विकासन्युज

स्वास्थ्य बीमा सेवामा राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोग गरिने

काठमाडौं । राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्न स्वास्थ्य बीमा बोर्ड र  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ । बीमा सेवामा राष्ट्रिय परिचय नम्बरलाई प्रविधि मैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र पञ्जीकरण विभागबीच समझदारी भएको हो ।  समझदारी पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । यो समझदारीसँगै अब स्वास्थ्य बीमा बोर्डले’ राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ । यस सहकार्यले नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने बाटो खोलेको छ । राष्ट्रिय परिचय नम्बरलाई बीमासँग जोड्दा प्रणाली अझ बढी सुरक्षित, छिटो र भरपर्दो हुने विश्वास लिइएको छ । यो नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्ने जनाइएको छ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् । यसले तथ्यांक एकीकरणमा सघाउ पुर्‍याउनुका साथै एकै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई समेत पूर्ण रूपमा नियन्त्रण गर्नेछ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए । महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ । सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेलरपेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ । नेपाल आयल नियमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ वृद्धि गरेको थियो । यातायात व्यवस्था विभागले कानुनबमोजिम सङ्घीय रुटको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा वा मूल्य घट्दा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दै आएको भन्दै अहिले पनि उक्त व्यवस्था लागू गर्न अनुरोधसमेत गरेको छ । महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।

२६ अंकले घट्यो नेप्से, ११ अर्ब ९७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्से दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३  विन्दुमा कायम भएको छ ।  आज ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकमा ३ करोड ७ लाख ९० हजार २११ सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।  आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.३९ प्रतिशतले गुमाएका छन् ।  आज कारोबार रकमको आधारमा आंखुखोला जलविद्युतको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको ६६ करोड १४ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, अप्पर हेवाखोला हाइड्रोपावरको ४१ करोड ५० लाख, एसवाई प्यानल नेपालको ३७ करोड २३ लाख र रिदी पावरको ३५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज उत्पानबाहेक सबै उपसमूह रताम्मे भएका छन् । उत्पादन ०.२५ प्रतिशतले बढेको छ । 

वित्तीय क्षेत्रका नियामक प्रमुखले अर्थमन्त्रीलाई भने- तपाईंसँगको सहकार्य फलदायी भयो

काठमाडौं । अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट भएको छ ।  सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विभिन्न नियामक निकायका प्रमुखबीच छलफल भएको हो ।  अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थिति रहेको उक्त भेटघाटमा नियामक निकायहरूको तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।   उक्त भेटघाटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीको रूपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न,  पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरूले खेलेको भूमिकाको प्रशंसा गरे ।  भेटघाटमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउँदै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।           

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ ।     यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौं उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिए । महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताए ।  अहिले महानगरपालिका–७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडाबाट सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गरिएको छ । हरेक क्षेत्रमा एक–एकवटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापन केन्द्रसमेत राखिएको छ । आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र नं १ का लागि नेप्सेम्याक सेवा प्रालि छानिएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् ।  क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि छनोटमा परेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् ।  क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८९१  आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । क्षेत्र नम्बर ४ मा मेची पोली इन्डष्ट्रीले १ करोड १५ लाख चार हजार ४०४ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले जिम्मा लिएको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । यस क्षेत्रमा पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ ।  

नबिल बैंकले गर्‍यो विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसर पारेर नबिल बैंक, मालिगाउँ शाखाले काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  विद्यालयमा अध्ययनरत कक्षा १० देखि १२ सम्मका ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम बालबालिका तथा किशोरकिशोरीहरूमा आर्थिक चेतना र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।  नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष ग्लोबल मनी वीकको अवसरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा नबिल बैंक मालिगाउँ शाखाका प्रमुख उत्सव श्रेष्ठले बैंकिङ साक्षरता सम्बन्धी मुख्य प्रस्तुति दिएका थिए ।  कार्यक्रममा शाखाका सम्बन्ध अधिकृत कृपा दहाल र सञ्चालन इन्चार्ज कपिला लामिछानेको समेत उपस्थिति रहेको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ प्रणालीको कार्यविधि, डिजिटल भुक्तानीका माध्यमहरू तथा सुरक्षित वित्तीय व्यवहारका बारेमा विस्तृत जानकारी गराइएको थियो । कार्यक्रमका वक्ताहरूले वर्तमान समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान हुनु अत्यावश्यक रहेकोमा जोड दिए ।  साथै विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे समेत व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागी विद्यार्थीहरूले यस कार्यक्रमबाट प्राप्त ज्ञानले भविष्यमा सही आर्थिक निर्णय लिन र सुरक्षित बैंकिङ कारोबार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  नबिल बैंकले आगामी दिनमा पनि समुदायस्तरमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।

