सुजुकी सुपर क्यारी अब नेपाली बजारमा, काठमाडौंको दुई स्थानबाट खरिद गर्न सकिने

काठमाडौं, २९ मंसिर । नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले लाइट कमर्शियल भेहिकल (एलसीभी) सुजुकी सुपर क्यारी नेपाली बजारमा सार्वजनिक गरेको छ । साथै, कम्पनीले एलसीभी सेग्मेण्टमा समेत आफ्नो ब्यवसाय विस्तार गरेको छ । सीजी मोटोकर्प सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो । सीजी मोटोकर्पले काठमाडौंमा कम्पनीको महाराजगञ्ज र बालकुमारी स्थित बिक्री केन्द्र मार्फत गाडी उपलब्ध गराउने छ । त्यसैगरी, उपत्यका बाहिर भने पोखरा, विरगञ्ज, विराटनगर र बुटवल बिक्री केन्द्र मार्फत गाडी उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आउने महिनाहरुमा आफ्नो बिक्री सञ्जाल थप बृहत बनाउँदै लैजाने बताएको छ । कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सुजुकी सुपर क्यारीलाई फाइभ स्पिड म्यानुअल ट्रान्समिशन सहितको ७ सय ९३ सीसी क्षमताको ट्विन सिलिण्डर ईञ्जिनले शक्ति प्रदान गर्छ । कम्पनीका अनुसार सुपर क्यारीले ३ हजार ५ सय आरपीएममा ३२ दशमलव ६३ बीएचपीको शक्ति र २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । त्यसैगरी, सार्वजनिक नयाँ गाडीले एआरएआई प्रमाणित २२ दशमलव ०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति क्षमता ८० किलोमिटर प्रति घण्टा छ । सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ‘उपभोक्ताको फाइदा तथा आवश्यकतालाई दृष्टिगत गर्दै सवारीको डिजाइनमा गहन अध्ययन तथा विशेष ध्यान दिइएको छ । सुपर क्यारीले अधिकतम भारवहन क्षमता अत्यधिक शक्तिका साथै उत्कृष्ट माइलेज समेत प्रदान गर्ने छ ।’

क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाईकल उपहार

काठमाडौं, २७, मंसिर । भीजी अटोमोबाइल्सले क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाइकल उपहार प्रदान गरी सम्मान गरेको छ । असोज ८ देखि १७ गतेसम्म किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज विजेता कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरी सम्मान गरिएको हो । अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले त्रिपुरेश्वरस्थित भीजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजिक कार्यक्रममा कामीलाई मोटरसाईकल प्रदान गरेका थिए ।

काठमाडौंमा शहरी पारवहन दौडाउने तयारी, गृहकार्य तीब्र

काठमाडौं २३, मंसिर । काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ। काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो। काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालीले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको  छ। बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइए अनुसार प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय लिने बताए।नेपाल समाचारपत्रबाट ।