प्रभु बैंक कमलादी शाखाद्वारा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम आयोजना
काठमाडौं । प्रभु बैंक लिमिटेडको कमलादी शाखाले ‘स्मार्ट मनी टक्स’ नारासहित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘ग्लोबल मनी वीक–२०२६’ अन्तर्गत चैत ६ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कमलादी शाखाबाट सुरु भई दरबारमार्ग र कमलपोखरी क्षेत्र परिक्रमा गर्दै पुनः शाखा परिसरमै पुगेर समापन गरिएको थियो । कार्यक्रमका क्रममा ‘स्मार्ट मनी टक्स’ मूल नारासहित वित्तीय साक्षरतासम्बन्धी सन्देशमूलक प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो । बैंकले वित्तीय सचेतना विस्तार गर्दै जिम्मेवार वित्तीय व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, ३१० एटीएम तथा ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको बैंकले उल्लेख गरेको छ ।
प्रधानमन्त्री कार्कीका दुई सल्लाहकारले दिए राजीनामा
काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा नदिँदै उनका दुई सल्लाहकारले भने पदबाट राजीनामा दिएका छन् । अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिएका हुन्। गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराएसँगै दुवैले राजीनामा दिएका हुन् । दुवैले फरकफरक मितिमा राजीनामा दिएका हुन् । खनाल पत्रकार हुन् भने तिमिल्सिना विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । जनसम्पर्क सल्लाहकार तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीप्रति आभार प्रकटसमेत गरेका छन् । उनले लेखेका छन्, ‘अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु । यहाँले मलाई सिक्ने ठूलो अवसर दिनु भो, म एक सफल महिला प्रधानमन्त्रीको विद्यार्थी बन्न पाएँ, अत्यन्तै खुसी छु, किनकी त्यो विरलै अनुभव थियो ।’
हिमालय एयरलाइन्सको दुबई उडान पुनः सुचारु
काठमाडौं । मध्यपूर्वका देशहरूमा पछिल्लो समय विकसित तनावका कारण प्रभावित बनेका दुबई उडान पुनः सुचारु हुने भएका छन् । हिमालय एयरलाइन्सले आफ्नो निर्धारित दुबई सेक्टरको उडान सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको छ । एयरलाइन्सका अनुसार यात्रुहरूले टिकट पुनः प्रमाणीकरण गर्न वा नयाँ टिकट बुकिङका लागि सम्बन्धित ट्राभल एजेन्सी वा बुकिङ कार्यालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
उपसभापति शर्माको अध्यक्षतामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । राजीनामा दिएका सभापति गगन थापाको कुर्सी भने बैठक हलमा खाली राखिएको छ । आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा निर्वाचन समीक्षा, आगामी १५औँ महाधिवेशनको तयारी तथा सभापति गगन थापाको राजीनामासम्बन्धी विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूको सहभागिता रहेको जनाइएको छ ।
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा तीन दिन (चैत ६, ७ र ८ गते)सम्म ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको हो । ‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा ग्राहकहरूलाई जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने– 'यस कार्यक्रमले नेपालमा विद्युतीय गाडीको भविष्यलाई थप सुनिश्चित बनाउन नयाँ आयाम थप्ने विश्वास लिएका छौँ, यसका साथै प्रविधिमैत्री तथा स्वच्छ वातावरणका लागि हामी सधैँ प्रतिबद्ध छौँ ।' कम्पनीका अनुसार प्रोटोन ईमास–७ ले १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ । आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइन सुविधासहितको यो गाडीको लम्बाइ ४६१५ एमएम रहेको छ । कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले नगद लाभ, फाइनान्समा सहजता, एक वर्षको निःशुल्क सडक दस्तुर र एक वर्षको बीमा जस्ता सुविधाहरू पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुने र गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्थासमेत कम्पनीले गरेको छ ।