अब धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ ।  फागुन १० गतेदेखि नै महानगरले धरहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।  २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो ।  काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले सुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए । महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।  उनका अनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो । पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटा दरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको उनले जानकारी दिए ।  नौ वटा उपकरण भने पहिला नै जडान गरिएका थिए । पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उनले बताए । जोशीका अनुसार धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ।  यस्तै बी–२ मा करिब ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने उनले जानकारी दिए । उनका अनुसार यी दवै क्षेत्र सवारी साधनले दैनिक प्याक हुने गरेको छ ।   सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह (एयर सर्कुलेसन)मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले जानकारी दिए । उक्त तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ ।  सवारीको अत्यधिक चाप भएको अवस्थामा भने उक्त तलामा पनि सवारीसधान पार्किङ गर्ने गरिएको उनले जानकारी दिए ।  उनका अनुसार अपाङ्गमैत्री पार्किङ स्थानको पनि व्यवस्था गरिएको छ । महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै धरहराको पार्किङ सञ्चालनमा ल्याएको हो ।  ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ । महानगरका अनुसार काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा सवारी साधन पार्किङ गर्न पाइँदैन । नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको पनि महानगरले जनाएको छ ।  नगर प्रहरी बलका प्रमुख जोशीका अनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क राखिएको छ । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् । पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भित्र्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उनले जानकारी दिए ।  हाल पार्किङ क्षेत्रमा दिनभरी सवारी पार्किङ गरेर राख्ने प्रवृत्ति देखा परेको प्रमुख जोशीले बताए । उनका अनुसार बिहान पार्किङ गरेर बेलुका मात्र निकाल्ने प्रवृत्ति देखिएको छ । यसले सवारी पार्किङमा केही समस्या देखिएको उनको भनाइ छ । आगामी दिनमा यसलाई सुधार गर्दै थप प्रभावकारी व्यवस्थापन गरिने उनले जानकारी दिए । उनले सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैले लिनुपर्ने पनि बताए । साथै सवारीसाधन पार्किङ गर्दा अरूलाई असहज नहुनेगरी गरिदिन पनि आग्रह गरे।

नागपोखरीमा याडियाको सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालले काठमाडौंको नागपोखरीमा नयाँ याडिया केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको केन्द्रीय क्षेत्रमा रहेको यो नयाँ सेवा केन्द्रले याडिया स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।  यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकहरूले अब अझ सहज स्थानमा प्राविधिक सेवा तथा मर्मत सुविधा प्राप्त गर्न सक्नेछन् । यो सर्भिस सेन्टर आइतबारबाछ औपचारिक रूपमा सञ्चालनमा आएको छ र विशेष गरी काठमाडौंको केन्द्रिय क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने याडिया प्रयोगकर्ताहरूका लागि सेवा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ । याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई–पांग्रे सवारी साधन ब्रान्ड को रूपमा आफ्नो स्थान कायम राख्दै आएको छ । नेपाली बजारमा पनि याडियाका विभिन्न मोडेलहरू ग्राहकहरूबीच लोकप्रिय बन्दै गइरहेका छन्। विशेष गरी भेलक्स, ओ‌विन तथा सबैभन्दा धेरै बिक्री हुने ई८ एस प्रो  मोडेलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेका छन् । कम्पनीले आगामी दिनहरूमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टरहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिएको छ ।