कार्यालय प्रमुखबाटै लाइसेन्स विक्री, १० हजार रुपैयाँमा दशै हजार लाइसेन्स विक्री
काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा लाखौँको चलखेल गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । अन्य १३ कर्मचारीलाई समेत कारबाही प्रक्रिया सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार सुवेदीलाई निलम्बन गरेको हो । २३ हजार लाइसेन्स वितरणमा यातायात कार्यालयले आर्थिक चलखेल गरेको प्रमाण भेटिएपछि प्रमुख सुवेदीलाई निलम्बन गरिएको मन्त्रालयका एक उच्च तहका कर्मचारीले बताए । ‘पैसा असुलेर कपी चेक नै नगरी पास गरेको पाइयो,’ विभागका ती कर्मचारीका भने, ‘सोही आधारमा कार्यालय प्रमुखलाई निलम्बन गरिएको हो ।’ उनका अनुसार दलालहरूसँग लाखौँ पैसा उठाएर कपी नै जाँच नगरी नतिजा प्रकाशन गर्न लागिएको थियो । यातायात कार्यालय भेरीले गत भदौमा लाइसेन्स वितरणका लागि आवेदन खुलाएको थियो । जसमा २६ हजारले आवेदन दिएका थिए । २३ हजारले नै लिखित परीक्षामा सहभागी भएकोमा हालसम्म नतिजा प्रकाशनसमेत भएको छैन । कार्यालयले तयार पारेको नतिजामा फेल भएकालाई पनि आर्थिक चलखेलका आधारमा पास गराएको खुलेपछि मन्त्रालयले निलम्बन गरेको स्रोतको भनाइ छ । अनियमितताको उजुरी परेपछि यातायात व्यवस्था विभागले छानबिन थालेको थियो । विभागका निर्देशक तुलसीराम अर्याल र शाखा अधिकृत धनेश्वर पौडेललाई छानबिनका लागि नेपालगन्ज पठाइएको थियो । उनीहरूले दिएको प्रारम्भिक प्रतिवेदनका आधार प्रमुख सुवेदीलाई निलम्बन गरी अरूलाई कारबाही प्रक्रिया सुरु गरिएको हो । विभागका प्रवक्ता डा। टोकराज पाण्डेले सुवेदीलाई निलम्बन गरी छानबिन थालिएको पुष्टि गरे । सुवेदी निलम्बनमा परेपछि यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख तेजप्रसाद उप्रेतीलाई भेरी कार्यालयको नतिजा निकाल्ने जिम्मेवारी दिइएको छ । विभागले कार्यालयका १३ कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । अधिकृतहरू सीताराम खनाल र टेकराज पोखरेल, नायब सुब्बाहरू ललितबहादुर वली, केशवराज डाँगी, हुतराज पौडेल, सतानन्द न्यौपाने, अरुणकुमार गौतम, धर्मदत्त चौलागाईं, ओमबहादुर बस्नेत र गणेशमान आचार्यलाई विभागले स्पष्टीकरण सोधेको हो । टाइप नायब सुब्बा सावित्री पौडेल र खरिदारहरू चन्द्रमणि नेपाली, केशरकुमार चपाईलाई समेत स्पष्टीकरण सोधी कारबाही प्रक्रिया सुरु गरिएको विभाग स्रोतले बताएको छ । नयाँ पत्रिका दैनिकबाट ।
यामाहाको बाइक तथा स्कुटर खरिदमा आठ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘विस काउन्ट’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै आठ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् । साथै, हरेक साता हुने लक्की ड्रमा ग्राहकले एक लाख रुपैयाँ बम्पर उपहार पाउनेछन् । ‘नयाँ वर्षको अवसरमा ग्राहकहरुको उल्लासलाई बढाउने उद्देश्यले हामीले यो योजना ल्याएका हौं । हामीलाई विश्वास छ यामाहाको नगद पुरस्कार र लक्की ड्रबाट ग्राहकहरु खुसी हुनेछन्,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपकराज गिरीले भने, ‘यो योजनाले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउने अपेक्षा हामीले गरेका छौं । यामाहाका मोटरसाइकल र स्कुटर किन्ने यो उत्तम समय हो ।’ साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ बम्पर पुरस्कार जित्न सक्नेछन् । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यहि अवसरमा एमएडब्लुले यामाहा मोटरसाइकल तथा स्कुटरमा अभुतपूर्व ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा ल्याएको छ । यसअन्तर्गत फाइनान्सिङ गरेर यामाहा मोटरसाइकल खरिद गर्न चाहनेले विना झन्झट यो सुविधा पाउनेछन् । नयाँ वर्षको योजना यामाहा ब्रान्डका सबै मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । नेपाली बजारमा यामाहाको एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
एचएच बजाजको नयाँ शोरुम स्याङ्जामा, बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदमा सजिलो
काठमाडौं । नेपालमा अत्यधिक बिक्री हुने पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले आफ्नो नयाँ शोरुम स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै जाने उद्देश्यले सो स्थानमा सन्तोषी स्पेयर पार्टस नामक नयाँ शोरुम संचालनमा ल्याएको हो । एचएच बजाज आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएचबजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । उक्त अवसरमा, एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने, ‘हामी स्याङ्जामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले स्याङ्जामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं । ’ नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।