मुखको साटो हात चलाऔं, दिमागभन्दा बढी दिल

कति दिन गाली गर्नु ? कसलाई कसलाई मात्र गाली गरिरहनु ? एकथरि यति मूर्ख छन् कि उस्तै कमजोरी पटकपटक दोहो¥याउँछन् र कमजोरीका खात लगाउँदै जान्छन् । अर्काथरि छन् जो उनीहरूका कमजोरीका खात खोतल्छन् र एक एक पत्र पल्टाउँदै जान्छन् । उछितो काढ्दै जान्छन् । सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालका निजी भित्ताहरूमा विष वमन गरिरहन्छन् । एकोहोरो धारे हात लगाइरहन्छन् । एकथरि गल्ती दोहो¥याउन अभ्यस्त, अर्कोथरि गाली बर्षाउन । एउटा झुण्ड हिजोका वाचा भुल्नमा काबिल अर्को झुण्ड धोकाका शृङ्खला सम्झँदै त्यसको पर्दाफास गर्नमा । राजनीतिक एवम् सामाजिक जीवनका सिद्धान्तहरू पल्टाउँदा पूर्वीयदेखि पाश्चात्य महान् विद्वान् एवम् दार्शनिकका खारिएका सिद्धान्त र दर्शन एउटै देशमा एकै शताब्दीभित्र सम्पूर्णका सम्पूर्ण असफल तुल्याइदिन सक्ने कस्तो राजनीतिक पुस्ता जन्मियो नेपालमा ? के नेपाली जनतालाई प्रजातन्त्रको बाटो हिँडाउन २००७ सालदेखि आजसम्म अनेक किसिमका आन्दोलनहरू गर्ने नेतृत्वको सत्तरी वर्षको राजनीतिक इतिहास विश्वका दर्शनलाई माझीऔँला देखाउनका लागि गरिएको कसरत मात्र थियो ? राणा शासनदेखि राजतन्त्रविरुद्ध चालेका एकसेएक साहसिक कदम के बच्चाका खेल थिए ? हजारौँको बलिदानी के दिवास्वप्न मात्रै थियो त ? यस्ता अनुत्तरित प्रश्न थुप्रै छन् । प्रश्न राजनीति गर्नेहरूतिर मात्रै तेर्स्याएर हुँदैन । प्रत्येक आन्दोलनमा ज्यानको बाजी थापेर नेतृत्वलाई कदमकदममा दह्रो साथ दिने परिवर्तनका खम्बारूपी जनताहरूतिर पनि उत्तिकै तेर्स्याउन जरुरी छ । के यतिका सिद्धान्त असफल पार्ने दुस्साहसमा जनताको त्यो जमात जिम्मेवार छैन ? के जनता भनेको आफूले लगाएको फाटेको चप्पल चुँडिँदा पनि नेतालाई सुकिलो बनाइराख्न काँध खियाउने दस्ता मात्रै हो ? हिमाली काखमा हुर्केको शीतल छातीमा तातो गोली थाप्ने साहसी योद्धा मात्रै हो ? या हर दशकमा प्रजातन्त्र नामको सुनचरी पाउने चाहनामा रगतको नहर बगाएर नेपाली माटो सिँचाई गरिरहने रक्तकुण्ड हो ? कि निश्चित सङ्ख्याका नेताहरूको सुखका लागि आफ्ना निधारबाट सधैँ सधैँ पसिनाका रुप्से छहरा झारिरहने रसिलो पहाड ? कुन रूपमा व्याख्या गर्दा नेपाली जनतामाथि खासमा न्याय हुन्छ ? जनताले बाँचेको यो पौने शताब्दीको सही व्याख्या कुनचाहिँ उदाहरण वा बिम्बले गर्न सकिन्छ ? यो बहस एकपटक थाल्न जरुरी छ । एकपटक थाल्ने र पटकपटक विमर्श गर्ने गरी यो बहसको जबरदस्त थालनी हुनु आवश्यक छ । सुन्दै आएकै हो, पढ्दै आएकै हो, “इतिहासमा जनताले कहिल्यै हारेको छैन ।” के नेपालमा प्रजातन्त्र प्राप्तिको लडाइँको यो सत्तरी वर्षमा जनताले जितेको कुनै मोड छ ? जनताको खल्तीले कहिल्यै न्यानो महसुस गरेको छ ? जनताको तिर्खाएको घाँटीले कहिल्यै चिसो पानी पाएको छ ? लर्खराएका जनताका गोडाले कहिल्यै प्रजातन्त्र नामको अमूर्त वस्तुलाई मूर्त रूपमा वैशाखीका रूपमा प्राप्त गरे ? उखुबारीमा तातो रगत बगाएर चिसो मुर्दा लडेका नानीहरूको आत्माले कहिल्यै न्यायको स्वास फेर्न पाएको छ ? बारीमा पसिना बगाउने किसानले पसिनाको न्युनतम मूल्य कहिले पाए ? किसानको पसिनाले थकाइ मारेर चौतारीमा सुस्ताउँदै सन्तोषको सास फेर्न नपाएको प्रजातन्त्रले अरू कसमाथि कुन बखत न्याय गर्ला भनेर आश गर्नु ? पसिनाको तातो बाफमा पिल्सिएको बाजेको पुस्ताले बाबुको पुस्तालाई गाउँबाट पर कतै सहरतिर पठायो । सहरमा अडिन नसक्नेहरू हावामा बाँकटे हान्दै सात समुद्र पारि पुगे । सहरका गल्लीमा फोहोरसँग मोहोर साटेका र सात समुद्रपारि विषम हावापानी झेल्दै गाँस कटाएर छोराछोरीको पुस्ताका लागि सुन्दर सपनाको खेती गरेर पठाएको पसिनाको कमाइमाथि महङ्गीको तातो पन्युँ बजारेपछि र दलालतन्त्रको ‘रेम्बो नाइफ’ धसेपछि आज नातिपुस्ताले समेत आफ्नो कालो भविष्यमा चाँदीको घेरा देख्न सक्ने स्थिति छैन । यस्तो अवस्थामा गिद्धले लुछिसकेपछिको अस्थिपञ्जरमा मासुको अंश खोजेझैँ कहाँनिर खोज्नु जनताको जित ? जनताले जितका लागि लडाइँ लड्दै आए तर लडाइँकै नाइकेद्वारा सधैँ धोका पाउँदै आए । प्रजातन्त्रको पूर्ण उपभोग गरेर समृद्ध जीवन जिउने जनताको सपना तुहाएर जनतालाई हारको हार (माला) पहिर्याउने काम प्रजातन्त्रको ठेक्का लिएको मानिएका नेताहरूले अनवरत गर्दै आए । जनताले नेताका हरेक अभियानमा उत्तिकै साथ दिँदै आएका छन् । जनताको