१२ प्रहरीलाई सेवाबाट हटाउने तयारी, ७ दिनको अल्टिमेटम
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न मितिदेखि गैरहाजिर रहेका १२ जना प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ अनुसार प्रक्रिया पूरा गरी सार्वजनिक सूचना टाँस गरिए पनि सम्पर्कमा नआएपछि सम्बन्धित कर्मचारीहरूलाई अन्तिम पटक ७ दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ । सेवाबाट हटाउने तयारीमा रहेका कर्मचारीहरूमा प्राविधिक प्रहरी नायब निरीक्षक अनुपा कुमारी तिवारी, प्रहरी सहायक निरीक्षक जोसेफ तावा, प्रहरी सहायक हवल्दार विजय खड्का तथा प्रहरी जवानहरू अमृत तामाङ, साईल ताम्राकार, गणेश बि.क., कल्पना माझी, सरोज लिम्बु, सुभम खड्का, नवराज रोका, सुसान लिम्बु र सुरेन्द्र प्रसाद यादव रहेका छन् । सूचनाअनुसार गैरहाजिर रहेका ती कर्मचारीहरूलाई ७ दिनभित्र आफ्नो गैरहाजिरीको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । तोकिएको समयभित्र उपस्थित नभएमा प्रहरी नियमावलीको नियम ११३ (१) को खण्ड (च) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ ।
११ महिनामा भित्रिए २५.५५ अर्बका १० हजार ८४५ ईभी
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारी साधन (ईभी) आयात भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । उक्त अवधिमा ५ अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका ३ हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।
रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, ‘एकिन सङ्ख्या निकाल्दै छौँ, ४ सयभन्दा बढीको उम्मेदवारी परेको छ । आज बिहान ९ बजे नामावली प्रकाशन गरिनेछ ।’ निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने ४ हजार हाराहारी प्रतिनिधि छन् ।
४.५ प्रतिशत लाभांश पारित गर्न युनाइटेड अजोडले डाक्यो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३२औं वार्षिक साधारण सभा आगामी असार ३१ गते डाकेको छ । कम्पनीको सञ्चालक समितिको ८३ औं बैठकको निर्णयअनुसार सभा काठमाडौंको अम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजे बस्नेछ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशतका दरले ५२ लाख १० हजार रुपैयाँ नगद गरी कुल ४.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको जारी पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको जारी पुँजी वृद्धि भई २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने हुँदा सोही बमोजिम सभाले कम्पनीको प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्नेछ । यस्तै, कम्पनीको सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि वर्तमान लेखापरीक्षक जेबि राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १९ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
अब प्रहरीले पनि हरेक १५ दिनमा तलब पाउने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि प्रहरीलाई पनि हरेक १५ दिनमा तलब दिने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । परिपत्रमा अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको गत जेठ २१ गतेको पत्र बमोजिम आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्ध मासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने प्रणालीमा आवश्यक व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित कार्यालयहरूलाई सोही बमोजिम व्यवस्था मिलाई कार्यान्वयन गर्न अनुरोध गरेको छ । साथै, प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई समेत सम्बन्धित आर्थिक प्रणालीहरू नयाँ व्यवस्थाअनुसार व्यवस्थित गर्न भनिएको छ ।
लड्र्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख जरिवाना
काठमाडौं । भरतपुर महानगरपालिका-१० स्थित लड्र्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई खाद्य गुणस्तरमा लापरबाही गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी सूचनाअनुसार उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले होटलमा मङ्गलबार आकस्मिक निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका खाद्य सामग्री प्रयोग गरी सेवा दिएको पाइएको उल्लेख गरिएको छ । साथै, अनुगमनका क्रममा बरामद गरिएका अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्रीहरू नष्ट गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिए ।
रास्वपाको केन्द्रीय सदस्यमा प्रधानमन्त्रीका ३ जना सल्लाहकारको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको सदस्य पदका लागि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । अशिम शाहले खुला समावेशीतर्फबाट उम्मेदवारी दिएका छन् भने सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी, प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
बाँदर धपाउन छुट्याइयो ४५ लाख रुपैयाँ बजेट
काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउन लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो । नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदर लगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १ करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँ बजेट विनियोजन गरे । बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । बाँदरको समस्या समाधान गर्न सङ्घीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको जनाइएको छ । नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रमसमेत सञ्चालन गर्ने नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई के चाहिन्छ ? कार्यक्रम अन्तर्गत किसानको घरदैलोमा पुगेर प्राविधिक सेवा, उन्नत बिउविजन वितरण र एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।