विकासन्युज

सिटिजन्स बैंकको २०औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा ६२ कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १९औं वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा ‘दीर्घ सेवा सम्मान’ कार्यक्रम आयोजना गरेको छ ।  हरेक वर्ष चैत्र १ गतेलाई ‘कर्मचारी दिवस’ का रूपमा मनाउँदै आएको बैंकले यस वर्ष पनि सोही दिन पारेर बैंकमा १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो ।  बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित विशेष समारोहका बीच प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले १० वर्ष सेवा पूरा गरेका ४८ जना र १५ वर्ष सेवा पूरा गरेका १४ जना गरी कुल ६२ जना कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे ।  विसं २०६४ वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ यात्रा सुरु गरेको यस बैंकमा हाल १ हजार ७ सय ६४ कर्मचारीहरू कार्यरत छन् भने हालसम्म ३५६ जना कर्मचारीले दीर्घ सेवा पदक प्राप्त गरिसकेका छन् । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले कर्मचारीहरूलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई कार्यसम्पादन गर्न आग्रह गर्दै बैंकलाई नयाँ उचाइमा पुर्‍याउन शतप्रतिशत योगदान दिन आह्वान गरे। ‘बैंक अफ द इयर २०२४ र २०२५’ को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल यस बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवामा आफूलाई अब्बल सावित गरेको छ ।  बैंकले नेपालमै पहिलो पटक ’सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल कार्ड) सञ्चालनमा ल्याउनुका साथै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘डिजी बैंक सेवा’, र फ्रिलान्सरहरूका लागि विशेष बचत खाता समेत सुरु गरिसकेको छ । हाल बैंकले देशभरका २०० शाखा, १६९ एटीएम र विभिन्न विस्तारित काउन्टरहरूमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी वैशाख ७ गते हुने मुख्य वार्षिकोत्सवको अवसरमा बैंकले महिनाभरि नै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

गभर्नर पौडेलले सिकाए पैसाको महत्त्व, भने- पैसा भ्यालु स्टोर गर्ने माध्यम हो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जीवनमा जुनसुकै पेशा रोजेपनि पैसाको सदुपयोग गर्न आवश्यक रहेको बताएका छन् । सोमबार ग्लोबल मनी वीक–२०२६ को अवसरमा बोल्दै उनले डाक्टर, इन्जिनियर, प्लम्बर, इलेक्ट्रीसियन, शिक्षक जे बनेपनि मिहिनेत गरेर कमाएको पैसाको सदुपयोग कसरी गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए ।  गभर्नर पौडेलले विद्यार्थीहरूलाई सानै उमेरदेखि पैसाको महत्व, बचत र खर्च व्यवस्थापनबारे बुझ्न आवश्यक रहेको बताए । पैसा भनेको मूल्य सुरक्षित राख्ने माध्यम (भ्यालु स्टोर) भएको उनको भनाइ छ । आज गरेको कामको मूल्य भविष्यमा केका रूपमा प्राप्त हुन्छ भन्ने कुरा पैसाले निर्धारण गर्ने उनले बताए । ‘कुनै व्यक्तिले आज कसैका लागि काम गरेपछि त्यसको सट्टा प्राप्त गरेको पैसा प्रयोग गरेर अन्य ठाउँबाट आवश्यक सामान किन्न सक्छ । दूध, चिनी, चियापत्ती वा अन्य सेवासुविधा खरिद गर्ने प्रक्रिया पैसाको माध्यमबाट सम्भव हुने भएकाले यसको सही प्रयोगबारे बुझ्न आवश्यक छ,’ उनले भने, ‘आज तपाईंले गरेको कामको मूल्य भविष्यमा तपाईंले के पाउनुहुन्छ भन्ने पैसाले निर्धारण गर्छ र पैसा मिहिनेतको फल हो, त्यसैले यसलाई सदुपयोग गर्न र मिहिनेत गरेर कमाएको मूल्य सुरक्षित गर्न जान्नुपर्छ ।’ उनका अनुसार विगतमा ऋण तिर्न नसक्दा व्यक्ति जीवनभर अरूको लागि काम गर्न बाध्य हुन्थे । आजको समय फरक भए पनि पैसा सदुपयोग नगरेको खण्डमा नकारात्मक परिणाम हुन सक्ने उनले बताए ।  पौडेलले भने, ‘पैसासँग सम्बन्धित विषयहरू समयसँगै परिवर्तन हुँदै गएको छ । पहिले सुन, चाँदी र तामाका असर्फी चल्थे भने अहिले नोट र भविष्यमा भर्चुअल माध्यमबाट पैसा प्रयोग हुने सम्भावना छ । बैंकिङ सेवा र डिजिटल भुक्तानीको माध्यमबाट पैसा चलाउने, बचत गर्ने र खर्च गर्ने कुरा जान्न आवश्यक छ ।’