निसर्त साथ र निःस्वार्थ सहयोगको बदलामा नेताले दिँदै आएको धोकाले सिङ्गो देश नै असफल बन्ने सङ्केत यतिबेला ठूलो पर्दामा देखा परिरहेको छ । यही अवस्था निरन्तर रहनु भनेको जनतामा राजनीतिक व्यवस्थाप्रति नै चरम अविश्वास बढ्दै जानु हो । अविश्वासको यो मनोविज्ञान तयार हुन नदिन नेपालको वर्तमान राजनीतिक नेतृत्वले कुनै पनि परिवर्तनका सङ्केत देखाएको छैन । तसर्थ जनस्तरबाटै राजनीतिलाई सम्मानित क्षेत्रका रूपमा स्थापित गर्न एउटा फरक पहल थाल्नुपर्ने बेला आएको छ । नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान दिएर अघिल्लो पुस्तालाई बोल्न सक्ने बनायो तर काम गर्न सक्ने बनाएन । सैद्धान्तिक ज्ञानलाई प्राधान्य दिएका कारण पनि उक्त पुस्तामा ज्ञान भएका तर सिप नभएका व्यक्तिको सङ्ख्या अधिक छ । सिपविना परिवर्तनको आश गर्नु मुर्खतासिवाय केही होइन । प्रजातान्त्रिक आन्दोलनको सुरुआती चरणमा जस्तो वर्तमानमा जनताको चेतनास्तर न्युन छैन । तसर्थ पनि इतिहासका कालखण्डमा प्रजातन्त्रका लागि योगदान दिएको वर्तमान शीर्ष नेतृत्व आफैँ परिवर्तन हुन तयार नभएमा जनताले समय कुरिरहनु जरुरी छैन । जनता व्यावहारिक रूपमा यसरी तात्नुपर्यो कि त्यसले नेतृत्वलाई स्वतः परिवर्तनका लागि झकझक्याउनका सकोस् । नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान दिएर अघिल्लो पुस्तालाई बोल्न सक्ने बनायो तर काम गर्न सक्ने बनाएन । सैद्धान्तिक ज्ञानलाई प्राधान्य दिएका कारण पनि उक्त पुस्तामा ज्ञान भएका तर सिप नभएका व्यक्तिको सङ्ख्या अधिक छ । सिपविना परिवर्तनको आश गर्नु मुर्खतासिवाय केही होइन । पछिल्लो समयमा प्रविधिको विकासले मानिसलाई गर्न सक्ने पनि बनाएको छ । वर्तमान पुस्तामा गर्न सक्ने सिप र क्षमता दुवै भएकाको सङ्ख्या उल्लेख्य छ तर इच्छाशक्तिको भने चरम अभाव छ । अघिल्लो पुस्ताले दिएको राजनीतिक, सामाजिक र आर्थिक संस्कारमा वर्तमान पुस्ता ढुक्क हुन सकेको छैन । त्यसैले पनि आफ्नो सिपलाई व्यावसायिकतामा परिणत गर्ने साहस देखाउन वर्तमान पुस्ता आनाकानी गरिरहेको छ । यो स्थिति सिर्जना हुनु परिवर्तनका लागि निकै ठूलो दुर्भाग्य हो । देशमा गर्नुपर्ने काम एउटा छ, देशको शीर्ष नेतृत्व अर्कैतिर रुमल्लिइरहेको छ । ‘टाउको दुख्या औषधी नाइटोमा लाई’ भन्ने कुरालाई चरितार्थ गर्दै आएको वर्तमान नेतृत्वलाई सबक सिकाउनका लागि जनस्तरमा चेतना र व्यावहारिक परिवर्तनको ठुलै आँधी जरुरी छ । त्यसैले त्यो आँधीयुक्त पहल यथाशीघ्र थालिनु पर्दछ । चेतनशील बन्नु भनेको भन्न सक्ने बन्नु मात्रै होइन । आलोचना गर्न सक्ने बन्नु मात्रै त झनै होइन । बुझेको कुरा व्यवहारमा लागु गर्दै जीवनका अनेक सम्भावनाको स्पष्ट रेखा कोर्न सक्ने बन्नु बल्ल चेतनशील हुनु हो । जति कुरा हामी जान्दछौँ त्यति सबै कुरा गर्न सक्दैनौँ । व्यावहारिक ज्ञान र सिपको प्रयोग गरेर आफ्ना वरिपरिका सम्भावनालाई यथार्थमा परिणत गर्न भने अवश्य सक्छौँ । आजसम्म प्रजातन्त्र प्राप्तिका नाममा आन्दोलनरत पुस्ताले राजनीतिक परिवर्तनबाहेक अर्को सम्भावना नै देखेन । अधिकार प्राप्त हुनु भनेको जनताको जीवनस्तर आफसेआफ उकासिनु किञ्चित होइन, जीवनस्तर परिवर्तनका लागि आधार तयार हुनु हो । राजनीतिक अधिकारको प्राप्तिले सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिकलगायत अन्य अधिकार प्राप्त गर्न पृष्ठभूमि तयार पार्ने हो । नेपालको नेतृत्वले राजनीतिक परिवर्तन नै साध्य हो भनेर बुझ्यो र बुझायो । सिङ्गो जनमानस त्यसैका पछिपछि लाग्यो । यसको परिणाम राजनीतिक परिवर्तनको उच्चतम बिन्दु (सङ्घीय गणतन्त्र)मा आइपुग्दा पनि सर्वसाधारण जनता सामान्य सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको उपभोगसम्म गर्न सक्ने अवस्थामा पुगेका छैनन् । राजनीतिक परिवर्तनलाई साधन/माध्यमका रूपमा ग्रहण गरी जनताको जीवनस्तरमा आएको परिवर्तनलाई साध्य मान्न सकेका भए आज यो मुलुक परिवर्तनको उदाहरण पस्कँदै विश्व रङ्गमञ्चमा शानका साथ उभिएको भेटिन्थ्यो । तर बिडम्बना, त्यो अवसर यो मुलुकले प्राप्त गरेन । तसर्थ पनि समाजको चेतनशील वर्गको प्रतिनिधित्व गर्ने वर्तमान पुस्ताले यो समय ठुलो बलिदानी दिनुपर्ने समय आएको छ । युग परिवर्तनको एउटा स्पष्ट खाका कोरेर भावी पुस्तालाई त्यसमा सहजै दौडने प्रेरणा र ऊर्जा थप्नका लागि बौद्धिक, सचेत र व्यावहारिक बलिदानी दिनुपर्ने दायित्व यो पुस्तामा छ । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ…’ भनेर गायक रामेशले भनेझैँ एकपटक फेरि सिङ्गै देश उठ्नुपर्ने बेला आएको छ । आवाज मात्रै लिएर उठ्ने बेला घर्किसकेको छ । ज्ञान मात्रै बोकेर हिँड्ने समय सिद्धिसकेको छ । यो समय त सिप रोपेर सिर्जना फुलाउनुपर्ने समय हो । देशको उत्पादनले दशकौँसम्म शिशिरको तुसारो भोगिसक्यो, वर्तमान पुस्ताले वासन्ती यामलाई बोकेर हिँड्नुपर्ने छ । स्वदेशी जनशक्तिले, स्वदेशी सिप र प्रविधि विकास गरी त्यसलाई उत्पादनमा लगाउँदै बस्ती बस्ती सिँगार्नु छ । यो देशका सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्नु छ । यसो गर्न सकियो भने परनिर्भर बन्दै गएको नेपाली समाज आत्मनिर्भरताको मोड समात्न सक्षम हुनेछ । सारा जनतालाई परनिर्भर बन्न बाध्य बनाएको नेपालको नेतृत्वले आफू वर्तमानबाट इतिहास नबन्दै देश यसरी परिवर्तन गर्न पनि सकिने रहेछ भन्ने पाठ सिकेर आकाशमार्गको बाटो तताउलान् । तिनलाई सबक सिकाउनु युवाको दायित्व हो । तिनलाई पश्चात्तापको अग्निमा भकभकी उम्लिने बनाउन सकियो भने भावी पुस्तालाई त्यो अमूल्य ज्ञान पस्कन पनि वर्तमान पुस्ता सक्षम हुने निश्चित छ । उत्पादनमुखी जीवनशैली अपनाउन सकेमा सम्पूर्ण नेपालीमा एउटा दिव्यज्ञान प्राप्त हुनेछ । दिव्यऊर्जा प्राप्त हुनेछ । त्यसैले अबको पुस्ताले सिर्जनात्मक विरोध गर्ने हो । घोषणापत्रमा कुनै काम गर्नेछु भनेर पाँच वर्षका लागि जनमत पाएर निर्वाचित जनप्रतिनिधिले चार वर्षभरिमा उक्त योजना थालनी नै गरेन भने उक्त नेताको पुत्ला नजलाइयोस् । उसका विरुद्ध विषवमन गरी सहस्र गाली नगरियोस् । के गरियोस् त ? गरियोस् के त भन्दा उक्त व्यक्तिलाई नेतृत्वबाट सर्वसाधारण व्यक्तिमा झार्ने सामूहिक सङ्कल्प गरियोस् र आगामी निर्वाचनमा उम्मेदवार बन्ने र निर्वाचित हुने सम्भावना सबै क्षीण पारियोस् । तर त्यो कसरी ? जनताले आफ्नै पहलमा सिङ्गो समाज मिलेर उक्त परियोजना बाँकी रहेको एक वर्षमा निर्माण थालोस् र यथाशीघ्र सम्पन्न गरोस् । वर्तमान पुस्ताले रचनात्मक कार्य गर्न जरुरी छ न कि फेरि रत्नपार्क र माइतीघरमा धर्ना र नाराबाजी । चर्का नारा र लोभलाग्दा सपनाले मात्रै परिवर्तन सम्भव छैन, परिवर्तनका लागि त इच्छाशक्तिसहितको काम चाहिन्छ । लामो समयको शान्ति र विकासको अभाव पूरा गर्नका लागि योजनाको द्रुततर विकास र तीव्र कार्यान्वयन आवश्यक छ । वर्तमान सचेत पुस्ताले त्यो गति पक्रन आवश्यक छ । साथै सञ्चारमाध्यममा नेतृत्वले जिम्मेवारी पूरा नगरेको झोँक मात्रै पोखिएका सामग्रीलाई प्राधान्य दिन छाड्नुपर्छ । नेतृत्वले पूरा गर्न नसकेका वाचा जनता आफैँ विकास निर्माणमा जुटेर पूरा गरेका समाचारलाई अबको समयमा मिडियाले व्यापक बनाओस् । यस्ता सिर्जनात्मक कार्यबाट उक्त नेतृत्वलाई आफूले जिम्मेवारी निभाउन नसकेको पराजित मानसिकतामा पुर्याउन सकेमा टपर्टुइयाँ नेताहरूमा नेतृत्वमा रहने भोक हराउने सम्भावना प्रबल हुन्छ । यसले क्षमतावान् र जुझारु व्यक्ति मात्रै नेतृत्वका लागि तयार रहने संस्कारको थालनी हुन्छ । यसले राजनीतिलाई सङ्लो बनाएर लैजान्छ । वर्तमान पुस्ताले यस प्रकारका रचनात्मक कार्य गर्न जरुरी छ न कि फेरि रत्नपार्क र माइतीघरमा धर्ना र नाराबाजी । चर्का नारा र लोभलाग्दा सपनाले मात्रै परिवर्तन सम्भव छैन, परिवर्तनका लागि त इच्छाशक्तिसहितको काम चाहिन्छ । लामो समयको शान्ति र विकासको अभाव पूरा गर्नका लागि योजनाको द्रुततर विकास र तीव्र कार्यान्वयन आवश्यक छ । वर्तमान सचेत पुस्ताले त्यो गति पक्रन आवश्यक छ । हालसम्म नेतृत्वले दोहोर्याउँदै आएका कमजोरीको एकोहोरो बद्ख्वाइँ गरेर देश बन्दैन भन्ने कुरामा वर्तमान पुस्ता प्रष्ट हुन जरुरी छ । आजसम्म अघिल्लो पुस्ताले गरेका कमजोरीबाट पाठ सिकेर त्रुटि सच्याउँदै भोलिको सुन्दर खाका तयार गर्ने जिम्मेवारी वर्तमान पुस्ताको हो । अरूलाई काम गर्न नसकेको आरोप लगाउन पानी पिएजत्तिकै सहज छ तर त्यही काम आफूले गरेर देखाउन पर्यो भने दाँतबाट पसिना निस्कन्छ । तसर्थ अबको पुस्ताले अरूका कमजोरीमाथि आलोचनात्मक दृष्टि राखेर मात्रै पुग्दैन, समाधान पस्कन सक्नुपर्छ । तिमीहरूले यस्तो यस्तो गल्ती गर्यौ, खासमा त्यो काम यसरी प्रभावकारी गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी हो वर्तमान पुस्ताको । त्यसैले प्रविधिको समुचित प्रयोग गरी समयसापेक्ष