मेरा बैंकर साथी
अक्सर मेरा स्कुल पढ्ने धेरै साथीहरु आज नोकरीको सिलसिलमा कोही बिदेशिएका छन्, कोही सरकारी पेसामा आवद्द छन् । कोही व्यापारमा र कोही बैंकमा कार्यरत छन् । अरु पेसाका साथीसँग प्रायः भेट भइरहन्छ । कहिले कोटेश्वरमा बस चढ्दै गर्दा, कहिले चावहिलको सिनेमा हलमा, कहिले परिवारसँग घुम्न जाँदा फनपार्कमा । मसँग भेट नहुने साथीहरु भनेको प्राय: बैंकमा काम गर्ने साथीहरु हुन्। उनीहरुसँग आक्कल झुक्कल भेट हुन्छ । खुसी लाग्छ धेरै दिन पछि अचानक भेट हुँदा बैंकर साथीहरुसँग । धेरै दिनपछि आफूसँगै पढेको साथी भेट भयो । यस्सो बसेर कुराकानी गरौं न त भन्यो हतार छ यार कुनै दिन बसुम्ला नि ल भन्दै भेट्न पाएको हुँदैन बिदा भइहाल्छन् । कसैको मलामी जान हतार-हतार गरेझैँ जहिल्यै भेट्यो हतार-हतारमा हुन्छन् बैंकर साथीहरु । बैंकरहरु कार्य व्यस्तताले सामाजिक हुँदैनन्, कसैको बोलावट निम्तोमा पनि उनीहरु जाँदैनन् । विवाहमा पनि जाँदैनन् । मलामीमा पनि जाँदैनन् । बैंकरहरु घमण्डी हुन्छन् । व्यस्त त बहाना हो भन्ने आक्षेप एक हिसावले ठिकै हो कि हो कि जस्तो पनि लाग्छ । मेरै घरको कुरा गरुम् न । मैले कतिचोट आफ्नो घर सर्दा पूजा लगाउँदा होस् वा छोरीको पास्नीमा, कयौं चोटि आफूसँगै पढेका बैंकर साथीहरुलाई घरको कार्यक्रममा बोलाएको छु । कहिले क्लोजिङ् छ यार, आउन पाइनँ, सरि है, कहिले ट्रेनिङ छ यार, जुममा अनलाइन आउन पाइन है भन्दै आउदैनन् । तर, पनि उनीहरु साथी हुन् । म भने आफ्ना कार्यक्रममा बोलाउन छोडदिनँ । र, उनीहरु भने नआउन छोड्दैनन् । भनिन्छ नि, जो जहाँ काम गर्छ, जुन पेशामा आवद्द हुन्छ, विस्तारै उसको स्वभाव पनि पेशा अनुरुप हुँदै जान्छ । सायद त्यहि भएर होला, अरु पेसाका साथीहरुसँग कुरा गर्यो राजनैतिक, फिल्मीदेखि डुलेको घुमेको मात्र होइन मगंल ग्रहसम्मका कुरा हुन्छन् । मलाई कुरा गर्न मज्जा लाग्छ । आफनो पेशा पनि शिक्षक भएर होला, मलाई बोलिरहन मन पर्दछ । अँ साच्चि ! कुरा भनेपछि सम्झें । कुरा पनि दुईथरि हुन्छन् । एउटा गफ अर्थात आकाश पातालका कुरा जुन गरुन्जेल मज्जा लाग्छ । रमाइलो लाग्छ । तर, व्यवहारमा काम लाग्दैन । त्यसवाट शिक्षा पाइदैन । रमाइलो भने लाग्छ । यस्ता साथीहरु पनि चाहिन्छन्, कहिले काहीँ । अचाक्ली तनाव भयो भने रिफ्रेसमेन्ट हुनलाई । अरु साथीभन्दा मेरा बैंकर साथीहरु अलि फरक छन् । यिनीहरुसँग गफ गर्दा अलि चनाखो हुनु पर्दछ । डर पनि लाग्छ मलाई यिनिहरुसँग गफ गर्दा । कुरा गर्दै लग्यो हरेक कुरा आर्थिकमा ल्याएर जोडिदिन्छन् । जुनपनि कुरा फाइदा अनि नाफा घाटासँग तुरुन्त