यसकारण बढ्दैछ बैंकिङमा तनाव

‘सोचे झैँ जिन्दगी रैनछ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबीच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ । तनाव व्यक्तिको शारीरिक र मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तन हो, जुन प्रतिकूल वातावरणका कारण सिर्जना हुन्छ । तनाव व्यक्तिमा अनुभूति हुने मानसिक दबाबको अवस्था हो । शारीरिक र मानसिक रूपमा देखापर्ने बेचैनी नै तनाव हो । यो वास्तवमा अमूर्त चिज हो । यसलाई देख्न, छुन र अंकगणितीय मापदण्डमा मापन गर्न पनि सकिँदैन । यो केवल मानव अन्तःस्मरण वा मानसपटलमा महसुस मात्र गर्न सकिन्छ । व्यक्तिमा जब आफूसँग भएको ज्ञान, स्रोत र समयबाट कुनै परिस्थिति सम्हाल्न सम्भव हुँदैन भन्ने अनुभूित हुन्छ, तब तनाव सिर्जना हुन्छ । तनाव एकातिर विकासका लागि आधारशिला हो भने अर्कातर्फ द्वन्द्वको पूर्वसर्त पनि हो । यो मानव प्रजातिको माग र आपूर्तिबीचमा आएको बेमेल हो । तनाव सुरुमा रचनात्मक हुन्छ भने बढी भएमा हानिकारक हुन्छ । विनाशतर्फ अग्रसर गराउँछ जो विध्वंसकारी हुन सक्छ । तसर्थ बेलैमा तनाव व्यवस्थापन गर्नु जरुरी छ । तनावले उत्तेजना, असन्तुष्टि, नैराश्यजस्ता मानसिक परिवर्तन ल्याउँछ भने टाउको दुख्ने, ढाड दुख्ने, अपच, अनिन्द्रा, क्यान्सर, मधुमेह, रिँगटा लाग्ने, पेटको रोग बढ्ने, रिसाउने, थकान, दुव्र्यसन, आत्महत्या जस्ता शारीरिक परिवर्तन ल्याउँछ । यसले व्यक्तिको उत्पादकत्व, कार्य प्रतिबद्धता र कार्यक्षमतामा ह्रास ल्याउँछ । जब व्यक्तिले तनावसँग जुधेर सफलता हासिल गर्दछ तब मात्र उसको तनाव कम हुन्छ । मानिस जन्मजात नै स्वतन्त्रता रूचाउने प्राणी हो । जब मानव स्वतन्त्रतामाथि प्रहार हुन्छ, तब तनाव उत्पन्न हुन्छ । व्यक्तिको जीवन सफलता र असफलताको सम्मिश्रण भएकाले असफलता नै तनावको मुख्य कारण बन्न सक्छ । त्यसो त अवास्तविक एवम महत्वाकांक्षी लक्ष्य लिनु, छोटो समयमा जीवनमा क्रान्तिकारी परिवर्तन गर्न खोज्नु, सेवामा प्रवेश गर्नासाथ सहरमा घर गाडीको सपना देख्नु र ‘सरस्वती’ लाईभन्दा ‘लक्ष्मी’ लाई बढी माया गर्ने संस्कार बढ्दै जानु जस्ता विविध कारणले पनि तनाव बढ्दै गएको देखिन्छ । विशेषतः तनावग्रस्त व्यक्तिहरूमा धूमपान अधिक गर्ने, लागूऔषध र मादक पदार्थ सेवन गर्ने, उत्प्रेरणामा कमी, कार्यसम्पादन स्तरमा ह्रास, बीचैमा जागिर छाड्ने, गुणस्तरमा ह्रास, कम सुत्ने, व्यायाम नगर्ने र खाना राम्ररी नखाने जस्ता असामान्य व्यवहारसमेत देखापर्छ । अहिले व्यवस्थापन, प्रशासन, औद्यौगिक क्षेत्र, शैक्षिक क्षेत्र, चिकित्सा, राजनीति र मनोविज्ञानमा समेत तनावसम्बन्धी कुराले उच्च प्राथमिकता पाएको छ । यसैगरी, मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहे मात्र व्यक्तिले आफूलाई परिवर्तित वातावरणअनुरूप परिवर्तन वा परिमार्जन गर्न सक्छ, भावनात्मक द्वन्द्वबाट विचलित हुँदैन । जीवनको अर्थ बुझी त्यसैअनुरूप चल्दछ । आफ्नो क्षेत्रमा सामथ्र्यको पूर्ण उपयोग गर्दछ । सुमधुर पारस्परिक सम्बन्ध विकास गर्दछ । फलतः उत्पाकदत्व, संगठनप्रतिको प्रतिबद्धता, कार्यसन्तुष्टि बढ्छ भने संगठन छोड्ने र आपसी मनमुटावको क्रम घट्न थाल्छ । जसबाट समग्रमा संगठनको निर्दिष्ट लक्ष्य प्राप्त गर्दै संगठनलाई दीर्घकालसम्म टिकाउनका लागि तनावको मात्रालाई निराकरण गर्दै जानु आवश्यक देखिन्छ । कुनै कुराको चिन्ता गर्नु स्वाभाविक हो । तर, चिन्तामा डुबिरहनु चाहिँ हानिकारक हुनसक्छ । चिन्ताले चितामा पुर्याउन सक्छ भन्ने कुरा पनि हेक्का हुनु जरुरी हुन्छ । दिनरात तनाव वा चिन्ता लिँदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । साथै, डिप्रेसनको समयमै पहिचान भई परिवारको सहारा र सहयोग मिलेन भने अवस्था थप गम्भीर हुनसक्छ । आजभोलि अस्पतालका मानसिक रोग विभागमा डिप्रेसनकाे सिकार भएका सबै उमेर समूहका मानिस भेटिन्छन् । वास्तवमा जब मस्तिष्कले पूरा आराम पाउँदैन, तब त्यसमा एक किसिमको दबाब बनिरहन्छ । यसकारण तनाव बिस्तारै डिप्रेसनमा बदलिन्छ । तसर्थ तनावग्रस्त मानिसलाई औषधिभन्दा पनि माया, हेरचाह र हौसला आवश्यक हुन्छ । यस कारण तनावको समयमै निराकरण गर्नु जरुरी हुन्छ । बैंकिङ क्षेत्रमा बढ्दो तनावका कारणहरू  सर्वसाधारणको बचत रकममा व्यवसाय गर्ने जोखिमपूर्ण र चुनौतीपूर्ण क्षेत्र बैंक हो । तसर्थ बैंकका निक्षेपकर्ताहरू बैंकका राजा हुन्, भगवान् हुन्, व्यवसाय सफलताका आधारस्तम्भ हुन् र सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ मुस्कानसहितको सेवा दिनुपर्नेमा ठुस्कानसहितको सेवा व्याप्त छ, जुन कर्मचारी तनावको उपज हो । मूलतः बैंकिङ क्षेत्रमा तनावका मुख्य कारणमा अधिक कार्यभार, अव्यावहारिक लक्ष्य र कार्यजीवन