गिरिबन्धु टी–स्टेटको फाइल खोल्न सरकारलाई एमालेको चुनौती

काठमाडौं । नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेट प्रकरणको फाइल सार्वजनिक गर्न चुनौती दिएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई आग्रह गरिन् । बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘फाइल खोल्ने’ अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै उनले गिरिबन्धु टी–स्टेटको फाइललाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

अर्यालले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडी लगायतका प्रकरणहरूको पनि निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरिन् । ती प्रकरणमा लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभए आरोप लगाउने पक्ष जिम्मेवार हुन तयार छ कि छैन भन्ने प्रश्न पनि उनले उठाइन् ।

संसदमा बोल्दै उनले सरकारका जिम्मेवार व्यक्तिले विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै त्यसप्रति असन्तुष्टि जनाइन् । बजेटबारे प्रतिपक्षले राखेका सुझाव र प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको उनको भनाइ थियो ।

उनले गिरिबन्धु टी–स्टेटदेखि विपक्षीसँग जोडिएका सबै फाइलहरू सदनमार्फत सार्वजनिक गरी सत्य तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिइन् । 

Share News