‘हात नहाल्नुस्, म बैंक लुट्न आएको होइन’

ब्लग । सुरुमा सँगैको तस्बिरको व्याख्या गरौं । माघ ७ गते आइतबार साँझपख खिचिएको फोटो हो यो । जहाँ एभरेष्ट र कुमारी बैंकका शाखा जोडिएका छन् । जहाँ दुवै बैंकका ‘नाइट भिजन’ साइन बोर्ड देख्न सकिन्छ । सँगै दुवै बैंकको एटीएम बोर्ड पनि देख्न सकिन्छ । एभरेष्ट बैंकको एटीएम खुला छ । कुमारी बैंकको एटीएममा सटर लागेको छ । सटरमा ताला पनि लगाइएको छ । तस्बिरमा तीन जना महिला फुटपाथमा हिँड्दै गरेको देखिन्छ । अनुमान गर्न सकिन्छ कि उनीहरू काम सकेर घर फर्कदैछन् । तर, यस सन्दर्भमा ती यात्रीहरू प्रधान पात्र होइनन् । साँझ बागबजारमै रहेको युनिटी क्याफेमा कफी पिएको थिएँ । पर्समा पैसा सकिएछ, त्यहाँ क्यूआरबाट भुक्तानी गरेँ । सबैतिर मोबाइलबाट भुक्तानी सम्भव हुँदैन । थोरै भएपनि पर्समा नगद बोक्नै पर्ने बाध्यता छ, राजधानीकै जीवनशैलीमा पनि । साविकको एनसीसी बैंक मुख्य कार्यालय (हाल कुमारी बैंकको बागबजार शाखा) मा खाता खोलेर कारोबार गर्न थालेको एक दशकभन्दा बढी समय भयो । यो बैंकमा लामो समय कारोबार गर्नुमा दुइटा कारण छन् । पहिलो, आफ्नो कार्यालय बागबजारमा खुल्दा एनसीसी बैंक मात्र थियो बागबजारमा । दोस्रो, पछि बागबजारमा अरू बैंकका शाखाहरू खुले पनि एनसीसी बैंकको मुख्य कार्यालय भएकोले सुविधा अलि सहज हुन्छ भन्ने लाग्यो । यसैमा निरन्तर कारोबार गरियो । एनसीसी र कुमारी मर्जपूर्व कुमारी बैंकको पुतलीसडक शाखामा पनि खाता खोलेको थिएँ । मर्जपछि पुतलीसडकको शाखामा खाता बन्द गरेँ । बागबजारमा कारोबार निरन्तर चल्यो । नियमित कारोबार गर्नेलाई बैंकका पुराना कर्मचारीले पनि चिन्ने । केही पर्यो भने पनि लौन भन्न पाइने । कुमारी बैंकको बागबजार शाखामा दुइटा एटीएम छन् । एउटा मुल सडकमा, अर्को काउन्टरमा । कहिलेकाहीँ एउटा एटीएमले काम नगर्दा अर्को एटीएमबाट कारोबार गर्न पाउने सुविधा यहाँ छ । कार्यालय समय अघिपछि वा शनिबार पनि यस बैंकको काउन्टरमा रहेको एटीएम प्रयोग गर्न पाइन्थ्यो, पछाडिपट्टिको सानो गेट प्रयोग गरेर । गत आइतबार साँझ मुल सडकको एटीएममा सटर लागिसकेको रहेछ । भित्रको एटीएम प्रयोग गर्न पछाडिपट्टिको सानो गेटबाट भित्र छिर्दै थिएँ । सुरक्षा गार्डले स्टाफ हो भनेर सोधे । मैले ‘होइन’ भनेँ । ‘बैंक बन्द भयो, अब भित्र जान पाइँदैन,’ गार्डले भने । मैले एटीएम प्रयोग गर्ने बताएँ । गार्डले पाइन्न नै भने । मैले विगतमा पाइन्थ्यो, म नियमित आइरहने ग्राहक हुँ भनेर भित्र छिर्न दिन आग्रह गरेँ । दुई जना सुरक्षा गार्ड थिए । दुबैले पाइन्न नै भने । बैंकको काउन्टर बन्द भएसँगै एटीएम सेवा पनि बन्द गर्न र ग्राहकलाई भित्र छिर्न नदिने बैंकले निर्देशन दिएको उनीहरूले बताए । साँझ भइसक्यो, मलाई