सन्तुलित नहुनुलाई लिन सकिन्छ । बैंकिङ क्षेत्रमा माथिल्लो तहबाट तल्लो तहका कर्मचारी निकै पेलिएको, कर्मचारीको क्षमताबाट प्राप्त गर्न नसकिने लक्ष्य निर्धारण गरी अनावश्यक यातना दिइने गरेको, सानो गल्तीमा पनि मानसिक दबाव दिने लगायतका कारण बैंकिङ जागिर छाडेर विदेश जाने दर बढ्दै गएको र डिप्रेसनको सिकार हुने वा आत्महत्या गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बैंकका कर्मचारीहरू बिहान नौ बजे नै कार्यालय उपस्थित हुनुपर्ने र साँझ हिसाबकिताब नमिल्दासम्म घर फर्कन नमिल्ने र फर्कने समयको कहिल्यै टुङ्गो नहुनाले पारिवारिक झगडा बढ्ने, पारिवारिक सम्बन्ध बिग्रने, कार्यजीवन सन्तुलन नहुने, पारिवारिक र सामाजिक जीवनको अनुभूति लिन नपाउने साथै चाहेर पनि समाजप्रतिको जिम्मेवारी बहन गर्न नसक्ने जस्ता समस्या सिर्जना हुन्छन् । बैंकिङ क्षेत्रमा आर्थिक सुविधा, कार्य विशिष्टीकरण, तालिम, कार्य परिक्रमण, सरुवा (शाखा र ग्रामीण क्षेत्रमा कर्मचारी जानै नचाहने), अधिक कार्यभार, माथिल्लो तहको अनावश्यक दबाबका कारण कर्मचारीप्रतिको गुनासो बजारभरि व्याप्त छन् । यसैगरी पछिल्लो समय बैंकिङ कर्मचारीप्रति निरन्तर आक्रमणका धम्कीहरू सुनिन्छन्, जुन् किमार्थ अस्वीकार्य छ । बैंकिङ अराजकता फैलाउँदै श्रमजीवी बौद्धिक वर्गमा कालोमोसो अभियानलगायतका भौतिक आक्रमणजस्ता गतिविधि बढ्दै जाने र सम्बद्ध निकायको मौनता रहिरहने हो भने कर्मचारीको तनावको स्तर कहाँ पुग्ला ? बेलैमा सोच्न आवश्यक छ । मानिस जन्मजात नै समानता खोज्ने न्यायप्रेमी प्राणी भएकाले नेपालको सार्वजनिक सेवामा वृत्तिपथ पूर्वानुमानयोग्य रहेको, स्वदेशी तथा विदेशी तालिमको पर्याप्त अवसर रहेको साथै अध्ययनका लागि पर्याप्त समय र अवसर रहेको तर वित्तीय क्षेत्रमा असारको गोरुजस्तो सधैँ काममा पेलिनुपर्ने, वृत्तिपथ अनिश्चित रहेको, तालिमका अवसर पर्याप्त नरहेको, कार्यसम्पादनको स्तर र तलब सुविधामा तातात्म्य नमिलेको, माथिल्लो र तल्लो तहका कर्मचारीमा सेवा सुविधामा अन्तर रहेको जस्ता कारण कर्मचारीमा नैराश्य बढ्दै गएको छ । यसैगरी स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत कर्मचारी स्वंयकाे वा घर परिवारको सदस्यको अस्पतालमा भर्ना हुँदाको बखतमा समेत कार्यालयबाट अनावश्यक दबाब आउने गरेको बजारमा प्रशस्त सुन्न पाइन्छ । बैंक जस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीमा तनाव बढ्दै जाने हो भने तिनको मनोबल र उत्प्रेरणाले कति समय काम गर्ला ? घटना वा समस्या भएपछिको सावधानी भनेको मृत्यु पछाडिको स्वास्थ्य परीक्षण गरेजस्तै हो, जसको कुनै अर्थ रहँदैन । मृत्युपश्चात् चिहान लानुको कुनै विकल्प नभएकाले समस्या देखिनुअगावै सचेत हुनु जरुरी हुन्छ । तनावका मुख्य कारणहरू निम्नबमोजिम छन् : १. व्यक्तिगत कारण : व्यक्ति स्वयमका कारण तनाव सिर्जना हुने हुँदा यसप्रति व्यक्ति स्वयम संयमित हुन आवश्यक छ । तनावको मुख्य व्यक्तिगत कारणहरू देहायबमोजिम छन् : – अनिश्चित भविष्य – आत्मसंयम नहुनु – नकारात्मक सोचाइ र अनुभूति – आर्थिक समस्या – पारिवारिक द्वन्द्व – अपूर्ण ज्ञान – सामाजिक अपहेलना – एक्लोपना – मन नपरेका व्यक्तिसँग काम गर्नुपर्ने बाध्यता – अधिक कार्यभार – वास्तविकता स्वीकार नगर्ने प्रवृत्ति – प्रेममा फाटो आउनु – महत्वाकांक्षी लक्ष्य – जीवन बाँच्न कठिन हुनु – पढाइमा असफलता – जीवनप्रति नकारात्मक सोच – अस्वस्थकर जीवनशैली – सफलताको आवश्यकता – असम्भव लक्ष्य प्राप्तिका लागि होडबाजी – विचारमा भिन्नता – व्यक्तिगत रिसइबी र झगडा – तुलना गर्ने बानी – जागिर गुमाउनु – वैवाहिक सम्बन्ध टुट्नु । २. सांगठनिक कारण : संगठन कर्मचारीको रचनात्मक र सिर्जनशीलता प्रस्तुत गर्दै श्रम बेच्ने ठाउँ भएकाले कर्मचारीहरूबीच समान अवसर, व्यवहार र सुविधा उपलब्ध गराउन नसक्दा तनावको मात्रा बढ्दै जान्छ । तनावका सांगठिनक कारणहरू निम्नबमोजिम छन् : – संगठनकाे कार्य ढाँचा स्पष्ट नहुनु – कार्य जीवन सन्तुलनमा समस्या – पर्याप्त स्रोत साधनको अभाव – अपर्याप्त तलब र सुविधा – सरुवा र पदस्थापनामा बढ्दो धाँधली – अत्यधिक राजनीतिक दबाब – तनाव व्यवस्थापनप्रति नेतृत्व सचेत नहुनु – समान अवसरको अभाव – निर्णयमा पर्याप्त अख्तियार प्रत्यायोजन नहुनु – कार्य उत्प्रेरणाको अभाव – तनाव व्यवस्थापनसम्बन्धी तालिमको अभाव – प्रशासनमा बढ्दो राजनीतिक प्रभाव – वृत्ति विकास योजनाको अभाव – हाकिम कर्मचारीबीच मनमुटाव – नातावाद, कृपावाद र चाकडीवाद हाबी – कर्मचारीबीच द्वन्द्व – ट्रेड युिनयनले कर्मचारीबीच फुट ल्याएको – कमजोर कार्यसम्पादन मूल्यांकन – कार्यसम्पादन र सेवा सुविधामा तादात्म्य नहुनु – ट्रेड युनियनको गलत अभ्यास – महिला