पुँजी बजारमा टेक्निकल टुल्स गलत छः मुक्ति अर्याल

पुँजी बजारमा प्रयोग गरिने टेक्निकल टुल्स प्रयोगकर्तालाई कसैले पनि फ्याक्ट नबताउने गरेको पाईएको छ, यो गलत छ । टेक्निकल टुल्स सिकाउँदा हाम्रो कन्टेक्समा यसका लिमिटेसन, डिसएडभान्टेज र रिक्सबारे सबै प्रष्ट बताउनु आवश्यक छ । हामीकहाँ टेक्निकल टुल्सको प्रयोगमा केहि समस्या छन् । तिमध्ये सबैभन्दा ठुलो समस्या भनेको स्टप लस हो । सेटलमेन्ट प्रोसेस २-३ (देखि ४/५ वा अझ बढी) दिन लाग्ने भएकाले कसैले पनि किन्ने बित्तिकै स्टप लस राख्न सक्ने अवस्था छैन । त्यो अवस्थामा किनेको दिनदेखि स्टकको प्राइस घट्न गएमा ट्रेडर्सलाई धेरै (२०-३० प्रतिशत वा अझ बढी पनि) लस हुने अवस्था छ । तर यो फ्याक्ट कसैले बताएको वा बताउने गरेको देखिँदैन । यो इथिकल र प्रोफेसनल अनेष्टी होइन । टेक्निकल टुल्स प्रयोग गर्दा स्टप लस गर्नसक्ने अवस्था हुँदैन भने त्यो अवस्थामा टेक्निकल टुल्स प्रयोग गर्नु हुँदैन । टेक्निकल टुल्सका लिमिटेसन, डिसएडभान्टेज र रिक्सबारे सबै प्रष्ट बताएको अवस्थामा कसैले यी टुल्स प्रयोग गरेमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार प्रयोगकर्ता नै हुनेछ। अन्यथा यसको नैतिक जिम्मेवारी सिकाउने व्यक्तिमा रहन्छ । टेक्निकल टुल्सको प्रयोगमा स्टप लस हुनैपर्छ । सो नभएको कारण टेक्निकल टुल्सको प्रयोग गलत छ । सेटलमेन्ट प्रोसेस ढिलो (मानौं न्युनतम २ दिन) भएको कारण स्टप लस नहुने र स्टप लस नहुँदाको अवस्थामा ट्रेडर्सलाई २० प्रतिशत वा सोभन्दा ज्यादा नोक्सानी हुन सक्छ । ट्रेडर्सले जानकारी राख्न आवश्यक छ । (पुँजी बजारबारे फण्डामेन्टल एनालाइसिस् गर्ने विश्लेषक अर्यालले समाजिक सञ्जालमा व्यक्त गरेका धारणा)

बैंकिङ नोकरी: घर बाहिरको जागिरको पीडा

आज पनि आखाँमा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नु पर्छ । म सुत्न नखोजेको पनि होइन । अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फेसबुक जबरजस्ति कत्ति चलाउनु ? यो ब्लग लेख्नुको पछाडि मलाई निन्द्रा नलाग्नु पनि हो । अहिले मैले ल्यापटपमा लेख्दै गर्दा मेरो भित्तामा झुन्डीएको घडीले साढे बाह्र बजेको संकेत गरिरहेको छ । जागिर खाएपछि खटाएको कार्यक्षेत्रमा अवश्य जानुपर्दछ । यसमा दुइमत छैन । निक्कै बर्ष विराटनगर को घर पाएक नोकरी गरेपछि नयाँ परिवेश , नयाँ अवसर ,नयाँ जिम्मेवारी र चुनौतिहरु सामना गर्ने आफ्नै इच्छाले पुर्विपहाडको विकट क्षेत्र मैले नै रोजेको हो । फेरि नोकरी भनेको कामको साथ साथै जागिरको दौरान सरुवा भएर नयाँ नयाँ ठाउँ हेर्ने अवसर पनि हो । विभिन्न जात जाति धर्म भौगोलिक बिबिधता र प्राकृतिक छटाहाहरु सँगं परिचित हुने मौका पनि हो । नोकरीको दौडान बाहिर जाँदा र बस्दा आफ्नै एक किसिमको अनुभव र अनुभुति हुने रहेछ तर पारिवारिक पाटो पनि निक्कै गाह्रो हुने रहेछ । त्यसमा पनि बैंकको नोकरी बाहिर बस्दाको पीडा सम्झदा जिवनका कयौ पारिवारिक पाटाहरु छुट्ने रहेछन् । मलाई सम्झना छ, कोरोनाको कारण गत साल यातायातको साधन नचल्दा र सरकारले लकडाउन को आदेश दिँदा करिब ६ महना पछाडि मात्र घर जान पाएको तितो अनुभव । अनि घरको मुल गेट खोल्दै गर्दा दुई वर्षमा