दसैँ, सडक सुरक्षा र चालकको दायित्व

आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् । दसैंको समय यात्रुहरुको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुनु स्वभाविक हो । सिमित सडक पूर्वाधार, बढ्दो यात्रुको चाप र सवारीसाधनको अविश्राम आवतजावतले सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएकोछ । सार्वजनिक यातायात क्षेत्रका लागि दसैं एउटा अवसर हो । अरु समय यात्रुको चाप हुँदैन, नियमित सवारीसाधन गुडाउन पाइदैन । दसैंका समय निरन्तर यात्रु ओसारपसार भइरहने हुँदा सवारीसाधनको नियमित चेकजाँच गर्न भ्याइरहेको हुँदैन । अविश्राम काम गरिरहँदा चालक थाकेका हुन्छन् । थकान, तनाव, हतारो, यान्त्रिक गडबडी, सीमित सडक पूर्वाधार र सवारीसाधनको अधिक चापले सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटना न्यूनीकरण देशको चासोको विषय हो, सबैको सरोकारको विषय हो । तर, सूर्योदयदेखि राति अबेलासम्म सडकमा जीवन खोजिरहने चालकका लागि अरुको भन्दा बढी जरुरतको विषय हो सडक सुरक्षा । तसर्थ चालकहरुले निम्न विषयहरुलाई पालना गर्नसक्यो भने सडक दुर्घटनामा क्रमशः न्यूनीकरण हुनेछ । आफू सुरक्षित हुनुस् : शारीरीक, मानसिक रुपमा म ठीक छु, म स्वस्थ छु, यो सवारीसाधनलाई म गन्तव्यसम्म सुरक्षित पुर्याउन सक्छु भन्ने महसुस गर्नुस् । तीव्र गति, जीवनको क्षति भन्ने कुरा सम्झी रहनुस् : तीव्र गतिकै कारण सडक दुर्घटना बढिरहेको तथ्यले देखाएको छ । केही समय ढिला भएपनि धैर्य गर्नुस्, तीव्र गतिमा सवारी नचलाउनुस् । ढिला गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने उखानलाई सम्झिनुस्, दुर्घटनामा ज्यान गएका अङ्गभङ्ग भएका, दुर्घटनाकै कारण जेल परेका मजदूरका दर्दनाक व्यथा सम्झनुस् । सवारीसाधन चलाइरहँदा मोबाइलमा कुरा गर्र्दै नगर्नुस् : पलभरको सानो गल्तीले सडक दुर्घटना हुने गरेको छ, जनधनको क्षति हुने गरेको छ । सवारीसाधन चलाइरहेको समय मोबाइलमा कुरा गर्दै नगरौं । महत्वपूर्ण फोन आएको अवस्थामा सवारीसाधन रोकेर कुरा गर्ने वा गन्तव्यमा पुगेर कलब्याक गरेर कुरा गर्ने बानी बसालौं । क्षमता भन्दा बढी यात्रु नचढाउनुस् : सवारीसाधनमा क्षमताभन्दा बढी यात्रुलाई कोचाकोच नचढाउनुस् । छोटो दूरीमा बाहेक लामो दूरीमा उभ्याएर यात्रा नगराउनुस् । अधिक भिडभाड गराएर यात्रा नगराउनुस् । दवाब र तनाबमा काम नगर्नुस् : काम नगरी हुँदैन भन्ने दवाबमा काम नगर्नुस् र तनाब छ भने पनि काम नगर्नुस् । दवाब र तनाबमा सवारीसाधन चलाउँदा पनि सडक दुर्घटनाहरु हुने गरेको अध्ययन देखाएको छ । चालक आफू मात्रै खुशी होइन, आफूले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुलाई पनि हँसाएर रोमाञ्चित बनाएर सवारी चलाउनु पर्दछ । बढी भाडा नलिनुस् : यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिँदै नलिनुस् । यात्रुहरुबाट बढी भाडा असुल गरेको पाइएमा कानुनले दण्डित गर्ने व्यवस्था गरेको छ । त्यस्तो अपराध नगर्नुस् । समयलाई महत्व दिनुस् : सवारीसाधन छुट्ने समयलाई ध्यान दिनुस् । एउटै रफ्तारमा सवारीसाधन चलाउनुस् । कतै तीव्र कुदाउने, कतै लामो समय रोकेर राख्ने नगर्नुस् । दुर्घटनाग्रस्त क्षेत्रहरुमा संयम भएर हिड्नुस् । ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुस् : हाम्रो राजमार्ग मृत्यु मार्ग जस्तै भएका छन्, सडक दुर्घटनामा ज्यान जानेको संख्या कहाली लाग्दोछ । अधैर्य र जवरजस्त सडक प्रयोगकर्ता चालक (निजी तथा सार्वजनिक सवारीसाधनका चालक) का कारण सडक दुर्घटना वृद्धि भइरहेको छ । कमसेकम आफुलाई जिम्मेवार चालकका रुपमा परिचय बनाउनुस् । ट्राफिक सङ्केतको पालना गर्नुस्, ट्राफिक नियमको अनुशरण गर्नुस् । ट्राफिक नियम र सडक अनुशासनमा इमान्दार बन्नुस् । खानपानलाई व्यवस्थित गर्नुस् : मादकपदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) बाट टाढा रहनुस् । हाम्रो कानुनले ड्रिङ्क्स् एण्ड ड्राइभलाई गैरकानुनी मान्दै दण्ड सजायको व्यवस्था गरेको छ । यसको खासकारण सडक दुर्घटना नै हो । तसर्थ, यो अक्षम्य अपराध नगर्नुस्, सक्नुहुन्छ मापसे मुक्त हुनुस्, सक्नु हुन्न काम गरिरहेको समय यसबाट टाढा रहनुस् । काम र जीवनलाई सन्तुलित गर्नुस् : आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन श्रमिकहरुको जीवनसँग जोडिएका सन्दर्भ हुन् । आरामबिनाको निरन्तर कामले स्वास्थ्यमा असर पार्छ । यसका कारण दुर्घटना निम्तिन्छ । तपाइँ र तपाइँको हातमा रहेका यात्रुहरुको जीवनमा असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् । कामपछि परिवारसँग समय बिताउनुस्, सभ्य बोल्नुस् । महिला, बालबालिका र बृद्धबृद्धालाई सम्मान गर्नुस् : तपाइँले चलाइरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरु हुन सक्छन् । उनीहरुको क्षमता र समस्याहरु तपाइँ हामीभन्दा फरक हुनसक्छ । सकेसम्म उनीहरुलाई सहयोग गर्नुस् सकिएन भने पनि कमसेकम सम्मान गर्नुस् । उनीहरु हाम्रो छोरी, छोरा, आमा, बुबा, श्रीमती वा परिवार जस्तै हुन सक्छन् भन्ने सम्झिनुस् । गुणस्तरहीन खानेकुरा बिक्री गर्ने होटलमा यात्रु नलानुस् : यात्राका क्रममा बाटोमा यात्रुलाई चिया, खाजा र खाना खुवाउने लाइन होटलहरु जसले स्वस्थ र गुणस्तरीय खानपान गराउँछन्, त्यस्ता होटलमा मात्रै सवारीसाधन रोक्नुस् । जनस्वास्थ्यमा खेलवाड गर्ने र जनतालाई ठगी गर्ने लाइन होटलहरुमा सवारीसाधन रोक्दै नरोक्नुस् । यात्रुमैत्री हुनुस् : सार्वजनिक यातायातको यात्रा पीडादायी हुन्छ भन्ने अनुभूत गर्नुस् । सबैको स्वास्थ्य एकनासको हुँदैन कतिपय यात्रुहरु मधुमेह, रक्तचापका रोगीहरु हुन्छन्, बृद्धबृद्धाहरु, महिला, बालबालिका र अशक्तहरु हुन्छन् । उनीहरुलाई समय समयमा शौचालय आवश्यक पर्नसक्छ भन्ने विषय हेक्का राख्नुस् । लाइसेन्स र कागजपत्र साथमा राख्नुस् : तपाइँको साथमा सवारीसाधनको ब्लु बुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र (लाइसेन्स) बिमाको कागजलगायत साथमा राख्नुस् । बाटोमा चेकजाँच गर्ने अधिकारीले कागजातहरु माग गरेमा देखाउनुस् । कुनै किसिमको समस्या भए वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धित प्रालि वा सङ्घ, सङ्गठनलाई जानकारी गराउनुस् । सवारीसाधनको अवस्था चेक गर्नुस् : सुरक्षित यात्राका लागि सवारीसाधन ठीक हुनु पर्छ । हामीले चलाउने सवारीसाधन ग्यारेजबाट निकाल्नु अघि र ग्यारेजमा राख्ने समयमा सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोबिल, पानी, इन्धन, ब्रेक, टायर, टाइरड, इन्जिन, अतिरिक्त टायरलगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरु राम्ररी चेकजाँच गर्नुस् । आफूले चलाउने सवारीसाधनको अवस्थालाई सधैँ ठीक अवस्थामा राख्नुस् । नेपालमा सडक दुर्घटनाको डरलाग्दो रुप : सडक दुर्घटनामा प्रत्येक वर्ष नेपालमा दुई हजार आठ सय ८० जनाको ज्यान गइरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाइते भइरहेका छन् । दसैँ तथा चाडपर्वका समय सडक दुर्घटनामा वृद्धि हुने गरेको छ । सडक दुर्घटनाका मुख्य कारणहरु निम्न प्रकार छन् । भौतिक कारण: पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्डविपरीत प्रविधिविहीन सडक र अत्यधिक सवारीसाधनको चाप सडक दुर्घटनाको कारण बनेको छ । मानवीय कारण: मानवीयअन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरु पर्दछन् । सडक प्रयोग गर्दा उनीहरुसँग हुनु पर्ने चेतना, ज्ञान, सीप र अनुभवहरुका कारण सडक दुर्घटना निम्तिने गर्दछ । यान्त्रिक कारण: सुरक्षित यात्राका लागि सवारीसाधन उपयुक्त हुनु पर्दछ । अवस्था राम्रो हुनु पर्दछ । यान्त्रिक रुपमा सवारीसाधन ठिक हुनु आवश्यक छ । पर्यावरणीय कारण : कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो । साथै हावा, पानी, आँधिहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ । अन्त्यमा, सडक दुर्घटना न्यूनीकरण मजदूरहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन । यसो भनेर हामी गैरजिम्मेवार हुन मिल्दैन । सडक दुर्घटनाको सामाजिक, आर्थिक र मानवीय असरलाई हामी श्रमिकहरुको तर्फबाट एउटा प्रयत्न भयो भने सबैलाई फाइदा हुनेमा दुई मत छैन । (लेखक नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

चाडपर्व, अपराध र सावधानी

यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् । विदेश गएका र रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू पनि यतिबेला आफ्नो गाउँघर फर्किएका छन् । अधिकांश व्यक्तिहरु आफ्नो मूल परिवार, पुख्र्यौली थातथलोमै गएर चाडपर्व मनाउने गर्दछन् । वर्ष दिनमा आउने महत्वपूर्ण चाडपर्वमा धेरैजसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् । चाड पर्वका बेला धेरै मान्छे आफन्त भेटघाट, रमाइलोमा मस्त र व्यस्त पनि हुन्छन् । मान्छेको मनस्थिति पनि पर्वमय अर्थात उल्लासमय हुन्छ । सानादेखि ठूला, गरिबदेखि धनीसम्म सबै खुसी र आनन्दमा जुटछन् । आफ्नो व्यवसायिक, पेशागत काम र जिम्मेवारी बोेझबाट धेरैले खुकुलो भएको महसुस गरिरहेका पनि हुन्छन् । यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उद्यत हुन्छन् । कोही नभएकोमा यही मौकामा अपराधीले चोरी, लुटपाट जस्ता अपराध गर्ने गर्दछन् । चाडपर्वमा हुन सक्ने सम्भावित अपराध, प्रहरीको भूमिका र नागरिक कर्तव्यबारे यहाँ केलाउने प्रयास गरिएको छ । चाडपर्वमा बढ्दो अपराध चाडपर्वका बेला अनेकन खालका अपराधहरु हुन्छन् । विशेषतः दसैँ, तिहारजस्ता चाडपर्वको मौका छोपी अपराधीहरुले विभिन्न अपराधका गतिविधिहरु बढाउने गर्दछन् । यस अवधिमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटनालगायतका घटना र अपराध बढी हुने गर्दछन् । प्रहरीका अनुसार, अघिपछिको