एनआरएन प्रतिनिधिको गतिविधिः विदेशमा बस्ने ८० लाख नेपालीहरु लज्जित

प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका भनेका थिए नेपालीले चान्स पायो भने गर्छ । जुन कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभूमिमा एनआरएन सम्मेलन मार्फत पुष्टि गरिदिए । विदेशमा बस्दा कडा अनुसाशनमा बस्नु परेकाहरु नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीहरुझै देखा परे र त्यस्तै व्यवहोरा देखाए । उनीहरु मातृभुमिको भौतिक सम्पत्ति तोडफेड गर्नेदेखि गुण्डागर्दीसम्म उत्रिए, जस्ले गर्दा विदेशमा बस्ने ८० लाख नेपालीहरु लज्जित हुनु परेको छ । आफुहरु विदेशमा बस्दा विदेशको उदाहरण दिंदै नेपालभित्रको बेथिति, अनुशासनहीन, अन्याय, अत्याचार, भ्रष्टाचारबारे सामाजिक सञ्जाल मार्फत चर्को आलोचना गर्नेहरुले विदेशमा बसेर चाँही के सिकेछन् भन्ने कुरा एनआरएनको नवौं सम्मेलनमा विभिन्न देशबाट नेपाल गएका प्रतिनिधहरुले देखाएको तमासा लाजमर्दो, अमर्यादित छ । यस घटनाले कुकुरको पुच्छर १२ बर्ष ढुङ्ग्रोमा हालेपनि बाङ्गाको बाङ्गै भने झैं बिदेशमा जति वर्ष बसेपनि नेपालीहरुको बानी व्यहोरा जस्ताको तस्तै देखायो । हैनभने यही बेलामा आफुसंग भएका बौद्धिक योग्यता, सीप, दक्षता, क्षमता देशहितको लागि किन प्रस्तुत गर्न सकेनन् चिन्ताको विषय छ । किन आर्थिक सहयोग गर्न सकेनन् विपन्न परिवारलाई ? सोचनीय छ । के यसैको लागि नेपाल छनौट गरिएको हो सम्मेलनको लागि ? जाबो एउटा विद्युतीय भोटिङ मेसिन समेत व्यवस्था गर्न नसक्ने एनआरएनले के चाँही गर्ला चिन्ताको विषय छ । हुन् त पद बिना भोक, प्यास, निन्द्रा समेत नलाग्ने केही नेपालीहरु विदेशमा पहिलो पाइला टेक्ने बित्तिकै संघ संगठन खोल्नतिर लाग्छन् । २-३ घरका नै जम्मा भएर किन नहोस् उनीहरु एउटा न एउटा नाम दिएर संस्था खोलीहाल्छन् । जातीको नाममा, भाषीको नाममा, जिल्लावासीको नाममा, पार्टी विचारधारको नाममा मात्रै हैन कि पछिल्लो समयमा त एउटै थरको नाममा समेत संस्था खोलिन थालेका छन् । तर, बिडम्वना सबै नेपाली अटाउने संगठन अझसम्म खोलिएका छैनन् । १६ वर्ष अगाडि स्थापना भएको एनआरएन चाँही विगतमा हो कि जस्तो थियो, तर अहिले आएर त्योपनि भ्रम रहेछ । राजनीतिक आस्था भएकाहरुले एनआरएन भित्र उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि आम गैर आवासीय नेपालीहरुमा वितृष्णा जाग्दैछ । यसरी राजनीतिक आस्था भएकाहरुले उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि के फरक रह्यो र कांग्रसको जनसम्पर्क समिति, कम्युनिष्टको प्रवासी नेपाली मञ्च तथा एनआरएनमा ? अनिलभक्त खरेल विदेशमा आएको लामो समय भएपनि नेपालको नशाबाट नउत्रिएकाहरुले आप्mनो श्रमलाई ढाकछोप गर्दै नेपालमा झैं आफुलाई सञ्चारकर्मी, पत्रकार, कलाकार, साहित्यकार, पार्टीको पदाधिकारी सम्झिएर एनआरएनमा सक्रिय भएपछि एनआरएन यस्तो अवस्थामा आएको हो भन्दा अत्युक्ति नहोला । यसरी राजनीतिक पार्टीका झुण्डहरु बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनप्रति सबैको बितृष्णा जाग्नु त स्वभाविकनै हो । कतै त्यही तत्वहरुले एनआरएनलाई मागी खाने भाँडो त बनाइरहेका छैनन् भन्ने अहिले ठूलो प्रश्न चिन्ह खडा भएको छ एनआरएनमा लाग्नेहरुका लागि । यसरी आफ्नो