मनलाई बसमा राख्ने व्यक्ति सफल हुन्छ
शास्त्रमा जुन व्यक्तिले मनलाई बसमा राख्न सक्छ ऊ नै सफल हुन सक्छ भनिएको छ । मनलाई तह लगाउने उपाय भनेको साधना हो, योग हो, ध्यान हो, सत्सङ्ग हो र अध्ययन हो । जीवनलाई सही मार्गमा लगाउने बाटो नै जीवन विज्ञान हो । भनिएको छ कि हामीलाई आवश्यक पर्ने पाँच किसिमका धन हुन्छन् । वित्तीय धनले पैसा र सम्पत्तिको स्वामित्वको कुरा गर्दछ, सामजिक धनमा समाजले दिएको स्थान र लोकप्रियता पर्दछ । समयको धनले केही नयाँ काम गर्ने स्वतन्त्रतालाई इङ्गित गर्दछ । भौतिक धनले अरु केही नभएर स्वास्थ्य र तत्परतालाई इङ्गित गर्दछ र आध्यात्मिक धनले मनको शान्ति तथा स्वयम्को सम्मानलाई जोड दिन्छ । शरीर, मन र आत्मालाई बलियो राख्ने शुद्ध राख्ने र कर्मशील राख्ने कलाबाट नै खुसी र समृद्धि प्राप्त हुने गर्दछ । मूलतः विपश्यनाको १० दिने साधना र जीवन विज्ञानका कक्षाहरुमा सहभागी हुँदा योग गुरु रमेश नेपाल र एलपि भानुसँगको प्रवचन तथा जीवन विज्ञान प्रतिष्ठानद्वारा २०७५ सालमा प्रकाशित पुस्तक “समस्या अनेक समाधान एक नामक पुस्तकको अध्ययनबाट प्राप्त ज्ञानले यो आलेख लेख्न प्रेरित गरेको छ । आफूभित्र समाधान खोज्न सक्षम हुनका लागि पनि योग र ध्यानको सहयोग लिँदा शारिरीक, मानसिक, भावनात्मक तथा आत्मिक स्वास्थ्यका साथै आनन्द प्राप्त हुन जान्छ । व्यक्तिले आन्तरिक यात्रा गर्नका लागि प्रथमत अन्तरमुखी हुन जरुरी हुने र पूर्वीय सभ्यता विभिन्न प्रसङ्गहरुको सहयोगले आत्मिक रुपान्तरणको पथ देखाउने र साधनाको असल प्रभाव सम्बन्धमा पुष्टी गर्ने अभियान जीवन विज्ञानमा रहेको छ । अहंकारबाट ॐकारतिरको यात्रा हामी सबैमा कुनै न कुनै लेभलको इगो छ, अहंकार छ । व्यक्तिमा हुने शक्तिका दुई वर्ग छन् । पहिलो अहंकारको शक्ति र दोस्रो ॐकारको शक्ति । पहिलो वर्गको शक्ति अर्थात अहंकार समस्याको कारण हो भने दोस्रो शक्ति अर्थात ॐकार भने व्यक्तिको जीवनमा व्याप्त समस्याको समाधान हो । अहंकारबाट सिर्जित चार शक्तिका रुपमा ज्ञानी छु भन्ने अहंकार, शारिरीक बल छ भन्ने अहंकार, साधनाको अहंकार र दैवी शक्तिको अहंकारलाई व्याख्या गरिएको छ । यी सबै अहंकारका रुपले हामीलाई छद्मरुपमा शक्तिशाली अनुभूत गराए पनि, विविध विषयमा केही न केही प्राप्ति भएको जस्तो देखिए तापनि समग्र परिणाममा भने हाम्रो काम राम्रो हुँदैन । सुख जस्तो देखिए तापनि दुःखको निर्माणमा ती शक्तिले योगदान गरिरहेका हुन्छन् । परिणाम राम्रो हुनका लागि त अहंकारलाई निर्मूल वा विसर्जन गर्न सक्नुपर्दछ । इन्द्रियले दिने अनुभूतिभन्दा बाहिर जान सक्नुपर्दछ अर्थात इन्द्रियातित हुन सक्नुपर्दछ । त्यस्तो शक्तिलाई ॐकारको शक्ति नाम दिइएको छ । अर्थात हामीमा दोस्रो वर्गको शक्ति पनि आवश्यक पर्दछ अझ भनौँ पाँचाैँ शक्तिका रुपमा ॐकारलाई अवलम्वन गर्न सक्नुपर्दछ । ताकि बाँकी चारवटा शक्तिले पैदा गर्ने खरावीलाई न्यूनीकरण वा निर्मूल गर्न सकियोस् । ॐकारको जानकारी राख्ने र साधना गर्ने व्यक्ति मात्र वास्तवमा शक्तिशाली हुन सक्छ । ॐकारको हामिसँग भएर पनि शरीरभन्दा अलग रहेको मानिन्छ । सबै शक्तिको स्रोतचाँहि यही ॐकारको शक्ति मानिएको छ । यो अनुपम आनन्ददायक शक्तिलाई परमात्माको शक्ति पनि भनिन्छ र यो अविनाशी हुन्छ । अहंकाररुपी शक्तिलाई ॐकाररुपी शक्तिमा रुपान्तरण गर्नका लागि निरन्तरको साधना भने आवश्यक पर्दछ र जीवन विज्ञानको मार्गमा साधनाको व्यवस्थित अभ्यास सिकाइन्छ । प्रश्न उठ्न सक्छ कि अहमरुपी भारी कसरी बिसाउने रु अहम बढ्दै जाने एउटै कारण छ त्यो के हो भने हामी परिवारमा, सङ्गठनमा, समाजमा केही राम्रो काम भएको छ भने आफ्नै कारणले भएको हो भन्न मन पराउँछौँ । केही अपजस वा असमर्थता आइलाग्यो भने त्यो अरुको कारणले भएको भन्न रुचाउँछौँ । समय पायो कि अरुको कुरा काट्न हामीलाई मजा लाग्छ समय गएको पत्तो नै हुँदैन । संसारको एक कुनामा एउटा झिनो काममा हाम्रो जीविका चलिरहेको छ, होला केही सामाजिक काम तथा मानवसेवाको काम पनि गरेका होलाऔँ तर आफू नभई संसार नै रोकिन्छ, सामाजिक काम अगाडि बढ्दैन, मैले काम नगरी कसरी नतिजा आउला भन्ने खालको हामीले बोकिरहेको अहंकारको महान भारी बिसाउनै पर्दछ । कामको राम्रो परिणाम आउनुमा समाज वा परिवार राम्रोसँग चल्नुमा साथी, परिवार तथा समुदायका सदस्य वा कुनै समूहलाई जस दिन जानिन्छ र अझ राम्रो कामको लागि जब प्रेरक बन्न सकिन्छ अनि मात्र हामी अहंकारको च्यादर हटाउन थाल्दछौँ । यो कार्यका लागि पनि समग्र जगतमा हाम्रो राम्रो वा नराम्रो छुट्याउने शक्ति जगाउन जरुरी हुन्छ । तीन किसिमका फोहर संसारमा नयाँ नयाँ रोगले मानव सभ्यतालाई चुनौती दिइरहेको हुन्छ । कहिले त रोगले महामारीकै रुप लिने गरेको छ । यस्तो रोगको कारण विवेचना गर्दा मूलतः फोहोरको कारण रोगको जन्म भएको पाइन्छ । त्यसमा पनि मात्र तीन किसिमका फोहोर मध्ये कुनै एक वा दुई वा तीनको संयोगबाट हामीलाई लाग्ने रोग जटिल हुँदै गएको हुन्छ । ती तीन किसिमको फोहोर भनेको शरिरको फोहोर, मनको फोहोर र वातावरणको फोहोर हो । शरिरभित्र फोहोर कसरी प्रवेश गर्दछ । शरिरभित्र कहाँ कहाँ फोहोर जम्मा भएर बस्छ अनि के कस्ता फोहोरहरु हामीले शरिरबाहिर निष्काशन गर्नुपर्दछ भन्ने महत्वपूर्ण विषय हो । हामीले लिने श्वाससँग, खानेकुरासँग, पिउने कुरासँग शरिरभित्रको फोहोर सम्बन्धित छ । रोग लाग्ने र एकबाट अर्कोमा सर्ने प्रकृया कि शरीरको फोहर र कि वातावरणको फोहोरसँग सम्बन्धित हुन्छ । अहिले बढ्दै गएको र विश्वभर भयाभह असर देखाइरहेको मनको फोहोर हो । हाम्रो मनमा जागृत हुने काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेषका कारण हामी व्यक्तिगत र सामाजिक रुपमा असल कार्य गर्न सक्दैनौँ । मनको फोहोरको कारण शरीर पनि कमजोर बन्दै जान्छ । यी तीन प्रकारका फोहरको पहिचान गरी फोहोर हुनै नदिने र रहे भएको फोहोर सफा गर्नका लागि साधना आवश्यक छ, असल जीवनप्रणालीको अभ्यास आवश्यक छ । समृद्धिका लागि त्रिशक्ति र त्रिगुणको विकास हामी आफ्नो कर्म क्षेत्रमा आत्मा निष्ठाका साथ काम गर्नुपर्दछ । जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने काम कदापि गर्नुहुँदैन । जीवनलाई सबल, सक्षम र समुन्नत बनाउनका लागि शारीरिक, मानसिक र आत्मिक शक्तिको अभ्यास गर्नुपर्दछ । त्यस्तै दुर्गुणबाट सद्गुणतर्फको यात्रा तय गर्नुपर्दछ । यसको लागि एकैदिनमा एकैछिनमा सम्भव छैन निरन्तरको साधना आवश्यक छ । तेस्रो गुण अर्थात निर्गुण परमात्माको क्षेत्र हो । निर्गुण निराकार निरञ्जन मानिने भगवान हुन् । हामी आफूमा भगवत तत्व जगाउन सक्दछौँ । निर्गुण अवस्थामा उपलव्ध हुने अवसरका लागि ध्यान आवश्यक छ । राम्रो नराम्रो, ठीक वेठिक, मेरो तेरो भन्ने भावनाबाट निर्देशित वा विचलित नभई समान रहन सक्ने कला आवश्यक छ । परधर्मो भयावह भनिएको पनि छ । आफ्नो काममा ध्यान कम हुने तर अरुले गर्ने गरेको काममा बढी चासो राख्ने काम घातक हुन्छ । समय बर्बादी गर्ने, अल्छी हुने र अरुको चियोचर्चो गर्ने भन्दा पनि आफ्नो कामलाई माया गरेर समर्पित भावले लागिपर्ने व्यक्तिले मात्र समृद्धि प्राप्त गर्ने क्षमता राख्दछ । खुसी हुने सूत्र चयन हाम्रै हो फैसला आफ्नै हो सद्गुण प्रयोग गर्ने वा दुर्गुणहरु प्रयोग गर्ने । दुःख दिने खालका आफैभित्र रहेका खराबी वा अहमका विभिन्न पक्षहरु चिन्न र हटाउन सक्नुपर्दछ । ध्यानबाट प्रेम र शान्ति उत्पन्न हुने हुँदा नियमत ध्यान गर्नु श्रेयस्कर छ । शान्ति, स्थिरता र प्रेममा अहंकारको कामै छैन । तसर्थ, अहंकारप्रति सजग हुनु अति आवश्यक छ । चञ्चल मनलाई एकाग्र गर्न सकेमा मात्र खुशी प्राप्त हुन्छ । अरुसँग प्रेमपूर्ण सम्वन्ध राख्नुपर्दछ । खासगरी कर्मसँग, व्यक्तिसँग, विषयसँग र प्राकृतिक सम्पदासँगको सम्बन्ध प्रेमपूर्ण हुनु जरुरी छ । यसका लागि पनि साधना आवश्यक छ । वास्तवमा हाम्रै जीवनशैली र आनिबानीका कारणले हाम्रो जीवनको फल प्राप्त हुने हो । अर्को शब्दमा भन्नुपर्दा हामी जे खोज्यो त्यही पाउँछौँ सुख वा दुःख । विचारको कब्जियत हुनु पनि दुःखको कारण हो । साँगुरो विचार लिनु, आफ्नो र आफ्नाको मात्र चिन्तन गर्नु कदापि राम्रो होइन । के चाँही बुझ्न जरुरी छ भने हाम्रो सबभन्दा नजिक धन सम्पत्ति वा अरु कोही व्यक्ति नभएर हामी आफ्नै शरीर छ यसको हित हुने काम गर्दै अगाडि वढ्न जरुरी छ । यही शरीरमा हामीलाई निरन्तर सताउने