७ लाखभन्दा बढी खर्च लाग्ने ए लेभल विषयमा खास के छ ?
नेपालमा ए लेभलको पढाइ सुरु भएको तीन दशकजति भएको छ । यो कक्षा ११ र १२ सरहको पढाइ हो । ए लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सुरू भएको हो । बेलायतमा क्याम्ब्रिज विश्वविद्यालयले मास एजुकेसन सिस्टमको विकास गरौं भनेर यसको सुरुवात गरेको हो । नेपालमा राष्ट्रिय परीक्षा बोर्डले एकरुपता कायम गरेजस्तै क्याम्ब्रिजले पनि बेलायतमा एकरुपताका लागि ए लेभल सुरु गरेको हो । यसलाई एडभान्स लेभल कोर्स भनिन्छ । यसलाई जुनियर क्याम्ब्रिज भनेर पनि बुझ्न सकिन्छ । यो बाहेक अन्य हाइ स्कुल प्रोग्रमहरू पनि छन् तर, यो सबैभन्दा पपुलर कोर्स छ । हाल १५० भन्दा बढी देशमा यस विषयको पढाइ हुन्छ । दुई वर्षको यो शैक्षिक कार्यक्रम १६ वर्षदेखि १९ वर्षका उमेरका विद्यार्थीका लागि मध्यनजर गरेर बनाइएको पाठ्यक्रम हो । तर, यसको अर्थ यही उमेरको विद्यार्थीले मात्र पढ्न पाउनेछन् भन्ने हुँदैन । यसको परीक्षालाई क्याम्ब्रिज एसेस्मेन्ट इन्टरनेशनल भनिन्छ । यो युकेको बोर्ड हो । नेपालभरि रहेका करिब ३० वटा कलेजहरू यस अन्तर्गत सञ्चालन भएका हु्न् । ए लेभललाई दुईवटा भागमा विभाजन गरिएको छ । पहिलो वर्ष एडभान्स सब्सिडरी लेभल (एस लेभल) र दोस्रो लेभल ए लेभल भनिन्छ । पहिलो वर्षमा कुनै पनि विषयको आधारभूत कुराहरू हामी पढ्छौं र दोस्रो वर्षमा हामी त्यस विषयको गहिराईमा गएर पढ्छौं । प्लस टु भन्दा कसरी फरक छ ? राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको प्लस टुमा ११ र १२ मा पढ्ने विषयहरू फरक-फरक हुन्छन् । तर, ए लेभलमा त्यही पहिलो वर्षमा जुन विषय पढिन्छ दोस्रो वर्षमा त्यही विषयको गहन अध्यन गर्नुपर्ने हुन्छ । ए लेभललाई दाँज्ने हो भने प्लस टु मा पढिने शीर्षक धेरै हुन्छन् । पक्कै पनि धेरै शीर्षक भएपछि त्यति गहिराईमा गएर अध्यन गर्ने समय नै हुँदैन । त्यसले गर्दा प्लस टु मा धेरै कुराको ज्ञान हुन्छ र ज्याक अफ अल ट्रेड एण्ड मास्टर अफ नन हुन्छ । तर, ए लेभलमा सिमित शीर्षकमा पढाइ हुन्छ र त्यसको गहिरो बुझाइ हुन्छ । त्यसैले यसमा ज्याक अफ अल ट्रेड नभएर मास्टर अफ नन भइन्छ । प्लस टु मा हेर्ने हो भने साइन्स स्ट्रिम भनेर एउटा फिक्सड ग्रुप हुन्छ । पहिलो वर्ष पनि ५ वटा र दोस्रो वर्ष पनि ५ वटै विषय पढ्नुपर्ने हुन्छ तर, ए लेभलमा भने त्यस्ताे हुँदैन । यसमा विद्यार्थीले आफैं नै विषय रोज्न पाउँछन् । त्यसले गर्दा विद्यार्थी कहिलेकाँही अप्ठ्यारामा पनि पर्छन् । प्लस टु मा चाहिँ फिजिकल साइन्सभन्दा फिजिक्स केमेस्ट्री सबै पढ्नुपर्यो । यता ए लेभलन भने मलाई केमेस्ट्री मन पर्दैन म फिजिक्स र गणितमात्र पढ्न पाइन्छ । अथवा म गणित पढ्दिन फिजिक्स र केमेस्ट्री मात्र पनि पढ्छु भन्न पनि पाइन्छ । यसरी जुन विषय पनि पढ्न पाउने भएकाले विद्यार्थीले नमिल्ने विषयहरू रोज्दछन् जसले पछि गएर समस्याहरू उत्पन्न चाहिँ गराउँछ । ब्याचलरमा त रिलेभेन्सी खोज्छ त्यसैले हामी चाहिँ विद्यार्थीहरूलाई गाइड गरिरहन्छौं । क्याम्ब्रिजले चाहिँ यो विषयसँग यही पढ्नुपर्छ भनेर भन्दैन । विद्यार्थीले यहाँ दुईवटा विषय लिएर मात्र पढ्छु भन्न पनि पाउँछ । तर, फरक यति हो कि उसले त्यो दुईवटा विषय पढेर युनिभर्सिटीमा भने पढ्न पाउँदैन । तर प्लस टु मा भने त्यो गर्न पाईंदैन । ए लेभल पढेका कसले कुन विषय पढ्न पाउँछन् ? राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयको अनुसार नन साइन्स पढ्नको लागि ए लेभलमा ३.