गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?
गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेय पदार्थहरु अहिले गाउँघरमा छ्यापछ्याप्ती छन् । यस्ता वस्तुहरु अहिले शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ । यी पेय पदार्थहरुले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेय पदार्थलाई विस्थापन गर्दै लगिरहेका पनि छन् । अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताहरुको दाँत, पेट, हाडजोर्नीलगायत शरीरका अन्य अङ्गहरुमा रोगहरुले घर बनाउँछ । यी पेयहरुले मोटोपनको समस्या निम्त्याउँछ । जतिजति यी पेयहरुको उपभोग बढ्दै जान्छ, त्यति नै तिनीहरुको सेवनबाट हुने स्वास्थ्य समस्याहरु पनि थपिदै गएको छ तर उपभोक्ताहरु के कारणले आफुलाई स्वास्थ्य समस्या भइरहेको छ भन्ने कुरा खुट्याउन सकिरहेका हुँदैनन् । रेडियो, टेलिभिजन र ठाउँठाउँमा राखिएका विज्ञापन बोर्डहरुमा गरिएका भ्रम पार्ने विज्ञापनहरुका कारण उनीहरु त्यस्ता पेयले आफुलाई राम्रै गरिरहेको होला भन्ने विश्वास हुन्छन् । यसरी पिउँदापिउँदै कतिपयलाई त नसालु पदार्थ जस्तै लत नै लागिसकेको हुन्छ । प्रसिद्ध खेलाडीले आफ्नो सफलतापछि विभिन्न ब्राण्डका पेय पदार्थ घ्वाटघ्वाट पिएर आनन्द लिएको देखाउने टेलिभिजनको आकर्षक विज्ञापनले युवायुवतीलाई हरेक खुसीमा यसै गर्न प्रेरित गरिरहेको हुन्छ । अद्र्धनग्न नर्तकीले डान्सवार वा डिस्को थेकमा पसिना पुछ्दै बोतलबाट हल्का पेय पिइरहेको देखेपछि यो पिउनै पर्ने पेय पदार्थ रहेछ भन्ने युवा मस्तिष्कमा छाप बस्छ । वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो पेयको विज्ञापनले धेरैलाई झुक्याइरहेको छ । बजारमा जताततै पाइने चिसो पेय अहिले नेपालका त्यस्ता दुर्गम स्थानहरुमा पनि पुगेका छन्, जहाँ दूधका पाकेट र औषधिहरु पनि पुग्न सकेका छैनन् । यी वस्तुहरुको तडकभडकयुक्त प्रचारप्रसार र पहँुचका कारण दुर्गम ग्रामीण क्षेत्रका मानिसले पनि अहिले यी वस्तुहरुलाई फेसन र आधुनिकताको प्रतीकका रुपमा स्वीकार गरिरहेका छन् । अधिकांश उपभोक्तालाई ती चिसो झोलमा भएका तत्वहरु र तिनीहरुले शरीरलाई पार्ने हानी वारे कुनै जानकारी नै भएको हुँदैन । वास्तवमा यी पेय पदार्थहरु रङ्ग, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरिएका चिसो पेय हुन्, जुन धेरै महङ्गा र हानीकारक हुन्छन् । यस्ता चिसो पेयमा चिनीको मात्र अति नै बढी हुन्छ । भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्वहरुले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने, र क्यान्सरजस्ता रोगहरु लगाउन सक्छन् । अमेरिकन डायविटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसनले चिनी भएको सोडाको हाल भइरहेको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायबिटिज एसोसिएसनले डायबिटिजको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा खाना नै हो । साथै, शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउनका लागि पेय पदार्थको भूमिका उत्तिकै हुन्छ । सो एसोसिएसनले यदि डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पिउनका लागि पानी, बिनाचिनीको चिया, कफी वा अरु कुनै कम क्यालोरी भएको पेय पदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ । कोल्डड्रिङ्क्समा हुने हानीकारक तत्वहरु चिसो पेय पदार्थहरुमा स्वास्थ्यलाई हानि गर्ने विभिन्न तत्वहरु पाइएका छन् । यी पेयहरुमा एकक्षणका लागि मात्र स्फूर्ति दिने र लत बसाउने तत्वहरु पनि हुन्छन् । ती तत्वहरुले हाम्रो स्वास्थ्यमा दीर्घकालीन रुपमा विभिन्न असरहरु पार्छन् । केटाकेटीहरुलाई यस्तो पेय पदार्थ दिँदा यी झोलहरुमा