९२ प्रतिशत नेपालीसँग मोटर छैन, अटोलोन नियन्त्रण किन ?

तरलता अभावको कारण देखाउदै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीति ल्याएको छ । राष्ट्र बैंकको सो निर्णयका कारण महाभुकम्प र नाकाबन्दी जस्ता कठीन परिस्थितिहरुबाट गुज्रदै बल्लतल्ल उकालो लागेकोे अटोमोवाइल व्यवसाय अहिले फेरी ओरालो लागेको छ । मंसिर महिनासम्म उकालो लागेको सवारी साधनको आयात पुस महिना देखि तिब्र गतिले ओरालो लागेको यातायात व्यवस्था विभाग कै तथ्याङ्कले नै स्पष्ट पार्दछ । हजारौको संख्यामा सवारी साधनहरु अहिले सीमा नाकाहरुमा रोकिएका छन् । सवारी साधनमा दिइने कर्जा समग्र बैँकिङ्ग लगानीको दुई प्रतिशत मात्र रहेको र सवारी कर्जाको डिफल्ट रेट पनि ज्यादै न्युन रहेको हुँदा सवारी साधनमा कर्जा सीमा तोक्ने कार्य सम्बन्धित बैँकहरुलाई नै दिनुपर्छ । सरकारले पनि विश्वव्यापी मान्यता अनुरुप शिक्षा, स्वास्थ्य, संचार र यातायातलाई देशको पहिलो आवश्यकताको रुपमा लिदै आएको सन्दर्भमा सरकारले यातायातक्षेत्र कै अटोमोवाइल व्यवसायमा नीतिगत वाधा व्यवधान ल्याउनुु निश्चय नै त्यो बस्तुपरक र यथार्थ निर्णय होइन । वैकल्पिक लगानीका अवसरहरु खुम्चिँदै गएको वर्तमान परिस्थिति र राष्ट्रिय अर्थतन्त्रलाई समेत चलायमान बनाउदै आएकोे सवारीसाधनहरुको कर्जामा सीमा तोक्ने कार्य सम्बन्धित वाणिज्य बैँकहरुलाई नै दिने व्यवस्थाका लागि आवश्यक पहल गरिनुपर्छ । देश विकासको मेरूदण्ड हाम्रो जस्तो मुलुकमा सडक यातायात मात्र एउटा निर्विकल्प यातायतको माध्यम हो । बर्तमान विश्व परिबेशमा सवारी साधनहरु अत्यावश्यक बस्तुमा परिणत भएका छन् । सिद्धान्ततः सरकारले यस तथ्यलाई स्वीकार गरेको भएपनि सवारी साधनहरुलाई बिलासिताको श्रेणीमा राखि कर निर्धारण मात्र गरेको छैन अपितु हामीलाई गर्ने व्यवहार समेत सोही अनुरुप हुदै आएको छ । सवारी साधनहरुलाई विलासी बस्तुहरुको बर्गिकरणबाट बाहिर नल्याएसम्म सवारी साधनमा सर्बसाधारणको पहुँच पुग्न सक्दैन । सडक निर्माणमा राज्यले गरेको लगानी सडक यातायातको विकास र विस्तार नै अटोमोवाइल व्यवसायको आधार हुने भएकोले समग्र सडक विस्तारमा गरिएको लगानी सराहनिय छ । बनेका सडकहरुको गुणस्तरलाई पनि सरकारले यथोचित ध्यान दिनु पर्छ । डोलिडार अन्तर्गत निर्माण भएका सडकहरु मध्ये ३ दशमलब ५ प्रतिशत मात्र कालो पत्रे छ । २१ दशमलब ५ प्रतिशत कच्ची सडक छन भने बाँकी ७५ प्रतिशत सडक सञ्जाल अझै धुले नै रहेको छ । सरकारले अव ग्रामिण सडक निर्माण गर्दा पनि पर्याप्त चौडाइ भएको पुल र दुई लेनको सडक निर्माणलाई प्राथमिकता दिनु पर्दछ । सडक भनेको पूर्वाधारको पनि पूर्वाधार हो भन्ने मान्यतालाई सरकारले आत्मसातगरी भौतिक पूर्वाधारलाई विकास र समृद्धिको पुर्वसर्त हो भन्न थालेको कुरा विकास बजेटको २३ प्रतिशत हिस्सा सडक विभागको लागि छुट्याएबाट प्रस्ट हुन्छ । त्यसैगरी सरकारले अव मन्त्रालयमै सुरुङ्ग र फ्लाई ओभर महाशाखा समेत खोल्ने बताएको छ । सरकारले सडक निर्माण गर्दा तत्काललाई खर्चिलो देखिए पनि सुरङ्गमार्गलाई उच्च प्राथमिकतामा राख्नु पर्छ  । सरकारले सन् २०३० सम्ममा ७ लाख किलोमिटर सडक निर्माण गर्ने दिर्घकालिन योजना अगाडी सारेको छ भने, आगामी ५ बर्ष