जरुरी परेर हो । थोरै पैसा निकाल्नुछ भनेर अलि बढी जोड दिएँ । गार्डले भित्र छिर्न दिएनन् । तालिम प्राप्त नभएका सुरक्षा गार्डले घर फर्कन भन्दै धकेल्ने खाेजे । ‘हात नहाल्नुहोस्, म बैंक लुट्न आएको होइन । मेरो खाताबाट पैसा निकाल्न आएको हुँ । गेट बन्द थियो भने म फर्कन्थें । खुला भएकोले एटीएम सेवा लिन चाहेको हुँ,’ मैले आफ्ना कुरा भनेँ । यत्तिकैमा बैंक ड्रेसमा रहेका एक स्टाफ गेटमा आए । उनले पनि गार्डले भनेझैं काउन्टर बन्द भएपछि एटीएम सेवा बन्द हुने तर्क गरे । समस्या भएको भए सँगै भएको एभरेष्ट बैंकको एटीएम प्रयोग गर्न सुझाव दिए । लगत्तै, गार्डले गेटमा ताला लगाउन लागे । मैले फोटो खिच्न अनुमति मागेँ । उनीहरूले ‘हुन्छ’ पनि भने । गेट लगाउँदै गरेको तस्बिरहरू खिचेँ । एटीएम सेवाबारे ममा भएको चेतना र बैंकका सुरक्षाकर्मीहरुको क्रियाकलापबीच व्यापक बेमेल थियो । यो तस्बिरको विशेष महत्व हुने नै भयो । गेट लगाउँदै गर्दा सुरक्षाकर्मीले माथिको आदेश आएमा खोल्ने पनि बताउँदै थिए । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा, प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल लगायत उच्च तहका धेरै व्यक्तिसँग मेरो चिनजान मात्र होइन, मित्रवत सम्बन्ध नै छ । ‘सामान्य एटीएम सेवा लिनको लागि के सोर्सफोर्स लगाउनु ? भैगो’ खिन्न र भारी मन बोकेर म फर्कें । बाहिरिँदै गर्दा बैंकको त्यो ठूलो भवनमा एक नजर पर्यो । बैंक भित्र झलमल्ल बत्ति बलिरहेका थिए । भित्र कर्मचारीहरू काम गरिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो । सोही शाखामा काम गर्ने सरिता केसीको याद आयो । भित्रै छन् कि भनेर फोन लगाएँ । उनी अफिसबाट निस्किसकेकी रहिछन् । उनले पनि अरू बैंकको एटीएम प्रयोग गर्न सुझाव दिइन् । सँगै रहेको एभरेष्ट बैंकको एटीएमबाट पैसा निकालेर म फर्कें । सडक पार गर्दै गर्दा खाता नै नभएको एभरेष्ट बैंकको एटीएम सेवाप्रति मनमा सद्भाव पलायो । तर, कुमारी बैंकप्रति असन्तोष मडारियो । सडक पार गरेपछि सँगै रहेका दुइटै बैंकको साझा फोटो खिचेँ । सोही दिन बिहान बैंकहरूले प्रकाशित गरेका वित्तीय विवरणहरू हेरेको थिएँ । २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले वृद्धि भएको विवरण प्रकाशित गरेको थियो भने कुमारी बैंकले नाफा १४.३१ प्रतिशतले घटेको विवरण सार्वजनिक गरेको थियो । राम्रो सेवा दिने बैंकको वित्तीय विवरण राम्रो हुने हो । नराम्रो सेवा दिने बैंकको वित्तीय विवरण खराब हुने हो । सिद्धान्त, व्यवहार र परिणामबीच गज्जबको तालमेल यही पाइन्छ । किताबका ठूला ठेली पढ्नै पर्दैन, ठूला अनुसन्धान पनि गर्नै पर्दैन । यो फोटो अर्थपूर्ण लाग्यो । बैंकका सीईओ रामचन्द्र खनाललाई ह्वाट्सएपमा