हाम्रो मन छ । यो मनलाई ठेगानमा राख्नका लागि पनि हामी श्वासप्रश्वाससँग जोडिएको प्राणायाम साधना, विपश्यनालगायतका योग तथा ध्यान गर्न सक्छौँ । यसको लागि जीवन विज्ञान उपयुक्त स्थान वा प्लेटफर्म हुन सक्छ । अन्त्यमा जीवनलाई सार्थक बनाउने मार्ग सिकाउने विभिन्न सिकाइस्थल छन् । बुद्धले सिकाउनु भएको व्यक्तिभित्र जम्मा भएका क्लेश विसर्जन गर्ने विपश्यनाको स्वयम् अभ्यास कलादेखि ओशो रजनिशले सिकाउनुभएको साधनाको विधिसम्म । डा योगी विकासानन्द, डा राजु अधिकारीलगायत थुप्रै साधकहरुले पूर्वीय सभ्यताको प्राचीन भूमि नेपालमा मौलिक योगाभ्यासको चम्किलो उज्यालो छरिरहेका छन् । जीवन विज्ञान प्रतिष्ठानले केही दिनअघि मात्र लुम्बिनीमा वृहत चक्र विज्ञान साधनाको शिविर सञ्चालन गरेको छ । जीवन विज्ञान सबै उमेर समूहका लागि साधनाको कोर्ष निरन्तररुपमा सञ्चालन गरिरहेको छ । लामो अनुभव र प्रेरणादायी शैलीयुक्त नेपाली गुरुहरुबाट नेपाली आवश्यकता सुहाँउदो साधना कक्षामा सहभागी भएर, युटुवबाट वा पुस्तकबाट सिक्न र आफुलाई रुपान्तरण गर्ने मार्गमा समर्पित हुन हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षाका साथ हरि ॐ । रासस (लेखक नेपाल सरकारका सहसचिव हुन्)
लघुवित्तबाट बैंक ‘एक्जिट’ हुनुपर्छ, घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कहीँ पुगिँदैन
अहिले बैंकरहरू बैंकमा ५/६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको भनेर विभिन्न सार्वजनिक छलफलका कार्यक्रमहरूमा बोलेको सुन्छु । बैंकमा पैसा त छ तर कुनै बैंकलाई (कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिर्काइरहेको छ, कुनैलाई पुँजीले त कुनैलाई रिकभरी र कुनैलाई खराब कर्जाले हिर्काइरहेको छ । तपाईंहरूसँग भएको कन्फर्टटेबल पैसा कति हो ? यसको जवाफ बैंकरले दिनुपर्छ । राष्ट्र बैंकले सीडी रेसियो ८० प्रतिशत बनाएको दिन तपाईंहरूको लगानीयोग्य पुँजी कति रहन्छ ? अहिले ७९/८० प्रतिशत सीडी कायम भएको बेला तपाईंहरू गुनासो गरिरहनु भएको छ । सीडी रेसिया बैंकहरूका लागि मेजर विषय पनि होइन । राष्ट्र बैंकले ९० प्रतिशतत सीडी रेसियो कायम गरेर दुनियाँमा कतै नभएको अभ्यास गरेको हो । भोलि राष्ट्र बैंकले सीडी रेसियोलाई ८० प्रतिशतमा झार्यो भने त्यतिबेला अवस्था के बन्छ ? यो अवस्थाको पूर्वमूल्यांकन बैंकरले गर्न सक्नुपर्छ । अर्को, अहिले बैंकरहरू भुक्तानीको कुरा गरिहरेको सुन्छु । सरकारले भुक्तानी गर्नुपर्ने पैसा तिरेन भनेर ३०/४० अर्बको कुरा गरिरहनु भएको छ । यहाँ खर्बको लगानीयोग्यको कुरा पनि आइरहेको छ । निर्माण व्यवसायीले पनि ५०/६० अर्ब रुपैयाँ भुक्तानी नपाएको कुरा उठाइरहनु भएको छ । तर, भुक्तानी माग गरिरहनु भएको छ तर आयोजना सम्पन्न भएको छैन । भोली आयेजना