यसमा हाम्रा आम सर्वसाधारण लगानीकर्ताहरुले थोरै जोखिम लिई दिर्घकालिन प्रतिफलको लागि लगानी गर्न सक्नुहुनेछ । प्रभु स्मार्ट फण्डका विशेषता क–के हुन् ? प्रभु स्मार्ट फण्डको आकार ८० करोडको छ । यो एउटा बन्दमुखी योजना हो । यस फण्डलाई नेप्सेमा सूचिकृत गरिने हुनाले लगानीकर्ताहरुले यसलाई प्राथमिक निष्काशन पश्चात पनि पुनः नेप्सेबाट कारोबार गर्न सक्नुहुनेछ । यस योजनामा प्रभु बैंकले १४ प्रतिशत अर्थात् ११ करोड २० लाख र प्रभु क्यापिटलले ८० लाख इकाई बीज पूँजी खरिद गर्न पाउँछ । बाँकी ८५ प्रतिशत लगानी हामीले बजारबाट उठाउनेछौंं । यो योजना इक्विटी ओरियन्टेड भएकाले यसले सूचिकृत कम्पनीहरुको सेयरमा ३५ प्रतिशतदेखि ९० प्रतिशतसम्म लगानी गर्नेछं । यस्तै, फिक्स्ड इन्स्ट्रुमेन्टमा न्यूनतम ५ प्रतिशतदेखि ३५ प्रतिशत लगानी गर्नेछ । लगानीकर्ताले फण्डमा न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नुहुनेछ । प्रभु स्मार्ट फण्डले वार्षिक औसत २५.५८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ । १० वर्षको अवधिमा यस योजना लगानी गर्ने युनिट होल्डरहरुलाई कूल २५५.७५ प्रतिशत प्रतिफल दिने लक्ष्य राखिएको छ । साथै, हामीले लाभांश दर पनि स्थीर राख्ने कोसिस गरिरहेका छौं । दोस्रो र तेस्रो वर्ष १०/१० प्रतिशत, चौंथो वर्षदेखि १० वर्षसम्म १२ प्रतिशत स्थिर लाभांश दिने प्रक्षेपण गरेका छौं । फण्डको सुपरभाइजर शुल्क न्याभको शुन्य दशमलव १ प्रतिशत, फण्ड म्यानेजमेन्ट शुल्क १.५ प्रतिशत, डिपोजिटरी शुल्क शुन्य दशमलव २ प्रतिशत रहनेछ । यदि माग गरेको भन्दा बढी आवेदन परेमा २० प्रतिशत वृद्धि गरेर फण्डको आकार १ अर्ब पुर्याउँछौं । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ । यो बेला फण्ड बिक्री हुन सक्छ ? बजारमा तरलता अभाव भएको अवस्था छ र यो बेलामा लगानीकर्ताको मनोबल लगानीका लागि कम भएको अवस्था छ । तर, वास्तमा भन्नुपर्दा लगानीकर्ताहरुले यस्तै बजार घटेर तल्लो तहमा रहेको बेलामा नै दीर्घकालका लागि लगानी गर्न उचित हुन्छ । दिर्घकालिन रुपमा लगानी गर्नका लागि लगानीकर्ताहरुले विभिन्न प्रकारका लगानी औजारहरुमा लगानी गर्न सक्नुहुन्छ । धितोपत्रको दोश्रो बजारमा लगानी गर्दा अत्याधिक जोखिम हुने भएको हुँदा कम जोखिम लिन रुचाउनुहुने लगानीकर्ताहरुले दीर्घकालमा राम्रो प्रतिफल पाउनका लागि म्युचुअल फण्डमा लगानी गर्न सक्नुहुन्छ । लगानीकर्ताको म्युचुअल फण्डमा आकर्षण घटेको स्वभाविक हो । दोश्रो बजार जोखिमयुक्त रहेको र उतारचढाव पनि अत्याधिक रहेको हुँदा हिजोहाज लगानीकर्तामा ट्रेडिङ गर्ने मानसिकता बढि रहेको देखिन्छ । त्यसैले लगानीकर्ताहरुमा आजको भोलि रिटर्न खोज्ने प्रवृत्ति बढेको हुँदा म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण देखिँदैन । यसका साथै सरकारले पनि म्युचुअल फण्डमा सर्वसाधारणको लगानी अभिवृद्धिका लागि ट्याक्स छुट लगायतका नीति अवलम्बन गर्नुपर्नेमा त्यस्तो केही भएको देखिँदैन । यद्यपि दीर्घकालमा हेर्ने हो भने मुद्दती तथा कर्पोरेट डिबेन्चरको भन्दा धेरै प्रतिफल म्युचुअल फण्डले दिएका छन् । हालसम्म परिपक्क भएका म्युचुअल फण्डहरुको वार्षिक प्रतिफल औसत १९ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । वाणिज्य बैंकहरुको मुद्दती खाताको औषत रिटर्न ९ प्रतिशतको हाराहारीमा छ । अहिलेको जस्तो बजार घटेको बेलामा म्युचुल फण्ड आउनुलाई लगानीकर्ताले दिर्घकालिन लगानीको अवसरका रुपमा लिनुपर्छ । किनभने यो बेलामा आएका फण्डहरुले युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सक्ने क्षमता राख्छन् । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ? बजार माथि गएको बेलामा लगानीकर्ताको लगानी मनोबल उच्च रहने गर्दछ जसका कारण लगानीकर्ताहरुको सहभागिता उच्च हुन्छ भने घटेको बेलामा सहभागिता समेत कम भएको देखिन्छ । तर, ठूला ठूला लगानीकर्ताले बजार घटेकै बेलामा सेयर खरिद गरेका हुन्छन् । आम लगानीकर्ताले बुलिस सेन्टिमेन्ट राम्रो भएको बेलामा प्रवेश गर्छन् । जसले गर्दा उनीहरुको अत्याधिक जोखिम लिइराखेका हुन्छन् । यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो पोर्टफोलियोलाई विविधिकरण (डाइभर्सीफाइड) गर्नुपर्ने हुन्छ । म्युचुअल फण्डमा आकर्षण बढाउन लगानीकर्ताको सचेतना फैलाउन जरुरी छ । नियामक निकायले पनि म्युचुअल फण्डमा लगानी गर्नुपर्छ भनेर सचेतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्ने हुन्छ । म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढाउनलाइ सरकारद्वारा करमा सुबिधा लगायतका विषयमा लचक हुने व्यवस्था गर्नुपर्छ । यस्तो हुन नसक्दा म्युचुअल फण्डको रोजाइ कम हुने गरेको छ । हाल सञ्चालनमा रहेका म्युचुअल फण्डको लाभांश दर घटेको छ । जसले आकर्षण पनि घट्दो छ । लगानीकर्तालाई आकर्षित गर्न के गर्नुहुन्छ ? अहिले अधिकांश म्युचुअल फण्डहरु इक्विटी ओरियन्टेड छन् । यस्ता फण्डहरुले इक्विटीमा मात्रै लगानी गरेका हुन्छन् । इक्विटीको रिटर्न मार्केट अनुसार लाभांश वितरण गरिन्छ । बजारको अवस्था बढेको छ भने रिजर्भ पनि राम्रो हुन्छ । त्यो बेलामा उनीहरुले धेरै लाभांश दिन सक्छन् । अहिले सबै क्षेत्रले बजारलाई प्रभाव पार्ने काम गरेको छ । विदेशमा पनि स्थिती गाह्रो छ । रसिया र यूक्रेन युद्धले मुद्रास्फिती बढेको छ । विश्वव्यापी रुपमा ब्याजदर बढेको छ । तरलता अभाव कायम छ । यसबाट नेपाल पनि प्रभावित हुन पुगेको छ । जसले गर्दा बजार घटेको हो । गत वर्षसम्म अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए । तर पछिल्लो समय विस्तारै सुधारोन्मुख छ । ब्याजदर पनि घट्दै गएको देखिन्छ । ब्याजदर घटेपछि र वाह्य पक्ष सकारात्मक भएपछि बजारले माथि जान्छ । बैंकको ब्याजदर घटेपछि मुद्दती भन्दा म्युचुअल फण्डमा आकर्षण बढ्छ । बजार उच्च हुँदा म्युचुअल फण्डले शतप्रतिसम्म लाभांश वितरण गरे । बजार घटेको बेला लाभांश नै वितरण गरेनन् । त्यसैले पनि बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता छ नि ? इक्विटी ओरियन्टेड फण्डहरुले बजार बढेको बेलामा नै बढी प्रतिफल दिन्छन् । बजार बढेको बेला लाभांश वितरण गर्ने क्षमता बढी हुन्छ । बजार घटेको बेला फण्डको न्याभ पनि घट्छ । न्याभ घटेको बेला प्रतिफल पनि कम हुन्छ । इक्विटी ओरियन्टेड स्किम भएकाले बजार बढेको बेलामा मार्केटलाई बिट गरेर राम्रो प्रतिफल दिएका हुन् । किनभने म्युचअल फण्ड म्यानेजरहरुमा लगानी व्यवस्थापन दक्षता राम्रो हुन्छ । जसका कारणबाट उनीहरुले व्यवस्थापन गर्ने म्युचुअल फण्डबाट बढि मात्रामा पूँजीगत लाभ प्राप्त गर्ने क्षमता राख्दछन् । हाम्रो उदाहरण हेर्नुहुन्छ भने पनि हामीले व्यवस्थापन गरेको पहिलो म्युचुअल फण्ड प्रभु सेलेक्ट फण्डको व्यवस्थापन उच्चतम रुपमा भएको देख्न सक्नुहुनेछ । हामीले बजार उच्च विन्दुमा रहेको बेलामा निष्काशन भएता पनि अहिले बजार सो विन्दुबाट घटेर झण्डै २६ प्रतिशतले तल रहेको अवस्थामा पनि यसको न्याभ अर्थात खुद सम्पत्ति मुल्यलाई ४.८० प्रतिशतले सकारात्मक बनाएर राखेका छौं । अर्थात यदि लगानीकर्ताहरुमध्ये कसैले त्यसबेला नेप्सेमा १०० रुपैयाँ लगानी गर्नुभएको थियो भने घटेर सो लगानी घटेर ७४ रुपैयाँमा आएको बेलामा पनि प्रभु सेलेक्ट फण्डमा १०० रुपैयाँ लगानी गर्नुभएको थियो भने सो लगानी अहिले पनि १०४ रुपैयाँ ८० पैशा भएको अवस्था हो । त्यसैले हाम्रो लगानी रणनीति अनुसार बजार बढेको बेलामा मात्रै होइन बजार घटेको बेलामा पनि हामीले लगानीकर्ताहरुको हामी प्रतिको विश्वासलाई टुट्न दिएका छैनौं । त्यसैले हामी के भन्छौं भने बजार उच्च भएका बेलामा यदि कसैले सूचीकृत सेयरमा लगानी गरेको छ भने बजार घटेर आउँदा ठूलो घाटा हुने सम्भावना बढी हुन्छ । त्यसैले लगानी व्यवस्थापन क्षमता र दक्षता भएका म्युचुअल फण्ड म्यानेजरले व्यवस्थापन गर्ने म्युचुअल फण्डहरुमा दीर्घकालमा उच्च प्रतिफल प्राप्त गर्ने उद्देश्य बोकेका लगानीकर्ताहरुले लगानी गर्नु उपयुक्त हुन्छ । प्रभु स्मार्ट फण्डले कुन–कुन क्षेत्रमा लगानी गर्छ ? फण्डबाट संकलन भएको रकमलाई रणनीति अनुसार लगानी गर्छाैं । धितोपत्र बोर्डका निर्देशिकाहरुले तोकेको क्षेत्रमा फण्डको लगानी गर्छाैं । फिक्स्ड इनकम इन्स्ट्रुमेन्ट, मुद्दती र ऋणपत्रमा कति राख्ने भनेर सीमा तोकिएको हुन्छ । इक्विटीमा पनि न्यूनतम यति गर्नुपर्छ भनेर सीमा तोकिएको हुन्छ । इक्विटी बढी चार्मिङ हुने भएकाले त्यसतर्फ धेरै लगानी गर्छाैं । इक्विटीमा ३५–९० प्रतिशत लगानी गर्ने योजना छ । यसमा लगानी गर्दा जोखिम उच्च हुन्छ । कम जोखिम भएका निश्चित प्रतिफल प्रदान गर्ने इन्स्ट्रुमेन्टमा ५–३५ प्रतिशत लगानी गर्छाैं । जसमध्ये १५ प्रतिशत मुद्दती, २० प्रतिशत ऋणपत्र र १–२५ प्रतिशत आईपीओ तथा अलपकालीन उपकरणमा लगानी गर्छाैं । प्रभु सेलेक्ट फण्ड चर्चा गर्नु भयो यसको अहिलेको अवस्था कस्तो छ ? प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । हामीले यो फण्ड बुलिस ट्रेण्डमा हुँदा बिक्री गरेका थियौं । त्यो बेला बजारमा चमक धेरै थियो । तर, फण्ड निष्काशन गरेको केही समय पछि बजार निकै तल झर्याे । फण्ड निष्काशनदेखि अहिलेसम्म बजार २६ प्रतिशत घटेको छ । तर, प्रभु क्यापिलटले फण्डको न्याभ सकारात्मक नै मेन्टेन गर्न सफल भएको छ । माघ महिनाको न्याभ १०.४८ प्रतिशत छ । फण्ड करिब ५ प्रतिशत सकारात्मक छ । बजार २६ प्रतिशत घट्दा पनि फण्डलाई जोगाएका छौं । हामीसँगै आएको अन्य फण्डको तुलना गर्ने हो भने प्रभु सेलेक्ट फण्ड एकदमै राम्रो अवस्थामा रहेको देखिन्छ । बजार घटेको हुँदा प्रभु सेलेक्ट फण्डले लाभांश वितरण गर्न सकेको छैन । अहिले फण्डको न्याभ जोगाउनु नै ठूलो कुरा हो । बजारले साथ दियो भने राम्रो रिजर्भ श्रृजना गरेर अगामी दिनमा राम्रो लाभांश दिन्छौं । अधिकांश म्युचुअल फण्डको न्याभ घटेको छ । तर, प्रभु सेलेक्ट फण्डले कसरी सकारात्मक राख्न सफल भयो ? प्रभु क्यापिटलको अनुसन्धान टिम रोबोस्ट छ । स्टक स्क्रिनिङ्गदेखि लिएर सेक्टर एलोकेसन, स्टक सेलेक्सन सबैलाई ब्यालेन्स राखिएको छ । फण्ड निष्काशन गर्दाखेरी नै बजारको अवस्था हेरेर लगानी गरिएको छ । त्यसैले फण्डलाई सकारात्मक राख्न सफल भएका छौं । लगानीकर्ताको सम्पत्ति जोगाउन सफल भएका छौं । जब बजारले उकालो यात्रा तय गर्छ तब राम्रो लाभांश वितरण गर्न सक्छ भन्ने हामीलाई विश्वास छ । प्रभु स्मार्ट फण्डले १० वर्षमा २५५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यो कसरी सम्भव हुन्छ ? हामीले हाम्रो लगानी व्यवथापन कुशलता र बजारको चाल अनुसार हासिल हुन सक्ने किसिमको वास्तविक प्रक्षेपण गरेका हौं । अन्य म्युचुअल फण्डको प्रक्षेपणको तुलनामा हामीले बजार प्रति सकारात्मक हुँदै गर्दा पनि सन्तुलित ढंगले प्रतिफल प्रदान गर्ने लक्ष्य राखेका छौं । त्यसै अनुसार नै हामीले लाभांश दर वार्षिक १०/१२ प्रतिशतसम्म कायम राख्ने लक्ष्य राखेका छौं । अहिले बजार बियरिस मार्केट ट्रेण्डमा छ र अझै भन्नु पर्दा बजारको न्यूनतम तहको नजिक रहेको अनुमान हामीले गरेका छौं । यहाँबाट अबको एकदुई वर्षमा हामीले पुनः अर्को बुल मार्केट देख्न सक्ने अपेक्षा गरेका छौं । त्यसैले हामीले यस फण्डको १० वर्षको अवधिमा कम्तिमा २ वटा बुल मार्केटको सामना (फेस) गर्ने प्रक्षेपण लिएका छौं । यसैले हामीले १० वर्षको अवधिमा यो फण्डमा १० रुपैयाँ लगानी गर्ने युनिट होल्डरले लगानीको २.