पठाइदिएँ । तस्बिरसँगै एउटा शब्द पनि टाइप गरिनँ । ‘जुङ्गा चल्यो कि कुरा बुझ्यो’, सायद खनालले कुरा बुझे हाेलान् । जवाफमा उनले भने, ‘हस्’ (Huss) । एउटा अनुभूति लेख्न मन लाग्यो । दुई दिनपछि समय जुर्‍याे । एटीएम सेवा कति बजेदेखि कति बजेसम्म दिने भन्ने बारे बैंकको नीति के रहेछ ? मंगलबार साँझ बैंकका सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृत मुकुन्द सुवेदीलाई सोधेँ । उनले भने– ‘राजधानीसहित देशभरका सहरी क्षेत्रमा २४सै घण्टा एटीएम सेवा खुला हुन्छ, सुरक्षाको दृष्टिकोणले उच्च जोखिम भएका पहाडी इलाकामा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र एटीएम खुला राख्ने बैंकको नीति छ ।’ बागबजार शाखामा काउन्टर बन्द भएसँगै एटीएम सेवा बन्द गर्ने भन्ने बैंकको नीति नभएको उनले जानकारी गराए । तर, भनाइ र व्यवहारमा मेल खाएन । सुधार गरे बैंकलाई नै लाभ हुनेछ ।

अत्यधिक तनावले गर्दा युवावस्थामै हुन्छ मधुमेह

मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा चिनीको मात्रा निश्चित स्तरभन्दा माथि जान सक्दैन । शरीरभित्र इन्सुलिन बनाउने काम प्यानक्रियाज ग्रन्थीको हो । प्याक्रियाजले आवश्यक मात्रामा इन्सुलिन बनाउन सकेन भने वा भएको इन्सुलिनसँग कोषले प्रतिक्रिया जनाउन सकेन भने रगतमा चिनीको मात्रा बढ्न जान्छ ।  लामो समयसम्म रगतमा चिनीको मात्रा बढिरह्यो भने मुटु, मिर्गौला, आँखा, खुट्टालगायत विभिन्न अङ्गमा हानि पुग्दछ । केही वर्षयता विश्वव्यापी रुपमा मधुमेहका रोगी सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । सन् १९८० पछिको तथ्याङ्कलाई हेर्ने हो भने १८ वर्षमाथिका चार प्रतिशतमा मधुमेह देखिएको थियो । यो समस्या अहिले साढे आठ प्रतिशतभन्दा बढी मानिसमा देखिएको छ । सन् २०१५ मा १६ लाख मानिसको यो रोगले मृत्यु भएको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा झन्डै ४२ करोड मानिसलाई मधुमेह रोग रहेको अनुमान गरेको छ । । विश्वमा करिब २२ करोड मानिस मधुमेह रोगबाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो सङ्ख्या दोब्बर हुने डब्लुएचओले जनाएको छ । विश्वमा रोगबाट मर्नेहरुमध्ये पाँच प्रतिशत मधुमेहका रोगी छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउँदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको सङ्ख्या ५० प्रतिशतले बढ्नेछ । सन् २०३० सम्ममा १७ वर्षमुनिका मानिसको मृत्यु दरमा मधुमेहको हिस्सा ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ । नेपालमा पनि प्रत्येक घरमा मधुमेहका रोगी बढिरहेका छन् । कति रोगी छन् भन्ने तथ्याङ्क नभए पनि झन्डै आठ प्रतिशत मानिसलाई मधुमेह हुनसक्ने अनुमान गरिएको छ  डब्लुएचओले