काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिक प्रणाली संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् ।
‘एभरेष्ट १! इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका हुन् ।
बीवाइडीको 'कूल द अर्थ बाई १ डिग्री सेल्सियस' अवधारणाबाट प्रेरित भई सीबीसीएफले सन् २०२५ देखि एसपीसीसी सँग सहकार्य सुरु गरेको थियो । यस सहकार्यको उद्देश्य सगरमाथा र खुम्बु क्षेत्रले सामना गरिरहेका वातावरणीय चुनौतीहरू समाधानका लागि नवीन तथा दीर्घकालीन उपायहरू विकास गर्नु हो ।
पछिल्ला दशकहरूमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमाथि गम्भीर दबाब परेको छ ।
विभिन्न अध्ययनहरू अनुसार हिमालमा अझै पनि ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक, आरोहण सामग्री तथा मानवजन्य फोहोर बाँकी रहेको अनुमान छ । यसले हिमनदी, जलस्रोत तथा स्थानीय समुदायमाथि प्रत्यक्ष असर पारिरहेको छ ।
यसैबीच, सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा ‘एभरेष्ट १ड्ढ इनिसियटिभ’ अन्तर्गत महत्वपूर्ण उपलब्धि हासिल भएको छ । सीबीसीएफ को सहयोगमा एसपीसीसी ले पहिलो पटक क्याम्प–२ मा ‘एभरेष्ट रेन्जर्स बेस’ स्थापना गरेको छ ।
उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना एभरेष्ट रेन्जर्सले वातावरणीय मापदण्ड पालना, फोहोर व्यवस्थापन अनुगमन, आरोही सचेतना अभिवृद्धि तथा आपतकालीन सहयोग सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
आरोहण सिजनभर रेन्जर्सहरूले आधार शिविरभन्दा माथिका क्षेत्रमा फोहोर व्यवस्थापन गतिविधिको निगरानी गरेका थिए । विशेष गरी क्याम्प–३ र क्याम्प–४ बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा २ केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन गरिएको एसपीसीसीले जनाएको छ ।
सन् २०२६ को वसन्तकालीन आरोहण सिजनले वातावरणीय व्यवस्थापनका दृष्टिले उल्लेखनीय नतिजा दिएको छ । यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोही सहभागी भएका थिए, जुन यी हिमालहरूको इतिहासकै उच्च सहभागिता मानिएको छ ।
एसपीसीसी को फोहोर व्यवस्थापन तथा अनुगमन प्रणालीमार्फत क्याम्प–३ र साउथ कोल क्षेत्रबाट १ हजार २२६ किलोग्राम जलाउन मिल्ने फोहोर संकलन गरिएको छ ।
त्यस्तै २१० वटा ईपीआई ग्यास क्यानिस्टर तथा १ हजार ७६९ वटा मानव मल व्यवस्थापनका लागि प्रयोग गरिएका ‘पुप ब्याग’ तल्लो क्षेत्रमा झारिएको छ ।
खुम्बु आइसफल प्रवेशद्वारमा रहेको एसपीसीसी चेकपोइन्टमार्फत क्याम्प–२ बाट मात्रै थप ६ हजार ५२२ किलोग्राम फोहोर संकलन गरिएको छ ।
जसमा ३ हजार ५३३ किलोग्राम टिन तथा क्यान, ८२७ किलोग्राम भान्साजन्य फोहोर, ८०३ किलोग्राम कागजजन्य सामग्री, ६७६ किलोग्राम प्लास्टिक, ६१६ किलोग्राम टेन्ट तथा कपडा र ६७ किलोग्राम डोरी समावेश छन् ।
एसपीसीसी का अनुसार सन् २०२६ को वसन्तकालीन आरोहण सिजनले संस्थाका लागि बहुआयामिक उपलब्धि हासिल गरेको छ । एकातर्फ सगरमाथा, ल्होत्से र नुप्त्से क्षेत्रमा इतिहासकै उच्च सङ्ख्यामा आरोही सहभागी भए भने अर्कोतर्फ क्याम्प–२ मा एसपीसीसी को पहिलो मौसमी कार्यालय सञ्चालनमा आएको छ । साथै, फोहोर व्यवस्थापनतर्फ उल्लेखनीय सफलता प्राप्त भएको छ ।
