कोरोना बीमाले ल्याएको संकट र पशुपतिनाथको पुकार
चीनको बुहानबाट शुरु भएको कोरोनाभाइरसले विश्वव्यापी आकार ग्रहण गरेपछि नेपालमा पनि त्यसको प्रभाव शुरु भयो । यो त्रासदीपूर्ण महामारीमा विश्वका धेरै देशहरुले लकडाउन, सटडाउन, पूर्वाधार विकास, जाँच र उपचार पद्धतिमा आफूलाई केन्द्रित गरे । नेपालमा पनि खासै संक्रमितहरु उल्लेख्य रुपमा नभेटिंदै लकडाउनको प्रकृया अपनाइयो र एकहदसम्म त्यसले रोग संप्रेषणलाई नियन्त्रण गर्न प्रभावकारी देखियो । जब संक्रमणले धपक्कै बलेको भारतीय भूमिबाट लाखौं नेपालीहरु भित्रिन थाले, त्यसपछि नेपालमा पनि कोरोनाले बिस्तारै आकार लिन थाल्यो । यहाँ उठान गर्न खोजिएको विषय अहिलेको जल्दोबल्दो कोरोना बीमाको हो । नेपालमा कोरोना संक्रमण फैलन थालेपछि सञ्चालनमा रहेको २० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाबाट संक्रमण हुनेहरुका लागि एउटा बम्पर चिट्ठा खोले । कोरोना संक्रमण भएको प्रमाणपत्र ल्याउ, हातहातै १ लाख लैजाउ । यस्तो चिट्ठा किन्न मान्छेहरुको दौडधुप शुरु भयो । मान्छेहरुमा कोरोनाको डर कम र चिट्ठाको लोभले धेरैलाई गाँज्यो । पहिला बिभिन्न मान्छेहरुका नागरिकताका फोटोकपीहरु लिएर शेयर भर्ने शैलीमा आफ्ना शाखा सन्तान, साथीभाई, इष्टमित्र सबैका नाममा कोरोना बीमालेख लिनेहरुको लाइन हरेक कम्पनीहरुमा देखिन थाल्यो । बिजनेस खोज्न ग्राहकका अफिस कोठाहरुमा चाहार्नुपर्नेमा ग्राहक स्वयं आफ्नो आगनमा आउनु बीमा कम्पनीका प्रमुखहरुको लागि कम उपलव्धीमूलक थिएन । यस्तो बिजनेस सधैं गर्न पाए आफ्नो पर्फमेन्स देखाउन पाउने भए । पर्फमेन्स राम्रो भएपछि इन्सेन्टिभ पाउने देखि कार्यकाल थपिने सुनौलो अवसर पनि बीमा कम्पनीका कार्यकारी प्रमुखहरुका अगाडि देखियो । कम्पनी संचालन गर्ने कुनै पनि संस्थाको योग्य प्रमुखले सधैं भविश्यको आंकलन गरेर निर्णय गर्ने गर्दछ । त्यसमाथि बीमा कम्पनी भनेका जोखिमको बिजनेस हो । जोखिमको आंकलन गर्दा सबैभन्दा पहिला ग्राहकको जोखिमलाई होइन, कम्पनीको जोखिमलाई आंकलन गर्ने गरिन्छ । आफू जोखिममा रहेर गरिने निर्णयले अरु दोश्रो वा तेश्रो पक्षको जोखिम बहन गर्न सक्दैन । जोखिमको आर्थिक पक्ष मात्र होइन, यसको सामाजिक जोखिम र विश्वासको जोखिम पनि उत्तिकै विचार गर्नुपर्ने हुन्छ । तर नेपालका बीमा कम्पनीका प्रमुखहरुले कोरोना बीमा गर्दा कुनै पनि जोखिमको रत्तिभर विश्लेषण गरेनन् । किन गरेनन् भन्ने पक्षको अनुमान गर्दा कि त उनीहरु कम्पनी र यो बीमा क्षेत्रप्रति व्यवसायिक र इमान्दार छैनन वा उनीहरु जोखिमको बिश्लेषण गर्ने क्षमता नै राख्दैनन् भन्ने हुन्छ । कि नियामकले जे भने पनि सहि वा गलत नभनी बीमा कम्पनीहरु एसम्यानको भूमिकामा छन् भन्ने हुन्छ । सबैलाई थाहा छ, विश्वभर कहिं पनि महामारीको बीमा गरिदैन । बीमा गरिएका पोलिसीहरुमा पनि महामारीलाई अपवादमा राखेर त्यसको बीमा दावी भुक्तानी नगर्ने शर्त राखिएको हुन्छ । अर्को पक्ष, यस्ता महामारीहरुको रिइन्सुरेन्स व्याकअप हुदैन, जुन नेपालमा लागु गरिएको कोरोना बीमामा समेत छैन । यो विषयमा इन्सुरेन्स कम्पनीका प्रमुखहरु मात्र होइन, सामान्य चिठीपत्र बोकर हिड्ने इन्सुरेन्सका पियनहरु समेत अनविज्ञ छैनन् । यति सामान्य चेतनाको सामान्य आंकलन गर्न वा उपयोग गर्न नसक्ने बीमाबिज्ञहरुको नियतको कारणबाट आज पूरै बीमा क्षेत्र संकटमा छ । संकट पनि एउटा होइन, बहुसंकट आइपरेको छ । पहिलो, बीमा कम्पनीले बुझेको प्रिमियमभन्दा कैयौं गुणा बढि दावी परिसकेको छ र पर्ने क्रम जारी छ । यसले बीमा कम्पनीहरुको दायित्व अनुमान नै गर्न नसकिने तरिकाले बढेको छ । दोश्रो, दावी भुक्तानी ढिलो भएको छ । यसले बीमा कम्पनीहरु पैसा लिन्छन्, क्लेम तिर्दैनन् भन्ने विश्वासको संकट यसअघि जुन व्याप्त थियो, अहिले प्रमाणित नै हुन थालेको छ । तेश्रो, अत्याधिक बीमाको बाढीले क्यापिटल वा इक्विटी लस