नेपालमा पनि ४० वर्षसम्म उमेर समूहका करिब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथिका करिब १९ प्रतिशतलाई मधुमेह लागेको तथ्याङ्क स्वास्थ्य विभागले दिएको छ । ग्रामीण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको छ । पहिले–पहिले मधुमेह ४० वर्ष कटेपछि हुन्थ्यो भन्ने भनाइ थियो । बढ्दो आधुनिकीकरण, खानेकुरामा विषादीको अत्यधिक प्रयोग, अनियन्त्रित जीवनशैलीका कारणले पनि होला मधुमेहको समस्या विकराल बन्दैछ । बूढेसकालमा लाग्ने रोग भनिने यो रोग अहिले ३०–३५ वर्षभित्रै मधुमेह देखिन थालेको छ । अस्वस्थकर जीवनशैली, पत्रुखाना, अत्यधिक तनाव आदिले गर्दा अहिले त युवावस्थामै मधुमेह हुन्छ । मधुमेहका धेरै हुन्छन् । मधुमेहलाई मुख्य दुई प्रकारमा हेर्न सकिन्छ । पहिलो प्रकारमा शरीरमा इन्सुलिन भन्ने तत्व हुन्छ, जसले जीवकोषमा चिनीलाई नियन्त्रण गर्दछ । दोस्रो प्रकारको मधुमेह प्रायः ४०–५० वर्ष उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरैमा हुन्छ । यसमा शरीरमा रहेको इन्सुलिनले राम्रोसँग काम गर्दैन । विदेशमा ४० को उमेर भएपछि देखिने यो समस्या नेपालमा अहिले सानै उमेरमा देखिन थालेको छ । यो प्रकारको मधुमेह धेरै कम व्यक्तिलाई हुन्छ यो प्रकारको मधुमेह धेरैलाई हुन्छ । खानपान, जीवनशैली र भौगोलिकतासँगै वंशाणुगत मधुमेह रोग लाग्छ । वातावरणीय कारण खानपान, तनाव मात्र होइन, प्रदूषण, खाद्यान्न उत्पादनमा रासायनिक मलको प्रयोग पनि मधुमेहसँग जोडिएको पाइएको छ । मोटोपन भएका मानिसमात्र होइन, स्वस्थकर खाना नभएर, कुपोषण भएकालाई पनि मधुमेह हुनसक्छ । आमालाई कुपोषण हुँदा पनि उनीबाट जन्मिएको बच्चालाई पछि मधुमेह हुनसक्छ । गर्भावस्थामा पनि विविध कारणले मधुमेह हुन्छ । कतिपय मानिसमा वंशाणुगत कारण पनि मधुमेह हुने गर्दछ । मधुमेह भएको बिरामीमा पटकपटक पिसाब लाग्ने, दुब्लाउँदै जाने, थकान महसुस गर्ने, सङ्क्रमणहरु निको नहुने, पानी प्यास लाग्ने हुन्छ । झन्डै ५० प्रतिशत व्यक्तिमा त यसको लक्षण नै देखिँदैन । लक्षण देखिएन भन्दैमा मधुमेह भएको छैन भनेर ढुक्क हुन सकिँदैन । त्यस्ता व्यक्तिहरुमा पनि केही लक्षणहरु जस्तै : बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ संक्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुख्खा हुनेजस्ता लक्षणहरु देखिन्छ । जोखिम मधुमेह हुँदैमा डराइहाल्नु पर्दैन । सावधानी अपनाउने हो भने यसबाट आउन सक्ने विभिन्न जटिलबाट हामी जोगिन सक्छौँ । यो दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राखेर व्यवस्थापन गर्नुको विकल्प नै छैन । जीवनशैलीमा सुधार ल्याएर, व्यायाम गरेर, स्वस्थ भोजन गरेर पेटको गोलाइ बढ्न दिइएन भने मधुमेहको समस्याबाट टाढा