आध्यात्मिक सीएको सेयर बजार यात्रा, ‘ध्यानले धन र जोखिम लिने क्षमता बढाउँछ’
एलपी भानु शर्मा अध्यात्म गुरु हुनुहुन्छ । शिक्षाले चार्टर्ड एकाउन्टेन्ट बन्नु भएका शर्माले पुँजी बजारसँगै शिक्षण पेशामा लामो समय बिताउनु भयो । पछिल्लो समय अध्यात्मिक जागरण फैलाउने संस्था जीवन विज्ञानमार्फत आध्यात्मिक शिक्षा फैलाउने क्रममा उहाँलाई धेरैले चिनेका छन् । योगाभ्यास, प्राणायाम र ध्यानमा मानिसहरुलाई अभ्यस्त गराउने जीवन विज्ञानको जागरण अभियान विश्वभर ४० भन्दा बढी देशमा फैलिएको र ३० लाखभन्दा बढी मानिसहरु यसमा अभ्यस्त भैसकेका छन् । प्रभु क्यापिटल लिमिटेडका अध्यक्ष समेत रहनु भएका शर्मासँग विकासन्युजका लागि सीआर भण्डारीले पुँजी बजार र अध्यात्म शिक्षाबारे कुराकानी गरेका छन् । मर्चेन्ट बैंकलाई पूँजी बजारको अंगका रुपमा लिइन्छ । तपाईं प्रभु क्यापिटलको अध्यक्ष हुनुहुन्छ । आध्यात्मिक चिन्तनमा लागेको ब्यक्ति कसरी पूँजी बजारमा जोडिनु भयो ? म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट हुँ । वित्तीय क्षेत्रमा मैले लामो समय काम गरेको अनुभव छ । यो क्षेत्रमा रुची पनि छ । मान्छेको जीवनमा २ वटा कुरा आवश्यक पर्छ । मोटरमा ब्रेक र एक्सलेटर दुवै हुन्छ । एक्सलेटर मात्रै छ तर ब्रेक छैन वा ब्रेक मात्रै छ र एक्सलेटर छैन भने त्यो काम लाग्दैन । मान्छे पनि गतिशिल र शान्त दुवै हुन सक्नु पर्छ । एक्सलेटरमा गतिशिलता हुन्छ । अर्थतन्त्रका विभिन्न पाटाहरु गतिशिल हुन् । र, अध्यात्म शान्त, स्थीर रहने कला हो । यी दुवै अनिवार्य आवश्यक पर्छ । पूँजी बजारमा उतारचढाव हुन्छ । त्यो उतारचढावको बीमा हुँदैन । जो ब्यक्ति उतारचढावको मज्जा लिएर नाफा मात्रै गर्छु भनेर बजारमा प्रवेश गरेको हुन्छ, उसले दुःख पाउनु र मानसिक पीडा भोग्नु स्वभाविक हो । किनभने बजार उसको शैलीमा चल्दैन । हामी पनि प्रभु क्यापिटलमा संलग्न भएर बजारका लागि महत्वपूर्ण योगदान गर्दै आएका छौं । केवल धन कमाउने उद्देश्यले मात्रै नभइ मान्छेको जीवन परिवर्तन गर्न योगदान गर्न सकिन्छ भन्ने इच्छा वा सोच हो । आध्यात्मिक चेत शान्त र स्थीर हुन्छ भन्नुभयो, पूँजी बजार बारम्बार उथलपुथल हुने क्षेत्र हो । बजारमा उथलपुथल भएको बेला एउटा लगानीकर्ता कसरी शान्त रहन सक्छ ? आजको आजै सन्तुलन गर्न सकिँदैन । स्थीरता र शान्तको अभ्यास गर्नुपर्छ । यसलाई ध्यान भनिन्छ । जीवन विज्ञानमा गरिने सबै ध्यान शान्तिको अभ्यास हो । अभ्यास गरेर शान्तिको केन्द्र पत्ता लगायो भने उथलपुथलबाट प्रभावित हुँदैन । पूँजी बजारमा मात्रै नभएर हरेक क्षेत्रमा उथलपुथल भइरहेको हुन्छ । यदि सवारी चलयाएर कतै जानु हुन्छ भने कुनै ठाउँमा दुर्घटना हुनसक्छ । बाटोमा हिँड्दा कतै लड्न सकिन्छ । खाना खाँदाखेरी ढुंगा पर्न सक्छ । त्यसैले जोखिम जहाँ त्यही छ । गतिशिलता जीवनका हरेक अंगमा छ । गतिशिलताको एउटा नियम हुन्छ, त्यो हो जोखिम । अध्यात्मले ब्यक्तिलाई जब शान्त बनाउन सिकाउँछ तब ब्यक्तिको जोखिम लिने क्षमता पनि बढ्दै जान्छ । जो ब्यक्ति शान्त छ उसले बढी जोखिम लिन सक्छ । उदाहरणको रुपमा बिलगेट्सलाई लिन सकिन्छ । यदि ती ब्यक्ति शान्त हुँदैनथे भने यति धेरै काम गर्न सक्ने थिएनन् । जो ब्यक्ति धेरै काम गर्न सक्छ, उसको केन्द्र बिन्दुमा स्थीरता छ । तर, हामी गतिशिल मात्रै हुन खोज्छौं, स्थीर हुन खोज्दैनौं । यदि ब्यक्तिको भित्र मन शान्ति छ भने सन्तुलन आफै आउँछ । ब्यक्तिभित्रको शान्तिले कति जोखिम लिने र कति जोखिम नलिने भनेर टुंंगो लगाउन सक्छ । उतारचढावमा पनि धेरै प्रभावित नभइकन आफ्नो आधार रेखामा बस्नुपर्छ । मलाई यत्ति भए ठिक छ भनेर आधार रेखा निर्धारण गर्नु पर्ने हुन्छ । सन्तुलित हुने प्रयास गर्नु पर्दैन । अध्यात्मले ब्यक्ति भित्रको सन्तुलनलाई जागृत गरिदिन्छ । सन्तुलतको केन्द्र ब्यक्ति भित्र नै हुन्छ । पुँजी बजारमा लागेका मान्छेको ध्यान पैसामा केन्द्रीत हुन्छ । पैसा र अध्यात्म बीचको सम्बन्धलाई कसरी जोड्नुहुन्छ ? यी एक अर्काका परिपूरक छन् । मान्छेले बिना धन दैनिक जीवन यापन गर्न सक्दैन । यदि धन नै छैन भने के खाने ? अध्यात्म नगरेको मान्छे जहिल्यै पनि तनाव, हतार, आत्तिएको र असुरक्षाको गहिरो पीडामा रहन्छ । ध्यानले धन आर्जन गर्ने क्षमता बढाउँछ तर धनले ध्यान बढाउँदैन । त्यसकारण ब्यक्तिले ध्यान आर्जन गर्ने क्षमता बढाउँदा मात्रै धन आर्जन गर्न सिक्नुपर्छ । ध्यान र धन दुईटैलाई सँगसँगै लिनु पर्छ । पूँजी बजारमा दैनिक उतार चढाव हुँदा लगानीकर्ताहरु तनावमा हुन्छन् । लगानीकर्ताहरु शान्त जीवनमा बस्नका लागि आधात्मिक क्षेत्रबाट कस्तो सुझाव दिनु हुन्छ ? घाटा होस् या नाफा स्वस्थ शरीर चाहिन्छ । नाफा र घाटाले शरीरलाई असर गर्न थाल्यो भने धेरै समय टिक्न सकिँदैन । त्यो मान्छेले दीर्घकालसम्म काम गर्न सक्दैन । संसारिक जीवनमा उथलपुथलले कम प्रभाव पर्न सक्ने बन्नुपर्छ । पहिला आफ्नो स्वास्थ्यको रक्षा गर्नुपर्छ । स्वास्थ्यको रक्षा पैसा वा पूँजी बजारले गर्दैन । घाटा नाफा जेसुकै भएपनि हरेक दिन योगाभ्यास वा व्यायाम गर्नुपर्छ । स्वस्थ शरीर भएर मात्रै काम गर्न सकिन्छ । शरीरलाई स्वस्थ अरु कसैले पनि गर्दैन । धन आर्जन गर्नु पर्छ तर, स्वास्थ्यलाई बिगारेर वा गुमाएर होइन । जीवन विज्ञानले प्रत्येक दिन निश्चित तालिका र विधि दिन्छ । त्यो तालिका र विधिमा ब्यक्तिको स्वास्थ्य आफै राम्रो हुन्छ । व्यायाम गर्ने मान्छेको जीवनमा अनुशासन पनि हुन्छ । दीर्घकाल टिक्नका लागि अनुशासन आवश्यक पर्छ । स्थायी भएर काम गर्नु छ, अस्थायी होइन । रातारात केही पनि हुँदैन । जसरी शरीरको स्वास्थ्यका लागि योगाभ्यास गर्नु हुन्छ, त्यसैगरी मनको स्वास्थका लागि प्राणायाम गर्नुपर्छ । स्वास प्रस्वासका बिधिलाई प्राणायाम भनिन्छ । र, जीवन विज्ञानका प्राणायमका विधिहरु आधुनिक मनुष्यलाई लक्षित गरेर निर्माण