ट्याक्सीमा मिटर भाडा समायोजन, अब १ किलो मिटरको ५३ रुपैयाँ
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजन गरिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म दुई हजार २०० ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको बताउँछन् । “मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ”, उनले भने । विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक मिटरमा ५३ उठ्छ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताउँछन् । “समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ”, उनले बताए । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन् ।
टाटा मोटर्सको ‘विंगर मिनीबस’ सार्वजनिक, मूल्य ३० लाख ८० हजार, यस्ता छन् विशेषता
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन “विंगर मिनिबस” सार्वजनिक गरेको छ । ३० लाख ८० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तीन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरेको टाटा मोटर्सका भिपि(प्रडक्ट लाइन एससिभि), बिनय पाठकले बताए । समारोहमा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठले भने, “टाटा मोटर्ससँगको हाम्रो सम्वन्ध अगस्ट १९८२ देखिको हो । यी वर्षहरूमा, टाटा मोटर्सले नेपाली बजारमा उसको स्थान विस्तार गरेको छ र सिप्रदीमा रहेर हामीले यी उत्पादनहरूलाई समृद्ध खरिद अनुभव र विक्रीपछिको उच्चस्तरीय सेवा सहायताको माध्यमबाट सहयोग जारी राख्नेछौं । रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि सुबिधा प्रदान हुने कम्पनीले जनाएको छ । टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ । १९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मद्दत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ ।
सरकारसँग ट्याक्सी चालकको मागः भाडा दर कम भो, सुरक्षा चाहियो
काठमाडौँ । उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् । बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन् । वैज्ञानिक भाडादर कायम नहुँदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने उनीहरुको माग छ । “२०६९ सालदेखि भाडा समायोजन भएको छैन । छिमेकी मुलुकहरूमा मिटरको शुरुआत कल तीन किलोमिटर बराबर हुन्छ । त्यो हिसाबले हाम्रो यहाँको मिटरमा शुरुमा कल एकदमै कम छ’’, व्यवसायी एवं चालक पूर्ण तामाङले बताए । शुरुमा कल एकदमै कम भएकाले यहाँका छोटो दूरीमा ट्याक्सीले मिटरमा यात्रु लैजान समस्या भइरहेको उनको भनाइ छ । “मूल्यवृद्धिको आधारमा किमीको भाडा पनि कम छ, पर्याप्त ट्याक्सी पार्किङ तथा ट्राफिक प्रहरीले गर्ने व्यवहार समेत राम्रो छैन”, उनले भने । सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या र गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाइएको जानकारी दिए । यही पुस १ गते चालक डम्बर खड्कालाई ट्याक्सी चलाइरहेका बेला ललितपुरको पुल्चोकबाट बालकुमारी खोला किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनाका दोषी पत्ता नलाग्नु गम्भीर विषय भएको तामाङले बताए । व्यवसायी तथा चालक समाजसेवाका अभियानकर्ता सानु पूर्वाछाने मगर, आफूलगायत व्यक्तिले करीब रु ५७ हजार चन्दा उठाएर घाइतेको उपचार गरेको बताउँदै तामाङले कुटपिटबाट ट्याक्सी चालकले आँखा गुमाउनु परेको जानकारी दिए । “अर्का घाइते बा १ ज ६१ ५६ नंं का चालक डम्बर खड्कालाई रु २५ हजार सहयोग गरियो । प्राइभेट गाडीले ट्याक्सीको काम गर्दा पनि समस्या भएको छ । यसबारेमा पटक÷पटक उजुरी गरे पनि सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गरेको छैन”, चालकहरूको भनाइ छ । हरेक चिजको मूल्यवृद्धि भएको अवस्थामा ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने बताउँदै तामाङले भने, “२०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा २५० तिर्नुपथ्र्यो, अहिले पाँच सय तिर्नुपर्छ, तेस्रो पक्ष बीमा ५०० बाट अहिले रु सात हजार ८०० छ, यस्तो अवस्थामा ट्याक्सीको भाडा बढाउनु आयश्यक छ ।” अधिकांश ट्याक्सी चालकले उपभोग्य वस्तुको मूल्यवृद्धि भएकाले सरकारले वैज्ञानिक र उपयुक्त संयन्त्रबाट मूल्य समायोजन गर्नुपर्ने तथा चालकमाथि आक्रमण गर्नेलाई कारवाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायत माग राख्दै आएका छन् । रासस