जेनजी प्रदर्शनका क्रममा नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।  गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी करागारबाट ५४६ कैदी भागेका थिए । जसमध्ये ३६२ जना नवलपरासी कारागारमा फर्किए भने चार जना अन्य कारागारमा फर्किएर बसेको कारागार प्रशासन नवलपरासीका नायब सुब्बा किरण अर्यालले बताए । केही कैदीबन्दी आफै फर्केर आए पनि केहीलाई प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो । तीमध्ये १५० पुरुष र ३० जना महिला कारागारमा हाजिर नभएर फरार नै रहेको उनले जानकारी दिए ।  कारागारलाई आफ्नो नियन्त्रणमा लिएर भागेका कैदीलाई कारागार प्रशासनले सूचना जारी गर्दै समयमा नै पुनः कारागार फर्किनका लागि सूचना जारी गरेको थियो ।  कैदी कारागारबाट भाग्नुभन्दा पहिला नवलपरासी कारागारमा ५७५ जना कैदी रहेका थिए । तीमध्ये ४१ जना विदेशी (भारतीय) कैदी थिए । भारतीय कैदीबन्दीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरी कारागार बुझाए पनि ३८ जना अझै फरार नै रहेका छन् ।  फरार कैदीबन्दीलाई खोजतलास गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वीरदत्त पन्तले बताए ।