हुने अबस्था आउने सम्भावना उत्तिकै छ र यो नयाँ बीमा कम्पनीहरुको लागि झन् भयावह हुने देखिन्छ । बीमा भुक्तानीमा एउटा मापदण्ड बनाइएको दावी कम्पनीहरुले गरेका छन् । पहिलो १ अर्बको दायित्व बीमा कम्पनीको, त्यसपछिको १ अर्बको दायित्व पुनर्बीमा कम्पनीको, त्यसपछिको ५० करोड बीमा कम्पनीहरुकै महाविपत्ति कोषको, त्यसपछिको १ अर्ब बीमा समितिको, त्यसपछिको बाँकी सबै नेपाल सरकारको रहेको भनाई छ । माथिको भनाईलाई आधार मान्दा हालसम्म करिब ५० करोड दावी भुक्तानी गरिएको छ । तिर्न बाँकी करिब ३ अर्ब पुगेको छ । उल्लेखित हिसावमा कम्पनीहरुको दायित्व, पुनर्बीमा कम्पनीको दायित्व, महाबिपत्ति कोषको दायित्व र बीमा समितिको दायित्व भित्रको दावी लगभग आइसकेको छ । अब आउन बाँकी दायित्वको अबस्था के होला ? बीमाको प्रिमियम समेत नतिरी बसेको नेपाल सरकारले बाँकी दायित्व बहन गर्ला ? यो नै सबैको चासोको बिषय हो । यस विषयमा सरकारी अधिकारीहरुको धारणा पनि बाँझिएका छन् । अर्थसचिवले बीमा व्यवसायमा हुने नाफा नोक्सानको दायित्व बीमा कम्पनीहरुकै हुने बताएका छन् । भलै कोरोना बीमा सम्बन्धि निर्देशिकामा ३ अर्ब ५० करोड भन्दा बढीको दावी नेपाल सरकारले बोहोर्ने उल्लेख गरिएको छ । अहिले कोरोना संक्रमणको दर उच्च रहेको, नेपालमा मृत्युदर बढिरहेको र विश्वमा कोरोनाको दोश्रो लहर चलिरहेको अबस्थामा नेपाल सरकारले बीमाको दायित्व व्यहोर्ने विषयमा विश्वस्त हुन कठिन छ । शुरुमा कोरोना जाँच र उपचारको सबै दाहित्व नेपाल सरकारले लिने बताएको थियो । तर बीचमा सरकार आफ्नै निर्णयबाट पछि हट्यो सर्वोच्च अदालतको परमादेश दुई पटक आएपछि सरकारी अस्पतालहरुले कनिकुथी कोभिड विरामीको उपचार गर्न थालेका छन् । तर विरामी हुँदा उपचारको योजना बनाउने र केही खर्च गर्न सक्ने वर्ग सरकारी सेवाप्रति विरक्त भएर निजी अस्पतालमा उपचार गराईरहेका छन् । मौकाको फाइदा लिदै निजी अस्पताल तथा ल्यावहरु कोभिड टेष्टको व्यापारमा लाभ लिन जुर्मुराएका छन् । कोरोना पोजेटिभ देखाइदिनेहरुको धन्धा पनि उत्तिकै चलेको छ । जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर अस्पतालहरु निर्माण गर्ने, उपकरणहरु खरिद गर्ने र स्वास्थ्य सेवालाई सामान्य जनताको पहुंचमा पु¥याएर उनीहरुको जीउज्यानको रक्षा गर्नु सरकारको दायित्व हो । सरकारको काम र यसको बजेट भनेको कुनै चिट्ठा परेका मान्छेलाई पुरस्कार दिने होइन । केवल पोजेटिभ रिपोर्ट आएर, घरमा मासुभात खाएर बसेकालाई चिट्ठाको रकम बाड्न न त सरकारसंग पर्याप्त बजेट छ, न उसको काम हो । बरु संक्रमित व्यक्तिको उपचार गर्नु उसको दायित्व हो, न कि पोजेटिभ देखिएकाहरुलाई पैसा बांड्दै हिड्नु । अब प्रश्न उठ्छ, सरकारले नतिरे कसले तिर्छ ? कुनै कम्पनीले आफ्नो नाममा जारी गरेको बीमालेख अकाट्य करार हो । बीमाका पक्षहरुले गरेको करारको लागि बीमा कम्पनी जवाफदेहि हुन्छ । जस्तो कुनै कम्पनीले आफ्नो नाममा प्रिमियम बुझेको रसिद काटेर, बीमालेखमा रु. १ लाख भुक्तानी दिन्छु भनेर कबुल गरेर, लेखेर, उसको पदाधिकारीले हस्ताक्षर गरेर, कम्पनीको छाप लगाएर बीमितलाई दिएको बीमालेखको दावी भुक्तानीको दायित्व कसको हुन्छ ? यो कुरा बुझ्न कुनै इन्सुरेन्स कम्पनीको सिईओ भइरहनु पर्दैन । भोली पीडित पक्ष अदालतमा गयो भने के हुन्छ र अदालतले बीमालेख हेरेर शुरुमै के निर्णय गर्छ ? यो जान्नको लागि कोही पनि वकिल हुनु पर्दैन । यसरी आफूले बीमालेख जारी गर्ने, प्रिमियम बुझेर दायित्व स्वीकार गर्ने अनि यो दायित्व मेरो होइन, सरकारको हो भनेर बीमा कम्पनीहरुलाई पञ्छिन कठिन छ । यस्तो अवस्थामा के कम्पनीहरुको मौजुदा व्यवसाय वा कोष वा पुँजीले धान्न सक्छ ? यो अबस्था आयो भने यसको जिम्मेवार को हुने ? नेपाल सरकार, बीमा समिति वा कम्पनीका सिईओेहरु ? भोली लगानीकर्ताको लगानीको जवाफदेहिता कसले बहन गर्ने र सिंगो बीमाको भविश्य