हैशियत र क्षमता भुलेर हावा तालमा नेपालका राजनीतिक पार्टीका पछाडि लागेर सपनाको महल बनाउन तल्लीन एनआरएनप्रति विदेशमा बस्ने आम नेपालीहरुको खास चासो छैन । एनआरएनप्रति विदेशमा बस्ने नेपालीहरुको मात्र हैन कि नेपालमा रहेका नेपालीहरु र सरकारले पनि चासो दिएका छैनन् । जुन पुष्टि समेत भैसकेको छ । यदि चासो दिएको हुन्थ्यो भने चिनियाँ राष्टपति आउँदा बनाइएका ३ दिने विकासलाई १० दिने बनाउन सक्थ्यो । चिनियाँ राष्टपतिको विदाइसंगै सडकका दायाँ बायाँ रहेका सजिसजावट हटाइने थिएनन् । राष्टपतिले कार्यक्रम उद्घाटन गर्नु मात्रै ठूलो उपलब्धी हैन । आफ्नो घरमा पाहुना आउँदा स्वागत गर्न कन्जुस्याई गर्नेहरुले भोलि भिजिट नेपाल २०२० कसरी सफल पार्लान् त्यो पो चिन्ताको विषय भएको छ । – भर्जिनिया

दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिट्टै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा सानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरै पटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु । यस्तो रमाइलो भूमिमा आई नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न म आतुर छु । आशा छ, हामी द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ खाका योजना बनाउन सक्नेछौं । चीन र नेपाल पहाड र नदीले जोडिएका छन्, युगौंयुगदेखि नै यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । करिब १६ सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियान र नेपाली महान भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद गरेका थिए । चीनको थाङ राजवंशका पालामा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह भएको थियो । महान भिक्षु स्यवीयान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृतान्त लेखेका थिए । य्वीयान राजवंशमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा श्वेत स्तूपको निर्माण गरेका थिए । युगौंयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका यी केही उदाहरणहरू हुन् । चीन र नेपालबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका छन् । हामीबीचको यस्तो पारस्परिक सम्मान, मैत्रीपूर्ण सहयोगको सम्बन्ध छिमेकी मुलुकहरूबीचको राम्रो सम्बन्धको नमुना बनेको छ । चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र हुन् । शान्तिपूर्ण सहअस्तित्वका पाँचवटा सिद्धान्तका आधारमा दुवै पक्षले सफलतापूर्वक दुई देशबीचको सीमालाई रेखांकित गरी हिमालयलाई दुई देशबीचको बलियो स्तम्भ बनाएका छन् । दुवै पक्षले एकअर्काको मुख्य चासोका विषयलाई दृढताका साथ समर्थन गर्दछन् । नेपाल एकमात्र चीनको नीतिमा अडिग रहेको छ र त्यसको दृढताका साथ पालना गरेको छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरोधी गतिविधि सञ्चालन गर्न दिएको छैन । चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्था अनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ । चीन र नेपाल आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार हुन् । दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महत्त्वपूर्ण साझेदार हो । गत वर्षमा द्विपक्षीय व्यापार परिमाण १.