सेयर बजारमा ३७ लाख आवद्ध, सय जनाले मात्रै लाभ लिए

यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि हामीले थप प्रयास गर्नुपर्ने मैले देखेको छु । यसै विषयमा धितोपत्र बोर्डको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू सार्वजनिक भए । नियामक संस्थाकै अधिकारीहरूले आफ्नो परिवार भित्रै सेयर खरिद बिक्रीका ठुलाठुला कारोबार भएका खबरहरू सार्वजनिक भए । त्यसलगत्तै अर्थ मन्त्रालयको ध्यानाकर्षित भयो । धितोपत्र बोर्डमा भएको के हो भनेर यथार्थ बुझ्नका लागि सर्वप्रथमतः पत्राचार गरियो । त्यसको जवाफ पनि प्राप्त भएको छ । त्यसले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति बनाएर छानबिनको काम अगाडि बढेको छ । सञ्चारमाध्यममा आएका समाचार के हो त भनेर सत्य तथ्य जानकारी छानबिन समितिले दिनेछ । त्यसपछि आम नागरिकलाई जानकारी गराउनेछौँ । सोअनुसारको मन्त्रालयले आवश्यक कारबाही गर्नेछ । धितोपत्र बोर्ड र स्टक एक्स्चेन्ज लगायतमा देखिएका समस्याहरूको छानबिनबाट सत्य तथ्य बाहिर ल्याउनेछौँ । अहिले दिनानुदिन पूँजीबजार बढ्दो छ । धेरै आम सर्वसाधारणले पनि यसमा व्यापक लगानी गरेका छन् । त्यो लगानीको संरक्षण गर्ने र जनताको हितको संरक्षण गर्नलाई मन्त्रालय प्रतिबद्ध छ । सार्वजनिक रूपमा मैले यो कुरा भन्दै आइरहेको छु । आम लगानीकर्ताको हितमा मन्त्रालयले आवश्यक कदमहरू चाल्नेछ । यो कुरा बारम्बार भन्दै आइरहेको छु । यहाँ पनि यो भन्न चाहन्छु । अहिले अनियमिताको बारेमा उठेका प्रश्नका बारेमा यही नै भनेर निष्कर्ष निकाल्नुभन्दा पनि छानबिनबाट प्राप्त भएको रिपोर्टको आधारमा मात्रै भन्न सकिने भएको हुनाले त्यहाँको याथार्थ कुरा आइसकेपछि हामी त्यस बारेमा सार्वजनिक गर्न, आवश्यक प्रक्रिया चाल्न स्वभाविक हुने भएकाले हाम्रो ध्यान त्यसमा केन्द्रित भएको छ । छानबिन अगाडि बढेको छ । र हाम्रो ध्यान जनताको कारोबार र लगानी संरक्षण गर्नतिर छ । पूँजीबजार सम्बन्धी तपाईँहरूले अध्ययन गर्नुभएको रहेछ । त्यसको रिपोर्ट हामीले पनि अध्ययन गर्न पायौँ भने अझ हामीलाई सजिलो होला । जहाँसम्म धितोपत्र बोर्ड, नेप्सेलगायतका निकायहरू छन्, ती निकायहरूले गर्ने काम कारबाहीबारे आवश्यक नियमन गर्ने र त्यसलाई सही दिशातिर लैजाने एउटा जिम्मेवारी अर्थ मन्त्रालयमा रहेको कारणले विषय उठ्ने बित्तिकै हाम्रो ध्याकर्षण भयो । विषय उठ्ने बित्तिकै पत्राचार भयो । यहाँ स्पष्टीकरण संस्थालाई किन लेखियो भनेर प्रश्न उठेको छ । संस्थालाई चिठी लेख्दा अपूर्ण भएकाले व्यक्तिलाई फेरि चिठी लेखियो । व्यक्तिको स्पष्टीकरणले पनि हामीलाई चित्त नबुझेको हुँदा छानबिन समिति बनाइएको हो । छानबिन समितिलाई पनि हामीले धेरै समय दिएका छैनौँ । अब केही दिनमै समितिले हामीलाई रिपोर्ट बुझाउनेछ । छानबिन समितिको लागि पुनरावेदन वा उच्च अदालतको न्यायाधीशको नेतृत्वमा