बाख्रा पालनः यस्ता छन् सुधारका उपाय

परिचयः नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेको छ । विशेष गरी तराई र पहाडमा गरीब कृषकहरू ३ देखि ४ वटा बोका बाख्राहरू पालेर गरी जीविका चलाई रहेका हुन्छ । तिनीहरूले बोकालाई खसी बनाएर, तथा पाठापाठी बिक्रीगरी आफ्नो गर्जो टार्ने गर्दछ । बाख्रालाई गरीवको गाई पनि भनिन्छ । तराई मधेशमा बाख्राहरू प्रायःखुल्ला चरीचरणमा, परम्परागत तथा अव्यवस्थित तरीकाले पालनगर्दा नश्लको क्षमता अनुसार उत्पादन लिन सकि रहेको अवस्था छैन । परम्परागत तरिकाको बाख्राको खोरमा चिसो, घाम, वर्षा, छाँया, हावा, प्रकाशको समुचित व्यस्थापन नभएकोले बाख्रालाई थप तनाव हुनगई बाख्राको उत्पादन घट्नुका साथै रोग व्याधिबाट समेत ग्रसित हुने गरेका छन् । प्रायः तराई मधेशमा बाख्रालाई बर्षा र शितलहरीले विभिन्न किसिमका रोगहरू लागेर मृत्यू हुने गर्दछन् । यस परिप्रेक्ष्यमा बाख्राकोे खोर सुधार गरी जलवायु समानूकुलित खोरनिर्माण अति आवश्यक रहेको छ । बाख्राको खोर बनाउँदा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन हुने समेत देखिएको छ । महत्वः बाख्राकोे खोर सुधार गर्दा जलवायु परिवर्तनको असर न्यून गर्न सकिन्छ । बाख्राकोे उत्पादनका महत्वपूर्ण ४ खम्बाहरू (खोर, नश्ल, आहारा र स्वास्थ्य) मध्ये खोर व्यवस्थापन प्रमुख हुन् । परम्परागत खोर अँध्यारो, सूर्यको प्रकाश नपर्ने, चिसो भएकोले उपियाँ, जुम्रा, तथा सुलसुले जस्ता बाह्य परजिवीको आक्रमण तिब्र हुनुका साथै संक्रामक रोगका जीवाणु, विषाणु तथा ढुसीको बृद्धिविकास तिब्र भई बाख्राहरू बिरामी भई रहन्छ । हावा नखेल्ने खोर बाफिलो, दिसा पिसावले दुर्गन्धित र चिसो हुने भएकोले श्वास प्रश्वास संबन्धि रोग (निमोनिया)ले बाख्राहरू विरामी पर्ने गर्दछन् । डा.श्रीभगवान् ठाकुर सूर्यको प्रकाशले रोगका जीवाणुहरू नष्ट हुनुका साथै पशुको शरीरमा विभिन्न प्रकारका भिटामिनहरूको निर्माण हुन्छ । खोरसुधारले बाख्राकोे सोत्तर, बडकौला र मूत्र व्यवस्थापन हुने र घाम, पानी, चिसो, हावाहुरी, वर्षा, असिना जस्ता तनावलाई घटाई र मौसमी तनावले हुन जाने रोगव्याधिमा कमी हुन्छ । यसबाट घाँस तथा दानाको उपभोगमा बृद्धि हने र आहारको प्रभावकारीता बढ्ने हुन्छ । फलःस्वरूप बाख्राकोे उत्पादनमा वृद्धि गर्न सकिन्छ । ठाउँको छनौटः खोर ओभानो, सुखा तथा पानी नजम्ने खालको उच्च, समथर र कम्तीमा दिनमा ५–६ घण्टा सूर्यको प्रकास पर्ने, जोडसँग हावा नचल्ने तर हावाको आवागमन राम्रो भएको ठाउँको छनौट गर्नु पर्दछ । खोरको लागि आवश्यक क्षेत्रफलः सुधारिएको खोरको आवश्यक लम्बाई चौडाई तथा उँचाईको विवरण तल उल्लेख गरिएको छ । सुधारिएको खोरको नमूना खोर निर्माण गर्दा प्रति वयस्क बाख्राको लागि सरदर ६ वर्ग फिट ठाउँको आवश्यक्ता पर्दछ । खोरमा स्थानीय सामग्रीहरू काठ बाँसहरू प्रयोग गर्नु पर्दछ । खोर निर्माण गर्दा पहाडमा दक्षिण वा पूर्व र तराई मधेशमा उत्तर पश्चिम मोहडा पारी बनाउनु पर्दछ । खोर बनाउँदा चित्रमा देखाए अनुसार जमीनबाट ३ फिटको उचाईमा, ७ फिट लम्बाई र ६ फिट