कर्मचारीप्रति बक्रदृष्टि – सामूहिक सौदाबाजीको अभाव – दण्ड पुरस्कारमा विभेद – सेवा सुविधामा असमानता – सेवाको अनिश्चितता र असुरक्षा – सञ्चारमा बहुअवरोध – व्यक्तिगत लक्ष्य र सांगठिनक लक्ष्यबीच बेमेल – गुनासो सुनुवाइ संयन्त्र नहुनु – श्रमप्रति सम्मानको संस्कार नुहुनु – पदोन्नतिको अवसरमा विभेद – पदस्थापनामा गैरप्रणालीको हाबी – व्यक्तिप्रधान नीति बन्नु – व्यक्ति हेरेर नीति तोडिनु ३. नीतिगत कारण : जब संगठनले कर्मचारीहरूबीच समान नीतिगत व्यवहारको आभास दिलाउन सक्दैन, तब कर्मचारीहरूमा नैराश्य, अपमान र तनाव बढ्न थाल्छ । संगठनका नीति, व्यवहार र शैली व्यक्ति हेरेर परिवर्तन गर्नुहुँदैन । कर्मचारी तनावका नीतिगत कारणहरू निम्नबमोजिम छन् : – तनाव व्यवस्थापनमा नीतिगतको अभाव – कार्यविधिमा एकरूपताको अभाव – नीतिको वाष्पीकरण – कानुनी अस्थिरता – राजनीति र प्रशासनमा कार्य क्षेत्र स्पष्ट नहुन – संगठनकाे लक्ष्य स्पष्ट नहुनु – सेवा सुविधामा संगठनबीच नीतिगत एकरूपता नहुनु ४. अन्य कारण : तनाव व्यक्तिगत, सांगठनिक र नीतिगतबाहेक अन्य कारणबाट पनि हुने गर्दछ, जुन निम्नबमोजिम रहेका छन् : – तनाव व्यवस्थापनमा परामर्शको अभाव – रामो कार्य वातावरण नहुनु – क्षमताको कदर नहुनु – बढ्दो जनअपेक्षा र दबाब – प्रविधिमा निरन्तर परिवर्तन भइरहनु – सामाजिक असुरक्षा – जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था – सामाजिक दबाब – पारिवारिक जिम्मेवारी – व्यक्तिगत सम्बन्ध तनाव व्यवस्थापनका उपाय तनाव व्यवस्थापनको सर्वोत्तम उपाय तनावको कारण पहिचान गरी त्यसको सही सम्बोधन गर्नु हो । परिवर्तित वातावरण अनुकूल व्यक्तिको व्यवहारमा पनि रूपान्तरण गर्ने र तनावलाई सिर्जनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक तथा मानसिक सन्तुलन कायम राख्ने काम नै तनाव व्यवस्थापन हो । तनावलाई व्यक्ति र संगठनको हित संरक्षण गर्ने काममा उपयोग गर्ने प्रक्रिया नै तनाव व्यवस्थापन हो । व्यवस्थापकीय दृष्टिकोणले हेर्दा निश्चित स्तरको तनावलाई उपयुक्त मानिन्छ । किनकि सामान्य स्तरको तनावले मानिसलाई उत्प्रेरित गर्दछ, कार्यसम्पादन बढ्छ र सफलताका ढोकाहरू खुलाउँछ । तनाव व्यवस्थापन तनावग्रस्त व्यक्ति आफैँले गर्नुपर्दछ । तनाव व्यवस्थापन बैंकिङ जोखिम र द्वन्द्व नियन्त्रणको मेरुदण्ड हो । तनाव बढ्यो भने रोग प्रतिरोधात्मक क्षमता कमजोर रहन्छ । तनाव घट्यो भने उत्प्रेरणा, मनोबल र संगठनप्रतिको प्रतिबद्धता र उत्पादकत्व बढेर जान्छ । अथाह सम्भावना भएको मानव संशाधन जसले संगठनका अन्य स्रोत साधनको सिर्जना, उपयोग र नियन्त्रण गर्दछ, त्यस्तो संशाधनको सम्भावना र क्षमताको प्रचुर मात्रामा उपयोग गर्दै प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धात्मक र तुलनात्मक लाभ हासिल गर्न सकिने कुरामा दुई मत नहोला । तनाव मानव जीवनको अनिवार्य सर्त हो । यो व्यक्तिगत वा सामूहिक हुनसक्छ । यसको प्रभाव अल्पकालीन र दीर्घकालीन दुवै हुनसक्छ । निश्चित स्तरसम्मको तनावले व्यक्तिको मनोबल, प्रतिबद्धता, उत्पे्ररणा, उत्पादकत्व बढाइ सफलतातर्फ अग्रसर गराई मानव जीवनलाई सार्थक तुल्याउँछ । यसैगरी सीमाभन्दा बढी तनाव भएमा यसले शारीरिक र मानसिक रूपमा शिथिल मात्र नबनाई डिप्रेसन हुँदै आत्महत्यासम्म पुर्‍याएका उदाहरण प्रशस्त देख्न सकिन्छ । तनावको मुख्य कारण व्यक्ति आफैँ भएकाले समाधानमा पनि आफैँले भूमिका खेल्न सकेमा जीवन शान्त हुनेछ । साथै मानिस जन्मजात नै स्वतन्त्र प्राणी भएकाले र कसैको हैकमवादमा बस्न नचाहने भएको हुँदा व्यक्ति आफूले आफूलाई बुझेर आत्मसंयम, आत्मनियन्त्रण, आत्मअनुशासन, आत्मसम्मान, स्वनिर्देशित र स्वउत्प्रेरणामा जोड दिनुपर्दछ । अर्कोतर्फ संगठनले कर्मचारीलाई मेसिन र तलबी कर्मचारीका रूपमा मात्र नलिई आधुनिक व्यवस्थापनका सिद्धान्त र अभ्यासको मर्मलाई बुझेर मानवीय संवेदना र श्रमको उचित सम्मान गर्दै सङ्गठनमा बढ्दो तनाव व्यवस्थापन गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ : १. व्यक्तिगत प्रयास तनाव मुख्यतः व्यक्ति आफैँका कारणले सिर्जना हुने भएकाले यसको निराकरणमा पनि व्यक्ति विशेषको भूमिका नै बढी हुने गर्दछ । तनावको मुख्य कारण व्यक्ति स्वयम् भएकाले यसको निदानको लागि मुख्य डाक्टर पनि व्यक्ति स्वयम् बन्नुपर्दछ । तसर्थ व्यक्तिले तनावको मात्रा कम गर्न र आफूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै संगठनलाई प्रतिस्पर्धी बनाउँदै निर्दिष्ट गन्तव्यमा पुर्‍याउन तनाव निराकरणका लागि निम्न उपायहरू अवलम्बन गर्नसक्छ : – जीवनमा व्यावहारिक लक्ष्य निर्धारण गर्ने – जीवनमा ठूलो सपना नदेख्ने – ज्ञान मार्ग, भक्ति मार्ग र कर्मयोग मार्गमा लाग्ने – निष्काम कर्म