देखेको र छोडेको छोरी आब्या एक्कासि अढाई वर्षमा मलाई देख्दा अपरिचित भनेर भाग्दै डराएर मामु को मान्छे हो ? भनेर म तिर फर्केर सोधेको नमिठो अनुभव । नमिठो लाग्छ छोरिले नै बाबा नचिन्दा । मलाई यहाँबाट घर जान एक दिन पुरै लाग्ने र आउन एक दिन पुरै लाग्ने कारणले त्यसमा पनि बैंकको नोकरीमा भनेको बेला छुट्टि नपाइने हुनाले अक्सर ५÷६ महिनामा म घर जान्छु । घर जान पाए भने खुसि लाग्छ । भोलि घर जाने भनेपछि त्यो रात निन्द्रा नै लाग्दैन । ५/६ महिनामा घर जाँदा छोरी पहिले देखेको भन्दा निक्कै बढेकी हुन्छे । सानो लिचीको बिरुवा नर्सरीबाट ल्याएर अस्तिको पल्ट रोपेको थिएँ । यात्रामा बसभरी विरुवा कत्रा भए होलान् भनेर सम्झन्ना आउँछ । घर पुगि हेर्दा ओइलिएछ । पानी दिनै पिच्छे पटाउन बिर्षे छन् क्यारे । गुलाफको फूल पनि ओइलिएछ । घरको पर्खाल पनि चर्किन थालेछन् । सम्झाउने म पनि त घरमा छैन नि । फोनबाट भएपनि पानी पटाओ है भनेर सम्झाउनु पर्थ्यो । मैले पनि बैंकिङ नोकरीको व्यस्तताले बिर्सेछु । उनीहरुले पनि बिर्सिएछन् । कोरोनाको कारणले १५ दिन पाइने फोर्स लिभ पनि सबै बैकले नदिने भइसक्यो । घरको बुढी आमाको एउटै सपना छ, हरेक बुढाबुढिको जस्तै भारतको चारधाम तिर्थ यात्र गर्ने । यो साल लामो बिदा नपाएर हो । अर्को पल्ट आउँदा पक्कै तिर्थ लान्छु भनेर मेरी बुढी आमालाई मैले ढाँट्दै गाडी चढेर कार्यक्षेत्रमा फर्केको मलाई अझै सम्झना छ । नजिकैको छिमेकि मरेर दुःख लाग्छ । म यहाँ छ,ु मलामी जान पाइएन । आफन्त नातागोेताको घरमा बिवाह लागेको छ । फोनबाट सुन्छु र चित्त बुझाउँछु । यहाँ आफन्त पनि कोही छैनन् । मेरा सबै सम्वन्ध पेशागत हुन् । दिनभरि काउन्टरमा आउने मान्छेसँग रमाउन खोज्छु । मेरो बैंक भित्र कोहि केटाकेटी आए भने मेरो छोरी पनि यत्रै भइ होली जस्तो लाग्छ । बृद्घवृद्घा हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता लिन भत्ताको लाइन मा बसेको देख्दा मलाई ति चाहुरिएको अनुहारमा आफ्नै आमा देख्छु । प्रत्येक पटक घर ३/४ दिनको छट्टिमा जाँदा आफ्नै घर बिरानो लाग्छ । जाँदा हवर हवर नै हुन्छ । बिजुलको बिल नतिरेको ६ महिना भएछ। घर जग्गाको कर नतिरेको महिनौ भएछ । टेलिफोनको लाइन पनि नतिरेर काटिएछ । फ्रिज पनि बिग्रिएछ । घरमा यो साल चाहिँ रङ लगाउनु पर्ने छ खै भ्याइँन्छ वा भ्याइँदैन । बुढी आमा मात्र होइन घरको भित्ताहरुले पनि मलाइ नै खोजिरहेको छ । म भने यता अफिसको टारगेट पुर्याउन तल्लिन छु । पेशागत कर्तव्य र धर्म मान्दै । बैंकको काम गरेपछि महिनामा तलब आउँछ अनि किरानाको मासिक रासनको बिल तिरिन्छ । बैंकले घरको चुलो बालेको छ । अफिस त १० देखि ५ बजेसम्म लाग्छ । तर, अफिस सकिएपछि उकुसमुकुस हुन्छ । घुम्न जाने कतै ठाउँ पनि छैन । तास पनि खेल्न आउँदैन । रक्सि कहिल्यै खाइएन । उफ ! सम्झदा यो एकान्त गाह्रो र गाह्रो महसुस हुन्छ । साथी त एकान्तमा केबल भित्ताको घडी भएको छ । घडीको सुई चाँडो घुमे हुने नी । क्यालेन्डरको पन्ना चाँडो पल्टे हुने नी । दशैं आउन एक महिना पनि छैन । घर जान पनि कमै दिन बाँकी छ । यहाँ बसेको पनि चार वर्ष भएछ । एकै ठाउँ बस्दा बस्दै अब पट्यार लाग्न थालिसकेको अब त घर पायक नै ट्रान्सफर भए हुने नी काम कति बाँकि छ । ट्रान्सफर भइहाले घर नजिक भए आमालाई तिर्थ लाने थिएँ । सधैँ पानी पटाइ ओइलिएको गुलाफहरु फुलाउने थिएँ । अनि नजिकैको मन्दिरको देवतालाइ चढाउने थिएँ । अब त छोरी पनि बाबा खोज्छे । उ सँग साँझमा खेल्ने थिएँ । घरका भित्ताहरु रङ्ग्याउने थिएँ । अनि फुल फुलाए जसरी फुलाउने थिएँ, मेरो ओइलिएको बैंकर परिवार ।