१ अर्ब अमेरिकी डलर पुगेको थियो । चीनले नेपालमा ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको थियो । नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दैछ । यसरी हिमालय वारिपारि ‘कनेक्टिभिटी नेटवर्क’को निर्माण विस्तारै हुँदैछ, जसबाट दुवै देशमात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुनेछ । चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकी हुन् । लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडानहरू छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिहरूले एकअर्काको देश भ्रमण गर्दछन् । हाम्रा दुई देशबीच ११ जोडी भगिनी सहरहरू बनिसकेका छन् । दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशका विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् । चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् । सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछवानमा विनाशकारी भूकम्प गएपछि नेपाल सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पुर्‍याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चीन सरकार र चिनियाँ जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चातको पुनर्निर्माणमा पनि सहयोग पुर्‍याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण हुन् । वर्तमानमा नेपाल सरकार र नेपाली जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढिरहेका छन् भने चीन सरकार र चिनियाँ जनता ‘दुईवटा सय वर्ष’ लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेका छन् । चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ । एकसाथ रही हामीले गर्नुपर्ने कामहरू यी हुन्– रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु : नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ । यसका लागि उच्चस्तरीय आदानप्रदान कायम गर्नुपर्छ । आपसी राजनीतिक विश्वास बढाउनुपर्दछ । एकअर्काको मुख्य चासोका विषयहरूमा आपसी सहयोगलाई अझै सुदृढताका साथ जारी राख्नुपर्दछ । देशको सुशासन तथा विकासको अनुभवसम्बन्धी आदानप्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नुपर्दछ । व्यावहारिक सहयोगको विस्तार गर्नु : दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनुपर्दछ । चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यत: व्यापार र लगानी, पुनर्निर्माण, ऊर्जा, पर्यटन– यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको छ । दोस्रो, चिनियाँ अन्तर्राष्ट्रिय आयात ‘एक्स्पो’ मा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ । चीनले नेपाललाई पुनर्निर्माणका लागि सहयोग निरन्तर दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ । जनस्तरीय आदानप्रदानलाई व्यापक पार्नु : दुवै पक्षले शिक्षा, युवा, पर्यटन र अन्य क्षेत्रहरूका आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्नुपर्दछ, दुवै देशका विमान सेवाका सीधा उडानहरू बढाई जनताको आवतजावत बढाउन सहयोग पुर्‍याउनुपर्छ । चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दछ र अझ बढी चिनियाँ नागरिकहरूलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्नेछ । चीनले नेपालका उत्कृष्ट युवाहरूका