हुने चिनीले मोटो बनाउँछ । चिसो झोलमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ र यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ । चिसो पेय पदार्थमा पाइने क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ । तर यस्तो अवस्था क्षणिक हुन्छ । यतिमात्र होइन, चिसो पेय पदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् । चिसो पेयहरुलाई ताजा राख्न र स्वादिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरु राख्ने गरिन्छ । यी अम्लहरुले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत गर्छ । अम्लहरुको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महशुस हुन्छ । चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ । यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वन डाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन् । यी तत्वहरुका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्यार्टी सफा गर्न प्रयोग गरिन्छ । यो कुराले नै यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट गर्दछ । धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ । कोल्डड्रिङ्क्सको सट्टा कागती पानी गर्मीयाममा तीर्खा मेट्नका लागि बजारिया चिसो पेय पदार्थ नै सेवन गर्नुपर्छ भन्ने छैन, वर्षैभरि पाइने कागती गर्मीमा वा जाडो जुनसुकै बेलामा, तातो वा चिसो जे पदार्थमा मिलाएर खान सकिन्छ । स्वाद र स्वास्थ दृष्टिकोणले पनि यो अति राम्रो तत्व हो । म व्यक्तिगत रुपमा कागतीलाई ‘औषधिको डल्लो’ भन्छु । बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती चिया खान्छु । दालमा मिलाएर खान्छु । यसैले मैले कहिले पनि भिटामिन ‘सी’ को गोली त खानै परेको छैन । कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’ । भिटामिन ‘सी’को महत्वको बारेमा अहिले त धेरै जनाले थाहा पाइसकेका छन् । विज्ञानले पुष्टि गरेको छ कि भिटामिन ‘सी’ले रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । हाम्रो भान्छामा खाइने अचार पनि भिटामीन ‘सी’ले युक्त हुन्छ । गर्मी शुरु हुने बेलामा अक्षय तृतीयामा सा¥है कागतीको सर्बत र जौको सातु खान दिने हाम्रा पुर्खाहरुले चलाएका चलन पनि कागतीको महत्व बुझेर नै होला । गर्मीको बेलामा कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको बेलामा हुने विभिन्न पेटको गडबडीबाट बच्न सकिन्छ । गर्मीमा शरीरलाई चाहिने ऊर्जा पनि पर्याप्त हुन्छ । सातु र कागती सर्बत पिउने प्रचलन हराउँदै गएर आजकाल त अक्षय तृतीयको दिनदेखि जन्म दिनमा पनि प्याकेटका फलफूलको महँगो तर स्वास्थ्यलाई हानी गर्ने फलफूलको नक्कली रस, चिसो पेय पदार्थहरु खाइन्छ । यसले नेपाली संस्कृतिलाई नष्ट गर्छ, स्वास्थ नष्ट गर्छ, पैसा नष्ट गर्छ । यस्तो चलन कम गर्न नक्कली रसको सट्टा कागतीको रस प्रयोग गर्न सकिन्छ । कति स्वास्थको बारेमा जाने बुझेका व्यत्तिले नै बट्टाको जुस खान्छन्, कागती बर्सत पिउँदैनन् । नेपालको प्रायः सबै ठाँउमा कागती फल्छ । विभिन्न प्रकारको कागतीको स्वाद भिन्दै भए पनि पौष्टिकता भने सबैमा हुन्छ । कागतीको महत्व कति छ भन्ने कुरा आयुर्वेद कितावमा लेखिएको छ, ‘कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले प्रवेश पाउँदैन’ । नेपालमा महिलाहरूलाई रगतको कमी भयो भनेर अनेक औषधि दिइन्छ । तर कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौह तत्वलाई शोषण गर्नमा मद्धत गर्छ भन्ने कुरा प्रचार भएको छैन । कतिपय स्वास्थ्यकर्मीहरुले रक्तअल्पता भएका महिलालाई भिटामिन ‘सी’को चक्की दिन्छन् र खानासँग खानु भन्छन् । सायदै कुनै