भित्र सडक निर्माण, मर्मत संभार र स्तरोन्नतीको लागि ८ खर्ब  खर्च गर्ने निर्णय गरेको छ । सरकारले भखरै रणनीतक महत्वका सडक योजनालाई थप बजेट दिने तयारी गरिरहेको छ । यद्यपी जति सडकहरु निर्माण भईरहेका छन् त्यसबाट सन्तुष्ट हुन सकिने अवस्था छैन, किन भने नेपालको जत्तिकै क्षेत्रफल रहेको बङ्गलादेशमा तीन लाख किलोमिटर सडक निर्माण भईसकेको छ भने नेपाल भन्दा आधा सानो श्रीलङ्कामा पनि तीन लाख किलोमिटर सडक सञ्जाल तयार भईसकेको अवस्था छ हिजो जुन जुन देशहरुले सडक निर्माणलाई उच्च गतिमा अघि बढाए, आज तिनै देशहरु विकसित देशहरुको समकक्षमा पुग्न सफल भएका छन् । यातायातका साधन र सडकलाई विश्वमा आर्थिक र सामाजिक गतिशिलताको द्योतक मानिन्छ । अहिले नेपालमा कूल २३ लाख सवारी साधनहरु छन् । त्यस मध्ये ७८ प्रतिशत मोटर साइकल मात्र रहेको छ । अहिलेपनि कूल जनसंख्याको झण्डै ७ प्रतिशतले मात्र मोटरसाइकलको सुविधा उपभोग गरिरहेको देखिन्छ भने कार, जिप र भ्यान जस्ता चारपाँगे्र सवारी साधनको हकमा केवल शुन्य दशमलब ७ प्रतिशतले मात्र उपयोग गरिरहेका छन् । अहिले हामीकहाँ बागमति, नारायणी, लुम्बिनी र कोशी अञ्चलमा मात्र कूल आयातको ७८ प्रतिशत यातायातका साधनहरु खपत हुने गरेको छ । यातायात, एउटा मुलुकको समष्टिगत रुपमा अर्थतन्त्र जोडने मात्र नभएर सामाजिक, राजनीतिक तथा भौगोलिक रुपमा एकताको सूत्रमा बाँध्ने माध्यम हो भन्ने हाम्रो मान्यता छ । राष्ट्रिय एकता र सार्वभौमसत्ताको चुरोमा सवल तथा सहज यातायात संञ्जाल रहेको हुन्छ । यातायात सञ्जाललाई हामीले यसै परिप्रेक्षमा बुझनु पर्ने हो । सहरबाट गाँउमा ट्रक जादा सामान भरिएर जाने, र आउदा रित्तै आउने प्रबृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन । अझ राजनीतिक दवावबाट सडक निर्माण गर्ने प्रबृत्ति आकाशिदो छ । राष्ट्रिय अर्थतन्त्रसंग जोडिएर मात्र सडक निर्माण गरिनु पर्छ ।  राजश्वमा योगदान अटोमोवाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व प्राप्त हुने क्षेत्र हो । नेपालमा गरिने व्यवसायहरु मध्ये सवैभन्दा बढी पारदर्शिता कायम भएको व्यवसाय पनि यही हो । यस बर्ष सरकारलाई सर्वाधिक आयकर बुझाउने कम्पनी पनि अटोमोवाइल क्षेत्र कै कम्पनी हो । अटोमोवाइल क्षेत्रले देशको कूल राजश्वमा १७ प्रतिशत र कूल कर राजश्वमा २० प्रतिशत योगदान पुर्याएको छ । भर्रखरै बिरगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व उठाउन नसकेको तथ्याङ्क बाहिर आएको छ । यसो हुनुमा सवारी साधनमा बैंकले लगानी नगर्दा व्यवसायीले सवरी साधन ल्याउन नसक्नुले भएको हो सडक मर्मत संभार दस्तुर, सवारी साधनकर लगायत नविकरण दस्तुर, पेट्रोलियम पदार्थमा लगाइएको सडक मर्मत शुल्क आदी सवैलाई जोडेर हेर्दा समग्रमा अटोमोवाइल क्षेत्रबाट ८० अर्ब भन्दा बढी राजश्व संकलन भएको देखिन्छ । चालु आबको ८ महिनामा यो अझै बढने देखिन्छ । यसरी देशको कूल ग्राहस्थ उत्पादनमा अटोमोवाइल क्षेत्रले राजश्व मार्फत ४ प्रतिशत योगदान दिएको छ । रोजगारी सृजना मार्फत राष्ट्रिय पुँजी निर्माणमा अटोमोवाइल क्षेत्रले सहयोग गर्दै आएको छ ।  