गरिएका छन् । ५ मिनेट प्राणायाम गर्नुभयो भने तुरुन्तै आफ्नो तनाव फाल्न सकिन्छ । अध्यात्म मरेपछि स्वर्ग जाने होइन, जीवनलाई स्वर्ग बनाउने विज्ञान हो । परिवारलाई पनि स्वर्ग बनाउँछ । मान्छेलाई शान्ति र स्थीरता चाहिन्छ । यसको लागि ध्यान गर्नुपर्छ । योगाभ्यास, प्राणायाम र ध्यान हरेक दिन गर्नु भयो भने संसारमा सबैभन्दा ठूलो बीमा खरिद गरे सरह नै हुन्छ । बीमाले स्वास्थ र औषधि दिन सक्छ । धनले औषधि मात्रै दिन्छ । तर, स्वस्थ शरीर व्यायामले मात्रै दिन्छ । स्वस्थ शरीर दिने क्षमता ब्रम्हाण्डमा कसैको पनि छैन । ब्यक्तिको मनलाई शान्ति पनि कसैले गर्न सक्दैन । मनले खोजेको कुरा पैसाले किन्न सक्नुहुन्छ । तर, भएको कुरालाई उपभोग गर्न मन शान्त चाहिन्छ । जस्तो घरमा मिष्ठान्न भोजन पकाएको छ । तर, कोही मान्छे बिरामी छ भने मिष्ठान्नको फाइदा लिन सकिँदैन । योगाभ्यास, प्राणायाम र ध्यानलाई दैनिक जीवनको अंग बनाउनु पर्छ । यसलाई खाना खाए जस्तै बनाउनु पर्छ । यसलाई खाना भन्दा पनि बढी महत्व दिनुपर्छ । एक दिन खाना खानु भएन भने केही फरक पर्दैन, बरु व्रत नै हुन्छ । शरीर राम्रो हुन्छ । तर, एक दिन पनि योगाभ्यास, प्राणायाम र ध्यान गर्नु भएन भने समस्या आउँछ । त्यो समस्या बुढेशकालमा झनै देखिन्छ । तनावले मानिसहरुमा हानिकारक हर्माेनहरु उत्पादन हुन्छ । सेयर बजार दैनिक उथलपुथल हुँदा लगानीकर्ताले नचाहेर पनि तनाव लिएका हुन्छन् । लगानीकर्ताले यो कठिन जीवनबाट कसरी शान्त जीवन बनाउने ? यदि कोही मान्छे मोटरसाइकल चलाउँदै छ भने हेलमेट लगाउँदा दुर्घटना हुने सम्भावना कम हुन्छ । हेलमेट नलगाएर मोटर चलाएको छ भने दुर्घटना हुँदा असर बढी हुन्छ । जसरी हेलमेटले सुरक्षा गर्छ, त्यसैगरी आध्यात्मले भित्री सुरक्षा दिन्छ । आध्यात्मको पाठ सिकेको छ भने मान्छे ढुक्क हुन्छ । आफ्नो बलमा भरोसा धेरै गर्न सकिन्छ । जुन दिन आत्मबलमा भरोसा गरिन्छ, त्यो बेला बजार घटेपनि केही छैन, फेरी उठिहाल्छु भन्ने मान्यता राख्छ । मान्छेमा गहिरो आत्मविश्सास जन्मन्छ । जीवन विज्ञानको कार्यक्रमहरुले मान्छेको आत्मविश्वास जगाएर शान्त र स्वस्थ बनाउँछ । तनावको बेलामा कर्केश्वर हर्माेन जन्मिन्छ । जुन हर्माेनले सबै कुराहरु बिगार्छ । योगाभ्यास, प्राणायाम र ध्यान गर्नुभयो भने खराब तत्वहरु उत्पादन हुँदैनन् । शरीरमा नकारात्मक असरलाई हटाउन, मनलाई शान्त बनाउन योगाभ्यास, प्राणायाम र ध्यान गर्याे भने सकारात्मक हर्माेन उत्पादन हुन्छन् । तनावमा भएका लगानीकर्ताहरुले जीवन विज्ञानका योगाभ्यास, प्राणायाम र ध्यान गर्नुपर्छ । धेरै जना लगानीकर्ता, उद्योगपति जीवन विज्ञानमा आएर योगाभ्यास, प्राणायाम र ध्यान गरिरहनु भएको छ । जीवन विज्ञान मार्फत २० लाख मान्छेले फाइदा लिएका छन् । जीवन विज्ञानले ३० हजारभन्दा बढीलाई डिप्रेशनबाट जोगाएका छौं । नियमित रुपमा जीवन विज्ञानका कार्य गर्नु हुन्छ भने जीवनमा