काठमाडौं उपत्यकामा एकीकृत मल्टिमोडल यातायातको आवश्यकता छः इ. दीपक भट्टराईको विचार
कुनै पनि परियोजना संचालन गर्दा आर्थिक रुपमा सम्भाव्य देखिनु पर्छ । सरकारले गरेको लगानीको प्रतिफल पनि प्राप्त हुनुपर्छ । कुनै पनि परियोजना बन्ने यसरी नै हो । यातायातको सन्दर्भमा कुरा गर्ने हो भने योजना तर्जुमाको चरणमा विभिन्न उद्देश्यहरु पूरा गर्ने हिसावले योजना बनाइन्छ । जस्तो कि पहुँको विषय । अहिले हामीले पहुँचलाई केन्द्रमा राखेर योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ । डोल्पा जिल्लामा सडक संजालको पहुँच भर्खर पुगेको छ भने हुम्ला जोडिएकै छैन । राष्ट्रिय आवश्यकताको आधारबाट यातायातलाई पहुँच र संजाल निर्माण गर्ने गरी सोचिन्छ । जनघनत्व बढी भएका काठमाडौं उपत्यका जस्ता शहरी क्षेत्रको यातायातको विषयमा बेग्लै ढंगबाट सोच्ने गरिन्छ । काठमाडौं उपत्यकाको अहिलेको अनुमानित जनसंख्या करिब ५० लाख छ । अहिले काठमाडौं उपत्यकामा भएका सडक संचरनाले यो जनसंख्या धान्न सक्ने अवस्था छैन । र, सार्वजनिक यातायातको उपलब्धता अझ कमजोर छ । अहिले सार्वजनिक यातायातमा कसरी यात्रा भइरहेको छ भनेर हेरौं न । जस्तो कि अहिले माइक्रोबसहरुमा कसरी यात्रा भइरहेको छ, बसमा यात्रा कसरी भइरहेको छ । ट्याक्सीहरुको स्ट्याण्डर्ड कस्तो छ भन्ने हेरौं । बसकै स्ट्याण्डर्ड हेरौं । सार्वजनिक यातायातमा यात्रा गर्दा जुन सुविधा उपभोग गरेर यात्रा गर्न पाउनु पर्ने हो, त्यो प्राप्त भइरहेको छैन । न्यूनतम मापदण्ड पनि पुगेको छैन । यो तथ्यले के देखाउँछ भने सार्वजनिक यातायातमा जुन तहको सुधार गर्नुपर्ने छ र जुन तहको सेवा प्रवाह गर्नु गराउनु पर्नेछ, त्यो भइरहेको छैन । यही तथ्यलाई मध्यनजर गरेर सार्वजनिक यातायातको सुधारमा जानुपर्छ । अहिले माइक्रोबस चल्छ, मिनीबस चल्छ, ठूलो बस चल्छ । मोटरसाईकल, ट्याक्सी, साइकल लगायत चलेको छ । यातायातका सबै ‘मोड’ चलेको अवस्था छ । यी सबै मोड चल्नु आवश्यक हुन्छ । तर, यसलाई अलि व्यवस्थित गर्नु जरुरी हुन्छ । अहिले काठमाडौंको जनसंख्यालाई हेर्ने हो भने अब ‘फास्ट मुभिङ’ र ‘मास’लाई सेवा दिने सार्वजनिक यातायातको अवधारणामा जान जरुरी छ । अहिले यो जरुरी नलागेपनि अबको केही वर्षभित्रै हामीले त्यो आवश्यकता महसुस गर्छाैं । अहिलेसम्म हामी ठूलो बसको अवधारणामा थियौं । अब ‘मास ट्रान्जिट’को अवधारणा जानुपर्छ । यो भनेको मोनो रेल, मेट्रोरेल वा लाइट रेलतिर जानुको विकल्प देखिदैन । मास ट्रान्जिटमा सबै प्रकारका यातायातका विकल्पहरु एकअर्कासँग जोडिएका हुनुपर्छ । यो भनेको ‘इन्ट्रिगेटेड ट्रान्सपोर्ट’ हो । एकबाट अर्काे यातायातको साधनमा जाने बेलामा कुनै समस्या हुनु भएन । इन्टरचेन्जको सुविधा पनि हुनुपर्यो । अहिलेसम्म हामी इन्ट्रिगेटेड अवधारणमा गइसकेका छैनौं । अहिलेसम्म ‘इन्डिभिज्युअल÷आइसोलेटेड’ अवधारणामा नै छौं । कहिले बसको कुरा गर्यौं । कहिले बस र्यापिड ट्रान्जिटको कुरा गर्यौं । महानगरपालिकाहरुले अहिले मोनो रेलको कुरा गरिरहेका छन् । संघीय सरकारले मेट्रो रेलको कुरा गरिरहेको छ । यसलाई एकीकृत गरेर अगाडि बढाउनु पर्ने आवश्यकता छ । काठमाडौं उपत्यकामा अब हामीलाई एकीकृत रुपमा मल्टिमोडल यातायात चाहिन्छ । यो आवश्यकता हो । जति ढिलो गर्यो, त्यो ढिला हुने मात्र हो । केही वर्षपछि भएपनि यही अवधारणामा त जानै पर्छ । त्यसमा अध्ययन गरेर आवश्यकता अनुसारको रणनीति अख्तियार गर्नुपर्छ । रेल घनावस्ती भएको भित्री शहरमा कि बाहिर ? रेल सेवा संचालन गर्ने भनेको घनाबस्ती भएको भित्री शहरमै हो । अहिलेसम्म रेल सेवा संचालन गर्ने बारे जति पनि प्रस्तावहरु तयार भएका छन्, तीमध्ये केही चक्रपथमा पनि छन्, केही चक्रपथलाई जोड्ने गरी चलाउने भन्ने पनि छन् । जति पनि प्रस्ताव छन्, ती सबै घनाशहरमा चलाउने भनिएको छ । मास ट्रान्सपोर्ट चलाउने भनेपछि भीड भएकै ठाउँमा चलाउनु पर्यो । अहिले मेट्रोरेलको योजना बनिरहेको छ । मेट्रो रेल संचालनको लागि अहिले अध्ययनकै चरणमा छौं । पूर्व तयारीमै छौं । यसलाई कसरी एकीकृत रुपमा संचालन गर्न सकिन्छ भनेर हामी गम्भीर हुन आवश्यक छ । कसरी चलाउने ? विश्वका धेरै देशका धेरै शहरमा घनाबस्ती छ । ती ठाउँमा सार्वजनिक यातायातको व्यवस्थापन कसरी गरिएको छ भन्ने महत्वपूर्ण विषय हो । धेरै जस्तो शहरहरुमा एउटा प्राधिकरण जस्तो निकाय गठन गरेर सार्वजनिक यातायातको व्यवस्थापन गरिएको छ । छिमेकी देश भारतका दिल्दी, मुम्बई जस्ता शहरहरुमा प्राधिकरण गठन गरेर सो मार्फत व्यवस्थापन गरिएको छ । अहिले नेपालमा पनि काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्था गर्ने प्राधिकरण स्थापना गर्न गठन आदेश भएको छ । त्यस्तै संस्थाले नै निर्देश गर्नुपर्छ । नत्र भद्रगोल हुन सक्छ । किनभने काठमाडौं महानगरले एउटा कुरा गर्ला, ललितपुरले अर्काे कुरा गर्ला, भक्तपुरले बेग्लै कुरा गर्ला । यस्तै, संघीय सरकारले अर्काे प्रकारको कुरा गर्ला, प्रदेश सरकारको सोच बेग्लै होला । यी सबैलाई एकीकृत गर्न प्राधिकरण जस्तो निकायको आवश्यकता छ । संघीय सरकारको सोँच काठमाडौं उपत्यकामा एकीकृत यातायात सेवा संचालनको लागि प्राधिकरण गठनको प्रक्रिया अघि बढेको छ । त्यही प्राधिकरणले सबै सरोकारवाला (स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र आवश्यक अन्य) सँग समन्वय गर्छ । एउटा कुनै निकायले मात्रै गर्ने हो भने केही दिन चल्छ, फेरि बन्द हुन सक्छ । स्थायित्व पाउन सक्ने सम्भावना कम हुन सक्छ । सधैलाई स्वचालित ढंगले चल्ने संयन्त्र बनाउनु पर्छ । शहरी क्षेत्रको यातायातको कुरा गर्दा एकीकृत अवधारणामा जानै पर्छ । त्यसको विकल्प छैन । काठमाडौं उपत्यकामा थप पूर्वाधार कसरी ? संसारकै घनाबस्ती भएको शहरमा काठमाडौं पनि पर्छ । सडकको लम्बाई र