५ क्रेडिट र साइन्स पढ्नको लागि ४.५ क्रेडिट ल्याउनु पर्दछ । यदि विद्यार्थीले ३.५ क्रेडिट ल्यायो भने उसले राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता पाउँछ । एउटा विद्यार्थीले ३.५ ल्याउन पहिलो वर्ष ४ वटा विषय र दोस्रो वर्ष ३ वटा विषयमा पास भएकै हुनुपर्छ । नेपाल र भारतको एउटै शिक्षा प्रणाली रहेको कारण यो भारत पनि लागू हुन्छ । युनिभर्सिटीहरूको आ-आफ्नै मानयता हुन्छ । अब बेलायतको विश्वविद्यालयले कम अंकमा पनि पढ्न पाइन्छ । यस्तै क्यानडामा पनि २.५ मा राम्रो राम्रो कलेजहरू पढ्न पाइन्छ । ए लेभेलमा फेरि अझै बढी विषय पनि पढ्न पाइन्छ । नेपालमा कहिले सुरु भयो ? ए लेभल नेपालमा बुढानिलकण्ठ स्कुलले सुरु गरेको हो । यो एउटा स्वतन्त्र ए लेभल सेन्टरको रुपमा ३० वर्षभन्दा अगाडि सुरु भएको हो । बुढानिकण्ठ स्कुल विशेष गरेर राजपरिवारका सदस्यहरू पढ्नको लागि विदेश नै जानुपर्ने र नेपालमा राम्रो अध्यन गर्ने ठाउँ नभएर ब्रिटिश एजुकेसनअन्तर्गत स्थापना भएको हो । ए लेभलकाे पढाइ हुने कलेज अहिले काठमाडौं उपत्यकाम २५ को हारहारी र काठमाडौं बाहिर पोखरामा र बुटवलमा रहेको छ । बुढानिलकण्ठ र सेन्ट जेभियर गुठीवाला संस्था हुन् भने बाँकी सबै प्राइभेट रहेको छ । पोखरामा गण्डकी बोर्डिङ्ग स्कुलमा पनि यसकाे पढाइ हुन्छ । अहिले ए लेभलमा इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट संस्था रहेको छ । यसको मतलब हामी ब्रिटिश कलेज डिपेन्डेन्ट सेन्टर हौ भने बुढानिलकण्ठ इन्डिपेन्डेन्ट सेन्टर हो । इन्डिपेन्डेन्ट संस्थाहरूको हरेक कामको लागि सिधै क्याम्ब्रिजसँग सम्पर्क हुन्छ भने हाम्रो हकमा भने हाम्रो ब्रिटिश काउन्सिलमार्फत क्याम्ब्रिजसँग काम गर्छौं । परीक्षा दुवै संस्थाको क्याम्ब्रिजले नै लिने हो तर, हाम्रोमा चाहिँ क्याम्ब्रिजले ब्रिटिश काउन्सिलमा पठाउँछ र ब्रिटिश कलेजले नै परीक्षाको कामहरू गर्दछ । यस्तै बुढानिलकण्ठको हकमा उनीहरूले क्याम्ब्रिजमार्फत सिधै प्रश्नहरू प्राप्त गरेर आफै परीक्षाहरू सञ्चालन गर्दछन् । परीक्षा दिएको पेपरहरू कुरियर गरेर क्याम्ब्रिजलाई पठाइन्छ र उनीहरूले आफ्नो संसारभरि फैलिएर बसेको परीक्षकहरूलाई स्क्यान गरेर पठाउँछन् र त्यसकै आधारमा विद्यार्थीहरूले ग्रेड पाउँछन् । ग्रेड यसमा ए स्टार भनेको सबैभन्दा ठूलो ग्रेड हो र इ भनेको सबैभन्दा कम ग्रेड हो । ४० प्रतिशत माथि ल्याउनेलाई पास मानिन्छ र त्यस भन्दा कम ल्याउनेलाई फेल मानिन्छ । ४० देखि ४९ इ ग्रेड, ५० देखि ५९ डि, ६० देखि ६९ सि, ७० देखि ७९ बि र ८० देखि ८९ ए ग्रेड र त्यसमाथि ९० देखि माथि ए स्टार रहेको छ । यो एडभान्स लेभलमा हो । ए लेभलमा भने स्मल लेटर ग्रेड हुन्छ र यसमा ए स्टार हुँदैन । यो कोर्सको शुल्क किन महँगो ? औसतमा प्राइभेट स्कुल हेर्ने हो भने सबैको उस्तै-उस्तै रहेको छ । दुई वर्षको प्राइभेट कलेजहरूमा ७ देखि ८ लाख शुल्क रहेको छ । जेम्स, लिटिल