राष्ट्रिय अर्थतन्त्र र रोजगारीको मेरुदण्ड भएपनि अटोमोवाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा भने परिवर्तन आउन सकेको छैन । अटोमोवाइल क्षेत्रसंग सम्बन्धित नीतिगत विषयहरुमा नाडाको कुनै संलग्नता नहुनुले यसलाई प्रमाणित गर्दछ ।  सडक निर्माण, मर्मत तथा सम्भार दस्तुर, सवारी साधन तथा इजाजत दस्तुर शीर्षकमा उठेको राजश्व शहरी सडक निर्माण र मर्मतमा मात्र सदुपयोग होस भन्ने हाम्रो मान्यता हो । सडक सुरक्षा नेपालमा सडक दुर्घटना भयावह समस्याको रुपमा देखा परेको छ । दुर्घटना पूर्र्णतः रोक्न नसकिने विषय भएपनि यसलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ । नेपालमा सवारी साधनहरुको अवस्था जाँच गर्ने भेहिकल फिटनेश सेण्टरको अभावले सवारी साधनको अबस्था समेत छुट्याउन सकिएको छैन । सार्वजनिक सवारी चालकहरुका लागि विशेष व्यवस्था गर्न जरुरी भइसकेको छ । सवारी दुर्घटनालाई हामीले नियमित आकस्मिकताको रुपमा लिएर बस्नु परेको छ । सामान्यतः सवारी सञ्चालनका लागि प्राविधिक रुपमा अनुपयुक्त ग्रामिण भेगका सडकहरुमा सवारी साधनहरु चलाइदा बढी मात्रामा सडक दुर्घटना हुने गरेको देखिन्छ । सामान्यतया एउटा ट्राफिक बराबर १५० जति गाडी पर्नु पर्नेमा काठमाडौंमा एक जना ट्राफिक प्रहरी बराबर ८५० जति गाडी पर्न आउने तथ्याङ्क रहेको छ । अनि कसरी ट्राफिक प्रहरीले सडक व्यवस्थापन गर्न सक्छ ? ट्राफिक प्रहरीलाई दिइने अधिकार पनि संकुचित गरिएको छ । सरकारले यथासंभव राजधानीको ट्राफिक व्यवस्थापनलाई क्रमशः आधुनिक प्रविधिमा लैजाने र हालका लागि ट्राफिक प्रहरीको संख्या थप्नु पर्ने देखिन्छ । राजधानीमा बढदो जनसंख्या, उद्योगधन्दा र सवारी साधनहरुका कारण वातावरणीय समस्या पनि त्यहि अनुरुप बढदै गएको छ । सरकारले वातावरणीय शुरक्षाका लागि देशभरी ५६ वटा एयर क्वालिटी मोनिटरिङ स्टेशन स्थापना गर्ने निर्णय गरेको थियो । भर्खरै सरकारले राजधानीमा दुईवटा त्यस्ता स्टेशन निर्माण गरेको जानकारी हामीलाई प्राप्त भएको छ । २०६६ सालको आर्थिक ऐन मार्फत पेट्रोलियम पदार्थमा प्रति लिटर पचास पैसा शुल्क लिएर प्रदुषर्ण नियन्त्रणमा खर्च गर्ने भने पनि हालसम्म संकलन भएको करिब ४ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । सरकारले हाल पेट्रोलियम पदार्थको मौज्दात ३ महिनासम्मलाई पुग्नेगरी स्टक क्षमता बढाउन लागेको प्रयास स्वागत योग्य छ । अहिले यातायात व्यवस्थापनको जिम्मा पाएका आधा दर्जन भन्दा बढी सरकारी निकायहरुविच जिम्मेवारी र अधिकार स्पष्ट किटानगरी उनिहरु विच समन्वय कायम गरेमा मात्र हालको ट्राफिक समस्यालाई समाधान गर्न सकिने देखिन्छ ।  योजनाबद्ध रुपमा सडक निर्माण सुरु भएको ६० बर्षमा देशभर निर्माण भएको कूल सडक मध्ये १.३५ प्रतिशतको मात्र रोड सेफटी अडिट भएको पाइएको छ । अहिले देशभर रणनीतिक र ग्रामिण समेत गरेर ८० हजार ४ सय ९५ किमि सडक निर्माण भएको छ । त्यस मध्ये १ हजार ९० किमि सडक मात्र रोड सेफटी अडिट भएको छ । सडकको डिजाइन चरण मै यस्तो परीक्षण गरेमा कम खर्चिलो र दुर्घटना न्यूनिकरणमा समेत सहयोग पुग्छ । सरकारले देशको समुचित सडक शुरक्षाको लागि सडक सुरक्षा परिषद गठन गरेको थियो । त्यो परिषदलाई सक्रिय बनाउन आवश्यक पहलको अपेक्षा गरेका छौं । हाम्रो अपिल सरकारले पेट्रोलियम पदार्थको