काठमाडौं । दिपल ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको महाराजगञ्जमा नयाँ ‘स्टेट अफ द आर्ट’ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले एपोलो मोटर्सलाई काठमाडौंको नयाँ अधिकृत डिलर नियुक्त गर्दै दिपल इभीको पहुँच थप विस्तार गरेको जनाएको छ ।
नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले नेपाली विद्युतीय सवारी (इभी) बजार परिवर्तनको चरणमा रहेको र दिपलले त्यसको नेतृत्व गरिरहेको बताए । उनले दिपललाई दीर्घकालसम्म विश्वासिलो र स्थापित ब्रान्डका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै देशका विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गरिने जानकारी दिए ।
कार्यक्रममा अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगसमेत प्रदर्शन गरिएको थियो । कम्पनीका अनुसार यसले चांगानको कृत्रिम बौद्धिकता (एआई) र स्वचालन प्रविधिप्रतिको दृष्टिकोणलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेको थियो ।
एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको काठमाडौंस्थित अधिकृत डिलर बन्न पाएकोमा खुसी व्यक्त गर्दै नयाँ सोरुम केवल गाडी बिक्री गर्ने स्थान नभई ग्राहकले दिपलका आधुनिक इभी मोडलको अनुभव लिन सक्ने केन्द्रका रूपमा विकास गरिएको बताए ।
कम्पनीले उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपलका विद्युतीय सवारी हस्तान्तरण गरेको छ । ब्रान्ड एम्बेसेडर पारस खड्का, अध्यक्ष विष्णु अग्रवाल र विनोदराज ज्ञवालीले संयुक्त रूपमा ग्राहकलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए ।