संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

काठमाडौं ।  आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे । पूर्वसभामुख पौडेलले भने, ‘संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।’ पूर्वउपप्रधानमन्त्री पौडेलले अर्काे प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको स्पष्ट गरे । प्रस्तुत छ, मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका पौडेलसँग राष्ट्रपति निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा राससका उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र वरिष्ठ समाचारदाता भीष्मराज ओझाले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश : आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा यहाँको तयारी के छ, मतदातासमक्ष कसरी जाँदै हुनुहुन्छ ? राष्ट्रपतिका लागि यही फागुन २५ गते हुने निर्वाचनमा कांग्रेससहित आठदलीय गठनबन्धनका तर्फबाट म सर्वसम्मत उम्मेदवार बनेको छु । मेरो उम्मेदवारीले मुलुकमा राष्ट्रिय एकताको सन्देश प्रवाह भएको छ । निर्वाचनको तयारीका क्रममा जनताबाट निर्वाचित भएका प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग निर्वाचन केन्द्रित भेटघाट, छलफल र कुराकानी भइरहेको छ । पत्र तथा एसएमएसका माध्यमद्वारा पनि उहाँहरूसँग भोटका लागि अनुरोध गरेको छु । विभिन्न दलका नेतृत्वसँग भेटेरै कुराकानी भएको छ । मतदाता सबैसँग सम्पर्कमा पुग्ने र विश्वास दिलाउने काम भइरहेको छ । आठदलीय गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट यहाँलाई नै किन राष्ट्रपति पदको उम्मेदवार छानियो भन्ने लाग्छ ? राष्ट्रपति निर्वाचनका सन्दर्भमा सबै दलहरूबीच भएको छलफलमा मलाई नै उम्मेदवार बनाउने ठहर भएर सहमति जुट्यो । नेपालको अहिलेको राजनीतिमा संयोग नै भन्नुपर्छ सबै किसिमले अरुभन्दा वरिष्ठ भएको र सबैको सहमति मेरै नाममा जुटेकाले यो अवसर प्राप्त भएको छ । अहिलेको व्यवस्था र लोकतन्त्र प्राप्तिका क्रममा सबैभन्दा बढी सङ्घर्ष र मेहनत गरेको छु । लोकतन्त्र स्थापना, संविधान निर्माणमा पनि मेरो भूमिका र योगदान देखेर सबै साथीहरूले मलाई नै उययुक्त ठान्नुभयो । राष्ट्रपति संंवैधानिक पद हो, यहाँ कांग्रेसेको क्रियाशील र वरिष्ठ नेता हुनुहुन्छ, निर्वाचित भएमा पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ? मेरो जीवन दर्शन र जीवनभरको क्रियाशीलता तथा सङ्घर्ष भनेको लोकतन्त्र, देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि हो । यसका लागि जीवन बिताएर म यहाँसम्म आइपुगेको छु । मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको लोकतन्त्र र जनताको अधिकार हो । अहिलेको संविधान र व्यवस्था ७० वर्षसम्म लडेर ल्याइएको हो । त्यसैले संविधानको रक्षा नै पहिलो कर्तव्य हो । लोकतन्त्रका लागि मैदानबाटै लड्दै आएको मान्छे हुँ । परिवर्तनका यी उपलब्धिको रक्षा राष्ट्रपति पदबाट हुन्छ भन्ने मलाई लाग्छ । संविधान र लोकतन्त्रको रक्षा गर्न यो ठाउँ पनि महत्वपूर्ण छ । दल र अरु साथीहरूका बीच यही कुरामा सहमति भएर नै म उम्मेदवार बनेको छु । जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु । राष्ट्रपतिमा यहाँको निर्वाचन जित्ने आधार के–के हुन् ? कांग्रेससहित आठ दलको तर्फबाट म साझा उम्मेदवार भएपछि देशभर मेरो पक्षमा जनलहर पनि छ । मेरो सङ्घर्षको इतिहास देखेका, मेरा बारेमा थाहा पाएका जनतामा मप्रति अपेक्षा र भरोसा छ । राष्ट्र र प्रजातन्त्रप्रतिको सङ्घर्षमा भएको योगदानका कारण मलाई यो जिम्मेवारी दिँदा संविधान र परिवर्तनका उपलब्धि सुरक्षित रहन्छ भन्ने जनमत पाएको छु । अर्काे कुरा दलको पनि समर्थन मलाई मिलेको छ । नेकपा (एमाले)बाट मेरो साथी सुवासजी उम्मेदवार हुनुहुन्छ, त्यही दलबाट पनि मप्रतिको सद्भाव र विश्वासको अनुभव गरेको छु । यो चुनावमा मलाई विजयी हुनका लागि त्यो जनमत नै सहयोगी हुन्छ भन्ने मेरो विश्वास छ । यहाँलाई आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ? समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन् । अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती र विचलनको अवस्थाप्रति सजग रही कुनै पनि तलमाथि हुन नदिई प्रभावकारी ढङ्गबाट काम गर्नुपर्छ । अहिले हामीसँग संविधान र गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा र चुनौती छ । गणतन्त्रको राष्ट्रपति र हिजोको राजतन्त्रको राष्ट्रध्यक्षको चरित्रमा मौलिक भिन्नता हुन्छ । त्यो पृथकता देखाउने प्रयास मबाट हुन्छ । हिजो र आजको राष्ट्राध्यक्षका व्यवहार र आचरणमा के–के भिन्नता हुनुपर्छ भन्नेमा प्रष्ट छु । राष्ट्रपति वा प्रधानमन्त्री भनेको मुलुकको भिन्नै विशिष्ट नभई सबै जनताका बीचमा पदीय जिम्मेवारीका कारण अग्रज मात्र हो । यो विषयलाई म यही रूपमा नै लिन्छु । असली अनि पूर्ण लोकतन्त्र र गणतन्त्र यही हो । समाजका सबै मानिस समान र स्वतन्त्र हुन् । हामी त्यही खोजीमा छौँ । त्यही आचरण गर्नुपर्छ । राष्ट्रपतिमा निर्वाचित भएमा संविधानको संरक्षण, पालना र प्रवद्र्धनमा यहाँको भूमिका के रहन्छ ? मेरो एउटै कुरा हो, मैले जीवनमा जुन ‘मिसन’लाई अगाडि राखेर सङ्घर्ष गरेँ, त्यो मिसनलाई पूरा गर्न संविधानसभाबाट संविधान जारी गर्न र लोकतन्त्रलाई स्थापित गर्न पूर्णरूपमा क्रियाशील भएँ । त्यसमा भिजेको तथा संविधानको सम्पूर्ण अक्षर, मर्म एवं भावनासँग जानकार र परिचित भएको तथा आत्मसात गरेको व्यक्तिका नाताले आउनसक्ने कुनै पनि चुनौतीबाट जोगाएर लैजान सक्छु भन्ने मेरो अठोट छ । राष्ट्रपतिमा राजनीतिक दलहरूको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ? राष्ट्रपति संविधानको पालक र संरक्षक तथा संवैधानिक सर्वाेच्च र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने पद हो । यो पदको विशेष महत्व छ । तर यसका आफ्नै मर्यादा छन् । संसदीय प्रणालीको मान्यताअनुसारको पद हो । यसको अर्थ राष्ट्रप्रमुखबाट गल्ती हुँदैन भन्ने मान्यता राखिन्छ । हाम्रो राजनीतिक प्रणालीमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काम गर्ने हो । राष्ट्रपतिको काम, कर्तव्य र अधिकार र संविधानले तोकेको छ । तर, राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, संविधानको संरक्षकको नाताले सजग भएर राष्ट्रहितबारे सोचिरहेको हुनुपर्छ । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ? नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेका थिए । यसले कसरी जोगिएर र सन्तुलन मिलाएर अघि बढ्नुपर्छ भन्ने कुरालाई इङ्गित गर्छ । हामीले असंग्लनताको परराष्ट्र नीति र तटस्थताको महत्व बुझेर अघि बढ्नु पर्छ । नेपालले त्यही कूटनीति अवलम्बन गर्नुपर्छ । राष्ट्राध्यक्षले त्यसैका लागि आवश्यक वातावरण बनाउने र राय–सुझाव दिने काम गर्न सक्छ । अन्त्यमा, राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई यहाँ त्यो पदमा पुग्ने भएको खण्डमा शीतलनिवासबाट कस्तो शीतलता प्रदान होला ? आठदलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार भएपछि नेपालको राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु । मलाई लाग्छ, त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन् । रासस

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने बताउँछन् । उनले भने, ‘अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।’ संविधानसभाका अध्यक्ष नेम्वाङले अर्काे प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको स्पष्ट गरे । प्रस्तुत छ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका एमाले नेता नेम्वाङसँग मुलुकको सर्वाेच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंश : आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा मतदातासमक्ष यहाँ के–कस्ता कार्यसूची लिएर जाँदै हुनुहुन्छ ? मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरँे, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२÷६३ को आन्दोलनपछि सर्वसम्मतिले सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु । एमालेभित्र अरू धेरै वरिष्ठ नेताहरू पनि हुनुहुन्छ, तर तपाईंलाई नै किन यस पदका लागि सर्वसम्मत छानियो होला ? राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवद्र्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित ग¥यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ । राष्ट्रपति आलङ्कारिक पद हो, यहाँ एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ? त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्काे दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु ‘म अलरेडी टेस्टेड व्यक्ति हुँ ।’ मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ । पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ? राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ । आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छ त ? सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवद्र्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी ग¥यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ । विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई यहाँले कसरी लिनुहन्छ ? यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, “हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छाैँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।” कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् । आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ? अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छाँै । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ? राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु । अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ? उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ ।

नम्बर वानको ताज कायमै राख्छौं, सेयरधनी र बीमितलाई सन्तुष्ट बनाउँछौं : अध्यक्ष श्रेष्ठ

निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई एक बनेका छन् । दुई कम्पनीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । नयाँ बनेको कम्पनीको नेतृत्व प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सम्हाल्ने भएका छन् । यो अवधिमा मर्जरको भोगाइ, मर्जर गर्दाका चुनौति र मर्जर भएर नयाँ बनेको कम्पनीको योजनाहरुको विषयमा विकासन्युजका लागि सीआर भण्डारी र मञ्जरी पौडेलले कम्पनीका अध्यक्ष श्रेष्ठसँग गरेको कुराकानी । दुई कम्पनी एक हुँदाको अनुभुति कस्तो हुने रहेछ ? यो एउटा ऐतिहासिक क्षण हो । हुन त हामी मर्जरमा तेश्रो भएका छौं । हामीभन्दा अघि दुई कम्पनी मर्ज भइसकेका छन् । यो स्केलमा दुई वटा कम्पनी मिल्दा नेपालको ठूलो कम्पनी बन्ने हिसावले मर्जर भएको यो पहिलो कम्पनी हो । मर्जर भनेको दुई वटा कम्पनी विवाह गर्ने सरह नै हो । किनभने दुई कम्पनी छुट्टाछुट्टै वातावरणमा, छुट्टै संस्कृतिमा हुर्किएका । २०/२५ वर्ष आफ्नै हिसावले काम गरिसकेका कम्पनी । एउटामा ३/४ सय जना कर्मचारी र अर्कोमा ३/४ सय जना कर्मचारी । आफ्नो आफ्नो पोलिसी अन्तर्गत काम गरेर आएका र दुई वटै सक्षम र दुई वटै सफल कम्पनीहरु थिए । मर्जर भनेको एक एक जोडेर दुई होइन एघार भन्छौं । यहि एघारलाई एउटा लक्ष्य बनाएर कम्पनीलाई अगाडि बढाउन चाहान्छौं । दुई कम्पनी एक हुनु सामान्य विषय होइन,सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर कसरी सम्भव बनाउनु भयो ?  कुनै पनि मर्जरको क्रममा विभिन्न विषयहरु आउन सक्छन् । नआउने होइन । जस्तै इगो । मेरो कम्पनी पुरानो, मलाई बढी चाहिन्छ । यो क्षेत्रमा मेरो राम्रो प्रफरमेन्स छ, मलाई यो बढी चाहिन्छ भन्ने विषयहरुले मर्जरलाई लम्ब्याएको हुन्छ । अलि जटिलताहरु उत्पन्न हुने गर्छन् । धेरै ठाउँमा आएका पनि थिए । तर हाम्रो केशमा फरक रह्यो । दुबै सफल र एउटै लेभलको कम्पनी भएकोले हिसाव मिलानमा हामीलाई गाह्रो भएन । जस्तै, स्वाप रेसियो तय गर्ने, डीडीए गर्ने लगायतका विषयमा कुनै पनि कठिनाई भएन । ५/१० प्रतिशतका यी काम सजिलै गर्यौं । अब जटिलता आउन सक्ने भनेको कर्मचारी समायोजनको विषय । को कसले कुन पोजिसनमा बसेर काम गर्ने ? भन्ने विषयमा । अब सीईओ को हुने ? अध्यक्ष को हुने ? भन्ने विषय योग्यताको आधारमा हो । हामी लिनेभन्दा पनि दिनेमा बढी फोकस हुनु पर्ने रहेछ । मलाई यो चाहिन्छ उसलाई पनि यो चाहिन्छ भन्ने भयो काम अघि बढ्दैन । यसमा छोड्न सक्नुपर्छ । के को लागि छोड्ने ? कम्पनीको लागि । यही फिलोसोपिमा काम अघि बढाउँदा काम एकदमै सजिलै भयो । दुबै कम्पनीका पदाधिकारी, सञ्चालकहरु एकदमै बुझ्ने हुनुहुन्थ्यो । एक अर्काको सबल पक्ष र कमी कमजोरीहरु बुझेको । र, सबल पक्षलाई निरन्तरता दिँदै कमी कमजोरीलाई हटाउँदै जाने भन्नेमा सबैको बुझाई मिलेको हुनाले यो मर्जरलाई सफल बनाउन हामीलाई कुनै पनि किसिमको गाह्रो भएन । फरक-फरक कम्पनीको अध्यक्ष र सीईओ बन्नु भएको छ, यो अवस्थामा भोलिका दिनमा समन्वय गरेर अघि बढ्न कत्तिको सहज या असहज हुन्छ ? असहज हुने स्थिति मैले देखेको छैन । किनभने मर्जरकै क्रममा धेरैपटक हाम्रो मिटिङ अर्थात छलफल भइसकेका छन् । धेरै विषयमा सहकार्य भइसकेको छ । कुनै पनि विषयमा कुनै पनि समस्या, बाधा अड्चनहरु आउँदा सजिलै समाधान भयो । कारण एउटै थियो दुबैको बुझाई एउटै । त्यसैले हामीले कुनै पनि असहजताको स्थिति झेल्नु परेन । र, अब आउने दिनमा पनि यहि अनुसार नै अघि बढ्न सक्यौं भने दुई कल्चरको विवाहलाई सजिलै अघि बढाउन सक्छौं जस्तो लाग्छ । भिडियो  :  हाम्रो भिजन ‘नम्बर वान’ बन्ने नै हो : अध्यक्ष श्रेष्ठ पोष्ट मर्जर म्यानेजमेन्टको काम कति बाँकी छन् ? आजको दिनमा दुई कम्पनी मर्जर भयो र एकीकृत कारोबार शुरु भयो । यो भनेको ५/१० प्रतिशत मात्रै काम सकियो । बाँकी ९० प्रतिशत कामहरु अझै बाँकी नै छन् । शाखा कार्यालयको काम अगाडि बढीसकेको छ । हाम्रो दुबै कम्पनीको शाखा कार्यालय जोड्दा करिब १५०/१६० पुग्थ्यो । केही शाखाहरु दुप्लिकेट थिए, तिनलाई मर्ज गरेका छौं । र, अहिले १२३ वटा पुगेका छौं । कुनै दुईटा शाखालाई जोडेर एउटै बनाउने । कुनै पहिला चलिरहेको पुरानो शाखालाई नै निरन्तर सञ्चालन गर्ने । शाखा कार्यालयको एउटा मापदण्ड हुन्छ । कुन कति वर्ष पुरानो काम गरेको ? कुन कस्तो पोजिसनमा फीट हुन्छ ? त्यसको मूल्यांकन गरी उचित मापदण्ड बनाएर कुन व्यक्तिलाई कस्तो जिम्मेवारी दिएर अघि बढ्ने हो ? त्यसमा हाम्रो तयारी भइरहेको छ । जस्तै, दुई वटा शाखामा दुई जना म्यानेजर हुन्छन् । शाखा एउटा बनाउँदा दुबैलाई म्यानेजर राखेर भएन । यो अवस्थामा को म्यानेजरको रुपमा निरन्तर काम गर्ने ? र को उसको अन्तर्गत काम गर्ने ? भन्ने विषयमा उनीहरुको आफ्नो आफ्नो प्रफमेन्स, क्षमता र योग्यताको आधारमा समायोजन गरेका छौं । यो कर्पोरेट कार्यालय र शाखाहरु दुबैमा लागू हुन्छ । मर्जरपछि सम्बन्धित कम्पनीका कर्मचारीहरुबाट खाईपाई आएको सेवा सुविधा घट्यो भन्ने गुनासोहरु आइरहेका छन् । यसमा सिद्धार्थ प्रिमियरले कसरी व्यवस्थापन गर्दैछ ? सिद्धार्थ प्रिमियमरले यसमा कुनै कमी हुन दिँदैन । खाईपाई आएकोमा जो जसले जति सेवा सुविधा लिइरहेको हुन्छ, त्यसमा केही पनि कमी हुँदैन । सबैलाई समान हैसियतमा लगिन्छ । कर्मचारीहरु कसैको पनि सेवा सुविधा घट्दैन । आगामी पाँच वर्षमा सिद्धार्थ प्रिमियरलाई कुन स्थानमा देख्न सक्छौं ? पाँच वर्षमा हाम्रो भिजन नम्बर वान बन्ने नै हो । अहिलेलाई दुईटा हिसाव मिलाएर नम्बर वान पुग्यो । तर नम्बर वानमा स्थीर भई राख्नु भनेको अर्को चुनौति हो । यो नम्बर वानमा बस्नको लागि के के गर्नुपर्छ ? कस्ता कस्ता श्रोतहरुको परिचालन गर्नुपर्छ ? वित्तीय श्रोत, प्राविधिक श्रोत, मानव श्रोत साधानहरु, बजारीकरण लगायतका विषयमा हाम्रो फोकस छ । अब एक वर्षसम्म यी विषयमा फोकस भइन्छ । यो स्टाब्लिस भइसकेपछि यसकै आधारमा हामी अगाडि बढ्छौं । हुन त नेपाल बीमा प्राधिकरणले दुई तीन वर्षमा पुँजीको आवश्यकतालाई परिवर्तन गर्दै आइरहेको छ । पुँजीको आवश्यकतालाई मात्रै थपेर बिजनेस सस्टेन हुन नसक्ने अवस्था आउँछ । त्यसैले पनि मर्जर एउटा म्यान्डेटोरी बन्न आयो । अब बीमा प्राधिकरणले नयाँ नयाँ नीति नियमहरु ल्याउँदै गर्छ, त्यो अनुसार हामीले काम गर्नुपर्छ । आजको दिनसम्म हामी पुँजीसँगै विभिन्न शीर्षकमा नम्बर वान छौं । अब हाम्रो लक्ष्य यहि नम्बर वानलाई निरन्तरता दिने हो । बीचमा उतारचढाव होला । तर पनि नम्बर वान नै भएर बस्न हामी पुरै कन्फिडेन्ट छौं । सिद्धार्थ र प्रिमियरले दिँदै आएको लाभांश र मर्जरपछि बनेको कम्पनीले दिने लाभांशमा कत्तिको वृद्धि होला ? हाम्रो उद्देश्य भनेको कुनै पनि बिजनेस गर्दा ग्राहकलाई अधिकतम सन्तुष्टि दिने हो । ग्राहकको सन्तुष्टिबाटै बिजनेस बढ्ने हो । बिजनेस बढेपछि नाफा बढ्ने हो । तर बीमामा त्यति सजिलो छैन । बिजनेस मात्रै बढाएर पनि हुँदैन । जस्तै : क्वालिटी बिजनेस भनेको के हो ? नेपालमा क्वालिटी बिजनेस नभएको कारणले फ्रडुलेन्स क्लेम बढी भइरहेको छ । यसले बीमा क्षेत्रलाई नै गाह्रो पारिरहेको छ । तर नाफा भएपछि त सेयरधनीलाई अधिकतम लाभांश दिन सक्छौं । विगतका इतिहासलाई हेर्ने हो भने सिद्धार्थ र प्रिमियर दुबै कम्पनी सञ्चालन भएको अवस्थामा दुईवटै ‘वान अफ द बेष्ट’ कम्पनी थिए । अब दुईवटा कम्पनीको श्रोतहरु मिल्दा त्योभन्दा बढी हुन्छ । कम हुँदैन भन्ने हाम्रो विश्वास छ । सेयरधनी भन्नाले सर्वसाधारण सेयरधनी मात्रै होइनन् । हामी (संस्थापक) ले पनि आफ्नै रगत पसिनाले बिजनेस चलाइरहेका हौं । हामीलाई नाफा नहुँदा जति दुख्छ, सर्वसाधारण सेयरधनीलाई पनि त्यति नै दुख्छ । उहाँहरुलाई दुखेको हामीलाई पनि दुख्छ । हामीले आफ्नो सेयरहरु बजारमा बेच्न पनि नहुने । लक गरेर राखिएको छ । संस्थापक सेयरधनीले एकपटक लगानी गरिसकेपछि सेयर बेच्न पनि नपाउने, नगद लाभांश पनि लिन नपाउने भन्ने नीति बीमा प्राधिकरणको छ । यसले गर्दा