कोरोना सन्त्रासको कारण जागिर जानेलाई सामाजिक सुरक्षा कोषले के सहयोग गर्छ ? यसो भन्छन् कोषका कार्यकारी निर्देशक ज्ञवाली

काठमाडौं । संगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा कामदारको सामाजिक सुरक्षाको लागि भनेर सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताले अप्ठेरो परेका बेला कोषलाई सम्झिने हो । किनभने सहज अवस्थामा आफूले कमाएको मासिक रकमको ३१ प्रतिशत कोषमा जम्मा गर्नुभनेको नै अप्ठेरो समयमा आफूलाई र सेखापछि आश्रित परिवारलाई आर्थिक समस्या नआओस् भनेर नै हो । अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण विश्व आर्थिक मन्दीमा जाने संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय मुद्राकोष लगायतका संस्थाले बताइरहेका छन् । मन्दीकै कारण विश्वभर लाखौं मानिसले रोजगारी गुमाउने तथ्य पनि सार्वजनिक भइरहेका छन् । नेपालमा पनि कोभिड १९ संक्रमण विस्तार रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेको छ । सरकारको सो घोषणाको कारण उद्योग प्रतिष्ठान बन्द छन् । व्यापार व्यवसाय ठप्प छ । सेवा क्षेत्र बन्द भएको छ । अत्यावश्यक बाहेकका बस्नु तथा सेवा प्रवाहमा संलग्नहरु अहिले घरमै बसेका छन् । सरकारले लकडाउन घोषणा गरेका कारण आर्थिक क्षेत्र ठूलो समस्यामा परेको छ । यही समस्याको कारण नेपालमा पनि धेरैले रोजगारी गुमाउने अवस्था देखिएको छ । असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको अवस्था अझ दयनीय भएपनि संगठित क्षेत्रमा काम गर्नेहरुलाई पनि समस्या पर्ने करिब पक्का जस्तै भएको हो । यो मन्दीकै कारण नेपालका उद्योग, व्यवसाय तथा प्रतिष्ठानहरु बन्द भएर सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताको नै जागिर गयो भने कोषले केही सहयोग गर्न सक्छ ? सरकारले कोषमा आवद्ध हुनेहरुको लागि चैत महिनाको योगदान रकम दिने भनेकोमा सो रकम कोषको रकमबाट दिइने हो कि सरकारले नै दिने हो भन्ने जस्ता विषयमा विकासन्युजकर्मी सुनिता पुडासैनीले कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीसँग संक्षिप्त कुराकानी गरेकी छन्ः सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकलाई कोरोनाको संक्रमण देखिएको छ कि छैन ? हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध भएका एक जनालाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन । कोषमा आवद्ध भएका श्रमिकलाई कोरोना भाइरसको संक्रमण देखियो भने कोषले के कस्तो सहयोग गर्छ ? कोरोना संक्रमित व्यक्तिले अन्य बेलामा पाइने भनिएको औषधी उपचार खर्च पाउने व्यवस्था छ । महामारीको बेला भनेर कोषले दिने भनेको रकम नदिने भन्ने हुँदैन । कोषले तय गरेको सुरक्षा योजनाहरु सबै लागू हुन्छन् । कोरोना भाइरसकै कारणले कोषमा आवद्ध योगदानकर्ताको मृत्यु भएमा उसको परिवारले पाउने सुविधा पाउँछन् कि पाउँदैनन् ? आश्रित परिवारले पाउने सुविधाहरु रोकिन्न । सबै पाउँछन् । कोरोना संक्रमण त्रासको कारण उत्पन्न भएको असहज परिस्थितिको कारण कम्पनी बन्द भएको खण्डमा कोषले के गर्छ ? कम्पनी बन्द भएको खण्डमा कोषले केही गर्न सक्दैन । यस्तो अवस्था सिर्जना भए पुन अर्काे कम्पनी काम गरेपछि कोषमा आवद्ध भएर रकम जम्मा हुने व्यवस्था छ । चैत महिनामा कोषमा आवद्ध योगदानकर्ताले जम्मा गर्ने रकम सरकारले दिने हो कि कोषले ? सामाजिक सुरक्षा कोषमा के गर्ने भन्ने कुरा सरकारकै हो । योगदानकर्ताले जम्मा गर्ने रकम यो विपद्को घडीमा सरकारले नै दिने निर्णय गरेको छ । त्यो कोषले जम्मा गर्ने होइन्, सरकारले नै दिने भनिएको छ ।

‘यसरी फैलिन्छ अन्धविश्वास’