आयातमा प्रति लिटर पाँच पूर्वाधार कर लगाउने जुन व्यवस्था गरेको छ त्यो स्वागत योग्य छ । तर त्यो करको भार उपभोक्ताले नभई स्वंय नेपाल आयल निगमले नै समायोजन गर्ने गरी हुनु पर्ने हाम्रो धारणा छ । बजेटमा सवारी साधनहरुको मूल्याङ्कनका सम्बन्धमा जुन निर्णय गरिएको छ त्यसबाट देशमा फेयर ट्रेडलाई अवश्य नै टेवा पुग्नेछ । बजेटमा पशुपालन तथा दुग्ध व्यवसायलाई प्रोत्साहन दिन माछा मासु ढुवानी गर्ने गाडी तथा दुध ढृवानी गर्ने टयाङ्करमा एक प्रतिशत मात्र भन्सार महशुल लाग्नेछ । ग्यास आपूर्ति गर्ने बुलेटमा भन्सार महशुलमा दुई तिहाई छुट दिने व्यवस्थाले ती बस्तुहरुको व्यवसाय विस्तारमा सहयोग पुग्नेछ । सरकारले सार्वजनिक यातायातको रुपमा प्रयोग हुने सवै प्रकारका ठूला विद्युतिय सवारी साधन तथा रेफ्रिजेटीङ्क सिष्टम फीट हुने सवारी साधनको पैठारीमा लाग्ने अन्तःशुल्क पुरै छुट दिई १ प्रतिशत मात्र भन्सार लाग्ने र निजी प्रयोगका विद्युतिय सवारी साधनको पैठारीमा अन्तःशुल्क पुरै छुट दिई १० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्थाले वातावरणको शुरक्षामा सहयोग पुग्नेछ । अन्य सवारी साधनहरुमा जस्तै इलेक्ट्रीकल भेहिकलको प्राविधिक मापदण्ड निर्धारण लगायत त्यसमा प्रयोग भईसकेका व्याट्रीहरुको समुचित व्यवस्थापनका लागि आवश्यक नीति नियमको तर्जुमा गरी त्यसको कडाईका साथ पालन गर्ने व्यवस्था गर्नु पनि उत्तिकै जरुरी छ । सरकारले नेपाल मै अटोमोवाइल उद्योगको विकासको लागि मोटरसाइकल जस्ता दुई पागें्र सवारी साधनहरुमा अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिए जस्तै चारपागे्र सवारी साधनको एसेम्ब्लिङ्ग उद्योगको स्थापनाका लागि पनि सोहि बमोजिम छुट दिइनुपर्छ ।  सरकारले सवारी साधनहरुको उत्पादन वा एसेमब्लिङ्ग उद्योगहरुको स्थापना गर्न आवश्यक प्रोत्साहनको व्यवस्था गर्ने भनिए पनि त्यसका लागि प्रोत्साहन हुनेगरी कुनै नीतिगत सुविधाको व्यवस्था भने गरिएको छैन । सवारी साधनहरुको उत्पादनमा ठूलो लगानीको आवश्यकता हुने र अटोमोवाइल व्यवसायको प्रवद्र्धनमा सघाउ पुग्ने स्थितिमा सरकारले मोटर साइकलको स्थानिय उत्पादनमा पचास प्रतिशत र अन्य सवारी साधनको स्थानिय उत्पादनमा लाग्ने अन्तःशुल्कमा पच्चिस प्रतिशत छूट दिने व्यवस्था गरे जस्तै सवारी साधनहरुको स्थानिय उत्पादनमा पनि ५० प्रतिशत अन्तःशुल्क महशुल छुट दिने व्यवस्था आवश्यक छ । नेपालको कर तथा भन्सार प्रणालीबारे पनि केहि भन्नै पर्नेछ । सुशासन विना कर प्रशासन तथा भन्सार प्रशासन प्रभावकारी बन्न नसक्ने भएकोले यसको समसामयिक सुधार वाञ्छनिय छ । कर प्रणालीलाई निजीक्षेत्र मैत्रि बनाउने सरकारको प्रयाुस सार्थक बन्न सकेको छैन । कर प्रणालीको सम्बन्धमा विश्व व्यापार संङ्गठन, विम्सटेक र साफटा जस्ता अन्तर्राष्ट्रिय संगठनहरुको निर्णयलाई राष्ट्रिय नीतिमा समायोजन गर्न ढीलाई भइरहेको छ । त्यसैगरी कर प्रणालिलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार बनाउन सकिएमा अटोमोवाइल क्षेत्रमा पनि विदेशी लगानी ल्याउन सहज हुने देखिन्छ । भर्खरै लागु भएको आयात कर्ता तथा निर्यात कर्ताले लिनु पर्ने एक्जीम कोडको व्यवस्थाले नेपालको आयात निर्यात प्रणालीलाई व्यवस्थित गर्न सघाउ पुग्नेछ । तर एक्जिम कोड लिनको लागि बैङ्क ग्यारेण्टि राख्नु पर्ने व्यवस्था खारेज गरिनु पर्ने हाम्रो माँग छ । त्यस्तै सरकारले आसिकुडा वर्डको प्रयोगलाई सवै भन्सार कार्यालयहरुमा क्रमशः लागु गर्दे लैजाने प्रयास निश्चय नै सराहनिय छ । सरकारले भन्सार सुधारका लागि जुन ४ बर्षे दिर्घकालिन कार्ययोजना ल्याएको छ त्यो स्वागतयोग्य छ । (नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष श्रेष्ठले नाडाको ४० औं बार्षिक साधारण सभामा व्यक्त विचारबाट)

विश्वव्यापिकरणको फाइदा र राष्ट्रवाद एवं संरक्षणवादकाे पीडा

विश्वव्यापिकरणको पक्षमा म पूँजीवादी भएको कुरा मैले अंगिकार गर्नुपर्छ ।  मेरो विचारमा धर्म, देश र मानिस बीचको क्रमश अन्तरसम्बन्धको प्रकृया नै हाम्रो समयको सबैभन्दा सकारात्मक विकास हो । तर अहिले जनवादीले अमेरिकाको नेतृत्वलाई अति आर्थिक राष्ट्रवाद र संरक्षणवादको संज्ञा दिएको छ । र कैयौं मुलुकमा बढ्दो जनवादी असन्तुष्टीलाई पुरा गर्न कथित नयाँ नीतिहरुको आवश्यकता साझा बहसको विषय बन्ने गरेको छ । मैले यो धरतीमा पाइला टेक्दा विश्वको जनसंख्या दुई अर्ब पचास करोड थियो । म स्पष्ट रुपले मेरो स्मरण गर्न चाहन्छु त्यतिबेला धेरै मानिसहरु भोकमरी, धनी-गरिब बीचको अन्तर र सबै कुरा सखाप हुने कुरा सोचेर डराउथे । अहिले हामी सात अर्ब पचास करोड जनसंख्या माझ छौं र पूर्णरुपमा गरिबी द्रुत रुपमा घटेको छ र धनी र गरिब बीचको दुरी पनि घटेको छ । विश्वभर मानिसको औषत आयु ४८ वर्षबाट बढेर ७१ वर्ष पुगेको छ र प्रति व्यक्ति आय दर पनि पाँच सय प्रतिशतले बढेको छ । पछिल्लो २५ वर्षको अवधी हेर्दा मानवताले उत्कृष्ट  समय बिताएको सहर्ष स्वीकार्न सकिन्छ । सन् १९९० देखिको मूल्यांकन गर्दा गरिबी ४७ बाट १४ प्रतिशतमा झरेको छ भने शीशु मृत्युदर आधा कममा झरेको छ । प्रतिव्यक्ति अम्दानी ५०० प्रतिशतले बढेको छ । यति छेडे अविधिमा यति धेरै परिवतर्न विगतमा कहिल्यै भएके थिएन । त्यस्तै अन्य सूचकांकले पनि चहकिलो चित्र कोरेको छ । विगतका तुलनामा युद्ध मैदानमा मारिनेको संख्या पनि घटेको छ जसको हामीसँग तथ्यांक छ । केही वर्षअगाडी पनि जनप्रतिनिधि सरकारको संख्या पनि क्रमश बढ्दो छ । यी चमत्कारी प्ररिवर्तनको आशिंक रुपमा श्रेय विज्ञान तथा प्रविधिलाई जान्छ । यद्दपी कम्तीमा व्यापार तथा लगानीबाट बढ्दो आर्थिक अन्तरक्रियालाई पनि यसको कृतज्ञता मिल्छ । संक्षिप्तमा दशकौंको उपलब्धीको मुख्य कारण विश्वव्यापिकरण नै हो । विगतमा प्राय व्यापारलाई विकसित मूलुकहरुमा उद्योग बन्द गर्ने र कर्मचारीलाई विस्थापित गर्ने जस्ता गलतरुपमा आरोप लगाइयो । तर वास्तवमा पुराना कारखानालाई नयाँ प्रविधिले विस्थापित गरेर उत्पादनशीलतामा सुधार ल्याएको छ र समाजको पूँजीलाई पनि विस्तार गरेको छ । त्यसबाहेक, वास्तविकरुपमा वा कल्पितरुपमा होस् बढ्दो असमानताका कारण व्यापार भन्दा प्रविधिमा जोड दिनु आवश्यक छ । अहिलेका किसान शताब्दी पहिलेका जस्ता छैनन् । ती उद्योगका पुस्ताहरु सहरोन्मुख क्षेत्रको विकासमा लागिपरेका छन् । केहि दशक पहिले त्यहा रोजगारीको कल्पना समेत गर्न सकिदैनथ्यो । अहिले तिनले त्यही रोजगारी पाएका छन् । विश्वव्यापिकरणको