रहन सकिन्छ । धेरै मानिसहरु मधुमेह भएको पत्ता लाग्नासाथ डाक्टरको सल्लाह लिनुभन्दा आत्तिने वा अनेक घरेलु औषधितिर लाग्ने गरेको देखिन्छ । यसले रोग निको हुनुभन्दा झन् जटिल बनाउने हुन्छ । बिरामीलाई पहिलो प्रकारको मधुमेह भएको छ भने इन्सुलिनको सुई दिनुपर्ने हुन्छ भने दोस्रो प्रकारको मधुमेहमा चिकित्सकले बिरामीलाई खानपानमा अपनाउनुपर्ने सावधानीका बारेमा बताउँछन् र सँगसँगै रगतमा भएको चिनीको मात्रा नियन्त्रण गर्नका लागि खाने गोली पनि दिन सक्छन् । सावधानीका उपाय मधुमेहको लक्षण देखिएमा वा नदेखिएमा पनि जाँच गरेर पे्रसर, सुगर र कोल्डस्टोर सुरक्षित घेराभित्र राख्नुपर्छ । यो भनेको नराम्रो र महँगो पर्ने रोगबाट जोगिने उपाय हो । गुलिया खानेकुरा शरीरका लागि हानीकारक हुन्छन् । बढी चिनी हाम्रो शरीरले पचाउन सकेन भने त्यो फ्याटमा परिवर्तन हुन्छ । पछि गएर त्यसले चिनीरोग मात्रै होइन, मुटुरोगको जोखिमलाई पनि बढाउँछ । गुलिया मिठाई मात्रै नभएर कोक, फ्यान्टा, जुसले पनि मधुमेह हुन सक्छ । बजारिया पेयपदार्थमा पनि फ्रुक्टोसिरफ भन्ने हालेको हुन्छ, यसलाई मेडिकल साइन्सले विषै मान्छ । विश्वका एक लाख व्यक्तिमा अनुसन्धान गर्दा विभिन्न प्रकारका पत्रु खाना, रेसा नभएका खाना, बिस्कुट आदिको प्रयोग गर्ने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको देखिएको थियो । मधुमेह मात्रै होइन, जुनसुकै रोगबाट बच्न मदिरा र सुर्तीजन्य पदार्थसेवन गर्नु हुँदैन । स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य छ । हाम्रा शरीरका सबै अङ्गलाई राम्ररी चलाउनुपर्छ । दिनमा एक घन्टा वा कम्तीमा आधा घन्टा हिँड्नैपर्छ । मधुमेहबाट बच्ने अर्को सावधानीको उपाय भनेको तनावलाई कम गर्ने हो । तनावबाट पूर्ण रुपमा मुक्त हुन सकिँदैन तर, कम गर्न सकिन्छ । खुसी रहन, हाँस्न प्रयत्न गर्नुपर्दछ । दुखी रह्यो भने सुगर व्यवस्थापन गर्न गाह्रो हुन्छ । तनावमा भएका बेला सुगरको मात्रा ह्वात्तै बढ्छ । तनावमा कर्टिसोल नामक हर्मोन निस्कन्छ र यसले सुगर निकाल्छ । त्यसैले सकेसम्म हामीले तनावलाई घटाउनुपर्छ । अचेल मधुमेह नाप्ने यन्त्र ग्लुकोमिटर पनि सस्तैमा पाइन्छ । बेला–बेला सुगर चेकजाँच गरिरहनुपर्छ । त्यस्तै, कोलेस्टोर, उच्च रक्तचापको परीक्षण गरिरहनुपर्छ । त्यस्तै, नियमित औषधि सेवन गर्नुपर्छ । पछि गएर अन्धोपन नहोस्, मुटुरोग, यौन दुर्वलता आदि नहोस् भनेर औषधि दिइएको हुन्छ । औषधिले खासगरी सुगर घटाउन र कोलेस्टोर, उच्च रक्तचाप सन्तुलित राख्न मद्दत गर्दछ । सुगर घटाउने, पे्रसर घटाउने र मुटुरोगबाट जोगाउने अत्यावश्यक औषधि भनेर सरकारले निःशुल्क वितरण गर्ने लिस्टमा राखेको छ । औषधिमा पहुँच भएपछि यो हानिकारक होइन भनेर आम सर्वसाधारणले