डिप्रेशन आउने कुरा शुन्य हुन्छ । जस्तो कम्प्युटरमा पहिला नै एन्टि भाइरस राख्यो भने कम्प्युटर ह्याक हुने सम्भावना न्यून हुन्छ । त्यसैले डिप्रेशनमा जानु भन्दा अघि नै योगाभ्यास, प्राणायाम र ध्यान गर्नु पर्छ । पूँजी बजारमा आज लगानी गरेर भोलि नै नाफा खोजिन्छ । तर, आध्यात्मले त्यस्तो भन्दैन । तपाईंले प्रवाह गर्नु भएको विचारसँग मेल खाँदैनन् नी ? पूँजी बजार, फलाम बजार, इट्टा बजार, आइटी बजार लगायत सबै बजार बिगार्ने भनेको लोभीपापीले हो । जसको मनमा अत्याधिक लोभ छ, उसले बजारलाई बिगार्छ । जो दीर्घकालिन रुपमा बजारमा प्रवेश गरेको छ, उसले बजारलाई पनि मद्दत हुने गरी काम गरेको हुन्छ । रातारात कमाउन खोज्ने मान्छेको हृदयभित्र धेरै लोभ हुँदा लोभले खान्छ । त्यो लोभ मनबाट उत्पन्न भएको हो । लोभ र पाप मनमा छ भने त्यसले कसैलाई पनि हित गर्दैन । त्यसैले दिगो काम गर्न चाहनु हुन्छ भने मनमा रहेको पापलाई फाल्नु पर्छ । लामो दौडको घोडा जस्तै बन्नुपर्छ । आजको भोलि कमाउन खोज्ने वा मनमा लोभपाप भएका ब्यक्तिलाई एक÷दुई वर्ष पछि फलफूल बोकेर अस्पतालमा भेट्न जानु पर्छ । आध्यात्मले दीगो काम गर्न सिकाउँछ । दीगो जीवन यापन गर्न सिकाउँछ । मर्चेन्ट बैंकरलाई उकास्नका लागि नियामक निकायले के गर्नुपर्छ ? नियामक निकायले अध्ययन र अनुसन्धानमा खर्च गर्नुपर्छ । एउटा स्थीर बजारले लाखौं ब्यक्तिको आम्दानी र रोजगारी सिर्जना गर्छ । बजार कल्पवृक्ष हो । बजार कामधेन हो । थीर बजार निर्माण गर्नका लागि अध्ययनशील ब्यक्ति चाहिन्छ । नियामक निकायले अध्ययन र अनुसन्धानमा लगानी गर्न जरुरी छ । मानव संशाधनको विकासमा लगानी गर्नुपर्छ । एउटा टिममा भिजन बनाएर काम गर्नुपर्छ । पूँजी बजारमा सूचना, सरोकारवालाहरुको जानकारी र शिक्षाको एकदमै ठूलो अभाव छ । लगानीकर्ता र बजारमा रहेका खेलाडीहरुको शिक्षालाई महत्वपूर्ण मानिन्छ । त्यो शिक्षामा नियामक निकायले आध्यात्मिक शिक्षामा जोड्नु पर्छ । पूँजी बजार विकास नहुनुमा राम्रा संस्थाहरु बजारमा नआउनु हो । राम्रा संस्थालाई बजारमा आउन प्रेरित गर्नु पर्छ । र, बजारमा आउने व्यवस्था मर्चेन्ट बैंकरहरुले गर्छन् । संस्थाहरुको भ्यालू डिस्कोभरी गर्ने कामका लागि मर्चेन्ट बैंकलाई तालिम दिनुपर्छ । लुकेर बसेका राम्रा संस्थाहरु आए भने बजारमा स्थीरता र दीगोपना आउँछ । नियामक निकायहरुमाथि आम जनताको धेरै ठूलो भरोसा हुन्छ । यदि सेबोनमाथि आम जनताको भरोसा रहेन भने कसैले पनि लगानी गर्दैन । त्यसकराण यी संस्थाहरु आफैं आध्यात्मिक बन्दै जानुपर्छ । ताकी लगानीकर्ताको यी संथाहरुमा विश्वास बढोस् । संस्थाहरु पनि आध्यात्मिक बन्नुपर्छ । यदि संस्थाहरु लोभ र पापमा छैनन भने लगानीकर्ताहरुको विश्वास पनि बढ्छ । नियामकको बारेमा एउटा पनि नराम्रो कुरा आयो भने त्यसले पुरै बजारलाई असर गर्छ ।
भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ : अर्थमन्त्री डा. महत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी, व्यवसायीहरूको सहभागिता छ । भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहकार्यका विविध विषयमा समझदारीसमेत भएको छ । सरकारले ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायतलाई मुख्य उपलब्धि मानेको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा केन्द्रित रहेर भ्रमणदलमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महतसँग राष्ट्रिय समाचार समिति (रासस) का विशेष समाचारदाता रमेश लम्सालले भारतको इन्दौरमा गर्नुभएको कुराकानीको सम्पादित अंशः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण दलमा यहाँ पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीको यस भ्रमणलाई यसलाई कसरी लिनुभएको, हामी कति सफल रह्यौँ ? भ्रमण अन्यन्तै सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो । नयाँदिल्ली र मध्यप्रदेशमा अत्यन्त ठूलो सौहार्दता र स्वागत भयो । भ्रमणका क्रममा नेपालले उठाउँदै आएको ऊर्जा व्यापारका विषयमा प्रगति भएको देखिन्छ, यसलाई कसरी हेर्नुभएको छ ? ऊर्जाका क्षेत्रमा महत्वपूर्ण समझदारी भएको छ । खासगरेर दीर्घकालमा १० हजार मेगावाटसम्म विद्युत् भारतले किन्ने समझादरी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले पनि संयुक्त पत्रकार सम्मेलनमा बोल्नुभएको छ । यसले नेपालको ऊर्जा विकास र समग्र अर्थतन्त्रलाई चलायमान गर्न ठूलो मद्दत गर्छ । भोलिका दिनमा व्यापार घाटा कम गर्न विद्युत् व्यापार कोशेढुङ्गा सावित हुनेछ । अहिले नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढिरहेको छ, भारतले पनि दुई ठूला आयोजनामा लगानी गर्ने समझदारी भएको छ । फुकोट कर्णाली र तल्लो अरुणमा लगानी गर्ने निर्णय भएको छ । यसबाट विद्युत्को उत्पादन बढ्ने र सँगसँगै बजार पनि सुनिश्चित हुनेछ । भोलिका दिनमा विद्युत्को निर्यातबाट ठूलो विदेशी मुद्रा आर्जन गर्ने र व्यापार घाटा कम गर्ने ठूलो सम्भावना छ । सँगसँगै आन्तरिक खपत बढाएर, विद्युतीय सवारीसाधन, विद्युतीय चुलो उपयोग गरेर हरित अर्थतन्त्रलाई बढवा दिन र आयात प्रतिस्थापन गर्ने र विद्युत्को निर्यात बढाउने दुवैमार्फतबाट व्यापार घाटा कम गर्न ठूलो मद्दत हुन्छ । यस्तै बङ्गलादेशसँग पनि अहिले ५० मेगावाट निर्यात गर्ने सुरुआत भएको छ । त्यहाँ पनि विद्युत् व्यापारको ढोका खोलेको छ । भ्रमणका क्रममा ‘केनेक्टिभिटी’का अन्य क्षेत्रमा पनि समझदारीमा पुगेका छौँ, यसबाट हामीले अपेक्षा गरेका विषय भारतका तर्फबाट सम्बोधन भयो भन्न सकिन्छ ? एयर ‘कनेक्टिभिजी’मा हामीले स्पष्ट कुरा राखेका छौँ । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलमा भारतबाट कनेक्टिभिटी बढोस् भनेका छौँ । गौतमबुद्ध विमानस्थलमा एयर रुटका कुरा भएको छ । लो अल्टिच्यूडमा उडान गर्ने साना विमानलाई आउन दिनेमा उहाँहरु सकारात्मक देखिनुभएको छ । हाइ अल्टिच्यूडको पनि रुट प्राप्त हुन्छ भन्ने हामीलाई विश्वास छ । भारतीय पक्षको चासो के थियो रु एयर रुटका सम्बन्धमा किन सहमति भएन ? यससम्बन्धमा निर्णयमा पुग्न सकिएन, तर लो अल्टिच्यूडमा उहाँहरु तयार भइसक्नुभएको छ, अन्ततः उहाँहरु हाइ अल्टिच्यूड पनि हुन्छ । एयर कनेक्टिभिटी समझदारी थप ठाउँबाट हुने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग सहज हुनेमा सहमति बन्छ । यसका आधार भ्रमणले तयार गरेको छ । सरकारले राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग महत्वपूर्ण समझदारी गरिरहेको छ, तर काठमाडाँैले फरक दृष्टिकोणले हेरिरहेको देखिन्छ, यसलाई कसरी लिने ? नकारात्मक कोणबाट हेर्ने प्रवृत्ति पनि छन् । तर हामीले कामबाट नै ती प्रवृत्तिलाई निरुत्साहित गर्न सक्छौँ । हरेक कुरालाई शङ्काको दृष्टिकोणबाट मात्रै हेर्नु उपयुक्त हुँदैन । खासगरी भारतसँगको सम्बन्धलाई लिएर बढी शङ्का गर्ने प्रचलन छ । तर नेपाल र हामीले राष्ट्रिय स्वार्थ र आवश्यकतालाई मध्यजनर राखेर जुनसुकै देशसँग सम्बन्ध राख्ने हो । भारतसँगको सवालमा पनि नेपालको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर सम्बन्ध विकास गर्ने हो । त्यहीअनुसार भएको छ । हरेक विषयलाई शङ्काको कोणबाट मात्र हेर्न हुँदैन । सीमामा देखिएको समस्याका विषयमा पनि प्रधानमन्त्री मोदी स्वयंले संयुक्त पत्रकार सम्मेलनमा स्पष्ट ढङ्गबाट समाधान गर्छौँ भन्नुभएको छ । त्यसले पनि थप विश्वास पैदा भएको छ । हामीले अपेक्षा गरेका आधारमा भ्रमण सफल रह्यो भन्ने हो ? भ्रमण एकदमै सफल र उपलब्धिमूलक रह्यो । यहाँले भर्खंरै बजेट प्रस्तुत गर्नुभएको छ, बजेटमाथि अनेकखालका टिप्पणी भइरहेका छन्, यसलाई कसरी लिनुभएको छ ? बजेटका सम्बन्धमा हरेक खालका टिप्पणी हुने गर्छ । शेयर मार्केटमा के गर्यो भन्ने आइरहेको छ । त्यसमा हामीले सेयरमा लागनीकर्तालाई फेरि आयकरमा कर लगाउने भनेको छैन । शेयर कारोबारलाई नै व्यवसाय बनाउनेका लागि ‘रिपोर्ट’ गर्नुहोस्, त्यसमा अझ छुट हुन्छ भनेका हौँ । शेयर बजारमा लगानी गरौँ, आम्दानी होला भनेर लगानी गर्नुभएको कसैलाई पनि आयकरको दायरामा ल्याइएको छैन भन्ने भ्रम हो । अन्य करका दर पनि हामीले व्यापारिक घरानालाई फाइदा दिने, कसैलाई बेफाइदा गर्नेभन्दा पनि समग्र अर्थतन्त्रलाई चलायमान गराउने गरेर मात्रै तय गरेका हौँ । विद्युतीय सवारीमा कम क्षमता भएकालाई एउटा, बढी क्षमता भएकालाई अलिकति बढी, अझ बढी क्षमता भएकालाई झन् बढी त्यसरी गरेका छौँ, कसैलाई पनि अप्ठ्यारो पार्ने गरेर र विद्युतीय सवारीसाधनलाई निरुत्साहित गर्ने गरी केही भएको छैन ।
बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय बजेट प्रस्तुत भइसकेको छ । यही जेठ २१ गतेदेखि बजेट र त्यससँग सम्बन्धित प्रस्तावमा छलफल प्रारम्भ हुँदैछ । साथै लामो समयदेखि प्रतीक्षाको विषय बनेको महत्वपूर्ण विधेयक यही अधिवेशनमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । यस सन्दर्भमा सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित विवरण : सदनमा बजेटमाथिको छलफल प्रारम्भ हुँदैछ । यसको छलफल र पारितको प्रक्रियाका क्रममा सामान्यत : सरकारले जे प्रस्तुत गरेको छ, त्यही पारित हुने र छलफलमा उठेका कुराको खास अर्थ नरहने खालको अवस्था देखिन्छ । के यसपटक केही नयाँपन आउन सक्ला ? सामान्यतः विगतमा भएका छलफलमा जस्तै यस पटकको बजेट अधिवेशनमा पनि त्यसैगरी छलफल हुने स्थिति छ । यस छलफललाई परिणामुखी बनाउने विषयमा सुझाव प्राप्त भएको छ । जस्तो बजेट ल्याउनुपूर्व १५ दिनअघि पूर्वबजेट छलफल (सिद्धान्त र प्राथमिकता) माथि छलफल गराउने गरिएको छ । समयका हिसाबले पूर्वबजेट छलफलमा आएका निष्कर्षहरु बजेटमा सम्बोधन हुने स्थिति छैन । सरकारी प्रणालीमा बजेट बन्ने प्रक्रिया तीन महिनादेखि हुने भएकाले सांसदका ती सुझाव समावेश हुने स्थिति छैन । यसलाई आगामी आर्थिक वर्षका लागि सुधारौँ भन्ने छ । त्यो हुनसकेमा भविष्यका लागि राम्रो आधारशीला बन्न सक्नेछ । अर्काे कुरा, बजेटमा छलफल भइसकेपछि पारित गर्ने समयमा एकैपटक पास र फेल भन्ने हुन्छ । बुँदाबुँदा पास र फेल भन्ने हुन्न । बजेट वा नीति तथा कार्यक्रम फेल भएमा सरकार नै फेल हुने अर्थमा लिइन्छ । यी कुराहरुमा सुधार गर्नुपर्ने हुन्छ । बजेट फैल भएर सरकार फेल हुने नहुनेभन्दा पनि छलफलमा प्राप्त सझावअनुसार बजेटलाई संशोधन गराउने प्रक्रियामा जानुपर्छ । नत्र छलफलमा भाग लिन माननीय सदस्यलाई जाँगर नहुन सक्छ । छलफलमा रचनात्मक सुझाव आइसकेपछि त्यसलाई मनन गरेर निर्णयार्थ ल्याउँदा सरकारले यी यी कुरा आत्मसात् गरेर जाने, यी कुरा हटाउने, यी कुरा थप्ने प्रतिबद्धता गर्छु भनेमा त्यसले परिणाम दिन्छ । त्यो सुल्टो बाटो हुन्छ र दूरगामी प्रभाव पार्न सक्छ । सरकारले स्वीकार गरेर ल्याउँदा सरकार असफल भएको अर्थमा पनि लिइन्न । आगामी दिनमा यस लाइनमा सुधार गरेर जाने कुराहरु भएको छ । हेरौँ कत्तिको कार्यान्वयन हुन्छ । संसद्मा कतिपय महत्वपूर्ण विधेयकजस्तै निजामती विधेयक, सङ्घीय शिक्षा विधेयकलगायत विधेयक प्रस्तुत हुन ढिलाइ भएको देखिन्छ । के कारणले यस्तो भएको हो ? हामीले गत हिउँदे अधिवेशनमा महत्वपूर्ण विधेयक आउने अपेक्षा गरेका थियौँ । विधेयक पेस गर्ने काम मूलतः सरकारको हो या निजी विधेयकका रुपमा आउनुपर्ने हुन्छ । अन्यथा जति पनि विधेयक आउनुपर्ने थिए, गत अधिवेशनमा त्यति आउन सकेनन् । केही आए र प्रक्रियाबाट निस्क्रिय भए । पुनः विधेयक ल्याउने सवालमा ढिलासुस्ती भएको देखियो । सरकारले ल्याउँछु ल्याउँछु भन्ने तर ल्याउने काम नगर्ने गरेको देखियो । यस मामिलामा प्रभावकारिता देखिएन । सरकार गठन र पुनः गठनमै समय बित्यो । अहिले पनि सरकारले त्यस्ता विधेयक ल्याउने भनेको छ । प्रधानमन्त्रीस्तरबाट पनि भनिएको छ तर त्यसस्तरको तयारी भएको वा