२०२० मा अमेरिकी सेयर बजारको अनुभवः ब्रोकरले कमिसन लिदैनन्, यस्ता रहेछन् कमाई हुने कम्पनी

सन् २०२० मेरा लागि अमेरिकी सेयर बजार अध्ययन गर्ने वर्ष रह्यो । मेरो एकाउन्ट रहेको सेयर ब्रोकरले शनिबार र आईतबार बाहेक दिनभरि नै बजारका बारेमा पढाउँछ । अनलाईन कक्षा लिएर अमेरिकी सेयर बजारको वास्तविक अध्ययन गर्ने अवसर मैले पाएँ । यो अध्ययनका लागि कुनै खर्च लागेन । मात्र समय दिएँ । सेयर बजारका बारेमा त नेपालदेखि नै जानकार थिएँ । गत वर्षको अध्ययनले अप्सन मार्केट बुझ्ने अवसर दियो । अप्सन सेयर बजारकै एक औजार हो । यो एकदम नै जोखिमपूर्ण लगानी हो । नयाँ विषय सिक्ने अवसर पाएकोमा दंग छु । एक कित्ता सेयर किनेर भएपनि विश्वका ठूलाभन्दा ठुला कम्पनीको सेयर होल्डर बन्न पाइने अवसर सेयर बजारले नै दिएको हो । रमाईलो कुरा के छ भने सेयर किनबेच गर्दा ब्रोकरलाई कुनै शुल्क नै तिर्नु पर्दैन । उल्टो दिनभरि अनलाईन पढाउँछन् । सन् २०२० का उच्च रुपमा सेयर भाउ बढेका कम्पनीमा एमाजन, एप्पल, टेस्ला, निभिडिया भए । एक वर्षको अवधिमा जूमको सेयर मूल्य ४० डलरबाट ६ सय पुगेर अहिले ३ सय ५० को हाराहारीमा छ । विमान बनाउने कम्पनी वोईङको सेयर एक सय डलर भन्दा तल पनि आयो । गूगलको सेयर पनि एक हजार डलरभन्दा तल आएर अहिले १७ सय डलर पुगेको छ । सपिफाईको सेयर मूल्य पनि चार सयबाट १३ सय डलर पुग्यो । चाईनिज कम्पनी अलिबाबाको सेयर मूल्य पनि दुई सयबाट तीन सय १८ सम्म पुगेर फेरि अहिले २ सय ३५ डलरमा झरेको छ । टेस्लाको सेयर किन्नेले सन् २०२० मा धेरै कमाए । टेस्लाको सेयर मूल्य तीन सय डलरबाट २५ सय डलर पुग्यो । एक सेयर हुनेले पाँच सेयर थपेर पाएपछि मूल्य चार सय डलरमा आयो । फेरि अहिले सात सय डलर नाघेको छ । नौ महिनाको अवधिमा टेस्लाको सेयर तीन सयबाट ४ हजार डलर नाध्यो । एमाजनको सेयर १५ सयबाट ३५ सय डलर पूग्यो । फेसबुकको सेयर मूल्य पनि राम्रैसँग बढ्यो । सन् २०२० को अनुभवको आधारमा भन्नुपर्दा ठूलो र बढि सेयर मूल्य भएका कम्पनीको नै सेयर किन्नु पर्ने रहेछ । यो कम्पनीको सेयर धेरै बढ्यो, अब घट्छ होला भनेर नकिन्यो, त्यसैको मूल्य बढ्ने रहेछ । नाफा कमाउने र मूल्य बढिरहेका कम्पनीकै सेयर किन्दा कमाउन सकिने रहेछ । साना र सस्तो मूल्य भएका कम्पनीको सेयरमा कमाउने भन्दा गुमाउने संभावना बढि देखियो । सवै कम्पनीमा एउटै नियम त लाग्दैन । तर पनि पैसा लगानी गर्ने भनेको ठुला कम्पनीमा रहेछ । बजार घटे पनि ठुला कम्पनीको सेयर मूल्य नै पहिला बढ्ने देखियो । भ्याक्सिन आउने भएपछि कोरोनाका कारणले घटेका कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । हेरौं अब सन् २०२१ मा कुन कुन कम्पनीले धेरै कमाउने हुन् । कुन कुन कम्पनीले गुमाउने हुन् । (अमेरिकामा रहेका नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष सापकोटको फेसबुकबाट)

सेयर बजारमा बेवारिसे बनेको लगानीकर्तामैत्री एउटा उपकरण

काठमाडौं । अहिले नेपाली पुँजी बजारको दोस्रो बजारमा लगानी गर्न मन लाग्यो भने तपाईंसँग दुईटा विकल्प उपलब्ध छन् । पहिलो विकल्प भनेको आफूसँग भएको पैसाले जति आउँछ, त्यति मूल्य बराबरको सेयर किन्ने । दोस्रो विकल्प, आफूसँग भएका सेयर धितो राखेर ऋण लिने र त्यो पैसाले सेयर किन्ने । आफूसँग भएको रकम बराबरको सेयर किन्नको लागि कुनै समस्या नै भएन । ब्रोकरलाई पैसा दिएपछि उसले सेयर किनिदिन्छ । अनलाइन मार्फत आफैले सेयर किन्न अर्डर गरेपनि भयो । आफूसँग भएको सेयर धितो राखेर ऋण लिने र त्यो पैसाले फेरि सेयर किन्ने हो भने त्यसका केही विशेष व्यवस्थाहरुको पालना गर्नुपर्छ । अहिलेको व्यवस्था अनुसार तपाईले आफूसँग भएको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नुहुन्छ । तर, यसरी ऋण लिँदा तपाईंसँग भएको सय रुपैयाँ मूल्य बराबरको सेयरमा ७० रुपैयाँ मात्रै ऋण पाइन्छ । सेयर धितो राखेर ऋण लिने प्रक्रियामा त्यो सेयरको मूल्यांकन कति हुने भन्ने जस्ता विषयमा बेग्लै नियमहरु छन् । यी नियम अनुसार बैंक वित्तीय संस्थाले ऋण दिन्छन् । नविर्सनुस् है, सय रुपैयाँ मूल्य कायम भएको सेयर धितो राखेपछि बैंक वित्तीय संस्थाहरुले ७० रुपैयाँ ऋण दिन्छन् । यदि, ३० रुपैयाँ लगानी गरेर सय रुपैयाँको सेयर किन्न पाइने हो भने कस्तो सोच्नुहुन्छ ? पक्कै पनि गज्जव हुन्थ्यो भन्ने लाग्ला । हो, तपाईंसँग नभएको ७० रुपैयाँको व्याज भने तिर्न तयार हुनुहुन्छ होला, हुनै पनि पर्यो । यहाँसम्म आइपुग्दा के कुरा प्रष्ट भयो भने तपाईंसँग जति पैसा छ, त्यो सबैको सेयर किन्न पाइने रहेछ । आफूसँग भएको सेयर धितो राखेर बैंक वित्तीय संस्थाहरुबाट ऋण लिने हो भने जति मूल्य बराबरको सेयर छ, त्यसको ७० प्रतिशत मात्रै ऋण लिन पाइने रहेछ । आफ्नो ३० प्रतिशत सम्पत्ति प्रयोग गर्न पाइएन है । तर, यस्तो मात्रै होइन । नेपाली पुँजी बजारमा अर्काे एउटा यस्तो उपकरण पनि छ, जुन प्रयोग गर्ने हो भने तपाईंसँग भएको भन्दा बढी मूल्य बराबरको सेयर पनि किन्न पाइन्छ । यो भनेको मार्जिन कारोबार हो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले २०७४ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन जारी गरेको छ । र, नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पनि बनाएको छ । मार्जिन कारोबार सम्बन्धी निर्देशन र कार्यविधि दुबै बनेर कार्यान्वयनमा गइसकेका छन् । मार्जिन कारोबार भनेको आफूसँग भएको पुँजीभन्दा बढीको सेयर किन्न पाइने भन्ने हो । अहिलेको व्यवस्था अनुसार तपाईंसँग ५० रुपैयाँ छ भने त्यो पैसा लगेर सेयर ब्रोकरलाई दिएपछि उसले तपाईंलाई सय रुपैयाँ बराबरको सेयर किनिदिन्छ । अर्थात् आफूसँग भएको रकमभन्दा दोब्बर बढीको सेयर किन्न पाइन्छ । अझ प्रष्ट होऔं- सेयर धितो कर्जामा सय रुपैयाँको सेयर धितो राख्दा ७० रुपैयाँ ऋण पाइन्थ्यो । यही पैसाले सेयर किन्ने हो । मार्जिन