क्षेत्रफलको आधारमा हामी कमजोर अवस्थामा छौं । यसैमा नयाँ प्रकारको पूर्वाधार थप्नु भनेको ठूलो चुनौति हो । जस्तो कि हामीले अब मेट्रो रेल चलाउनु पर्यो भने कि त भएकै सडकमा पिल्लर गाडेर माथि चलाउने वा अन्डरग्राउन्ड जाने भन्ने विकल्प मात्रै हो । थप जग्गा लिन सक्ने अवस्था छैन । जग्गा किनेर नयाँ पूर्वाधार बनाउने हो भने जग्गा किनेर बनाउनै सकिदैन । कसैले हामीलाई अनुदानमा नै नयाँ पूर्वाधार (रेल वा मेट्रो) बनाइदिन्छौं भनेर आए भने पनि जग्गा त हामीले उपलब्ध गराइदिनु पर्यो । तर, हामी जग्गा उपलब्ध गराउन सक्ने अवस्थामा छैनौं । सडकमा पिल्लर गाडेर माथिबाट मेट्रो लाने हो भने पनि काठमाडौं उपत्यकामा पूरातात्विक महत्वका सम्पदाहरु धेरै छन् । ती सम्पदा जोगिनु पर्यो । सौन्दर्य पनि विग्रनु भएन । सुरुङ खनेर जमिनमुनीबाट मेट्रो लाने हो भने अर्काे विकल्प हो । कतिपय सन्दर्भमा काठमाडौं उपत्यकाको जमिनको अवस्थाको कारण सुरुङ बनाउन कति सम्भव हुन्छ भन्ने प्रकारका प्रश्न पनि उठ्ने गरेका छन् । तर, आजको इन्जिनियरिङ धेरै एड्भान्स्ड भइसकेको छ । काठमाडौं उपत्यकाको माटो जस्तो प्रकारको छ, त्यसमा सुरुङमार्ग बनाउन नसकिने होइन, सकिन्छ । तर, यति बाक्लो बस्ती भएको ठाउँमा जमिनमुनीबाट सुरुङ बनाउँदा माथिका घरहरुलाई कस्तो असर पर्छ भनेर अध्ययन आवश्यक हुन्छ । सुरुङ बनाउनको लागि काठमाडौं उत्यकामा अर्काे एउटा फाइदा पनि छ । जापानको टोकियो, चीनको सांघाई जस्ता शहरमा धेरै अग्लाअग्ला भवनहरु बनिसकेका छन् । १५० देखि २ सय तलासम्मका संरचना बनिसकेका छन् । अग्ला संरचना बनाउँदा जमिनमुनी पनि त्यतिकै रुपमा जानुपर्ने हुन्छ । त्यसैले अग्ला संरचना बनिसकेको शहरमा सुरुङमार्ग पनि धेरै तलबाट बनाउनु पर्ने हुन्छ । काठमाडौं उपत्यकामा धेरै अग्ला संरचना बनिसकेका छैनन् । त्यसैले धेरै तलबाट जानै पर्ने वाध्यता नहुन सक्छ । तर, भोलिका दिनमा अग्ला संरचना बनाउनु पर्ने वा अहिले भएका संरचनाको संरक्षणको लागि कति तलसम्म जानुपर्ने भन्ने जस्ता विषयमा अध्ययन आवश्यक छ । अहिले त भर्खर ‘आइडिया फ्लोर’ भएको छ । यसका जोखिम पक्षबारे गहन अध्ययन आवश्यक छ । विज्ञता पनि चाहिन्छ । लगानी र प्रविधिका हिसावमा फ्लाइओभर सहज कि अण्डरग्राउण्ड ? प्रविधिको हिसावले फ्लाईओभर सहज हुन्छ । सुरुङमार्ग बनाउने हो भने त्यसबाट निस्केको माटो कहाँ लगेर थुपार्ने ? त्यसको व्यवस्थापन असाध्यै चुनौतिपूर्ण हुन्छ । टनेल खन्नु र त्यसले माथिका संरचनालाई कत्तिको असर पार्छ भनेर हेर्नुभन्दा पनि त्यसबाट निस्केको माटो सहितको सामग्री कहाँ व्यवस्थापन गर्ने भन्ने धेरै नै चुनौतिपूर्ण काम हो । यस्ता प्राविधिक विषयहरु धेरै हुन्छन् । जमिनमाथि बनाउनु सजिलो पनि हुन्छ । माथिबाट लैजादा शहरी सौन्दर्य विग्रन्छ कि भन्ने चिन्ता पनि हो । यस्ता विषयहरुमा अध्ययन भइरहेको छ । पूर्व–पश्चिम जोड्ने ६ वटा सडक पूर्वाधार किन ? अहिले पूर्व–पश्चिम जोड्ने ६ वटा जति ठूला पूर्वाधार छन् । हिमाली, मध्यपहाडी लोकमार्ग, अहिले नै संचालनमा रहेको पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग र पूर्व–पश्चिम रेलको कुरा छ । यीमध्ये धेरै परियोजना संचालनमा छन् । पूर्व–पश्चिम जोड्ने यति धेरै स्थलमार्ग किन आवश्यक छ भन्ने प्रश्न पनि बेलाबेलामा उठ्ने गरेको छ । कतिपय परियोजनाहरु राजनीतिक दलले चुनावको बेलामा जनतासँग गरेको प्रतिवद्धता अनुसार चुनाव जितेर सरकारसंचालन गर्ने बेलामा कार्यान्वयन गर्ने गर्छन् । एक प्रकारले भन्ने हो भने राजनीतिक एजेण्डाको रुपमा आउने परियोजना पनि हुन्छन् । राजनीतिक दलले अघि सारेका यस्ता परियोजना कर्मचारी संयन्त्रले कार्यान्वयनमा लैजाने हो । तर, पूर्व–पश्चिम जोड्ने यी सबै परियोजना अहिलेसम्म सरकारमा गएका सबै राजनीतिक दलले स्वीकार गरेर बजेट विनियोजन गर्दै कार्यान्वयनमा लगेको हो । त्यसैले यी परियोजना सबैले आवश्यक महसुस गरेका परियोजना हुन भन्दा पनि हुने अवस्था छ । यसमा थप गर्नुपर्ने विषय के हो भने उत्तर–दक्षिण जोड्ने राम्रा सडक पूर्वाधार बनाउनु पर्छ । त्यसो गर्न सकियो भने एउटा ग्रिड तयार हुन्छ । त्यो ग्रिडले पहुँचलाई सहज बनाउँछ । अहिले पूर्व–पश्चिम मात्रै होइन, उत्तर–दक्षिण कोरिडोरमा पनि काम भइरहेको छ । अहिले संचालनमा रहेका उत्तर–दक्षिण कोरिडोरहरुमा कालिगण्डी कोरिडोर, कोशी कोरिडोर कर्णाली कोरिडोरमा काम भइरहेको छ । यो बाहेक रसुवा–गल्छीको बाटो पनि बनिरहेको छ । अरु बाटोमा केही काम भइरहेको छ । यसलाई प्राथमिकता प्रदान गरेर काम अघि बढाउने योजना बनिरहेको छ । पूर्व–पश्चिम पनि बाटो तयार हुने र उत्तर–दक्षिण पनि जोडिने भएपछि एउटा ग्रिड तयार हुन्छ । पूर्व–पश्चिम जाने वाटो र उत्तर–दक्षिण जाने बाटोले बसोबास भएका विभिन्न ठाउँहरुलाई जोड्न सकिन्छ । (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर भट्टराईसँग गरिएको कुराकानीका आधारित)
बैंकर श्रीमती र बैंकर श्रीमानलाई माया गर्नु है !
मैले पढाउने स्कुल कोटेश्वरनिर भएकोले बिहानको नौ बजे सदा झैँ कपनबाट कोटेश्वरतिर जाने बसमा चढेर ९:२० बजे ठ्याक्क के ओर्लेको मात्र थिए, वर्षाैंपछिको स्कुलमासँगै पढेको साथी प्रियासँग अकस्मात भेट् भयो । म प्रफुल्ल हुँदै परै बाट हात हल्लाए । उसले मलाई देखिन् र मुस्कुराउँदै भनिन्- तिमी सुशिल होइन् ? बदलामा म त भनेँ । उनले मलाई हतार छ, पछि कुरा गरुम्ला ल… तिम्रो नम्बर देउ त, म पछि फोन गर्छु भनिन् । उसलाई हतार छ सायद । केही अप्ठ्यारो परेको होला । फेरि वषौंपछि भेट भएको । मैले कुरा अगाडी बढाउने र गफ गर्ने यो उपयुक्त समय नभएको यकिन गरेँ । र, भने- ल टिप ९८…। उसले हतार हतार अर्को बसमा चढ्दै भनिन्- मिस्डकल दिन्छु, मेरो नम्बर सेभ गर है । र, उनी सुन्धारा… सुन्धारा भन्दै सहचालकले