स्वास्थकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्ने गर्छन् । ‘कागतीको रस मिसाएर’ भोजन खाउभन्दा औषधि कम्पनीहरुको फाइदा हुँदैन र त्यसैले यस्तो जानकारीलाई बढावा दिने चलन छैन । तर मासको वा कुनै दालसँग कागतीको रस वा गोलभेडाको अचार खाँदा दालमा रहेको लौहतत्व राम्रोसँग सोसिन्छ । फलामको भाँडोमा पकाएको कुनै पनि दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलालाई रगतको कमीबाट रोक्न प्रोटिन प्राप्त हुन्छ । साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भन्ने जानकारी वैज्ञानिकहरुले १७ औँ शताब्दीमा पत्ता लगाएका हुन् । शरीरको अतिरिक्त क्रियाकलापहरुलाई सञ्चालन गर्न यो एसिडको महत्व छ र कागतीमा यो सहजै पाइन्छ । आजकल कागतीको रस हालेर चिया, सर्वत खान वा पाहुनालाई सत्कार गर्ने चलन बढेको छ । गर्मीको बेलामा पनि स्वास्थ्यकर कागतीको सर्बत हामी दिन हिच्किचाउनु पर्दैन । बालबालिकालाई पनि बट्टाको ‘जुस’ होइन कागतीको सर्बत दिनुपर्छ । यति मात्र होइन, कागतीको रसको प्रयोगले दाँतको गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत गर्छ । त्यसैले गर्भवतीलाई कागती खाने सल्लाह दिने चलन गाउँघरमा अझै पनि छ । रुघाखोकी लाग्दा कागती पानी र मह खानुपर्छ भनेर धेरैले थाहा पाएका छन् । कागतीलाई दैनिक भोजनको नै प्रयोग गरियो भने रोग प्रतिरोधात्मक शक्ति बलियो हुन्छ र हरेक चोटी मौसम बदलिदा रुघाखोकी लाग्न कम हुन्छ भन्ने पनि थाहा पाउनु पर्छ । गाउँघरमा गर्भवती महिलालाई वाकवाक लाग्दा कागती र नून खानु भनेर सल्लाह दिइन्छ र यसले वास्तवमा नै वाकवाक कम गर्छ । कागतीको प्रयोगले कब्जियतबाट पनि बचाउँछ । जाडोको बेलामा कागतीको रस मनतातो पानीमा हालेर खान दिने चलन पुर्खाहरुले थालनी पहिलादेखि नै ल्याएका हुन् । मुख गन्हाउने व्यक्तिको यदि दन्तसम्बन्धी अन्य रोग छैनन् भने कागतीको रस र तातो पानीले फाइदा गर्छ । कागती पानीको कुल्लापछि पुनः पानीले एकचोटी कुल्ला गर्नुपर्छ, ताकी कागतीको अमिलोले दाँतमा असर नपरोस् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट गरिएको अनुसन्धानमा ‘कागतीको रसले हैजाको किटाणु वृद्धि हुन रोक्छ’ भनेर पुष्टि भएको छ तर यो अनुसन्धानको व्यावहारिक प्रयोग हुन सकेको छैन । कागतीको रसको मात्र नभएर बोक्राको उपयोगिताबारे पनि कमैलाई मात्र थाहा हुनसक्छ । केही अनुसन्धानले कागतीको बोक्राको नियमित प्रयोगले कब्जियतको समस्या समाधान गर्छ भनेर देखाएको छ । कागती धोएर काटेर रस निकालेपछि बोक्रालाई सानोसानो टुत्रा पारेर सलादमा हालेर खान सकिन्छ । यदि तीतो स्वाद मन पर्दैन भने कागतीको बोक्रालाई राखेर सिसीमा नून हालेर केही दिन घाममा राखेपछि त्यो बोक्रा अचारमा बदलिन्छ । कागतीसँगै गर्मीमा प्रयोग गर्नुपर्ने बाबरी वा पुदिना पनि हो । बाबरी (मधेसतिर पुदिना पनि भन्छन्) को अचार बनाएर खाने चलन त पहिलेदेखि नै हो । गर्मीको बेलामा त यो पानीमा हालेर खाए हुन्छ । जुन तरिकाले खाए पनि स्वास्थ्य र स्वस्थ दुवै दिन्छ । वीरेनून र कागती हाली पिसेर बनाइएका पुदिनाले खाना रुचाउनुका साथै पाचन प्रक्रियामा पनि सहयोग गर्दछ । पानीमा बाबरी र कागतीको टुक्रा भिजाएर राख्ने र त्यो पानी पिउनाले धेरै नै लाभ पुग्दछ । रासस (लेखक जनस्वास्थ्यविद् हुन्)
दक्षिण कोरिया आर्थिक विकासको सुत्र, कोरियाली कम्पनीको नेपालमा लगानी
नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौंमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ । मैले नेपालका राजनिति, अर्थ सरोकारवालासँग भलाकुसारी गर्दा कोरियाको आर्थिक विकासको रहस्य के हो भनेर जिज्ञासा धेरै पटक पाएको छु। कोरिया विकासका विभिद पक्षहरु मध्ये एक प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले चालेको सकारात्मक कदम र लगानीको सही सदुपयोग हो भन्ने लाग्छ । शास्त्रीय अर्थशास्त्रलाई नियाल्नेहो भने उत्पादनका आधारभूत पक्षका रुपमा श्रम, पुँजी र भूमिलाई लिने गरिएको छ । कोरियाको आर्थिक विकासको क्रममा पर्याप्त लगानी गर्ने पुँजी थिएन र जुटाउन सजिलो पनि थिएन । सरकारले पुँजी जुटाउनका लागि वैदेशिक ऋण तथा प्रत्यक्ष विदेशी लगानी (एफडी) आकर्षित गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ । श्रम र भूमि भने हामीलाई उपलब्ध थियो । कोरियाले देशको आर्थिक विकासको क्रममा प्रत्यक्ष वैदेशिक लगानीका विभिन्न फाइदाको बारेमा लामो अनुभव गरिसकेको छ ।त्यसैले आजका दिनमा पनि केन्द्र र स्थानीय सरकारले वैदेशिक लगानी आकर्षित गर्नका लागि विभिन्न सुविधा तथा प्रोत्साहनलाई निरन्तरता दिएको छ । एफडीका फाइदाहरू ? कोरियाको अनुभव साट्नु पर्दा प्रत्यक्ष वैदेशिक लगानीबाटराष्ट्रिय अर्थतन्त्र र उद्योगले सकारात्मक लाभ लिन सकिन्छ भन्ने रहेको छ । त्यसैगरी हामीले एफडी मार्फत आन्तरिक रूपमा लगानी श्रोतको अभावबाट छुटकारा पायौं र आन्तरिक बजारमा यथेष्टरोजगारी सिर्जना गर्न सफल भयौं। गत सेप्टेम्बरमा प्रकाशित एक अध्ययनको तथ्याङ्क अनुसार कोरियामा विगत १० वर्षमा प्रत्यक्ष वैदेशिक लगानी मार्फत २ लाख ९५ हजार रोजगारी सृजना भएको देखाएको छ । रोजगारी सृजनालाई सर्वोत्कृष्ट सामाजिक कल्यणकारी नीति मानिन्छ । रोजगारीले आर्थिक तथा सामाजिक रुपमा पनि सकारात्मक भूमिका खेल्न सक्छ । एफडीले देशको आर्थिक विकासलाई उत्प्रेरित गर्न, उद्योग स्थापना तथा लगानी वातावरण सिर्जना गर्न र स्थानीय समुदाय र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दछ । एफडीले स्थानीयको आम्दानी र क्रयशक्तिमा बृद्धि हुनगई देशको समग्र आर्थिक बृद्धिको नेतृत्व गर्न सक्दछ । अर्को पक्ष, वैदेशिक लगानीमा स्थापित कम्पनीहरूको प्रविधि र ज्ञान लगानी गरेको मुलुकमा हस्तान्तरण हुनुका साथै प्राविधिक जनशक्ति उत्पादनमा पनि सकारात्मक भूमिक खेल्दछ ।दक्षिण कोरियाको सन्दर्भमा वैदेशिक लगानी रहेका उद्योगहरु मध्ये टेक्नोलोजी हस्तान्तरण भएका धेरै उद्योगहरु आज विश्वव्यापी रुपमा उदाएका प्रशस्त उदाहरणहरु छन् । अन्य मुलुकमा व्यपार गर्नका लागि वैदेशिक लागनीमा सञ्चालन भएका उद्योगसँग आफ्नो देशको बारेमा आवश्यक जानकारी हुने भएकोले व्यपार लक्ष सुनिश्चित गर्न अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका उद्योग तथा लगानीको उपस्थितिले सकारात्मक भूमिका खेल्दछ । प्रत्यक्ष वैदेशिक लगानी मार्फत अन्तर्राष्ट्रिय व्यापार सम्भव हुन सक्दछ । एफडीले निर्यात विस्तारमा सकारात्मक प्रभाव पार्दछ र घरेलु बजारमा एकाधिकारको सट्टा प्रतिस्पर्धामा आधारित बजार निर्माण भई उपभोक्तासम्म सहज पहुँच पुग्दछ ।त्यसैगरी एफडी मार्फत उपलब्ध भएका सुविधा र उपकरणले लक्षित देशमा श्रमशक्तिको उत्पादकत्व बढाउन टेवा पुग्दछ । विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना विदेशीको नजरमा नेपाली अर्थतन्त्रलाई नियाल्दा, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नका लागि सम्भावना तथा कमजोरी दुवै पक्ष रहेका छन् । तुलनात्मक रूपमा प्रतिस्पर्धी श्रम बजार, ऊर्जा क्षेत्रमा ठूलो लगानीको सम्भावना, हिमालय तथा विविधताले भरिएको सांस्कृतिक सम्पदालगायत प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नेपालको प्रचुर सम्भावनका बारेमा सबैले मनन गरेकै विषय हुन् । नेपालमा एफडीको आकर्षण बढाउन लगानी प्रक्रियामा सरलीकरण गर्नु पर्दछ । पर्याप्त दक्ष जनशक्ति उपलब्ध गराउनु र लगानी गर्ने कम्पनीहरुलाई स्वदेशी कम्पनी सरह समान व्यवहार आवश्यक देखिन्छ ।