कारोबारमा ५० रुपैयाँ लगेर ब्रोकरलाई दियो भने उसले ५० रुपैयाँ ऋण दिएर सय रुपैयाँको सेयर किनिदिन्छ । सय रुपैयाँको सेयर धितो राखेर ७० रुपैयाँ ऋण लिएर सेयर किन्नुभन्दा ५० रुपैयाँ दिएर सय रुपैयाँको सेयर किन्न पाउनु पक्कै पनि राम्रो कुरा हो । मार्जिन कारोबार सेयर लगानीकर्ताको लागि खासै आकर्षणको कुरा होइन । यो त सेयर कारोबारीहरुका लागि हो । लगानीकर्ता भनेको लामो समयका लागि सेयर किनेर बस्नेहरु हुन् । लामो समय भनेको कति समय हो भन्ने प्रश्न पनि आउँला । हाम्रो सन्दर्भमा एक वर्षभन्दा बढी समयको लागि सेयर किन्नेहरुलाई लगानीकर्ता मान्ने चलन छ । कारोबारी भनेको आफूले किनेको सेयरमा केही फाइदा पाउने वित्तिकै बेचिहाल्ने र फेरि फाइदा हुने जस्तो लागेको कम्पनीको सेयर किनिहाल्ने व्यक्तिहरु हुन् । मार्जिन कारोबारको प्रयोग किन भएन भनेर चर्चा गर्न लागेको, कता अल्मलिए जस्तो पो भएछ । मार्जिन कारोबार सम्बन्धी कानुनी व्यवस्था भइसकेको छ । पुँजी बजार सम्बन्धी सरोकारवालाहरु, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, ब्रोकर, लगानीकर्ता जसलाई सोधे पनि मार्जिन कारोबार अहिले अभ्यासमा छ भन्छन् । ब्रोकरसँग अहिलेसम्म कति जनाले यस्तो सुविधा लिए भनेर सोध्यो भने कसैले पनि लिएका छैनन् भन्छन् । त्यसो भए समस्या कहाँ छ त ? यसको समस्या भनेको नै मार्जिन कारोबार खासगरी भन्ने हो भने मार्जिन कर्जा कार्यान्वयन गर्न कसैले पनि चासो नदेखाएर हो । भन्नको लागि र देखाउनको लागि नयाँ उपकरणको रुपमा मार्जिन कारोबार थपिए पनि कार्यान्वयको लागि सरोकारवाला कसैले पनि चासो देखाएका छैनन् । सबैभन्दा ठूलो समस्या त यसबारेको बुझाईमै छ । बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर लिइने कर्जा र यो मार्जिन कर्जा उस्तै हो भन्ने बुझाई पनि यसको कार्यान्वयनको बाधक हो । अहिलेसम्म सेयर धितो राखेर बैंक वित्तीय संस्थाबाट लिइने सेयरधितो कर्जा जे प्रयोजनमा पनि प्रयोग गर्न पाइन्छ । तर, मार्जिन कर्जा भनेको सेयर किन्ने प्रयोजनको लागि मात्रै हो । यस्तो कर्जा बैंक वित्तीय संस्थाले दिँदैनन् । सेयर ब्रोकरसँग दिने कर्जा हो । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले मार्जिन कर्जा सुविधा अन्तर्गत लिइएको रकम कुनै एउटा कम्पनीको सेयर किन्न १० प्रतिशत मात्रै लगानी गर्न पाइन्छ भनेको छ । अर्थात तपाईले कुनै ब्रोकरसँग १ लाख रुपैयाँ मार्जिन ऋण लिन चाहनु भयो भने एउटा कुनै कम्पनीको १० हजार रुपैयाँको मात्रै सेयर किन्न पाउनु हुन्छ । कम्तिमा पनि १० वटा कम्पनीको सेयर किन्नै पर्ने वाध्यतामा तपाईं फस्नु हुन्छ । तपाईंले बढीमा ९ वटा मात्रै कम्पनीमा मूल्य बढ्ने सम्भावना देख्नुभयो भने पनि अहिलेको प्रावधान अनुसार मार्जिन कर्जा उपयोग गर्नु उपयुक्त नै हुन्न । यति साँघुरो मापदण्ड बनाइएको छ । यसको अर्काे समस्या भनेको ब्रोकरको पुँजी क्षमता हो । अहिले