समावेश गरिहाल्छन । हिसावको बोक्रा बोक्रा निकाल्छन् । त्यहि भएर अलि डर लाग्छ मलाई बैंकर साथीहरुसँग कुरा गर्न । तर, पनि म प्रत्येक भेटमा बैंकर साथीहरुबाट केहि न केहि आर्थिक ज्ञान भने पाइनै रहन्छु । त्यहि भएर प्रायः पाँच–छ महिनामा एक–डेढ लाख वचत भएपछि खुसुक्क भेट्छु बैंकर साथीलाई । आर्थिक ज्ञान लिन र यो एक डेढ लाख कसरी सदुपयोग गर्ने भनेर सिक्न । उनीहरुमा आइडियाको खानी छ । म एउटा आइडिया लिन्छु र मेरो पैसाको सदुपयोग गर्छु । अब भनौ न, म सुरु सुरुमा गाउँबाट यो काठमाडौं आउदा मसँग पैसाको नाममा गाउँमा रहेको मेरो जग्गा र त्यो बेचेको पाँच लाख रुपैयाँ मात्र थियो । त्यहि बैंकर साथीको आइडिया र हिम्मतले एउटा पाँच लाखको सानो चार आना जग्गा किनियो । उसले भनेझै मलाई सेयरमा खासै रुचि र लगाव थिएन । उसले नै मेरो नागरिकता र फेटो मागेर उसकै ढिपीले डिम्याट खाता खोलियो । आइपिओ परिवारको हरेक सदस्यको नाममा भरियो पनि । यो सात आठ वर्षको दौरान आज मैले किनेको त्यो पाँच लाखको जग्गा आनाकै पन्द्र लाखमा जाने भइसक्यो । यता सेयरहरु पनि सवै बेच्दा नौ दश लाख जतिको पुगिसक्यो । अहिले उसैले घर बनाउन पनि मलाई हिम्मत दिइराखेको छ । केहि भएन भने जग्गा बैंकमा राखेर, मेरो शिक्षक पेसाको आम्दानी देखाएर होम लोन लिन भनिराखेको छ उसले । उ नभएको भए मलाई काठमाडौ जस्तो ठाउँमा घर बनाउने हिम्मत सायद आउदैन थियो होला । त्यहि भएर उसँग भेट नहुदा पनि खुसी लाग्छ । मेरै लागि र म जस्ताको लागि आइडिया बटुल्दै छ जस्तो लाग्छ । आखिर उसको ज्ञान मेरै लागि त हो नि । मेरो अरु साथीहरु खर्चालु छन् । एक भेटमा दुई तीन हजारको खर्च हुन्छ । मेरो भागमा एक हजार जति पर्छ । प्रत्येक भेटमा एक हजार चट् हुन्छ । तर, बैंकर साथीसँगको भेटमा दुई तीन सय नै काफि हुन्छ । एक हजारले त आइपियो भर्न पो पुग्छ । दश कित्ता सेयर पो भर्न मिल्छ भनेर उ ज्ञान दिन्छ मलाई । दश कित्ता सेयर भनेको भविश्यको केहि नभए पनि पचास हजार त पक्कै हो भनेर प्रत्येक आजको मेरो एक हजारलाई भविश्यको पचास हजारमा रुपान्तरण गर्छ मेरो बैंकर साथी । कहिले काहीँ त मलाई बोर पनि लाग्छ । उसले खाली आर्थिक मात्र कुरा गरेको देखेर । पैसा केहि होइन तर सवै थोक हो भनेर म पनि उसको कुरामा सहमति जनाउँछु । र, प्रत्येक भेटमा उसको हरेक कुरालाई सहमति जनाउँछु । बुझ्यौ तिमीले, सामान किन्दा मोलमोलाई गर्नु नि । डिस्काउन्ट माग्नु नि पसलेसँग । डिस्काउन्ट माग्न केको लाज भन्दै सानो सानो कुरा विचार गर्न लगाउछ उ, मलाई । तरकारी किन्दा किलोको पाँच रुपैयाँ घटायौ भने पनि