यी उपलब्धिहरूलाई आधार बनाउँदै एसपीसीसी र सीबीसीएफले आगामी वर्षहरूमा सगरमाथा क्षेत्रमा थप दिगो फोहोर व्यवस्थापन पूर्वाधार विकास गर्ने योजना अघि बढाएका छन् ।
यसअन्तर्गत आरोहीहरूका लागि वातावरणीय अभिमुखीकरण कार्यक्रम सञ्चालन, मानव फोहोर व्यवस्थापन प्रणाली विस्तार, उच्च शिविरहरूमा विशेष फोहोर संकलन केन्द्र स्थापना तथा ड्रोनमार्फत फोहोर ढुवानी प्रणाली विस्तार गरिनेछ ।
यस साझेदारीले सन् २०२५ मा एयरलिफ्ट टेक्नोलोजिजसँगको सहकार्यलाई पनि निरन्तरता दिएको छ । सो सहकार्यअन्तर्गत परीक्षण चरणमा क्याम्प–१ बाट २८३ किलोग्राम फोहोर ड्रोनमार्फत सफलतापूर्वक संकलन तथा ढुवानी गरिएको थियो ।
यसले हिमाली क्षेत्रमा प्रविधिमैत्री फोहोर व्यवस्थापनको सम्भावना उजागर गरेको एसपीसीसी ले जनाएको छ ।
स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि सीबीसीएफले एभरेष्ट बेस क्याम्पमा ५ केभीए क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गर्न सहयोग गरेको छ । यसले दुर्गम हिमाली क्षेत्रमा भरपर्दो तथा स्वच्छ ऊर्जा उपलब्ध गराउँदै परम्परागत इन्धनमा निर्भरता घटाउन सहयोग पुर्याइरहेको छ ।
‘एभरेष्ट १ड्ढ इनिसियटिभ’ लाई तीन चरणमा कार्यान्वयन गर्ने योजना रहेको छ । पहिलो चरण सन् २०२६ मा वातावरणीय चार्टर निर्माण, वित्तीय योजना, सरोकारवालासँग छलफल, प्रशिक्षण सामग्री विकास, दुई जना रेन्जर परिचालन, वातावरणीय अभिमुखीकरण भिडियो निर्माण तथा प्रारम्भिक ड्रोन परिचालनमा केन्द्रित हुनेछ ।
सन् २०२७ मा दोस्रो चरणअन्तर्गत वातावरणीय चार्टर कार्यान्वयन, वातावरणीय व्यवस्थापक तालिम, ६ जना रेन्जर परिचालन, क्याम्प–४ मा फोहोर संकलन केन्द्र निर्माण, दुईवटा ड्रोन सञ्चालन, १४० वटा मानव फोहोर व्यवस्थापन उपकरण विस्तार तथा याक टोली परिचालन गरिनेछ ।
तेस्रो तथा अन्तिम चरण सन् २०२८ मा दिगोपन सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन हुनेछ । यस अवधिमा रेन्जर परिचालनलाई निरन्तरता दिइने, थप तालिम कार्यक्रम सञ्चालन गरिने, सम्पूर्ण पूर्वाधार पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, २०० वटा मानव फोहोर व्यवस्थापन उपकरण परिचालन गरिने तथा आरोही शुल्कमा आधारित आत्मनिर्भर वित्तीय मोडेलमा रूपान्तरण गरिने योजना रहेको छ ।
सन् १९९१ मा स्थापना भएको एसपीसीसी शेर्पा समुदायको नेतृत्वमा सञ्चालित गैरनाफामूलक संस्था हो । यसले सगरमाथा क्षेत्र तथा सगरमाथा राष्ट्रिय निकुञ्जभित्र वातावरण संरक्षण, फोहोर व्यवस्थापन, आरोही सुरक्षा तथा दिगो विकासका क्षेत्रमा कार्य गर्दै आएको छ ।
सन् २०२४ मा स्थापना भएको सीबीसीएफ साईमेक्स इन्क प्रालि र बीवाइडीको संयुक्त पहल हो । शिक्षा, स्वास्थ्य तथा दिगो विकासका क्षेत्रमा केन्द्रित फाउन्डेसनले वातावरण संरक्षण, नवीकरणीय ऊर्जा तथा सामुदायिक विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।