रास्वपाको जनमत असाधारण र लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमत असाधारण र लोभलाग्दो रहेको बताएका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नयाँ राजनीतिक शक्तिले प्राप्त गरेको जनमतलाई जोगाएर संस्थागत गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे । विगतमा पनि यस्तै जनमत पाएका केही राजनीतिक दल नेतृत्वको कमजोरीका कारण टिक्न नसकेको उनको भनाइ थियो ।

'रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ, लोभलाग्दो छ । विगतमा पनि केही दलले यस्तै जनमत तीन–चार पटक प्राप्त गरे। तर, त्यो जनमत दुर्घटनामा पर्यो,' उनले भने ।

थापाले जनमत दुर्घटनामा पर्नुको मुख्य कारण नेतृत्वमा देखिएको उन्माद भएको टिप्पणी गरे । 'कुनै पार्टीले जनमत प्राप्त गर्यो, तर पार्टीका नेताको उन्मादका कारण त्यो दुर्घटनामा पर्यो । ती पार्टीले आफूलाई सम्हाल्न सकेनन्। उनीहरू मात्रै असफल भएनन्, जनताले दिएको विश्वास र पसिना पनि खेर गयो,' उनले भने ।

कांग्रेस र रास्वपाबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुने उल्लेख गर्दै थापाले प्रतिस्पर्धा विचार, नीति र कार्यसम्पादनका आधारमा हुनुपर्ने बताए ।

'नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो। हामी तपाईंहरूभन्दा अग्लो बन्न चाहन्छौं। तर, तपाईंहरूलाई फोहोर देखाएर होइन, आफूलाई सफा बनाएर अग्लो हुन चाहन्छौं', उनले भने ।

थापाले लोकतान्त्रिक संस्कृतिअनुसार सहकार्य र प्रतिस्पर्धा दुवै आवश्यक रहेको उल्लेख गर्दै आवश्यक पर्दा सहयोग र आवश्यक पर्दा खबरदारी गर्ने कांग्रेसको नीति रहने बताए ।

'सहयोग गर्ने ठाउँमा सहयोग गर्छौं । आलोचना गर्नुपर्ने ठाउँमा आलोचना गर्छौं। औंला उठाउनुपर्ने ठाउँमा औंला उठाउँछौं,' उनले भने ।

Share News