धितोपत्र बोर्डले सेयर ब्रोकरको चुक्ता पुँजी कम्तिमा २ करोड रुपैयाँ हुनुपर्छ भनेको छ । २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरले मार्जिन कर्जा दिन सक्ने अवस्था पनि छैन । मार्जिन सुविधा अनुसार ब्रोकरले ऋण दिएका सेयरलाई धितोको रुपमा ब्रोकरले प्रयोग गरेर बैंक वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था हुनुपर्छ भनिरहेका छन् । यसो भए पुँजीको व्यवस्था गर्न सहज हुने र मार्जिन कारोबार बढ्न सक्ने आँकलन ब्रोकरको छ । मार्जिन कारोबारको लागि बनाइएको मापदण्ड अनुसार अहिले सुचिकृत भएकामध्ये धेरै कम्पनी योग्य हुदैनन् । यसका मापदण्ड निकै कसिला छन् । यसमा पनि केही सहजीकरण आवश्यक छ । मार्जिन ऋणका लागि लगानीकर्ताले चासो नदेखाएका छैनन् । ब्रोकरले वास्ता गरेनन् । नेप्से तथा धितोपत्र बोर्ड उपकरण ल्याएका छौं भनेर भन्छन् तर प्रभावकारी कार्यान्वयनको पहल गर्दैनन् । यो प्रडक्ट प्रभावकारी कार्यान्वयन गर्ने हो भने नेपाली पुँजी बजार थप तरल बनेर कारोबारलाई प्रोत्साहित भने गर्नेछ ।

टाईसुट छ, कमाई राम्रो छ, सामाजिक काम गर्न पाइन्छ

बीमा भन्ने बित्तिकै एउटा सुरक्षणको पाटो भयो भने अर्को बचतको कुरा आउँछ । लगानी भन्नाले आर्थिक क्षेत्रमा उद्यमशीलता छ भन्ने हुन सक्छ । तपाईंको पेशासँग सम्बन्धित आर्थिक क्रियाकलापसँग संलग्न नहुनुस् भनेर बीमाले भन्दैन । त्यसैकारण अन्य कुनै पेशा व्यवसायमा संलग्न व्यक्ति पनि बीमा क्षेत्रसँग प्रत्येक्ष परोक्ष जोडिएर काम गर्न सक्ने अवस्था रहन्छ । बीमाले उद्यमशिलतामा गर्नुस्, साथसाथै आफ्नो भविष्य सुनिश्चित गर्नको लागि आफ्नो लागि सुरक्षण गर्दै जानुस् भन्छ । जोखिमको सुरक्षा गर्ने र थोरै थोरै फजुल खर्च घटाएर बीमाका लगानी गर्दै जान सकिन्छ । बचत गर्ने प्रकृयाले नै भविष्यमा प्रतिफल पनि दिन्छ । प्रतिफल दिने भएकोले बीमामा लगानी गर्ने भनिएको हो । अर्को भनेको कुनै पनि उद्योग खोल्नका लागि ५ लाख लाग्ने छ भने तुरुन्तै ५ लाख रुपैयाँको आवश्यकता पर्छ । तर, वार्षिक ५० हजार रुपैयाँको दरले २० वर्षको बीमा गराउनु भयो भने १० लाख बिमांक बराबरको बीमा गराउन सकिने भयो । बीमाको बोनसदर अनुसार बिमांक रकम सोभन्दा कति बढी आउँछ भन्ने अर्काे सम्भावना भने बाँकी नै रहन्छ । अर्काे फाइदा, ५० हजार रुपैयाँ तिरेर बीमा गराएको व्यक्तिको बीमा अवधि पूरा नभई वा तुरुन्तै नै कुनै कारणवस मृत्यू भयो भने बिमांक रकम १० लाख रुपैयाँ तत्काल पाइन्छ । तर, आजको दिनमा नै बैकमा ५० हजार रुपैयाँ राख्नुभयो भने त्यस्तो हुँदैन । हाम्रो कानुनी संयन्त्रहरुले जीवन बीमालाई लगानी बीमा भनेका छन् । लगानी बीमा भन्नुको कारण अहिलेदेखि बीमामा पैसा हाल्नुभयो भने त्यसले भोलि ठूलो प्रतिफल दिन्छ भन्ने हो । दीर्घकालिन प्रकृतिका क्यास भ्यालू पोलिसीहरु छन्, तिनीहरुलाई लगानी बीमा भनेको हो । त्यहाँ लगानीको प्रकृया के हुन्छ भने