समिति बनाउने कानूनी व्यवस्था पनि एकातिर छ । फेरि अर्कातिर तपाईँहरू लगायत सबैलाई छिटो नतिजा आउनुपर्ने भन्ने भावना भएकाले हामीले छिटो गर्नका लागि समिति बनाइसकेका छौँ । तपाईँहरूलाई जति छिटो होस् भन्ने लागेको छ, त्यति नै हामीलाई पनि लागेको छ । यस किसिमका समस्यालाई समाधान गर्न कानूनमा भएका ‘लूप होल’हरूलाई समेत टाल्नुपर्ने अवस्था आएको छ । अब नयाँ कानूनको पनि खाँचो देखिएको छ । यो सबैलाई लागेको कुरा हो । हामी सदनमा प्रस्तुत गर्छौँ । अब त्यसलाई पास गर्ने काम तपाईँ माननीय सदस्यहरूको हो । हामीले छिटो गर्न खोज्नुको एउटै मात्र कारण छ, जनताको पैसा कतै डुब्ने हो कि भन्ने चिन्ता । अहिले पूँजीबजार किन बढ्यो भने कोरोनाका कारण भएका निषेधाज्ञाले गर्दा अन्य लगानीका वैकल्पिक बाटाहरू भएनन् । अनि इन्टरनेको पहुँच भएका आम मानिसहरूको ध्यान यतातिर आकर्षित भयो । यता आकर्षित हुँदा करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड छ । त्यो ३७ लाखमध्ये अत्याधिक मानिस सामान्य हुन् । सय जना जति मात्रले यसको लाभ लिइरहेका छन् । त्यसैले ती सामान्य मानिसहरूको लगानी पनि नडुबोस् भन्नेमा हाम्रो ध्यान गम्भीर ढङ्गले गएको छ । अहिले समस्याका बारेमा धेरै कुरा भन्न नहुने अवस्थामा छ । म आफैँले निर्णय गरेर छानबिन गर्न लगाइएको छु । अहिले धेरै बोले त्यसमा प्रभाव पर्न सक्छ । त्यसैले छानबिन समितिको अन्तिम रिपोर्ट नआएसम्म यसमा धेरै कुरा बताउन नमिल्ने अवस्था छ । अर्को कुरा अस्वभाविक मूल्य वृद्धिको कुरा पनि आइरहेको छ । ती कुराहरूमा पनि हाम्रो ध्यान पुगेको छ । माननीय सदस्यहरूले हेर्नु भएको होला, विद्युत नियमन आयोगले यस्तो विषयमा सूचना जारी गरेको छ । आम लगानीकर्ताहरूलाई पनि भन्न चाहन्छु कि त्यो सूचना हेर्नुहोस् । आयोगले कम्पनीको बारेमा सत्य तथ्य बुझेर मात्र लगानी गर्न भनेको छ । लगानीलाई प्रेरित गर्ने हाम्रो काम हो । त्यसकारणले कहाँ लगानी गर्दा फाइदा हुन्छ, के अवस्था छ भनेर जानकारी दिने काम पनि विभिन्न नियमनकारी निकायहरूले गरिरहेको कुरा पनि यहाँ जानकारी गराउन चाहन्छु । यहाँ इन्साइडर ट्रेडिङसँग प्रविधिको समस्या पनि होला । हिजो कतिले कारोबार गर्थे, आज कतिले कारोबार गरिरहेका छन् भन्ने कुरामा पनि प्रविधि परिष्कृत गर्नुपर्ने आवश्यकता होला । अन्य कारणले आम लगानीकर्तालाई समस्या भएको होला । यी यावत विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यी सबै विषयमा छानबिन गर्न छानबिन समितिलाई कार्यादेश दिएका छौँ । यो छानबिन आम लगानीकर्ताको हितमा हुनेछ । ढुक्क हुन म माननीय सदस्यहरूलाई माननीय सभापति मार्फत आग्रह गर्न चाहन्छु । यो कुरा काम भएपछि देखिनेछ । (आज प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिमा अर्थमन्त्री शर्माले व्यक्त गरेको धारणा)

बालबालिकालाई निमोनिया हुनबाट कसरी बचाउने ?