बोलाइरहेको बसमा बुरुक्कै उफ्रेर चढिन् । म ढुक्क भए वास्तवमै उसलाई हतार भएकै रहेछ । अलि दिनपछि फेरि मेरो कलेजको साथी विकास भेट भयो, उही कोटेश्वरमा । तर, प्रायः ऊ बाइकमा हुन्छ । मलाई कहिले काहिँ बाइकबाटै हर्न बजाउछ । म ठिङ्ग उभिन्छु रोक्छ कि बाइक भनेर । अहं रोक्दैन । विकाससँग भेट हुँदैन भनुम भने बाइकमा देखादेख हुन्छ । भेट हुन्छ भनुम् भने रोकिएर गफगाफ भएको छैन । म घर आएर सोच्छु- स्कुल र कलेजका साथीहरु जोसँग विगतमा स्कुल र कलेज पढ्दासँगै घन्टौं गफगाफ हुन्थे, सँगै डुलिन्थ्यो, हिडिन्थ्यो । सँगै बसिन्थ्यो । आज किन आँखा जुध्न पनि गाह्रो, किन बोल्दैनन् मसँग ? सायद ठूला भए क्यारे । भाउ खोजे जस्तो छ साथीहरुले । अलि दिन पछि शनिबार प्रियाको फोन आयो । भनिन्- सुशिल तिमी कहाँ हो…? भेटुम न ल । मनमनै भनेँ- अस्ति भेट्दा पनि नबाेल्ने तिमी होइन् ? यस्तो भनेर कहाँ हुन्छ र ? अनि भनेँ- हुन्छ । तर कहाँ ? उनले उही कोटेश्वरमा बताइन् । एउटा कफिशपमा । म उनले दिएको सयम २ बजे नै कफिसपमा पुगेँ । भेटेपछि स्कुलका कुरा भए । कलेजका कुरा भए । उनी बैंकमा काम गर्दिरहिछन् । बसाई बनेपा, जागिर सुन्धारा उनले दुखेसो पोखिन् । बैंकको जगिर तिम्रो झै मास्टरको जस्तो कहाँ सजिलो हुन्छ र ? ‘पहिला बनेपा नोकरी हुँदा लोन लिएर घर बनाएको, अचेल सरुवा भएर सुन्धारा शाखामा छु । सधै घरपायक जागिर नहुँदो रहेछ, हेरन’ उनी गुनासोको पोको फुकाउँदै थिइन् । अनि बिहान कति बजे हिड्छौं नि ? मैले बिचैमा प्रश्न गरे । ‘बिहान त्यस्तै ८ बजेतिर,’ उनले सटिक जवाफ फर्काइन् । मै छक्क पर्दै सोधे- अनि खाना ? ‘खाना त खाएर नै हिड्छु,’ उनले यत्ति भनिन् । ग्यास्टिक होला नि, मैले माया दर्शाउँदै भने । ‘ग्यास्टिकको त कुरै नगर, बैंकमा काम गर्ने प्राय सबैलाई ग्यास्टिक हुन्छ नि ।’ उसले यसो भन्दा म ट्वा परें । ‘तिम्रो सरकारीमा जस्तो कहाँ हुन्छ र प्राइभेटमा ? बिहान उठ्, नानीहरुलाई होमवर्क गराउँ, खाना बनाउँ, भाडा माझ, हतार हतार अफिस जाऊ, बेलुका घर पुग्दा ८ बज्छ, थाकेर पूरै लोत हुइन्छ नि,’ सायद कसैसँग फुकाउन नपाएको गुनासाको पोको धेरै पछि मसँग खोल्दै थिइन् उनी । अनि घरमा सासु, नन्द र श्रीमानले सघाउँदैनन् ? म बिल्कुल नितान्त कुरा सोध्न पुगें । ‘अँह, मोबाइल र टिभीको रिमोट भए पुग्यो घरकालाई, अनि महिनै पिच्छे आउने मेरो तलब पनि चाहिन्छ,’ उनले यसोभन्दै गर्दा नियाउरो अनुहार लगाइन् । त्यसो भए बैंकको जागिर छोड, अर्को जागिर गर्नु नि- मैले प्याच्च थपे । ‘कहाँ त्यस्तो हुन्छ ? बैंकको जागिर अरु क्षेत्र जस्तो सजिलो नभए पनि यसमा पारदर्शिता छ, मिहिनेत गर्नेलाई अवसर र मिहिनेतको मुल्याङकन छ । राम्रो गरे प्रमोशन चाडाे पाइन्छ, सेवा सुविधा पनि राम्रै हुन्छ । अलि कति घरकाले सहयोग गरे राम्रो र सजिलो हुने थियो, गुनासो खालि त्यति हो । बैंकमा काम गर्ने