बुझिदिनुपर्छ । मधुमेहलाई सुरुदेखि नै लापरबाही गरियो र उपचार गराइएन भने मुटु, मिर्गौला, आँखा, नसाजस्ता महत्वपूर्ण अङ्गमा असर गर्नाका साथै मानिसलाई मृत्युको मुखमा पुर्याउँछ । के खाने के नखाने ? मधुमेहका बिरामीले खानपिनमा निकै ध्यान दिनुपर्छ । खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौँ भने मधुमेहबाट जोगिन सक्छौँ । जस्तो, ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ तर सागसब्जी बढी र अन्न कम अर्थात् दुई मुठीमा अटाए जति खाने । माछामासु हत्केलामा अटाए जति दुई–तीन पिस खान सकिन्छ । तर कुखुरालगायत दुईखुट्टे पन्छीको सेतो मासु खानुपर्छ । यस्तो मासु पनि बोसोरहित हुनुपर्छ । रातो मासु अर्थात् चारखुट्टेको मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मधुमेहका बिरामीले एकैचोटि धेरै नखाने थोरथोरै तर समय–समयमा खाने गर्नुपर्छ । तेलको मात्रा निकै कम गर्नुपर्छ । दाल, तरकारीमा बूढी औँलाको टुप्पामा अट्ने जति मात्र तेल प्रयोग गर्ने गरेमा त्यसले हानि गर्दैन । दूध–दही, फलफूलको पनि मात्रा मिलाएर खाइरहनुपर्छ । यो नै सन्तुलित भोजन हो, यसले अन्य रोगबाट पनि बच्न मद्दत गर्छ । सकभर तारेको खानेकुरा नखानु नै राम्रो हुन्छ । त्यस्तै, मिठाईलगायत गुलियो खानेकुरा, कोक–फेन्टालगायत पेय पदार्थ पनि खानु हुँदैन । यति कुरामा ध्यान दिन सकेमा मधुमेहको समस्या कम भएर जानेछ । यी कुरामा आम सर्वसाधारणले ध्यान दिन आवश्यक छ । सानो लापरबाहीले जीवनभर औषधि खानुपर्ने वा सुई लगाउनुपर्ने समस्याबाट मुक्त हुन सकिन्छ । रासस (मधुमेह तथा हर्मोन रोग विशेषज्ञ एवं मेट्रो काठमाडौँ हस्पिटलका प्रबन्ध निर्देशक डा. भट्टराईसँग कृष्ण अधिकारीले गरिएको कुराकानीमा आधारित)

गरिबले कार चढेर होइन, धनीले सार्वजनिक यातायात चढेर देश बन्छ

नेपालमा पोड वे कहिले बन्छ भन्ने चासो सबैमा छ । हामी पनि नेपालमा पोड वेको सुविधा दिनका लागि दौडधूप गरिरहेका छौं । नेपाल सरकारबाट पोडवेले कानुनी मान्यता पाइसकेको छ । हामी कार्यविधिको प्रतिक्षामा छौं । उक्त कार्यविधि सम्भवतः छिट्टै बन्छ भन्ने अपेक्षा हाम्रो छ । मास ट्रान्सपोर्टेशनको जगतमा नयाँ आयाम बोकेको पोड वे नेपालमा विभिन्न ठाउँमा बनाउनको लागि आवश्यक गृहकार्य भइरहेको छ । सरकारी नीति नियम नै परिवर्तन र परिमार्जन साथै यसको अध्ययन अनुसन्धान गरी कार्यविधि बनाउनु पर्ने भएकाले केही समय लागेको हो । प्रदेश र स्थानीय तहहरूसँग समन्वय गरी यसको विकास गर्ने योजना अनुरूप अगाडि बढिरहेका छौं । सार्वजनिक यातायातको मान्यता पाएर पोड वेको नाम राजपत्रमा उल्लेख भइसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आवश्यक काम भइरहेका छ । यसलाई सार्वजनिक यातायातका