समयभन्दा चाडपर्वको समयमा आपराधिक घटनाहरु अत्यधिक भएको पाइन्छ । अन्य समयभन्दा बढी चाडपर्वका बेला किनमेल बढी हुने भएकाले आर्थिक कारोबार पनि सोही अनुसार भइरहेको हुन्छ । बैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा बढी भिडभाड बढने भएकाले ती क्षेत्रमा चोरी, लुटपाट हुने सम्भावना अधिक हुन्छ । पूजापाठ बढी हुने भएकाले मठमन्दिर, धार्मिक स्थलमा पनि दर्शनार्थीको भिडसँगै चोरीका घट्ना पनि बढने सम्भावना रहन्छ । ओहोरदोहोर बढी हुने भएकाले यातायात सेवा सहज नहुन सक्छ । सवारी साधान भरीभराउ हुने भएकाले यात्रु ठगिन सक्ने, लुटिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । राजमार्गमा लुटपाटका घटना पनि बढ्न सक्छन् । क्षमता भन्दा बढी यात्रु राख्ने सम्भावना भएकाले सवारी दुर्घटना पनि बढने हुन्छ । आजभोली सामाजिक सञ्जालको पनि अनावश्यक प्रयोग भइरहेको हुन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीवश व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिलाई थाहा हुन्छ र उनीहरू मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । सामाजिक सञ्जाललाई पनि सही रूपमा सदुपयोग गर्न जानियो भने भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ । प्रहरीको थप जिम्मेवारी शान्ति, सुरक्षाको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । आमजनताको जिउधनको सुरक्षा गर्नु र शान्ति सुरक्षाको वातावरण बनाउनु प्रहरीको प्रमुख काम हो । चाडपर्वका बेला सुरक्षा संवेदनशीलता बढ्ने हुँदा प्रहरी प्रशासन अरु बेलाभन्दा थप चनाखो र अग्रसर हुनुपर्छ । सम्भावित अपराधलाई मध्यनजर गरेर प्रहरी, प्रशासन बेलैमा सचेत र जिम्मेवार बन्न जरुरी छ । प्रहरी प्रशासनले चाडपर्व लक्षित छुट्टै र विशेष रणनीति योजना पनि बनाउने गर्दछ । हालै भएको दङ्गा (घटना)ले नेपालगञ्ज तङ्ग्रिदैछ । बाँकेमा प्रशासन र प्रहरी प्रमुख नयाँ आउनु भएको छ । उहाँहरुको पछिल्लो सक्रियताले बिगतको जस्तो घटना पुनरावृति नहोस् भन्नेतर्फ सचेतता अपनाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्व केन्द्रित सुरक्षा रणनिति सार्वजनिक गरेको छ । सम्भावित हिंसाको त्रासमा रहेको नगरको संवेदनशीलतालाई मध्यनजर गर्दै ड्रोन कयामरामार्फत सुरक्षा सतर्कता अपनाइएको हो । प्रहरीको भौतिक उपस्तिथिती हुन नसक्ने स्थानको समेत सुरक्षा अवस्था निगरानी गर्न प्रहरीले ड्रोन क्यामरा परिचालन गरेको हो। नेपाल प्रहरीका एक हजार १३ र सशस्त्र तर्फ ४ सय पन्ध्र प्रहरी परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ । यस्तै सोअवधीमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पनि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ । कतिपय अवस्थामा प्रहरीले आफू र आफनो योजनालाई बढ्ता चर्चामा ल्याउने काम पनि गर्दछ अर्थात प्रभावकारिताभन्दा पहिले नै सस्तो लोकप्रियता खोजिरहेको हुन्छ । अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दबावमा राख्ने हेतुले ठीक पनि हुन सक्ला । तर नाङ्लो ठटाएर हात्ती तर्साउने रणनीति प्रहरीले अपनाउन खोज्दा अपराधीहरु थप सचेत भएर अर्कै रणनीति पनि अवलम्बन गर्न सक्छन् । बढ्ता हल्ला गर्ने