एन्जल्स, ब्रिटिश कलेज, साइपल एकेडेमी, माल्पी सबैको लगभग एउटै शुल्क रहेको छ । हाम्रो अलिक महँगो भनेको सानेपास्थित ब्रिटिश स्कुलको रहेको छ । त्यहाँका शिक्षकहरू सबै विदेशीहरू रहेका हुन्छन् । उनीहरूको त्यहाँ १५ देखि २० लाख खर्च लाग्छ । हाम्रो हकमा मासिक शुल्क २० देखि २२ हजार हुन्छ भने उनीहरूको ८०/९० हजार हुन्छ । यस्तै अन्य केही शैक्षिक संस्थामा यही शुल्क नभए सबैमा ७ देखि ८ लाख रुपैयाँ लाग्दछ । यो महँगो हुनुको कारण यसको रजिष्ट्रेसन शुल्क नै महँगो छ । प्लस टु मा रजिष्ट्रेसन फि २५०० होला बढीमा तर, हाम्रो यहाँ एउटा पेपरको फुल ए लेभल क्वालिफिकेसन हकमा १७ देखि १८ हजार लाग्छ । यसको अर्थ रजिष्ट्रेसनको लागि मात्र १ लाख ३० हजारसम्म खर्च लाग्छ । त्यो रकम हामीले ब्रिटिश काउन्सिललाई बुझाउनुपर्छ । यस विषय पढ्नको लागि कक्षा १० सरहको कुनै पनि विषय पास गरेको हुनुपर्दछ । प्राय: विदेश जान्छन् प्राय: ए लेभल पढ्ने विद्यार्थी बाहिर नै जाने सोचेका हुन्छन् । यसका अर्थ सबैजना विदेश नै जान्छन् भन्ने हुँदैन । ए लेभल भनेको एउटा ब्रिटिश एजुकेसन हो र बाहिर गएर तपाईंले आफ” ए लेभल ग्रयाजुऐट भएको बताए उनीहरूले त्यसलाई प्रश्न गर्दैनन् तर, तपाईंले प्लस टु भन्नुभयो भने उनीहरू बुझ्दैनन् । त्यही सजिलो भएको कारण बाहिर जाने सोच भएका विद्यार्थीले यस विषयलाई रोज्छन् । र यो महँगो भएको कारण पनि अपर मिडिल क्लास परिवारले मात्र पढ्न सक्ने र विदेश जाने गर्छन् । १२०० विद्यार्थीमा धेरै बाहिर जाने भनेरै पढिरहेका हुन्छन् । त्यसको मतलब सबै बाहिर जान्छन् भन्ने होइन । वार्षिक ए लेभलमा रेगुलर रुपमा ६० देखि ७० प्रतिशत विद्यार्थी पास हुन्छन् । नेपालभरि ए लेभलका १२ देखि १४ सय विद्यार्थी छन् । ए लेभल नै चाहिँ किन पढने ? सबैभन्दा पहिला एउटा इन्टरनेशनल माइन्डसेटको लागि हो ए लेभल । यसको पाठ्यक्रम समयमा अपडेट हुन्छ । हुनत हाम्रो आफ्नो बोर्डलाई नराम्रो भनेको जस्तो हुन्छ तर, विगत २० वर्षदेखि त्यही पाठ्यक्रम छ । तर, ए लेभलमा हरेक २ वर्षमा केही न केही मोडिफाइ भइरहेको हुन्छ । समय र उद्योगको माग अनुसार यो मोडिफाइ भइरहेको हुन्छ । यसको पढाइ संसारभार हुने भएकाले क्याम्ब्रिजले त सबैलाई समेट्नु पर्यो नि त जसले गर्दा यसमार्फात एउटा ग्लोब माइन्डसेट तयार हुन्छ । अर्को कुरा यसमा कुनै पनि विषयको इन्डेप्थ नलेज हुन्छ । एउटा सानो उदाहरणको लागि तपाईंले यदि ए लेभलमा गणित विषय पढ्नुभएको छ भने ब्याचलर र मास्टर डिग्रीको पनि कति वटा कुराहरू कभर गरिसकेको हुनुहुनेछ । धेरै सजिले पर्छ पछि गएर । प्लस टु मा सबै विषयको थोरै थोरै जानकारी हुन्छ तर, ए लेभलमा सिमित जानकारी हुन्छ तर, त्यो एकदम गहिराईमा हुन्छ । ए लेभलले चाहिँ थोरै विषय पढ एकदमै राम्रो पढ भन्ने छ । यस्तै ए लेभलमा आर्ट एण्ड डिजाइन, मास मिडिया, डिजाइन एण्ड टेक्नोलोजी, संगित, नाटक, कानुन गरेर ६० भन्दा बढी विषयहरू छन् । विद्यार्थीले छान्न त १२ वटा विषयभरि नै छान्छन् । प्लस टु मा यति धेरै विषयहरू छैनन् । ए लेभल उर्दु, नेपाली, फ्रेन्च लगायत संसारभरिका धेरै भाषामा पढ्न पाइन्छ । एउटा फरक चाहिँ अर्को मैले के पनि पाएको छु भन्दा परीक्षा दिन जाँदा