रूपमा विकास गर्दा स्पष्ट कार्यविधि चाहिन्छ । हालसम्म कार्यविधि नबनेको हुनाले त्यसैको प्रतीक्षामा छौं । यो नयाँ प्रविधि भएकाले नेपालमा यसको अध्ययन गर्ने दक्ष जनशक्ति नभएकाले पनि सरकारी निकायबाट कार्यविधि बनाउन ढिला सुस्ती भएको महसुस हामीलाई भएको छ । कार्यविधि बन्नको लागि अझै कति समय लाग्ने हो त्यो थाहा भएन । उहाँहरूले तपाईंहरुको काम छिट्टै हुन्छ भनेर प्रतिबद्धता जनाउनु भएको छ । १० वर्षभित्र हजार किलोमिटर पोड वे बनाउँछौं, हजारौंलाई रोजगारी दिन्छौं : निल भट्टराई समग्र परिदृश्य हेर्दा काम भने अगाडि बढिरहेको छ । हामीसँग वैकल्पिक सार्वजनिक यातायातको समस्या समाधानका लागि समय छैन । सडकमा दिनहुँ सवारी साधनको चाप बढ्दै गइरहेको छ । चाप बढ्दै गएपछि सडकमा जामको समस्या पनि उत्तिकै छ । डलरको मूल्य बढ्दै गएको भएकाले यस्तो किसिमको आयोजनालाई ढिला गर्नु भनेको आयोजनाको लागत बढाउँदै जानु पनि हो । प्रक्रियागत हिसाबले अगाडि बढ्नु पर्ने भएकाले हामीले मात्रै हतार गरेर मात्रै पनि नहुँदो रहेछ । सरकार र हाम्रो गति भने नमिलेकै हो । यस्तो किसिमको आयोजना बनाउन स्पष्ट नीति र कार्यविधि नबनाएसम्म काम हुन असम्भव छ । किनभने यो भौतिक पूर्वाधार बनाउने विषय भयो । गरिबले कार चढेर देश धनी हुने होइन, जब धनीले पनि सार्वजनिक यातायात चढ्छन् त्यसपछि बल्ल देश बन्छ । सार्वजनिक यातायातका विषयमा हामीले बेलैमा सोचेर यसको तयारी गरेनौं भने आगामी दिन कहाली लाग्दो र भयावह स्थिति छ । किनभने सडक दुर्घटना दिनहुँ बढ्दै गइरहेको छ । हामी हरेक दिन जोखिमको यात्रा गरिरहेका छौं । यस विषयमा हामीले अहिले नै सोचेनौं भने भोलिका दिनमा ठूला समस्याहरू निम्तिन सक्छ । दीगो, स्थिर, भरपर्दो र पहुँचयोग्य सार्वजनिक यातायात बिना दिगो विकासको परिकल्पना नगर्दा हुन्छ । पोड वेप्रति धेरै जना सकारात्मक हुनुहुन्छ । यसका विषयमा सम्बन्धित सरकारी निकायहरूमा पुगेर यसको फाइदाको विषयमा जानकारी गराइरहेका छौं । सरकारले नै यस्तो प्रविधिमा जोड दिनु पर्ने हो । तर, यहाँ हामीले प्राथमिकता दिएर काम गरिहरेका छौं । राजनीतिक दलले पनि पब्लिक यातायातको विषयमा जोड दिनु पर्ने हो । तर, त्यो अवस्थाको सिर्जना हुन सकेको छैन । सर्वसाधारणको तहबाट पनि यो यातायात नेपालमा आवश्यक छ भनेर दबाब सिर्जना हुन आवश्यक छ । वार्षिक १६ प्रतिशत यातायातको संख्या वृद्धि भइरहेको छ । सवारीको संख्या बढ्दै जाँदा सडकहरू भने साँघुरो हुँदै गइरहेका छन् । विभिन्न निकायहरूले पनि वैकल्पिक उपाय खोज्नुपर्छ भनेर प्रतिवेदनहरू सार्वजनिक गरिरहेका छन् । पोड वे हाल बेलारुस र दुवईमा सञ्चालनमा छ । यस्तो किसिमको यातायातले विकास र समृद्धि हासिल गर्ने सम्भव छ भन्ने भावनाको