तर कार्यान्वयन नगर्ने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ । विगतको समीक्षा समीक्षासहित प्रहरीले नयाँ रणनीति लागू गर्नु पर्छ । आपराधिक घटना हुनै नदिन प्रहरी सचेत र तयार रहनु पर्दछ । अपराध हुन सक्ने सम्भावित स्थानको पहिचान गरी गस्ती, सुराकी बढाउने, सम्भावित संलग्नहरुको अनुमान गरि विशेष निगरानी गर्ने पनि गर्नु पर्दछ । आपराधिक गतिविधि हुन नदिन पुर्व तयारी के कस्तो गर्ने, रोकथामका विधि के कस्तो, कसरी अपनाउने आदि प्रहरीले बेलैमा अवलम्बन गर्नु पर्दछ । चाडपर्वको मौसममा यात्रुहरुको आहोर दोहोर बढी हुने भएकाले यात्रुहरु लुटिन सक्ने, ठगिन सक्ने र दुर्घटनामा पर्न सक्ने सम्भावना प्रवल हुन्छ । भिडभाडमा पकेटमारहरु सक्रिय हुन्छन् । लुटपाट बढोत्तरी हुन्छ । यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ । यसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ । वैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा भिडभाड बढ्ने भएकाले ती क्षेत्रलाई प्राथमिकताका साथ सुरक्षा दिनुपर्ने हुन्छ । मठमन्दिरलगायतका धार्मिक स्थलमा पनि सुरक्षा सतर्कता अपनाइनुपर्ने हुन्छ । हतियार देखाएर लुटपाट गर्ने, पेय तथा नशालु पदार्थ खुवाएर बेहोेस बनाएर लुटने भएकाले यसबाट जोगिन र आपराधिक गतिविधिको पहिचानका लागि चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा शान्ति सुरक्षाका लागि आम नागरिकसँग प्रहरीले विभिन्न माध्यमबाट हातेमालो गरिरहेको छ । तथापि त्यसको प्रभावकारिता के कस्तो रह्यो ? त्यो भने त्यति सार्वजनिक गरिएको पाइँदैन । यस्तै चाडपर्वको अवधीमा पूजापाठ, मूर्ति स्थापना, मन्दिर रङ्गरोगन आदिका नाममा जवरजस्ती पैसा उठाउने, चन्दा असुल्ने प्रवृति पनि बढ्दो छ । यसलाई नियन्त्रण र निरुत्साहित गरिनुपर्छ । साथै प्रहरीले राजमार्ग सुरक्षा गस्ती बढाउने, मादकपदार्थ सेवन परीक्षण अभियान तीव्र पार्ने, ट्राफिक नियमको पालन गर्न लगाउने लगायतका विशेष अभियान पनि सञ्चालन गर्नु पर्छ । आम जनतालाई के कसरी सुरक्षित राख्न सकिन्छ ? के कस्ता अपराधका प्रवृति देखा परेका छन् रु त्यसका बारे पनि प्रहरीले आम जनतालाई जानकारी गराउने र सचेत पार्नु पर्दछ । नागरिकको कर्तव्य कुनै स्वतन्त्र राज्य भित्रको भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने र सम्बन्धित मुलुकको सार्वभौमिक अधिकार प्राप्त व्यक्ति नै त्यो राज्यको नागरिक हुन्छ । नागरिक पनि बिना बर्दीको प्रहरी हो । यो भनाई पक्कै पनि त्यसै भनिएको हैन । नागरिक स्वयं सचेत र जागरुक भइदिने हो भने अपराधका आधा घटना त्यसै कम हुने प्रहरीको अनुभव छ । कुनै आपराधिक गतिविधिको सूचना सर्वप्रथम प्रत्यक्षदर्शीका रुपमा होस् या स्थानीयका रुपमा उसले नै पाउने हो, तसर्थ त्यस्ता अवाञ्छित र शङ्कास्पद गतिविधिको बेलैमा प्रहरीलाई खवर गर्न सके धेरै घटनाबाट जोगिन र जोगाउन सकिन्छ । तर हाम्रो समाजमा आफूलाई नपर्दासम्म कोही अघि सर्दैनन् । अपराधका घटनालाई पनि सामान्य ठानीदिन्छन् र आँखा चिम्लीदिने गर्छन् । यसले गर्दा अपराधमा संलग्नहरुको मनोवल बढ्ने र घटना पुनरावृति हुने सम्भावना हुन्छ । कतिपय अवस्थामा हाम्रै, आफ्नै कारणले पनि अपराधलाई बढवा