यस अधिवेशनमा अत्यधिक विधेयक प्रस्तुत भएर पारित हुने सम्भावना देखिँदैन । ती विधेयक आएमा बजेट अधिवेशनमा पनि पारित गर्न समस्या चाहीँ छैन । सरकार र संसद्बीचको सम्बन्ध सुमधुर नभए जनताका सेवा सुविधामा प्रतिकूल असर पर्न सक्छ भनिन्छ । हुन त कार्यपालिका र व्यवस्थापिकाको हिसाबले ‘चेक एण्ड ब्यालेन्स’ को भूमिमा पनि निर्वाह भइरहेको हुन्छ । यहाँको अनुभवमा अहिले सरकार र संसद्को सम्बन्ध कस्तो छ ? सैद्धान्तिक हिसाबले सरकार र संसद्को सम्बन्ध खराब हुनुपर्ने वा राम्रो नहुनु पर्ने कारण छैन । एक अर्कामा सहयोग र समन्वय गरेर जनताका कामलाई प्रभावकारिता दिनु हाम्रो दायित्व हो । संसद्को निगरानीले सरकारको काममा सहयोग नै पुग्छ । सम्बन्धका दृष्टिमा अहिले सम्बन्ध राम्रै छ । सरकार गठन र पुनःगठनका कामले संसदीय विजनेशमा त्यति ध्यान नपुगेको मात्रै हो । नयाँ नयाँ मन्त्रीहरु आउने र विधेयकबारे बुझ्ने वा परामर्श गर्ने क्रममा केही समय लागेको पनि हुन सक्छ । संसद्मा आइसकेपछि सत्तापक्ष र प्रतिपक्ष हुने उहाँहरुले बोल्ने, आफ्ना कुराहरु राख्ने कुराहरु सामान्य हुन् । अघिल्लो संसद्बाट पारित भएको र निवर्तमान राष्ट्रपतिबाट प्रमाणीकरण नभएको नागरिकतासम्बन्धी विधेयक वर्तमान राष्ट्रपतिबाट यही जेठ १७ गते प्रमाणीकरण भएको छ, यसबारे यहाँको प्रतिक्रिया के छ ? यसबारे अहिले मैले केही भनिन । यसबारे बाहिर टीकाटिप्पणी भएको छ । यसको पक्ष विपक्षमा विवाद भएको छ । यसको कन्टेन्टबारे आउने विवाद एउटा हो । वर्तमान राष्ट्रपतिबाट यो बेलामा जारी भएको विषयमा पनि विवाद छ । यसबेलामा अहिले मैले बोल्नु त्यति सान्दर्भिक र राम्रो हुँदैन । बोल्नका लागि त हामी स्वतन्त्र छौँ तर यस्ता हामी जुन पदमा छौँ, त्यस अर्थमा बोल्न हतारो पनि गर्न आवश्यक छैन । हामीले बोलेर केही केही भइहाल्ने पनि होइन । अदालतमा पनि यो विवाद पुग्ने भन्ने सुनिएको छ । त्यसबेलामा औपचारिकरुपमै हाम्रा भनाइहरु जानेछन् । एउटा प्राविधिक विषयमा पनि सोधौँ । राष्ट्रियसभाका बैठकहरु प्रायः १२ः५९ बजे, ११ः५१ बजे, ११ः१४ बजे वा १३ः०१ बजेजस्ता समयमा निर्धारण भएको पाइन्छ । यसको खास सन्देश के हो ? यो एकदम समयमा हामी सबै बाँधिऔैँ भन्ने सन्देश दिनका लागि मैले थालनी गरेको हो । मुलुकमा हरेक कुुरा समयमा नगर्ने र समयको बर्बादी गर्ने प्रवृत्ति देखिन्छ । त्यसैले सदनबाट समयमा सही पालना होस् र देशभर यसको सन्देश जाओस् भने यो गरिएको हो । जस्तो अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट र त्यसका समयसीमाहरु समयमा पालना नभएमा देशलाई कति प्रभाव पार्छ । त्यसकारण हामी समयमा घन्टी बजाउँछौँ र समयमा बैठक प्रारम्भ गछौँ । कहिलेकाहीँ सरकारका मन्त्री आउन ढिलाइ भएर कुनुपर्ने अवस्थामा बाहेक हामी समयमा बैठक सुरु गर्छौं र यो परम्परालाई कायम गर्छौं । म समयको पालनाका लागि तपाईंहरुमार्फत पनि सबैलाई आह्वान गर्दछु । रासस