अब २० वर्ष पुगेका सवारीसाधन ‘आउट’, २ वर्षभित्रै नेपालभरबाट दुई दशक पुराना सवारी विस्थापित

काठमाडौं १३, कात्तिक । बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन काठमाडौं उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउन लागेको हो । त्यस्तै आगामी २ वर्षभित्र नेपालभरबाटै २० वर्ष नाघेका सवारीसाधन हटाउने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । २ वर्षभित्रै नेपालभरबाट दुई दशक पुराना सवारी विस्थापितगर्ने अभियान सुरु हुने भएको छ । ‘दुई वर्षअघि भएको मन्त्रिपरिषद्को निर्णयअनुसार हामीले हटाउन लागेका हौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को निर्णयसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि २ वर्षको म्याद दिएर तोकिएको म्यादभित्र सवारी हटाउनु भन्ने थियो । त्यसैअनुरुप हामीले गर्न लागेका हौं ।’ नेपाल समाचारपत्र दैनिकबाट।

‘सडक विस्तारमा किन ढिलाइ ?, त्रिपुरेश्वरबाट १२ किमिपार गर्ने कठिन

काठमाडौं ११, कात्तिक । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका प्रतिनिधिमाझ अधिकारीले यसो भनेका थिए । कलंकीको फाइल तस्बिर अधिकारीको नेतृत्वमा एक वर्षयता पटक–पटक बसेको समितिको बैठकले सरकारी निकायलाई छिटो सडक निर्माण गर्न निर्देशन दिँदै आइरहेको छ । तर विस्तारको गति भने निकै सुस्त छ । सवारी साधनहरू उपत्यकाबाट बाहिरिने र भित्रिने नाकामध्ये सबभन्दा व्यस्त नाका हो– नागढुंगा । ‘यो सडक खण्डसँगै काठमाडौं उपत्यकाका अन्य बेहाल सडकबारे दैनिक गुनासो आउने गर्छन्,’ हेलो सरकारका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले भने, ‘हामीले गुनासालाई सम्बन्धित निकायमा पठाउँदै आएका छौं ।’ स्थानीय र आम जनता मात्र होइन, यातायात व्यवसायीले समेत दसैंअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै गएर उक्त सडक खण्ड सुधार गर्नुपर्ने माग राखेका थिए । ‘यो सडकमा गाडी गुड्न सक्ने स्थिति नै छैन । त्यसैले हामीले अरू केही गर्न नसके पनि ठूला खाल्डोमा ग्राबेलसम्म हाल्न आग्रह गरेका थियौं,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । कान्तिपुर दैनिकबाट ।

अंगभंग भए चालकको लाइसेन्स खारेज, सवारी तथा यातायात व्यवस्था ऐन कडा आउँदै

काठमाडौं ११ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी चालकलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन यस्तो व्यवस्थाको तयारी गरेको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन प्रस्ताव गरी मन्त्रालयमा पठाएको एक उच्च अधिकारीले बताए । ‘संशोधनका लागि मस्यौदा पठाइएको छ,’ ती अधिकारीले भने, ‘विभिन्न निकायसँग छलफल जारी छ, सदनमा चाँडै पठाइन्छ होला ।’ संसदबाट पारित भए उक्त प्रस्ताव ऐनमा परिवर्तन हुनेछ । कान्तिपुर दैनिकबाट ।