देशको विकास चाँडै हुन्छ, त्यो आँट म गर्दैछुः अर्थमन्त्री शर्माको विचार

मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको पनि छैन । राजश्वको लक्ष बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको हो । अध्यादेश बजेट खासै चलाइएको छैन । तैपनि केही न केही सम्बोधन गरौं भनेर हेर्दा, हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो भेटियो, योजना बनाउने प्रचलन हेर्दा कहालीलाग्दो अवस्था पाएँ । देशलाई कति सडक चाहिने हो ? कुन सडक कति लेनको हुनु पर्ने हो ? यसको कुनै मानक पालना भएको पाइएन । जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने गरेको पाइयो । सबै मन्त्रालयका सचिवहरुलााई बोलाएर मैले सोधें पुँजीगत बजेट किन खर्च भएन ? सचिवहरुले भन्नुभयो कि चाहिने ठाँउमा बजेट छैन नचाहिने ठाँउमा हालेको बजेट कसरी खर्च गर्ने ? यस्तो रहेछ बजेटको अवस्था । हामीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीको खाँचो छ । खर्च र लगानीका नयाँ क्षेत्रहरु पनि छन् । त्यो अनुसारको प्रणाली पनि आवश्यक छ । हामीलाई रोजगारी सृजना गर्नुछ । यसको लागि उद्योग धन्दा खोल्नु महत्वपूर्ण छ । तर त्यसको पक्षमा मैले केही नयाँ निर्णय गर्दा कतिपयलाई घाटा पर्ने भएछ । मैले निर्णय गर्दा कसलाई घाटा भयो कसलाई नाफा भयो भनेर हिसाव किताव गरेको होइन । मैले त देशलाई फाइदा हुने निर्णय गरेको हो । अरुले हाम्रो देश बनाउन दिएनन् भन्थे त्यो कुरा सत्य होइन रहेनछ । हामी आफैले नबनाएको रहेछ । । तर म त्यो प्रचलन तोड्नेछु । स्वदेशमै उद्योग धन्दा खुल्ने वातावरण बनाउँछु । यसको लागि पनि इमान्दारिता नै प्रमुख कुरा हुँदो रहेछ । भित्रैदेखिको इमान्दारिता चाहिनेरहेछ । देश बनाउने इमान्दारिता । इमान्दार छैन भने बाहिरबाट उठेका प्रश्नहरुको सामना गर्न सकिँदैन । मसँग त्यो आँट छ । म हरेक प्रश्नहरुको सामना गर्न तयार छु किनकि मैले इमान्दारितापूर्वक देश बनाउने कुरा गरेको छु । अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन खोज्यो भने पनि हाम्रै संयन्त्रले मान्दो रहेनछ । वातावरण सहज बनाउनुको सट्टा ढोका बन्द गर्ने चलन हाम्रै संयन्त्रभित्र रहेछ । औपचारिक बाटोमा आउनको लागि त प्रक्रिया सरल बनाइदिनुप¥यो नि । ढोका खोलिदिनुप¥यो नि त । तर बन्द यहाँ त ढोका बन्द गर्ने परिपाटी रहेछ । अप्ठेरो बनाइदिने रहेछ नीति र ऐन कानुन बनाइनेरहेछ । नीति, नियम, कानुन सरल बनाइदियो भने धेरै कुरा अगाडि बढ्ने मैले देखेको छु । चाँडै नै देशको विकास हुने मैले देखेको छु । त्यो आँट म गर्दैछु । श्रम सहकारीलाई १० करोडको काम: हकारी संस्थाहरु निश्चित कानुन अनुसार दर्ता भएका हुन्छन् । यो अविछिन्न संस्थाको रुपमा रहिरहन्छन् । श्रम सहकारीहरु जसले श्रमिकहरुलाई संगठति