चौडाईको खोर बनाउदा सुहाउँदो हुन्छ । खोरको भूईंक्षेत्र निर्माण विधिः खोरको भूँईक्षेत्र कडा, पानी नजम्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नु पर्दछ । त्यसको लागि सेमेन्ट, गिटिबाट ढलान गरेर वा ईटा छपाएर वा ढूँगा छपाएर वा चिम्टयाईलो माटोले खोरको भूईनिर्माण गर्नु पर्दछ । खोरको भूँईक्षेत्र निर्माण गर्दा निकाशतर्फ ३ प्रतिशतको भिरालो बनाएर पाईपको माध्ययमले पिसाव जम्मा हुने खाल्डोमा पुर्याउनु पर्दछ । जस्ले गर्दा भुई सफा हुनुका साथै मिथेन ग्यासको उत्सर्जन भई दुर्गन्ध हुदैंन । खोरको टाँड निर्माण विधिः खोरको टाँड बनाउँदा आधा ईन्चको फरकमा काठको २ ईन्च चौडाई र आधा ईन्च मोटाईको फल्याक वा बाँसको भाटा बनाई किलाले ठोक्नु पर्दछ । यस्तो टाँड बनाई बाख्रापालन गरेमा कक्सिडियोसिस तथा फिते जुका कमलाग्ने गर्दछ । साथै १०–२० प्रतिशत मृत्यूदर घटेको पाईएको छ । गर्मीको तनाव घटाएर जिउँदो वजन ६०–७० ग्राम देखि ७८–८६ ग्राम प्रतिदिन बढोतरी हुन सक्दछ । खोरको छाना निर्माणः छाना बलियो टिकाउ पानी नचुहिने, तापक्रमको कुचालक तथा आकर्षक हुनु पर्दछ । छाना पानी नथामिने भिरालो हुनु पर्दछ । स्थान र मौसम अनुसार छाना १२ देखि ३५ डिग्रीसम्म भिरालो हुन सक्दछ । छाना खर तथा २५–२६गेजको वा ०.३२ एम.एम. जी. आई. जस्ताको हुनु पर्दछ । भिरालो छाना भएको खोरमा अग्लो भागतिर पर्खालको उँचाई ६ देखि ६.५फिट र बलेनीतिर ५ फिट उचाईको पर्खाल बनाउनु पर्दछ । गर्मीबाट बचाउन सकभर खरको छाना प्रयोग गनर्् पर्दछ अथ्वा जस्ता पाताका छाना भए माथिबाट खर १ईन्च बाक्लो गरी खर ओछ्याउनु पर्दछ । बढी तापक्रम हुने स्थानमा अर्धसधन विधि अर्थात आधाखुल्ला आधाबन्द विधिवाट बाख्रापाल्नु पर्दछ । पर्खाल क्षेत्र र भेन्टिलेशनः खोरको पर्खाल मजबुत अर्थात बलियो हुनु पर्दछ । छेउको पर्खालमा ५ फिटसम्म काठको फल्याक वा बाँसको टाटी लगाएर माथि बाँकी भाग हावा आवागमनका लागी जाली वा सानो द्मयाल लगाउनु पर्दछ । पर्खाल बनाउन समस्या भए जस्ता पाताले घेरेको हुनु पर्दछ । चित्रमा देखाए अनुसार अग्लो पर्खालपट्टि १.५ फिटको लम्बाई चौडाईको पूर्व दक्षिण तिर भेन्टिलेशनको लागि झयाल बनाउनु पर्दछ । उच्च पहाडमा बाख्राको खोरलाई अग्लो बनाउनु हुदैंन । जाडोयाममा चिसोबाट बचाउन चित्रमा देखाए जस्तै ज्टको बोरा वा प्लाष्टिकले खोरलाई राती ढाक्नु पर्दछ र दिनमा घाम परेको बेला दोबारेर खोल्नु पर्दछ । गर्मीयाममा तातो हुन नदिन द्मयाल तथा भेन्टिलेशन खोलेर राख्नु पर्दछ । खोरको ढोकाः खोर बनाउँदा ५ फिट फराकिलो र ३.३३ फिट उँचाईको ढोका बनाउनु पर्दछ । ढोका काठ वाबाँसको भरयाङ्ग हुने किसिमको माथिबन्द गर्ने खालको बनाउनु पर्दछ । घाँस झुन्ड्याउने विधिः खोर बनाउँदा खोर भित्र बीचमा ३.३३ मिटर उचाई भएको बाँस वा काठको लठीको क्रस गरी घाँस राख्ने टाट्नो जस्तो बनाएर घाँस राखी खुवाउनु पर्दछ वा स्थानीय बुनेको जुट वा प्लाष्टिकको ठुलो प्वालभएको जालीमा राखी घाँस खुवाउनु पर्दछ जसले घाँस खेर नगई बढी सदुपयोग हुन्छ । पानीको व्यवस्थापनः बाख्राको लागि सफा, गन्ध नभएको, आरसेनिक नभएको पानी खुवाउनु पर्दछ । मल राख्ने खाडलः एक वयस्क बाख्रोबाट प्रतिवर्ष १३८ किलोसम्म बडकौला मल प्राप्त हुन्छ । बडकौलामा भएको पोषक तत्वलाई बचाउन, मिथेन ग्याँसको उत्सर्जन न्यून गर्न तथा दुर्गन्ध आउन नदिन खोरभन्दा अलि टाढा मल राख्नु पर्दछ । १० फिटलम्बाई ३.