‘यसरी फैलिन्छ अन्धविश्वास’
धेरै अघिको कुरा हो कुनै गाउँमा एउटा मन्दिर थियो । त्यो मन्दिरमा एकजना बृद्ध पुजारी थिए जो विद्वान हुनुका साथै सज्जन पनि थिए । एक दिनको कुरा हो पुजारीले मन्दिरमा पूजा गर्दै गर्दा कतैबाट एउटा कुकुर त्यहाँ आइपुग्यो । त्यो कुकुर भोक र प्यासले छटपटाइरहेको थियो । यस्तो देखेर ती पुजारीलाई दया आयो । उनले पूजालाई बिचमै रोकेर त्यो कुकुरलाई खाना खुवाए र पानी पियाए । कुकुरलाई खाना खुवाइसकेपछि पुजारी फेरी पूजालाई निरन्तरता दिन थाले । पुजारीले पूजा गरिरहँदा कुकुर भने आफ्नो पुच्छर हल्लाउँदै पुजारीको काखमा बस्ने कोशिस गरिरहेको थियो । पूजाको काममा व्यवधान पर्ने ठानेर पुजारीले आफ्नो शिष्यलाई बोलाए र भने कि मेरो पूजा नसकिँदासम्म यस कुकुरलाई बाहिरको रुखमा बाँधिदेऊ । शिष्यले पनि पुजारीले भने अनुसारै गरे । त्यस दिनदेखि त्यो कुकुर मन्दिरमै बस्न थाल्यो र जब पुजारी पूजा गर्न बस्थे शिष्यले कुकुरलाई रुखमा बाँधिदिन्थे । यो क्रम सधैं नै चल्न थाल्यो । केहि दिनपछि पुजारीको मृत्यु भयो । उनको मृत्युपछि उनका शिष्यलाई मन्दिरको पुजारी बनाइयो । ति शिष्य पनि कुकुरलाई रुखमा बाँधेर मात्र पूजा गर्न थाले । केहि वर्षपछि ती नयाँ पुजारीको पनि अकस्मात् मृत्यु भयो । पुजारीको अकस्मात मृत्यु भएपछि मन्दिरका सम्पूर्ण सदस्यहरुले आपसमा मिटिंग राखे र निर्णय गरे कि अबका दिनमा कुकुरलाई रुखमा बाँधेर मात्र पुजारीहरुले पूजा गर्न पाउनेछन् । पूजाको समयमा कुकुरलाई रुखमा बाँध्नैपर्छ भन्ने कुरा एउटा परम्पराको रुपमा बस्यो र त्यो परम्परालाई कडाईका साथ पालना गर्न थालियो । धेरै वर्षको अवधिमा सो मन्दिरमा केहि पुजारीहरुको मृत्यु भइसकेको थियो भने धेरै कुकुरहरु पनि मरिसकेका थिए । तर त्यहाँ नियुक्त हुने पुजारीले जहाँबाट भएपनि कुकुर खोजेर ल्याउनुपर्थ्याे र रुखमा बाँधेर मात्र पूजा ल्याउनुपर्थ्याे । जब कोहि पढेलेखेको मानिसले कुकुरलाई पूजाको समयमा रुखमा बाँध्नुको कारणबारे सोध्थे तब पुजारीको उत्तर हुन्थ्यो कि, ‘यसको ठ्याक्कै कारण त थाहा छैन तरपनि हाम्रो पूर्वजहरुकै पालादेखि चल्दै आएको चलन हो । पूर्वजहरुले विनाकारण त यसो पक्कै गरेनन् होला ।’ वास्तवमा, यो कथामा बताइए जस्ता कति अन्धविश्वासहरु हामीले आजका दिनमा पनि मान्दै आइरहेका छौं । हामीले यो कहिल्यै सोचेनौं कि पूर्वजहरुले जे गरे हुनसक्छ त्यो कुरा उक्त समयमा केहि विशेष कारणले गरे होलान् । तर त्यसलाई आज हामीले परम्पराको रुपमा मानेर निरन्तरता दिने गरेका छौं । यो कुनै एउटा व्यक्ति विशेषको कुरा होइन बरु हाम्रो समाजमा हरेक मानिस कुनै न कुनै अन्धविश्वास अवश्य मानेर बसेको छ र जसलाई पनि सोधौं कि उसले किन यस्तो काम गर्छ तब उसले पनि यहि भन्छ कि यो त हाम्रा पूर्वजहरुले नै गर्दै आएकोले मैले पनि गरेको हुँ । तर अव हामीले गहिरिएर सोच्ने वेला भइसकेको छ कि यस्ता रुढिवादी कुराहरुबाट माथि उठ्यौं भने मात्र हाम्रो विकास सम्भव छ । (हिन्दीसोचडटकम बाट भावानुवाद गरिएको)
बिरामीको सेवा गर्नुपर्दा कहिल्यै बहाना बनाइँन- फ्लोरेन्स नाइटिंगेल
काठमाडाैं । नर्सिंग व्यवस्थालाई सुधार्नकै लागि आफ्नो सारा जीवन लगाएकी हुनाले नै फ्लोरेन्स नाइटिंगेललाई आधुनिक नर्सिंग आन्दोलनको जन्मदाता मानिन्छ । उनको जन्म १२ मई १८२० मा इटली को एउटा सम्पन्न परिवारमा भएको थियो । उनको परिवारमा उनका मातापिता र एकजना बहिनी थिए । फ्लोरेन्सका मातापिताले उनलाई नर्स बनाउन चाहेका थिएनन् । तर उनी भने मानिसहरुको सेवाका लागि नर्स बन्न उचित ठान्थिन् । उनलाई ऐस आरामको जिन्दगीसँग खासै लगाव थिएन । एक पल्टको कुरा हो फ्लोरेन्सकी हजुरआमा बिरामी पर्छिन् र त्यहि बेलामा फ्लोरेन्सले हजुरआमाको रातदिन सेवा गर्ने मौका पाउँछिन् । यो घटनापछि फ्लोरेन्सलाई थप हौसला प्राप्त हुन गई परिवारको विरुद्धमै गएर भएपनि नर्सिंगको पढाई गर्छिन् । फ्लोरेन्सको सपना थियो कि उनी एउटा राम्रो नर्स बन्न सकुन् र बिरामीको सेवा गरुन् । जुन समयमा फ्लोरेन्स नर्स बनेकी थिइन् त्यती बेला अन्य नर्सहरुले बिरामीलाई ठिकसँग हेरविचार गर्दैनथे । तिनीहरु बिरामीको नजिक जान समेत डराउँथे । फ्लोरेन्सले भने निष्पक्ष भावबाट बिरामीहरुको सेवा गर्न थालिन् । उनी बिरामीको नजिक जानमा घिन मान्दैनथिन् । त्यो समयमा उनले सम्पूर्ण नर्सहरुलाई आफ्नो जिम्मेवारीबाट भाग्न दिइनन् । नर्सहरु पनि उनले बताएको बाटोमा हिँड्न थाले । यस सँगसँगै फ्लोरेन्सले हस्पिटलको व्यवस्थालाई सम्हाल्न थालिन् । विस्तारै उनले नर्सिंग आन्दोलनको शुरुआत पनि गरिन् । फ्लोरेन्सले एउटा उत्कृष्ट लेडी नर्सको साथसाथै राम्रो लेखिकाका रुपमा पनि संसारलाई आफ्नो योगदान दिएकी थिइन् । लगन र दृढ विश्वासका कारणनै उनको नर्सिंग आन्दोलन सफल हुन पुगेको थियो । फ्लोरेन्स नाइटिंगेलले आफ्नो योगदान क्रिमिया युद्धको समयमा दिएकी थिइन् । जब क्रिमिया युद्ध चलिरहेको थियो तब त्यो समय उनले घाइते सैनिकहरुको सेवाका लागि भनेर ३८ जना नर्सहरुको दलसहित तुर्कि गएकी