राजनीति छोडेको छैन, विकृत माहोलबाट टाढिन चाहेको हुँ : डा. सिके राउत

नेपालको संसदीय राजनीतिमा पछिल्लो समय देखिएको अस्थिरता, दलहरूबीचको प्रतिस्पर्धा र जनअपेक्षाबीचको दूरीका कारण धेरै नेताहरूले आफ्ना राजनीतिक रणनीतिहरू पुनर्विचार गर्न थालेका छन् । यही सन्दर्भमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट बाहिरिने घोषणा गरेका छन् । उनले आफू सुरुदेखि नै संसदीय राजनीतिमा जान इच्छुक नभएको तर परिस्थितिवश त्यसमा सहभागी भएको बताए । संसद्‌मा पुगेपछि पनि आफू मन्त्री बन्ने लोभबाट टाढा बसेको दाबी गर्दै उनले अब देश विकासको आन्दोलनमा केन्द्रित हुने योजना सुनाएका छन् । संसदीय राजनीतिबाट टाढिए पनि देश र समाजका लागि आफ्नो भूमिका अझ सक्रिय रहने उनको भनाइ छ । प्रस्तुत छ उनै डा. सिके राउतसँग गरिएको  कुराकानीको संम्पादित अंश : तपाईंले संसदीय राजनीतिबाट बाहिरिने घोषणा गर्नुभएको छ, यो निर्णय किन लिनुभयो ? मैले यो निर्णय भावनात्मक रूपमा होइन, गहिरो अनुभव र अवलोकनपछि लिएको हुँ । वास्तवमा म सुरुदेखि नै संसदीय राजनीतिमा जाने पक्षमा थिइन । मेरो सोच देश विकासका लागि आन्दोलन, अभियान र जनसक्रियता बढी प्रभावकारी हुन्छ भन्ने थियो । तर त्यो बेला मधेसका जनता ठूलो राजनीतिक अन्यायको अनुभूति गरिरहेका थिए । उनीहरूको आवाज राष्ट्रिय स्तरमा उठाउने एउटा माध्यम संसद् पनि हुन सक्छ भन्ने सोचेर हामी चुनावमा गयौं । जनताले हामीलाई ठूलो विश्वासका साथ संसद्मा पठाए । संसद् पुगेपछि मैले नजिकबाट राजनीतिलाई हेर्ने मौका पाएँ । तर त्यहाँ देखिएको वातावरण दलहरूबीचको खिचातानी, पदका लागि हुने प्रतिस्पर्धा, सिद्धान्तभन्दा स्वार्थ प्रधान हुने प्रवृत्ति, यी सबैले मलाई निकै निराश बनायो। मलाई लाग्यो यस्तो माहोलमा बसेर देश र जनताको हितमा प्रभावकारी काम गर्न कठिन छ । त्यसैले मैले आफूलाई यो विकृत माहोलबाट टाढा राखेर विकासको आन्दोलनमा लाग्ने निर्णय गरेको हुँ । तपाईं भन्नुहुन्छ, सुरुदेखि नै संसदीय राजनीतिमा जाने इच्छा थिएन । त्यसो भए चुनावमा किन सहभागी हुनुभयो ? यो प्रश्न धेरैले सोध्नुहुन्छ । सत्य के हो भने मेरो मूल उद्देश्य राजनीतिक पद प्राप्त गर्नु थिएन । त्यो समय मधेस आन्दोलनपछि जनतामा ठूलो असन्तोष थियो । धेरै मुद्दाहरू उठेका थिए तर राज्यले त्यसलाई गम्भीर रूपमा लिएको देखिँदैनथ्यो । त्यस्तो अवस्थामा जनताको आवाजलाई राष्ट्रिय राजनीतिक संरचनामा पु‍र्‍याउने एउटा माध्यम संसद् पनि हुन सक्छ भन्ने सोच बन्यो । हामीले चुनावमा भाग लियौं र जनताले अत्यन्त ठूलो समर्थन दिनुभयो । त्यो समर्थनले हामीलाई जिम्मेवारी पनि दियो । त्यसैले संसद्‌मा गएर जनताका मुद्दा उठाउने प्रयास गरें। तर समय बित्दै जाँदा संसदीय राजनीति धेरै हदसम्म पद, शक्ति र समीकरणको खेलमा सीमित भइरहेको मैले पाएँ । जनताका वास्तविक समस्या समाधान गर्नेभन्दा पनि सत्ता समीकरण मिलाउने काम बढी देखियो । तपाईं संसद्‌मा रहँदा मन्त्री बन्ने अवसर पनि आएको थियो भनिन्छ । तर तपाईंले अस्वीकार गर्नुभयो किन ? सांसद भएपछि स्वाभाविक रूपमा धेरै राजनीतिक समीकरणहरू आउँछन् । मन्त्री बन्ने प्रस्ताव पनि आएका थिए । तर मैले त्यसमा कुनै चासो देखाइनँ । मेरो लागि मन्त्री पद कुनै लक्ष्य थिएन । यदि लक्ष्य नै पद प्राप्त गर्नु हो भने राजनीति सजिलो हुन्छ । तर लक्ष्य जनताको जीवन परिवर्तन गर्नु हो भने त्यो निकै कठिन हुन्छ ।