होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए । महाशाखाले तीनजना राखेर चलाउने ७६, हेल्मेट नलगाई चलाउने ४३, कागजपत्र नलिई चलाउने ३३०, मादक पदार्थ सेवन गरी चलाउने १३५, जथाभावी लापरवाही तरिकाले चलाउने ३६, सरकारी २५ र अन्य कसुरमा ३० चालकलाई कारवाही गरेको छ । जसमध्ये २४३ सवारी साधनलाई कारवाही गरेर छाडेको र बाँकी ६७५ सवारी साधनलाई महाशाखामा ल्याएर राखिएको छ । महाशाखाले होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाएको थियो । बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखाले ७७ स्थानबाट ट्राफिक जाँच गरेको थियो भने १९ वटा मोबाइल चेकजाँच र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरेकोे महाशाखाले जनाएको छ । महाशाखाले होली पर्वमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरेको छ । रासस
लाइसेन्स लिन प्रमाणपत्र नचाहिने, ड्राइभिङ सेन्टरहरुको पैसा कमाउने दिन सकिए !
काठमाडौं । अब सवारी चालक अनुमति पत्र(लाइसेन्स) लिन प्रशिक्षण केन्द्रको प्रमाणपत्र नचाहिने भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सार्वजनिक सूचना मार्फत सर्वसाधारणले सवारी लाइसेन्सका लागि आवेदन दिँदा बुझाउँदै आएका प्रशिक्षण केन्द्रको प्रमाणपत्रको प्रतिलिपी अब बुझाउन नपर्ने जानकारी गराएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४८ को उपदफा(२) मा ‘नीजले चलाउन चाहेको सवारीको सम्बन्धमा प्रशिक्षण केन्द्रले दिएको प्रमाणपत्रको प्रतिलिपी’ भन्ने शब्दहरु हटाइएकोले उक्त प्रमाणपत्र आवश्यक नरहेको यातायात व्यवस्था विभागका प्रशासन शाखाका निर्देशक तीर्थराज खनालले बताए । उक्त व्यवस्था लागू भएसँगै नेपालमा संचालन भइरहेका सवारी चालक प्रशिक्षण केन्द्रहरुको व्यवसाय खस्किने भएको छ । विभागले प्रकाशित गरेको सूचना अनुसार ड्राइभिङ ट्रेनिङ सेन्टरहरुको पैसा कमाउने दिन सकिने देखिएको छ ।
हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा, १ करोड ७० लाख राजश्व संकलन
काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उनले भने । ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो । यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ । महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट ५०० कारवाही स्वरुप लिँदै आएको छ । यसरी कारवाही स्वरुप १ करोड ७० लाख राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।