थिइन् । जब चिकित्सकहरु जान्थे तब उनी मैनबत्ती बालेर भएपनि घाइते सैनिकहरुको सेवा गर्थिन् । ब्रिटिश सरकारको ‘लेडी विथ द कैंप’ को उपाधी बाट र त्यसैगरी ‘रोयल रेड क्रस’ बाट पनि सम्मानित भएकी फ्लोरेन्स नाइटिंगेलको निधन भने १३ अगस्त १९१० मा भएको थियो । आफ्नो जीवन बिरामीहरुको सेवामै बिताएकी फ्लोरेन्स नाइटिंगेलका केहि भनाइहरु निक्कै नै चर्चित रहेका छन् । ती भनाइहरुले बिरामीको सेवामा अहोरात्र खटिने जोकसैलाई पनि थप उर्जा दिने गरेको छ । यस्ता छन् फ्लोरेन्स नाइटिंगेलका केहि चर्चित भनाइहरुः – मेरो सफलताको सबैभन्दा ठूलो रहस्य यो हो कि मैले कहिल्यै कुनैपनि किसिमको बहानाको सहारा लिइँन । – मलाई पूरा विश्वास छ कि सवैभन्दा ठूलो नायक उही हुन्छ जो घरेलु कामको साथै आफ्नो ड्यूटी गर्ने गर्छ । – कसैलाई गोली लाग्दछ भने सर्जरीको काम भनेको उसको शरीरबाट त्यो गोली निकाल्ने मात्र हो । उसको घाउ त प्रकृतिले नै ठिक गर्दछ । – मलाई मेरो जीवन धनदौलतका साथ गुजार्नु छैन । किनकी मेरो जीवन त मानिसहरुको भलाईको लागि हो । – नर्सिंग एउटा कला हो यदि यसलाई कला बनाइन्छ भने । यसका लागि पाइन आर्टस् प्रति एकदमै उत्कृष्ट भक्तिको जरुरत हुन्छ । – यदि मैले तपाईंलाई आफ्नो जीवनको जानकारी दिन्छु भने मैले यो देखाउनु पर्छ कि एउटा साधारण क्षमता भएकी स्त्रीले अचम्मको र गाह्रो बाटोको नेतृत्व गरेकी छे ।
जिन्दगी फेरि मिल्दैन, अहिले नगरे कहिले गर्ने त !
केही वर्षअघि बलिउडमा एउटा फिल्म आएको थियो ‘जिन्दगी ना मिलेगी दोबारा’, जसको नेपालीमा अर्थ हुन्छ ‘जिन्दगी फेरि पाइने छैन’ । सुपरहिट भएको त्यो फिल्म शायद तपाईंले पनि हेर्नु भएको थियो । तर के तपाईंले कहिल्यै हाम्रो यही एउटै मात्र जिन्दगी छ भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुभएको छ ? योभन्दा अघि जिन्दगी थियो या पछि पनि हुनेछ भन्ने वारेमा कसैले पनि ग्यारेन्टीका साथ भन्न सक्दैन । तर अहिले हाम्रो जुन जिन्दगी छ, त्यो एउटा सत्य हो । र, यदि हामी अर्थपूर्ण जीवन जिउन चाहन्छौं भने हामीले यो सत्यलाई बुझ्नै पर्ने हुन्छ । ‘जिन्दगी ना मिलेगी दोबारा’लाई शायद केही मानिस यसरी बुझ्छन् कि जीवनलाई खूब एन्जोय गर, पार्टी गर, बन्जी जम्पिङ्ग गर, स्काई डाइभिङ्ग गर, आफूलाई मन लागेको ठाउँमा घुम्न जाऊ र साथै आफ्नो विस लिस्टमा जे जे आइटमहरु छन् सवैलाई पूरा गर । हुन त यी सवै जिन्दगी ना मिलेगी दोबाराकै हिस्साहरु हुन् । तर हामी त्यसलाई उक्त कथनको सानो हिस्सा