लागि बढी सरकारी छात्रवृत्ति प्रदान गर्नेछ र नेपालको निर्माणका लागि बढी संख्यामा प्रतिभाशाली व्यक्तिहरूलाई प्रशिक्षण दिनेछ । चीन अझ बढी नेपाली विद्यार्थीहरूलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्दछ । सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु : चीनले कानुनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्नेछ र कानुनको कार्यान्वयन गर्ने प्रशिक्षण कार्यमा नेपाललाई सहयोग दिनेछ । सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र दुवै देशका नागरिकहरूको सुरक्षा, आर्थिक तथा व्यापारिक आदानप्रदान सुचारु बनाउनका लागि दुवै पक्षले सीमा रक्षाका लागि आपसी सम्पर्कलाई सुदृढ पार्नुपर्दछ । त्यसबाहेक हामीले सेनाको पारस्परिक भ्रमण, कर्मचारीको तालिम र उपकरण प्रविधिको क्षेत्रमा पनि व्यावहारिक सहयोगलाई सुदृढ पार्नुपर्छ । नेपालीमा एउटा भनाइ छ, ‘थोपा–थोपा मिलेर समुद्र बन्दछ ।’ चिनियाँमा पनि यस्तै भनाइ छ, ‘सबैले दाउरा थप्दै गएमा आगोको ज्वाला अझै ठूलो हुँदै जानेछ ।’ जबसम्म दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदानप्रदान र सहयोगलाई विस्तार गर्दै जानेछन्, मलाई विश्वास छ, चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई हामी नयाँ उचाइमा पुर्‍याउन सक्दछौं । (गाेरखापत्रबाट)

‘दुई चार चड्कन हानी सक्नु भयो, अब हाम्रा कुरा सुन्नुस्’: अर्थमन्त्री युवराज खतिवडाको विचार

कुनै पनि पेशा व्यवसायहरु अर्थतन्त्रको विकास र सुदृढीकरणसँग सम्बन्धित हुन्छ । त्यो भनेको उत्पादन हो । उत्पादन नभई उत्पादनसँग जोडिएका सबै क्षेत्रलाई समस्या हुन्छ । आर्थिक वृद्धि भएन भने रोजगारी, राजश्व, राज्यले दिने समाजिक सुरक्षा र पत्रकारहरुले पाउने पारिश्रमिक तथा स्वरोजगार मिडियाले पाउने विज्ञापन पनि प्रत्यक्ष असर पर्छ । आज देशमा त्यहि आर्थिक वृद्धि सकारात्मक भैरहेको छ । ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको छ । सरकारले बढी बोल्यो भन्ने हो भने विश्व बैंकको रिपोर्टमा पनि त्यहि कुरा लेखिएको छ । यत्रो आर्थिक वृद्धि भैरहँदा पनि यो चैँ भएन, त्यो चैँ भएन भन्ने कुरा के हो ? हामीले त्यहाँ भित्र केहि कुरा मिलेका छैनन् भने मिलाउने कुरा हो । तर समग्रमा मुलुकको क्षमता बढेको छ । आर्थिक वृद्धि दर बढेको छ । त्यो आर्थिक वृद्धिसँगै राज्यले थप काम गर्ने क्षमता बढेको छ । व्यवसायिक वातावरण त्यसकै जगमा बन्ने हो । भारतमा ७ बाट ५ प्रतिशत आर्थिक वृद्धि हुने भयो भन्दा नेपालमा धेरै रुवाबासी छ, त्यो किन भैरहेको छ, मैले बुझ्न सकिरहेको छैन् । हाम्रै आर्थिक वृद्धिदरका बारेमा अलि बढी चिन्ता गरौं । त्यसको केहि हदसम्म हामीलाई असर पर्न सक्छ । त्यो हामीले हेर्छाै । सरकारलाई सचेत पनि गराउनुस् । तर, युरोपियन र अमेरिकी मुलुकहरुले ५ प्रतिशतको आर्थिक वृद्धि नखेको दशकौं भयो । भारतले त्यो देखिरहेको छ । ३ देखि ३.