चाहिँ प्रश्नहरू तिमीले कक्षामा के पढ्यौं त्यसलाई साइडमा राखेर तिम्रो दिमागमा के छ, तिमीले के बुझ्यौं भन्ने हुन्छ । प्लस टु को हकमा किताब प्राय: के लेखिएको छ त्यही सोधिरहेको हुन्छ । प्रश्नहरू दोहोरिरहेको हुन्छ । तर ए लेभलमा भने कहिले पनि प्रश्न दोहोरिदैन । चाहे त्यो गणित कै प्रश्न होस् । अर्को यसमा परीक्षा दिनको लागि एक वर्ष कुर्ने पर्दैन । यदि तपाईंलाई तपाईंको ग्रेड चित्त बुझेन भने अथवा तपाई फेल हुनुभयो भने हरेक ४ महिना (मार्च, जुन र नोभेम्बर)मा परीक्षा दिन पाउनुहुन्छ । यहाँ हरेक विषय स्वतन्त्र हुन्छ । (राई ब्रिटिश कलेजको ए लेभलका प्रोग्राम म्यानेजर हुन् । उनीसँग विकासन्युजकी डोमी शेर्पाले गरेको कुराकानीमा आधारित )
पैसाजति राजनीतिज्ञले भर्याङमुनिको अँध्यारो ओडारमा बोरामा हालेर राखे
तरलता अभावको विषयमा मसँग बजारको भन्दा अलि फरक किसिमको दृष्टिकोण छ । नेपालमा जबजब ठूला प्रकारका समस्याहरू आउँछन्, त्यो बेला सक्नेहरू, एकदमै सतर्क भएर आफू चै एकदमै बाठो छु भनेर बस्ने गर्छन् । स्वीकार गरे पनि नगरे पनि अब नेपालमा राजनीतिक अस्थिरता बढेर गयो । दुई तिहाईको सरकार भनियो, त्यो चै बोकोको मुखमा कुभिण्डोजस्तो पचाउन नसक्ने, अठ्याउनै नसक्ने भयो । एउटै पार्टी अहिले त ३/४ वटा भएर गए । अनि साथीहरू भन्नुहुन्छ–अब आउने सरकार हाम्रो हुन्छ, बहुमतको हुन्छ । अनि अर्कोथरिले भन्नुहुन्छ– त्यो डंका हाक्नेहरू पैसा कुम्ल्याएर बसेका छन्, त्यसैले चुनाव जित्छु भनिरहेका छन् । यी दुवै भाषा राजनीतिज्ञहरू बोलिरहेका छन् । त्यसैले सबै पैसा त राजनीतिज्ञहरूले कुम्ल्याएर बसेका छन् भन्नेमा म छु । चुनावको लागि खर्च गर्नको लागि कम्ल्याएका होलान् । पैसा भएकाहरूले जित्छन् भन्ने पनि राजनीतिज्ञहरू हुन्, हामीले जित्छौं, हामीले चुनावको मौका कुरेर बसेका छौं भन्ने पनि राजनीतिज्ञहरू हुन् । भनेपछि पैसा त्यहाँ (राजनीतिज्ञकोमा) गएर बस्यो । त्यही बेलामा नेपाल राष्ट्र बैंक नयाँ व्यवस्था गरिदियो । पहिला पहिला ३० लाखसम्म एउटा चेकबाट नगद झिक्न पाइन्थ्यो । तर, त्यो बेला बैंकहरू २९ लाख ९९ हजार ९९९ रुपैयाँ मात्रै दिन्थे । ३० लाख दिँदैनथे । ३० लाखसम्म भनेपछि त ३० लाखसम्मको चेकलाई तिमीहरूले स्वीकार गरिदिनुपर्छ नि भनेर बैंकहरूसँग मैले झगडै गर्थे । तर, वाणिज्य बैंकहरूले मानेनन् । राष्ट्र बैंककै मानिसहरूलाई पनि मैले भनें । उनीहरूले बैंक वित्तीय संस्थाहरूले नबुझेर त्यसो गरेको र ३० लाखसम्म कै चेक स्वीकार गर्नुपर्ने बताउँथे । त्यसमा प्रष्ट पार्नुस् भन्ने मेरो कुरा हुन्थ्यो । त्यस्तो नगदको सीमा १० लाखमा घटाइयो र अहिले त्यसबाट पनि घटाएर ७ लाख रुपैयाँमा झारिएको छ । त्यो ७ लाख पनि घटाएर १ लाखमात्रै गर्ने हो कि भनेर ठूलो ठूलो पैसा चाहिनेहरूले बैंकबाट झिकेर ल्याएर राखेका छन् कि जस्तो पनि लाग्छ । तर, आधारभूत रुपले हेर्ने हो भने हामीलाई क्लासिकल रुपमा के भन्न थालिएको छ भने बैंकहरूको पुँजी असमयमा बढाउन लाइदिए । पुँजी बढाउनु पर्ने भएपछि बैंकहरूले बोनस सेयर दिन थाले । नगद लाभांश दिँदा बजारमा नगद आउने थियो, ३/४ वर्षदेखि बैंकहरूले पैसा दिएनन्, त्यसैकारण बजारमा हाहाकार भयो भन्ने कुरा पनि