धेरै अघिको कुरा हो कुनै गाउँमा एउटा मन्दिर थियो । त्यो मन्दिरमा एकजना बृद्ध पुजारी थिए जो विद्वान हुनुका साथै सज्जन पनि थिए । एक दिनको कुरा हो पुजारीले मन्दिरमा पूजा गर्दै गर्दा कतैबाट एउटा कुकुर त्यहाँ आइपुग्यो । त्यो कुकुर भोक र प्यासले छटपटाइरहेको थियो । यस्तो देखेर ती पुजारीलाई दया आयो । उनले पूजालाई बिचमै रोकेर त्यो कुकुरलाई खाना खुवाए र पानी पियाए । कुकुरलाई खाना खुवाइसकेपछि पुजारी फेरी पूजालाई निरन्तरता दिन थाले । पुजारीले पूजा गरिरहँदा कुकुर भने आफ्नो पुच्छर हल्लाउँदै पुजारीको काखमा बस्ने कोशिस गरिरहेको थियो । पूजाको काममा व्यवधान पर्ने ठानेर पुजारीले आफ्नो शिष्यलाई बोलाए र भने कि मेरो पूजा नसकिँदासम्म यस कुकुरलाई बाहिरको रुखमा बाँधिदेऊ । शिष्यले पनि पुजारीले भने अनुसारै गरे । त्यस दिनदेखि त्यो कुकुर मन्दिरमै बस्न थाल्यो र जब पुजारी पूजा गर्न बस्थे शिष्यले कुकुरलाई रुखमा बाँधिदिन्थे । यो क्रम सधैं नै चल्न थाल्यो । केहि दिनपछि पुजारीको मृत्यु भयो । उनको मृत्युपछि उनका शिष्यलाई मन्दिरको पुजारी बनाइयो । ति शिष्य पनि कुकुरलाई रुखमा बाँधेर मात्र पूजा गर्न थाले । केहि वर्षपछि ती नयाँ पुजारीको पनि अकस्मात् मृत्यु भयो । पुजारीको अकस्मात मृत्यु भएपछि मन्दिरका सम्पूर्ण सदस्यहरुले आपसमा मिटिंग राखे र निर्णय गरे कि अबका दिनमा कुकुरलाई रुखमा बाँधेर मात्र पुजारीहरुले पूजा गर्न पाउनेछन् । पूजाको समयमा कुकुरलाई रुखमा बाँध्नैपर्छ भन्ने कुरा एउटा परम्पराको रुपमा बस्यो र त्यो परम्परालाई कडाईका साथ पालना गर्न थालियो । धेरै वर्षको अवधिमा सो मन्दिरमा केहि पुजारीहरुको मृत्यु भइसकेको थियो भने धेरै कुकुरहरु पनि मरिसकेका थिए । तर त्यहाँ नियुक्त हुने पुजारीले जहाँबाट भएपनि कुकुर खोजेर ल्याउनुपर्थ्याे र रुखमा बाँधेर मात्र पूजा ल्याउनुपर्थ्याे । जब कोहि पढेलेखेको मानिसले कुकुरलाई पूजाको समयमा रुखमा बाँध्नुको कारणबारे सोध्थे तब पुजारीको उत्तर हुन्थ्यो कि, ‘यसको ठ्याक्कै कारण त थाहा छैन तरपनि हाम्रो पूर्वजहरुकै पालादेखि चल्दै आएको चलन हो । पूर्वजहरुले विनाकारण त यसो पक्कै गरेनन् होला ।’ वास्तवमा, यो कथामा बताइए जस्ता कति अन्धविश्वासहरु हामीले आजका दिनमा पनि मान्दै आइरहेका छौं । हामीले यो कहिल्यै सोचेनौं कि पूर्वजहरुले जे गरे हुनसक्छ त्यो कुरा उक्त समयमा केहि विशेष कारणले गरे होलान् । तर त्यसलाई आज हामीले परम्पराको रुपमा मानेर निरन्तरता दिने गरेका छौं । यो कुनै एउटा व्यक्ति विशेषको कुरा होइन बरु हाम्रो समाजमा हरेक मानिस कुनै न कुनै अन्धविश्वास अवश्य मानेर बसेको छ र जसलाई पनि सोधौं कि उसले किन यस्तो काम गर्छ तब उसले पनि यहि भन्छ कि यो त हाम्रा पूर्वजहरुले नै गर्दै आएकोले मैले पनि गरेको हुँ । तर अव हामीले गहिरिएर सोच्ने वेला भइसकेको छ कि यस्ता रुढिवादी कुराहरुबाट माथि उठ्यौं भने मात्र हाम्रो विकास सम्भव छ । (हिन्दीसोचडटकम बाट भावानुवाद गरिएको)