५ प्रतिशतको वृद्धि हुँदा अर्थतन्त्र बुम भयो भन्छन् उनीहरु । एसियाली देशहरुले २ दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल गरेर हाम्रो बानी बिगारिदिए । ८ देखि १० प्रतिशतको वृद्धि दुई दशकसम्म हासिल गरिदिनुभयो । त्यसलाई म मिराकल भन्छु । त्यो मिराकर धेरै दिन टिक्दैन् । उच्चदरको आर्थिक वृद्धि निश्चित समयमसम्म मात्रै हुन्छ, सधै हुँदैन् । विश्वव्यापी प्रकाशनहरुले पनि अविकसित अवस्थाबाट विकासशिल देश बन्छ, तब त्यो आयको ट्रयापमा आफैं पर्छ । यसलाई मिडल इनकम ट्रयाप भन्छ । किन भने ज्याला बढ्छ, मानिसले श्रम र विश्रामका बीचमा बिश्राम रोज्छन् । श्रम भन्दा बिश्रामलाई ध्यान दिएर बढी ज्याला नपाएसम्म मान्छेले काम गर्दैन् । मान्छेले धेरै आराम खोज्न थालेपछि उत्पादन घट्छ । अनि मुलुकको प्रतिष्पर्धात्मक क्षमता घट्छ । प्रतिष्पर्धात्मक क्षमता घटेपछि मुलुकको निर्यात पनि घट्छ । आफ्ना उत्पादनहरु भनेजति प्रतिष्पर्धी नभएपछि अािर्थक वृद्धिमा अलिकति असर गर्छ । अहिले भारतमा पनि भएको त्यति मात्रै हो । अहिले विश्व व्यापारमा देखिएको तनाबले निर्यातलाई अलि बढी नै आर्थिक वृद्धिमा योगदान गरिरहेका मुलुकहरुको आर्थिक वृद्धिमा केहि समस्या देखिईरहेका छन् । तर यी समस्या क्रमशः हल हुँदै जानेछन् । विश्व आर्थिक र व्यापारिक रुपमा खुला नीतिबाट पछाडी जान सक्दैन् । हामी जस्ता साना मुलुकहहरुले भन्ने पनि यहि नै हो । अर्काे कुरा मुलुक भित्र आर्थिक वृद्धि त हुन्छ तर त्यसले रोजगारी सृजना गरेन र असमान भयो भने के हुन्छ ? तपाईहरुले उठाउनुपर्ने कुरा चाँही यो हो । हाम्रो आर्थिक वृद्धिले कति रोजगारी सृजना गर्यो ? किन गरेन ? ५ लाख भन्दा बढी रोजगारी चाहिन्छ भनिएको थियो, कति सृजना भयो त ? यसलाई छलफलको विषय बनाउन पर्छ । हामीले रोजगारी सृजना भएन की भन्दा त अरुका लागि पो रोजगारी सृजना भैरहेका रहेछन् । प्यान अनिवार्य गरेपछि पोल खुलिरहेको छ । भारतका र देशै नचिन्नेहरुले रोजगारी पाईरहेका छन् । नागरिकतै छैन, प्यान लिन सकिन्न भन्दै आईरहेका छन् । देशमा सृजना भएको रोजगारी त अरुले नै पो लाभ लिईरहेका रहेछन् । कुराहरु एदांगीदै आएको छ, हामीले सृजना गरेको रोजगारीको अवसर नेपाललाई दिन सकिएन, वा नेपालीहरुले काम गर्नै चाहेनन् वा अरु यस्तै केहि भयो । त्यसमा हामीले छलफल गर्नुपर्छ । पत्रकारहरुले अनुसन्धान मुलुक कलम चलाईदिनुपर्नेछ । अर्काे कुरा, हामीले आर्थिक वृद्धि त गर्याँै तर त्यो कसको कारणले भयो ? त्यसमा कुन कुन क्षेत्रको योगदान बढी देखियो ? कुनै एक दुई वटा उद्योगहरुले धेरै आम्दानी गरेर पो आर्थिक वृद्धि भएको हो की ? वित्तीय क्षेत्र वा उद्योग वा कृषि वा व्यापार मात्रै बढेर हो की ? भन्नेबारे छलफल गर्नु पर्छ । म तपाईहरुलाई एउटा कुरा चाँही स्पष्ट साथ भन्न चाहान्छु की गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबै क्षेत्रको सन्तुलित योगदान छ । कृषि क्षेत्रको वृद्धि ५ प्रतिशत भन्दा माथीको छ । अरु केहि क्षेत्रको वृद्धि ८ प्रतिशत भन्दा बढी छ । र समग्र आर्थिक क्षेत्रको वृद्धि ७.१ प्रतिशत माथी छ । कृषि बाहेक सबै क्षेत्रको योगदान ५ प्रतिशत भन्दा माथी रहेपछि ७.