सम्पन्न नहुँदै बिलबिजक बिना भुक्तानी गर्यो भने पनि अर्को समस्या आउँछ । भोलि भुक्तानी दिने व्यक्ति नै जेल जान सक्ने अवस्था बन्न सक्छ । काम सम्पन्न भइसकेका र भुक्तानी पाउनु पर्ने रकम कति हो भनेर एकिन रकम भन्न सक्नुपर्छ । कोरोना बीमाको कुरा पनि त्यस्तै हो । कतिपय भुक्तानी गर्नु पर्ने पैसा पनि छ र नगर्दा हुने पैसा पनि छ । यस विषयमा पनि स्पष्ट हुन जरुरी छ । स्वास्थ्य बीमा र कृषिको अनुदानको पैसा पनि दिनै पर्नेछ । त्यसले अर्थतन्त्रमा केही ‘बुष्टअप’ गरे पनि समस्या समाधान भने गर्न सक्दैन । महत्वपूर्ण विषय अहिले कर्जाको माग भएन भन्ने पनि छ । ऋणमाथि ऋण थपेर समस्याको समाधान हुँदैन । हामीले २५/३० लाख मानिसलाई ऋण दिइसक्यौं, अनि समस्या कहाँ भयो ? म भन्छु बैंकहरू लघुवित्तबाट बाहिर जानुपर्छ । एसएमईमै केन्द्रित हुनुपर्छ । बैंकहरूका लागि लघुवित्तको बिजनेस धेरै चल्दैन । अब धितोमा आधारित कर्जामै बैंकहरू जानुपर्छ । सरकारले सबै ठीक्क पारिदियोस् अनि हामी जाऔंला, काम गरौंला भन्ने आशामा बैंकरहरू हुन्छन् । आशामा बस्नु हुँदैन । बैंकहरूले नाफाको थप एक प्रतिशत खर्च गरेर थप परियोजनामा लगानी गर्नुपर्छ । फाइनान्सिङको इनोभेसन गर्नुहोस् । बैंकहरूले सरकारले बनाइदेला र लगानी गरौंला भन्ने आशमा बस्नु हुँदैन । सरकारले पकाइदेखा र म खाउँला भन्ने मानसिकतामा बस्नु हुँदैन । यति काम बैंकले पनि गर्नुपर्छ । बैंकहरु परियोजना फाइनान्सिङमा जानै पर्छ । अन्तर्राष्ट्रिय नेटवर्कलाई प्रयोग गरेर लगानी ल्याउन सहयोग गर्न सक्नुपर्छ । त्यसले बैंकलाई मात्रै होइन समग्र देशलाई टेवा पुग्छ । यस कारण बैंकबाट पनि पहलकदमी पुगेको छैन । सम्पत्तिको मूल्यांकन बढ्दा लोन क्रियसन पनि बढ्छ भन्ने तर्क बैंकरको हुन्छ । कर्जा प्रवाह पनि बढ्छ भन्ने तर्क ठीक छैन । यो बाटो हिँडेर कतै पुगिँदैन । घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कतै पुगिँदैन । हामीले आम्दानी बढाउने विषय र क्षेत्रमा लगानी गर्नुपर्छ । यसले पुँजी निर्माण हुन सक्दैन । बरु पुँजीको जोखिम सिर्जना हुन्छ । हामी आर्थिक मन्दीमा छौं । त्यसबाट माथि जान सकिन्छ । बाहिरी क्षेत्र राम्रो भएको छ भन्ने बहस हुन्छ । तर, सुधार भएको छैन । व्यापार घटेर राम्रो भएको कुरालाई राम्रो मान्न सकिँदैन । दुई वर्षयता देशको व्यापार २२ प्रतिशतले घटेको छ । निर्यात अझै बढी घटेको छ । आयात घट्दा ढुवानीको सेवा घटेको छ । ट्रकको व्यापार घटेको छ । डिजेलको बिक्री भइरहेको छैन । मन्दी आउनुको कारण आयातसँग जोडिएको छ । त्यही आयात घटेको कारण सञ्चिति बढेको हो । यसमा हामीले खुसी मनायौं भने यो उल्टो हुन्छ । त्यस कारण बाह्य क्षेत्रमा सञ्चिति बढेको छ, हामीलाई भुक्तानीको समस्या छैन, त्यति मात्रै हो । धेरै