गरिरहेका छन् । अर्को कुरा, सरकारले दिल फुकाएर खर्च गरिदिए पो हुन्थ्यो । खर्चै गर्दैन । कर चै उठाएर राख्छ । ३ खर्ब जति रकम सरकारको ढुकुटीमा जम्मा भएर बसेको छ भन्ने कुरा पनि आएको छ । अर्कोतिर सात महिनामा पुँजीगत खर्च जम्माजम्मी १८ प्रतिशत मात्रै भयो । त्यसैकारण तरलता अभाव भयो भन्ने कुरा पनि छ । पुँजीगत बजेट खर्च हुन नसक्नुका कारण पनि आफ्नै छन् । असमयमै सरकार परिवर्तन भयो । सात दिन जति त सरकार नै ४ आना पनि खर्च गर्न नसक्ने अवस्थामा बस्यो । अघिल्लो सरकारले ल्याएका कतिपय आयोजनाहरू कार्यान्वयन गर्न सम्भव भएन । उदाहरणको रुपमा ३०० वटा स्वास्थ्य चौकीहरू एक फूमा शिलान्यास भएका थिए । त्यसमा निर्माणको चरणमा गएका ३५ वटा मात्रै हुन् भनियो । यी सबैको जोडमा तरलता अभाव भएको छ । अहिले पनि मुद्दति निक्षेपको व्याजदर ११.०३ प्रतिशत छ । यो पनि मिलेमतोकै हो । व्याजदरलाई यसरी अठ्याएर राखेपछि बजारले एक ठाउँबाट निस्कन खोज्छ । एक महिनाको लागि मात्रै खुला छोडिदिएको भए व्याजदर ९ प्रतिशतभन्दा माथि जादैनथ्यो । बैंकहरूलाई पनि भन्नै पर्ने कुरा के हो भने ५ रुपैयाँ निक्षेप संकलन गर्यो भने १५ रुपैयाँ ऋण दिएको छ । व्याजदर निर्धारण गर्ने बेलामा तिनटा चुल्यो, ओदान जस्तै गरेर बसेका सरकार, केन्द्रीय बैंक र बैंकर्स संघ एकै ठाउँमा बसेर साढे ९ प्रतिशतभन्दा दिन हुँदैन भने । मिलेमतो नगरेको भए सबै बैंकहरूको व्याजदर एउटै कसरी हुन्छ ? अहिले पनि मुद्दति निक्षेपको व्याजदर ११.०३ प्रतिशत छ । यो पनि मिलेमतोकै हो । व्याजदरलाई यसरी अठ्याएर राखेपछि बजारले एक ठाउँबाट निस्कन खोज्छ । एक महिनाको लागि मात्रै खुला छोडिदिएको भए व्याजदर ९ प्रतिशतभन्दा माथि जादैनथ्यो । अहिले त निजी क्षेत्रले व्याजदरलाई एकल अंकमा ल्याउनको लागि सम्झौतित बचत (बीमा कम्पनी, कर्मचारी संचयकोष, नागरिक लगानी कोषहरूको) व्याजै दिनु हुन्न भन्छन् । एकथरिसँग भएको स्रोत र साधनले पर्याप्त मात्रामा प्रतिफल पाउने र अर्कोथरिसँग भएकोले नपाउने हो भने ‘डिस्टोर्सन’ ल्याउँछ । तर, पनि व्यक्तिलाई दिएको भन्दा १ प्रतिशत कम व्याज दिनु भनिएकै छ । रेमिटान्सबाट आएको निक्षेपलाई १ प्रतिशत बढी व्याज दिन भनिएकै छ । यी सबै हुँदाहुँदै पनि हामीले तरलताको संकट व्यहोरिरहेका छौं । अहिले बैंकका प्रत्येक कर्मचारीले यति बचत मागेर, खोजेर जसरी हुन्छ ल्याएर राख्नै पर्छ भनिएको छ । नल्यायो भने के हुन्छ भन्ने कुरा डिस्क्लोज भएको छैन । उनीहरूको रेकर्ड खराब हुने होला । अहिले अवस्था यस्तो छ । पैसा सिरानीमुनी राखिएको हो ? सिरानीमुनी राख्ने त सानातिना कारोबार गर्नेहरूले हो । ठूलाले त भर्याङमुनीको अँध्यारो ओडारामा बोरामा हालेर राखेको मान्छु मैले त । किन त्यस्तो हुन्छ भने ठूलो ठूलो कारोबार गर्नेहरूले बैंकलाई ऋण देउभन्दा तरलता अभाव छ भनेर नदिने, छरछिमेकीले मिटर व्याजमा मात्रै दिने हुँदो रहेछ । त्यसैले बोरामा पैसा राख्ने गरेका छन् भन्ने मलाई लाग्छ । राष्ट्र बैंकले अनुमान गर्न नसकेको हो ? सबै कुरा सिस्टममा चलेको छ भने उनीहरू (राष्ट्र बैंक) ले पनि सबै कुरा सिस्टममा चलेको भन्ने अनुमान गर्ने हो । तर, हाम्रोमा त अनपेक्षित किसिमका नीतिहरू बनिदिने, अनपेक्षित