३३ फिट चौडाई र ३.३३ फिट गहिराईको खाल्डो बनाउनु पर्दछ । प्रति घन मिटर खाल्डोमा ७०० देखि १००० किलोसम्म अटाउँछ । अमोनिया तथा मिथेन ग्याँस उत्सर्जन हुन नदिन हप्ताको दुई पटक खोरमूनिबाट बडकौला तथा पिसाव सफा गरी खाल्डोमा राख्नु पर्दछ । चुना छर्किनेः बाख्रामा लाग्ने विभिन्न रोग तथा कीरालाई व्यवस्थापन गर्न खोरको टाँडमा हप्ताको एक पटक चुन पाउडर छर्नु पर्दछ । निश्कर्षः जलवायु परिवर्तनले बाख्राको उत्पादन र उत्पादकत्वमा प्रत्यक्ष असर पारी उचित लाभ नभएको अवस्थामा दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउन प्रादेशिक सरकार एवं स्थानीय तह गाउँपालिका र नगर पालिकाले बाख्राको गोठ सुधारमा उचित रकम विनियोजन गरी गाउँघर सरसफाईका साथै कृषकहरूको आम्दानीमा बृद्धि गर्न सकिन्छ । (-मधेश दर्पण फिचर सेवाबाट)

एनआरएन प्रतिनिधिको गतिविधिः विदेशमा बस्ने ८० लाख नेपालीहरु लज्जित

प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका भनेका थिए नेपालीले चान्स पायो भने गर्छ । जुन कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभूमिमा एनआरएन सम्मेलन मार्फत पुष्टि गरिदिए । विदेशमा बस्दा कडा अनुसाशनमा बस्नु परेकाहरु नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीहरुझै देखा परे र त्यस्तै व्यवहोरा देखाए । उनीहरु मातृभुमिको भौतिक सम्पत्ति तोडफेड गर्नेदेखि गुण्डागर्दीसम्म उत्रिए, जस्ले गर्दा विदेशमा बस्ने ८० लाख नेपालीहरु लज्जित हुनु परेको छ । आफुहरु विदेशमा बस्दा विदेशको उदाहरण दिंदै नेपालभित्रको बेथिति, अनुशासनहीन, अन्याय, अत्याचार, भ्रष्टाचारबारे सामाजिक सञ्जाल मार्फत चर्को आलोचना गर्नेहरुले विदेशमा बसेर चाँही के सिकेछन् भन्ने कुरा एनआरएनको नवौं सम्मेलनमा विभिन्न देशबाट नेपाल गएका प्रतिनिधहरुले देखाएको तमासा लाजमर्दो, अमर्यादित छ । यस घटनाले कुकुरको पुच्छर १२ बर्ष ढुङ्ग्रोमा हालेपनि बाङ्गाको बाङ्गै भने झैं बिदेशमा जति वर्ष बसेपनि नेपालीहरुको बानी व्यहोरा जस्ताको तस्तै देखायो । हैनभने यही बेलामा आफुसंग भएका बौद्धिक योग्यता, सीप, दक्षता, क्षमता देशहितको लागि किन प्रस्तुत गर्न सकेनन् चिन्ताको विषय छ । किन आर्थिक सहयोग गर्न सकेनन् विपन्न परिवारलाई ? सोचनीय छ । के यसैको लागि नेपाल छनौट गरिएको हो सम्मेलनको लागि ? जाबो एउटा विद्युतीय भोटिङ मेसिन समेत व्यवस्था गर्न नसक्ने एनआरएनले के चाँही गर्ला चिन्ताको विषय छ । हुन् त पद बिना भोक, प्यास, निन्द्रा समेत नलाग्ने केही नेपालीहरु विदेशमा पहिलो पाइला टेक्ने बित्तिकै संघ संगठन खोल्नतिर लाग्छन् । २-३ घरका नै जम्मा भएर किन नहोस् उनीहरु एउटा न एउटा नाम दिएर संस्था खोलीहाल्छन् । जातीको नाममा, भाषीको नाममा, जिल्लावासीको नाममा, पार्टी