वर्षमा त्यो पैसा दुई चार हजार हुन्छ भनेर उ मलाई तरकारी किन्न सिकाउँछ । वचत गर है, अनि वचत गरेको पैसा मुद्दतिमा राख है, धेरै व्याज पाइन्छ भन्दै मलाई वचत गर्ने बानी सिकाउँछ । ऊ फाल्तु कुरा गर्दैन । सायद पेशाले होला र उसको पेशाको बानीले होला । कसैलाइ सापटी नदिनु है, दिइहाले पनि धितो चाहि राख्नु है भन्दै ऊ मलाई सुरक्षित हुन सिकाउँछ । प्रत्येक मान्छेसँग नगद र कारोबार गर्दा क्लियर हुनु पर्दछ है । ऊ मसँग अभिभावक झै व्यवहार गर्छ । घर वनाउँ है, हाम्रो बैंकबाट होम लोन लेउ है । सस्तो व्याजको अफर छ है । अनि घर बनाएपछि घरको छानामा तरकारि लगाउ है भन्दै मलाई उ आत्मनिर्भर हुन सिकाउँछ । मेरो पैसा त सवै कति सेयरमा कति जग्गामा कति होमलोनको किस्ता तिर्नमा छ भन्दै आफूसँग चालु पैसा नभएको कुरा बताउँछ । सबै पैसा कमाउने र भविश्यमा बढ्ने क्षेत्रमा लगाएकोले सापटी दिन नसक्ने कुरा बताउँछ । तर, आइडिया चाहि दिन्छ मेरो बैकर साथी । आफू परिवारकै लागि रात दिन नभनि खटेको, परिवारलाई पर्याप्त समय दिन नसकेको, कामको व्यस्तताले समाजमा र सामाजिक क्रियाकलापमा समय दिन नसकेको, यत्रो कोरोनाको महामारीमा पनि ज्यानको जोखिम मोलेर सेवाग्राही कै सेवा गरेको तर परिवार, समाज र राज्यले त्यो नबुझिदिएकेले झन् उल्टै बैंकरलाई घमण्डी भनिदिएकोले आफ्नो र सबै बैंकर साथीहरुको मन यसमा चसक्क भएको कुरा उसले मलाई सुनाउँदा मेरो मन पनि खिन्न भएर आयो । अरु साथीहरुसँग हप्तै पिच्छे भेट हुदा गफ गर्न मज्जा लागेपनि, रमाइलो भएपनि हाँसी ठ्ट्टा भएपनि , सधै व्यस्त हुने मेरो बैंकर साथीसँग पाँच छ महिनामा एकचोटि मरेर भेट हुँदा पनि किन किन मलाई आफू आर्थिक रुपमा सुनिश्चित भएको महसुस हुन्छ । अरुले भनेझै उ आज मलाई घमण्डी लाग्दैन । बैंकर साथीलाई भेट्दा किन किन ढुक्क महसुस हुन्छ । त्यहि भएर होला सायद मेरो हरेक परिवारिक निम्तोमा ऊ आउन नभ्याए पनि म बुझ्छु उसको व्यस्तता । तर, बोलाउन उसलाई म छोड्दिन । म बोलाई रहन्छु, निम्तो गरिरहन्छु । मलाई थाहा छ, ऊ अत्यावश्यक क्षेत्रमा काम गर्ने मान्छे हो । टारगेट र प्रेसरमा काम गर्ने मान्छे हो । उसैले आइडिया दिएर होमलोन गर्दिएर आज म डेराको जिवनबाट मुक्ति हँुदै घर सर्दै छु । आज पनि मेरो निम्तोमा आउदैन । ऊ त म जस्ता हजारौको सेवाको लागि बैंकिङ काम गर्दै, सयौंको होमलोन, विजनेस लोन पास गर्दै कयौंको सपना पुरा गर्दै होला । कम्युटरको किवोर्डमा व्यस्त भई सायद कन्ट्रोल जेडआर गर्दै आफैलाई थकित हुनबाट रोक्दै रिफ्रेसमेन्ट गर्दै छ होला, मेरो प्यारो व्यस्त बैंकर साथी ।