गर्ने – जगत् नै भगवान् हुन् भगवान् नै जगत् सम्झने – नियत राम्रो राख्ने – निर्दोषपूर्वक जीवनयापन गर्ने – सामूहिक घुलमिल हुने – खराब मानिसको सङ्गत नगर्ने – नैतिकताको पालना गर्ने – योग्य व्यक्तिको सल्लाह लिएर मात्र काम गर्ने – आत्मनियन्त्रण गर्ने – मोह, लोभ र क्रोध त्याग्ने – मानव जीवन सेवाको लागि सम्झने – नियमित र सन्तुलित आहार र व्यायाम गर्ने – समय व्यवस्थापनमा जोड दिने – सिर्जनात्मक र रचनात्मक कार्यमा जोड दिने – जीवनलाई सन्तुलित तुल्याउने – यथार्थता र वास्तविकतालाई स्वीकार गर्ने – सकारात्मक सोचको विकास गर्ने – ईश्वरप्रति आस्था राख्ने अति परिश्रमी वा अति अल्छी नहुने – साधारण जीवन बिताउने – हल्लाका पछाडि नलाग्ने – साहस देखाउन – पर्याप्त मात्रामा ध्यान, योग र प्राणायाम गर्ने – सचेत र सतर्क भइरहने – तुलना गर्ने प्रवृति बन्द गर्ने – कसैलाई हानी नपु¥याउने – कर्मशील, सिर्जनशील, श्रमशील, उद्यमशील – नकारात्मक सोचाइलाई त्याग्ने र उत्पादनशील हुने – विपश्यना ध्यान गर्ने, चित्त एकाग्र पार्ने – मनोवैज्ञानिक परामर्श र उपचार गर्ने – बाहिर घाममा निस्कने – प्रियजनसँग समय व्यतित गर्ने – पर्याप्त मस्त सुत्ने – आफ्नो रुचिको क्षेत्रमा समय दिने – एकान्तमा बस्ने बानी त्याग्ने – धार्मिक र सामाजिक क्रियाकलापमा सहभागी हुने – आफ्नो वचनको परिपालना गर्ने – सुखदुःखमा समान भाव राख्ने – सक्रिय जीवन बिताउने – कामको मात्रा नै घटाउने – संस्कारको विकास गर्ने – छिट्टै छलाङ मार्ने सोच नलिने – नियमित पत्रपत्रिका पढ्ने र टेलिभिजनमा समाचार हेर्ने फिल्महरू हेर्ने – सकारात्मक सोचका बारेमा लेख्ने, पढ्ने । २. संगठनात्मक प्रयास संगठन कर्मचारीको श्रम बेच्ने ठाउँ हो । सङ्गठनले व्यक्तिको श्रम, क्षमता, मानवता र सिर्जनशीलतालाई सम्मान गर्दै न्यायोचित व्यवहार प्रदान गर्न सक्नुपर्दछ । साथै सङ्गठनले व्यक्तिको लक्ष्यलाई साङ्गठनिक लक्ष्यसँग समाहित गराउँदै एउटै गन्तव्यतर्फ केन्द्रित हुनुपर्दछ । तनाव निराकरणका लागि सङ्गठनले कर्मचारीमा विभेद अन्त्य गर्नुपर्दछ । कर्मचारीले श्रम मात्र बेचेको हो जिन्दगी समर्पण गरेको होइन, भन्ने कुरालाई मनन गर्दै कर्मचारीका तनाव निराकरण गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ : – सङ्गठनको लक्ष्य र योजना स्पष्ट बनाउने – कार्य विवरण स्पष्ट बनाउने – सेवाको सुरक्षाको सुनिश्चितता गर्ने – कार्य विभाजन स्पष्ट बनाउने – समान, निष्पक्ष र न्यायपूर्ण व्यवहार गर्ने – उपयुक्त कार्य वातावरण बनाउने – सहभागितामूलक व्यवस्थापनमा जोड दिने – समान अवसर प्रदान गर्ने – तनावसम्बन्धी चेतना बढाउने – स्रोत साधनको समान वितरण गर्ने – ठिक व्यक्ति ठिक ठाउँमा व्यवस्थापन गर्ने – स्पष्ट भूमिका र जिम्मेवारी दिने – गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने – निर्णयमा सहभागी गराउने – कर्मचारीको क्षमता र कार्यभारबीच सन्तुलन कायम गर्ने – विभेदको न्यूनीकरण गर्ने – कार्यजीवन सन्तुलन कायम गर्ने – दोहोरो सञ्चार प्रणालीको प्रयोग गर्ने – खुलाद्वार नीति अवलम्बन गर्ने – कर्मचारीको हकअधिकार सुनिश्चित गर्ने – पुरस्कार र दण्ड प्रणालीको अवलम्बन गर्ने – दण्डहीनता र अराजकताको अन्त्य गर्ने – कर्मचारीलाई नियमित तालिम र मनोरञ्जन जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउने – समयसमयमा भ्रमण, वनभोज, अन्तरक्रियामा सहभागी गराउने – कामदारको समस्यालाई गम्भीरतापूर्वक सुन्ने – व्यवस्थापनका आधुनिक सिद्धान्त प्रयोग गर्ने – कर्मचारीको संवेदनाको सम्मान गर्ने – विधिको शासन कायम गर्ने, शासनको विधि होइन – कर्मचारीलाई मित्रवत् व्यवहार गर्ने – नियमित कार्य परिक्रमण गर्ने – पारिश्रमिक पदमा आधारित नभई कार्यसम्पादनमा आधारित बनाउने – सजाय दिँदा सफाइको मौका दिने – कर्मचारीको कम्तीमा जीवन निर्वाह गर्न पुग्ने गरी सेवा सुविधा प्रदान गर्ने – समानताको भावना राख्ने – कार्य सम्पादन मूल्यांकन निष्पक्ष र विकास गर्ने – संगठनमा श्रमको सम्मान गर्ने संस्कारको पारदर्शी बनाउने – तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ भनेर खबरदार होइन, रचनात्मक अनुशासनमा जोड दिने – संगठनका नीति, व्यवहार र शैली व्यक्ति हेरेर परिवर्तन गर्नुहुँदैन निष्कर्ष तनाव मानव जीवनको अनिवार्य सर्त हो । यो व्यक्तिगत र सामूहिक दुवै हुनसक्छ । यसको प्रभाव अल्पकालीन र दीर्घकालीन दुवै हुनसक्छ । निश्चित स्तरसम्मको तनावले व्यक्तिको मनोबल, प्रतिबद्धता, उत्पे्ररणा र उत्पादकत्व बढाई सफलतातर्फ अग्रसर गराइ मानव चोलालाई सार्थक तुल्याउँछ र निश्चित सीमाभन्दा तनाव बढी भएमा यसले शारीरिक र मानसिक रूपमा शिथिल मात्र नबनाई डिप्रेसनको सिकार हुँदै