यस क्षेत्रको सुधारका लागि नेपाल सरकारले दृढ इच्छाशक्तिका साथ सम्बन्धित कानून निर्माण चरणमा रहेको भन्ने विषय समय सान्दर्भिक रहेको छ । नेपालमा रहेका विभिन्न देशका कुटनीतिक नियोगका पदाधिकारी मार्फत नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण रहेको छ र नीतिगत हिसाबले पनि सहज वातावरण रहेको छ भन्ने बारेमा सम्बन्धित मुलुकहरुमा जानकारी गराउने पक्ष अपरिहार्य छ । लगानीकर्ताको प्रमुख चासो भनेको सहज रुपमा लगानी गर्ने र मुनाफा आर्जन गर्ने र उक्त मुनाफा आफ्नो देशमा सहज रुपमा लैजान सक्ने विषय प्राथमिकतामा राखेका हुन्छन् । त्यसै गरी भैपरी आउने समस्या समाधानका लागि सरकारी पक्षले अभिभावकको भूमिका खेलोस् भन्ने रहन्छ ।अन्य विषयमा वैदेशिक लगानी भित्र्याउनका लागि महशुल छुट लगायतका सुविधाहरु उपलब्ध हुने विषयले पनि सकारात्मक भूमिका खेल्दछ । भिसा प्रणालीको सहजीकरण, शुरुवाती चरणमा कर छुट लगायतका विषयले पनि लगानीयोग्य वातावरण बनाउन मद्दत गर्दछ भन्ने लाग्छ । कोरियाली कम्पनीको नेपालमा लगानी कोरियाली कम्पनीहरूले नेपालमा आर्थिक लगानी सम्भाव्यताका बारेमा नजिकबाट नियाली रहेका छन् । केही कम्पनीले नेपालमा लगानी गरि सफल रुपमा व्यवसाय सञ्चालन गरेका उदाहरणहरु रहेका छन् । उदाहरणका लागि, कोरियाली ग्लोबल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले नेपालको गोल्छा अर्गनाईजेसनसँगको संयुक्त लगानीमा गत वर्ष अप्रिलदेखि अत्याधुनिक टिभी एसेम्बली प्लान्ट सञ्चालन गर्दै आएको छ । हुन्डाई मोटर्स कम्पनीले नेपालको एक स्थानीय कम्पनीसँगको साझेदारीमा नवलपरासी जिल्लामाअटोमोबाइल एसेम्बली प्लान्ट पनि स्थापना गरेर यही वर्ष मे महिनामा व्यावसायिक उत्पादन सुरु गर्ने योजना रहेको छ।नेपालमा जलविद्युत उत्पादन क्षेत्रमा कोरियाको साउथ–इस्ट पावर कम्पनीले विश्वव्यापी वित्तिय संस्था समेतको साझेदारीमा ६५० मिलियन अमेरिकी डलर लगानी जुटाएर रसुवा जिल्लामा युटी–१, २१६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण चरणमा रहेको छ ।यस आयोजनाले सन् २०२७मा विद्युत उत्पादन गर्ने लक्ष लिएको छ । ठूला वैदेशिक लगानीको जति महत्व रहेको छ त्यतिनै महत्व मझौला उद्योगहरुको लगानी पनि आवश्यक पर्दछ ।नेपालको सन्दर्भमा कोरियाली साना तथा मझौला कम्पनीको लगानी पनि सक्रिय रहेको जानकारी गराउँदछु। रोजगारी सृजनाको सन्दर्भमा, साना तथा मझौला उद्योगहरुको भूमिका प्रभावकारी रहेको बारेमा स्मरण गराउन चाहन्छु। उदाहरणका लागि, नक्कली कपाल बनाउने प्रसिद्ध कोरियाली कम्पनी हाइमोले काठमाडौंमा मन्डुमो नामक स्थानीय कम्पनीमा १०० प्रतिशत लगानी गरेको छ । उक्त कम्पनीमा ६५०जना भन्दा बढी स्थानीय महिला कामदारलाई तालिम दिएर नक्कली कपाल उत्पादन गरी उत्पादित सबै सामान कोरिया र जापानमा निर्यात गरिरहेको छ । हालै प्रकाशित नेपाल सरकारको वैदेशिक लगानी योजना प्रतिवेदनको आधिकारिक तथ्याङ्कअनुसार गत वर्षको जुलाईदेखि यो वर्ष मार्चसम्म आठ महिनामा कोरियाली कम्पनीहरूले नेपालमा सबैभन्दा बढी लगानी योजना बारे जानकारी सार्वजनिक भएको छ । उक्त अवधिमा कोरियाली लगानीकर्ताको तर्फबाट१२ अर्ब ८ करोड रुपैयाँको लगानी योजना सार्वजनिक भएको छ । नेपालमा वैदेशिक लगानी गर्ने मुलुकहरुमध्ये कोरिया लगानीको शीर्ष पाँच स्थान भित्र पर्दै आएको छ । नेपालमा लगानी गर्न कोरियाली कम्पनीहरूको चासो निरन्तर बढिरहेको आधारको रुपमा लिन सकिन्छ । अन्त्यमा कोरिया र नेपालबीच सन १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भई दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहिआएको छ । हामी हाम्रो