१ प्रतिशतको वृद्धिदर हासिल भएको हो । सबै क्षेत्रका अािर्थक क्रियाकलाप सन्तुलित ढंगले हासिल भएको छ । यो फेरी राजधानी, काठमाडौं, तराई क्षेत्रको मात्रै आर्थिक वृद्धिले मात्रै यो सफलता पाएको होइन् । सबै प्रदेशहरुको आर्थिकवृद्धिदर ८ प्रतिशतको हाराहारीमा छ । प्रदेश र स्थानीय तहरुहरुमा साधन र श्रोत समन्यायीक ढंगले वितरण हुन थालेपछि त्यसले अर्थतन्त्रको विकासमा ठुलो भूमिका खेलिरहेको छ । जगबाट नै आर्थिक वृद्धिको आधार खडा भैरहेको छ । संघीयताको सन्दर्भमा यस्तो तथ्यांकको विश्लेषण गरिनुपर्छ । त्यसमा तथ्यांकहरुको अभाव हुन सक्छ । कहिले काँही हामीलाई भ्रम पनि हुन सक्छ । अहिले ७ सय ६१ वटा सरकार छन् । तिनको राजश्व र बजेट छुट्टा छुट्टै छन् । साझा अधिकारका कुरा पनि छन् । अब वित्तीय संघीयता कार्यान्वयनका सवालमा प्रदेश र स्थानीय तहबाटै वित्तिय अनुशासन कायम होस्, लगानीको प्रतिफल नागरिकले पाउन भन्ने हाम्रो सुभेक्षा हो । राज्यले उठाएको श्रोतको दुरुपयोग रोक्न पनि कलम चलाउनुस होस, हामी स्वागत गर्छाै । मुलुक रुपान्तरित हुँदै गर्दा हामी आफुले पनि रुपान्तरण हुनुपर्छ । मिडिया हाउसहरुको प्रदेशमा पहुँच, सोही अनुसारको सामग्री उत्पादनमा पनि ध्या दिनुपर्छ । अब मिडियाहरु पनि स्थानीय देखि प्रदेशसम्म संरचना बनाइनुपर्छ । तपाईहरुले आफ्नो संगठनलाई प्रदेश तहसम्म पुर्याउनु भएको रहेछ, त्यो चाँही मलाई पनि खुसी लाग्यो । पुँजी बजारबारे हामीले कतिपय वित्तिय संस्था र सेवाहरुलाई पनि प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्नेछ । त्यो अर्थमा पुँजी बजारलाई पनि त्यही पुर्याउने हो । त्यसको पहिलो आधार भनेको वित्तीय क्षेत्र नै हो । २ वर्षमा बैंकका शाखा ५० प्रतिशतले बढेका छन् । डेढ बर्षको अवधीमा साढे ६ हजारबाट साढे ८ हजार पुगेछन् । मन्त्री हुनु भन्दा अघि बीमाको पहुँच ५ प्रतिशत भन्दा माथी पुग्यो भन्नै पाइन् । राष्ट्र बैंकको गभर्नर हुँदा निक्षेपको बीमा गर्ने व्यवस्था गरेपछि अढाई करोड खाता निक्षेप बीमाको दायरामा आएका छन् । त्यसमा लघु बिमा, सावधिक बीमा, अग्नी बीमाको हिस्सा पनि निकै कम छ । बीमाको पहुँच १० प्रतिशत भयो भन्ने सुन्दा निकै हर्षित हुनुपर्ने अवस्था थियो मै अर्थ मन्त्री हुँदा । अघिल्लो आर्थिक वर्षमो १९ प्रतिशत नागरिक बीमाको दायरामा आएको भन्ने सुनेको थिएँ । अहिले सुन्दै छु, त्यो २५ प्रतिशत पुग्यो रे । यो खुसीको कुरा हो । पाँच वर्षमा ५ प्रतिशतबाट २५ प्रतिशत नागरिक बीमाको दायरामा आएको कुुुरा सानो प्रगति होइन् । वित्तिय क्षेत्र पनि ३६५ स्थानीय तहबाट ७ सय ३५ स्थानीय तहमा बाणिज्य बैंक पुगिसकेका छन् । बैंकहरुको नाफा बढेको छ, बीमाको पहुँच पनि बढेको छ । त्यति धेरै बीमा कम्पनीहरु थपिँदा बजारले स्वीकार्न सक्ला त भन्ने थियो । ती कम्पनी पनि पहिलो वर्षदेखि नै नाफामा गएका छन् । बैंकिङ क्षेत्र नाफामा, बीमा क्षेत्र नाफामा, उद्योगहरुको क्षमतामा अभिवृद्धि, औद्योगीक उत्पादनमा बढोत्तरी भएकै छ । सेवा क्षेत्रका अरु व्यवसाय पनि विस्तार भएकै छ । अनि तिनै क्षेत्रको प्रतिनिधित्व हुने सेयर बजारमा तपाईहरुको गुनासा सुन्नु परिरहेको छ । करका विषयहरु होलान् भन्ने सुनियो । भ्याटको कुरा अर्थमन्त्री हुुनु भन्दा अघि नै नलगाउनु भनेको थिएँ । पुँजीगत लाभकर गणनाका विषयमा केहि दुविधा छन् । नेप्सेका जीएम यहिँ हुनुहुन्छ, उहाँलाई मैले स्पष्टसँग भनिदिएको छु । धितोपत्र बोर्डलाई पनि भनिदिएको छु । नेपाल राष्ट्र बैंकका हकमा पनि मैले स्पष्टसँग भनेको छु कि तपाईहरु नियामक हो, त्यहि अनुसार काम गर्नुस् । अर्थ मन्त्रालयलाई नियामकको पनि नियामक बनाउने मौका नदिनुस् । तपाईहरुले काम गरुञ्जेल हामी