आत्महत्यासम्म पुर्‍याउने हुन्छ । कर्मचारीको तनावलाई कम गर्न प्रत्येक संगठनले व्यक्तिगत र सांगठनिक समस्याहरू बुबुझ्नुपर्दछ । कर्मचारीको घरायसी समस्या र पारिवारिक समस्याका कारण कार्यजीवन सन्तुलन नहुँदा संगठनले निर्दिष्ट गरेका लक्ष्य प्राप्त गर्न सकिँदैन । यसै गरी, व्यक्ति र संगठनको लक्ष्य सन्तुलन नभएमा व्यक्ति र सङ्गठनबीच टकराव बढ्न गई द्वन्द्व सिर्जना हुन्छ । आजको परिवर्तित र यान्त्रिक युगमा संगठनमा कर्मचारीको तनाव निराकरण गर्न चिकित्सा मनोवैज्ञानिक एवं मनोचिकित्साको सहयोग लिनु उपयुक्त हुन्छ । यसबाट व्यक्तिको सम्पूर्ण प्रयत्न संगठनको लक्ष्य प्राप्तितर्फ केन्द्रीत गर्दै निर्दिष्ट लक्ष्य प्राप्त गरी कर्मचारी र संगठन दुवैको हित हुने कुरामा शंका गर्ने ठाउँ रहँदैन । तनावको मुख्य कारण व्यक्ति आफैँ भएकाले समाधानमा पनि आफैँले भूमिका खेल्न सकेमा जीवन अर्थमय, शान्तिमय र अनुकरणीय हुँदै जाने कुरामा दुई मत नहोला । संगठनमा कर्मचारीले पारिश्रमिकका लागि श्रम मात्र बेचेको हो, जीवन समर्पण गरेको होइन । तसर्थ संगठनले मानवीय श्रम र संवेदनशीलता बुझेर त्यहीअनुरूपको व्यवहार गर्न सकेमा पनि धेरै हदसम्म तनाव व्यवस्थापन गर्न सकिने देखिन्छ । मानिस स्वभावैले जन्मजात नै स्वतन्त्र प्राणी भएकाले र कसैको हैकमवादमा बस्न नचाहने भएकाले व्यक्तिले आफूलाई बुझेर आत्मसंयम हुने, आत्मनियन्त्रण गर्ने, आत्मसम्मान गर्ने, आत्मअनुशासित हुने, आफूलाई नियमन गर्ने, स्वनिर्देशित हुने र आत्मउत्प्रेरित हुने हो भने धेरै मात्रामा तनाव आफैँ कम हुँदै जाने अपेक्षा राख्न सकिन्छ । (तिमल्सिना राष्ट्रिय जीवन बीमा कम्पनीका सहायक व्यवस्थापक हुन् । नेपाल राष्ट्र बैंकको ६९ औ वाषिर्कोत्सव विशेषांकबाट)

लगानी सम्मेलन : निजी क्षेत्रको लगानीलाई नीतिगत संरक्षण

नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र होइन, प्राकृतिक स्रोतको उपलब्धताका कारण पनि लगानी गन्तव्य मुलुक हो । उदारीकरणको नीतिले निजी क्षेत्रको लगानीलाई नीतिगत संरक्षण पनि प्रदान गरेको छ । लगानी बोर्ड नेपाल, सार्वजनिक निजी साझेदारी, औद्योगिक लगानी प्रवद्र्धन केन्द्र जस्ता संरचनाले पनि लगानी आकर्षणका लागि बाटो देखाएका छन् । सरकार लगानीको वातावरण बनाउन लागि परेको छ र सहुलियतका प्याकेजहरुको घोषणा पनि गरिरहेको छ । पटकपटक लगानी सम्मलेलन गरेर नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ भन्ने सन्देश दिइएको छ । लगानी सम्मेलनमा सरकार प्रतिपक्ष, व्यवसायीहरु, नीति निर्माता र विकास साझेदारहरुको एकसाथको उपस्थितिले लगानी प्रवद्र्धन गर्न राष्ट्रिय सहमति छ भन्ने सन्देश दिइँदै आएको छ । नीति वातावरण र सहुलियतको घोषणाका बाबजुद उद्योग व्यवसायमा खासै लगानी भएको छैन । बाह्य मात्र होइन, आन्तरिक लगानी पनि त्यति भएको छैन । आफ्नो पूजी लगानी गर्ने संस्था वा व्यक्तिले धेरै कुराहरु विचार गरेर मात्र लगानी गर्दछन् । यसर्थ नीतिगत र व्यावहारिक दुवै कुरा उत्तिकै महत्वपूर्ण छन् । नेपालमा यी दुवै पक्ष सुधारको पखाईमा छन् । लगानी परियोजनालाई प्रभाव पार्ने प्रमुख कारकमध्ये एक जग्गा प्राप्तिको समस्या हो । विभिन्न कारणले जग्गा जमिनमाथि चाप बढ्दै गयो, विकास गतिविधि बढ्दै गयो, वातावरणीय जोखिमहरु पनि बढ्दै गए, विकास गतिविधिका कारण मानव जोखिम पनि बढ्दै गयो, जग्गाको मूल्य पनि बढ्दै गयो । भूमिमाथि सामाजिक र राजनैतिक रुपमा संवेदनशीलता पनि बढ्दै गयो र यसले आयोजना व्यवस्थापनमा जटिलता थपिदियो । जग्गा प्राप्तिको प्रक्रियामा रहेका यी जटिलताले निजी क्षेत्रको लगानीमा जोखिम देखियो, प्रभावितको पुनर्वास तथा पुनस्र्थापनामा समस्या देखियो, एकीकृत नीति तथा अभ्यासको अभाव रह्यो । लगानीकर्ताबाट जति पनि क्षतिपूर्ति लिन हुन्छ भन्ने प्रवृत्ति बढ्न गयो । लगानीमैत्री वातावरणका लागि चाहिने नीतिप्रति पनि लगानीकर्ता त्यति आश्वस्त भएनन् । उदारीकरणको नीति परिवेश छ तर समाजवाद उन्मुख अर्थतन्त्रको उल्लेख संविधानमा गरिएको छ । समाजवाद भनेको के भन्न खोजिएको भन्ने प्रष्ट पारिएको छैन । केही ठूला राजनैतिक दलहरुको चुनावी घोषणापत्र र दस्तावेजमा उदारवादी लोकतन्त्रलाई उपयोग गरेर समाजवादको गन्तव्यमा पुुग्ने भनिएको छ । सरकार बदलिएपछि नीति उही रहे पनि नीति व्यवहारमा आउने परिवर्तन, नीतिप्रतिको सामाजिक र राजनीतिक सम्मति, पूजी फिर्ता र नाफा फिर्ता लैजाने विधिमा जटिलता, नियमन र प्रोत्साहनबीचको असन्तुलन जस्ता पक्षबाट पनि उद्यमीहरु मनोवैज्ञानिक रुपमा उत्साहित देखिएका छैनन् । नेपालको पूँजी बजार साँघुरो छ । बैंकहरु न्यून क्षमता छन् । ठूला परियाजनामा लगानी गर्ने क्षमतामा छैनन् । अर्थतन्त्रमा पूजी निर्माणको प्रकृति सुस्त छ । वीमा तथा क्षतिपूर्तिका जटिलता, बाह्य पूँजी र आन्तरिक पूँजीको परिपूरण अभाव पनि देखिदै आएको छ । अर्को जटिलता श्रम सम्बन्धले पनि देखाउने गरेको छ । बेरोजगारीका कारण श्रम सस्तो पनि छ । तर श्रम कानून र लगानी कानूनबीच द्वन्द्व, श्रमिकहरुमा रहेको राजनैतिक संरक्षण, सीपयुक्त श्रमको अभाव, श्रमिक र लगानीकर्ताबीच बुझाइको अन्तरले लगानीमैत्री वातावरण बनाउन विगतदेखि समस्या पार्दै आएको छ । लगानीको उत्प्रेरक पूर्वाधार हो भने उत्पादित वस्तुको सहज संरक्षण र वितरणमा पनि भौतिक पूर्वाधारले आधारको रुपमा काम गर्दछ । तर भौतिक पूर्वाधार, सुरक्षा, सञ्चार, गोदाम व्यवस्था, क्लीयरिङ् जस्ता कार्य अझै भरपर्दा छैनन् । लगानीले स्वागतमुखी संस्कृतिको माग गर्दछ । भारतको पश्चिम बङ्गालमा स्वागतमुखी व्यवहार भएन तर गुजरातमा त्यहाको राज्य सरकारले अनुकूल व्यवहार गर्यो, उद्योग कारखाना त्यतै हानिए । यसबाट पनि नेपालले शिक्षा लिन सक्छ । स्वागतमुखी कार्य संस्कृति विथोल्ने कारकमा आन्तरिक कुशासन, कार्यविधिगत जटिलता, प्रशासनिक ह्यासल, सहुलियत लिनमा कठिनाइ, चन्दा उपहार, प्रदर्शन प्रभावको अभाव, सम्भावनाको प्रचारप्रसार, आन्तरिक उद्यमीप्रति संरक्षण गर्ने प्रवृत्ति, वातावरण प्रभाव मूल्यांकनमा लाग्ने लामो समय आदि हुन् । कमजोर सुशासनका कारण लगानीकर्ताहरु आफ्नो पूजी तथा प्रयासलाई उपयोग गर्न अभिप्रेरित छैनन् । अनावश्यक झ्याउलो र अतिरिक्त लागत ब्यहोर्न पूँजी डराउँछ । त्यसैले सरकारले पटकपटक आयोजना गरेको लगानी सम्मेलनमा लगानी गर्न इच्छुक रहेको जस्ता कुटनैतिक भाषा प्रयोग गर्छन्, तर लगानी गर्न इच्छुक छैनन् । पछिल्लो समय मुलकमा भएका संस्थागत बेथितिले राम्रो सन्देश गएको छैन । नेपालको छवि बाहिर राम्रो देखाउने काम भएको छैन । नेपालका निजी क्षेत्रका घरानाहरुले बाह्य लगानीकर्तासँग सहकार्य गर्ने क्षमता देखाएका छैनन् । बाह्य संस्था तथा व्यक्तिगत लगानीकर्तासँग नेपालका ठूला भनिएका घारानाहरुले उत्पादन, व्यापार तथा प्रविधिमा साझेदारी त्यति गरेका छैनन् । यसले आन्तरिक उद्यमी नै उत्साही छैनन् भन्ने सन्देश बाहिर गएको छ । साथै दुई छिमेकी मुलुकहरुबीचको उतारचढावपूर्ण राजनैतिक र कुटनैतिक अवस्थाले पनि व्यापारलाई प्रतिकूल प्रभाव पारिरहेको छ । नेपालले निकै उत्साहका साथ आयोजना गरेको लगानी सम्मेलन सकिएको छ । लगानी अनुकूल वातावरण बनाउनका लागि सरकारले छोटो बाटोबाट केही कानूनहरु संशोधन गर्ने अध्यादृश जारी गरेको छ । लगानीमा बाधक ठानिएका प्रावधानहरु हटाउन भूमि सँबन्धी ऐन, जग्गा प्राप्ति ऐन, विद्युुतीय कारोवार ऐन, विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी ऐन, वन ऐन र औद्योगिक व्यवसाय ऐनलाई लषनी सम्म्लमेनको उद्घाटनकै समयमा संशोधन अध्यादेश जारी गरी हामी लगानीको वातावरण बनाउन तयार छौँ भन्ने सन्देश दिइएको छ । सम्मेलनको तयारी र सोकेश आयोजनामा जे जस्तो स्थिति रहे पनि राजनैतिक सहमति कायम गर्ने सरकारको प्रतिवद्धता पनि देखिएको छ । यसले सकारात्मक सन्देश दिएको छ । सम्मेलनको आयोजना एउटा घटनाका रुपमा मात्र रहे यो पनि विगतका सम्मेलनकै निरन्तरतामा देखिने छ । सम्मेलनमा व्यक्त भएका कुराहरु र लगानीकर्ताको मनोभावनालाई समेत ध्यानमा राखेर सरकार तथा लगानी बोर्ड नेपालले गर्नुपर्ने काम अब शुरु भएको छ । नीति संरचना मात्र परिवर्तन गरर पदैन, यसका लागि सरकारले गर्नुपर्ने कामको शुरुआत लगानी वातावरणको पहिलो शर्त हो । जस्तो कि जग्गा प्राप्तिलाई लगानीको प्याकेजमा नै समावेश गर्ने ९विस्थापन न्यूनीकरण, जीविकोपार्जन, पुनर्वास योजना कार्यान्वयन, उचित मुआब्जा र क्षतिपूर्ति अभ्यास गर्नुपर्छ । लगानीकर्ता पूजी र प्रविधिमात्र लिएर आउँछ, अन्य कुरा लगानी गन्तव्य मुलुकले गर्नु पर्दछ । नीति स्थिरताको सुनिश्चितका लागि राजनैतिक दलहरुबीचको सहमति, संविधानको व्याख्या, नीति प्रावधान कार्यान्वयनको प्रतिवद्धता, निरन्तर सहजीकरण र समीक्षाको परिपाटी बसाल्नु पर्दछ । पूँजी बजार विस्तारका लागि अर्थमन्त्रालयको अगुवाईमा बैंक, वीमा, मौद्रिक नीति, सहयोग, सरकार–उद्यमी वित्त सहकार्य, सरकारी जमानत, वित्त कन्सोर्टियम आदिको व्यवस्थापन गरिनु पर्दछ । लगानी बोर्डले सरकारका निकायहरुसँग समन्वय गरी श्रम सम्बन्ध सहभावीकरण, श्रमिक अभिमुखीकरण, पूर्वाधार सुनिश्चित जस्ता कार्य निरन्तर गनुएको विकल्प छैन । स्वागत संस्कृति विकासका लागि कार्यव्यवहार परिवर्तन गर्नुपर्दछ । विमानस्थल नेपाल हेर्ने ऐना हो, विमानस्थलदेखि नै मीठो सेवा, प्रशासनिक कार्यसंस्कृति परिवर्तन, एकल विन्दु सेवा, प्रदर्शन आयोजना विकास, प्रमुख निर्णयमा समय किटानी, प्रशासनमाथि नियमन, लगानी सहकार्य आयोजना, आयोजना विकास, आय