के हुने भन्ने प्रश्न अनुत्तरित भएपनि यसको नियति अत्यन्तै दर्दनाक हुने निश्चित छ । त्यस्तो अबस्थामा नेपालका बीमा कम्पनीहरु आफैले जारी गरेको बीमा लेखबाट सृजना भएको दायित्वको भुक्तानी गर्न नसकेर भाग्दै हिड्नु पर्ने अबस्था पो आउला कि ? यो अबस्था आउन नदिनको लागि भगवान पशुपतिनाथसंग कामना गरौं, कोरोना बीमा गरेकाहरुको रिपोर्ट अब सधैं नेगेटिभ आओस् र कम्पनीका प्रमुखहरुको यो कर्मको फल समग्र बीमा क्षेत्रले व्यहोर्नु नपरोस् । श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् । कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं
मुखको साटो हात चलाऔं, दिमागभन्दा बढी दिल
कति दिन गाली गर्नु ? कसलाई कसलाई मात्र गाली गरिरहनु ? एकथरि यति मूर्ख छन् कि उस्तै कमजोरी पटकपटक दोहो¥याउँछन् र कमजोरीका खात लगाउँदै जान्छन् । अर्काथरि छन् जो उनीहरूका कमजोरीका खात खोतल्छन् र एक एक पत्र पल्टाउँदै जान्छन् । उछितो काढ्दै जान्छन् । सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालका निजी भित्ताहरूमा विष वमन गरिरहन्छन् । एकोहोरो धारे हात लगाइरहन्छन् । एकथरि गल्ती दोहो¥याउन अभ्यस्त, अर्कोथरि गाली बर्षाउन । एउटा झुण्ड हिजोका वाचा भुल्नमा काबिल अर्को झुण्ड धोकाका शृङ्खला सम्झँदै त्यसको पर्दाफास गर्नमा । राजनीतिक एवम् सामाजिक जीवनका सिद्धान्तहरू पल्टाउँदा पूर्वीयदेखि पाश्चात्य महान् विद्वान् एवम् दार्शनिकका खारिएका सिद्धान्त र दर्शन एउटै देशमा एकै शताब्दीभित्र सम्पूर्णका सम्पूर्ण असफल तुल्याइदिन सक्ने कस्तो राजनीतिक पुस्ता जन्मियो नेपालमा ? के नेपाली जनतालाई प्रजातन्त्रको बाटो हिँडाउन २००७ सालदेखि आजसम्म अनेक किसिमका आन्दोलनहरू गर्ने नेतृत्वको सत्तरी वर्षको राजनीतिक इतिहास विश्वका दर्शनलाई माझीऔँला देखाउनका लागि गरिएको कसरत मात्र थियो ? राणा शासनदेखि राजतन्त्रविरुद्ध चालेका एकसेएक साहसिक कदम के बच्चाका खेल थिए ? हजारौँको बलिदानी के दिवास्वप्न मात्रै थियो त ? यस्ता अनुत्तरित प्रश्न थुप्रै छन् । प्रश्न राजनीति गर्नेहरूतिर मात्रै तेर्स्याएर हुँदैन । प्रत्येक आन्दोलनमा ज्यानको बाजी थापेर नेतृत्वलाई कदमकदममा दह्रो साथ दिने परिवर्तनका खम्बारूपी जनताहरूतिर पनि उत्तिकै तेर्स्याउन जरुरी छ । के यतिका सिद्धान्त असफल पार्ने दुस्साहसमा जनताको त्यो जमात जिम्मेवार छैन ? के जनता भनेको आफूले लगाएको फाटेको चप्पल चुँडिँदा पनि नेतालाई सुकिलो बनाइराख्न काँध खियाउने दस्ता मात्रै हो ? हिमाली काखमा हुर्केको शीतल छातीमा तातो गोली थाप्ने साहसी योद्धा मात्रै हो ? या हर दशकमा प्रजातन्त्र नामको सुनचरी पाउने चाहनामा रगतको नहर बगाएर नेपाली माटो सिँचाई गरिरहने रक्तकुण्ड हो ? कि निश्चित सङ्ख्याका नेताहरूको सुखका लागि आफ्ना निधारबाट सधैँ सधैँ पसिनाका रुप्से छहरा झारिरहने रसिलो पहाड ? कुन रूपमा व्याख्या गर्दा नेपाली जनतामाथि खासमा न्याय हुन्छ ? जनताले बाँचेको यो पौने शताब्दीको सही व्याख्या कुनचाहिँ उदाहरण वा बिम्बले गर्न सकिन्छ ? यो बहस एकपटक थाल्न जरुरी छ । एकपटक थाल्ने र पटकपटक विमर्श गर्ने गरी यो बहसको जबरदस्त थालनी हुनु आवश्यक छ । सुन्दै आएकै हो, पढ्दै आएकै हो, “इतिहासमा जनताले कहिल्यै हारेको छैन ।” के नेपालमा प्रजातन्त्र प्राप्तिको लडाइँको यो सत्तरी वर्षमा जनताले जितेको कुनै मोड छ ? जनताको खल्तीले कहिल्यै न्यानो महसुस गरेको छ ? जनताको तिर्खाएको घाँटीले कहिल्यै चिसो पानी पाएको छ ? लर्खराएका जनताका गोडाले कहिल्यै प्रजातन्त्र नामको अमूर्त वस्तुलाई मूर्त रूपमा वैशाखीका रूपमा प्राप्त गरे ? उखुबारीमा तातो रगत बगाएर चिसो मुर्दा लडेका नानीहरूको आत्माले कहिल्यै न्यायको स्वास फेर्न पाएको छ ? बारीमा पसिना बगाउने किसानले पसिनाको न्युनतम मूल्य कहिले पाए ? किसानको पसिनाले थकाइ मारेर चौतारीमा सुस्ताउँदै