विश्वको तथ्याङ्क अनुसार पाँच वर्ष मुनिका बालबालिकाको मृत्यको प्रमुख कारण हाे निमोनिया । हरेक वर्ष विश्वमा पाँच वर्ष मुनिका ९ लाख २० हजार बालबालिकाको निमोनियाको कारणले मृत्यु हुने गरेको छ । जसमध्ये ९९ प्रतिशत बालबालिका गरिब र विकासशील देशका हुने गरेका छन् । नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै हो । तसर्थ यसबाट बालबालिकालाई याेबाट कसरी बचाउने थाहा पाउन अत्यन्त जरुरी छ । निमोनियाका थुप्रै कारणहरू हुन्छन् तर यसको मुख्य कारण भनेको सुक्ष्मजिवहरू नै हुन । उमेर अनुसार न्युमोनिया गराउने सुक्ष्मजीवहरू फरक हुन सक्छन् । विभिन्न सुक्ष्मजीवहरू मध्ये भाइरसमा रेस्पिरेटरी सिन्साईटीयल भाइरस, राहिनो भाइरस र इन्फ्लुन्जा भाइरस निमोनियाका प्रमुख कारण हुन भने ब्याक्टेरियामा स्ट्रेपटोकोकस न्यूमोनी, माईकोपलासमा निमोनिया, हेमोफिलस इन्फ्लुइञ्जि र स्टाफाईलोकोकस् औरीयसहरू प्रमुख कारण हुन । अशिक्षित र अज्ञान अभिभावक भएका बालबालिकाको अवस्था त अझै पनि हाम्रो देशमा दयनीय नै छ । तर प्राय धेरै अभिभावकलाई आफ्नाे बच्चालाई निमोनिया होला, यसलाई हुनबाट बचाउनु पर्छ र यसका लक्षण जस्तो लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य चौकी, अस्पताल वा आफ्नाे बालरोग विशेषज्ञलाई देखाउनु पर्छ भन्ने ज्ञान हुन्छ । ज्वाराे आउनु, खोकी लाग्नु, छाती घ्यारघ्यार हुनु, छिटाेछिटाे सास फेर्नु, कोखा हान्नु, बच्चा सुस्त हुनु, बच्चा निलो हुनु, छाती दुख्नु जस्ता सबै निमोनियाका लक्षणहरू हुन । यस्ता लक्षण थोरै र धेरै देखिने बित्तिकै अस्पताल लगिहाल्नु पर्छ वा आफ्नु बालरोग विशेषज्ञलाई देखाई हाल्नु पर्छ भन्ने सबै अभिभावकलाई थाहा नै छ । तर सबैभन्दा महत्वपूर्ण भनेको निमोनिया हुने सम्भावना नै घटाउन के के गर्नु पर्दछ भनेर ज्ञान राख्न जरुरी हुन्छ । यो हुने सम्भावना कसरी घटाउन सकिन्छ १) बालबालिकाको खोप – नेपालको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप लाउन अत्यन्त जरुरी छ । बच्चा ६ हप्ता ,१० हप्ता र ९ महिनाको हुँदा लगाउने पिसिभि खोप , ६,१० र १४ हप्ता हुँदा लगाउने एच इन्फ्लुन्जी वि र परटुसिस खोप र ९ र १५ महिना हुँदा लाउने दादुरा रुबेला खोप ,यी सबैले निमोनिया हुने सम्भावना र भयो भने पनि मृत्यु हुने सम्भावना निकै नै कम गर्दछ। – बच्चा ६ महिना पुरा भइसकेपछि इन्फ्लुन्जा को खोप एक एक वर्षमा लगाउन सकिन्छ र यसले पनि निमोनियाबाट धेरै नै बचाउन मद्दत गर्दछ ।