किसिमका घटनाहरू आउने र ती सबै कुरा एउटाले अर्कोलाई पन्छाउने पनि हुँदो रहेछ । सरकार आफै पनि अलमलमा परेको हो कि जस्तो पनि लाग्छ । प्रधानमन्त्रीलाई नै बालकोट र कहाकहाँ गर्दा गर्दै ५/७ दिन लाग्यो । त्यसले उहाँलाई थकाइ पनि लाग्यो होला । जहाँ ५० प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्र छ भनिएको छ, त्यहाँ यी अनुमान गर्न राष्ट्र बैंकलाई पनि हम्मे परेको हुन सक्छ । पहिलो त्रैमासमै कडाइ गरेको भए ? मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नै कडाइ गरिएको भए विवाद आउन सक्थ्यो । किनभने अघिल्लो साल केन्द्रीय बैंक उदार भइदियो । यो साल कडा हुँदा प्रश्न उठ्न सक्थ्यो । राजनीतिक विषय हुन सक्थ्यो ।
सेयर बजारबाट अरिंगालले गुँड बनाउने परिस्थिति आउन सक्छ
वस्तुवादी कुरा गर्न खोज्यो भने फरक हुँदो रहेछ । सेयर बजार भनेको त कम्पनीहरु सुचिकृत भएर आएका छन् । वर्षाैं वर्षदेखि उनीहरुले काम गरेका छन् । उनीहरुको तथ्य र तथ्यांकहरु सार्वजनिक भएको छ । यसमा केही अपवाद पनि रहेछन् । जस्तो कि राष्ट्रिय बीमा कम्पनीको पछिल्लो ४/५ वर्षको लेखापरीक्षण भएको रहेनछ । जस्तै बलबीर आएपनि त्यो अडिट चै गर्न मिल्दो रहेछ, कुन्नी किन हो । केही समय अघि राष्ट्र बैंकका अवकाश प्राप्त विशिष्ट श्रेणीको कर्मचारी त्यहाँ जानु भएको थियो । उहाँ इमान्दार र केही गर्न खोज्ने मान्छे पनि हुनुहुन्थ्यो । मैले उहाँलाई ल यो कम्पनी अडिट गरेर अद्यावधिक गरेर छोडिदेउ त भनेको, तर गर्न सक्नु भएन । अरु कसैले पनि गर्न सक्नु भएन । अब त्यो संस्थाको (राष्ट्रिय बीमा कम्पनीको) काम कारबाहीको, यसोत्यसोको मान्छेहरुले कति जानकारी पाए होलान् । त्यही कम्पनीको एउटा सेयरको मूल्य १६/१७ हजार रुपैयाँ छ । मैले यो उदाहरण मात्रै दिएको । यस्तो भने वापत मैले राष्ट्रिय बीमा संस्थानको संचालक समितिसँग माफी माग्नुपर्छ होला, त्यो आफ्नै ठाउँमा रह्यो । एकदमै डार्क (अध्यारो) मा रहेको हाइड्रोले सय रुपैयाँमा सुचिकृत भएर आउनु पर्नेमा प्रिमियम मूल्य राखेर २/३ सयमा राख्दा पनि छप्पर फाडेर दिन्छ भन्दै हारालुछ गरेर लिएको अवस्था पनि छ । लामो समयदेखि क्रेडिबल देखिएका, नेपाल राष्ट्र बैंकले एकदमै राम्रो भनेर प्रत्येक वर्ष सम्मान गरेका वाणिज्य बैंकहरुको अधिकतम सेयर मूल्य ८/९ सय पुग्ने, होइन भने ४/५ सय रुपैयाँ पुग्ने गरेको छ । अधिकांश वाणिज्य बैंकहरुको सेयर मूल्य प्रतिकित्ता ३ सयदेखि ६ सय रुपैयाँको बीचमा छ जस्तो लाग्छ । तर, एउटा लघुवित्त (जसको लगानीको स्रोत अर्कै छ, आफ्नो छैन, किनभने लघुवित्तले निक्षेप लिन पाउँदैन) जो अर्काबाट बरो गरेर ल्याएको पैसा लगानी गर्नेको सेयर मूल्य ४ हजार, पैतालिस सय, पाँच हजार पुगेको छ । यो भनेको के हो त ? र्यासनल्ली बिचार गर्ने मानिसलाई कि त बौलाहा भन्नुपर्यो । मलाई एक पटक त्यसै भनेका पनि छन् । मैले जे कुरा भनेको छु, त्यो वस्तुमा आधारित रहेर भनेको छु । धेरैलाई पच्दो रहेनछ । तर, मैले यो कुरा भन्नछोडेको छैन । म के भनिरहेको छु भने कम्पनीको विषयमा राम्ररी बुझेर लगानी गर्न गएको छ भने समस्यमा परिदैन । कम्तिमा छ महिन पर्खन सक्ने गरी लगानी गर्नुपर्छ । छ महिनापछि त्यही