मिलिरहेको हुन्छ । आफनो जीउधनको सुरक्षामा लाफरवाही गरिरहेका हुन्छौं, त्यसको फाइदा ती अपराधीले लिइरहेका हुन्छन् । घर बाहिर, कहीं टाढा जानु छ भने बहुमूल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाकलापको शङ्का लागेमा तुरुन्त प्रहरीलाई खबर गर्ने प्रवृति बसाल्नु पर्छ । आफनो चोरी भएको हैन, भनेर चुप लाग्ने गर्नाले चोरलाई थप हौसला मिल्ने हुन्छ । घटना पुनरावृति हुन्छ । चाडपर्वको समयमा सर्वसाधारण स्वयं जिउधनको सरक्षार्थ सचेत हुन जरुरी छ । यात्रामा निस्किदा महङ्गा गरगहना नलगाउने, ठूलो धनराशि नबोक्ने, आर्थिक कारोवार बैंकमार्फत गर्ने बानी बसाल्नु पर्दछ । चाडपर्वको समय त्यसै पनि संवेदनशील अवस्था हो । यस्तो बेला धार्मिक, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न पनि नागरिकको अहम् भूमिका हुनुपर्दछ । संविधानले नै नागरिकको कर्तव्य बारे प्रष्ट्याएको पनि छ । आफनो राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानूनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको प्रमुख कर्तव्य पनि हो । तसर्थ आउनुस्–आजैबाट आफनो कर्तव्यपालना गरौं । (लेखक नेपालगञ्जका सक्रिय पत्रकार हुन् ।)

महँगो ब्याज, महँगो कर र कसिला नीतिले पिल्सिएको अर्थतन्त्र

मुलुकको अर्थतन्त्रको ८१.५५ प्रतिशत हिस्सा ओगट्ने र ८६ प्रतिशत रोजगार प्रदान गर्ने निजी क्षेत्र आजको कार्यक्रममा सहभागी छ । नेपालको आर्थिक परिदृश्य छर्लङ पार्ने, यो जतिको प्रभावकारी मन्च अरु नहोला । जति भावना यहाँ व्यक्त भएका छन् तिनमा अहिलेको समस्या बोलिएको छ, हाम्रो निजी क्षेत्रको पीडा पोखिएको छ र यो हाम्रो वेदना शतप्रतिशत यथार्थतामा आधारित छ । हाम्रो पीर मर्का र अफ्ठ्यारो सुनेर हामीबाट आएका सुझावलाई आत्मसात गर्दै तत्कालै पाइला चाल्न हामी सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष आग्रह गर्दछौं । हाम्रो अर्थतन्त्र गम्भीर संकटमा रहेको समयमा प्रधानमन्त्रीज्यूले देशलाई यस संकटबाट निकास दिनु भयो भने इतिहासले यहाँलाई सधैँ सम्झीरहने छ । यतिखेर अधिकांश नेपालीको दैनिकी कष्टकर हुँदै गएको सर्वविधित नै छ, पछिल्लो एक वर्षमा अप्रत्यासित रुपले बढेको मुद्रास्फीति र आम्दानीमा आएको संकुचनका कारण उपभोग्य वस्तुहरुको बजार माग घट्दै गएको छ । अस्थीर वित्तीय वातावरण, गुणस्तरीय पूर्वाधारहरूको कमी, अनौपचारिक अर्थतन्त्रको बढोत्तरी, लगानीमा असजहता लगायतले गर्दा हामी साना, मझौला तथा ठूला व्यापार तथा उद्योग गर्नेहरुको उत्पादन लागत बढेको र आयातित वस्तु तथा सेवासँगको हाम्रो प्रतिस्पर्धी क्षमता घट्दै गएको छ । यसको नतिजा स्वरुप नेपाली अर्थतन्त्र यति बेला मन्द गतिमा चलेको छ । अहिले मुलुकमा काम गरी खाने वर्ग जुन प्रकारले उकुस मुकुसको वातावरणमा छन् तिनलाई अलिकति पनि राहत दिने काम गर्ने सदासयता सरकारबाट भयो भने अर्थतन्त्र अगाडी बढ्न सक्छ । यतिखेर विश्व अर्थतन्त्र चौतर्फी दवावमा छ । यदपि उचित नीतिगत निर्णय लिएका मुलुकहरु जस्तै, भारत, थाइल्यान्ड र बंगलादेशले आफ्नो अर्थतन्त्र चलायमान बनाइसके, अघिल्लो वर्ष यति बेला गम्भीर आर्थिक संकटमा रहेको श्रीलंका समेत आफ्नो अर्थतन्त्र लयमा फर्काउने क्रममा छ । उचित