बाँदर धपाउन छुट्याइयो ४५ लाख रुपैयाँ बजेट

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउन लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।

नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदर लगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ ।

नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १ करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँ बजेट विनियोजन गरे । 

बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । बाँदरको समस्या समाधान गर्न सङ्घीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको जनाइएको छ ।

नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रमसमेत सञ्चालन गर्ने नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । किसानलाई के चाहिन्छ ? कार्यक्रम अन्तर्गत किसानको घरदैलोमा पुगेर प्राविधिक सेवा, उन्नत बिउविजन वितरण र एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।

Share News