मन्त्री बनेर केही काम गर्न सकिन्छ भन्ने तर्क पनि हुन सक्छ । तर त्यो पदमा पुग्दा धेरै सम्झौता गर्नुपर्ने अवस्था आउँछ । धेरैपटक आफ्नै सिद्धान्तबाट पछि हट्नुपर्ने हुन्छ ।  त्यसैले मैले सुरुदेखि नै आफूलाई त्यस्तो प्रतिस्पर्धाबाट टाढा राखें । संसदीय राजनीतिलाई तपाईं विकृत माहोल भन्नुहुन्छ ? यसलाई अलि स्पष्ट पार्नुहुन्छ ? म सम्पूर्ण संसदीय प्रणालीलाई गलत भन्न चाहन्नँ । लोकतन्त्रको एउटा महत्त्वपूर्ण अंग हो संसद् । तर हाम्रो अभ्यासमा केही समस्या देखिएका छन् । उदाहरणका लागि विचार र सिद्धान्तभन्दा सत्ता समीकरण प्राथमिक हुने, नीति निर्माणभन्दा पद बाँडफाँटमा बढी ध्यान जाने, जनताको मुद्दा उठाउनेभन्दा दलगत स्वार्थ हावी हुने यी प्रवृत्तिहरूले संसदीय प्रणालीलाई कमजोर बनाइरहेका छन् । मैले व्यक्तिगत रूपमा यस्तो वातावरणमा सहज महसुस गर्न सकिनँ । त्यसैले आफूलाई त्यहाँबाट अलग राख्ने निर्णय गरेको हुँ । संसदीय राजनीतिबाट टाढिएपछि तपाईंको भूमिका के हुनेछ ? संसद् छोड्नु भनेको देश र समाजबाट अलग हुनु होइन । बरु म अब अझ सक्रिय रूपमा विकास र सामाजिक परिवर्तनको आन्दोलनमा लाग्न चाहन्छु । हामीले देखेका धेरै समस्या राजनीतिक भाषणले मात्र समाधान हुँदैनन् । त्यसका लागि प्रत्यक्ष काम गर्नुपर्छ । अव म शिक्षा सुधार, रोजगारी सिर्जना र स्थानीय विकास परियोजनाहरूमा जनसहभागितामार्फत काम गर्ने योजनासहित अगाडि बढ्छु । तपाईं विकासको आन्दोलन भन्नुहुन्छ, त्यसको स्वरूप कस्तो हुनेछ ? विकासको आन्दोलन भनेको केवल सडक आन्दोलन होइन, यो समाज परिवर्तनको दीर्घकालीन अभियान हो । हामीले केही क्षेत्रमा विशेष ध्यान दिने सोच बनाएका छौं । शिक्षा, रोजगारी र स्थानीय विकास यी तीन क्षेत्रमा काम गर्न सकिन्छ । यो निर्णयलाई कतिपयले राजनीतिक रणनीति पनि भन्न सक्छन् , तपाईं के भन्नुहुन्छ ? राजनीतिमा सबै निर्णयलाई रणनीतिक रूपमा पनि हेरिन्छ । त्यो स्वाभाविक हो । तर मेरो निर्णय व्यक्तिगत अनुभव र विश्वासबाट आएको हो । म आफूलाई सहज नलागेको ठाउँमा बसिरहन चाहन्नँ । म विकास र सामाजिक आन्दोलनमार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छु भने त्यो नै मेरो लागि ठूलो उपलब्धि हुनेछ । अन्त्यमा तपाईंले जनतालाई के सन्देश दिन चाहनुहुन्छ ? नेपाल परिवर्तनको ठूलो सम्भावना भएको देश हो । तर परिवर्तन केवल नेताले मात्र ल्याउने होइन । जब नागरिकहरू सक्रिय हुन्छन्, समाज सचेत हुन्छ र युवाहरू नेतृत्व लिन तयार हुन्छन् तब वास्तविक परिवर्तन सम्भव हुन्छ । म संसदीय राजनीतिबाट टाढिए पनि देशको विकास र जनताको समृद्धिका लागि मेरो प्रतिबद्धता पहिले जस्तै दृढ छ । म खालि विकृत माहोलबाट मात्रै टाढिन चाहेको हुँ, सामाजिक आन्दोलनबाट होइन ।