नीतिगत निर्णयका साथै संरचनागत सुधार गर्दै जाने हो भने, नेपालले पनि आर्थिक विकासमा बंगलादेश र भियतनामलाई भेट्न १० वर्ष पनि कुर्नुपर्दैन । तर यसका लागि यहाँ उपस्थित हाम्रा नीति निर्माता, कर्मचारी प्रशासन र हामी निजी क्षेत्र पनि संरचनागत सुधारका लागि तयार रहनुपर्छ । मुलतः उत्पादन र बजारमुखी नीतिगत सुधार, प्रविधिको प्रयोग गर्दै औपचारिक अर्थतन्त्र सुदृढीकरण, संस्थागत तर्फको सुधार, निजी क्षेत्रका लागि वैदेशिक ऋण र लगानीमा सहजीकरण, पूर्वाधार विकासमा राज्यको ध्यान केन्द्रीत हुनु पर्ने हाम्रो निश्कर्ष छ । अर्थतन्त्रलाई चलायमान बनाउन हाम्रो आन्तरिक बजार माग बढाउन र लागत घटाउनु पर्ने आजको चुनौती हो, यसको लागि हाम्रा आन्तरिक उत्पादन बढाउनै पर्छ । हाम्रा कृषि योग्य भूमिहरु सदुपयोग गर्दै उत्पादनमा जोड दिनै पर्छ । यसमा सरकारको भूमिका मुख्य रुपमा रहन्छ । सरकारले प्रदान गर्ने कृषि अनुदान सहुलियत, उत्पादन र उत्पादकत्वसंग जोड्नु जरुरी देखिन्छ । हाम्रा साना, मझौला र ठूला उद्योगको प्रतिस्पर्धी क्षमता बढाउन पर्याप्त नीतिगत र संरचनागत सुधार गर्न सकिएन भने हाम्रो अवस्था अझै खराब बन्दै जाने निश्चित छ । देश र अर्थतन्त्रको विस्तार र विकासका लागि उद्योग र आन्तरिक बजार अपरिहार्य हुन् भन्ने वास्तविकता सरकार र समाजले मनन् गर्नुपर्छ र उद्यमीप्रतिको दृष्टिकोण पनि बदल्नुपर्छ । नेपाली अर्थतन्त्रले अत्यन्त सम्भावना बोकेको छ । भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत, जनसंख्या लगायत हाम्रो अर्थतन्त्रका त्यस्ता सम्भावाना हुन् जसले हामी कहाँ पर्याप्त वैदेशिक लगानी, उपभोक्ता र सेवाग्राही आकर्षित गर्न सक्छ । हाम्रो अर्थतन्त्र दिगो बनाउनका लागि, उत्पादनमूलक उद्योगमा आधारित मूल्य शृंखला (भ्याल्यू चेन) मा जोड दिनु आजको आवश्यकता हो । कृषि, जडिबुटी, उच्च मूल्यका कृषि उपज, उर्जा, हस्तकला, पर्यटन, नवपर्वर्तन (स्टार्ट अप) र सूचना प्रविधिका उद्योगहरुमा आधारित क्षेत्रीय (रिजिनल) र विश्वब्यापी मूल्य शृंखला अहिले पनि छन्, तर यिनमा पर्याप्त नीतिगत संरक्षण र प्रोत्साहन हामीले पाउन सकेका छैनौं । आशा छ आजदेखि हाम्रो ध्यान यी क्षेत्रमा केन्द्रित हुने छ । जसले हाम्रो निर्याततर्फको प्रतिस्पर्धी क्षमता पनि बढाउने छ । हाम्रा समस्याहरु कुनै एक निकायले मात्र समाधान गर्न सक्ने अवस्था छैन । यिनको समाधानका लागि सरकार निजीक्षेत्र र नेपाली समाज सबैको सबको सहयोग र सहकार्य आवश्यक छ । यसको नेतृत्व सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुहुनेछ भन्ने अपेक्षा हामीले राखेका छौं । आज हामी प्रत्यक्ष मर्कामा परेका विषयहरु, अस्तिर ब्याजदर, बढिरहेको पुँजीको लागत, कसिलो मौद्रिक नीति, निजी क्षेत्र लक्षित महंगा करका दरहरु, आवश्यकता भन्दा बढी कसिला नीतिगत प्रावधानहरु, नीतिगत अस्थिरता, बिजुलीको गुणस्तर, सडकको दुरावस्था लगायत हुन् । आशा छ, यो कार्यक्रमपछि हामी सबै यी समस्याको समाधान गर्दै अर्थतन्त्र सुदिृण गर्न एक जुट भएर लाग्ने छौं । (नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का बरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय आर्थिक बहसमा राखेका मन्तव्यबाट)