बुहारी र श्रीमतीलाई सहयोग गरुन्, माया गरुन्, त्यति भए केहि चाहिँदैन,’ उनले हाँस्दै भनिन् । मैले थपें- त्यसो भए बैंकमा काम गर्ने केटा मान्छेलाई चाहि मोज छ हो ? खाना पकाउनु पर्दैन । घरको काम गर्नु पर्दैन होला । केटा मानिसलाई पनि त्यस्तै हो । हामीसँग सँगै पढ्ने विकास थियो नि, ऊ पनि बैंकमै हो । मैले बीचैमा कुरा थपें । कोटेश्वरमा भेट हुन्छ मेरो । हर्न बजाउँछ तर, बाइक रोक्दैन । ‘उसको त झन् थानकोटमा हो नोकरी । मेरोभन्दा टाढा । उसलाई त झन् हतार हुन्छ । घरमा समय दिँदैन भनेर बुबाआमाले र श्रीमती केटाकेटीले कचकच गर्छन् रे,’ उनी विकासको दुःख सुनाउन लागिन् । ए ! त्यसो पो ! म ट्वाल्ल परें । अनि अस्ति तिमी कोटेश्वरमा बुरुक्क उफ्रेर बस त्यै भएर पो चढेको ? मेरा प्रश्न थपिँदै गए । ‘हो त । तर, यसमा तिमीले सोचेभन्दा अलि भिन्न छ । म बस चढन् बुरुक्क उफ्रेको कहाँ हो र ? त्यो बुरुक्क उफ्रेर मैले यो सालको टार्गेट भेट्टाउनु छ । प्रमोशन खानु छ । बैंकको नाफा बढाइ बाेनस खानु छ,’ उनले हाँस्दै भनिन् । त्यै भएर पो विकासले बाइक नरोकी हर्न मात्र बजाएको टाढैबाट ? मैले कुराकानी अघि बढाउँदै लगेँ । ‘बैंकमा काम गर्ने मान्छे, धन्न हर्न बजाउन भ्यायो भन न । अब छुट्टिनु पर्छ होला । घरमा कत्ति काम छन् । आज शनिबार, हप्ताभरिको काम छ । जाम ल !’ उनले उठ्दै भनिन् र काउन्टरमा कफिको पैसा तिर्न लागिन् । पर्दैन, म तिरिहाल्छु नि । मैले पर्स निकाल्न खाजेको मात्र थिए, उसले रोक्दै भनिन्- भो म र्तिछु हामी बैंकरसँग प्रशस्त समय पो छैन त, पैसा त छ नि हो । दुबै जना एकसाथ हाँस्दै छुट्टियौं । आज फेरि कोटेश्वरमा बाटो काट्दै गर्दा विकासले फेरि बाइकको हर्न बजायो टाढैबाट । अब भने मैले बुझे, उसले बाइक नरोक्नुको कारण । उसको व्यस्तता र हतारो । र, अनायासै सोच्न पुग्छु- हिजो साथीसँग वर्षाैंपछि भेट हुँदा खुशी त लाग्यो तर, त्यस्तो व्यस्त पेसा र घर दुबै मिलाएर जिन्दगी अगाडी बढाउन यी बैंकरका परिवारले पनि सहयोग गरे, घरका सदस्यले पनि आ-आफ्नो तर्फबाट यिनीहरुको व्यस्ततालाई बुझेर अलिअलि सहयोग गरे कति जाती हुन्थ्यो होला ? कति खुशी हुन्थे होलान् यिनीहरु ? आखिर परिवारकै लागि त मरिहत्ते गर्छन् नि बैंकरहरु । अनि विकासलाई पनि परैबाट हात हल्लाएर बाईबाई भने । तर, उसले देखेन, पर हुइकिसकेको थियो उसको बाइक । मैले मनमनै भने बैंकरको परिवारलाई, बैंकर श्रीमती र बैंकर श्रीमान्लाई माया गर्नु है ! तिमीहरुले पनि माया नगरे कसले गर्छ र !
शाइन रेसुङ्गाको रणनीतिः स्टेकहोल्डरको इच्छा जसरी नि पुरा गर्ने, सर्भिस डेलिभरीमा ‘नो कम्प्रोमाइज’