सन्तोषको सास फेर्न नपाएको प्रजातन्त्रले अरू कसमाथि कुन बखत न्याय गर्ला भनेर आश गर्नु ? पसिनाको तातो बाफमा पिल्सिएको बाजेको पुस्ताले बाबुको पुस्तालाई गाउँबाट पर कतै सहरतिर पठायो । सहरमा अडिन नसक्नेहरू हावामा बाँकटे हान्दै सात समुद्र पारि पुगे । सहरका गल्लीमा फोहोरसँग मोहोर साटेका र सात समुद्रपारि विषम हावापानी झेल्दै गाँस कटाएर छोराछोरीको पुस्ताका लागि सुन्दर सपनाको खेती गरेर पठाएको पसिनाको कमाइमाथि महङ्गीको तातो पन्युँ बजारेपछि र दलालतन्त्रको ‘रेम्बो नाइफ’ धसेपछि आज नातिपुस्ताले समेत आफ्नो कालो भविष्यमा चाँदीको घेरा देख्न सक्ने स्थिति छैन । यस्तो अवस्थामा गिद्धले लुछिसकेपछिको अस्थिपञ्जरमा मासुको अंश खोजेझैँ कहाँनिर खोज्नु जनताको जित ? जनताले जितका लागि लडाइँ लड्दै आए तर लडाइँकै नाइकेद्वारा सधैँ धोका पाउँदै आए । प्रजातन्त्रको पूर्ण उपभोग गरेर समृद्ध जीवन जिउने जनताको सपना तुहाएर जनतालाई हारको हार (माला) पहिर्याउने काम प्रजातन्त्रको ठेक्का लिएको मानिएका नेताहरूले अनवरत गर्दै आए । जनताले नेताका हरेक अभियानमा उत्तिकै साथ दिँदै आएका छन् । जनताको निसर्त साथ र निःस्वार्थ सहयोगको बदलामा नेताले दिँदै आएको धोकाले सिङ्गो देश नै असफल बन्ने सङ्केत यतिबेला ठूलो पर्दामा देखा परिरहेको छ । यही अवस्था निरन्तर रहनु भनेको जनतामा राजनीतिक व्यवस्थाप्रति नै चरम अविश्वास बढ्दै जानु हो । अविश्वासको यो मनोविज्ञान तयार हुन नदिन नेपालको वर्तमान राजनीतिक नेतृत्वले कुनै पनि परिवर्तनका सङ्केत देखाएको छैन । तसर्थ जनस्तरबाटै राजनीतिलाई सम्मानित क्षेत्रका रूपमा स्थापित गर्न एउटा फरक पहल थाल्नुपर्ने बेला आएको छ । नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान दिएर अघिल्लो पुस्तालाई बोल्न सक्ने बनायो तर काम गर्न सक्ने बनाएन । सैद्धान्तिक ज्ञानलाई प्राधान्य दिएका कारण पनि उक्त पुस्तामा ज्ञान भएका तर सिप नभएका व्यक्तिको सङ्ख्या अधिक छ । सिपविना परिवर्तनको आश गर्नु मुर्खतासिवाय केही होइन । प्रजातान्त्रिक आन्दोलनको सुरुआती चरणमा जस्तो वर्तमानमा जनताको चेतनास्तर न्युन छैन । तसर्थ पनि इतिहासका कालखण्डमा प्रजातन्त्रका लागि योगदान दिएको वर्तमान शीर्ष नेतृत्व आफैँ परिवर्तन हुन तयार नभएमा जनताले समय कुरिरहनु जरुरी छैन । जनता व्यावहारिक रूपमा यसरी तात्नुपर्यो कि त्यसले नेतृत्वलाई स्वतः परिवर्तनका लागि झकझक्याउनका सकोस् । नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान दिएर अघिल्लो पुस्तालाई बोल्न सक्ने बनायो तर काम गर्न सक्ने बनाएन । सैद्धान्तिक ज्ञानलाई प्राधान्य दिएका कारण पनि उक्त पुस्तामा ज्ञान भएका तर सिप नभएका व्यक्तिको सङ्ख्या अधिक छ । सिपविना परिवर्तनको आश गर्नु मुर्खतासिवाय केही होइन । पछिल्लो समयमा प्रविधिको विकासले मानिसलाई गर्न सक्ने पनि बनाएको छ । वर्तमान पुस्तामा गर्न सक्ने सिप र क्षमता दुवै भएकाको सङ्ख्या उल्लेख्य छ तर इच्छाशक्तिको भने चरम अभाव छ । अघिल्लो पुस्ताले दिएको राजनीतिक, सामाजिक र आर्थिक संस्कारमा वर्तमान पुस्ता ढुक्क हुन सकेको छैन । त्यसैले पनि आफ्नो सिपलाई व्यावसायिकतामा परिणत गर्ने साहस देखाउन वर्तमान पुस्ता आनाकानी गरिरहेको छ । यो स्थिति सिर्जना हुनु परिवर्तनका लागि निकै ठूलो दुर्भाग्य हो । देशमा गर्नुपर्ने काम एउटा छ, देशको शीर्ष नेतृत्व अर्कैतिर रुमल्लिइरहेको छ । ‘टाउको दुख्या औषधी नाइटोमा लाई’ भन्ने कुरालाई चरितार्थ गर्दै आएको वर्तमान नेतृत्वलाई सबक सिकाउनका लागि जनस्तरमा चेतना र व्यावहारिक परिवर्तनको ठुलै आँधी जरुरी छ । त्यसैले त्यो आँधीयुक्त पहल यथाशीघ्र थालिनु पर्दछ । चेतनशील बन्नु भनेको भन्न सक्ने बन्नु मात्रै होइन । आलोचना गर्न सक्ने बन्नु मात्रै त झनै होइन । बुझेको कुरा व्यवहारमा लागु गर्दै जीवनका अनेक सम्भावनाको स्पष्ट