केहि गर्दैनौं । आफ्नो काम जिम्मेवारी पुर्वक गर्नुुस् । हामी तपाईलाई स्याबासी दिन्छौं । हस्तक्षेप गर्ने अवसर हामीलाई नदिनुस् । हामी आरोपित हुन चाहादैनौं । आफ्नो काम ढंगसँग गरुञ्जेल हामी छुँदैनौं । तपाईहरुले बल पास गर्ने काम नगर्नुस् । अँग्रेजीमा एउटा उखान छ यु क्यान टेक हर्स टु द वाटर बट यु कान्ट मेक इट ड्रिङक । घोडालाई पानीसम्म लैजान सक्नुहुन्छ तर पानी पिउने काम घोडाको हो । मलाई लाग्छ, हाम्रो घोडा सक्षम छ, पानी पिउँछ, काम पनि गर्छ । अर्थतन्त्रका बारे केहि कुरा गरौं । तपाईहरुलाई सेयर बजार उकास्नुपर्ने चिन्ता छ । अर्थमन्त्रीलाई सिंगो अर्थतन्त्र नै उकास्नुपर्ने चिन्ता छ । मैले अलि ठुलो चिन्ता लिएर हिड्नुपर्छ, सोच्नुपर्छ । त्यसैले तपाईहरुसँग सधै सम्वाद र छलफल गर्ने समय मसँग हुन्न । समग्र अर्थतन्त्र उकास्ने जिम्मेवारी बोकेर हिडिरहँदा अरु त्यसकै अंग हुन भन्ने मेरो बुझाई हो । ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नलाई के के गर्नुपर्छ, त्यो हामीलाई थाहा छ । कति लगानी गर्नुपर्छ, कति पुँजीगत खर्च गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ । हामी पुँजी बजारबाट पैसा उठाउनै पर्छ भन्ने निष्कर्षमा छौं । आईपीओ, एफपिओ वा दोश्रो बजार नै किन भन्नुस, सबै ढंगले धितोपत्र बजारको भूमिका अपरिहार्य हुन्छ । त्यसका लागि सुदृढ पुँजी बजार चाहिन्छ भन्ने सरकारको निकर्ष हो । तर सेयर निष्काशन गर्दा सेयर बिकेन भने त्यसलार्ई चाँही राम्रो मान्न सकिन्न । मेरो एउटा अनुरोध छ, बजारलाई खेलौना नबनाउनुस् । खेलाउना बनाउन लागियो भने आगोलाई खेलाउन थाल्दा कहिले काहीँ आफै जल्ने अवस्था आउँछ । सरकारको काम बारे बजेट भाषणपछि म २-३ महिना खुल्ला कार्यक्रममा आइन् । त्यो अवधीमा चामल बेच्नेहरु आएनन भनेर पिठो बेच्नेहरुले हैरान पारे । चामल बेच्नेहरु त कामै नलाग्ने हुन थालियो । चामल बेच्नुपर्ने रहेछ भनेर म यहाँ आएको हुँ । विद्धानहरु सहनशिल हुन्छ भन्ने सुनियो, तर गालैमा चड्कन हानिरह्यो भने पनि सहेर बसिरहनु पर्ने हो र ? विद्धता पनि अचम्मको हुने रहेछ, महात्मा गान्धी चाँही एउटा गालामा थप्पड हान्यो भने पनि अर्काे गाला थाप्नु हुन्थ्यो रे । हामीले चाँही त्यस्तो गर्न सकेनौं अब । दुई चार चड्कन हानी सक्नु भयो, अब हाम्रा कुरा सुन्नुस् । हामी चड्कन चाँही हान्दैनौं । कहाँ अर्थतन्त्र बिग्रिएको छ, छलफल गरौं । गलत सूचना नदिनुस् । तपाईको चड्कनले तपाईलाई नै पीडा होला । तपाईको करिअर बिग्रेला । तर चस्मै दोषी भएपछि के गर्ने ? म पनि प्रोफेसनल करिअरबाट आएको मान्छे हुँ । हिजो पनि तपाईहरुसँगै थिएँ र भोली पनि हुनेछु । तपाईहरुले भोली पनि मसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था बनिरहोस् । म पनि त्यहि गर्नेछु । म हिजो सत्य बोल्थेँ, आज सत्य बोल्छु र भोली पनि सत्य नै बोलिरहने छु । तपाईहरुले पनि त्यसै गर्नु होला । हाम्रो चामललाई कनिका नभन्नुस् । मक्किएको छ नभन्नुस्, जे देख्नु भएको छ त्यहि भन्नुस् । हामीले गत वर्षलाई समृद्धिको आधार वर्ष भन्यौं । यससपालीलाई विकास वर्ष भनेका छौं । हाम्रो मात्रै प्रयासले त्यो उदेश्य पुरा हुँदैन् । निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नुपर्नेछ । विदेशी लगानी