शाइन रेसुङ्गा बैंक २०६५ सालमा शाइन डेभलपमेन्ट बैंक लिमिटेडको नाममा रुपन्देहीको बुटवलमा ३ जिल्ला कार्य क्षेत्र भएर स्थापना भएको बैंक हो । स्थापनासँगै करिब ४ वर्षपछि (अर्थात २०६९ सालमा) गुल्मी जिल्लाको रेसुङ्गा विकास बैंक लिमिटेड जसको एक जिल्ला कार्यक्षेत्र थियो, त्यो बैंकलाई मर्ज गरेर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक भयो । उक्त बैंकलाई मर्ज गरी सकेपछि कार्य क्षेत्र पनि ३ जिल्लाबाट बढाएर १० जिल्लामा विस्तार गर्यौं । र, त्यसपछि २०७३ सालमा प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई फेरि हामीले मर्ज गर्यौं । त्यसपछि हालैमात्र अर्थात करिब डेढ वर्षअघि बाँके जिल्लामा केन्द्रिय कार्यालय भएको भार्गव विकास बैंक लिमिटेड र रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय भएको पूर्णिमा विकास बैंकलाई एक्वायर गरेर राष्ट्रिय स्तरको विकास बैंकको १० वर्षको यात्रा सम्पन्न गरेको हौं । तीन जिल्ला कार्यक्षेत्रबाट १२ वर्षमा हामी राष्ट्रिय स्तरमा प्रवेश गर्यौं । करिब डेढ वर्ष अगाडि हामीले राष्ट्रिय स्तरको लाइसेन्स पाएका थियौं । र, नेशनल नेटवर्कमा एक्स्पान्सन गर्ने क्रममा कोभिडको महामारीको कारणले गर्दा केही समय पछि मात्र हामी उक्त नेशनल नेटवर्कमा प्रवेश गर्न गइरहेका छौं । हालै हामीले पोखरा र महेन्द्रनगरमा बजार विस्तार गर्यौं र अब केही दिनमा धनगढीमा पनि हुँदै छ । आज (चैत ८ गते) बाट औपचारिक रुपमा हामीले काठमाडौंमा ५ वटा ब्रान्च (शाखा) बाट बजार विस्तार गर्दैछौं । योसँगै शाइन रेसुङ्गा बैंकको नेटवर्क कूल ८० वटा शाखा हुने छ । यसको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा आफ्नै भवनमा रहेको छ । हामी २०७७ साल फागुन ११ गतेबाट १२ वर्ष पार गरेर १३ वर्षमा प्रवेश गरेका थियौं । त्यही अवसरमा हामीले हाम्रो केन्द्रिय कार्यालय पनि आफ्नौ भवनमा स्थापना गरेका हौं । २०६५ सालमा एउटा सानो वित्तीय संस्थाको रुपमा हाम्रो स्थापना भएको थियो । र, त्यतिखेर केन्द्रिय बैंकको वित्तीय पहुँच वृद्धिको लागि सानो क्यापिटलमा एक जिल्ला विकास बैंक हुनु पनि त्यतिखेर धेरै ठूलो थियो । एक करोड रुपैयाँ चुक्ता पुँजीमा सानो बैंकले वित्तीय पहुँचमा हामीले त्यो बेलामा धेरै नै काम गर्यौं । ग्रामीण बैंकिङ्गमा हामीले धेरै काम गर्यौं । कुनै बेला यस्तो थियो, हाम्रो १५/२० वटा शाखा हुने बेलामा हाम्रा अधिकांश शाखाहरु पहाडी जिल्लामा अर्थात अत्यन्त ग्रामीण क्षेत्रमा थिए । त्यो बेलामा हामीले हाम्रो पहुँच वृद्धि गर्नमा र आय नै नभएकालाई एउटा आयको सृजना गर्ने एउटा सानो भए पनि लघुउद्यममा यो बैंकले काम गरेको छ । १२ वर्षको अवधिमा बैंकको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । अहिले हामीसँग ४ अर्ब माथिको पुँजी कोष छ । यसैगरी ३ जिल्ला नेटवर्क भएकोमा अहिले हामी राष्ट्रिय स्तरमा छौं । यो १२ वर्षमा बैंकले ३३ अर्ब रुपैयाँबढी निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ बढी कर्जा परिचालन गर्न सफल भएको छ । करिब ४ लाख बढीको ग्राहकहरु हुनुहुन्छ । र, आज हामी