परिवर्तन पस्कनका लागि वर्तमान पुस्ता तम्तयार भएर लाग्नुपर्ने समय आइसक्यो । त्यसको घन्टी बजिसक्यो । राजमार्गका घुम्तीमा अर्काले अनुदानमा राखिदिएका ऐनाहरू झर्यामझुरुम फुटाउनेहरू पनि वर्तमान पुस्ताकै पात्रहरू हुन् । आफैँ केही नगर्ने तर अर्काले गरेकोलाई पनि जस नदिने अपजसे संस्कृति विकास हुँदै गएको छ । यो देशको सर्वाङ्गीण विकासका लागि एउटा दीर्घरोगका रूपमा स्थापित हुने सम्भावना प्रबल बन्दो छ । वैयक्तिक जीवनलाई प्राथमिकता दिएर आफ्ना लागि बाँच्ने व्यक्तिको सङ्ख्या बढ्दो छ । तसर्थ पनि जिम्मेवारीपूर्वक सामाजिक स्वार्थ र राष्ट्रहितमा लाग्ने नयाँ सोच भएको र दृढ इच्छाशक्ति भएको बलियो दस्ता देशव्यापी रूपमा तयार हुनु अत्यावश्यक छ । अन्यथा इन्जिन सिज भएको अवस्थामा रोकिएको सवारी झैँ देशको विकासको गति ठप्प हुनेछ । देशहितमा काम नगरेर देशका लागि बैगुनी बन्दै आएको वर्तमान बैगुनी नेतृत्वलाई गुनले मार्ने शक्ति र साहस दुवै आवश्यक छ । वैकल्पिक शक्ति भन्दै अर्कालाई गाली मात्रै थोपर्ने तर समाज सुधारका क्षेत्रमा माखो नमार्ने समूहको बिगबिगी बढ्ने अर्को कालो सम्भावना उदाउँदो छ । अतिवादलाई पृष्ठपोषण गर्ने यस्ता समूहसँग वर्तमानमा रहेको सिर्जनशील र सिपयुक्त जनशक्ति कडा टक्कर दिने गरी जुध्न तयार हुनुपर्छ । बल्ल अरूको ईशारामा अराजकता मच्चाउनेहरू ठेगान लाग्छन् । मुखको साटो हात चल्ने, दिमागभन्दा बढी दिल चल्ने समूहको खाँचो छ देशलाई अहिले । यस्तो नवीन प्रयोग एकपटक युवाजमातले नगर्ने हो भने असीम सम्भावना हुँदाहुँदै पनि देश असफल बन्ने निश्चितप्रायः छ । अब एउटा कर्मशील प्रयोग सिङ्गो देशको युवाशक्तिले गर्न जरुरी छ । राजनीतिक दलका दलालजस्ता विवेकहीन कार्यकर्ता बन्न छोडेर सिङ्गो देशको असल नागरिक बन्ने सङ्कल्प गर्न जरुरी छ आजका नेपाली जनताले । एकपटक कार्यकर्ता बन्न छोडेर जनता बन्ने पहल थालौँ । एकपटक आलोचना गर्न छोडेर सिर्जनामार्फत् जवाफ दिने दृढतासहितको परिवर्तन प्रारम्भ गरौँ । नबोली गर्ने र अरूलाई सिको गर्न बाध्य पार्ने गरी मौलिक सम्भावनाको पहिचान गरी परिवर्तनको फरक शैली विकास गरौँ । आउनुहोस्, एउटा फरक पहल थालौँ र परिवर्तनको सम्वाहकका रूपमा वर्तमान पुस्तालाई भोलिको इतिहासमा अङ्कित गरौँ ।

विरेन्द्रकाे नाेट, महँगाेमा किनबेच

एक जना महिला मित्रले मैतीदेवि नजिकै घर किन्न लागिछन् । तीन फूटे बाटो भएको धितोमा बैंकले कर्जा दिन मान्दैनन् । सञ्चारकर्मी भएको थाहा पाएपछि बैंकहरु झन टेडिन्छन् । साथीभाईसँग सरसापट गरेर र सहकारीबाट कर्जा लिएर घर किन्न लागेकाे सुनाइन् । गाउँबाट आएकालाई सहरियाले पत्याउन्नन् । होस्टैमा हैसे गर्छु भने । थोरै रकम सापटी दिएँ । ‘मैले बैंकबाट ओडी (कर्जा) चलाएको छु । १४ प्रतिशत व्याज तिरेको छु । साथीसँग म व्याज लिन्न । सकेसम्म छिटो फिर्ता गर्नु’ मैले त्यतिबेला भनेको थिएँ । सापटी लिएको तिथिमिति याद छैन, चेक काटेर दिएको थिएँ । खोज्यो भने ठ्याक्कै मिति पनि थाहा हुन्छ । करिव ८/१० महिना पछि उनले पैसा फिर्ता गरिन् । पैसा फिर्ता पाएको मिति याद छ, यसै दशैंको फूलपातीको अघिल्लो दिन। स्वयम्भू पाउँस्थिति इन्जियिरको अफिसमा बसेर प्रस्तावित भवनको नक्सालाई अन्तिम रुप दिदै थिएँ । साथीको फोन आयो । ‘मुखले केही नभने पनि मनमनले गालिगरिरहनु भएको होला । पैसा जम्मा गरेकी छु, भेटौं न ।’ केही बेरपछि सिटी मल अगाडि भेट्ने कुरा भयो । कोभिडको डरले साथीसँग बस्ने वातावरण पनि भएन । रेष्टुरेन्टतिर पस्ने, कफी खाने प्रस्ताव पनि गरिएन । रसियन कल्चर सेन्टरको अगाडि गाडी साइट लगाएँ । मास्क नखोली फूटपाथमा उभिएर २/३ मिनेट कुरा गर्यौं । साथीले चेक दिने होला भन्ने सोचेको थिए । उनले नोटको बण्डल दिइन् । अचेल नोटसँगै कोभिड आउने डर हुन्छ । विश्वासकै बीच नाेट नगनी फ्रन्ट बक्समा हुत्याउन खोज्दै दिएँ । ‘पैसा गन्नोस् सर’ उनले भनिन् । ‘पछि पुगेन भन्नुपर्ला।’ गनेँ । पुग्यो । थन्याएँ । र, मोटर हुँइक्याएँ । कोभिड महामारीसँगै बजारबाट ल्याइएका किनमेल केही दिन गाडीमै छोड्ने बानी छ । प्रमाणीत र बैज्ञानिक आधार नभए पनि मिल्ने बस्तुहरु किनेर ल्याएपछि केही दिन गाडी मै राख्दा कोरोना घर भित्र नर्छिला कि भन्ने भ्रान्तीले मेरो मनमा बास पाएको छ । त्यो नोटको बण्डल बैंकमा पुर्याउने समय पनि भएन । दशैंअघि त्यसले घरभित्र प्रवेश पनि पाएन । दशैंसँगै खल्ती र दराज रित्तए । त्यो विटोले दराजमा ठाउँ पायो । त्यसपछि डेरीदेखि पेट्रोलपम्पसम्म, कागतीदेखि गुर्जो किन्दासम्म अर्थात जहाँ डिजिटल पेमेन्ट हुँदैन, त्यस ठाउँमा ती नोट चल्ल थाले । भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा भुक्तानी गर्दा चार हजार रुपैयाँ झिकेर दिएँ । काउन्टरको क्यासियर नोट धेरै पटक वल्टाई पल्टाई हेर्यो । मेरो मुखमा हेर्यो । जोरविजोरको झमेलामा नपर्न प्रेस पास गलामा झुण्डाएको थिएँ । परिचय पत्रमा पनि उसले आँखा लगायो । अनि, पेट्रोलको भुक्तानी गरेको कागजको चिट/टुक्रो काट्न मानेन । आफूभन्दा पाको आर्मीको सहयोग लियो । ‘यो नोट कस्तो हो’ उसले सिनियरलाई सोध्यो । क्यासिएरलाई नक्कली नोटको शंका लागेछ । ‘यो उहाँले दिनुभएको हो’ मलाई नक्कली नोट कारोबारी झै किटानी गर्यो । ‘यो राजा विरेन्द्रको पालाको नोट हो । सक्कली हो’ पाका आर्मीले काँचा क्यासिर आर्मीलाई भने । त्यसपछि उनले मलाई हेरेर सफाइ दिन खोजे । र भने– ‘केटाकेटीहरुलाई के थाहा । राजाका पालाका पैसा देख्या पनि छैनन् ।’ पर्समा भएको थप नोटमा ध्यान दिए । सबै नोटमा तत्कालिन राजा विरेन्द्रको फोटो रहेछन् । ज्ञानेन्द्र शाह राजा भएपछि नयाँ नोटमा ज्ञानेन्द्रको फोटो छापिन थालेको, राजा ज्ञानेन्द्र कै पालामा पूर्व राजाहरुको फोटो भएको नोटहरु खिचेर थन्क्याउन र नयाँ राजा छापिएको नोटहरु मात्र बजारमा पठाउन सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको २ दशक पूरा हुन लागेछ । गणतन्त्र स्थापनापछि नेपाली नोटमा राजाको सट्टा सगरमाथाको तस्वीर राख्न थालेको, सगरमाथाको तस्वीर छापिएपछि राजा अंकित नोटहरु खिच्ने र नष्ट गर्न थालेको पनि दर्जन वर्ष नाघिसक्यो । तर दुई दशक पुराना नोट मेरो हातमा कसरी पर्यो ? मनमा आयो । ‘अँ याद आयो । सापाटी फिर्ता आएको पैसा हो यो’ साँच्चै नक्कली परेको भए तीनलाई समाउँथे ।’ भित्री मनको कुरा हो यो । उनको हातमा यो पैसा कसरी पर्यो होला ? मनमा अर्को प्रश्न तेर्सियो । आशंकापूर्ण तर्क धेरै आए । पेट्रोल हालियो, हिडियो । कालिमाटीमा रोकिएर फलफूल किन्न थालेँ । त्यहि विरेन्द्रको फोटो छापिएको नोट दिएँ । व्यापारीले नोट वल्टाई पल्टाई हेर्यो । मेरो अनुहार नहेरी घर्रामा घुसार्यो । मनमा लाग्यो यसले नोट चिन्यो । तिहार नजिकिदै जाँदा दराजको विटो सकिदै गएछ । श्रीमतीले भनिन्–‘घरमा पैसा सकिन लाग्यो । बाटो मिलाएर एटीएम छिर्नु ।’ ‘तिहार खर्च पुग्दैन’–अल्छी मान्दै सोधेँ । ‘दक्षिणा दिनसम्म त पुग्ला’ उनले भनिन् । भाईटिका सम्पन्न भयो । दिदीवहिनी बीचमा बसेर रमाईला कुरा हुँदै थिए । उनीहरुमा नयाँ खुशी देखियो । तिहारमा माइत आएका चेली त्यसैमा खुशी हुन्छन् । कोभिड महामारीको बीचमा पनि सबै दाईभाईलाई टिका लगाउन पाएकोमा अर्को खुशी थियो । त्यसमाथि दक्षिणामा राजा विरेन्द्र भएको हजार रुपैयाँको नोट पाएकोमा उनीहरुमा थप खुशी रहेछ । यो नोट कसको हातबाट आयो ? उनीहरुमा खुल्दुली जाग्यो । ‘मसँग थिए ती नोट’ म बोलेँ । ‘दाई मलाई अरु पनि साटी दिनुस्’ बहिनीहरु सीता र जानुकाले एक स्वारमा हतारिएर भने । ‘छ भने मलाई पनि है’ दिदीले पनि मन्द स्वरमा भन्नुभयो–‘भान्जाले विरेन्द्रको फोटो भएको सबै दरका नोटहरु पाएसम्म संकलन गरिरहेको छ ।’ मलाई भने धेरै मोह भएन । पर्समा हेरेको । विरेन्द्र अंकित थप तीन वटा नोट रहेछन् । ‘यी मेरो हातमा परेका अन्तिम नोट हुन् । एउटा म राख्छु, दुईटा दिन्छु’ निर्णय सुनाईहालेँ । हातैबाट खोसेर दुबै नोट सीताले नियन्त्रणमा लिइन् । जानुकाले जोड बलगर्दा पनि उनले बाँडिनन् । मेरो प्यारो सगरमाथा अंकित नोट मैले फिर्ता पाएँ । उनीहरुले विरेन्द्रको फोटो भएको नोट महँगोमा किनबेच भईरहेको चाल पाएका रहेछन् । क लेखिएको नोट झनै महँगोमा किनबेच हुने गरेकाे उनीहरूले सुनेका रहेछन् । याे विषय मेरो जानकारीमा थिएन । राजा विरेन्द्र छापिएका नोट प्रिमियम मूल्यमा किनबेच हुने गरेकाे विषयले मेरो पनि ध्यानाकर्षण भयो । बास्तविकता के रहेछ भनेर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नोट विभाग प्रमुख रेवतीप्रसाद नेपालसँग जिज्ञासा राखेँ । ‘कुनै पनि नोट अंकित मूल्यभन्दा बढीमा किनबेच गर्न पाइदैन । कानुनतः त्यो दण्डनीय हुन्छ’ उनले भने–‘तर पुराना नोटहरु ऐतिहासिक अभिलेख राख्नेहरुले बढी मूल्य तिरेर पनि किन्ने र राख्ने प्रचलन विश्वभर नै छ । नेपालमा पनि राजा विरेन्द्र भएको नोटहरु धेरै मूल्यका किनबेच हुने गरेको हामीले अनौपचारिक रुपमा सुनेका छौं ।’ बजारमा राजा अंकित नोटहरु नगन्य रहेको उनले बताए । ‘प्रचलित नोटमा शुन्य दशमलव शुन्य १ प्रतिशत भन्दा पनि कम मात्र राजाको तस्वीर भएको नोट पाइन्छ । राजा विरेन्द्र अंकित नोट त झनै विरलै छ’ उनले भने । राजा विरेन्द्र भएको लोपाेउन्मुख नोटको विटो हातमा परेर सकियो । मेरो हातमा क५८ ८६०६१६ नोट मात्र बाँकी छ । नोट विभाग प्रमुख रेवती नेपालका अनुसार यो नम्बर भएको नोट अरु कसैसँग पनि हुँदैन । यो नोट मेरो लागि अमूल्य भयो । अब कसैलाई दिन्न, सरकारले खोसेन भने ।

