जिब्रोको स्वाद र मोटोपनको समस्या
दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ ‘तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।’ उनले त्यो बेला भनेका थिए, ‘तौल घटाउन कोशिस गर्दैछु ।’ केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर नै पाँच/सात वर्ष कम भए जस्तो देखिन्थ्यो र भनें ‘तपाइले त के चमत्कार गर्नुभयो यस्तो । निकै राम्रो स्वास्थ्य भएछ नि ! कतै गएर पेटको शल्यक्रिया गरेर आउनु भएको त होइन ?’ ठट्टा गरेर भनेको यो प्रश्नलाई, उनले गम्भीर भएर जवाफ दिए ‘होइन होइन, मैले मेरो भुँडी वरिपरिको १५ केजी त योग, हिँडाइ र खानामा कमी गरेर घटाएको हुँ । दुब्लोबाट मोटो हुन त सजिलो हुँदोरहेछ तर एकचोटी बोसो लागेपछि त घट्न पो गाह्रो हुने रहेछ । जब मैले अनुभव गरें कि मेरो लुगाहरु त कसिएर लगाउनै नहुने भए, अलिकता हिँड्दा स्वाँ स्वाँ हुन थाल्यो । अनि त तौल घटाउने निर्णय गरेर कसिएर लागेपछि सफल पनि भएँ ।’ त्यसैगरी नक्सालकी पारु श्रेष्ठ (३३ वर्षिय) ले पनि आफ्नो तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र) झारेकी थिइन् । उनी विवाहअघि ५६ केजी थिइन् । अग्ली, पातली पारु सुन्दर देखिन्थिन् तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो । एक बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त मोटाउँदै गयो । उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नुभएको थियो । आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन् । पारुलाई भनेँ, ‘पारुजी तपाईं त होशियार हुनुपर्छ है । तपाईंको परिवारमा निकै समस्या छ । तपाई यसरी नै मोटाउनु भयो भने तपाईंलाई पनि ती समस्या आउन सक्छ । तपाईंको सानो छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनु भएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो त्यति गर्न सकिन्न । त्यो बाहेक जति पैसा भए पनि तपाईंले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनु हुन्न ।’ ‘के गर्नु मलाई त कस्तो भोक लाग्छ, फेरी चकलेट देखेपछि त मन नै थाम्न सकिन्न । मेरो अफिसको दराजमा पनि थरिथरिका चकलेट छन् । यताउती गर्यो हात त त्यसैमा जान्छ’ पारुले भनेकी थिइन् । पारुले उनको शरिरमा ध्यान दिनुपर्छ र खाना कम गर्नुपर्छ भनेर मैले धेरैचोटी भनेपछि एकदिन मलाई खुशी भएर भनिन् ‘मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरुले रु ४० हजारमा ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरुले खाने कुराको चार्ट पनि दिन्छन् रे । केही औषधि पनि दिन्छन् रे ।’ पारुको खुशीलाई काट्दै मैले भनें ‘पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कसैले भन्छ भने, त्यो त सोह्रैआना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले झैं तपाईको तौल कम गराओस् । त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि । त्यसरी एकैचोटी तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र मुख्य कुरा पानी खाने र व्यायाम गर्नुस् ।’ पारुजीलाई कोदो र फापर स्वादिष्ट तरिकाले बनाएर पनि खान सकिन्छ भनेर एकदिन त घरमै बोलाएर ख्वाउनु पर्यो । ‘कोदो र फापर त मीठो पो हुँदो रहे’, रोटीसँग गोलभेंडा अचार डुबाएर खाँदै उनले भनेकी थिइन् । त्यसपछि उनले कोदो र फापरलाई आफ्नो दैनिक भोजनका अङ्ग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी चाँही अफिसमा लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनापछि त उनको तौल पाँच केजी कम भयो । उनको अनुहारको छालमा चमक आयो । त्यसपछि त्यति क्रम अगाडि बढाउँदै गएपछि अर्को छ महिनामा उनको तौल १० केजी कम भयो । सबैबाट धेरै प्रशंसा पाएपछि पारुले मलाई भनिन् ‘तपाईले मेरो रु ४० हजार त बचाउनु भयो नै, मलाई जीवनभरको ज्ञान दिनु भयो ।’ मेरा कति डाक्टर साथीहरु त्यसमाथि पनि मोटोपन कम गर्नु पर्छ भनेर बिरामीलाई सिकाउने डाक्टर साथीहरु त कस्ता मोटामोटा छन् । रक्तचाप र मधुमेहको बिरामी छन् तर न उनीहरु खाना छोड्न सक्छन् न त योग गर्छन् । बरु समयसमयमा आफ्नो ठूलो भुँडी मसार्छन् र मीठो हाँसो हाँस्छन् । मेरो कुरा सुनेर पारु मरिमरि हाँसिन् र भनिन् ‘तपाईंका डाक्टर साथीहरुलाई सायद तपाईको कुरा अझैं पुगेको छैन ।’ प्रायः मानिसहरुलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर, वियर पिएपछि तौल जति मज्जासँग बढ्छ । त्यति नै मज्जासँग घटाउन गाह्रो हुन्छ किनभने त्यस्तो खानेकुरा खाने मानिसलाई खान्न भन्न साह्रै गाह्रो हुन्छ । साथै व्यायाम, योग त झनै गाह्रो हुन्छ किनभने त्यसको लागि त कडा अनुशासन चाहिन्छ । वियर, मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुःखाई पनि बिर्सिन्छ । मेरा एकजना मित्र छन् । उनलाई गाउटको समस्या छ । समयसमयमा उनलाई यस्तो दुःख्छ कि उनी घुँडामा हात राखेर खुट्टा खोच्याउँदै हिँड्छन् । एकचोटी त गाउटले यस्तो चिसो पानीमा डुबाएर बस्नु परेको थियो रे तर वियर देखेपछि त कसोकसो मन चञ्चल भइहाल्छ । कतिपय मानिस यस्तै खाना र वियरबाट हुने मोटोपनको कारण उच्च रक्तचापको भई ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् । विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । पुरुषहरु मात्र होइन, महिलाहरु पनि जिब्रोलाई तह लगाउन नसक्दा मोटोपनको कारणले गर्दा हुने समस्याले ग्रस्त हुन्छन् । एक संस्थामा कार्यरत शर्मिला नाकी महिला मेरो घरमा आएकी थिइन् घुँडा दुख्ने समस्यामा केही योगासन सिक्न सकिन्छ कि भनेर । मैले उनलाई भनेकी थिएँ ‘शर्मिला योगासन र व्यायामले सँगै तिम्रो खानेकुरा पनि परिवर्तत गर्नुपर्छ ।’ असी केजीकी शर्मिलाले ‘लौन के के खाने सिकाइदिनुस् न’ भन्दा मैले घरमा कोदो र फापरको रोटी र सुप बनाएर प्लेटमा राखेर खान दिँदा उनले भनिन् ‘यस्तो कोदो र फापर त हाम्रो घरमा कुकुरले पो खान्छ’ । शर्मिलाको कुराले हाँस त उठ्यो तर दुःख पनि लाग्यो । घुँडा दुखेर कसरी तौल कम गर्ने भनेर छलफल गर्न आएकी शर्मिलाको तौल दुई वर्षपछि पनि घटेको छैन । अहिले त उनलाई उच्च रक्तचाप भएको छ । घुँडाको दुखाइले गर्दा धेरै हिँड्न सक्दिनन् । उनलाई खानाको विषयमा चाँही भन्न छोडिसकेको छु । जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागेको छैन भने अरुले जति भने पनि लाग्दैन । मेरा एक जना आफन्तलाई झण्डै १५ वर्षअघि नै डाक्टरले तौल घटाउन भात र आलु कम गर्न सल्लाह दिँदा बरु मर्छु तर आलु त खान छोड्न सक्दिनँ भनेका थिए । उनको त्यो बानीले उनलाई उच्च रक्तचाप र मधुमेहको रोगी त बनायो नै, एकचोटी झण्डै पक्षघात नै भएको थियो । अहिले उनको स्वास्थ्य त ठिक छ तर उनको खानाबाट आलु चिनी, भात त गायब भएको छ । कोदो, फापर, चिनी नहालेको दूध र हरियो तरकारी उनको खाना बनेको छ । उनी अहिले बिहान एक घण्टा हिँड्छन् पनि । उनले सिके खाना कसरी खाने, हिँड्ने किन भनेर तर धेरै चर्को मूल्य तिरेर । हामीहरुमध्ये सायद धेरै जनाले त्यसरी नै सिक्नेछौँ । मध्यम वर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसहरुमा पनि विभिन्न किसिमका चाउचाउ चिप्स आदिले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । मोटोपनको समस्याले गर्दा हुने समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छ । अकालमै मृत्युको मुखमा पुर्याउँछ भन्ने जान्दाजान्दै पनि मानिसले किन जिब्रोको स्वाद रोक्न नसकेको होला ? (लेखक जनस्वास्थ्यविद् हुन्)
देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ
संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र सहकार्य गर्दै आएका छन् । दलहरूबीच अझै कतिपय विषयमा सहमति हुन नसकेको र त्यसको प्रभाव सदनमा देखिएको छ । कानुन निर्माण प्रभावकारी ढङ्गबाट हुन सकेको छैन । सङ्घीय संसद्ले बितेका १५ महिनामा कानुन निर्माणमा जति सक्रिय भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यसो नगरेको आलोचना खप्नुपरेको छ । कतिपय प्राविधिक विषय, परिस्थिति र अडानबाट विधेयकहरू संसद्मा पेस हुन सकेका छैनन् । कानुन निर्माणमा केन्द्रित हुनुपर्ने संसद् र सांसदमा किन अलमल भइरहेको छ भन्ने प्रश्न जनस्तरमा उठिरहेको छ । आगामी दिनमा जति पनि नयाँ कानुन निर्माण र संशोधनका काम छन्, तिनलाई द्रुतगतिमा पूरा गर्नुपर्ने बताउनुहुन्छ नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँकुसारी । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका सहयात्री नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच समझदारी भएर देशबाट निरङ्कुशताको अन्त्य, गणतन्त्र स्थापनालगायत उपलब्धि हासिल भएका हुन् । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको उपलब्धिका रूपमा रहेको नेपालको संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि यिनै प्रमुख राजनीतिक शक्तिबीच फेरि पनि साझा दृष्टिकोण, चिन्तन र अठोट आवश्यक रहेको आवाज उठिरहेको छ । सत्तापक्ष र प्रतिपक्षको उग्रविरोधी भाव छाडेर हामी जनताका प्रतिनिधि हौँ भन्ने भावनाले काम गर्नुपर्छ । तर त्यसलाई अहिले हामीले बिर्सिएका छौँ । जनता मेरा मात्र हुन् उनीहरूले हामीलाई मात्र भोट हाल्नुपर्छ भन्नेजस्तो मनोविज्ञान दलका नेताहरूमा अझै रहेको उहाँको ठम्म्याइ छ । दलका नेताहरूले हामी जनताका प्रतिनिधि हौँ, देशहितका लागि आएका ऐन, नियममा साझा धारणा आवश्यक छ भन्ने मान्यता अस्वीकार गर्नुहुँदैन । सदनमा त्यो अभ्यासको कमी महसुस भएको छ । सत्तापक्षले जतिसुकै असल काम गरे पनि प्रतिपक्षले अस्वीकार गर्ने परम्परालाई संसदीय धर्मजस्तै बुझिएको छ । देश विकासका लागि प्रमुख दलहरू मिलेर जाँदा नै अपेक्षित परिणाम प्राप्त हुन्थ्यो । त्यो कार्य जनताका लागि धर्मजस्तै हुन्थ्यो । विधेयक, नियम र कानुन समयमै बन्थे । कहिलेकाहीँ सदन र संसदीय समितिका बैठक ‘कोरम’ नपुगेर स्थगन हुनाको कारण पनि शीर्षनेतासँगै ठोक्किएको सुनिन्छ । जिल्ला हुन् वा निर्वाचन क्षेत्रका आयोजना देखाएर जनप्रतिनिधिसँग जनताले ‘त्यहाँ त बजेट हाल्नपर्यो नि’ भन्ने भाषामा आशा व्यक्त गरेका हुन्छन् । मतदाताले केन्द्रीय सांसदसँग त्यो माग गर्नु स्वाभाविक नै हो । किनभने हिजो निर्वाचनमा भोट माग्न जाँदा उम्मेदवारले तिनै आयोजना अघि बढाउने प्रतिबद्धता जनाएका हुन्छन् । जनताका आशालाई सम्बोधन गर्न एक–दुई योजनाका फाइल बोकेर मन्त्रालय धाउनुपर्ने हाम्रो पनि बाध्यता छ । सांसद भएपछि आफ्नो क्षेत्रमा योजना पार्नुपर्छ भन्ने जनताको मनोविज्ञान छ, त्यसअनुरुप अघि बढ्ने क्रममा कानुन बनाउने व्यक्तिले फाइल बोक्न हुन्न भन्ने होइन । चुनावमा बाटो, कुलो, खानेपानी र विद्यालय भवन बनाउँछु भनेपछि बोलेका कुरा गर्दिनुस् है भन्ने जनताको भनाइ जायज छ । भ्रष्टाचार जसले गर्दिनँ भन्छ त्यसैले बढी भ्रष्टाचार गर्दोरहेछ भनेजस्तो देखिन्छ । मुलुकमा गणतन्त्र स्थापनापछि पनि जति सरकार बने त्यसको तुलनामा माओवादी नेतृत्वमा भ्रष्टाचार नियन्त्रमा के–कति काम भए भन्ने पक्षलाई सबैले हेर्नुपर्छ । ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी प्रकरण र बाँसबारी छालाजुत्ताको जग्गा अपचलनमा संलग्न सबैलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याउने काम वर्तमान सरकारले गरेको छ । त्यसमा संलग्न कुनै दल, नेता, उद्योगी, व्यापारी नभनी सबैलाई हिम्मतकासाथ अनुसन्धानको दायरामा ल्याउने यो सरकारको सराहनीय कामको सबै क्षेत्रबाट प्रशंसा हुनुपर्छ । उनीहरूलाई अनुसन्धान, कानुन र प्रमाणका आधारमा सजाय हुनुपर्छ । कर्मचारीतन्त्र, व्यापारी र राजनीतिक बिचौलियाको आडमा भ्रष्टाचारलाई मलजल गरिएकाले त्यसविरुद्ध जाँदा कतिपय अवस्थामा एक्लो हुनुपर्ने अवस्था हुनसक्छ । दुर्गम पहाडी जिल्ला भए पनि सडक विस्तार र पूर्वाधार विकासका हिसाबले रुकुमपश्चिम विगतका तुलनामा उन्नत छ । अझै पनि त्यहाँको आवश्यकताको प्राथमिक सूचीमा सडक विस्तार र कालोपत्र गर्नै नै छ । संसारभर नेपाली जाति विश्वासिलो भनी कमाएको प्रतिष्ठा अहिले स्वदेशमै कमजोर हुन पुग्यो । हामी आफैँले आफैँलाई कति विश्वास गरेका छौँ भन्ने अहिले ठूलो प्रश्न छ । राष्ट्रियताका मुद्दामा पुराना र ठूला दलले जे–जे बिगारे, कमजोरी गरे त्यसलाई क्रमशः सुधार्ने प्रयास अहिले भइरहेको छ । तत्कालको सुविधा हेरेर विदेश जान हामी लालायित छौँ । रुसी सैनिकमा भर्नालगायत कतिपय अवस्थामा ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तो भएको छ । अर्काको देशमा गएर मर्न तयार हुने आफ्नो देशमा कुनै काम गर्न नचाहने सोच अन्त्य हुनुपर्छ । अप्ठेरो पर्दा देश सम्झने, सुविधा पाउँदा उतै रमाउने, नागरिकता त्याग्न पछिनपर्ने प्रवृत्ति ठीक होइन । एकातर्फ युरोप र अमेरिका जानेले नेपालमा रहेको आफ्नो सबै सम्पत्ति बेचबिखन गरी लगेका छन् भने अर्कोतर्फ खाडीमा जाने युवाको ‘रेमिट्यान्स’का आधारमा देश चलेको छ । आर्थिक रूपमा सम्पन्न, शिक्षित, डाक्टर, इञ्जिनियर, उद्योगी आफ्नो जायजेथा बेचेर पलायन हुने प्रवृत्ति बेठिक हो । सरकारको देश विकास र रोजगारी दिलाउने मामिलामा पुर्याउनुपर्ने दूरदृष्टि तथा भूमिका स्पष्ट र प्रभावकारी नहुँदा पनि विदेश युवा पलायनलाई सहयोग पुर्याएको छ । युवाको विदेश पलायनबाट राष्ट्रलाई पुग्ने क्षतिबारे जाने व्यक्ति स्वयं र सत्ता चलाउने राजनीतिक पार्टीले सोच्नपर्ने विषय हो । अब केही गर्नुपर्छ भन्ने सोच भएका हामी केही युवा विभिन्न तहका जिम्मेवारीमा र संसद्मा पुगेका छौँ । नेपाललाई समृद्ध तुल्याउन कृषिक्षेत्रमा आमूल परिवर्तन हुनेगरी कार्ययोजना बनाएर लागु गर्नुपर्छ । आफैँ पनि कृषिमा संलग्न भएर पशुपालन र जैविक खेती गर्ने सोच बनाएकी छु । यस क्षेत्रलाई प्रोत्साहन गर्न किसानका उत्पादन सरकारले खरिद गरिदिनुपर्छ । संसारमा भएका नेपालीले त्यसमै लगानी गर भन्नुपर्छ । कुनै काम होस् वा कतै केही समस्या झेल्नुपरेमा जनताले जनप्रतिनिधिसँग सम्पर्क गर्ने र उनीहरूलाई योग्यता र क्षमताअनुरुप रोजगारी हामीले दिनुुपर्छ । अहिले हामी ‘टिम’ बनाएर त्यो दबाब अभियानमा जुटेका छौँ । देश हामीले बनाउनुपर्छ, बनाउन सकिन्छ, बन्छ, ढुक्क हुनुहोस् मिलेर काम गरौँ । रासस (समाचारदाता नारायण न्यौपानेले सांसद कुसारीसँग गरेको कुराकानीको सम्पादित अंश)