मात्र मान्न सक्छौं, ठूलो होइन । वास्तविक रुपमा हेर्ने हो भने जिन्दगी फेरि पाइने छैनको दर्शन भर्खरै बताइको भन्दा काफी धेरै छ र आज यस लेख मार्फत् म यसै विषयमा तपाईंसँग आफ्ना केही विचारहरु सेयर गर्न गइरहेको छु । साथीहरु हाम्रो जीवन तीव्र गतिका साथ बित्दै गइरहेको छ । हिजो हामी स्कुलमा पढ्न जान्थ्यौं, आज हामी कलेजमा आइसकेका छौं । हिजो हामी अरु कोही व्यक्ति कार्यालय गएको देख्थ्यौं, आज आफैं जान थालिसक्यौं । हिजो हामी बच्चा थियौं र आज हाम्रा आफ्ना बच्चाहरु ठूला भइसकेका छन् । समय कत्तिको तिव्र गतिमा गुज्रिन्छ भन्ने कुरा त जो जति बढि उमेरको छ, उसले त्यत्तिनै राम्रोसँग जानेको हुन्छ । समयको महत्वलाई बुझ्नु पर्छ । किनभने हाम्रो जिन्दगी समयबाट नै बनेको छ । एक एक पल जोडिएर नै हप्ता, महिना र वर्ष बन्दछन् । एक किसिमले भन्न सक्छौं कि ‘जिन्दगी ना मिलेगी दोबारा’को मतलव यो पनि हो कि जुन समय बितिसक्यो त्यो फेरि फर्केर आउँदैन । बितिसकेको समय भनेको बितिसकेको जिन्दगी हो र त्यो कहिल्यै पनि फर्केर आउँदैन । त्यसो हो भने यसबाट एउटा जरुरी कुरा यो बुझिन्छ कि हामीसँग जति पनि समय बाँकी छ, त्यो सीमित छ र धेरै मूल्यवान पनि छ । त्यसैगरी दोस्रो कुरा हो हाम्रो काम । किनभने हाम्रो कामले नै हामीलाई युनिक बनाउँछ । हरेक मानिसले दिनभरीमा गर्ने कतिपय चिज त समान नै हुन्छ । सुत्ने, खाने, पिउने लगायतका कुराहरु हामी सवैले गर्दछौं । फरक हुन सक्ने भनेको हामीले गर्ने प्रमुख काम हो । कोही सफ्टवेयर इञ्जिनियरको काम गर्छन्, कोही स्कुलमा पढाउने काम गर्छन् त कोही आफ्नो व्यवसाय सञ्चालन गरिरहेका हुन्छन् । हामी सबै कुनै न कुनै काम गरिरहेका नै छौं । तर प्रश्न चाहिँ यो उठ्छ कि के तपाईं जे गरिरहनुभएको छ, त्यो त्यही काम हो जुन तपाईं भित्री मनदेखि गर्न चाहिरहनुभएको छ ? यदि तपाईं आर्थिक रुपमा स्वतन्त्र हुनुभयो भने पनि के त्यही नै काम गर्न मन पराउनुहुन्छ ? त्यसैगरी, के त्यो त्यही काम हो जसलाई तपाईं साँच्चै नै महान् काम सम्झिनु हुन्छ ? यदि हो भने त बधाई छ । तपाईंले त्यो काम गर्दै हुनुहुन्छ, जसले तपाईंलाई सन्तुष्ट र खुशी बनाउन सक्छ । तपाईं सही बाटोमा हुनुुहुन्छ । तपाईं ती थोरै मानिसमा पर्नुहुन्छ जसले आफ्नो मनको कुरालाई सुन्ने हिम्मत देखाए । र यस्तो गरेकोमा तपाईं धेरै धेरै बधाईको पात्र हुनुहुन्छ । तर यदि यस्तो होइन भने, अथवा तपाईं त्यस्तो काम गरिरहनुभएको छैन, जसले तपाईंलाई गर्व गर्न लायक बनाउँछ भने अब सोच्ने वेला भइसकेको छ । किनकि तपाईंले आफ्नो जिन्दगी फेरि पाउनुहुने छैन । साथीहरु, हाम्रो जीवन अमूल्य छ । हरेक मानिस यस दुनियामा असीमित शक्तिहरुका साथ आएका छन् । सबैको शक्ति अलग अलग छन् । कसैको शक्ति छर्लंग देखिन्छ भने कसैको चाहिँ लुकेको हुन्छ र कतिपय अवस्थामा त हामी आफैंले पनि आफ्नो शक्तिको वारेमा जान्न सकेका हुँदैनौं । र अझ दुःखको कुरा भनेको त लाखौं करोडौं मानिसहरु आफ्नो शक्तिका वारेमा नजानिकनै संसारबाट विदा भइसकेका छन् । यसो विचार गरौं त, यदि तपाईंलाई मरेपछि भगवानले यो बताउँछन् कि तिमीभित्र संसारकै प्रख्यात गायक बन्ने क्षमता थियो, अथवा तिमी एउटा ठूलो नेता बन्न सक्थ्यौ, अथवा तिमीबाट करोडौं मानिसहरुको जिन्दगी बदल्न सक्ने चिज आविष्कार हुन सक्ने थियो । तर तिमीले कहिल्यै प्रयास नै गरेनौ । हो, त्यतिखेर तपाईंलाई कस्तो महसुस हुन्छ होला । समय कहिल्यै पनि रोकिदैन । तर हामीले समयलाई समात्नै पर्ने हुन्छ । हामीले आफ्नो जीवनलाई यत्तिकै विताएर हुँदैन । करोडौं मानिसहरु जस्तो हामी बस् उपस्थित हुनका लागि मात्र यस धर्तीमा आएका होइनौं । हाम्रो जीवनको एउटा अर्थ छ, एउटा उद्देश्य छ । यदि हामी त्यो जान्दैनौं भने अब चाहीँ जान्नु छ । हामीलाई थाहा छैन कि यो जन्मभन्दा अघि हामी के थियौं अथवा यो जन्मभन्दा पछि हामी के हुन्छौं । वास्तवमा भन्नुपर्दा हामी यो कुरा जान्न पनि चाहँदैनौं किनकि हामी त यही जिन्दगीलाई आफ्नो उत्कृष्ट जीवन बनाउन चाहन्छौं । हो, यो मान्नै पर्छ कि अहिले हामी त्यो काम गरिरहेका छैनौं, जुन काम हामी मनदेखि नै गर्न चाहन्छौं । तर अब हामी यो चाहीँ मान्दैनौं कि हामी त्यही काम नै निरन्तर गरिरहन्छौं, जुन काम हामी गर्नै चाहँदैनौं । हामी हिम्मत गर्नेछौं र कुनै न कुनै उपाय निकाल्ने छौं । हामी सपना देख्नेछौं र त्यसलाई जसरी पनि पूरा गरेरै छाड्नेछौं । हामी मानव हौं । हामीसँग पहाड हल्लाउन सक्ने र आकास झुकाउन सक्ने क्षमता छ । सानातिना बाधा व्यवधानसँग हामी हार मान्ने छैनौं । परिवार तथा समाजको विरोध, असफलताको डर, भविष्यको चिन्तालगायतले अव हामीलाई रोक्न सक्ने छैन । हामी त अगाडि बढ्छौं बढ्छौं । अघि बढ्दा लडखडाइएला, लडिएला तर अब हामी रोकिने छैनौं । हामीले यो राम्रोसँग बुझेका छौं कि जे गर्नु छ, अहिले नै गर्नुछ, यहीं गर्नुछ । किनकि, हामीलाई थाहा छ यो जिन्दगी फेरि पाउन सकिने छैन । हो पक्कै पनि ‘जिन्दगी ना मिलेगी दोबारा …।’ (अच्छिखबरडटकमबाट भावनुवाद गरिएको ।)