खुसी हुनु पर्ने अवस्था छैन । पर्यटनमा सुधार भएकै हो । तर, जति पर्यटक हामीले भित्र्याइरहेका छौं, त्यसको दोब्बर हाम्रा मान्छे बाहिर गइरहेका छन् । उनीहरूले पुँजी बाहिर लिइरहेका छन् । यसमा पनि खासै खुसी हुनु पर्ने अवस्था म देख्दिनँ । रेमिट्यान्सबाट पैसा बढिरहेको छ । यो पनि आयात कम भएकोले बढी देखिएको हो । आयात बढ्दै गयो भने रेमिट्यान्स कति हराउँछ हेर्दै जाउँला । केही नीगित सुधार गर्न आवश्यक नै छ । उदाहरणका लागि केही लगाउन नहुने ठाउँमै करको नीति लगाइयो । जसले पुँजी बाहिरिएको अवस्था पनि छ । मौद्रिक नीतिमार्फत् चालु पुँजी कर्जामा अझैं खुकुलो गर्नतर्फ ध्यान दिनुपर्छ । कहिले सतप्रतिशत कडाइ गर्ने र कहिले सतप्रतिशत खुकुलो नीति बनाउनुहुँदैन । लोन भ्यालू रेसियो चलायमान बनाउनुपर्छ । व्यवसायीलाई अहिले सास फेर्न दिनुपर्छ । व्यवसाय र बैंकिङ नै जोखिममा पर्ने काम गर्नु हुँदैन । नियमनकारी निकायबाट धरपकड गर्ने नीति बनाउनु हुँदैन । पारदर्शी ढंगबाट जानुपर्छ । एउटा व्यवसायीलाई समात्दा समग्र व्यावसायिक क्षेत्रको मनोबल गिर्छ भने त्यसतर्फ पनि राज्यले ध्यान पुर्याउनु पर्छ । हतोत्साहित गर्ने काम बन्द गर्नुपर्छ । हामीले आशा गर्नु पर्ने ठाउँ छ । हामी बटमबाट माथि लाग्न थालेका छौं । आर्थिक वृद्धिदर साढे तीन प्रतिशत हुने अनुमान छ । बैंकको कर्जा वृद्धिर ५ प्रतिशत पुग्नै लागेको छ । ब्याजदर घटेको छ । अब बैंकरले तीन वर्षसम्म १० प्रतिशतमा ऋण दिन्छौं भनेर घोषणा गर्न सक्नुपर्छ । त्यसपछि मात्रै व्यवसायीमा पनि आत्मबल बढ्छ । (सार्वजनिक कार्यक्रममा राखेको धारणा)
गुणस्तर प्रमाणविना ३८०० प्रकारका वस्तु आयात, १३५ नेपाली उत्पादनमा गैंडा छाप
नेपाल उद्योग परिसंघले उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको छाता संगठनको रुपमा विगत २० वर्षदेखि मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना गर्दै देशको आर्थिक, सामाजिक विकासमा बलियो साझेदारको रुपमा महत्वपूर्ण योगदान गर्दै आएको छ । परिसंघ नेपाल सरकारको एक प्रभावकारी एवं महत्वपूर्ण साझेदार बन्दै सोही अनुरुप आफ्ना गतिविधिहरु गर्दै आईरहेको छ । मेक इन नेपाल स्वदेशी अभियान यसमध्येको एक प्रमुख अभियान हो जसले नेपाली जनताको समृद्धिको आकांक्षा पुरा गर्न उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा अगाडि बढिरहेको छ । सन् २०२१ अन्त्यतिरबाट शुभारम्भ भएको मेक इन नेपाल स्वदेशी अभियानले एउटा पहिचान मात्रै बनाएको छैन्, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस काम गर्न नेपाल सरकार, निजी क्षेत्र एवं सरोकारवालाहरुलाई झक्झकाइरहेको छ । यो महाअभियानले लिएको लक्ष्य हासिल गर्न सरकार एवं निजी क्षेत्रबीचको आपसी समन्वय एवं सहकार्यबाट