प्रत्याभूति, सम्भाव्यता न्यूनपूर्ति कोषको व्यवस्था जोखिम सहकार्य, डायस्पोरा परिचालन र प्रचारप्रसारले स्वागत संस्कृति निर्माणमा सहयोग पुुग्दछ । कर प्रशासन र सम्बद्ध कर्मचारीको व्यवहार व्यावसायिक दाचारमा रहनुपर्दछ । नेपाल पोलिसी इन्स्टिच्यूट, गैरआवासीय नेपाली समाजलगायत विश्वभरि छरिएर रहेका नेपाली डायस्पोरा र विभिन्न काममा रहेका नेपालीहरुको विश्वास जिती उनीहरुलाई परिचालन गर्ने जनस्तरको कुटनीति लिनुपर्छ । यसले बाह्य समाजमा नेपालको पहिचान र सम्बन्ध विकासमा ठूलो योगदान गर्नसक्छ । साथै छानिएका क्षेत्रमा नेपाली उद्यमी र बहुराष्ट्रिय संस्थासँग सहकार्य गरी नेपाली वस्तुु तथा सेवाको विश्वव्यापी मूल्यसिक्रीमा आवद्ध हुने काम तत्काल गर्नु पर्दछ । यी काम ढिलो होइन, आक्रामक रुपमा तत्काल गर्नु पर्छ । किनकी अभियानका रुपमा सञ्चालन गर्नुपर्ने कामको समय र गति पक्डिन सकिएन भने त्यसले हाम्रो अर्थतन्त्रलाई छाडेर जान्छ । रासस (लेखक नेपाल सरकारका पूर्वसचिव हुन्)

लगानी सम्मेलनमार्फत लगानीका अवसरको खोजी

समृद्व नेपाल, सुखी नेपाली’को अवधारणालाई साकार पार्न नेपालमा लगानी भित्र्याउनुको विकल्प छैन । लगानीमैत्री वातावरण र लगानी आकर्षणबिना नेपाल अतिकम विकसित देशबाट विकासोन्मुख देशका रुपमा अगाडि बढ्न सक्दैन । उपलब्ध स्रोतसाधनको यथाशक्य उपयोग गर्न पनि लगानी आवश्यक पर्दछ । सरकारको सीमित स्रोत साधनबाट मात्र विकासका कार्यक्रमहरु सम्पन्न गर्न नसकिने भएकाले पनि द्विपक्षीय तथा बहुपक्षीय लगानी भित्र्याउन अपरिहार्य छ । तर, देशले उदार आर्थिक नीति अवलम्बन गरेको तीन दशकभन्दा बढी समय भइसक्दा पनि अपेक्षित विदेशी लगानी भित्र्याउन नसकेको अवस्था छ । राजनैतिक परिवर्तनसँगै आर्थिक विकास हुन नसक्दा देश पछाडि परेको हो । आर्थिक विकासको आधार भनेको लगानी नै हो । त्यसैले नेपाल सरकारले लगानीका अवशरहरु खोजी गर्नका लागि  भनेर तेस्रो लगानी सम्मेलन, २०२४ आयोजना गरेको धेरैको ठम्याइ छ । देशको तरल राजनीतिक तथा नीतिगत अवस्थाका बाबजुद पनि सरकारले गर्न लागेको यो सम्मेलन आफैँमा सह्राहनीय कदम हो । नेपाललाई एक आकर्षक लगानी गन्तव्यका रुपमा प्रवद्र्वन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने सम्मेलनलाई दशवटा सेसनमा विभाजन गरिएको छ, जसमा ५० भन्दा बढी वक्ताहरु र एक हजारभन्दा बढी सहभागीहरु रहेका छन् । बहुप्रतिक्षित र धेरैले चासोको रुपमा हेरिरहेको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरकारी, निजी, तथा विकास साझेदारहरुको प्रतिनिधित्व भइरहेको छ । नेपालको राष्ट्रिय योजना, सरकारका नीति तथा कार्यक्रमहरुसँग तालमेल मिलाउँदै गर्न लागिएको सम्मेलनमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । विशेषगरी, यो सम्मेलन प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउनका लागि गरिएको प्रयासका रुपमा हेरिएको छ । त्यसैगरी, लगानीका लागि पर्यटन, उर्जा, सूचना प्रविधि, कृषि, निर्माण, स्वास्थ्य, शिक्षा, यातायात, खानी तथा खनिज र शहरी विकास गरी सम्भावित १० वटा क्षेत्रहरु निर्धारण गरिएको छ । ती क्षेत्रहरुमा लगानी प्रक्रिया सहज बनाउनका लागि छ वटा प्रक्रियागत चरणहरु पनि उल्लेख गरिएको छ । लगानीका लागि आवदेन, स्वीकृति, कम्पनी दर्ता, नेपाल राष्ट्र बैंकको क्लिरियन्स, वार्ता तथा सम्झौताहरु र अनुमति, स्वीकृति र दर्तालगायतका प्रक्रियाहरु समावेश गरिएको छ । सरकारले लगानीमैत्री वातावरण तयार गर्नका लागि यस्तो खालको एकद्वार नीति अवलम्बन गरेको हो । सम्मेलन अगाडि पूर्वलगानी गोष्ठीहरु देशभित्र काठमाडौँ र लुम्बिनीमा आयोजना गरिएको थियो भनेर देश बाहिर भारतको नयाँ दिल्ली, बङ्गलादेशको ढाका, चीनको छेन्दु, बेइजिङ, हङकङलगायतका शहरहरुमा सम्पन्न भएको थियो । चीनको सिचुवान प्रान्तको छेन्दु शहरमा भएको पूर्व लगानी सम्मेलनमा सहभागी हुने अवसर प्राप्त भएको थियो । अहिलेका कन्सुलेट जनरल सुरेश रावतले लगानीसँग सम्बन्धित यो पहिलो तर महत्वपूर्ण कार्यक्रम भएको कुरा उल्लेख गरेका थिए । सह–आयोजक सिचुवान चेम्बर अफ इन्टरनेशनल कमर्सका प्रतिनिधिले पनि नेपालको विकासका लागि लगानी गर्न आवश्यक रहेको र यसले दुवै देशका जनतालाई फाइदा पुग्ने कुरा उल्लेख गरेका थिए । कार्यक्रममा सहभागी सिचुवान वोलुन इलेक्ट्रिक कम्पनी लिमिटेडका ग्लोबल सेल्स प्रतिनिधि विल लियाओ लगायतले लगानीसँग सम्बन्धित प्रश्नहरु सोधेका थिए । यसले चिनीया लगानीकर्ताहरु लगानी गर्न उत्सुक रहेको देखिन्छ । कार्यक्रमले नेपाल लगानी भित्र्याउन आतुर छ है भन्ने सूचना प्रवाह गरेको थियो । सम्मेलनको व्यापक प्रचारप्रसारका लागि सूचना प्रविधिको अधिक प्रयोग गरिएको छ । फेसबुक तथा एक्स ९ट्विीटर० लगायतका सामाजिक सञ्जालको