विकासको अनुभव साट्दै, कोरियाले भोगेका अप्ठ्यारा अवस्था नेपालले भोग्न नपरोस् भन्नेमा समेत सचेत रहेका छौं। रोजगारीको महत्व बुझेरनै सन् २००७ मा दुई देशका सरकारबीच श्रम सम्झौता गरेर सरकारको सहभागितामा नेपाली श्रमिकहरुलाई कोरियामा रोजगारीको अवसर प्रदान गर्दै आएका छौं। एक लाख भन्दा बढी नेपालीले कोरियामा रोजगारको अनुभव गरिसकेका छन् । त्यसैगरी कोरियाली कम्पनीहरुले नेपालमा लगानी बढाउँदै गएको स्मरण गराउन चाहन्छु। नेपालमा सञ्चालन भएका कोरियाली लगानीका कम्पनीहरुमा हजारौं नेपालीहरुले रोजगारीको अवसर प्राप्त गरेका छन् । यही वर्ष सन् २०२४ मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको सुनौलो अवसरको सदुपयोग गर्दै वर्षभरिनै विभिन्न कार्यक्रम आयोजना गरेर हाम्रो सम्बन्धलाई थप उच्च बनाउने लक्ष लिएका छौं। कोरिया सरकार र हाम्रो दूतावासले धेरै कोरियाली लगानी भित्र्याउन निरन्तर प्रयास गरिरहेका छौं । नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीमैत्री वातावरण सिर्जनाका खातिर अथक प्रयास गरिरहेको सम्बन्धमा हामी जानकार छौं । सबै क्षेत्रका लागि सुहाउँदो लगानीमैत्री वातावरण बनेर विश्वभरका कम्पनीले नेपालमा सम्भावित लगानी क्षेत्रका बारेमा पुन:मूल्याङ्कन गरी ठूलो मात्रामा लगानी गर्न र नेपालीलाई स्वदेशमानै रोजगारीको अवसर मिलोस् भन्न चाहन्छु। यही अप्रिल महिनाको अन्त्यमा हुन गइरहेको तेस्रो लगानी सम्मेलन सफलताको कामना गर्दै धेरै उपलब्धि हासिल हुने विश्वास लिएको छु । (पार्क थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्)
टेलिकम उद्योगलाई आर्थिक स्वतन्त्रता दिनुपर्छ
नेपाल टेलिकम (एनटीसी)ले पहिलोपटक टेलिफोन सेवा सरु गरेपछि नेपालमा टेलिकम उद्योग औपचारिक रूपमा उदाएको हो । एनसेल, यूटीएल र अन्य कम्पनी धेरैपछि सञ्चालनमा आएका हुन् । टेलिकम उद्योगमा आधा दर्जन थुप्रै कम्पनी थिए । सन् २०१५ पश्चात् विभिन्न कारणले थुप्रै कम्पनी यो क्षेत्रबाट बाहिरिएका छन् । अन्तर्राष्ट्रिय रूपमा टेलिकम सञ्चालन गरिरहेका कम्पनी पनि बाहिरिए । सन् २०१६/१७ को अवधिमा नेपाली टेलिकम (आइएसपी सहित) उद्योगको रेभिन्यू १ खर्बभन्दा बढी थियो । सन् २०२२/२३ मा आइपुग्दा टेलिकम उद्योगको रेभिन्यू ९६ अर्ब रुपैयाँमा सीमित छ । विभिन्न कारणले टेलिकम क्षेत्रको वृद्धिदर घटेको छ । तर, आईएसपीको वृद्धिदर भने बढेको देखिन्छ । जसरी कम्पनीहरू चलिरहेका छन्, आगामी दिनमा पनि यस्तै अवस्थामा सञ्चालन हुने हुन् भने सन् २०२७/२८ मा आइपुग्दा टेलिकम उद्योगको राजस्व घटेर ८४ अर्ब रुपैयाँमा सीमिति हुने देखिन्छ । जसमध्ये टेलिकम अपरेटरकाे ५६ अर्ब रुपैयाँ र आईएसपीको २७ अर्ब हुने अनुमान छ । टेलिकमको कुल बजार १३ प्रतिशत घट्छ भने राजस्व २३ प्रतिशत घट्छ । तर, आईएसपीको १६ प्रतिशत बढ्ने देखिन्छ । आईएसपीको वृद्धि भए पनि सरकारको राजस्व भने घट्छ । आईएसपीको ग्रोथले यस क्षेत्रको दीर्घकालीनमा प्रश्न चिन्ह खडा भएको छ । जुन हिसाबले केपेक्स (पैसा) खर्च हुन्थ्यो सोही अनुपातमा खर्च गर्न नसक्ने अवस्था छ । सन् २०१६/१७ देखि सन् २०१९/२० सम्मको अवधिमा कुल खर्चको १९ प्रतिशतदेखि ३० प्रतिशतसम्म केपेक्स खर्च हुन्थ्यो । टेलिकम क्षेत्रको यस्तो खर्च पनि झरेर ११ प्रतिशतमा सीमित छ । टेलिकम उद्योगले जीडीपीमा मुख्य योगदान पुर्याउँदै आएको छ । जीडीपीमा टेलिकम उद्योगको भारतमा ६.६ प्रतिशत, चाइनामा ५.४ प्रतिशत छ भने नेपालमा घटेर १.