स्थापना हुनुअगाडि विश्वका अधिकांश मानिसको अवस्था नाजुक, कष्टकर र छोटो आयुको थियो । र अहिले पनि विश्वव्यापिकरण विरोधीहरु विगतलाई सम्झेर रुने कराउने गरेको पाइन्छ । तिनीहरु अमेरिका, रुस वा इस्लामलाई तथाकथित ‘महान’ बनाउन चाहन्छन् । प्रत्येकले एक अर्काको विरुद्य आवाज उठाउने गर्छन् तर तिनीहरुले विश्वव्यापिकरणको उपहास गरिरहेका छन् । सन् २००८ को आर्थिक मन्दी लगायतका वर्षमा आर्थिक अवस्था निश्चितै अनुकुल थिएन तर समग्र क्षेत्रमा अहिले रोजगारी र आर्थिक क्षेत्रमा सकारात्मकरुपमा उलटपुलट भएको छ । युरोपली क्षेत्रमा जिडिपिको उल्लेखनिय मात्रामा वृद्धि भइरहेको छ र आगामी वर्षहरुमा पनि बढ्ने संकेत देखिएको छ । त्यस्तै अमेरिकाको अर्थतन्त्रपनि राम्रो भएको छ । बेरोजगारी पाँच प्रतिशतले कम छ र आय पनि बढ्दो छ । पक्कैपनि धेरै समाजले अप्रत्याशितरुपमा परम्परागतरुपमा असुरक्षित महसुस गर्नुपरेको छ। बाह्य शक्ति जस्तो कि बसाइसराइले शान्ति र स्थिरताको परम्परागत स्रोतलाई नष्ट पार्छ भन्ने धेरै मानिसलाई के विश्वास दिलाइएको छ । यस्तो सोचले विश्वका सबैभन्दा असुरक्षित मानिसलाई गम्भिररुपमा आतंकित पारेको छ । सन् २०३० सम्ममा चरम गरिबीलाई लुप्त पार्ने संयुक्त राष्ट्र संघको (युएनएसडि) अभियान व्यापार, प्राविधिक आविष्कार र अन्तराष्ट्रिय सहकार्यमार्फत हुने निरन्तर आर्थिकवृद्धिमा पूर्णरुपमा निर्भर छ । व्यापार अवरोध खडा गर्ने, डिजिटल व्यापारिक प्रणाली अपनाउने र स्वतन्त्र विश्वलाई नष्ट पार्ने प्रयत्न जस्ता कामले अफ्रिका लगायत विभिन्न अविकसित क्षेत्रका विभिन्न चरम गरिबलाई नोक्सान पुर्‍याएको छ । यसले पश्चिम भरजिनियाका कोइला खानीका मजदुरलाई पनि असर पारेको छ । बलियाले सधै आफ्नो व्यवस्था मिलाउछ तर कमजोरले गनगने संरक्षणवादको भार बहन गर्नुपर्छ जसले विश्वव्यापिकरणको सुविधालाई खेर फाल्छ । विश्व यस वर्ष ड्याभोसमा भएको आर्थिक सम्मेलनको वार्षिक बैठकमा चिनियाँ राष्ट्रपति सि जिङपिङबाहेक अरु पश्चिमी व्यापारी नेतृत्वले विश्वव्यापिकरणको सराहना गरेन । कम्युनिष्टहरुले नै विश्वव्यापिकरणमा विश्वास राखिरहेको बेला पूँजीवादीहरुले गुमाएको अवस्था छ । यो विचित्र छ र विगतको क्रियाकलाप र अहिलेको तथ्यसँग नितान्त फरक छ । हामीले प्रकृयाको सराहना गर्नुपर्ने अनेक कारणहरु छन् । केहि दशक अगाडि कल्पना गर्न नसकिने अवस्थाको समृद्धि पाएका छौं । विश्वव्यापिकरणको वकालत  र प्रतिकृयावादी गुनासाहरुको विरोध गर्न हिचकिचाउन जरुरी छैन । हामीले उज्ज्वल भविष्य प्राप्त गर्न सक्छौं तर यसलाई विगतमा खोज्नु भएन । (बिल्ट स्विडेनका पूर्व प्रधानमन्त्री तथा विदेश मन्त्री हुन्  र उनकाे विचार प्रोजेक्ट सिन्डिकेटबाट अनुबाद गरिएकाे हाे ।)    

डाेनाल्ट ट्रम्पकाे उदय र उदार अन्तर्राष्ट्रियवादको मृत्यु