गरोस् । श्रमिकहरुलाई सीप विकास तालिम देओस् । तर उपभोक्ता समितिको निरन्तरता कहाँ छ त ? एउटा कामको लागि बन्यो, काम सकिएपछि भंग भयो । यस्तो हुन्छ उपभोक्ता समिति । संस्थागत स्मरणहरु केही हुँदैनन् । त्यसैले मैले यसलाई बदल्न खोजेको हो । निर्माणको काम कार्यकर्तालाई दिन खोज्यो भनेर प्रचारि गरिएको छ । तर वास्तवमा कुरा त्यसो होइन । कार्यकर्तालाई बाँड्ने काम त बरु उपभोक्ता समितिहरुले गरेका होलान् । मैले यसलाई तोड्न खोजेको हो । श्रम सहकारीमार्फत काम गर्दा त्यस्तो हुँदैन । १० करोड भनेको हिजो उपभाोक्ता समितिलाई १ करोड दिएजस्तै हो । आजको मूल्यमा अनुपात मिलाएर हेर्दा मैले अघि सारेको यो कार्यक्रम उपभोक्ता समितिलाई सिधै रकम हस्तान्तरण गरे जस्तो होइन । श्रम सहकारीहरुबिच आपसी प्रतिस्पर्धा गरेर, दर रेट निर्धारण गरेर सामुहिक रुपमा काम गर्ने अवधारणा हो । निश्चित दर रेट निर्धारण भइसकेपछि प्रतिस्पर्धामा भाग लिने सबैले काम गर्न पाउने व्यवस्था गर्न खोजिएको हो । यसमा कसैको हारजित हुँदैन । सबैले काम पाउनेछन् । सवै मिलेर काम गर्नुपर्नेछ । दश हजार राहतको कुरा: कोभिड १९ कारण रोजगारी गुमाएका अति विपन्न जनतालाई संकटको बेला राज्यले सम्झेको मात्र हो । मापदण्ड बनाएर केही थोरै दिन खोजेको मात्र हो । राज्यले पहिलो पटक गरिबलाई सम्झेको हो ।सरकारको ढुकुटीमा रहेको जनताको अलिकति पैंसा राहत कार्यक्रममार्फत बजारमा परिचालन गर्ने उपाय पनि हो । यसले अर्थतन्त्रलाई चलायमान बनाउने काम पनि गर्नेछ । गरिबले पाएको त्यो पैंसा घरमा थन्काएर त पक्कै पनि राख्दैन । त्यो पैंसा बजारमा पुग्छ । पैंसा परिचालन हुन्छ । तर एकथरिलाई अर्कै चिन्ता छ । तर, हामीले जनताको पैंसा जनतालाई नै दिन खोजेको हो । यस्ता केही कुरामा अलिकति बल गरिएन भने अघि बढ्न सकिँदैन । हामी हाम्रा हातखुट्टा आफै बाँध्नेरहेछौं, हाम्रो विकास हामी आफै रोक्दारहेछौं । यो स्थिति तोड्न खोजेको हो । तपाई अडिटरहरुले पनि यो कुरालाई ध्यान दिनुपर्नेछ । तपाई हामी सवैले आ–आफ्नो ठाँउबाट मेहेनत गर्नुप¥यो । देशलाई समृद्ध बनाउन हामी सवैले प्रतिवद्धता गर्नुप¥यो । यसो गरियो भने पक्कै केही सुधार हुन्छ । देश विकासको बाटोतिर अघि बढ्छ । देशको समग्र सम्पत्तिको मूल्याङ्कन मैले केही समय अघि देशको समग्र सम्पत्तिको मूल्याङ्कन गर्ने कुरा उठाएको थिँए । यस अभियानबाट म पछि हटेको छैन । समग्र मूल्याङ्कन गरियो भने के नतिजा आउँछ त ? यो देशको समग्र वार्षिक ट्रान्जेक्शन कति हो त ? औपचारिक ट्रान्जेक्शनको तथ्याङ्क त आउला तर अनौपचारिक क्षेत्रको कति हो ? पुरा हिसाव के छ नेपालको ? यो पत्ता लगाउने विचार छ । यो कसरी गर्न सकिन्छ ? त्यो आइडिया तपाई अडिटरहरुले निकाल्नुप¥यो । मलाई त यो गर्नुपर्छ भन्ने मात्र थाहा छ तर कसरी गर्ने भन्नेको ज्ञान तपाइसँग छ । यस कार्यमा पनि तपाईहरुले सहयोग गर्नुप¥यो । मैले यो कुरा गर्दा कतिपयहरु झस्किएछन् कि अब यसले व्यक्तिगत सम्पत्ति खोजविन गर्ने कुरा ग¥यो भनेर । तर मैले त्यसो भन्न खोजेको हैन । मैले त समग्र देशको सम्पत्ति मूल्याङ्कन गर्न चाहेको हो । (शुक्रवार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राखेको विचार)