५ प्रतिशतमा झरेको छ । तर, केही वर्षअघिसम्म दुईवटा टेलिकम (एनटीसी र एनसेल) को मात्रै जीडीपीमा ५ प्रतिशत योगदान थियो । अन्य देशमा बढेको छ भने नेपालमा उल्टो ट्रेण्डमा घटिरहेको छ । टेलिकम कम्पनीहरूको रेभिन्यू जुन अनुपातमा घटिरहेको छ, सोही अनुपातमा सरकारी राजस्व अझै घट्ने छ । तर, टेलिकम कम्पनीहरूले तिर्ने कर भने स्थिर छ । टेलिकम क्षेत्रले तिर्ने कर र आईएसपी कम्पनीहरूले तिर्ने करमा पनि सरकारले विभेद गरेको छ । जसबाट १३ अर्ब रुपैयाँ बराबरको राजस्व गुमिरहेको छ । यही अवस्थामा अघि बढ्ने हो भने टेलिकम कम्पनीहरू आगामी दिनमा लगानी गर्न नसक्ने अवस्था आउँछ । विदेशी लगानी (एफडीआई) मा दक्षिण एशिया, भारतसँग नेपालको तुलना गर्दा जहिले पनि कम एफडीआई आउँछ । सन् २०१० मा दक्षिण एशियामा १.५ प्रतिशत, भारतमा १.६ प्रतिशत इफडीआई भित्रिएको थियो भने नेपालमा ०.०३ प्रतिशत मात्रै भित्रिएको थियो । सन् २०२२ मा दक्षिण एशियामा १.२ प्रतिशत, भारतमा १.५ प्रतिशत एफडीआई आउँदा नेपालमा ०.२० प्रतिशत मात्रै एफडीआई आएको छ । दक्षिण एशियामा सबैभन्दा कम एफडीआई भित्र्याउने देश नेपाल हो । र, विश्वसूचीमा एफडीआई भित्र्याउनेमा नेपाल १४२औं स्थानमा छ । भारतले बङ्गलादेश, श्रीलङ्का, अफ्रिका लगायतका देशमा टेलिकम उद्योगमा लगानी गरिरहेको छ । चीनले पाकिस्तान, सिङ्गापुर, श्रीलङ्का, भारतदेखि अन्य थुप्रै देशका टेलिकम क्षेत्रमा लगानी गरिरहेको छ । यस्तै, मलेसियाले श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया, इण्डोनेसिया लगायतका देशको टेलिकम उद्योगमा लगानी गरिरहेको छ । छिमेकी देशले अन्य देशका टेलिकम उद्योगमा लगानी गरिरहँदा नेपालमा भने लगानी गर्न अनिच्छुक छन् । भारतको टेलिकम उद्योगमा युनाइटेड किङडम (यूके), अमेरिका (यूएसए), सिङ्गापुर लगायत थुप्रै देशको लगानी छ । मेटा, गुगल कम्पनीले पनि भारतीय टेलिमकममा लगानी गरेका छन् । पास्तिानको टेलिकममा नर्वे, चाइना, दुवई (यूएई), बङ्गलादेशको टेलिकममा भारत, मेलेसिया, नर्वे, होल्याण्ड र श्रीलङ्काको टेलिकममा भारत, मलेसिया, नर्वे र हङकङ लगायत थुप्रै देशबाट लगानी छ । तर, नेपालमा भएका विदेशी कम्पनी पनि बाहिरिरहेका छन् । टेलिकम उद्योगमा चुनौती समग्रमा टेलिमक उद्योगका लागि ओटीटी नै चुनौतीकाे विषय बनेको छ । ओटीटीले बजार खानु स्वभाविक पनि हो । नेपालमा ७९ प्रतिशत मान्छे स्मार्ट फोन प्रयोग गर्छन् । र, त्यसमा ६० प्रतिशत बढी भ्वाइस ट्राफिक ओटीटीले खाइसकेको छ । नेपालमा फिक्स लाइनको विकास पनि बलियो रूपमा भएको छ । छिमेकी राष्ट्र भारत, बङ्गलादेशको तुलनामा ४० प्रतिशत फिक्सड लाइन वा आईएसपीको पेनिटेरेसन छ । यसले ग्राहकमा ठूलो प्रभाव परेको छ । बङ्गलादेश, भारतको तुलनामा नेपालमा प्रतिमहिना प्रतिव्यक्ति ४ जीबी मोबाइल डाटा खपत हुन्छ । जबकी भारतमा २० जीबी, बङ्गलादेशमा १३ जीबी र पाकिस्तानमा ९ जीबी खपत हुन्छ । नेपालमा कभरेजका हिसाबले भारतसरह छ । जनसंख्याका आधारमा भारत र नेपालमा असमानता छ । तर, खपत एकदमै कम छ । बङ्गलादेश र पाकिस्तानमा कम कभरेज भए पनि डाटा खपत भने बढी छ । यसलाई नेपालमा अवसरका रूपमा लिए पनि अवस्था गाह्रो छ । डाटा खपत कम हुनुमा स्पेक्ट्रम पनि हो । ७ सयदेखि ३ हजार ५ सय मेगाहर्जसम्मको स्पेक्ट्रम ब्याण्ड उपलब्ध छ । नेपालमा ८ सय, ९ सय, १८ सय र २१ सयका स्पेक्ट्रम प्रयोग भइरहेका छन् । तर, ती सबै पूर्णरूपमा प्रयोगमा आउन सकेका छैनन् । ९ सयदेखि तलको स्पेक्ट्रम ठूलो क्षेत्र कभर गर्नका लागि सजिलो भएकाले हिमाली भूभागमा प्रयोग भइरहेको छ । एनसेलले ९ सय, १८ सय र २१ सय स्पेक्ट्रम प्रयोग गरिरहेको छ । र, ती सबै ५५ प्रतिशत मात्रै प्रयोग भइरहेका छन् । टेलिकम उद्योगको रेभिन्यू घटिरहेको बेला सरकारले फ्रिक्वेन्सी पोलीसी खुकुलो बनाउपर्छ । किनकी एक्जिस्टिङ उपकरण प्रयोग गर्दा २०/३० वर्ष कभरेज दिन सकिन्छ । र, सरकारलाई राजस्व पनि आउँछ । नयाँ सेटअप इक्विपमेन्ट