काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत प्रतिनिधिसभा निर्वाचनमा ‘बालेनले राजा ल्याउँछ’ भन्ने अपेक्षासहित पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मत गएको दाबी गरेका छन् ।
चितवनको भरतपुरमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले नेपालमा राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका मतदाताको एक हिस्सा राप्रपामा नआएर रास्वपालाई मतदान गरेको दाबी गरेका हुन् ।
उनले प्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले जनताको चाहना र अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीजीलाई थाहा छ, सभापतिलाई थाहा छ, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ उनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो, तर राप्रपालाई नदिएर ‘बालेनले राजा ल्याउँछ’ भनेर तपाईंहरूलाई भोट दिएका छन् । त्यसकारण तपाईंहरूको विशिष्ट जिम्मेवारी छ ।’
लिङ्देनले विगतका राजनीतिक नेतृत्वप्रति जनतामा असन्तुष्टि बढेकै कारण नयाँ शक्तिहरूलाई अवसर प्राप्त भएको उल्लेख गर्दै अहिलेको संविधान र राजनीतिक व्यवस्थामा पनि सुधार आवश्यक रहेको धारणा राखे।
संविधान संशोधन र राष्ट्रिय सहमतिबिना देश सही दिशामा अघि बढ्न नसक्ने उनको भनाइ थियो।
‘समस्या केवल नेताहरूमा मात्र होइन, संविधान र संवैधानिक व्यवस्थामा पनि छ,’ उनले भने, ‘संविधानमा सुधार नगरी र राष्ट्रिय सहमति कायम नगरी देशले सही लय समात्न सक्दैन ।’
राप्रपा अध्यक्ष लिङ्देनले रास्वपालाई निषेधको राजनीति नगर्न पनि सुझाव दिए। विगतमा भएका राजनीतिक विभेद र बहिष्कारको अभ्यासलाई दोहोर्याउने गल्ती नगर्न आग्रह गर्दै उनले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए ।
उनले निषेध र प्रतिशोधको राजनीतिले मुलुकलाई थप संकटतर्फ धकेल्ने चेतावनी दिँदै जनताको आशा र विश्वास जोगाउन जिम्मेवार राजनीतिक व्यवहार आवश्यक रहेको उल्लेख गरे ।
सम्बोधनका क्रममा लिङ्देनले रास्वपा र राप्रपा वैचारिक रूपमा फरक धारमा रहे पनि केही साझा मुद्दामा समान धारणा राख्ने दल भएको दाबी गरे ।
उनले जनताले पुराना राजनीतिक शक्तिप्रति देखाएको असन्तुष्टिलाई सकारात्मक परिवर्तनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।