अढाइ महिनापछि फारम भर्न खुला, लाइसेन्सको फारम लिन मध्यरातदेखि लाइनमा
काठमाडौं १०, मंसिर । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फारम भर्नेको भीड बढेको छ । झन्डै अढाइ महिनापछि बुधबारदेखि फारम भर्न खुला गरिँदा भीड लागेको हो । अत्यधिक भीडका कारण फारम भर्न चाहनेहरू मध्यरातदेखि नै लाइनमा बस्न थालेका छन्। लाइनमा बस्दासमेत फारम भर्न नपाएको उनीहरूको गुनासो छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेका अनुसार दुई महिनाभन्दा बढी समयसम्म लाइसेन्स दिने प्रक्रिया ठप्प हुँदा करिब १६ हजार जना लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाएनन् । ‘फारम संकलन सुरु गर्दा रोकिएर रहेका व्यक्ति एकैचोटि आएको र त्यसले भीड देखिएको हो,’ उनले भने । त्यस्तै, काठमाडौं उपत्यकामा सञ्चालन भइरहेको अनुमतिपत्र दिने एक मात्र यातायात व्यवस्था कार्यालय, एकान्तकुनाले दैनिक ६ सय फारम मात्र वितरण गरिरहेको छ। ट्रायल सेन्टर अभावका कारण दैनिक ६ सयभन्दा बढी फारम वितरण गरे पनि त्यसपछिको प्रक्रिया अघि बढाउन नसकिने भएकाले ६ सयमा सीमित गरिएको यातायात व्यवस्था विभागको भनाइ छ । एक दिनमा ६ सय फारम मात्र किन रु विभागसँग साइसेन्स लिनका लागि दिनुपर्ने लिखित परीक्षा हुने हल दुईवटा रहेका छन् । ती हलमा दिनभरमा विभिन्न सिफ्टमा गरेर ६ सयजनाको मात्र परीक्षा लिन सकिन्छ। अर्कोतिर लिखित परीक्षा पास गर्नेलाई लिइने प्रयोगात्मक परीक्षा ९ट्रायल० केन्द्र पनि दुईपांग्रेको मीनभवन र चारपांग्रेको रामशाहपथमा एक–एकवटा मात्र छन् । रातको समयमा ट्रायल लिन सक्ने सम्भावना छैन, एउटा परीक्षार्थीले ट्रायल दिन पनि पाँचदेखि १० मिनेट समय लाग्ने भएकाले त्यहाँ पनि भीड हुने गरेको छ । विभागका अनुसार गुर्जुधारामा नयाँ ट्रायल सेन्टर निर्माण थालिएको छ । नयाँ पत्रिका दैनिकबाट ।
हिरोले ल्यायो आईथ्रीएस प्रविधिका तीन नयाँ बाइक
काठमाडौं, ६ मंसिर । हिरोले एकैपटक तीनवटा बाइकलाई नयाँ भर्सनमा ल्याएको छ । हिरो मोटरकर्प लिमिटेडले स्प्लेण्डर आइस्मार्ट ११० सीसी, न्यू अभिचर १५० सीसी र नयाँ सुपर स्प्लेण्डर १२५ सीसीको नयाँ भर्सनलाई नेपाली बजारमा ल्याएको हो । हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्के्टिङले सोमबार काठमाडौंमा सार्वजनिक गरेका तीन वटै बाइकका यसअघिका अडिसन नेपाली बजारमा लोकप्रिय भइसकेका थिए । कम्पनीले नेपालमा अपग्रेड गरेर भित्र्याएको तीन वटै मोटरसाइकल आईथ्रीएस प्रविधिमा छन् । कम्पनीका प्रतिनिधिहरुले बाइकहरु अनावरण गर्दै भरपर्दो, उर्जायुक्त र प्रभावकारी उत्पादनहरु नेपाली बजारमा ल्याएको बताए । कम्पनीले केही महिना अगाडि मात्रै डुएट स्कुटर बजारमा ल्याएको थियो । कम्पनीले बजारमा ल्याएको स्प्लेण्ड आइस्मार्ट ११० सीसीको मोटरसाइकल भारतको जयपुरमै डिजाइन भएको हो । सबै बाइकमा ९ पटकको फ्रि सर्भिस र ५ वर्षको वारेन्टी दिइएको छ ।
सवारी चालक इजाजतपत्रका लागि निवेदन बुधबारदेखि खुल्ला
काठमाडौँ, ८ मङ्सिर । यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन बुधबारदेखि खुला गरेको छ । बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो । नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य सवारीसाधनको इजाजतपत्र लिन समस्या भएको थियो । गत असोज ११ गतेको राजपत्रमा केही नियमावली संशोधन भएकाले विभागले नयाँ निवेदन रोकेकोमा बुधबारदेखि नयाँ नियमअनुसार निवेदन खुला गरिएको विभागका निर्देशक निरन्जन रिजालले जानकारी दिए । सवारी चालक इजाजतपत्र लिन चाहने सेवाग्राहीले एकपटक लिखित परीक्षा फेल भएमा तीन महिनासम्म परीक्षण (ट्रायल) परीक्षा दिन नपाउने व्यवस्था गरिएकोमा त्यसलाई नियमावली संशोधन गरी एकपटक लिखित परीक्षा उत्तीर्ण भएकाले तीनपटकसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । पुराना निवेदकले दिएको निवेदनको काम कारबाही भने सुचारु भइरहेको थियो । रासस