रेखा कोर्न सक्ने बन्नु बल्ल चेतनशील हुनु हो । जति कुरा हामी जान्दछौँ त्यति सबै कुरा गर्न सक्दैनौँ । व्यावहारिक ज्ञान र सिपको प्रयोग गरेर आफ्ना वरिपरिका सम्भावनालाई यथार्थमा परिणत गर्न भने अवश्य सक्छौँ । आजसम्म प्रजातन्त्र प्राप्तिका नाममा आन्दोलनरत पुस्ताले राजनीतिक परिवर्तनबाहेक अर्को सम्भावना नै देखेन । अधिकार प्राप्त हुनु भनेको जनताको जीवनस्तर आफसेआफ उकासिनु किञ्चित होइन, जीवनस्तर परिवर्तनका लागि आधार तयार हुनु हो । राजनीतिक अधिकारको प्राप्तिले सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिकलगायत अन्य अधिकार प्राप्त गर्न पृष्ठभूमि तयार पार्ने हो । नेपालको नेतृत्वले राजनीतिक परिवर्तन नै साध्य हो भनेर बुझ्यो र बुझायो । सिङ्गो जनमानस त्यसैका पछिपछि लाग्यो । यसको परिणाम राजनीतिक परिवर्तनको उच्चतम बिन्दु (सङ्घीय गणतन्त्र)मा आइपुग्दा पनि सर्वसाधारण जनता सामान्य सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको उपभोगसम्म गर्न सक्ने अवस्थामा पुगेका छैनन् । राजनीतिक परिवर्तनलाई साधन/माध्यमका रूपमा ग्रहण गरी जनताको जीवनस्तरमा आएको परिवर्तनलाई साध्य मान्न सकेका भए आज यो मुलुक परिवर्तनको उदाहरण पस्कँदै विश्व रङ्गमञ्चमा शानका साथ उभिएको भेटिन्थ्यो । तर बिडम्बना, त्यो अवसर यो मुलुकले प्राप्त गरेन । तसर्थ पनि समाजको चेतनशील वर्गको प्रतिनिधित्व गर्ने वर्तमान पुस्ताले यो समय ठुलो बलिदानी दिनुपर्ने समय आएको छ । युग परिवर्तनको एउटा स्पष्ट खाका कोरेर भावी पुस्तालाई त्यसमा सहजै दौडने प्रेरणा र ऊर्जा थप्नका लागि बौद्धिक, सचेत र व्यावहारिक बलिदानी दिनुपर्ने दायित्व यो पुस्तामा छ । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ…’ भनेर गायक रामेशले भनेझैँ एकपटक फेरि सिङ्गै देश उठ्नुपर्ने बेला आएको छ । आवाज मात्रै लिएर उठ्ने बेला घर्किसकेको छ । ज्ञान मात्रै बोकेर हिँड्ने समय सिद्धिसकेको छ । यो समय त सिप रोपेर सिर्जना फुलाउनुपर्ने समय हो । देशको उत्पादनले दशकौँसम्म शिशिरको तुसारो भोगिसक्यो, वर्तमान पुस्ताले वासन्ती यामलाई बोकेर हिँड्नुपर्ने छ । स्वदेशी जनशक्तिले, स्वदेशी सिप र प्रविधि विकास गरी त्यसलाई उत्पादनमा लगाउँदै बस्ती बस्ती सिँगार्नु छ । यो देशका सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्नु छ । यसो गर्न सकियो भने परनिर्भर बन्दै गएको नेपाली समाज आत्मनिर्भरताको मोड समात्न सक्षम हुनेछ । सारा जनतालाई परनिर्भर बन्न बाध्य बनाएको नेपालको नेतृत्वले आफू वर्तमानबाट इतिहास नबन्दै देश यसरी परिवर्तन गर्न पनि सकिने रहेछ भन्ने पाठ सिकेर आकाशमार्गको बाटो तताउलान् । तिनलाई सबक सिकाउनु युवाको दायित्व हो । तिनलाई पश्चात्तापको अग्निमा भकभकी उम्लिने बनाउन सकियो भने भावी पुस्तालाई त्यो अमूल्य ज्ञान पस्कन पनि वर्तमान पुस्ता सक्षम हुने निश्चित छ । उत्पादनमुखी जीवनशैली अपनाउन सकेमा सम्पूर्ण नेपालीमा एउटा दिव्यज्ञान प्राप्त हुनेछ । दिव्यऊर्जा प्राप्त हुनेछ । त्यसैले अबको पुस्ताले सिर्जनात्मक विरोध गर्ने हो । घोषणापत्रमा कुनै काम गर्नेछु भनेर पाँच वर्षका लागि जनमत पाएर निर्वाचित जनप्रतिनिधिले चार वर्षभरिमा उक्त योजना थालनी नै गरेन भने उक्त नेताको पुत्ला नजलाइयोस् । उसका विरुद्ध विषवमन गरी सहस्र गाली नगरियोस् । के गरियोस् त ? गरियोस् के त भन्दा उक्त व्यक्तिलाई नेतृत्वबाट सर्वसाधारण व्यक्तिमा झार्ने सामूहिक सङ्कल्प गरियोस् र आगामी निर्वाचनमा उम्मेदवार बन्ने र निर्वाचित हुने सम्भावना सबै क्षीण पारियोस् । तर त्यो कसरी ? जनताले आफ्नै पहलमा सिङ्गो समाज मिलेर उक्त परियोजना बाँकी रहेको एक वर्षमा निर्माण थालोस् र यथाशीघ्र सम्पन्न गरोस् । वर्तमान पुस्ताले रचनात्मक कार्य गर्न जरुरी छ न कि फेरि रत्नपार्क र माइतीघरमा धर्ना र नाराबाजी । चर्का नारा र