यो नेपाल सरकारको खोप कार्यक्रम भित्र भने पर्दैन । २)अभिभावकको खोप – बालबालिकाको खोप सँगसँगै अभिभावक वा उसको स्याहार सुसार गर्ने व्यक्तिहरुको खोप पनि जरूरी हुन्छ । अभिभावकले पनि इफ्लुन्जाकाे खोप वर्षौंनी लगाउन सकिन्छ । ३) पर्याप्त पोषण – बच्चा ६ महिना हुँदासम्म आमाको दुध मात्रै खुवाउनु पर्दछ। यसले रोगसँग लड्न सक्ने क्षमता बढाउँदछ र निमोनिया हुने सम्भावना धेरै नै कम गर्दछ । – ६ महिना पुरा भएपछि आमाको दुध सँगसँगै अरु थप पौष्टिक आहार पनि पर्याप्त मात्रामा ख्वाउनु पर्दछ । – कुपोषण र संक्रमणले भिषण चक्र बनाउँदछ । कुपोषण भए निमोनिया हुने सम्भावना धेरै हुन्छ तसर्थ कुपोषण भए उपचार तत्काल गरी सन्तुलित पौष्टिक आहारले बच्चाको पोषण राम्रो बनाउनु पर्दछ । ४) सरसफाई – बालबालिकाको सरसफाई अत्यन्त जरुरी हुन्छ र सँगसँगै अभिभावक र बच्चालाई स्याहार सुसार गर्ने व्यक्तिको सरसफाई पनि जरूरी हुन्छ । – घरको र वातावरणको सरसफाई पनि जरूरी हुन्छ – भिडभाडबाट बालबालिकालाई सकेसम्म जोगाउनु पर्छ र बिरामी व्यक्तिबाट टाढै राख्नु पर्छ – अरूको रुमाल वा बिरामी व्यक्तिको सामानहरु प्रयोग गर्नु र गराउनु हुन्न । ५) बिरामी व्यक्तिहरुबाट बालबालिकालाई पनि र आफूलाई पनि जोगाउन पर्दछ ६) आफ्नाे बालरोग बिषेशज्ञ सँग सल्लाहा – राष्ट्रिय तालिका बाहेकका खोपको विषयमा र अन्य कुनै पनि जिज्ञासाको लागि आफ्नाे बालरोग विशेषज्ञसँग सल्लाह लिनु पर्दछ । – समयसमयमा बालबालिका बिरामी हुँदा भरसक बालरोग विशेषज्ञलाई वा अस्पतालमा लगेर देखाउनु पर्दछ । मेडिकलबाट यत्तिकै औषधि किनेर खाने काम गर्नु हुँदैन । कहिलेकाही नचाहिने अनावश्यक औषधीले फाइदाभन्दा पनि बेफाइदा गर्दछ । – निमोनिया भयो कि भनेर निमोनियाको औषधि दिनुन मेडिकलमा मागेर आफै औषधि खाने बानी बन्द गर्नुपर्छ । डाक्टरसँग सल्लाह गरेर मात्रै औषधिहरु लिन जरुरी हुन्छ । संक्रमणबाट जोगाउन अपनाउनु पर्ने विधि अपनाउने, खोप लगाउने, सरसफाइमा ध्यान दिने र पोषणयुक्त खानेकुरामा ध्यान दिने र केही भएमा आफ्नु बालरोग विषेशज्ञसँग परामर्श लिने गर्दा निमोनिया हुने सम्भावना कम गर्न सकिन्छ ।

सपिङ मलमा केसीको अनुभवः एकपटकको लगानीमा निरन्तर आम्दानी, नाफा पनि उच्च

