काठमाडौँमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न

काठमाडौँ । काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन८८३को टेष्टराइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए । त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयरपार्ट्सको वारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो । आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन्२०१८को नाडा अटोशो मार्फत नेपालमा पहिलोपटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय सोरुम रहेको छ।

उपत्यकामा राति १० बजेसम्म गाडी, ऐन प्रमाणिकरण पछि लागु हुने

काठमाडौँ । काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ । काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो  । कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐनमा महानगरसँग स्वीकृति नलिई सार्वजनिक सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । चालक र सहचालकलाई पोसाक उपलब्ध गराउने, यात्रुका गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्थासमेत ऐनमा गरिएको जानकारी महानगरका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार सार्वजनिक सवारी साधनमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन ऐनमा त्यस्तो व्यवस्था गरिएको हो । सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार सामग्री अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्थासमेत गरिएको छ । चालकले जथाभावी यात्रु चढाउने र ओराल्ने नगर्ने, अश्लील नबोल्ने, यौनजन्य दुर्व्यवहार नगर्ने, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोग नगर्ने दायित्व निर्वाह गर्नुपर्ने र नगरेमा कारबाही हुने व्यवस्थासमेत ऐनमा गरिएको छ । ऐनमा मदिरा तथा सुर्तीजन्य वस्तुको सेवन नहुने, अश्लील बोल्न रोक लगाउने, यौनजन्य हिंसा हुन नदिने दायित्व सहचालकलाई हुने र भएमा कारबाही हुने व्यवस्था राखिएको छ । ऐनमा यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले प्रतिस्थापन गर्नुपर्ने, तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था अनिवार्य लागू गरिने भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कानुनबिनै रेल खरिद गर्ने तयारी, प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर-जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद सम्झौता गर्न रेल विभागले एक साताअघि भारतीय कम्पनीलाई पत्राचार गरिसकेको छ। विभागका महानिर्देशक बलराम मिश्रा सम्झौता भएको तीन महिनाभित्र रेल सञ्चालन हुने दाबी गर्छन् । जनकपुर–जयनगर रेल रेल्वे कम्पनीमार्फत सञ्चालन गरिनेछ। तर, रेल सञ्चालन गर्ने रेल्वे कम्पनीसम्बन्धी कानुन छैन । मिश्राका अनुसार रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमवलीको मस्यौदा तयार भइसकेकाले रेल सञ्चालनमा कुनै समस्या नहुने बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।