संस्थापक सेयरधनीले आफ्नो लगानीको उचित प्रतिफल पाइरहेका छैनन् । जुन सर्वसाधारण सेयरधनीले नगदसहितको लाभांश पाइरहेका छन् । यसले उनीहरुलाई फाइदा नै भइरहेको देखिन्छ । बीमा प्राधिकरणको बारम्बार एउटै गुनासो छ की बीमा कम्पनीहरु शहर केन्द्रित मात्रै छन् । गाउँ केन्द्रित छैनन् । यसमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको भूमिका के रहन्छ ? साच्चै भन्ने हो भने हाम्रो फोकस नै त्यहि छ । १२३ वटा शाखा कार्यालय छन् । नेपालका ७ वटै प्रदेशमा छन् । हामी ठाउँठाउँ गाउँगाउँमा गएर विभिन्न प्रविधि मार्फत काम गर्दै जाने । शाखाहरु खोल्दै जाने । निम्न वर्गका ग्राहकहरुलाई सेवा दिने । १२३ भनेको थोरै शाखा होइनन् । हरेक वर्ष अधिकतम १० वटा शाखा खोल्दै जाने । काठमाडौं भित्र पनि थप शाखा खोल्छौं । त्यसैले हाम्रो ब्रान्च नेटवर्ट म्यासिभ नै हुन्छ । दुई कम्पनी नै अग्रणी हुन् भन्नु भयो । अग्रणी हुँदा हुँदै पनि आफै पुँजी बढाउन तपाईं असक्षम हुनु भएको हो ? असक्षम भन्दा पनि यसको भायविलिटी हेर्नुपर्यो । कुनै पनि लगानी गर्दा यसको भायविलिटी हेर्नुपर्छ । जति बजारमा प्रतिस्पर्धा हुन्छ, त्यत्ति अनुशासन हुँदैन । अस्वस्थ प्रतिस्पर्धा हुन्छ । यसले कुनै पनि कम्पनीलाई राम्रो फाइदा भइरहेको छैन । अहिले हामी आफ्नो प्रगति अनुसार टप टु/थ्री कम्पनीमा बस्न सक्षम त भयौं । तर बजार बिग्रिँदै गएकोे हिसाबले टप टु/थ्री मा बस्न कठिनाई भइसक्यो । त्यसैले मर्जर हुनु अपरिहार्य नै थियो । किनभने एउटा कम्पनीले ३०० करोडको व्यापार गरिरहेको छ भने ३०० करोडबाट ६०० करोड पुर्याउन पुँजी थपेर मात्रै हुँदैन । दुई कम्पनी मिलेर गरेको जति बिजनेस गर्न सकिँदैन । जबकी एउटै लेभलको पुँजी वा बिजनेस भएको कम्पनी मिल्दा क्षमतावान कर्मचारी तुरुन्तै हुन्छ । तुरुन्तै बजारमा स्थापित भइसकेका शाखाहरु हुन्छन् । पुँजी थपेर जाँदा एउटा एउटा शाखा बढाउनु निकै कठिन हुन्छ । नयाँ मान्छे लिनु पर्यो । नयाँ ठाउँ लिनु पर्यो । नयाँ पहिचान बनाउनु पर्यो । त्यसैले नयाँ सञ्चालन गर्नुभन्दा भइराखेको श्रोतलाई क्यापिटलाइज्ड गर्नु नै धेरै सजिलो हुन्छ । त्यसैले हामीले मर्जरलाई नै प्राथमिकता दियौं । मर्जरमा जाँदै गरेका अन्य कम्पनीलाई कस्तो सुझाव दिनुहुन्छ ? मर्जर एक पटक गर्ने भनिसकेपछि ‘ए’ पाटी ‘बी’ पाटी भन्ने हुँदैन । ‘ए’ प्लस बी नै भएर अगाडि जानु पर्छ । ‘ए’ को यति ‘बी’ को यति भनेर जानु हुँदैन । ‘ए’ को मान्छे यहाँ ‘बी’ को मान्छे त्यहाँ भन्ने सोच बनाउँनु हुँदैन । ‘एबी’ भनेको ‘ए’ प्लस ‘बी’ बराबर वाई भनेर जानुपर्छ । मर्जरलाई छिटो छरितो गर्ने, आफ्ना कर्मचारीलाई राम्रो इम्प्रेसन दिने हो भने राम्रो पक्षलाई संगाल्दै जाने र नराम्रोलाई हटाउँदै जानु पर्छ । यो एउटा ठूलो चुनौतिसँगै एउटा अवसर पनि हो । यो अवसरलाई ध्यानपूर्वक अघि बढाउनु पर्छ । र, सानातिना विषयमा नअल्झि यता गए नि ठिकै छ, उता गए नि ठिकै छ भन्ने सोच बनाएर अघि बढियो भने यो मर्जरको प्रकृया छिट्टै सकिन्छ ।