यो वेसमा अब राष्ट्रिय स्तरमा काठमाडौंमा आएका छौं । यो बैंक २०६५ सालमा स्थापना हुँदा हामी सबैभन्दा कान्छो विकास बैंकको रुपमै थियौं । र, आज राष्ट्रिय स्तर (नेशनल लेभल)मा जाँदा पनि नेशनल लेभलको विकास बैंकमध्ये सबैभन्दा कान्छो विकास बैंककै रुपमा रहेका छौं । मतलब, करिब ९० को हाराहारीमा रहेका विकास बैंकमा यो विकास बैंकले त्यतिखेर त्यो बैंकिङ्ग क्षेत्रमा प्रतिस्पर्धा गर्नु पनि चुनौतिपूर्ण थियो भने आज हामी कान्छो विकास बैंकको रुपमा अगाडि बढी राख्दा पक्कै पनि फेरि त्यो चुनौति कायमै छ । यहाँहरुले विगत १२ वर्षदेखि यो बैंकप्रति जुन विश्वास गर्नुभएको छ । जुन माया गर्नुभएको छ । यो बैंकको ओनरशीप लिनुभएको छ । हामी जहिल्यै पनि भन्छौं बैंक कसको ? बैंक सबै स्टेकहोल्डरहरुको हो । यसको सेयरहोल्डहरु हुनुहुन्छ होला । यसको डिपोजिटरहरु हुनुहुन्छ होला । यसको क्रेडिटरहरु हुनुहुन्छ होला । हामी जुन ठाउँमा छौं, त्यहाँको कम्युनिटी होला । त्यसैले यो सबै स्टेकहोल्डरको बैंक हो । र, हामी अनुरोध गर्छौं यो बैंकको ओनरशीप (स्वामित्व) यहाँहरुले दिनुहुने छ । विगतमा पनि त्यो ओनरशीप लिएको कारणले र हामीलाई विश्वास गरेको कारणले हामीले १२ वर्षको यो चुनौतिपूर्ण यात्रा पार गरेर अब हामी १३ वर्षमा लागेसँगै काठमाडौंमा प्रवेश गरेका छौं । हामी यहाँहरुसँग प्रतिवद्धता व्यक्त गर्दछौं । त्यो ग्रामीण क्षेत्रमा रहेर हामीले व्यवसाय गर्दा हामीसँग धेरै लिमिटेसनहरु थिए । ग्राहकलाई सेवा पर्याउने कुरामा हामीसँग सीमित पूर्वाधार थिए । अब हामी ५० प्रतिशतभन्दा बढी आर्थिक कारोबार हुने, बैंकिङ्ग कारोबार हुने काठमाडौंमा प्रवेश गरेका छौं । र, यो अवसरमा यहाँहरुलाई हामी के भन्छौं भने हामीले केही नयाँ कुरा गरिहेका छैनौं । एउटा बैंकरले जे गर्नुपर्ने हो । एउटा बैंकले जे गर्नु पर्ने हो । हामी त्यही रोल मात्र गर्छौं, त्योभन्दा बाहिर जाँदैनौं । कर्पोरेट गभर्नेन्स, इथिकल बैंकिङ्ग, प्रुडेन्ट बैंकिङ्ग, इन्टरनेट कन्ट्रोल र सर्भिस डेलिभरीमा जोड दिन्छौं । त्यही कारणले नै हामी यहाँसम्म आएका छौं । र, हाम्रो यी कुरालाई नै यहाँहरुले स्वीकार गरिदिनु भएको छ भन्ने विश्वास छ । बैंकको सीईओ रुपमा म यहाँहरुसँग फेरि पनि प्रतिवद्धता गर्न चाहन्छु । यो प्रतिस्पर्धी बैंकिङ्ग वातावरणमा यहाँहरुले एउटा विकास बैंकबाट के चाहानुहुन्छ, यहाँहरुले खोजेको जस्तो सेवा सुविधा शतप्रतिशत पुरा गर्नमा प्रतिवद्ध छौं । हजुरहरुको यो बैंकप्रति जे जस्तो एक्स्पेक्टेशन छ, त्यसलाई पुरा गर्न हामी हरेक समय प्रतिवद्ध रहेको निवेदन गर्दछु । (आइतबार काठमाडौंमा ५ शाखा उद्घाटन गर्ने कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पौडेलले राखेका बिचारमा सम्पादित अंश) सम्बन्धित समाचार शाइन रेसुङ्गाको बैंकिङ सेवा अब काठमाडौंमा पनि, एकैदिन उद्घाटन गर्यो ५ नयाँ शाखा