पनि भित्र्याउनुपर्नेछ । त्यसको वातावरण बनाउने चाँही तपाई पत्रकारहरुले हो । त्यसका लागि सकारात्मक भूमिका खेलिदिनुस् । सरकारले गरेको राम्रो काम बताईदिने र नराम्रो काम गरेको छ भने झकझकाईदिने कामलाई निरन्तरता दिनुस् । हामीले गरेका सुधारका प्रयासहरुले राम्रो नतिजा दिनेवाला छ । म आजै यो वर्ष यस्तो यस्तो हुनेछ भन्दिन त्यो ज्योतिष जस्तो हुन्छ । तर हरके ढंगले गत वर्ष भन्दा यो वर्ष राम्रो हुनेछ । सरकारी खर्च र निजी क्षेत्र तथा वैदेशिक लागनीकै सन्दर्भमा पनि राम्रो हुनेछ । यहाँ कसै कसैले पिठो बेच्ने प्रयास गरिरहेका छन् । दाताहरुले पत्याएनन्, वैदेशिक सहायता आएन, विदेशी लगानी कम भयो भनेर । गत आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा ५५ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आएको रहेछ । गत वर्ष ५७.५ अर्बको प्रतिवद्धता आएको देखियो । हामीले स्वीकृत गरेको लगानीलाई रकममै परिवर्तन गरेर ल्याउन भने सकेका छैनौं । लगानीको प्रतिवद्धता, सम्झौता र लगानी भित्रिने कुरा फरक फरक चरण हुन् । कहिले वन, कहिले जमिन, कहिले के समस्याका कारण अलि ढिलो हुने गरेको छ । त्यसलाई सुल्झाउन एकद्धार प्रणाली पनि कार्यान्वयनमा ल्याएका छौं । कानुनहरु पनि संसोधन गरिसकेका छौं । अब विदेशी लगानी पनि बढ्छ । दाताहरुले दिन्छु भन्ने रकमको हिस्सा पनि बढिरहेकै छ । १३ खर्ब रुपैंयाँ दाताहरुले दिन्छु भनेका छन् तर हामी जम्मा २ खर्ब खर्च गरेर बसिरहेका छौं । यति धेरै श्रोत छ तर सरकारले खर्च गर्न सकेन् । यसपाली हामीलाई खर्च नगर्ने छुट छैन् । बजेटमै सहयोग गर्ने क्रम पनि बढिरहेकै छन् । सरकारको वित्तीय अनुशासन प्रतिको विश्वसनियता हो । तर पनि दाताले पत्याएनन भन्न पनि भ्याउँछन मान्छेहरु । त्यसकारण पनि म पिठो बेच्नुपर्ने रहेछ भनिरहेको छु र सार्वजनिक कार्यक्रमहरुको उपयोग गरिरहेको छु । कुन मुलुकमा लगानीको वातावरण कस्तो छ भनेर हेर्दा कानुनदेखि नियमन, सुशासन, प्रशासकिय व्यवस्था, गोदाम घर, कुरियर, यातायात सेवासम्म जोडिन्छन् । यसमा ५ नम्बर ल्याउने देशलाई राम्रो मानिने रहेछ । हाम्रो देशले २.५ अंक ल्याएको रहेछ । आगमी वर्ष हामीले ३ अंक ल्याउने सोँच बनाएका छौं । डुइङ बिजनेशमा पनि त्यहि नै हो । कतिपय अवस्थामा देशकै बारेमा पनि गलत तथ्य रिपोर्टिङ भैरहेको पायौं । नेपाल सरकारले दिएको तथ्यांक गलत छ भनेर लबिङ भैरहेको छ । आफ्नै देश र अर्थतन्त्रबारे गलत ब्रिफिङ भैरहेको छ । अजम्बरीको बुटी लिएर को नै आएको छ र लाइफ ज्याकेट नै लगाएको रहेछ भने सँगै डुबाउने हो अब । देशकै विरुद्ध लबिङ नगर्नुस, देशको साख गिराउने काम नगर्नुस् । हामी एउटै डुंगाका यात्री हौं । सरकार आईरहन्छ, गैरहन्छ । अर्थतन्त्र एउटै हो, त्यसलाई डुबाउने काम नगरौं । तपाईहरुका कुरा बुझ्न म पनि तयार छु, तपाईहरु पनि तयार हुनुहोस्, सहकार्य गरौं । अर्थतन्त्रमा विश्वास जगाउने अभियानमा तपाईहरुको कलम चलोस् । सबै कुरा हाम्रो हातमा हुन्न तर धेरै कुरा हाम्रो हातमा हुन्छ । हामीसँगै मिलेर देश बनाउने अभियानमा लागौं । साधारण सभा सफलताको कामना गर्दछु । (अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को दशौं बार्षिकोत्सव तथा साधारण सभाको कार्यक्रममा व्यक्त गरेको विचार । )