विकास र समृद्धिका लागि निर्वाचनमा एउटा दललाई बहुमत दिलाउनुपर्छ
देश विकास, दिगो शान्ति स्थापना र भ्रष्टाचारविहीन समाज निर्माणका लागि नेकपा (एमाले) सदनमा प्रभावकारी भूमिका खेल्न तयार छ। सरकारले संसद्लाई प्रभावकारी तुल्याउन यसपटक पनि पर्याप्त विधेयकहरू उपलब्ध गराएर बिजनेस दिने सम्भावना कम देखिसकिएको छ । अहिले संसद्को अधिवेशन चालु छ । तत्काल निष्कर्षमा पुर्याउनुपर्ने पुराना र महत्त्वपूर्ण विधेयकको सङ्ख्या धेरै छ । हिउँदे अधिवेशन सुरु भएको यतिका दिन भइसक्यो बिजनेस नपाएर सदन कानुन निर्माणको पाटोबाट प्रभावकारी बन्न सकेको छैन । सरकारले सदनलाई बिजनेस नदिएकै कारण गएका दुईवटा अधिवेशन र एकवर्षे कार्यकाल उपलब्धिमूलक भएन । तथापि, प्रमुख प्रतिपक्षी दलका नाताले विभिन्न कोणबाट सरकारलाई घच्घच्याउने काम भने निरन्तर गरिनैरह्यौँ । सरकार अहिले पनि गठबन्धन जोगाउनमात्र केन्द्रित छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको स्थायित्व र विकासका लागि छिटोछिटो कानुन बनाएर अघि बढ्नुपर्छ । विगतको द्वन्द्वको घाउ अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसँग जोडिएका कानुन पीडितलाई न्याय प्रदान गर्ने ढङ्गले तर्जुमा हुनुपर्छ भन्नेमा एमाले दृढ छ । सदनमा त्यसबारे गहन र बृहत् रूपबाट छलफल गर्नुपर्छ । के सही, के गलत भन्ने त्यहीँबाट निष्कर्षमा पुगिन्छ । ठिक छ भने पास गर्छौँ, गलत छ भने सच्याएर ल्याउनुस् भन्छौँ । त्यो विधेयक छिटो सदनमा ल्याउनुपर्नेमा सरकार अलमलिएर बसेको छ । वर्तमान सरकारलाई समर्थन दिएकाले गएको १५ महिना पनि मोटामोटीरूपमा दलहरू मिलेरै अघि बढेको देखिन्छ । ललितपुरको बालकुमारी र सर्लाहीको बरथहवामा बेरोजगारीसँग जोडिएर युवामाथि भएको दमन र चरम लापरबाहीका घटनामा प्रमुख प्रतिपक्षले आवाज उठाउनै पर्छ । सरकारलाई एमालेले भन्दै आएको छ, राम्रो काममा समर्थन रहन्छ, नराम्रो काममा विरोध हुन्छ । सरकारलाई अराजक बन्न दिनुहुन्न भन्ने हाम्रो दृढ मान्यता छ । जनप्रतिनिधि कानुन निर्माणका अतिरिक्त जनताका काममा पनि उपस्थित भइरहनुपर्छ । कहिलेकाहीँ दलको कार्यक्रम पर्यो भने सदन र संसदीय समितिका बैठकमै पनि उपस्थित हुन नसक्ने अवस्था आउँछ । पार्टीका कार्यक्रम जुधेन भने बैठकमा निरन्तर उपस्थित भइनै रहन्छौँ । हामीले निर्वाचनमा विकासका नारा दिएरै चुनाव जितेका हुन्छौँ । आफू निर्वाचित भएका खण्डमा यो निर्वाचन क्षेत्रलाई यसरी अघि बढाउँछु र विकास गर्छौँ भनी रोडम्याप प्रस्तुत गर्छौँ । विदेशमा सांसदको जिम्मेवारी कानुन र नीति–नियम बनाउन केन्द्रित हुन्छन् तर नेपाललगायत दक्षिण एसियाली मुलुकमा विकाससमेतको दोहोरो जिम्मेवारी हुन्छ । यहाँ सांसद्लाई विकासको प्रतिनिधिकारूपमा लिने गरिन्छ । हामीलाई निर्वाचन क्षेत्रमा पुग्दा चुनावमा गरेको बाचा पूरा गरेको खोई भनी प्रश्न उठाइन्छ । अहिले पनि मुलुकको प्रमुख समस्या विकासकै हो । त्यो गर्न सकिएको छैन । मेरो निर्वाचन क्षेत्र पर्सा निर्वाचन क्षेत्र नं ३ विकासका दृष्टिले धेरै पछि परेको छ । निर्वाचन क्षेत्रको प्रमुख प्राथमिकता भनेको ग्रामीण क्षेत्रबाट सदरमुकाम जोड्ने सडक विस्तार र कालोपत्र, पुल निर्माण र पर्यटक क्षेत्रको संरक्षण तथा संवर्द्धनसँग जोडिएका आयोजना हुन् । तर गएको बजेटमा मेरो निर्वाचन क्षेत्रका कुनै पनि आयोजनालाई सरकारले बजेट विनियोजन गरेन । निर्वाचन क्षेत्रमा ४२ योजनाका लागि रकम माग गरेकामा एउटा योजनाका लागि पनि बजेट प्राप्त भएन । दुःखका साथ भन्नुपर्छ, एक वर्षमा एउटा चापाकलसमेत गाड्न सकिएन । सरकारमा रहेका प्रभावशाली नेताको क्षेत्रमा मात्र बजेटको ठूलो हिस्सा केन्द्रित गरियो । यसबाट सन्तुलित विकासको अवधारणमा प्रश्न खडा गर्यो । सिङ्गो निर्वाचन क्षेत्रमा बजेटमा एक पैसा पनि नपरेको इतिहासमै यस्तो कहिलै भएको थिएन । यसमा राजनीतिक पूर्वाग्रह देखिएको छ । यो कुरा अर्थमन्त्री र सभामुखसँग पनि गरेको छु । म स्मरण गर्दछु, नेकपा ९एमाले० नेतृत्वको विगतको सरकारले बजेट विनियोजन र विकासका आयोजनालाई सन्तुलित ढङ्गले अघि बढाएको थियो । देशका अन्य भागमा सञ्चालित कैयौँ आयोजना रकम अभावमा अलपत्र रहेका खबरहरू आइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिनु भनेको भ्रष्टाचार रोकथाम गर्न नसक्नु नै हो । भ्रष्टाचार रोक्ने सरकारको प्रमुख दायित्व भए पनि त्यसमा सफल भएको देखिन्न । अहिले मुलुकको अर्थतन्त्र कमजोर छ । ठूला उद्योगी व्यवसायीले समेत कर्मचारी, कामदारको सङ्ख्या कटौती गर्दै लगेका छन् । युवाको विदेश पलायन बढेको छ । यो परिस्थितिमा पनि सरकारले अर्थतन्त्र सुधार गर्दै रोजगार प्रदान गर्ने उद्योग विस्तार गर्नेतर्फ गम्भीर दृष्टि पुर्याएको देखिन्न । अर्थतन्त्र अप्ठेरामा गएपछि धेरै उद्योगी व्यापारीले आफ्ना पसल र सटर बन्द गरेको अवस्था छ । मुलुकमा देखिएका यी ज्वलन्त समस्या गठबन्धन सरकारले सम्बोधन गर्न सक्ने देखिएन । विसं २०८४ मा हुने चुनावमा एमालेलाई बहुमत दिलाउनुस् भन्ने नाराका साथ हामी सक्रियतापूर्वक काम गरिरहेका छौँ । एउटै दलको बहुमत नभएसम्म राजनीतिक स्थिरता र समृद्धि दिलाउन कठिन हुन्छ । त्यो घटनाले पुष्टि गरिसकेको छ । देश विकासका लागि विद्युत् र पर्यटनमा ध्यान दिए पुग्छ । आगामी पाँच–दश वर्षमै अरु विकास भएका देशको सूचीमा नेपाललाई पुर्याउन सकिन्छ । त्यसका लागि नेपाली जनताले एउटा दल विशेषलाई बहुमत दिलाउनै पर्छ । प्रतिपक्षमै रहे पनि म अहिलेको सरकार राम्रोसँग चलोस्, देशलाई सपारोस् भन्ने कामना गर्छु । रासस (नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)