समाजशास्त्रीय दृष्टिकोणमा तिहार पर्व र कोरोना

हाम्रो देश बहुभाषी, बहुधार्मिक, बहुजाति मानिसहरुले बसोबास गरेको एक सुन्दर राष्ट्र हो । जुन विभिन्न जातजाति, धर्म, संस्कृति, परम्परा, मूल्य, मान्यताहरुले सम्पन्न छ । यहाँ विभिन्न जातजातिहरुले विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् । जस्तै दशै, तिहार, छैट, एकादशी, जितिया, उद्यौली उभौली, तीज, जनैपूर्णिमा, लोसार आदि । यी विभिन्न चाडपर्वहरुले समाजलाई एकसुत्रमा बाँधेर सभ्य समाज निर्माण गरि एकआपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यी हरेक चाडपर्वहरुको आ-आफ्नै किसिमको सामाजिक महत्व र विशेषता रहेको हुन्छ । हाम्रा यस्ता विविध चाडपर्वहरुले समाजमा एकअर्काप्रति सम्मान, सदभाव, अनुशासन, नैतिकता र शान्ति कायम गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । यी विविध चाडपर्वहरु मध्ये तिहार हिन्दुधर्मावलम्वीहरुको दशै पर्व पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यता कै महान सांस्कृतिक पर्व हो । यो पर्वले सामाजिक सांस्कृतिक महत्व र अस्तित्व वोकेको छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागतिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्धितिया तिथिको भाईटिका सम्म मनाईन्छ । यो चाड पाँच दिनसम्म मनाइने भएकोले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी वहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुृनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको पाईन्छ । तिहार भनेको प्रकृति पूजक महान पर्व हो । किनकी वर्षभरि काममा लगाईने पशुपंछी कुकुर, काग, गाई, गोरु र पानीको प्रमुख श्रोत मानिने पर्वतको पूजा गर्नु भनेको प्रेम, सदभाव र मैत्रीको प्रतिक समेत हो । यो पर्व रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्व हो । जसमा पिङ्ग खेल्ने दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान खाई भव्यरुपमा हर्षो उल्लासका साथ मनाईने गरिन्छ । तिहार पर्वलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा यो पर्व एक पारिवारिक पुनर्मिलनको महान पर्व हो । समाजका सामाजिकिय विभिन्न आवश्यकताहरु हुन्छन् । ती आवश्यकताहरुले समाजका विभिन्न अवयवहरुको निर्माण हुने गर्दछन् । मानिसहरुका विभिन्न आवश्यकताले सामाजिक तत्वहरुको उत्पत्ति र अन्त्य पनि हुने गर्दछ । मानिसका आवश्यकताहरु भौतिक अभौतिक दुवै हुन सक्दछन् । यो पर्व दाजुभाई र दिदिबहिनी बीच प्रेम र सुमधुर सम्बन्ध स्थापित गर्ने र एकआपसमा मायाप्रेम, सुख दुःख साटासाट गर्ने एक पवित्र चाड हो । यो मिलन भौतिक र भावनात्मक दुवै हो । यो पर्वले जीवजन्तु, पशुपंक्षी तथा प्रकृतिसंग मानव जातिको सम्बन्ध अन्योआश्रित रहेको हुन्छ भन्ने संकेत गरेको आभाष हुन्छ । किनकी पशुपंक्षी, प्रकृति र मानव जातिको सम्बन्ध नङ्ग र मासुको जस्तै रहेको हुन्छ । एक विना अर्कोको अस्तिन्व नै रहन सक्दैन भन्ने कुरा तिहार पर्वले प्रष्ट्याएको पाईन्छ । लेखक काग र कुकुरलाई यमराजको सन्देश वाहक मान्ने धार्मिक मान्यता हाम्रो समाजमा रहेको पाईन्छ । तिहारमा कागलाई सन्देश वाहकको रुपमा पूजा गरिने धार्मिक परम्परा रहि आएकोछ । यसले मानिसको वातावरणसँगकाे गहिरो सम्बन्ध रहेको प्रष्ट हुन्छ । त्यसैले काग तिहारलाई सिंगो ईकोसिस्टमलाई पूजा गर्ने नेपाली परम्पराको सिम्वोलको रुपमा हेर्न सकिन्छ । कुकुर यमराजको सन्देश वाहक मान्ने धार्मिक विश्वास र मान्यता भएको एव कुकुरले घर परिवारको साथै गाँउघरको सुरक्षा गर्ने गर्दछ । त्यसैले कुकुर तिहारमा कुकुरको ससम्मान पूजा गरिन्छ । मानिसको अस्तित्वका लागि प्रकृति र पशुपंक्षीको अस्तित्वको अनिवार्यतालाई स्वीकार्ने भावनात्मक संकेत