टोनी स्मिथ मेडफर्ड। एक सय वर्ष अगाडि यसै महिना, पहिलो विश्वयुद्धमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा अमेरिकी राष्ट्रपति उड्र विल्सन चिन्तित थिए । केही महिना अगाडि विल्सनले तटस्थताको नीतिका विषयमा समेत अभियान सञ्चालन गरि पुनः निर्वाचन जितेका थिए र अब उनी ‘‘अमेरिका प्रथम’’ भन्ने नाराका साथ त्यसलाई परित्याग गर्ने तयारीमा थिए । उल्सनले अलवम्बन गरेको सिद्धान्तको प्रत्यक्ष विपरीत विदेश नीतिको अडान प्रबर्धन गर्न ८० वर्षभन्दा बढी समयपछि पहिलो पटक अमेरिकी एक राष्ट्रपतिले उक्त कुरालाई पुनः लिएका छन् । उक्त युद्धपछि सन् १९१९ पछि मात्र विल्सनले ‘‘उदार अन्तर्राष्ट्रियतावाद’’ का विषयमा आफ्नो विदेशनीतिको दृष्टिकोण परिभाषित गरेका थिए । यसको अर्थ अन्त्यमा अमेरिकामा भर पर्ने बहुराष्ट्रिय संस्थाहरूको एउटा प्रणालीले नियमन गर्ने, प्रजातान्त्रिक मुलुकहरूबीच सामूहिक सुरक्षालाई सहयोग गर्ने र खुला बजार प्रवर्धन गर्ने विदेश नीति भन्ने लाग्थ्यो । अमेरिकी संसदको माथिल्लो सभा सिनेटले आरम्भमा विल्सनको दृष्टिकोण र विशेष गरि लिग अफ नेसन्समा समावेश हुने कुरालाई अस्वीकार गरे पनि सन् १९३३ पछि फ्र्याङ्कलिन रुजवेल्टले उदार अन्तर्राष्ट्रियतावादलाई पुनः स्थापना गरे । ट्रम्पभन्दा अगाडिसम्म अमेरिकी प्रायः राष्ट्रपतिको विदेशी नीतिलाई आकार दिन यसले सहयोग गरेको थियो । ट्रम्पले वकालत गर्ने ‘‘अमेरिका प्रथम’’ भन्ने मार्गले नेटोप्रति घृणा गर्छ, युरोपेली युनियनको अपहेलना गर्छ, र युरोपमा जर्मनीको नेतृत्वप्रति उपहास गर्छ । यसले आर्थिक खुलापनलाई पनि अस्वीकार गर्छ र यो कुरा ट्रान्स प्यासिफिक पार्टनरसिप (अन्तरप्रशान्त साझेदारी)बाट फिर्ता हुने ट्रम्पको कार्य, नर्थ अमेरिकन फ्री ट्रेड एग्रिमेन्ट (उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता) का विषयमा पुनः वाता गर्ने आग्रह तथा पेरिस मौसम सम्झौताबाट फिर्ता हुने बचनमा प्रतिविम्बित हुन्छ । विल्सनभन्दा भिन्न रूपमा ट्रम्पले अन्य प्रजातान्त्रिक मुलुकहरूसँग सम्बन्ध कायम गर्ने र त्यसलाई गहिरो बनाउनुको कुनै मूल्य देखेका छैनन् । त्यसको सट्टा उनी निरङ्कुश नेता र विशेष गरि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनतर्फ तानिएको देखिएको छ र प्रजातान्त्रिक नेताहरूले आफ्नो समूहबाट उनी प्रायः निक्लिएको देखेका छन् । घरेलु लागतलाई कुनै ध्यान नदिई अमेरिकी बैङ्क तथा व्यापारले पूँजी, प्रविधि तथा रोजगारी आफूले चाहे अनुसार निर्यात गर्नसक्छन् भन्ने कुरा वास्तवमै समस्याजनक छ । निश्चय पनि यदि विल्सन आज जीवित भएको भए र उनको प्रस्तावित समाधान निकै कठिन भए पनि ट्रम्पका केही नीतिलाई समर्थन जनाउने थिए । उदाहरणको रूपमा हाल विश्वव्यापी बजार खुलापनको स्तर सीमाभन्दा पनि बढी छ भन्ने कुरामा विल्सनले ट्रम्पप्रति सहमति जनाउने थिए होला । घरेलु लागतलाई कुनै ध्यान नदिई अमेरिकी बैङ्क तथा व्यापारले पूँजी, प्रविधि तथा रोजगारी आफूले चाहे अनुसार निर्यात गर्नसक्छन् भन्ने कुरा वास्तवमै समस्याजनक छ । तर विल्सनको समाधान प्रजातान्त्रिक मुलुकको प्रभावमा अन्तर्राष्ट्रिय प्रक्रियामा सुधारिएको नियमनको विकास र कार्यान्वयनमा केन्द्रित हुने थियो जस्तो देखिन्छ । यसै गरि उनले सम्भवत सामूहिक भलाई गर्ने, धनी कम्पनी तथा घरपरिवारको लगानीमा बढी कर लगाउने, आधारभूत संरचना विकास गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने र सर्वव्यापी स्वास्थ्य सेवा उपलब्ध गराउने कुराप्रति लक्षित वित्तीय नीतिको वकालत गर्ने थिए होला । छोटकरीमा भन्दा अमेरिकी डमोक्र्याटिक