सेयर बजारमा ३७ लाख आवद्ध, सय जनाले मात्रै लाभ लिए
यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि हामीले थप प्रयास गर्नुपर्ने मैले देखेको छु । यसै विषयमा धितोपत्र बोर्डको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू सार्वजनिक भए । नियामक संस्थाकै अधिकारीहरूले आफ्नो परिवार भित्रै सेयर खरिद बिक्रीका ठुलाठुला कारोबार भएका खबरहरू सार्वजनिक भए । त्यसलगत्तै अर्थ मन्त्रालयको ध्यानाकर्षित भयो । धितोपत्र बोर्डमा भएको के हो भनेर यथार्थ बुझ्नका लागि सर्वप्रथमतः पत्राचार गरियो । त्यसको जवाफ पनि प्राप्त भएको छ । त्यसले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति बनाएर छानबिनको काम अगाडि बढेको छ । सञ्चारमाध्यममा आएका समाचार के हो त भनेर सत्य तथ्य जानकारी छानबिन समितिले दिनेछ । त्यसपछि आम नागरिकलाई जानकारी गराउनेछौँ । सोअनुसारको मन्त्रालयले आवश्यक कारबाही गर्नेछ । धितोपत्र बोर्ड र स्टक एक्स्चेन्ज लगायतमा देखिएका समस्याहरूको छानबिनबाट सत्य तथ्य बाहिर ल्याउनेछौँ । अहिले दिनानुदिन पूँजीबजार बढ्दो छ । धेरै आम सर्वसाधारणले पनि यसमा व्यापक लगानी गरेका छन् । त्यो लगानीको संरक्षण गर्ने र जनताको हितको संरक्षण गर्नलाई मन्त्रालय प्रतिबद्ध छ । सार्वजनिक रूपमा मैले यो कुरा भन्दै आइरहेको छु । आम लगानीकर्ताको हितमा मन्त्रालयले आवश्यक कदमहरू चाल्नेछ । यो कुरा बारम्बार भन्दै आइरहेको छु । यहाँ पनि यो भन्न चाहन्छु । अहिले अनियमिताको बारेमा उठेका प्रश्नका बारेमा यही नै भनेर निष्कर्ष निकाल्नुभन्दा पनि छानबिनबाट प्राप्त भएको रिपोर्टको आधारमा मात्रै भन्न सकिने भएको हुनाले त्यहाँको याथार्थ कुरा आइसकेपछि हामी त्यस बारेमा सार्वजनिक गर्न, आवश्यक प्रक्रिया चाल्न स्वभाविक हुने भएकाले हाम्रो ध्यान त्यसमा केन्द्रित भएको छ । छानबिन अगाडि बढेको छ । र हाम्रो ध्यान जनताको कारोबार र लगानी संरक्षण गर्नतिर छ । पूँजीबजार सम्बन्धी तपाईँहरूले अध्ययन गर्नुभएको रहेछ । त्यसको रिपोर्ट हामीले पनि अध्ययन गर्न पायौँ भने अझ हामीलाई सजिलो होला । जहाँसम्म धितोपत्र बोर्ड, नेप्सेलगायतका निकायहरू छन्, ती निकायहरूले गर्ने काम कारबाहीबारे आवश्यक नियमन गर्ने र त्यसलाई सही दिशातिर लैजाने एउटा जिम्मेवारी अर्थ मन्त्रालयमा रहेको कारणले विषय उठ्ने बित्तिकै हाम्रो ध्याकर्षण भयो । विषय उठ्ने बित्तिकै पत्राचार भयो । यहाँ स्पष्टीकरण संस्थालाई किन लेखियो भनेर प्रश्न उठेको छ । संस्थालाई चिठी लेख्दा अपूर्ण भएकाले व्यक्तिलाई फेरि चिठी लेखियो । व्यक्तिको स्पष्टीकरणले