मात्रै सम्भव छ । र, यो अभियान सोही दिशामा अगाडि बढिरहेको छ । स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने मुख्य लक्ष्यका साथ अगाडि बढिरहेको ‘मेक इन नेपाल- स्वदेशी’ अभियानमा १ सय ३५ स्वदेशी उद्योगहरु आवद्ध भईसकेका छन् । स्वदेशी अभियानका सदस्य कम्पनीहरुले आफ्ना वस्तुहरुमा निश्चित मापदण्ड र प्रक्रिया सहितको स्वदेशी लोगो गैडा अंकित लोगो प्रयोग गरिरहेका छन् । स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, उत्पादनको प्रबर्द्धन गर्ने लगायतका काममा परिसंघले सहयोग गर्दै आइरहेको छ । यसका लागि स्वदेशी एवं विदेशी विभिन्न प्लेटफर्म प्रयोग गरिरहेका छौं । संयुक्त राष्ट्रसंघ पूँजी विकास कोषसँग सहमती गरी ‘अगोरा’ प्लेटफर्ममा हामी आवद्ध भइसकेका छौं । अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो । यस प्लेटफर्ममार्फत हाम्रा स्वदेशी सदस्यहरुका वस्तुहरुलाई अन्तर्राष्ट्रिय नेटवर्कमा पुर्याउने छ । यो प्लेटफर्ममा कसरी जोडिने भन्ने विषयमा हाम्रा स्वदेशी सदस्यहरुलाई जानकारी पनि गराइसकेका छौं । चालू आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएतापनि हालसम्म सो व्यवस्था लागू हुन सकेको छैन । आगामी वर्ष यस व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । यसका लागि नेपाल सरकारले स्वदेशी वस्तुको पहिचानका लागि एक वेवपोर्टलको निर्माण गर्नुपर्दछ । नेपाल उद्योग परिसंघले संचालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पुरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादनहरू समेत सो पोर्टलमा समावेस गर्ने व्यवस्था कायम गरिनुपर्दछ । पोर्टलमै वस्तुको मुल्य, उपलब्ध परिमाण तथा सो को गुणस्तर समेत उल्लेख हुने व्यवस्था कायम गरि सो पोर्टलमा उपलब्ध रहेका स्वदेशी बस्तुहरू नै खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था कायम गर्न आवश्यक छ । यसका लागि नेपाल सरकार तथा नेपाल उद्योग परिसंघद्वारा संचालित ‘मेक इन नेपाल स्वदेशी अभियान’ले तयार पारेको स्वदेशी वस्तुहरू सम्मिलित एकिकृत पोर्टललाई समेत उपयोगमा ल्याउन सकिन्छ । यसले स्वदेशी वस्तुहरुको प्रबद्र्धन, प्रोत्साहन मिल्ने एवं आर्थिक सुशासनका लागि समेत सहयोगी हुने हुँदा आगामी बजेटमा नै यसलाई समावेश गर्नुपर्दछ । सामान्यतया नेपालमा ५००० भन्दा बढी वस्तुहरू आयात हुने गरेको पाइन्छ तर नेपालमा हाल करिब ११५० वटा वस्तु तथा सेवाहरूमा मात्र गुणस्तर निर्धारण गरिएको छ । यस्तो अवस्थामा मुलुकमा कस्तो गुणस्तरका वस्तुहरू आयात भईरहेको छ भन्ने यकिन छैन । यसले स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको छ । नयाँ आर्थिक वर्षबाट नेपालमा विद्यमान अनेक थरि करहरूलाई एकिकृत गर्दै सिमित प्रकारका