लोभलाग्दा सपनाले मात्रै परिवर्तन सम्भव छैन, परिवर्तनका लागि त इच्छाशक्तिसहितको काम चाहिन्छ । लामो समयको शान्ति र विकासको अभाव पूरा गर्नका लागि योजनाको द्रुततर विकास र तीव्र कार्यान्वयन आवश्यक छ । वर्तमान सचेत पुस्ताले त्यो गति पक्रन आवश्यक छ । साथै सञ्चारमाध्यममा नेतृत्वले जिम्मेवारी पूरा नगरेको झोँक मात्रै पोखिएका सामग्रीलाई प्राधान्य दिन छाड्नुपर्छ । नेतृत्वले पूरा गर्न नसकेका वाचा जनता आफैँ विकास निर्माणमा जुटेर पूरा गरेका समाचारलाई अबको समयमा मिडियाले व्यापक बनाओस् । यस्ता सिर्जनात्मक कार्यबाट उक्त नेतृत्वलाई आफूले जिम्मेवारी निभाउन नसकेको पराजित मानसिकतामा पुर्याउन सकेमा टपर्टुइयाँ नेताहरूमा नेतृत्वमा रहने भोक हराउने सम्भावना प्रबल हुन्छ । यसले क्षमतावान् र जुझारु व्यक्ति मात्रै नेतृत्वका लागि तयार रहने संस्कारको थालनी हुन्छ । यसले राजनीतिलाई सङ्लो बनाएर लैजान्छ । वर्तमान पुस्ताले यस प्रकारका रचनात्मक कार्य गर्न जरुरी छ न कि फेरि रत्नपार्क र माइतीघरमा धर्ना र नाराबाजी । चर्का नारा र लोभलाग्दा सपनाले मात्रै परिवर्तन सम्भव छैन, परिवर्तनका लागि त इच्छाशक्तिसहितको काम चाहिन्छ । लामो समयको शान्ति र विकासको अभाव पूरा गर्नका लागि योजनाको द्रुततर विकास र तीव्र कार्यान्वयन आवश्यक छ । वर्तमान सचेत पुस्ताले त्यो गति पक्रन आवश्यक छ । हालसम्म नेतृत्वले दोहोर्याउँदै आएका कमजोरीको एकोहोरो बद्ख्वाइँ गरेर देश बन्दैन भन्ने कुरामा वर्तमान पुस्ता प्रष्ट हुन जरुरी छ । आजसम्म अघिल्लो पुस्ताले गरेका कमजोरीबाट पाठ सिकेर त्रुटि सच्याउँदै भोलिको सुन्दर खाका तयार गर्ने जिम्मेवारी वर्तमान पुस्ताको हो । अरूलाई काम गर्न नसकेको आरोप लगाउन पानी पिएजत्तिकै सहज छ तर त्यही काम आफूले गरेर देखाउन पर्यो भने दाँतबाट पसिना निस्कन्छ । तसर्थ अबको पुस्ताले अरूका कमजोरीमाथि आलोचनात्मक दृष्टि राखेर मात्रै पुग्दैन, समाधान पस्कन सक्नुपर्छ । तिमीहरूले यस्तो यस्तो गल्ती गर्यौ, खासमा त्यो काम यसरी प्रभावकारी गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी हो वर्तमान पुस्ताको । त्यसैले प्रविधिको समुचित प्रयोग गरी समयसापेक्ष परिवर्तन पस्कनका लागि वर्तमान पुस्ता तम्तयार भएर लाग्नुपर्ने समय आइसक्यो । त्यसको घन्टी बजिसक्यो । राजमार्गका घुम्तीमा अर्काले अनुदानमा राखिदिएका ऐनाहरू झर्यामझुरुम फुटाउनेहरू पनि वर्तमान पुस्ताकै पात्रहरू हुन् । आफैँ केही नगर्ने तर अर्काले गरेकोलाई पनि जस नदिने अपजसे संस्कृति विकास हुँदै गएको छ । यो देशको सर्वाङ्गीण विकासका लागि एउटा दीर्घरोगका रूपमा स्थापित हुने सम्भावना प्रबल बन्दो छ । वैयक्तिक जीवनलाई प्राथमिकता दिएर आफ्ना लागि बाँच्ने व्यक्तिको सङ्ख्या बढ्दो छ । तसर्थ पनि जिम्मेवारीपूर्वक सामाजिक स्वार्थ र राष्ट्रहितमा लाग्ने नयाँ सोच भएको र दृढ इच्छाशक्ति भएको बलियो दस्ता देशव्यापी रूपमा तयार हुनु अत्यावश्यक छ । अन्यथा इन्जिन सिज भएको अवस्थामा रोकिएको सवारी झैँ देशको विकासको गति ठप्प हुनेछ । देशहितमा काम नगरेर देशका लागि बैगुनी बन्दै आएको वर्तमान बैगुनी नेतृत्वलाई गुनले मार्ने शक्ति र साहस दुवै आवश्यक छ । वैकल्पिक शक्ति भन्दै अर्कालाई गाली मात्रै थोपर्ने तर समाज सुधारका क्षेत्रमा माखो नमार्ने समूहको बिगबिगी बढ्ने अर्को कालो सम्भावना उदाउँदो छ । अतिवादलाई पृष्ठपोषण गर्ने यस्ता समूहसँग वर्तमानमा रहेको सिर्जनशील र सिपयुक्त जनशक्ति कडा टक्कर दिने गरी जुध्न तयार हुनुपर्छ । बल्ल अरूको ईशारामा अराजकता मच्चाउनेहरू ठेगान लाग्छन् । मुखको साटो हात चल्ने, दिमागभन्दा बढी दिल चल्ने समूहको खाँचो छ देशलाई अहिले । यस्तो नवीन प्रयोग एकपटक युवाजमातले नगर्ने हो भने असीम सम्भावना हुँदाहुँदै पनि देश असफल बन्ने निश्चितप्रायः छ । अब एउटा कर्मशील प्रयोग सिङ्गो देशको युवाशक्तिले