५ गुणा अर्थात २५ रुपैयाँ ५० पैशा सम्मको प्रतिफल प्रदान गर्ने लक्ष्य राखेका छौं । म्युचुअल फण्डको लाभांश किन स्थीर हुँदैन ? शेयर बजारमा आउने उतारचढावसँगै सामुहिक लगानी योजनाहरुले हासिल गर्ने पूँजीगत लाभ तथा लाभांशको अवस्थामा पनि फेरबदल भइरहेको हुन्छ । अझ हाम्रो बजारमा सामुहिक लगानी योजनाहरुले अधिकांश लगानी सूचिकृत कम्पनीहरुको सेयरमा गर्ने भएको हुँदा र शेयर बजारमा विभिन्न नियामक निकायहरुबाट लिइएको नीतिले बजारको गतिलाई जहिले पनि अस्थिर बनाइराख्ने भएको हुँदा त्यसको असर म्युचुअल फण्डको प्रतिफलमा समेत पर्ने गर्दछ । यसै कारण म्युचुअल फण्डको लाभांश पनि घटबढ भइरहन्छ । प्रभु क्यापिटलले अन्य कुनै फण्ड ल्याउने योजना बनाएको छ ? प्रभु स्मार्ट फण्ड एक बन्द मुखी योजना हो । यो योजनाको निष्काशन पश्चात् हामी खुलामुखी फण्ड निष्काशनको तयारी मा छौं । उक्त फण्ड निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छौं । धितोपत्र बोर्डले स्वीकृति दियो भने हामी यस पश्चात तुरुन्तै सो खुलामूखी फण्ड निष्काशन गर्नेर्छाैं । अहिलेको समयमा अधिकांश फण्ड व्यवस्थापकसँग ३/४ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् । हाम्रो यी दुई वटा फण्ड पश्चात हामी अर्काे फण्ड पनि निष्काशन गर्छाै । ग्राहकहरुसँग प्रभु क्यापिटलको छुट्टै लिगेसी छ । आगामी दिनमा पनि राम्रो प्रतिफल दिन सक्ने फण्ड ल्याउने योजना छ । खुलामुखी फण्डबाट हामी लगानीकर्ताको माझमा गएर व्यवस्थित लगानी रणनीति बनाउँछौं । म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ? म्युचुअल फण्डको भविष्य राम्रो छ । म्युचुअल फण्ड राम्रो प्रतिफल दिने क्षेत्र हो । यद्यपि हाम्रो बजारमा अल्पकालिन लाभको लागि मात्रै सोच्ने लगानीकर्ता हावी भएको हुँदा वर्तमान समयमा यसप्रति उत्ति चासो रहने गरेको पाइन्न । यसको एउटा प्रमुख कारण भनेको यसको बारेमा उचित जानकारी तथा ज्ञान विस्तार नहुनु हो । यसका साथै अहिलेसम्म बजारले थप लगानी औजारहरुको साथै बजार विकासका औजारहरुको विकास राम्रोसँग गर्न नसकेका कारण समेत त्यसको असर यसमा परेको देखिन्छ । यसका साथै सरकारले लगानीकर्ताहरुलाई म्युचुअल फण्डमा लगानीका लागि प्रोत्साहन गर्ने नीति लागू नगरेका कारण पनि म्युचुअल फण्डको शुरुवात गर्दा जुन उद्देश्य राखिएको हो त्यसको पूर्ण रुपमा प्राप्ति हुन सकेको देखिँदैन । यद्यपि हामीलाई के विश्वास छ भने यो सबै अवस्था क्षणिक हो । विस्तारै सबै कुराहरुको विकास हुँदै जानेछ र हामीले खोजेको जस्तै पूँजी बजारको अवस्था बन्नेछ । त्यसकारण आगामी दिनहरुमा म्युचुअल फण्डको भविष्य थप राम्रो हुने विश्वास हामीले लिएका छौं । म्युचुअल फण्डमा लगानीकर्ताहरुलाई आकर्षित गर्न नियामक निकायदेखि सरकारले अझै सहयोग गर्नुपर्छ । लगानीकर्तालाई म्युचुअल फण्डमा आकर्षित गर्न भूमिका निर्वाह गर्नुपर्छ । अहिले म्युचुअल फण्डको आकार ३०/३२ अर्बको पुगेको छ र ५/७ वर्षपछि यो आकार दोब्बर हुनेछ ।