पाँच वर्षयता देशकै प्रतिष्ठित सपिङ मलहरु लबिम मल र चौधरी ग्रुपद्वारा सञ्चालित सिजी ल्यान्डमार्क मलको सुरुआती समयदेखि नै त्यसको स्थापना र व्यवस्थापन गर्ने अवसरले गर्दा छोटो समयमै मैले धेरैभन्दा धेरै अनुभव र सीप हासिल गर्ने मौका पाएको छु । हालसम्म हरेक दिन नयाँ नयाँ कुरामा प्रखरता हासिल गर्दै मल व्यवस्थापन सम्बन्धी मैले सिकेका केही मूलभूत कुराहरु प्रस्ट्याउने कोसिस गरेको छु । आर्थिक प्रगतिको बाटोतर्फ लम्किँदै गर्दा नेपालमा पनि केही वर्षयता उल्लेख्य संख्यामा सपिङ कम्प्लेक्सहरु निर्माण भइरहेका छन् । अहिले मुलुकमा साना-ठूला गरी १८० भन्दा बढी सपिङ मल तथा कम्प्लेक्स सञ्चालनमा छन् । खुम्चिँदै गएको संसार, मानिसहरुमा आएको गुणस्तरप्रतिको चेतना र सुविधासम्पन्न र व्यवस्थित मलहरुमा सपिङ गर्दा हुने सजिलोले पछिल्लो समय किनमेल गर्न सपिङ मल अथवा कम्प्लेक्स धाउनेको संख्या बढिरहेको छ । यस्ता सपिङ मलहरुमा एकै छानामुनि सम्पूर्ण आवश्यकताहरुको परिपूर्ति, ब्रान्डको उपस्थिति, पार्किङको सुविधा लगायत लिफ्ट, सफा ट्वाइलेट, सफा वातावरण जस्ता सुविधाले सर्वसाधारणलाई यसतर्फ आकर्षित गरेको हो । एकै छानामुनि सपिङ गर्दा हुने समय बचतले पनि सपिङ मल तथा कम्पलेक्सहरुले नयाँ नयाँ ग्राहकहरु आफूतिर तानिरहेका छन् । सपिङ मलमा कारोबार गर्न व्यापारीलाई पनि निकै सहज हुन्छ । पानी, बत्ती, सरसफाइ, सुरक्षा लगायत व्यवस्थित सुविधाले गर्दा मल कल्चर फस्टाउँदै गएको अनुभव गरेको छु । मल के हो ? मल भनेको मिश्रित परियोजना हो । यो प्रारम्भिक सपिङ कम्प्लेक्सभन्दा भन्दा निकै फरक तरिकाको संरचना हो । यस संरचनालाई बहुआयामिक काममा प्रयोगमा ल्याइन्छ । यहाँका क्रियाकलापहरु एक अर्कासँग निर्भर हुन्छन् । अर्थात एकआपसमा जोडिएका हुन्छन् । सपिङ कम्प्लेक्सभित्र सिनेमा हल, जिम, स्पा, सैलुन, रेस्टुरेन्ट, इलेक्ट्रोनिक्स, भाँडा, कपडा, लगायत सम्पूर्ण सामानका पसल, गेम जोन, पार्टी प्यालेस, होटल, ग्रोसरी लगायत दैनिक उपभोग्य सामानहरु किन्न पाइन्छ । अर्को शब्दमा भन्ने हो भने सपिङ मलमा सहरको व्यस्त जनजीवनका लागि आवश्यक सबै किसिमका सेवा, सुविधाहरु पाइन्छ । कतिपय मलहरुले ‘सहरभित्रको सहर’लाई आफ्नो ब्रान्ड लाइन बनाएका हुन्छन् । सुरुमा मललाई सपिङ गर्ने ठाउँको रुपमा मात्र हेर्ने चलन थियो । अचेल मल भनेको हरेक कार्यको केन्द्र मान्ने गरिन्छ । व्यापारिक मल र कम्प्लेक्सहरु घुमघाम र रमाइलो गर्ने मनोरञ्जन केन्द्रको रुपमा समेत स्थापित भएका छन् । यही अवधारणा अन्तर्गत नयाँ नयाँ सपिङ मलहरु निर्माण पनि भइरहेका छन् । मल व्यवस्थापनमा के के पर्छ ? १. भाडामा लगाउने तथा बेच्ने निर्माण सम्पन्न भएपछि वा निर्माणाधीन अवस्थामै मलका स्पेस (ठाउँ)हरु