कम्पनीले पनि राम्रो दिन सक्छ । पर्खन नसक्ने, आज ५ रुपैयाँ नाफा भयो भने हच्कियो, त्यसको डिफरेन्स बैंकबाट लियो, फेरि १० रुपैयाँ नाफा भयो र जाने बेलामा एकैचोटी २५ गयो भने त टाउको समात्नु पर्ने हुन सक्छ । किनभने बैंकको त्यो डिफरेन्स बुझाउनु पर्ने हुन्छ । सेयर बजारमा पर्खन सक्नेहरुले बाजी मार्दा रहेछन् । बेलाबेलामा उफ्रिरहनेहरु भने तावाबाट उफ्रिएर भुंग्रोमा पर्दा रहेछन् । ५० लाख मानिस सहभागी भएको बजार र्यासनल हुँदैन र ? दुई तिहाईको सरकार पुरै समय टिक्छ, यसले राम्रो काम गर्छ भनिएको होइन र ? हामीले त त्यो कुरा पनि भोग्यौं । कोभिडको समयमा मान्छेहरुको काम थिएन । एउटा ल्यापटप लियो, डिम्याट खाता खोल्यो, सेयर बजारमा संलग्न भयो । मैले एउटा अनुभव गरेको छु । एउटा फोटो लिनुपर्यो भनेर फोटोग्राफरकोमा गएँ । ऊ फोटो राखेको ल्यापटपमा सेयर हेरिरहेको थियो । मैले – ए भाइ, मलाई प्राथमिकता दिनुस् न मलाई फोटो चाहिएको थियो भनें । उसले– पर्खनुस् न, यहाँ सेयरमा यस्तो यस्तो भइरहेको छ, तपाई कहाँ फोटोको कुरा गर्नुहुन्छ भन्यो । मलाई लाग्यो यो भाइलाई निकै नसा लागेको रहेछ । एकछिन पर्खिएँ । त्यहाँबाट सेवा नपाउने देखेपछि निरास भएर फर्किएँ । अर्काे ठाउँमा गएको, बैंकको छेउमा थियो त्यो ठाउँ । त्यहाँ मान्छेहरु कुरा गरिरहेका थिए– हामीले एउटा भाइलाई १० लाखको कर्जाको सीमा तोकेर काम गर्न दिएको, एउटा हाइड्रोमा हालेको, करिब करिब १ करोड रुपैयाँ कमायो । हाम्रो पैसा फिर्ता गरिदियो । ऊ चाही ६०÷७० लाख रुपैयाँ लिएर अहिले पनि काम गरिरहेको छ भन्दै थिए । उसले आफ्नो व्यवसाय छोडेर नै सेयर बजारमा काम गरिहेको रहेछ । भनेपछि यसमा फाइदा त रहेछ । सिस्टमभित्रैबाट पनि केही गर्न सकिदो रहेछ । अधिकांश मानिसहरु यही देखेर त्यहाँ झुम्मिएका पनि छन् । कति सक्रिय छन् भन्ने म जान्दिनँ । तर, धेरैजसो साना लगानीकर्ताहरु रहेको परिस्थितिमा ठूला लगानीकर्ताहरुले ८÷१० वटा सेयर फालिदिन्छन् । त्यसपछि त्यसको भाउ बढ्यो भनेर गएपछि ठूलोले सेयर बेचिदिन्छन् । यस्तो बेलामा जसरी माहुरीहरु गुलियोमा अल्झेर बसेका हुन्छन्, त्यहीबेला अरिंगाल आएर माहुरी नै टिपेर लाने जस्तो अवस्था आउँछ । साना लगानीकर्ताहरु घानमा पर्ने र अरिंगालहरुले आफ्नो गुँड बनाउने परिस्थिति आउन सक्छ । कतिपय मानिसले भन्छन् कि अहिले अनलाइनबाट कारोबार गर्न सकिने भएपछि यस्तो किन होला र । मसँग त्यसको जवाफ पनि छ । सबै मानिस सबैकुरा बुझेर तर्क संगत ढंगले नै सेयर बजारमा लाग्नु भएको छ भने त समस्या भएन । तर, हाहाको भरमा, फलानोले यसो भनेको थियो भनेर जाने, यो कम्पनीले त पोहोर यति दिएको थियो भनेर जाने जस्तो नबुझेर जानेहरुको लागि बाटो अलि कठिन नै छ भन्ने मेरो भनाई हो । र, गरेर खानेहरुलाई मेरो शुभकामना छ । व्यक्तिगत कुरा मेरो छोराको नाममा सेयर छ कि क्या हो । मलाई थाहा पनि छैन । श्रीमतीको नाममा चाही स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको १० कित्ता आईपीओ परेको थियो । त्यो बढ्दै बढ्दै आएर अहिले कति भयो । म चासो पनि राख्दिनँ । मसँग भने सुचिकृत कम्पनीको एक कित्ता पनि सेयर छैन । मलाई सेयर किन्न पनि बढो झन्झट लाग्छ । सिधै, सजिलोसँग गर्ने