नियमित उपयोग गरिएको छ । चीनले नेपालीलाई यही मे १ देखि मेनल्याण्ड चाइनाका लागि भिसा प्रक्रिया निःशुल्क गर्दैछ । यसबाट दुई देशबीच आवागमन सहज हुनेछ भने यसले पनि लगानीका लागि वातावरण तयार गर्न सक्दछ । अहिले नेपालमा सबैभन्दा बढी बैदेशिक लगानी गर्ने देशमा छिमेकी देश चीन र भारत नै अगाडि छन् । दुवै छिमेकी राष्ट्रहरु आर्थिक रुपमा शक्ति सम्पन्न हुँदा पनि नेपालले सोचेजस्तो आर्थिक वृद्वि तथा विकास गर्न नसक्नु चिन्ताजनक विषय हो । चीन र भारत आपसमा सहयोगी भन्दा पनि प्रतिस्पर्धी व्यवहारबाट निर्देशित हुँदा त्यसको नकारात्मक प्रभाव नेपालमा पर्नु स्वभाविक हो । दुवै छिमेकी देशहरुको विकास हुँदा ‘स्पिल ओभर इफेक्ट’ का कारण नेपालमा पनि विकास हुन्छ भन्ने मान्यता नभएको होइन तर त्यसका लागि उनीहरुको चाखलाई चलाखीपूर्ण ढङ्गले व्यवस्थापन गर्न आवश्यक छ । उदाहरणको लागि, चीनको लगानीमा उत्पादन भएको विद्युत संयुक्त राज्य अमेरिकाले लगानी गरेको प्रशारण लाइन हुँदै भारतीय तथा बङ्गलादेशको बजारमा बेच्नु पर्ने स्थिति छ । चीन, भारत र संयुक्त राष्ट्र अमेरिकाजस्ता ठूला शक्ति राष्ट्रहरुलाई नेपालमा व्यवस्थापन गर्न देशको नीति र नेतृत्वको खुबीको कुरा हो । अझ, दुवै छिमेकी देशसँगको बढ्दो व्यापार घाटा कम गर्नका लागि व्यापारमा विविधीकरण तथा विशिष्टीकरण आवश्यक छ ।  तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरी लगानी गर्नु र प्राप्त आर्थिक विकासलाई सन्तुलित ढङ्गबाट वितरण गर्नु सरकारका अहिलेका चुनौतीका विषयहरु हुन् । त्यसका बाबजुद, नेपाल सार्क, विमिस्टेक, विश्व व्यापार सङ्गठन, बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआइ) लगायत अन्य थुप्रै क्षेत्रीय तथा अन्तराष्ट्रिय सङ्गठनहरुको सदस्यका रुपमा रहँदै आएको छ । नेपालले बढीभन्दा बढी लगानी भित्र्याउनका लागि यी सङ्गठन (फोरमहरु)को कूटनीतिक उपयोग गर्न सक्नु पर्दछ । साथै, गैरआवासीय नेपाली सङ्घलगायत विदेशमा रहेको नेपालीहरु ९डायस्पोरा० लाई लगानीका लागि उत्प्रेरित गर्न आवश्यक छ । नेपालले हालसम्म कूटनीतिक रुपमा एकसय बयासी देश सँग दौंत्य सम्बन्ध कायम गरेको छ । तीस देशमा आफ्नो राजदूतावास खोलेको छ भने सात वटा महावाणिज्य दूतावास रहेका छन् । यी निकायहरुको उपयोग गरेर पनि लगानी भित्राउन सकिन्छ । सरकार–सरकारबीचको सम्बन्ध मात्र होइन, जनता–जनताबीचको सम्बन्ध (ट्रयाक–टु डिप्लोमेसी) तथा सम्पर्क बढाउन आवश्यक छ । त्यसैले सरकारले औपचारिक तथा अनौपचारिक माध्यमबाट लगानी आकर्षित गर्न सबै खालको पहल गर्न आवश्यक छ । लगानीमैत्री वातावरणका लागि प्रक्रियागत सरलीकरण गर्दै जानु पर्दछ । संरचनात्मक तथा नीतिगत व्यवस्थालाई चुस्त दुरुस्त पार्नुको विकल्प छैन । एक अन्तर्वार्तामा लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले विकास मन्त्रालयहरु पनि चलायमान हुनु पर्दछ भन्नुको पछाडि लाइन अफ एजेन्सीको सक्रियता खोजिएको प्रष्ट हुन्छ । देश विकासको लागि लगानी आकर्षण गर्न सकिने पर्याप्त सम्भावनाहरु पनि छन् । देशमा युवा जनशक्ति हुनु, न्यून श्रम मूल्य, अन्तराष्ट्रिय सङ्गठनहरुसँगको सहकार्य, नेपालको रणनीतिक भौगोलिक अवस्थिति, प्रविधिको उपयोग, सेवा प्रवाहमा एकद्वार प्रणाली अवलम्बन गर्नुजस्ता विषयहरु लगानी भित्र्याउनका लागि सहज परिस्थितिहरु हुन् । यसका कारण लगानी बोर्डका अनुसार अहिलेसम्म विभिन्न ४२ वटा परियोजना स्वीकृत भएका छन् । नेपालमा लगानी गर्नेमा होंसी शिवम् सिमेन्ट प्रालि, ह्वासिन सिमेन्ट, एनसेल, एसजेविएन, स्ट्याण्र्ड चार्टर बैंक, डाबर, युनिलिभर, पञ्जाब नेशनल बैंक, नेपाल एसबिआई बैंक लिमिटेड, जिएमआर माथिल्लो कर्णाली जलविद्युत् आदि प्रमुख रहेको छन् । वैदेशिक लगानीको कुरा गर्दा विभिन्न समयमा एनसेललगायतका बहुराष्ट्रिय कम्पनीहरुसँग नीतिगत जटिलताका कारण देखिएका समस्याहरु भविष्यमा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि ध्यान जान आवश्यक छ । थप सम्भावित लगानीकर्ताहरु (व्यक्ति वा संस्था) लाई आकर्षित गर्न लगानी बोर्डले ‘रोष्टर म्यानेजमेण्ट सिस्टम’ पनि लागू गरेको छ । यसअनुसार आगामी दिनमा लगानीका लागि अझै सहज वातावरण बन्न सक्दछ । यस सम्मेलनलाई निजी क्षेत्रले पनि निकै महत्व र अवसरको रुपमा लिएको छ । नेपाल सरकार आयोजक रहेको यस सम्मेलनको सहआयोजकका रुपमा भने नेपाल उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्स रहेका छन् । सम्मेलनपछि स्वदेशी र विदेशी लगानीकर्ताहरु कत्तिको आकर्षित हुन्छन् त्यो हेर्न बाँकी नै छ तर यसले व्यापकरुपमा लगानी सचेतना अभिवृद्वि गरेको देखिन्छ । रासस (लेखक चीनस्थित सिचुवान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गर्दै छन्)