कर्जा नियन्त्रणले सवारी साधनको व्यापार २० प्रतिशतले घट्न सक्ने, अर्थतन्त्र संकूचनतिर जाँदै

काठमाडौं । सवारी साधन खरिदका लागि प्रवाह गरिने कर्जा ‘अटोलोन’ नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिएपछि सवारी साधनको व्यापारमा करिव २० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । सवारी कर्जा नियन्त्रणलाई अर्थतन्त्र संकूचनतिर लैजाने पहिलो कदमको रुपमा हेरिन लागेएको छ । सवारी साधन खरिदको लागि कर्जा प्रवाह नगर्ने राष्ट्र बैंकको नीति हो र बैंकहरुले सोहीअनुसार निर्णय गरेको भए त्यो गलत हुने नेपाल अटोमोवाईल डिलर्स एशोसिएशन (नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् । ‘‘आधिकारीक निर्णय आएको छैन । समाचारमा आए जस्तै अटो लोन नियन्त्रण गरिन लागेको हो भने ‘रोग एउटा, उपचार अर्को’ हुनेछ’’ श्रेष्ठले भने । अटोलोन नियन्त्रण गरिएमा अटोमोवाइल्सको करिब २० प्रतिशतले खस्कने नाडाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल बताउँछन् । ‘९८ प्रतिशत उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सवारी किन्ने गरेका छन्’ दाहाल भन्छन्-‘कर्जा नियन्त्रण हुने हो भने मोटर साईकलदेखि हेवि इक्वीप्टमेन्ट सम्मको आयात खस्कन सक्छ ।’ सवारी साधन किन्दा बैंक तथा वित्तीय संस्थाले तिनै साधनलाई धितोको रुपमा लिएर मूल्यको ८० प्रतिशत कर्जा लगानी गर्छन् । नेपालमा मात्र होइन, विश्वभरनै बैंकहरुले सवारी खरिदको लागि कर्जा प्रवाह गर्छन् । सवारी कर्जालाई बैंकहरुले सुरक्षीत लगानीको रुपमा लिन्छन् । ट्रक टिपर, एक्टाभेटर, डेजर, लोडर जस्ता सामाग्री उत्पादन र विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धीत भएकोले त्यस्ता साधनमा पनि कर्जा नियन्त्रण गरिएमा त्यो ठूलो गल्ती हुने उनले बताए । ‘अटोलोन उठेन भन्ने पनि छैन, बैंकहरुले सीमा भन्दा बढी यस क्षेत्रमा लगानी गरे भन्ने पनि छैन’ दाहाल भन्छन्-‘सरकारले पूँजीगत खर्च गर्न नसक्दा समस्या आएको देखिन्छ । सरकारले पूँजीगत खर्च बढाउने हो भने सबै समस्या हल हुने थियो ।’ आर्थिक संकट आउँदा अमेरिका, चीन, जापान जस्ता विकशित देशका सरकारले खर्च वृद्धिलाई प्राथमिकतामा राखेको उदाहरण दिदै नेपाल सरकार, राष्ट्र बैंकले खर्च नियन्त्रण गर्ने नीति लिए भने आर्थिक वृद्धि संकूचित हुन सक्ने उनले बताए । सरकारको राजश्वमा करिव ३० प्रतिशत अटोमोवाइल्स सेक्टरको योगदान रहेको बताउँदै नाडाका महासचिव कृष्णप्रसाद दुलाल भन्छन-‘अटोलोन नियन्त्रण गरियो यो क्षेत्रको व्यापार मात्र खस्कदैन, सरकारको राजश्व पनि घट्नेछ, बैंक तथा बीमाको नाफा पनि घट्नेछ, आर्थिक वृद्धिलाई नै असर गर्नेछ ।’

६ महिनामा व्यापार घाटा ४३० अर्ब, सवारी साधनको आयात १६८ प्रतिशतले वृद्धि, सवारी कर्जा नियन्त्रणमा थप दवाव