बीमामा लगाउन २० हजार रुपैयाँले ५ लाख रुपैयाँ बराबरको बीमा हुन्छ । तर, २० हजार रुपैयाले ५ लाख लगानी गरेर खोल्नुपर्ने उद्योग खोल्न सकिदैन । लगानी भनेको आफ्नो जीवनलाई व्यवस्थित गर्नको लागि, जोखिम सुरक्षण गर्नको लागि गरिको व्यवस्था हो । जीवन बीमाको मुख्य उदेश्य भनेको जोखिमको सुरक्षा गर्ने हो । दोस्रो कुरा बचत हो । युवा सहभागिता बीमा भनेको प्राविधिक विषय हो । बीमा बुझ्यो भने सहज छ । बीमाले कसैलाई कुनैपनि भेदभाव गर्दैन । बीमा गराउनु भनेको सामाजिक कार्य पनि हो । यही रुपमा बुझेर पनि युवावर्ग बीमा क्षेत्रमा आउनु पर्छ । दक्षता भएका युवा बीमा क्षेत्रमा आवश्यक छ । युनिभर्सिटीमा डिग्री लिदैमा बीमा गर्न सक्छ भन्ने छैन । यो सामाजिक घुलमेलसँग समेत सम्बन्धित हो । युनिभर्सिटीले निकालेका विद्यार्थीले पनि केही अनुभव हाँसिल गर्न आवश्यक छ । सवा एक लाख युवा अहिले बीमामा सक्रिय छन् । २० हजार युवा त बीमा क्षेत्रमा कर्मचारी नै छन् । यस्तै, राज्यले बीमामा सहभाागिता बढाउन युवा लक्षित कार्यक्रमहरु संचालन गर्न आवश्यक छ । युवालाई बीमामा आउ भनेर आव्हान गरेर मात्रै हुँदैन । अवसर दिएर नै सहभागिता बढाउन सकिन्छ । बीमा क्षेत्रमा काम गर्नेहरुलाई पनि केही चुनौतिहरु पक्कै छन् । यो क्षेत्रमा विश्वसनियताको प्रश्न उठ्न सक्छ, पारदर्शिताका पश्नहरु उठ्न सक्छ, प्रोफेसनालिजमकै प्रश्न उठन् सक्छ । त्यसकारण बीमा यस्तो आर्थिक क्षेत्र हो, यहाँ धैर्यता भएका युवामात्र टिक्न सक्छन् । बीमा क्षेत्रमा काम गर्ने सबै जना टाइसुट नै लगाएर हिडछन् भन्ने छैन । तर बीमा सेवा र कमाई दुवै हुने पेशाँ भने हो । भर्जिन ल्याण्ड होइन आजको दिनमा बीमा क्षेत्र भर्जिन ल्याण्ड होइन । हाम्रोमा बीमा क्षेत्रको २००४ सालदेखि आजसम्म आइपुग्दा ७३ वर्षको इतिहास छ । ७३ वर्षसम्म बीमा औपचारिक रुपमा संचालन भइरहेको छ । बीमा क्षेत्र उद्योगको रुपमा विकास भइरहेको छ । कोरोना महामारीको असर बीमा क्षेत्रमा परेपनि कम्पनीहरुले आफ्नो व्यवसाय बढाएकै छन् । अहिले यही आर्थिक वर्षको कुरा गर्दा पनि असार मसान्त यता बीमा कम्पनीहरुले गत वर्षको भन्दा धेरै परिसुचकमा राम्रो प्रगति गरेका छन् । बीमा आवश्यक भएको व्यक्ति समक्ष बीमा पुग्नु पर्छ भन्ने एउटा पाटो हो भने अर्को भनेको सबैलाई बीमाको फ्रेमवर्क भित्र कसरी ल्याउने भन्ने हो । बीमाको वातावरण बनाउने भनेको नियमनकारी निकायको कुरा हो । यस्तै, राज्यका अरु सबै अंग र संयन्त्रहरुले पनि बीमालाई आफ्नो ठाउँबाट प्रबद्र्धन गर्ने हो । किनभने बीमाले व्यक्तिको आर्थिर रक्षावरणको साथै राज्यको प्राथमिकता र चाहना अनुसारको क्षेत्रमा लगानीको लागि छरिएर रहेको पुँजीलाई एकत्रित गरी मेगा प्रोजेक्ट संचालन गर्न पनि सहयोग पुर्याउँछ । (सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालसँग विकासन्युजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)