गर्न जरुरी छ । राजनीतिक दलका दलालजस्ता विवेकहीन कार्यकर्ता बन्न छोडेर सिङ्गो देशको असल नागरिक बन्ने सङ्कल्प गर्न जरुरी छ आजका नेपाली जनताले । एकपटक कार्यकर्ता बन्न छोडेर जनता बन्ने पहल थालौँ । एकपटक आलोचना गर्न छोडेर सिर्जनामार्फत् जवाफ दिने दृढतासहितको परिवर्तन प्रारम्भ गरौँ । नबोली गर्ने र अरूलाई सिको गर्न बाध्य पार्ने गरी मौलिक सम्भावनाको पहिचान गरी परिवर्तनको फरक शैली विकास गरौँ । आउनुहोस्, एउटा फरक पहल थालौँ र परिवर्तनको सम्वाहकका रूपमा वर्तमान पुस्तालाई भोलिको इतिहासमा अङ्कित गरौँ ।
विरेन्द्रकाे नाेट, महँगाेमा किनबेच
एक जना महिला मित्रले मैतीदेवि नजिकै घर किन्न लागिछन् । तीन फूटे बाटो भएको धितोमा बैंकले कर्जा दिन मान्दैनन् । सञ्चारकर्मी भएको थाहा पाएपछि बैंकहरु झन टेडिन्छन् । साथीभाईसँग सरसापट गरेर र सहकारीबाट कर्जा लिएर घर किन्न लागेकाे सुनाइन् । गाउँबाट आएकालाई सहरियाले पत्याउन्नन् । होस्टैमा हैसे गर्छु भने । थोरै रकम सापटी दिएँ । ‘मैले बैंकबाट ओडी (कर्जा) चलाएको छु । १४ प्रतिशत व्याज तिरेको छु । साथीसँग म व्याज लिन्न । सकेसम्म छिटो फिर्ता गर्नु’ मैले त्यतिबेला भनेको थिएँ । सापटी लिएको तिथिमिति याद छैन, चेक काटेर दिएको थिएँ । खोज्यो भने ठ्याक्कै मिति पनि थाहा हुन्छ । करिव ८/१० महिना पछि उनले पैसा फिर्ता गरिन् । पैसा फिर्ता पाएको मिति याद छ, यसै दशैंको फूलपातीको अघिल्लो दिन। स्वयम्भू पाउँस्थिति इन्जियिरको अफिसमा बसेर प्रस्तावित भवनको नक्सालाई अन्तिम रुप दिदै थिएँ । साथीको फोन आयो । ‘मुखले केही नभने पनि मनमनले गालिगरिरहनु भएको होला । पैसा जम्मा गरेकी छु, भेटौं न ।’ केही बेरपछि सिटी मल अगाडि भेट्ने कुरा भयो । कोभिडको डरले साथीसँग बस्ने वातावरण पनि भएन । रेष्टुरेन्टतिर पस्ने, कफी खाने प्रस्ताव पनि गरिएन । रसियन कल्चर सेन्टरको अगाडि गाडी साइट लगाएँ । मास्क नखोली फूटपाथमा उभिएर २/३ मिनेट कुरा गर्यौं । साथीले चेक दिने होला भन्ने सोचेको थिए । उनले नोटको बण्डल दिइन् । अचेल नोटसँगै कोभिड आउने डर हुन्छ । विश्वासकै बीच नाेट नगनी फ्रन्ट बक्समा हुत्याउन खोज्दै दिएँ । ‘पैसा गन्नोस् सर’ उनले भनिन् । ‘पछि पुगेन भन्नुपर्ला।’ गनेँ । पुग्यो । थन्याएँ । र, मोटर हुँइक्याएँ । कोभिड महामारीसँगै बजारबाट ल्याइएका किनमेल केही दिन गाडीमै छोड्ने बानी छ । प्रमाणीत र बैज्ञानिक आधार नभए पनि मिल्ने बस्तुहरु किनेर ल्याएपछि केही दिन गाडी मै राख्दा कोरोना घर भित्र नर्छिला कि भन्ने भ्रान्तीले मेरो मनमा बास पाएको छ । त्यो नोटको बण्डल बैंकमा पुर्याउने समय पनि भएन । दशैंअघि त्यसले घरभित्र प्रवेश पनि पाएन । दशैंसँगै खल्ती र दराज रित्तए । त्यो विटोले दराजमा ठाउँ पायो । त्यसपछि डेरीदेखि पेट्रोलपम्पसम्म, कागतीदेखि गुर्जो किन्दासम्म अर्थात जहाँ डिजिटल पेमेन्ट हुँदैन, त्यस ठाउँमा ती नोट चल्ल थाले । भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा भुक्तानी गर्दा चार हजार रुपैयाँ झिकेर दिएँ । काउन्टरको क्यासियर नोट धेरै पटक वल्टाई पल्टाई हेर्यो । मेरो मुखमा हेर्यो । जोरविजोरको झमेलामा नपर्न प्रेस पास गलामा झुण्डाएको थिएँ । परिचय पत्रमा पनि उसले आँखा लगायो । अनि, पेट्रोलको भुक्तानी गरेको कागजको चिट/टुक्रो काट्न मानेन । आफूभन्दा पाको आर्मीको सहयोग लियो । ‘यो नोट कस्तो हो’ उसले सिनियरलाई सोध्यो । क्यासिएरलाई नक्कली नोटको शंका लागेछ । ‘यो उहाँले दिनुभएको हो’ मलाई नक्कली नोट कारोबारी झै किटानी गर्यो । ‘यो राजा विरेन्द्रको पालाको नोट हो । सक्कली हो’ पाका आर्मीले काँचा क्यासिर आर्मीलाई भने । त्यसपछि उनले मलाई हेरेर सफाइ दिन खोजे । र भने– ‘केटाकेटीहरुलाई के थाहा । राजाका पालाका पैसा देख्या पनि छैनन् ।’ पर्समा भएको थप नोटमा ध्यान दिए । सबै नोटमा तत्कालिन राजा विरेन्द्रको फोटो रहेछन् । ज्ञानेन्द्र शाह राजा भएपछि नयाँ नोटमा ज्ञानेन्द्रको फोटो छापिन थालेको, राजा ज्ञानेन्द्र कै पालामा पूर्व राजाहरुको फोटो भएको नोटहरु खिचेर थन्क्याउन र नयाँ राजा छापिएको नोटहरु मात्र बजारमा पठाउन सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको २ दशक पूरा हुन लागेछ । गणतन्त्र स्थापनापछि नेपाली नोटमा राजाको सट्टा सगरमाथाको तस्वीर राख्न थालेको, सगरमाथाको तस्वीर छापिएपछि राजा अंकित नोटहरु खिच्ने र नष्ट गर्न थालेको पनि दर्जन वर्ष नाघिसक्यो । तर दुई दशक पुराना नोट मेरो हातमा कसरी पर्यो ? मनमा आयो । ‘अँ याद आयो । सापाटी फिर्ता आएको पैसा हो यो’ साँच्चै नक्कली परेको भए तीनलाई समाउँथे ।’ भित्री मनको कुरा हो यो । उनको हातमा यो पैसा कसरी पर्यो होला ? मनमा अर्को प्रश्न तेर्सियो । आशंकापूर्ण तर्क धेरै आए । पेट्रोल हालियो, हिडियो । कालिमाटीमा रोकिएर फलफूल किन्न थालेँ । त्यहि विरेन्द्रको फोटो छापिएको नोट दिएँ । व्यापारीले नोट वल्टाई पल्टाई हेर्यो । मेरो अनुहार नहेरी घर्रामा घुसार्यो । मनमा लाग्यो यसले नोट चिन्यो । तिहार नजिकिदै जाँदा दराजको विटो सकिदै गएछ । श्रीमतीले भनिन्–‘घरमा पैसा सकिन लाग्यो । बाटो मिलाएर एटीएम छिर्नु ।’ ‘तिहार खर्च पुग्दैन’–अल्छी मान्दै सोधेँ । ‘दक्षिणा दिनसम्म त पुग्ला’ उनले भनिन् । भाईटिका सम्पन्न भयो । दिदीवहिनी बीचमा बसेर रमाईला कुरा हुँदै थिए । उनीहरुमा नयाँ खुशी देखियो । तिहारमा माइत आएका चेली त्यसैमा खुशी हुन्छन् । कोभिड महामारीको बीचमा पनि सबै दाईभाईलाई टिका लगाउन पाएकोमा अर्को खुशी थियो । त्यसमाथि दक्षिणामा राजा विरेन्द्र भएको हजार रुपैयाँको नोट पाएकोमा उनीहरुमा थप खुशी रहेछ । यो नोट कसको हातबाट आयो ? उनीहरुमा खुल्दुली जाग्यो । ‘मसँग थिए ती नोट’ म बोलेँ । ‘दाई मलाई अरु पनि साटी दिनुस्’ बहिनीहरु सीता र जानुकाले एक स्वारमा हतारिएर भने । ‘छ भने मलाई पनि है’ दिदीले पनि मन्द स्वरमा भन्नुभयो–‘भान्जाले विरेन्द्रको फोटो भएको सबै दरका नोटहरु पाएसम्म संकलन गरिरहेको छ ।’ मलाई भने धेरै मोह भएन । पर्समा हेरेको । विरेन्द्र अंकित थप तीन वटा नोट रहेछन् । ‘यी मेरो हातमा परेका अन्तिम नोट हुन् । एउटा म राख्छु, दुईटा दिन्छु’ निर्णय सुनाईहालेँ । हातैबाट खोसेर दुबै नोट सीताले नियन्त्रणमा लिइन् । जानुकाले जोड बलगर्दा पनि उनले बाँडिनन् । मेरो प्यारो सगरमाथा अंकित नोट मैले फिर्ता पाएँ । उनीहरुले विरेन्द्रको फोटो भएको नोट महँगोमा किनबेच भईरहेको चाल पाएका रहेछन् । क लेखिएको नोट झनै महँगोमा किनबेच हुने गरेकाे उनीहरूले सुनेका रहेछन् । याे विषय मेरो जानकारीमा थिएन । राजा विरेन्द्र छापिएका नोट प्रिमियम मूल्यमा किनबेच हुने गरेकाे विषयले मेरो पनि ध्यानाकर्षण भयो । बास्तविकता के रहेछ भनेर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नोट विभाग प्रमुख रेवतीप्रसाद नेपालसँग जिज्ञासा राखेँ । ‘कुनै पनि नोट अंकित मूल्यभन्दा बढीमा किनबेच गर्न पाइदैन । कानुनतः त्यो दण्डनीय हुन्छ’ उनले भने–‘तर पुराना नोटहरु ऐतिहासिक अभिलेख राख्नेहरुले बढी मूल्य तिरेर पनि किन्ने र राख्ने प्रचलन विश्वभर नै छ । नेपालमा पनि राजा विरेन्द्र भएको नोटहरु धेरै मूल्यका किनबेच हुने गरेको हामीले अनौपचारिक रुपमा सुनेका छौं ।’ बजारमा राजा अंकित नोटहरु नगन्य रहेको उनले बताए । ‘प्रचलित नोटमा शुन्य दशमलव शुन्य १ प्रतिशत भन्दा पनि कम मात्र राजाको तस्वीर भएको नोट पाइन्छ । राजा विरेन्द्र अंकित नोट त झनै विरलै छ’ उनले भने । राजा विरेन्द्र भएको लोपाेउन्मुख नोटको विटो हातमा परेर सकियो । मेरो हातमा क५८ ८६०६१६ नोट मात्र बाँकी छ । नोट विभाग प्रमुख रेवती नेपालका अनुसार यो नम्बर भएको नोट अरु कसैसँग पनि हुँदैन । यो नोट मेरो लागि अमूल्य भयो । अब कसैलाई दिन्न, सरकारले खोसेन भने ।