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा नेपालले ४ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार घाटा बेहोरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.३ प्रतिशतले बढी हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार छ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई  रु.५०२.३७ अर्ब पुगेको छ । केन्द्रका अनुसार यातायातका साधन र तिनका पार्टपुर्जाको आयात १६८.२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ४६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सवारी र तिनको पार्टपुर्जा आयात भएको छ । सवारी साधन खरिद गर्न बैंकहरुले बढी कर्जा लगानी गरेको भन्दै बैंकर्सहरुले आलोचना खेपिरहेको समयमा तथ्याङ्कले पनि सवारीको आयात उच्चदरले बढेको देखाएको छ । सवारी साधन सँगै पेट्रोलियम पदार्थको आयात पनि  १४१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा ५१ अर्ब ८१  करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै, फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ९५.३ प्रतिशतले वृद्धि भएको छ । सो अबधिमा फलाम, स्टील र तिनको उत्पादन ५० अर्ब ६५ करोडको आयात भएको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ५९.४ प्रतिशतले वृद्धि भएको छ । औषधीको आयात १९.८ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा ११.४७ अर्बको औषधी आयात भएको छ । यस अवधिमा ३८ अर्ब २२ करोड रुपैयाँको मेशिनरी तथा पार्ट्स आयात भएको छ जुन गत आर्थिक वर्षको तुलनामा १२६.४ प्रतिशतले वृद्धि भएको छ । यस्तो आयात उत्पादन वृद्धिमा सहयोग गर्छ । दूरसञ्चारका सामाग्रीहरुमा ४९.८ प्रतिशतले वृद्धि भई रु. १५ अर्ब ८२ करोडको आयात भएको छ । समीक्षा अवधिमा  ११ अर्ब ८० करोड बराबरको सुन र ४ अर्ब १६ करोड बराबरको चाँदी आयात भएको छ । रु. २ अर्ब ५६ करोड बराबरको हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर ८ अर्ब ९७ करोड, भटमासको कच्चातेल ६ अर्ब ५१ करोड, तयारी पोशाक ७ अर्ब ११ करोडको आयात भएको छ । सरकारले कृषि उत्पादन वृद्धि भएको बताईरहेको समयमा अन्न १९ अर्ब २ करोड आयात भएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भइ रु ३६.३२ अर्ब तथा कुल पैठारीमा ६४.३  प्रतिशतले बृद्धि भई भई रु. ४६६.०५ अर्ब पुगेको छ । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि  प्रमुख रहेका छन् । नेपालको निकासी  व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क  आदि प्रमुुख रुपमा रहेका छन् ।

यामाहा स्कुटर टेस्ट राइड गर्दा आईफोन ७ जित्ने मौका

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन सुरु गरेको छ । यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जना भाग्यशालीले आईफोन ७ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । एमएडब्लुले यो योजना अवधिभर यामाहा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकलाई टिसोट, गुच्ची, बोस ओरेन्ज, जिर्गियो अर्मानी र गाइ लोरेचे लगायत ब्रान्डका प्रिमियम घडि, सनग्लास, पफ्र्युम र ब्याग उपहार दिने घोषणा गरेको छ । ‘यामाहासँग विभिन्नखाले बाइक र स्कुटरहरु छन् । स्कुटरप्रेमीहरुका लागि हामीसँग फेसिनो, रेजेडआर र रेजी छन्,’ एमएडब्लु इन्टरप्राइजेजका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट एजीएम दिपक रौनियारले भने ‘यामाहा स्कुटरहरु नेपालमा धेरै रुचाइएका छन् । वास्तवममा यामाहा स्कुटरहरु प्रिमियम स्कुटरमा गनिन्छन् ।’ यामाहाले बिक्री गर्दै आएको फेसिनो, रे जेडआर र रेजीलाई प्रिमियम स्कुटरको छवि बनाउन सफल छन् । एक सय १३ सीसी एअर कुल्ड इन्जिनजडित फेसिनो निकै सुन्दर स्कुटर हो जसमा ब्लुकोर टेक्नोलोजी रहेको छ । यसले गर्दा नै यसले ६६ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । रेट्रो स्टाइल र क्वालिटी बिल्ट–अप र ट्युबलेस टायर यसका विशेषताहरु हुन् । त्यसैगरी, यामाहा रे जेडआर रेजीको अपडेटेड भर्सन हो । यसको हेडलाइट, ब्लिंकर, र फ्रन्ट फेन्डर रिडिजाइन गरिएको छ भने एनालग मिटर कन्सोललाई स्टाइलिस बनाइएको छ । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीले जनाएको छ ।