विचारधारको नाममा मात्रै हैन कि पछिल्लो समयमा त एउटै थरको नाममा समेत संस्था खोलिन थालेका छन् । तर, बिडम्वना सबै नेपाली अटाउने संगठन अझसम्म खोलिएका छैनन् । १६ वर्ष अगाडि स्थापना भएको एनआरएन चाँही विगतमा हो कि जस्तो थियो, तर अहिले आएर त्योपनि भ्रम रहेछ । राजनीतिक आस्था भएकाहरुले एनआरएन भित्र उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि आम गैर आवासीय नेपालीहरुमा वितृष्णा जाग्दैछ । यसरी राजनीतिक आस्था भएकाहरुले उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि के फरक रह्यो र कांग्रसको जनसम्पर्क समिति, कम्युनिष्टको प्रवासी नेपाली मञ्च तथा एनआरएनमा ? अनिलभक्त खरेल विदेशमा आएको लामो समय भएपनि नेपालको नशाबाट नउत्रिएकाहरुले आप्mनो श्रमलाई ढाकछोप गर्दै नेपालमा झैं आफुलाई सञ्चारकर्मी, पत्रकार, कलाकार, साहित्यकार, पार्टीको पदाधिकारी सम्झिएर एनआरएनमा सक्रिय भएपछि एनआरएन यस्तो अवस्थामा आएको हो भन्दा अत्युक्ति नहोला । यसरी राजनीतिक पार्टीका झुण्डहरु बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनप्रति सबैको बितृष्णा जाग्नु त स्वभाविकनै हो । कतै त्यही तत्वहरुले एनआरएनलाई मागी खाने भाँडो त बनाइरहेका छैनन् भन्ने अहिले ठूलो प्रश्न चिन्ह खडा भएको छ एनआरएनमा लाग्नेहरुका लागि । यसरी आफ्नो हैशियत र क्षमता भुलेर हावा तालमा नेपालका राजनीतिक पार्टीका पछाडि लागेर सपनाको महल बनाउन तल्लीन एनआरएनप्रति विदेशमा बस्ने आम नेपालीहरुको खास चासो छैन । एनआरएनप्रति विदेशमा बस्ने नेपालीहरुको मात्र हैन कि नेपालमा रहेका नेपालीहरु र सरकारले पनि चासो दिएका छैनन् । जुन पुष्टि समेत भैसकेको छ । यदि चासो दिएको हुन्थ्यो भने चिनियाँ राष्टपति आउँदा बनाइएका ३ दिने विकासलाई १० दिने बनाउन सक्थ्यो । चिनियाँ राष्टपतिको विदाइसंगै सडकका दायाँ बायाँ रहेका सजिसजावट हटाइने थिएनन् । राष्टपतिले कार्यक्रम उद्घाटन गर्नु मात्रै ठूलो उपलब्धी हैन । आफ्नो घरमा पाहुना आउँदा स्वागत गर्न कन्जुस्याई गर्नेहरुले भोलि भिजिट नेपाल २०२० कसरी सफल पार्लान् त्यो पो चिन्ताको विषय भएको छ । – भर्जिनिया

दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिट्टै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा सानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरै पटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु । यस्तो रमाइलो भूमिमा आई नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न म आतुर छु । आशा छ, हामी द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ खाका योजना बनाउन सक्नेछौं । चीन र नेपाल पहाड र नदीले जोडिएका छन्, युगौंयुगदेखि नै यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । करिब १६ सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियान र नेपाली महान भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद गरेका थिए । चीनको थाङ राजवंशका पालामा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह भएको थियो । महान भिक्षु स्यवीयान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृतान्त लेखेका थिए । य्वीयान राजवंशमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा श्वेत स्तूपको निर्माण गरेका थिए । युगौंयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका यी केही उदाहरणहरू हुन् । चीन र नेपालबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका छन् । हामीबीचको यस्तो पारस्परिक सम्मान, मैत्रीपूर्ण सहयोगको सम्बन्ध छिमेकी मुलुकहरूबीचको राम्रो सम्बन्धको नमुना बनेको छ । चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र हुन् । शान्तिपूर्ण सहअस्तित्वका पाँचवटा सिद्धान्तका आधारमा दुवै पक्षले सफलतापूर्वक दुई देशबीचको सीमालाई रेखांकित गरी हिमालयलाई दुई देशबीचको बलियो स्तम्भ बनाएका छन् । दुवै पक्षले एकअर्काको मुख्य चासोका विषयलाई दृढताका साथ समर्थन गर्दछन् । नेपाल एकमात्र चीनको नीतिमा अडिग रहेको छ र त्यसको दृढताका साथ पालना गरेको छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरोधी गतिविधि सञ्चालन गर्न दिएको छैन । चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्था अनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ । चीन र नेपाल आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार हुन् । दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महत्त्वपूर्ण साझेदार हो । गत वर्षमा द्विपक्षीय व्यापार परिमाण १.१ अर्ब अमेरिकी डलर पुगेको थियो । चीनले नेपालमा ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको थियो । नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दैछ । यसरी हिमालय वारिपारि ‘कनेक्टिभिटी नेटवर्क’को निर्माण विस्तारै हुँदैछ, जसबाट दुवै देशमात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुनेछ । चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकी हुन् । लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडानहरू छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिहरूले एकअर्काको देश भ्रमण गर्दछन् । हाम्रा दुई देशबीच ११ जोडी भगिनी सहरहरू बनिसकेका छन् । दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशका विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् । चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् । सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछवानमा विनाशकारी भूकम्प गएपछि नेपाल सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पुर्‍याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चीन सरकार र चिनियाँ जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चातको पुनर्निर्माणमा पनि सहयोग पुर्‍याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण हुन् । वर्तमानमा नेपाल सरकार र नेपाली जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढिरहेका छन् भने चीन सरकार र चिनियाँ जनता ‘दुईवटा सय वर्ष’ लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेका छन् । चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ । एकसाथ रही हामीले गर्नुपर्ने कामहरू यी हुन्– रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु : नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ । यसका लागि उच्चस्तरीय आदानप्रदान कायम गर्नुपर्छ । आपसी राजनीतिक विश्वास बढाउनुपर्दछ । एकअर्काको मुख्य चासोका विषयहरूमा आपसी सहयोगलाई अझै सुदृढताका साथ जारी राख्नुपर्दछ । देशको सुशासन तथा विकासको अनुभवसम्बन्धी आदानप्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नुपर्दछ । व्यावहारिक सहयोगको विस्तार गर्नु : दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनुपर्दछ । चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यत: व्यापार र लगानी, पुनर्निर्माण, ऊर्जा, पर्यटन– यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको छ । दोस्रो, चिनियाँ अन्तर्राष्ट्रिय आयात ‘एक्स्पो’ मा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ । चीनले नेपाललाई पुनर्निर्माणका लागि सहयोग निरन्तर दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ । जनस्तरीय आदानप्रदानलाई व्यापक पार्नु : दुवै पक्षले शिक्षा, युवा, पर्यटन र अन्य क्षेत्रहरूका आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्नुपर्दछ, दुवै देशका विमान सेवाका सीधा उडानहरू बढाई जनताको आवतजावत बढाउन सहयोग पुर्‍याउनुपर्छ । चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दछ र अझ बढी चिनियाँ नागरिकहरूलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्नेछ । चीनले नेपालका उत्कृष्ट युवाहरूका लागि बढी सरकारी छात्रवृत्ति प्रदान गर्नेछ र नेपालको निर्माणका लागि बढी संख्यामा प्रतिभाशाली व्यक्तिहरूलाई प्रशिक्षण दिनेछ । चीन अझ बढी नेपाली विद्यार्थीहरूलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्दछ । सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु : चीनले कानुनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्नेछ र कानुनको कार्यान्वयन गर्ने प्रशिक्षण कार्यमा नेपाललाई सहयोग दिनेछ । सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र दुवै देशका नागरिकहरूको सुरक्षा, आर्थिक तथा व्यापारिक आदानप्रदान सुचारु बनाउनका लागि दुवै पक्षले सीमा रक्षाका लागि आपसी सम्पर्कलाई सुदृढ पार्नुपर्दछ । त्यसबाहेक हामीले सेनाको पारस्परिक भ्रमण, कर्मचारीको तालिम र उपकरण प्रविधिको क्षेत्रमा पनि व्यावहारिक सहयोगलाई सुदृढ पार्नुपर्छ । नेपालीमा एउटा भनाइ छ, ‘थोपा–थोपा मिलेर समुद्र बन्दछ ।’ चिनियाँमा पनि यस्तै भनाइ छ, ‘सबैले दाउरा थप्दै गएमा आगोको ज्वाला अझै ठूलो हुँदै जानेछ ।’ जबसम्म दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदानप्रदान र सहयोगलाई विस्तार गर्दै जानेछन्, मलाई विश्वास छ, चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई हामी नयाँ उचाइमा पुर्‍याउन सक्दछौं । (गाेरखापत्रबाट)