बागमती प्रदेश सरकारको ८ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिमा १७ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि फागुनसम्ममा कुल बजेटको २२ दशमलव ३१ प्रतिशत खर्च गरेको छ ।  प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को आठ महिनाको अवधिमा प्रदेश सरकारले चालुतर्फ ३० दशमलव ५६ प्रतिशत र पुँजीगततर्फ १७ दशमलव १२ प्रतिशत बजेट खर्च गरेको छ ।  चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा १५ अर्ब पाँच करोड आठ लाख ३८ हजार बजेट खर्च भएको उनले बताए ।  विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले ४३ दशमलव ८५ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ३७ दशमलव १० प्रतिशत, प्रदेशसभा सचिवालयले ३७ दशमलव २९ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले ३८ दशमलव ५४ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ३७ दशमलव १० प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३४ दशमलव ५३ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले सात दशमलव ६४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।  गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचनाहरू क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायहरूले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत पौडेलले बताए ।

ट्रम्पको दावी– इरान वार्ता गर्न खोजिरहेको छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता गर्न खोजिरहेको दावी गरेका छन् । ट्रम्पले ‘एयर फोर्स वन’मा पत्रकारहरूसँग कुरा गर्ने क्रममा यस्तो बताएका हुन् । साथै उनले गलत जानकारी फैलाउन इरानले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरिरहेको आरोप पनि लगाए । ट्रम्पका अनुसार इरान सम्झौता गर्न निकै आतुर छ । कूटनीतिक वार्ताबारे उनले भने, ‘हामीले उनीहरूसँग कुरा गरिरहेका छौं, तर मलाई लाग्दैन कि उनीहरू अहिले नै तयार छन् । यद्यपि उनीहरू निकै नजिक पुगिसकेका छन्।’ उता इरानका विदेशमन्त्री अब्बास अराघ्चीले आइतबार भने इरानले कहिल्यै पनि युद्धविरामको माग नगरेको र न त वार्ताको माग गरेको बताएका छन् । जब ट्रम्पसँग इरानमाथि जित घोषणा गर्न तयार हुनुहुन्छ कि भनेर सोधियो, उनले भने, ‘त्यसो गर्ने कुनै कारण छैन।’ उनले अमेरिकाले यति धेरै क्षति पु‍र्याएको दाबी गर्दै भने, ‘यदि हामी अहिले उनीहरूलाई छोडिदियौं भने फेरि उभिन उनीहरूलाई १० वर्ष लाग्न सक्छ ।’ युरोपेली देशले स्ट्रेट अफ हर्मुज खुलाउन सहयोग नगरे नाटोको भविष्यका लागि खतरा ट्रम्पले यदि युरोपेली देशहरूले स्ट्रेट अफ हर्मुज खुलाउन सहयोग नगरे भने त्यो नाटोको भविष्यका लागि ुधेरै खराबु हुने बताएका छन् । यससँगै ट्रम्पले बेइजिङमा हुने आफ्नो आगामी भेटघाटअघि सी जिनपिङले चीनको तर्फबाट होर्मुज स्ट्रेट खोल्न सहयोग गर्ने आशा व्यक्त गरेका छन् । उनले चीनले ‘आफ्नो करिब ९० प्रतिशत तेल यही जलडमरूमध्यबाट प्राप्त गर्ने’ बताएका छन् । ट्रम्पले यी कुरा फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा बताएका हुन् । बेइजिङमा हुने उक्त भेटघाट मार्चको अन्त्यतिर तय गरिएको छ । तर ट्रम्पले बैठक हुनुअघि नै चीनले कुनै कदम चालोस् भन्ने आफूले चाहेको बताएका छन् । उनका अनुसार बैठक हुन अझै दुई हप्ता बाँकी भएकाले त्यो ‘धेरै लामो समय’ हो । उनले आफ्नो चीन भ्रमण स्थगित पनि हुन सक्ने बताएका छन्, यद्यपि यसबारे थप स्पष्ट जानकारी भने दिएका छैनन् । नाटो र युरोपेली सहयोगीबारे बोल्दै अमेरिकी राष्ट्रपतिले स्ट्रेट अफ हर्मुजबाट लाभ लिने देशहरूका लागि यसलाई पुनः खुलाउन सहयोग गर्नु ‘उचित’ हुने बताएका छन् । ट्रम्पका अनुसार युरोप र चीन खाडी क्षेत्रबाट आउने तेलमा निकै निर्भर छन् । उनले चेतावनी दिँदै यदि अन्य देशहरूबाट कुनै प्रतिक्रिया आएन भने त्यो ‘नाटोको भविष्यका लागि निकै खराब’ हुन सक्ने बताएका छन् । साथै उनले अमेरिका आफ्ना युरोपेली सहयोगीहरूसँग ‘धेरै नरम’ रहेको पनि बताएका छन् । ट्रम्पको यो टिप्पणी उनले एक दिनअघि चीन, फ्रान्स, जापान, साउथ कोरिया र बेलायतलाई स्ट्रेट अफ हर्मुज पुनः खोल्न ‘साझा प्रयास’मा सहभागी हुन आह्वान गरेपछि आएको हो ।