खरिद गर्दा विदेशी मुद्रा बाहिरिन्छ । एक्जिस्टिङ उपकरण पुनः प्रयोग गर्न पाउँदा विदेशी मुद्रा बाहिरिनबाट जोगिन सक्छ भने सरकारले राजस्व पनि बढाउन सक्छ । कुन ठाउँमा कभरेज राम्रो गर्नुपर्ने हो त्यस क्षेत्रमा राम्रो गर्न सकिन्छ । फाइभजीमा २६ सय, ७ सय, ३५ सय मेघाहर्ज प्रयोग हुन्छ । तर, अहिलेको अवस्थामा वित्तीय रूपमा सबल नहुँदा गाह्रो छ । स्पेक्ट्रमको नियमन खुकुलो हुँदा जनताले गुणस्तरीय सेवा पनि पाउँछन् । टेलिकम कम्पनीको व्यवसाय घट्दा सरकारले प्राप्त गर्ने राजस्व पनि घटेको छ । विभिन्न कम्पनी यो क्षेत्र छाडेर गइरहेका छन् भने लगानी गर्न नसक्दा ग्राहकको मनोबल खस्किएको छ । यी सबै कारणले नेपालको डिजिटल परिकल्पनामा ठूलो प्रभाव पार्ने देखिन्छ । टेलिकमले प्रत्यक्ष रूपमा इन्टरनेशन लङ्ग डिस्टेन्स कल (आइएलडी) विदेशी मुद्रा भित्र्याउँछ । जसबाट रेभिन्यू पनि आउँछ । विदेशबाट आउने कलले राज्यलाई विदेशी मुद्रा पनि आर्जन हुन्छ । आइएलडी रेभिन्यू, ईबीआईटीडीए, ईबीआईटीडीए प्रतिशत, कर लगायत सबै घट्दो क्रममा छ । सन् २०२३/२४ मा आइपुग्दा ८ प्रतिशत नाफायोग्य छ भने सन् २०२७/२८ मा ४ प्रतिशत नाफा घट्छ । केपेक्स इन्टेन्सिटी सन् २०१६/१७ मा २० प्रतिशत थियो भने सन् २०२२/२३ मा १६ प्रतिशतमा झरेको छ । र, सन् २०२७/२८ मा ११ प्रतिशतमा सीमित हुनेछ । सन् २०१६/१७ मा सरकारलाई तिर्नुपर्ने स्थिर कर ४ अर्ब ५८ करोड रुपैयाँ थियो भने सन् २०२२/२३ मा ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । र, सन् २०२७/२८ मा ११ अर्ब २१ करोड रुपैयाँ सरकालाई तिर्नुपर्नेछ । एकातिर कम्पनीहरूको खर्च घटेको छैन भने अर्काेतिर व्यवसाय खुम्चिदैँ छ । आगामी वर्षमा ६० अर्ब रुपैयाँ फाइभजीको लागि खर्च गर्नु पर्ने देखिन्छ । २ अर्ब रुपैयाँ नाफा कमाएर ६० अर्ब रुपैयाँ लगानी गर्न सकिने अवस्था अहिले छैन । के गर्नुपर्छ ? टेलिकम उद्योगका लागि काम गर्न आर्थिक स्वतन्त्रता दिनुपर्छ । अन्य क्षेत्रमा पनि लगानी गर्न टेलिकम कम्पनीहरूलाई अनुमति दिनुपर्छ । आजको दिनमा सुपर एप बनाएर पैसा कमाउन सकिएको छैन । किनकि टेलिकम कम्पनीले अन्य क्षेत्रमा लगानी गर्न पाएका छैनन् । यदि लगानी गर्न अनुमति माग्दा यो टेलिकम सेवा होइन भनेर जवाफ दिन्छन् । त्यसैले टेलिकम कम्पनीलाई अन्य क्षेत्रमा पनि काम गर्न वातावरण बनाउनुपर्छ । नेपाल दूरसञ्चार प्राधिकरणले वान डोर पोलिसी बनायो भने यी सबै काम गर्न सकिन्छ । टेलिकम्युनिकेसन शुल्क बढ्दा, इन्टर कनेक्ट रेगुलेसनमा परिवर्तन गर्दा १३ अर्ब रुपैयाँ गुमेको छ । र, टिकटक ब्याण्ड हुँदा १ अर्ब ४४ करोड रुपैयाँ आम्दानी घटेको छ । बजारबाट ४ वटा कम्पनी बाहिरिएका छन् । एनटीसी र एनसेललाई पनि व्यवसाय गर्न धौधौ छ । रिटर्न अन इन्भेष्ट देखिँदैन । लेभेल प्लेयिङको परिकल्पना गर्नुपर्छ । डाटा बिक्री गर्ने सबै कम्पनीलाई समान नीति नियम लागु हुनुपर्छ । लाइसेन्स शुल्क, करमा टेलिकम उद्योग र ओटीटी कम्पनीहरूमा विभेद छ । ओटीटी रोक्न नसके पनि उनीहरूले दिएको सेवालाई नियमन गर्नुपर्छ । ओटीटीलाई छिटोभन्दा छिटो नियमनको घेरामा ल्याउनुपर्छ । नेपाल टेलिकम लगायतले निर्माण गरेको पूर्वाधारमा ओटीटीले निःशुल्क प्रयोग गरेर नाफा कमाइरहेका छन् । तर, त्यो पैसा नेपालभन्दा बाहिर गइरहेको छ । डाटा सब्सिक्रेसन ४८ प्रतिशत छ भने ५२ प्रतिशतलाई पनि समावेश गर्ने अर्काे क्षेत्र छ । त्यसलाई पनि समावेश गर्ने हो भने स्पेक्ट्रम नीतिलाई खुकुलो बनाउनुपर्छ । यो क्षेत्रको निकास ननिकाल्ने हो भने आगामी दिनमा अहिले भएको पूर्वाधार पनि रूग्ण हुने अवस्था आउँछ । र, नयाँ सेवा ल्याउन सकिँदैन । (उपाध्याय एनसेलका लिगल एण्ड रेगुलेटरी अफिसर हुन् ।)