विकास हुन जरुरी छ । हामीलाई काम गर्ने वातावरण भयो भने पोड वेलाई क्रमिक रूपमा विकास गर्दै लैजाने अवसर छ । यसको आवश्यकताको आधारमा विकास गर्दै जाने हो । नेपालका बौद्धिक वर्गले पनि यस विषयमा सोच्नुपर्छ । वैकल्पिक यातायात र विकासको मोडलतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । हामी सुरुमा पाइलट प्रोजेक्टको रूपमा यसको विकास गर्नेछौं । त्यसपछि क्रमिक रूपमा काम अगाडि बढाउँदै जान्छौं । कुनै एक ठाउँमा बनाउन पायौं भने यसका बारेमा सबैलाई बुझ्न र बुझाउने अवसर पनि पाइन्थ्यो । हामी जहिले पनि समस्याको बारेमा मात्र कथन गर्ने गर्छौं । त्यसको समाधान यो हो भनेर एकदमै कमले भनेको पाइन्छ । हामी नेपालमा देखिएको सार्वजनिक यातायातको समस्या साधनासहित उपस्थिति भएका छौं । नेपालमा पोड वे : भाडा र सामान ढुवानी सस्तो, बिजुली खपत भएर पेट्रोल/डिजलको पनि विस्थापन हामीलाई सार्वजनिक यातायातको आवश्यकता छ । अहिलेसम्म विभिन्न सार्वजनिक यातायातका विषयमा कुरा चलाए पनि त्यसलाई अगाडि बढाउन सकेका छैनौं । मोनो, मेट्रोजस्ता यातायातको विषयहरू छायामा परिसकेका छन् । नेपालमा रेल सञ्चालनमा छ । तर, घाटामा छ । हामीले बनाउने पूर्वाधार पनि भोलिका दिनमा नाफामा नै हुन सक्छ, सकिँदैन । तर, एक पकट परीक्ष भने गर्नुपर्छ । यस्तो किसिमको योजनामा सबैले साथ सहयोग दिँदा समग्र अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो विद्युतीय यातायात भएकाले वर्षेनी इन्धनबाट विदेसिने ठूलो मुद्रा रोक्नको लागि पनि मद्दत गर्छ । पोड वेलाई सञ्चालनमा ल्याउन सके समयको बचत र सुरक्षित हुन्छ । हामीले यातायात व्यवसायीहरूलाई समेटेर अगाडि बढ्छौं । यातायात क्षेत्रमा उहाँहरूको जति योगदान अरूको छैन । यो प्रविधिले यातायातको समस्या समाधान गर्नको लागि ठूलो भूमिका खेल्न सक्छ । हाम्रो ध्यान नचाहिने विषयमा छ । देशको आवश्यकता तथा आर्थिक सुनिश्चितको विषयमा हाम्रो छलफल तथा बहस छैन । पोड वे बनाउँदा पहिलो प्राथमिकता कर्णाली प्रदेशमा पर्छ । लुम्बिनीमा बनाउनको लागि आवश्यक कार्यहरू भइरहेको छ । यसमा विभिन्न निकायको पनि चासो छ । हामीले देशभर पोडवे निर्माण गर्ने योजना बनाइरहेका छौं । तर, हामीलाई सरकारको अनुमति चाहिन्छ । यो यातायातको निर्माण गर्दा १० प्रतिशत भए पनि सरकारको सहभागिता जरुरी छ । सरकारले सहभागिता जनाएपछि विदेशी लगानी आउँदैन भन्ने सवाल हुँदैन । रेमिट्यान्सबाट वार्षिक खर्बौं रकम भित्रिरहेको छ । त्यो रकम हामीले दैनिक उपभोग्य वस्तु र विलासिताको वस्तुमा खर्च गर्ने गरेका छौं । त्यो रकमको केही प्रतिशत मात्र विकासका काममा परिचालन गर्ने वातावरण मिलाउन सकियो भने धेरै फाइदा हुन्छ । (भट्टराई पोड वेका उपाध्यक्ष हुन् ।)