हो भने बेग्लै कुरा भयो । मेरो बैनीको २÷३ वटा कम्पनीको सेयर रहेछ । डिम्याट खोल्नुपर्ने भयो । म नविकरणको लागि गएँ । अहिले नविकरण भएको छैन जस्तो लाग्छ । किनभने गरिदिनु पर्ने मैले हो । मैले गरिदिएको छैन । त्यहाँ गएर काम गराउन मलाई धेरै झ्याउ लाग्छ । त्यहाँ जानु पर्यो, लाइनमा वस्नु पर्यो, एकदमै बेफुर्सदी भएको क्लर्कले गरेको यी सबै देख्दाखेरि वाक्क लाग्छ । म पनि राष्ट्र बैंकको एउटा तहमा बसेर काम गरिसकेकोले मेरो अनुहार धेरैले चिन्दा रहेछन् । मलाई देख्ने वित्तिकै पल्याक र पुलुक हेर्ने हुदो रहेछ । त्यसैले त्यहाँ उभिएर यी सबै गर्ने मेरो रहर नभएकोले मसँग सेयर छैन र भविष्यमा पनि होला जस्तो छैन । तर, मलाई सेयरका बारेमा यति धेरै गाली गर्ने भएपछि मैले पनि अनुभूति गर्नुपर्छ कि जस्तो लागेको छ । किनभने निर्वाचन आयोगले नेताहरुलाई भनेछ कि सरकारी बाँकी बक्यौता राख्नेहरु उम्मेदवार बन्न पाउदैनन् । मैले त्यसमा एउटा कुरा थपौं न भनेँ । थप्नु पर्ने कुरा के भने त्यो व्यक्ति इन्टरप्रिनर (उद्यमी) हो र गएको वर्ष अडिट (लेखापरीक्षण) गराएर पाँचवटा रुपैयाँ पनि कर तिरेको छैन भने त्यो पनि उम्मेदवार हुन पाउँदैन भनौं । त्यो भएपछि के हुन्छ भने काम गर्न कति दुःख रहेछ, कर तिर्ने भनेको के रहेछ, कर छलि गर्ने भनेको के रहेछ भन्ने कुरा बुझिसिध्याएपछि सरकारमा गएर हाम्रो अर्थतन्त्रको वास्तविकता उसले बुझ्छ । र, त्यहाँ (सरकारमा) गएर घोटला गर्ने, दुनियाभर गर्ने आँट गर्दैन भनेर मैले त्यसो गरौं न भनेको थिएँ । मैले भनेको त्यो कुरा कसलाई पच्छ र । राष्ट्र बैंकमा हुँदा पनि सेयर किन्न मन लागेन ? बैंक वित्तीय संस्थाको अनुमति लिन आउँदा नै कतिपयले त वार्गेन गरेर, कतिपयले छुट्टयाएका छन् भन्ने पनि सुन्छु म । एक जना वरिष्ठ पदाधिकारीलाई त्यो बेलाको अख्तियारका जल्दाबल्दा प्रमुख लोकमान सिंह कार्कीले बयानको लागि बोलाउनु भयो रे । अनि ती पदाधिकारीको ३ करोड रुपैयाँ जतिको सम्पत्ति देखिएको विषयमा उहाँले प्रश्न गर्नुभयो रे । तिमीहरु काम गर्ने कर्मचारीले यसो गर्न हुन्छ, यो त भ्रष्टाचार होइन भनेर सोध्नुभयो रे । जवाफमा ती पदाधिकारीले भन्नुभयो रे– सरल किसिमबाटै हुन्छ हजुर । ३/४ वर्षमा ३ करोड रुपैयाँ सेयरबाट कमाउन कुनै गाह्रो छैन भन्नुभयो रे । यस्तो सुनेपछि साथीभाइहरु त सेयरबाट करोडपति अरबपति भइसकेछन् भन्ने मलाई महसुस भयो । तर मलाई कहिल्यै पनि चाप्लुसी गर्ने र त्यसैबाट अनुचित लाभ लिन पर्छ भन्ने लागेन । बरु मैले त लाइसेन्स पाइसकेको एउटा बैंकको लाइसेन्स नै खारेज गरिदिएँ । सेयर बजारप्रति चासो राख्ने युवालाई सुझाव सेयर कारोबारमा संलग्न हुँदा खाल्डोमा पर्न पनि सकिन्छ । तर, लगानी गर्दा विचार पुर्याएर काम गरिने भएकोले नराम्रो होइन । खासगरी उत्पादनमुलक कम्पनीले रोजगारी सिर्जना गर्न, उत्पादन बृद्धि गर्न र सेवालाई राम्रोसँग परिचालन गर्नको लागि सहयोग पुग्ने हुन्छ । त्यसैले यस्ता कम्पनीहरुमा इन्भेष्टर (लगानीकर्ता) को रुपमा आउनुस् । ट्रेडर (कारोबारी) को रुपमा सकभर नजानुस् भन्ने मेरो सल्लाह हुन्छ । (राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर क्षेत्रीसँग गरिएको कुराकानीमा आधारित)