पनि हामीलाई चित्त नबुझेको हुँदा छानबिन समिति बनाइएको हो । छानबिन समितिलाई पनि हामीले धेरै समय दिएका छैनौँ । अब केही दिनमै समितिले हामीलाई रिपोर्ट बुझाउनेछ । छानबिन समितिको लागि पुनरावेदन वा उच्च अदालतको न्यायाधीशको नेतृत्वमा समिति बनाउने कानूनी व्यवस्था पनि एकातिर छ । फेरि अर्कातिर तपाईँहरू लगायत सबैलाई छिटो नतिजा आउनुपर्ने भन्ने भावना भएकाले हामीले छिटो गर्नका लागि समिति बनाइसकेका छौँ । तपाईँहरूलाई जति छिटो होस् भन्ने लागेको छ, त्यति नै हामीलाई पनि लागेको छ । यस किसिमका समस्यालाई समाधान गर्न कानूनमा भएका ‘लूप होल’हरूलाई समेत टाल्नुपर्ने अवस्था आएको छ । अब नयाँ कानूनको पनि खाँचो देखिएको छ । यो सबैलाई लागेको कुरा हो । हामी सदनमा प्रस्तुत गर्छौँ । अब त्यसलाई पास गर्ने काम तपाईँ माननीय सदस्यहरूको हो । हामीले छिटो गर्न खोज्नुको एउटै मात्र कारण छ, जनताको पैसा कतै डुब्ने हो कि भन्ने चिन्ता । अहिले पूँजीबजार किन बढ्यो भने कोरोनाका कारण भएका निषेधाज्ञाले गर्दा अन्य लगानीका वैकल्पिक बाटाहरू भएनन् । अनि इन्टरनेको पहुँच भएका आम मानिसहरूको ध्यान यतातिर आकर्षित भयो । यता आकर्षित हुँदा करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड छ । त्यो ३७ लाखमध्ये अत्याधिक मानिस सामान्य हुन् । सय जना जति मात्रले यसको लाभ लिइरहेका छन् । त्यसैले ती सामान्य मानिसहरूको लगानी पनि नडुबोस् भन्नेमा हाम्रो ध्यान गम्भीर ढङ्गले गएको छ । अहिले समस्याका बारेमा धेरै कुरा भन्न नहुने अवस्थामा छ । म आफैँले निर्णय गरेर छानबिन गर्न लगाइएको छु । अहिले धेरै बोले त्यसमा प्रभाव पर्न सक्छ । त्यसैले छानबिन समितिको अन्तिम रिपोर्ट नआएसम्म यसमा धेरै कुरा बताउन नमिल्ने अवस्था छ । अर्को कुरा अस्वभाविक मूल्य वृद्धिको कुरा पनि आइरहेको छ । ती कुराहरूमा पनि हाम्रो ध्यान पुगेको छ । माननीय सदस्यहरूले हेर्नु भएको होला, विद्युत नियमन आयोगले यस्तो विषयमा सूचना जारी गरेको छ । आम लगानीकर्ताहरूलाई पनि भन्न चाहन्छु कि त्यो सूचना हेर्नुहोस् । आयोगले कम्पनीको बारेमा सत्य तथ्य बुझेर मात्र लगानी गर्न भनेको छ । लगानीलाई प्रेरित गर्ने हाम्रो काम हो । त्यसकारणले कहाँ लगानी गर्दा फाइदा हुन्छ, के अवस्था छ भनेर जानकारी दिने काम पनि विभिन्न नियमनकारी निकायहरूले गरिरहेको कुरा पनि यहाँ जानकारी गराउन चाहन्छु । यहाँ इन्साइडर ट्रेडिङसँग प्रविधिको समस्या पनि होला । हिजो कतिले कारोबार गर्थे, आज कतिले कारोबार गरिरहेका छन् भन्ने कुरामा पनि प्रविधि परिष्कृत गर्नुपर्ने आवश्यकता होला । अन्य कारणले आम लगानीकर्तालाई समस्या भएको होला । यी यावत विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यी सबै विषयमा छानबिन गर्न छानबिन समितिलाई कार्यादेश दिएका छौँ । यो छानबिन आम लगानीकर्ताको हितमा हुनेछ । ढुक्क हुन म माननीय सदस्यहरूलाई माननीय सभापति मार्फत आग्रह गर्न चाहन्छु । यो कुरा काम भएपछि देखिनेछ । (आज प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिमा अर्थमन्त्री शर्माले व्यक्त गरेको धारणा)
बालबालिकालाई निमोनिया हुनबाट कसरी बचाउने ?
विश्वको तथ्याङ्क अनुसार पाँच वर्ष मुनिका बालबालिकाको मृत्यको प्रमुख कारण हाे निमोनिया । हरेक वर्ष विश्वमा पाँच वर्ष मुनिका ९ लाख २० हजार बालबालिकाको निमोनियाको कारणले मृत्यु हुने गरेको छ । जसमध्ये ९९ प्रतिशत बालबालिका गरिब र विकासशील देशका हुने गरेका छन् । नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै हो । तसर्थ यसबाट बालबालिकालाई याेबाट कसरी बचाउने थाहा पाउन अत्यन्त जरुरी छ । निमोनियाका थुप्रै कारणहरू हुन्छन् तर यसको मुख्य कारण भनेको सुक्ष्मजिवहरू नै हुन । उमेर अनुसार न्युमोनिया गराउने सुक्ष्मजीवहरू फरक हुन सक्छन् । विभिन्न सुक्ष्मजीवहरू मध्ये भाइरसमा रेस्पिरेटरी सिन्साईटीयल भाइरस, राहिनो भाइरस र इन्फ्लुन्जा भाइरस निमोनियाका प्रमुख कारण हुन भने ब्याक्टेरियामा स्ट्रेपटोकोकस न्यूमोनी, माईकोपलासमा निमोनिया, हेमोफिलस इन्फ्लुइञ्जि र स्टाफाईलोकोकस् औरीयसहरू प्रमुख कारण हुन । अशिक्षित र अज्ञान अभिभावक भएका बालबालिकाको अवस्था त अझै पनि हाम्रो देशमा दयनीय नै छ । तर प्राय धेरै अभिभावकलाई आफ्नाे बच्चालाई निमोनिया होला, यसलाई हुनबाट बचाउनु पर्छ र यसका लक्षण जस्तो लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य चौकी, अस्पताल वा आफ्नाे बालरोग विशेषज्ञलाई देखाउनु पर्छ भन्ने ज्ञान हुन्छ । ज्वाराे आउनु, खोकी लाग्नु, छाती घ्यारघ्यार हुनु, छिटाेछिटाे सास फेर्नु, कोखा हान्नु, बच्चा सुस्त हुनु, बच्चा निलो हुनु, छाती दुख्नु जस्ता सबै निमोनियाका लक्षणहरू हुन । यस्ता लक्षण थोरै र धेरै देखिने बित्तिकै अस्पताल लगिहाल्नु पर्छ वा आफ्नु बालरोग विशेषज्ञलाई देखाई हाल्नु पर्छ भन्ने सबै अभिभावकलाई थाहा नै छ । तर सबैभन्दा महत्वपूर्ण भनेको निमोनिया हुने सम्भावना नै घटाउन के के गर्नु पर्दछ भनेर ज्ञान राख्न जरुरी हुन्छ । यो हुने सम्भावना कसरी घटाउन सकिन्छ १) बालबालिकाको खोप – नेपालको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप लाउन अत्यन्त जरुरी छ । बच्चा ६ हप्ता ,१० हप्ता र ९ महिनाको हुँदा लगाउने पिसिभि खोप , ६,१० र १४ हप्ता हुँदा लगाउने एच इन्फ्लुन्जी वि र परटुसिस खोप र ९ र १५ महिना हुँदा लाउने दादुरा रुबेला खोप ,यी सबैले निमोनिया हुने सम्भावना र भयो भने पनि मृत्यु हुने सम्भावना निकै नै कम गर्दछ। – बच्चा ६ महिना पुरा भइसकेपछि इन्फ्लुन्जा को खोप एक एक वर्षमा लगाउन सकिन्छ र यसले पनि निमोनियाबाट धेरै नै बचाउन मद्दत गर्दछ ।यो नेपाल सरकारको खोप कार्यक्रम भित्र भने पर्दैन । २)अभिभावकको खोप – बालबालिकाको खोप सँगसँगै अभिभावक वा उसको स्याहार सुसार गर्ने व्यक्तिहरुको खोप पनि जरूरी हुन्छ । अभिभावकले पनि इफ्लुन्जाकाे खोप वर्षौंनी लगाउन सकिन्छ । ३) पर्याप्त पोषण – बच्चा ६ महिना हुँदासम्म आमाको दुध मात्रै खुवाउनु पर्दछ। यसले रोगसँग लड्न सक्ने क्षमता बढाउँदछ र निमोनिया हुने सम्भावना धेरै नै कम गर्दछ । – ६ महिना पुरा भएपछि आमाको दुध सँगसँगै अरु थप पौष्टिक आहार पनि पर्याप्त मात्रामा ख्वाउनु पर्दछ । – कुपोषण र संक्रमणले भिषण चक्र बनाउँदछ । कुपोषण भए निमोनिया हुने सम्भावना धेरै हुन्छ तसर्थ कुपोषण भए उपचार तत्काल गरी सन्तुलित पौष्टिक आहारले बच्चाको पोषण राम्रो बनाउनु पर्दछ । ४) सरसफाई – बालबालिकाको सरसफाई अत्यन्त जरुरी हुन्छ र सँगसँगै अभिभावक र बच्चालाई स्याहार सुसार गर्ने व्यक्तिको सरसफाई पनि जरूरी हुन्छ । – घरको र वातावरणको सरसफाई पनि जरूरी हुन्छ – भिडभाडबाट बालबालिकालाई सकेसम्म जोगाउनु पर्छ र बिरामी व्यक्तिबाट टाढै राख्नु पर्छ – अरूको रुमाल वा बिरामी व्यक्तिको सामानहरु प्रयोग गर्नु र गराउनु हुन्न । ५) बिरामी व्यक्तिहरुबाट बालबालिकालाई पनि र आफूलाई पनि जोगाउन पर्दछ ६) आफ्नाे बालरोग बिषेशज्ञ सँग सल्लाहा – राष्ट्रिय तालिका बाहेकका खोपको विषयमा र अन्य कुनै पनि जिज्ञासाको लागि आफ्नाे बालरोग विशेषज्ञसँग सल्लाह लिनु पर्दछ । – समयसमयमा बालबालिका बिरामी हुँदा भरसक बालरोग विशेषज्ञलाई वा अस्पतालमा लगेर देखाउनु पर्दछ । मेडिकलबाट यत्तिकै औषधि किनेर खाने काम गर्नु हुँदैन । कहिलेकाही नचाहिने अनावश्यक औषधीले फाइदाभन्दा पनि बेफाइदा गर्दछ । – निमोनिया भयो कि भनेर निमोनियाको औषधि दिनुन मेडिकलमा मागेर आफै औषधि खाने बानी बन्द गर्नुपर्छ । डाक्टरसँग सल्लाह गरेर मात्रै औषधिहरु लिन जरुरी हुन्छ । संक्रमणबाट जोगाउन अपनाउनु पर्ने विधि अपनाउने, खोप लगाउने, सरसफाइमा ध्यान दिने र पोषणयुक्त खानेकुरामा ध्यान दिने र केही भएमा आफ्नु बालरोग विषेशज्ञसँग परामर्श लिने गर्दा निमोनिया हुने सम्भावना कम गर्न सकिन्छ ।