करहरू (आयकर, भन्सार, अन्तःशुल्क तथा मुल्य अभिबृद्धि कर) मात्र रहने व्यवस्था कायम गर्न परिसंघले आग्रह गरेको छ । मूल्य अभिबृद्धि करलाई बहुदरको (०, ५, १३ तथा १८) बनाइ यस करमा आवद्ध हुनुपर्ने न्युनतम कारोवारको सीमालाई समेत कम गरि सबै करदातालाई यसै करमा आवद्ध गरिनुपर्दछ । यसबाट नेपाली वस्तुलाई भारतीय वस्तु तथा बजार मुल्यसंग प्रतिस्पर्धी बनाउन र अनाधिकृत व्यापार नियन्त्रण गर्न समेत सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ । सामान्यतया नेपालमा ५००० भन्दा बढी वस्तुहरू आयात हुने गरेको पाइन्छ तर नेपालमा हाल करिब ११५० वटा वस्तु तथा सेवाहरूमा मात्र गुणस्तर निर्धारण गरिएको छ । यस्तो अवस्थामा मुलुकमा कस्तो गुणस्तरका वस्तुहरू आयात भईरहेको छ भन्ने यकिन छैन । यसले स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको छ । स्वदेशी उद्योगहरूको संरक्षण तथा आम मानिसहरूसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरिय हुन अत्यन्त आवश्यक छ । त्यसैले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापदण्ड अनिवार्य लागू गर्नुपर्छ । साथै, भारत सरकारसँग भारतीय गुणस्तर तथा नेपाल गुणस्तर एक अर्कालाई मान्य हुने गरि सम्झौता वा समझदारी अनिवार्य छ । परिसंघले विगत दुई वर्षदेखि नै बजारमा माग घट्दै गएको, उद्योगी व्यवसायीको मनोबल खस्किदै गएको, नयाँ लगानी गर्ने वातावरण नभएको बताउँदै आएका थियौं । यसको पुष्टि सरकारको तथ्यांकले समेत पुष्टि गरिसकेको छ । विद्यमान चुनौतीपूणर् अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउँदै समृद्धिको तीब्र चाहना पूरा गर्नेतर्फ दिशानिर्देश गर्न गम्भिर भएर लाग्नुपर्ने आजको आवश्यकता छ । आगामी बजेटको स्पष्ट कार्यदिशा पनि यही हुनुपर्छ भन्ने हाम्रो ठम्याइ छ । स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउँछ । आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै हाम्रो उपभोगको शैली पनि स्वदेशी बनाउन जरुरी छ । सरकारी एवं सार्वजनिक संस्थासहित आम उपभोक्तलाई पनि स्वदेशी वस्तु तथा सेवाको उपभोगका लागि अभिप्रेरित गर्न आवश्यक छ । कुनै समय जीडीपी मा करिब १४ प्रतिशत पुगेको उद्योग क्षेत्रको योगदान हाल घटेर ५ प्रतिशत तल आइपुगेको छ । परनिर्भर रहेको हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै उच्च अंकको आर्थिक बृद्धि हासिल गर्दै दीगोविकासका लागि स्वदेशी उद्योगहरुको प्रवद्र्धन अति आवश्यक छ । यसका लागि सरकारका नीतिहरुमा महत्वपूणर् परिवर्तन जरुरी छ । साथै यस अभियानमा आवद्ध नेपाली सबै उद्योगीहरु पनि थप सक्रिय हुन आवश्यक छ । (नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले मेक इन नेपाल स्वदेशी सम्मेलनमा व्यक्त विचार)