ग्राहकको आवश्यकता अनुसार भाडामा लगाउने कार्य सुरु हुन्छ । धेरैजसो सपिङ मलहरुमा प्रतिवर्गफुटको आधारमा अथवा बोलकबोलबाट स्पेस भाडामा लगाउने छ । भाडाका अतिरिक्त क्याम (साझा क्षेत्र मर्मतसम्भार खर्च), बिजुली तथा पानी, एयरकन्डिसनर लगायतको खर्च पनि जोडिन्छ । भाडामा लगाउँदा अथवा बेच्दा विशेष ध्यान दिनुपर्ने चिज भनेको (प्रपर टेन्यान्ट मिक्सअप) हो । भविष्यमा हुन सक्ने अनावश्यक इन हाउस प्रतिस्पर्धा तथा इज अफ एक्सेस इन सपिङ्गका लागि टेन्यान्ट मिक्स एकदमै महत्वपूर्ण पाटो हो । जस्तैः जुत्ताको लागि निश्चित ठाउँ, ब्रान्डका लागि निश्चित ठाउँ, रेस्टुरेन्टका लागि अलग ठाउँहरुको बाँडफाँटले गर्दा ग्राहकहरु झुक्किँदैनन् । साथै उक्त क्षेत्र वस्तु विशेषको हब बन्छ । र व्यापार पनि बढ्छ । २. दैनिक सञ्चालन सुरुआती परिकल्पनादेखि निर्माण सम्पन्न नभएसम्म भएका सम्पूर्ण कार्य मलको सफल दैनिक सञ्चालनका सूचकहरु हुन् । जति व्यवस्थित सेवा हुन्छन् त्यत्ति नै बढी सञ्चालनमा सहजता आउँछ र प्रभावकारिता बढ्छ । मलमा दैनिक कार्य गर्ने विभागहरु यसप्रकार हुन्छन्ः १. प्रशासन २. लेखा, वित्त ३. मल प्रवद्र्धन ४. इन्जिनियरिङ तथा मर्मतसम्भार ५. सरसफाइ ६. सुरक्षा ७. ग्राहक सेवा ८. पार्किङ ९. ठेकेदार कम्पनी १०. किटाणुशोधन तथा किट नियन्त्रण ११. दैनिक ज्यालादारी मजदुर १२. सूचना प्रविधि ३. आम्दानी संकलन मलले विभिन्न शीर्षकमा आम्दानी गर्छ । मासिक/वार्षिक भाडा नै मुख्य आम्दानीको स्रोत हो । साथै ब्रान्डिङ, प्रवद्र्धनात्मक गतिविधि, क्याम, बत्ती इत्यादिबाट पनि आम्दानी हुन्छ । ४. प्रगति मलको प्रगतिका लागि प्रतिष्ठा र ब्रान्डिङलाई सदैव ख्याल राख्नुपर्छ । सार्वजनिक स्थल भएकाले सर्वसाधारणलाई आवश्यक पर्ने सम्पूर्ण सेवा, सुविधामा कुनै पनि खाले सम्झौता गर्नु हुँदैन । साथै सब लिज सबलिज, अनावश्यक इन हाउस कम्पिटिसन, समय तालिकामा पसल नखोल्ने, इम्प्रपर टेन्यान्ट मिक्स, बजारमा भन्दा बढी महँगोमा वस्तु र सेवा बिक्रीले सपिङ मललाई धराशयी बनाउन सक्छ भन्नेतर्फ ध्यान दिनु जरुरी हुन्छ । मलको दिगोपनका लागि एकमात्र आम्दानीको स्रोत भाडालाई मात्र ठान्दा पनि घातक साबित हुन सक्छ । मिश्रित परियोजना अन्तर्गत विज्ञापन, होटल, अपार्टमेन्ट, अभिस स्पेस, बैंकेट, पार्किङ, ग्रोसरी, प्रडक्ट डिस्प्ले, इभेन्ट लगायत अन्य आम्दानीका स्रोतलाई पनि विचार गर्न सके भविष्यमा दैनिक सञ्चालन सहज हुन्छ । कोभिड-१९ पछिको चुनौती मलमा हुने