४४ प्रतिशत बढ्यो जगदम्बा अटो ग्रुपको आम्दानी, ६ महिनामै साढे ४ अर्ब रुपैयाँ

काठमाडौं । शंकर ग्रुपअन्तर्गत सञ्चालन हुने जगदम्बा अटो ग्रुपले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  यसअघि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ८५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको आम्दानी ४४.३० प्रतिशत अर्थात् २ अर्ब १४ करोड ९० लाख रुपैयाँले वृद्धि भएको छ । कम्पनीले यो वृद्धि सवारी साधनको उच्च मागका कारण भएको जनाएको छ। कम्पनीले विगतका वर्षहरूमा पनि उल्लेखनीय प्रगति गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको आम्दानी २ अर्ब ७३ करोड ७० लाख, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४२ करोड ७० लाख र आर्थिक वर्ष २०७७/७८ मा ७३ करोड २० लाख रुपैयाँ रहेको थियो ।  सन् २०१४ मा स्थापना भएको जगदम्बा अटो ग्रुप नेपालमा टीभीएस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने अधिकृत कम्पनी हो । कम्पनीले एसेम्बल गरेका सवारीसाधनहरू आफ्नै समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि मार्फत बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस सवारीसाधनको आधिकारिक वितरक पनि हो । कम्पनी शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको छ । शंकर ग्रुप नेपालमा इस्पात, सिमेन्ट, पोलिमर उत्पादन, व्यापार, आतिथ्य सेवा तथा बीमा लगायत विभिन्न क्षेत्रमा सक्रिय बहुआयामिक व्यवसायिक समूहका रूपमा परिचित छ । जगदम्बा अटो ग्रुप पूर्ण रूपमा शाहिल अग्रवालको स्वामित्वमा रहेको छ । अग्रवाल कम्पनीका एकमात्र सेयरधनी तथा निर्देशक पनि हुन् । कम्पनीले एसेम्बलका लागि सवारी साधन तथा पार्टपुर्जाहरू भारतस्थित टीभीएस मोटर कम्पनीबाट मात्र आयात गर्ने गरेको छ भने एसेम्बल गरिएका सबै सवारी साधन जगदम्बा मोटर्समा मात्र बिक्री हुन्छन् । यसले व्यावसायिक विविधीकरण सीमित भए पनि कम्पनीलाई सञ्चालनमा स्थायित्व प्रदान गरेको छ । कम्पनीले नेपाल सरकारको एसेम्बल उद्योग प्रोत्साहन नीतिबाट पनि लाभ उठाउँदै आएको छ । सरकारले सवारी निर्माणमा प्रयोग हुने कच्चा पदार्थ वा स्पेयर पाट्र्समा ५० प्रतिशत एक्साइज कर र २५ प्रतिशत आयात कर छुट प्रदान गरेको छ, जसले स्थानीय एसेम्बल उद्योगलाई प्रोत्साहित भएको कम्पनीको भनाइ छ । कम्पनीले यस्ता नियामकीय परिवर्तनहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमता राखेकोले भविष्यमा स्थिर आम्दानी र बजारमा उपस्थिति कायम राख्न सक्षम हुने विश्वास गरिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब २ अर्ब रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ४ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ९१ करोड रुपैयाँ लिएको छ।

हनी ट्र्यापमा पार्ने १८ वर्षीया किशोरीसहित दुई जना पक्राउ

काठमाडौं । बलात्कारको मुद्दा लगाइदिन्छु भनी धम्की दिने दुई जना पक्राउ परेका छन् । आइतबार चितवनमा सामाजिक सञ्जालबाट चिनजान गरी धाकधम्की दिने तथा हनी ट्र्यापमा पार्ने कालिका नगरपालिका ७ की १८ वर्षीय एनी तामाङ र २५ वर्षीय विजय सुनार पक्राउ परेका हुन् । प्रहरीका अनुसार चितवन भरतपुर महानगरपालिका वडा नं ३ बस्ने वर्ष ४९ वर्षीय पुरुषलाई एनी तामाङ नामको फेसबुकबाट चिनजान हुन्छ । पीडितको चिनजान भई फोनमा समेत कुराकानी हुन्छ । एनीले पीडित पुरुषलाई गत फागुन २९ गते जुटपानीको मिठुचोकबाट गुम्बा जाने भित्री बाटोमा भेट्न बोलाउँछिन् । एनीले अन्य व्यक्ति बोलाई पीडितलाई कुटपिट गरी बा प्र ००४ प ५८८९ नम्बरको स्कुटर लुटपाट गरी फरार भएकी थिइन् ।  पीडितले आफ्नो स्कुटर फिर्ता माग्दा रकम माग गर्ने, रकम नदिए जवरजस्ती करणी कसूरमा मुद्दा हाली फसाई दिने भनी धाकधाम्की दिने गरेको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । उनीहरूलाई भरतपुर महानगरपालिका १० वीरेन्द्र क्याम्पस चोकबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।