प्रकृति र पशुपंक्षीहरुको ससम्मान पूजा गर्नुले प्रष्ट पार्दछ । प्रकृति र पशुपक्षीहरुको पूजा गर्ने परम्परा मान्यता अरु जेजस्तो भए पनि यो पर्वले मानिसको सामाजिक सम्बन्ध र भावना अभिव्यक्त गरिरहेको स्पष्ट हुन्छ । तिहारको सबै भन्दा महत्वपूर्ण पूजा मानिसको पूजा हो । तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्धितीया तिथिका दिन यो पर्व विशेष उत्साह र महत्वका साथ मनाईन्छ । त्यसैले तिहारको अन्तिम दिन गरिने भाईटिकालाई भाईपूजा भन्ने पनि गरिन्छ । यो दिन दाजुभाईको सुस्वास्थ्य र दीर्घायूको कामना गरि दिदिबहिनीले विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने मेवा मिष्ठान आदि मनपर्ने कुरा खुवाउने र दाजुभाईले दिदिवहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेकोछ । यसरी दिदिवहिनीहरुले दाजुभाईको पूजाआजा गरि आत्मियताको सम्बन्ध स्थापित गर्दै मनोवैज्ञानिक संन्तुष्टि प्राप्त गर्दछन् । नेवारी समाजमा आफ्नो पूजा गर्ने म्ह पूजाको परम्परा रहेकोछ । यो नेवारी परम्पराले आफैले आफैलाई सम्मान र विश्वास गर्नुपर्छ भन्ने दर्शनको प्रतिनिधि गरिरहेको स्पष्ट हुन्छ । यसले समाजमा सामाजिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको प्रष्ट हुन्छ । तर आजभोली तिहार मनाउने तरिकामा परिवर्तन भएको पाईन्छ । किनकी आज विभिन्न प्रविधिको विकास, परिवर्तित समय र मानिसहरुका विचारहरुले गर्दा समय संगै समाज पनि परिवर्तन हुदै गइरहेको छ । यो समाजको परिवर्तन सँगै हाम्रा चाडपर्वहरु पनि परिवर्तन हुदै गईरहेको पाईन्छ । तिहार मनाउने परम्परामा पनि निकै परिवर्तन भएकोछ । हरेक पुस्तामा तिहारको निरन्तरता परिस्कृत हुदै गएकोछ । आज समाजमा तिहार मनाउने प्रक्रिया र यसलाई बुझ्ने तरिकामा समेत निकै परिवर्तन भएको देखिन्छ । पहिले दिदिवहिनी दाजुभाई एकसाथ भई दुःखसुख वाँड्दै आफ्नोत्वको भावना साटासाट गरि उल्लासमय वातावरणमा तिहार मनाउथे भने अहिले आएर राष्ट्रिय पर्वको अवसर पारी विदाका दिन युवा पुस्ताका होलिडेका ट्रीपको प्लान बन्ने गर्दछ । जसले दाजुभाई र दिदिबहिनी विचको सम्बन्धमा कही न कही कमी आउन सक्ने संम्भावना नरहला भन्न सकिन्न । आजभोली चाडवाडको समयमा विदाको अवसर पारि मानिसहरु घुम्न जाने हुदाँ आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । यसबाट पर्यटक क्षेत्रमा भने केही हदसम्म सुधार भएको महसुस गर्न सकिन्छ । दशै देखि छैठ सम्म आन्तरिक पर्यटनको अवसरको रुपमा मानिन थालिएको देखिन्छ । पर्यटकीय क्षेत्रमा आर्थिक क्रियाकलाप पनि अधिक मात्रामा हुने गर्दछ । यो समयमा मौसम पनि पर्यटनका लागि सुहाउदो हुन्छ । नेपालमा घुमघाम गर्नका निम्ति निकै नै सहज वातावरण बनेको छ । किनकी यहाँ यातायातको सहज पहुँच र पाहुना बस्ने घर होटल होम स्टेहरुको राम्रो व्यवस्था हुदै गएकोछ । जसले चाडपर्वहरुमा घुम्न चाहने मानिसहरुको लागि सुविधा भएको छ । तर यसपालिको तिहार कोभिड–१९ का कारण प्रभावित हुन पुगेको छ । त्यस्तै गरि पहिले दिदिबहिनीले दाजुभाईलाई टीका लगाई विभिन्न उपहार दिने र दाजुभाईले दिदिबहिनीहरुलाई दक्षिणा र सारी चोलो दिने प्रचलन थियो भने अहिले घुम्न लैजाने, दिदिबहिनीले मन पराएको सामान खरिद गर्ने चलन बढेको समाजमा देख्न सकिन्छ । यसरी मध्यम वर्गमा तिहारमा दिईने उपहार पनि फेरिदै गएको पाईन्छ । हुन त दिदिबहिनीहरुलाई लिन जाने वा दिदिबहिनीहरु दाजुभाई कहाँ जाने यातायात खर्च सम्म नभएर भाईटिका गर्न नसक्ने अर्को वर्ग समाजमा नभएको भन्ने चाँहि छैन तर समाज आधुनिकता तिर लम्कदै गर्दा तिहार लक्षित बजारी उत्पालन र विज्ञापनहरुले तिहार नमनाई वस्न सकिने अवस्था पनि छैन । तिहार वढि भन्दा वढि कमर्सियलाइज्ड हुदै गएकोछ । उपभोक्तावादी प्रवृति हावी हुदै गएको देखिन्छ । जसले गर्दा तिहार आर्थिक स्त्तरिकरण प्रदर्शित हुने गरेको पाईन्छ । तिहारमा खाइने मिठाई देखि प्रयोग गरिने फुल बत्ती र अन्य सामान सवै कस्मेटिक वन्दै गएको पाईन्छ । यो परिवर्तन समयसंगै समाज परिवर्तन हुदै जानु एक स्वाभाविक नियम प्रक्रिया मान्न सकिन्छ । वर्ष भरिको मनोमालिन्य र वैरभाव हटाएर भातृत्व र सामाजिक मेलमिलाप कायम गर्ने अर्थ यस पर्वले राख्दछ । चाडवाडहरु यस्ता मौसम हुन जसले सवै सामाजिक संस्थाहरु चलायमान हुने गर्दछन् । यस पर्वले सवैभन्दा पहिले त पारिवारिक सम्बन्धलाई पूर्नताजगी दिने कार्य गर्दछ । किन की गाँउबाट शहर र शहरबाट विदेश बसाई सर्ने प्रक्रिया नेपाली समाजमा पछिल्लो समयमा निकै तिव्र रुपले बढेर गएकोछ । नेपालको कुनै पनि समाज र भूगोल यो समस्याबाट अछुतो रहन सकेको छैन । यो पर्वमा पनि सहर र विदेशमा रहेका दाजुभाई दिदिबहिनी आफ्नो गाँउघर फर्कन्छन् र माया, प्रेम अनि आफ्नत्वको सम्बन्धको गाँठो कस्ने गर्दछन् । नेपाली समाजमा देउसीभैलो खेल्नु तिहारको प्रमुख मौलिक विशेषता हो । गाँउका युवायुवतीहरु मिलेर देउसीभैलो खेलेर रमाइलो गर्दछन् । देउसीभैली खेलेर जम्मा भएको रकम सामाजिक काममा लगाउने चलन पनि समाजमा रहेको पाईन्छ । यो समाजका लागि राम्रो पक्ष हो किन की यसले सामाजिक मेलमिलापको निरन्तरतालाई कायम राख्दछ । तर आजभोली युवाहरु देउसीभैलो खेलेर जम्मा भएको रकम पिकनिक जाने रमाइलो गर्ने र फजुल खर्चमा उडाउने पनि गर्दछन् । जुन समाजका लागी नराम्रो पक्ष हो । यसरी व्यक्ति र परिवारको सक्रियताले विवाह, नातागोता जस्ता सुक्ष्म सामाजिक संस्थाहरु प्रभावित हुन्छन् नै धर्म, राजनिती, अर्थव्यवस्था लगायत वृहत सामाजिक संस्थाहरु समेत पूर्नताजगी हुन पुग्दछन् । त्यसैकारण चाडवाड र बजार एकअर्कार्मा प्रभावित भैरहेको पाईन्छ । कतिपय आर्थिक गतिविधी तिहारमा नै मात्र हुने खालका पनि हुन्छन् । बजारको त्यो कारोवारको फाइदा सहरका व्यापारी लगायत गाँउका किसान तथा कालिगढहरुले पनि लिन्छन् । तिहार मै बेच्नका लागी सयपत्री मखमली फुलको खेती गरिन्छ । यस्तो फुलको खेती गर्ने किसानहरुले तिहारको मौका पारि राम्रो आम्दानी लिन सफल हुन्छन् । त्यस्तैगरि ओखर, निवुवा, भोगटे जस्ता फलफुलहरुले पनि किसानहरुको राम्रो आम्दानीको बाटो बन्दछ तिहार पर्वमा । अर्कोतिर माटाका पाला, झिलीमिली गर्ने वत्ती, विभिन्न पटकाहरु जस्ता सामानहरु बनाउने उद्यमीहरुले पनि राम्रो आम्दानी गर्दछन् । तर किसानहरुले यसरी आम्दानी गरेको रकम अनुत्पादक क्षेत्रमा खर्च गरिरहेको देख्न सकिन्छ । जस्तै किसानहरु फुल शहरमा ल्याएर वेच्छन् र वजारबाट कोक फेन्टा किनेर लैजान्छन् । यस वेला करौडौको फुल, फलफुलहरुको आयात हुने गदैछन् । यस प्रक्रियालाई सरकार र नागरिक मिलेर रोकी आफै आत्मानिर्भर हुन सके करोडौ रकम बाहिरिनबाट बचाउन सकिने देखिन्छ । तर यसपालि विश्व कै हरेक क्षेत्र प्रभावित भैरहेको अवस्थामा हाम्रो नेपाल पनि अछुतो रहन सकेको छैन । यहाँका पनि हरेक क्षेत्र प्रभावित हुन पुगेका छन् । यसपालि हाम्रा चाडवाडहरु पनि प्रभावित हुन पुगेका छन् ।लामौ ईतिहाँस वोकेको तिहार नेपालीहरुको मौलिक पर्व भएता पनि यो चाड खासगरि हिन्दुधर्मावलम्वीहरुले मनाउने गर्दछन् भन्ने मान्यता रहेको पाइन्छ । यहाँ धेरै धर्मालम्वी, जातजाती र क्षेत्रका मानिसहरु तिहारलाई आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । ती समुदायमा यो पर्वको नाम र यसको अर्थको समेत विविधता रहेको पाइन्छ । विभिन्न क्षेत्रमा मनाइने तिहारका आ–आफ्नै परिचय रहेको पाईन्छ । जस्तै तराई मधेश क्षेत्रका मानिसहरुको भाषामा तिहारलाई दीपावली भनिएको पाईन्छ भने मिथिला क्षेत्रमा यसलाई दियावत्ती भनिन्छ । दिपावली मन र संसार सवै उज्यालो बनाउने प्रकाशको चाडको रुपमा मनाईन्छ । समग्रमा हेर्दा तिहारका गतिविधीले नेपाली समाजका धर्मसंस्कार र सभ्यताको सांगोपांगो झल्को दिन्छन् । यो पर्वले सत्य र असल कार्यका लागि बत्ती जस्तै प्रज्जवलित हुन हामी सवैलाई प्रेरित गर्दछ । यो पर्वले आपसी सद्धभाव, मेलमिलाप, मायास्नेह, प्रेम आफ्नत्वको भावना जाग्रित गराउँदछ भने प्रकृतिसंगको सम्बन्ध र पूजा सिकाउदछ । तर हामीले यो पर्व मनाउदै गर्दा यसको मर्म बुझ्नु र हाम्रो जीवनमा त्यसको सन्देश र महत्वलाई अनुसरण गर्न सक्नु पर्दछ । तर यसपाली नेपालीहरु कोभिड –१९ का कारण यी विविध गतिविधीहरुबाट वञ्चित हुनु परेकोछ । कोभिड –१९ ले मानिसहरुको सामाजिक दुरी वढाईदिएकोछ । हाम्रा चाडभाडहरु खुलेर रमाइलो गरी हर्सोउल्लासमय वातावरणमा मनाउन पाउने अवस्था छैन । सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिरहेको अवस्था छ । जो जो जहाँ जहाँ छौ त्यहीवाट मनाउनु पर्ने वाध्यता सिर्जना भएको छ । त्यसैले यी कुराहरुको मध्येनजर गर्दै सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धि पा्रवधानहरु पालना गर्दै सचेत भई हाम्रो महान चाड तिहार मनाऔ । आफू बाँचौ अरुलाई पनि बचाऔ । इंटहरी, सुनसरी [email protected]