सिनेटर एलिजावेथ वारेन तथा नोबेल पुरस्कार विजेता जोसेफ स्टिगलिजले भने जस्तै व्यापक जनताको समृद्धि गराउने सामाजिक कल्याण प्रणालीप्रति बढी ढल्किएको कार्यक्रमलाई विल्सनले समर्थन जनाउने थिए होला । यसको विपरीत ट्रम्प धनी व्यक्तिलाई कम कर लगाउने कुराको वकालत गर्छन् र उनले संरक्षणवादी नीति तथा अमेरिकामा उत्पादन गर्ने कम्पनीलाई विशेष प्रोत्साहन मार्फत परिवारवादी पूँजीवादी नभए पनि राज्यवादी पूँजीवाद अवलम्बन गर्न चाहेको देखिन्छ । प्रजातन्त्र भनेको विश्वव्यापी आकर्षण भएको विश्वव्यापी मूल्य हो भन्ने कुरा हामी ठान्न सक्दैनौँ भन्ने ट्रम्पको अर्को तर्कलाई विल्सनले पनि समर्थन गर्नसक्थे । राष्ट्रपति जर्ज डब्लु बुस तथा बराक ओबामा अन्तर्गत उपयोगमा ल्याइएको मुलुक तथा राज्य निर्माणको आदर्शवादी सूत्रलाई ट्रम्पले झै सम्भवत विल्सनले पनि परित्याग गर्ने थिए । यहाँ पनि फरकपना समानताभन्दा निकै अधिक हुन्थ्यो । अमेरिकाले ठोस केही नपाएसम्म बाँकी विश्वका विषयमा ध्यान दिनु हुँदैन भनि ट्रम्पले निर्णय गरेका छन् । त्यसको विपरीत विल्सनले अप्रत्क्ष रूपमा लिग अफ नेसन्स मार्फत काम गरी विश्व शान्तिका लागि प्रजातन्त्र विस्तार गर्न चाहेका थिए । उनले अन्तर्राष्ट्रिय संस्था, कानुनी राज्य, सामूहिक मूल्य तथा संभ्रान्त वर्गले लिएको प्रजातान्त्रिक दृष्टिकोणले सामुहिक सुरक्षा तथा द्वन्द्वको शान्तिपूर्ण समाधान सुनिश्चित गर्नसक्छ भन्ने कुरामा विश्वास गरे । त्यसले ‘‘अमेरिकी शान्ति’’ (प्याक्स अमेरिकाना) को आरम्भ गराउने र अन्त्यमा त्यो ‘‘प्रजातान्त्रिक शान्ति’’ (प्याक्स डेमोक्र्याटिका) बन्ने विश्वास उनले गरेको थिए । यो दृष्टिकोण अमेरिकी ‘‘अपवादवाद’’ मा आधारित छ । अमेरिकाको विश्वव्यापी शक्तिका कारण यसलाई सबै प्रमुख अन्तर्राष्ट्रिय मुद्दाको पक्ष बनाउँछ भन्ने ‘‘अपरिहार्य मुलुक’’ को रूपमा बिल क्लिन्टनले साधारणतया उल्लेख गरे जस्तै यो त्यस्तो दाबी होइन । अमेरिकाले सङ्कीर्ण आत्मअभिरुचि भन्दा बाहिर विशेष गरी विश्वका प्रजातान्त्रिक मुलुकबीच शान्ति, सहयोग र समृद्धि हेर्ने भएकाले यसले अन्य मुलुकभन्दा फरक अपेक्षा गर्नसक्छ भन्ने पनि हो । विल्सनको नेतृत्वलार्इ अमेरिकी सबै राष्ट्रपतिले पालना गरेका छैनन् । उदार अन्तर्राष्ट्रियवादको बचनलाई सन् १९२० मा वारेन जी हार्डिङको निर्वाचनपछि र सन् १९३३ मा फ्र्याङ्कलिन डी रुजवेल्टले पदसम्भालेसम्म तीन राष्ट्रपतिको प्रशासनले अबलम्बन गरेका थिएनन् । ट्रम्पले पनि यसलाई स्वीकार गरेका छैनन् । ‘‘आजको दिनदेखि हाम्रो भूमिमा नयाँ दृष्टिकोण लागु हुनेछ’’, ट्रम्पले आफ्नो उद्घाटन भाषणमा घोषणा गरेका थिए । ‘‘आज को दिनपछि अमेरिका प्रथम मात्र अगाडि बढ्नेछ ।’’ यसो भए पनि विल्सनको दृष्टिकोणलाई अमान्य ठान्न त्यति सजिलो हुने छैन । बिसौँ शताब्दीमा महामन्दी, दोस्रो विश्वयुद्ध तथा शीत युद्धमा अमेरिकी नीति निर्माताहरू उदार अन्तर्राष्ट्रियतावाद अवलम्बन गर्न अभिप्रेरित भए । आज पनि उथलपुथलको यो विश्वले यसको गहन तथा दिगो आकर्षणलाई पुनः स्थापना गर्ने देखिन्छ । (टोनी स्मिथ टफ्ट्स विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक हुन् )  रासस/प्रोजेक्ट सिन्डिकेट