बिरामीको सेवा गर्नुपर्दा कहिल्यै बहाना बनाइँन- फ्लोरेन्स नाइटिंगेल

काठमाडाैं । नर्सिंग व्यवस्थालाई सुधार्नकै लागि आफ्नो सारा जीवन लगाएकी हुनाले नै फ्लोरेन्स नाइटिंगेललाई आधुनिक नर्सिंग आन्दोलनको जन्मदाता मानिन्छ । उनको जन्म १२ मई १८२० मा इटली को एउटा सम्पन्न परिवारमा भएको थियो । उनको परिवारमा उनका मातापिता र एकजना बहिनी थिए । फ्लोरेन्सका मातापिताले उनलाई नर्स बनाउन चाहेका थिएनन् । तर उनी भने मानिसहरुको सेवाका लागि नर्स बन्न उचित ठान्थिन् । उनलाई ऐस आरामको जिन्दगीसँग खासै लगाव थिएन । एक पल्टको कुरा हो फ्लोरेन्सकी हजुरआमा बिरामी पर्छिन् र त्यहि बेलामा फ्लोरेन्सले हजुरआमाको रातदिन सेवा गर्ने मौका पाउँछिन् । यो घटनापछि फ्लोरेन्सलाई थप हौसला प्राप्त हुन गई परिवारको विरुद्धमै गएर भएपनि नर्सिंगको पढाई गर्छिन् । फ्लोरेन्सको सपना थियो कि उनी एउटा राम्रो नर्स बन्न सकुन् र बिरामीको सेवा गरुन् । जुन समयमा फ्लोरेन्स नर्स बनेकी थिइन् त्यती बेला अन्य नर्सहरुले बिरामीलाई ठिकसँग हेरविचार गर्दैनथे । तिनीहरु बिरामीको नजिक जान समेत डराउँथे । फ्लोरेन्सले भने निष्पक्ष भावबाट बिरामीहरुको सेवा गर्न थालिन् । उनी बिरामीको नजिक जानमा घिन मान्दैनथिन् । त्यो समयमा उनले सम्पूर्ण नर्सहरुलाई आफ्नो जिम्मेवारीबाट भाग्न दिइनन् । नर्सहरु पनि उनले बताएको बाटोमा हिँड्न थाले । यस सँगसँगै फ्लोरेन्सले हस्पिटलको व्यवस्थालाई सम्हाल्न थालिन् । विस्तारै उनले नर्सिंग आन्दोलनको शुरुआत पनि गरिन् । फ्लोरेन्सले एउटा उत्कृष्ट लेडी नर्सको साथसाथै राम्रो लेखिकाका रुपमा पनि संसारलाई आफ्नो योगदान दिएकी थिइन् । लगन र दृढ विश्वासका कारणनै उनको नर्सिंग आन्दोलन सफल हुन पुगेको थियो । फ्लोरेन्स नाइटिंगेलले आफ्नो योगदान क्रिमिया युद्धको समयमा दिएकी थिइन् । जब क्रिमिया युद्ध चलिरहेको थियो तब त्यो समय उनले घाइते सैनिकहरुको सेवाका लागि भनेर ३८ जना नर्सहरुको दलसहित तुर्कि गएकी थिइन् । जब चिकित्सकहरु जान्थे तब उनी मैनबत्ती बालेर भएपनि घाइते सैनिकहरुको सेवा गर्थिन् । ब्रिटिश सरकारको ‘लेडी विथ द कैंप’ को उपाधी बाट र त्यसैगरी ‘रोयल रेड क्रस’ बाट पनि सम्मानित भएकी फ्लोरेन्स नाइटिंगेलको निधन भने १३ अगस्त १९१० मा भएको थियो । आफ्नो जीवन बिरामीहरुको सेवामै बिताएकी फ्लोरेन्स नाइटिंगेलका केहि भनाइहरु निक्कै नै चर्चित रहेका छन् । ती भनाइहरुले बिरामीको सेवामा अहोरात्र खटिने जोकसैलाई पनि थप उर्जा दिने गरेको छ । यस्ता छन् फ्लोरेन्स नाइटिंगेलका केहि चर्चित भनाइहरुः – मेरो सफलताको सबैभन्दा ठूलो रहस्य यो हो कि मैले कहिल्यै कुनैपनि किसिमको बहानाको सहारा लिइँन । – मलाई पूरा विश्वास छ कि सवैभन्दा ठूलो नायक उही हुन्छ जो घरेलु कामको साथै आफ्नो ड्यूटी गर्ने गर्छ । – कसैलाई गोली लाग्दछ भने सर्जरीको काम भनेको उसको शरीरबाट त्यो गोली निकाल्ने मात्र हो । उसको घाउ त प्रकृतिले नै ठिक गर्दछ । – मलाई मेरो जीवन धनदौलतका साथ गुजार्नु छैन । किनकी मेरो जीवन त मानिसहरुको भलाईको लागि हो । – नर्सिंग एउटा कला हो यदि यसलाई कला बनाइन्छ भने । यसका लागि पाइन आर्टस् प्रति एकदमै उत्कृष्ट भक्तिको जरुरत हुन्छ । – यदि मैले तपाईंलाई आफ्नो जीवनको जानकारी दिन्छु भने मैले यो देखाउनु पर्छ कि एउटा साधारण क्षमता भएकी स्त्रीले अचम्मको र गाह्रो बाटोको नेतृत्व गरेकी छे ।