हिमाली गाउँपालिकामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ । यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सात वटै वडाका एक हजारभन्दा बढीको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार गाउँपालिका वडा नं ४, ६ र ७ को धुलाचौरमा, वडा नं ५ को कुवाडीमा र वडा नं १, २ ३ को विच्छ्याँमा शिविर आयोजना गरिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले प्रजनन स्वास्थ्यसम्बन्धी पाठेघरको आङ खस्ने, सेतोपानी बग्ने, क्यान्सर, रक्तअल्पताको उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए । उपचारका क्रममा पाँच सयभन्दा बढीमा पाठेघर समस्या, १४८ जनामा दम, मुटुरोग, मिर्गौला परीक्षण, मधुमहको उपचारलगायत नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिएको छ । यस्तैगरी ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर जाँच, १४ जनालाई प्रयोगशाला क्षयरोग परीक्षणलगायत सेवा प्रदान गरिएको उनले जानकारी दिए । घुम्ती शिविरमा ५० प्रतिशतभन्दा बढी महिलाको पाठेघर खस्ने समस्या देखिएको उपचारमा सङ्लग्न चिकित्सक डा. रञ्जित शाहले बताएका छन् । महिनावारी र सुत्केरी भएका बेलामा गह्रुङ्गो भारी बोक्ने तथा घरायसी कामका कारण पाठेघर खस्ने समस्या आएको हुनसक्ने उनको भनाइ छ । स्वास्थ्य शाखा प्रमुख भण्डारीले कामको बोझ, पोषिलो खानेकुराको कमी र बालविवाहका कारण पाठेघर खस्ने समस्याबाट बढी हुने गरेको पाइएको बताए । यस्तै, विच्छ्याँको माथिल्लो उच्च हिमाली भागमा नशा रोगसम्बन्धी समस्या बढी देखिएको छ । यहाँ हिमाली गाउँपालिकामा स्थापित आधारभूत स्वास्थ्य इकाई सेवा केन्द्रबाट प्राथमिक उपचार मात्र हुन्छ । ठूलो समस्या देखिए उपचारका लागि कोल्टी र जिल्ला अस्पताल मार्तडी पुग्न पर्ने बाध्यता छ । गाउँपालिकाले विगतदेखि नै नागरिक उपचार सहायता कोष स्थापना गरी ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै समस्या पहिचान तथा सेवा प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष गोविन्दवहादुर मल्लले बताए । रासस
महाधिवेशनमा केन्द्रित हुँदै कांग्रेस बैठक, निर्वाचन समीक्षा र सभापति राजीनामा पनि एजेण्डामा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार (आज) मध्यान्ह १ बजेबाट सुरु हुँदैछ । बैठकको मुख्य एजेण्डा पार्टीको १५औं नियमित महाधिवेशन रहने संकेत देखिएको छ । पार्टीभित्र पछिल्लो निर्वाचन परिणामपछि उत्पन्न असन्तोष, नेतृत्वप्रति उठेका प्रश्न र संगठनात्मक पुनर्संरचनाको आवश्यकताबीच बस्न लागेको यो बैठकलाई कांग्रेसको भावी दिशा निर्धारण गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । पार्टीका सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार अस्वाभाविक निर्वाचन परिणामपछि सुरु भएको आन्तरिक छलफलको केन्द्रबिन्दु अब नियमित महाधिवेशनमै केन्द्रित हुने भएको छ । उनले आगामी १५औं महाधिवेशनलाई समयमै सम्पन्न गर्ने, त्यसका लागि आवश्यक कार्यतालिका तय गर्ने र संगठनलाई नयाँ ढाँचामा अघि बढाउने विषयमा गम्भीर छलफल हुने बताए । बैठकमा निर्वाचन समीक्षालाई प्राथमिकताका साथ उठाइनेछ । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको कार्यशैली, गठबन्धन रणनीति, उम्मेदवार छनोट प्रक्रिया र प्रचार अभियानका कमजोरीबारे व्यापक समीक्षा हुने तयारी गरिएको छ । यसले पार्टीभित्र जिम्मेवारी निर्धारण र सुधारका उपाय तय गर्ने बाटो खोल्ने सहमहामन्त्री स्नेहीले जानकारी दिए । यस्तै, सभापतिको सम्भावित राजीनामाको विषय पनि बैठकमा औपचारिक रूपमा प्रवेश गर्ने भएको स्नेहीले बताए। निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज पार्टीभित्र चर्किँदै गएको सन्दर्भमा यो एजेण्डा संवेदनशील बनेको छ । यद्यपि नेतृत्व पक्षले भने महाधिवेशनमार्फत नै समाधान खोज्नुपर्ने धारणा राख्दै आएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको सहभागिता रहनेछ ।
झापामा आठ महिनामा ७१७ घरेलु तथा साना उद्योग थपिए
भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् । सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ एक सय २५ र वाणिज्यतर्फ ८८ गरी दुई १३ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका उनले बताए । कार्यालयले चालु आवका आठ महिनामा विभिन्न शीर्षकमा एक करोड ३५ लाख ५९ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।