मनोरन्जनात्मक तथा लिजर गतिविधि, जस्तैः सिनेमा, रेस्टुरेन्ट, पार्टी प्यालेस, सैलुन, इभेन्ट, गेम जोन इत्यादि कार्यमा लागेको प्रतिबन्धको कारण सपिङ मलमा सर्वसाधारणको आवागमन निकै नै कम भएको छ । साथै ग्राहकको क्रयशक्तिमा आएको कमी, अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटकको यात्रामा लागेको प्रतिबन्ध साथै सञ्चालन खर्च, भाउ वृद्धिले पनि सपिङ मल सञ्चालनमा कठिनाइ उत्पन्न भएको पाइन्छ । कतिपय मलहरुले कोभिडको समयमा राहतस्वरुप भाडा छुटका प्याकेज ल्याएका छन् । यो कठिन समयमा व्यापारी र मल सञ्चालक दुवै पक्ष अति संवेदनशील भई आपसी समझदारीमा टिक्ने र टिकाउने वातावरण सिर्जना गर्नु आवश्यक छ । सरकारले पनि बैंक ब्याजदर, बिजुली महसुल, बीमा शुल्क, सम्पत्ति कर जस्ता विषयमा राहतका कार्यक्रम ल्याउनु आवश्यक छ । सपिङ मलले व्यापारीको मात्र नभई मुलुकको समग्र आर्थिक प्रगतिमा निकै ठूलो भूमिका निर्वाह गर्दछ । एकै छानामुनि न्यूनतम सयदेखि हजार जनासम्मले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारी पाएका हुन्छन् । मलभित्रको व्यापारिक गतिविधिबाट राज्यलाई करोडौं राजस्व प्राप्त हुन्छ । सर्वसाधारणको हकमा एकै छानामुनि सबै आवश्यकताको परिपूर्ति प्रतिस्पर्धी मूल्यमा गर्न सकिन्छ । तसर्थ सपिङ मललाई जीवित राखी भावी दिनमा अरु लगानीकर्तालाई प्रोत्साहन दिन आवश्यक पूर्वाधार तथा नीति नियमको आवश्यकता देखेको छु । सपिङ मलको भविष्य बढ्दै गएको एकीकृत सहर, ब्यस्त जीवन र सुविधामुखी ग्राहकरु बढ्दै गएका कारण नेपालमा धेरै प्रमुख सहरहरुमा सपिङ मलहरु सञ्चालन भइरहेका छन् । निकै सुविधासम्पन्न मलहरु सञ्चालनको तयारीमा छन् । ब्यस्त जीवनशैलीमा कम समयमै एउटै छानामुनि सम्पूर्ण सुविधा पाउँदा ग्राहकहरु निकै आकर्षित हुन्छन् । साथै समय समयमा हुने पर्व विशेष कार्यक्रमहरुले अलग्गै आनन्द दिने हुँदा पनि ग्राहकहरु मलतर्फ तानिँदै छन् । साथै, सपिङ मलहरुमा विश्वविख्यात ब्रान्डहरु पनि आ-आफ्नो आउटलेट खोल्ने दौडमा देखिँदा ‘ब्रान्डहरु भनेकै सपिङ मलमा पाइन्छ’ भन्ने मान्यता स्थापित हुँदैछ । साथै, लगानीकर्ता पनि एकचोटि लगानी गरेपछि दशकौंसम्म निरन्तर आम्दानी हुने, न्यूनतम जोखिम तथा न्यूनतम सञ्चालन खर्चमै सञ्चालन गरी अधिकतम वर्ष नाफा लिन सकिने साथै संरचनालाई भविष्यमा कुनै पनि कार्यमा प्रयोग गर्न सकिने भएकाले पनि यस क्षेत्रमा आकर्षित भइरहेको महसुस गरेको छु । (लेखक केसी सपिङमल व्यवस्थापक हुन् ।)